चुनढुंगा उत्खनन् राजस्व चुहावट मुद्दामा उद्योगी मुरारकासहित सबैले पाए सफाई

काठमाडौं । निर्धारित परिमाणभन्दा बढी चुनढुंगा निकालेको विषयमा राजस्व असुल नगरिकन भ्रष्टाचार गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगी सहित भूगर्व विभागका कर्मचारी विरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । अदालतले शुक्रबार आरोप पुष्टि नहुने भन्दै उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका सहित १८ जनालाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघ १२ गते विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित ९ वटा सिमेन्ट उद्योग विरुद्ध राजस्व चुहावट सम्बन्धी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । छ दिनसम्म चलेको मुद्दाको सुनुवाइपछि विशेष अदालतका न्यायाधीश रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले अख्तियारको दाबीअनुसार भ्रष्टाचार मुद्दा स्थापित नहुने फैसला गरेको हो । विशेष अदालतको फैसलाबाट खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, कानून उपसचिव सपना अधिकारी, माइनिङ इञ्जिनियर जयराम घिमिरे, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इञ्जिनियरहरू प्रशान्त बोहरा, घर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, भूगर्भविद डा. सौनक भण्डारी र रिसर्च अधिकृत बसन्त अधिकारीले सफाई पाएका छन् । त्यस्तै उद्योगीतर्फ, सिद्धार्थ मिनरल्स प्रालीका पशुपति मुरारका, सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने, मारुती सिमेन्ट लिमिटेडका सरद गोयल, अन्नपूर्ण क्वायरिजका ऋषि अग्रवाल, सोनापुर मिनरल्सका निपेश तायल, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, डोलोमाइट चुनढुंगा उद्योगका मानबहादुर श्रेष्ठ र कञ्चभन क्वेरिजका भीमबहादुर थापा क्षेत्रीले आरोपबाट सफाइ पाएका छन् । खानी तथा भुगर्भ विभागका तत्कालीन उपमहानिर्देशक राम प्रसाद घिमिरेको नेतृत्वमा २०७६ जेठ १४ गते गठित ३ सदस्यीय समितिले विभिन्न ९ वटा सिमेन्ट उद्योगहरुको स्थलगत अनुगमन पश्चात खानी दोहन गरी उत्खनन अनुमति परिमाणभन्दा बढी चुनढुंगा निकालेको र ती कम्पनीले एक अर्ब २६ करोड रुपैयाँ राजस्व छलेकाले त्यो उठाउनुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएको थियो । विभागले त्यसपछि पुनः माइनिङ इञ्जिनियर जयराज घिमिरेको संयोजकत्वमा दोस्रोपटक समिति बनाएर छानबिन गर्ने काम गर्यो । सो समितिले १५ जेठ २०७७ मा १८ लाख मात्रै जरिवाना लिएर अरु राजस्व लिनु नपर्ने भन्ने निर्णय सहितको प्रतिवेदन बुझाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माइनिङ इन्जिनियर जयराज घिमिरेको नेतृत्वमा बदनियतपूर्वक दोश्रो समिति गठन गरी सरकारलाई राजस्व हानी नोक्सानी हुने र निजी उद्योगलाई फाइदा पुग्ने गरी प्रतिवेदन तयार पारिएको भन्दै मुद्दा पक्रिया अगाडि बढाएको थियो । दोस्रो समितिले तयार गरेको गलत प्रतिवेदनले सिफारिस गरेबमोजिम माइनिङ्ग स्किममा आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा उद्योगहरुको लागि तोकिएको वार्षिक स्वीकृत क्षमताभन्दा बढी चुनढुङ्गा उत्खनन् गरेको अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा दाबी गरेको थियो । माइनिङ इञ्जिनियर घिमिरे, उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इञ्जिनियर प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी र भूगर्भविद डा. सौनक भण्डारीमाथि पनि कानूनको आफूखुसी व्याख्या गरी राजस्वबाट उन्मुक्ति दिएको आरोप अख्तियारले लगाएको थियो । उद्योगीहरुले भने करसम्बन्धी विवादमा भ्रष्टाचार मुद्दा लगाउन नमिल्ने दाबी गर्दै आएका थिए ।

पत्रकारितासँगै व्यावसायिक अचार उद्यममा जम्दै ‘बन्दना’

पाल्पा । व्यक्ति एक ठाउँ अनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बनेकी छन्, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ । पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्तरुपमा नेतृत्व गर्दै आउनुभएकी पोखरेल यतिबेला अचार उद्यमीको रुपमा कहलिएकी छन्। पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरुका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको उनले बताइन्। एक वर्षअघिदेखि उनले रामपुरमा अचार उत्पादन सुरु गरेकी छन् । पारिवारिक अवस्था अब्बल रहे पनि आफ्नो व्यवसायबाट अरु महिलाले पनि सिको गरुन् भनेर आफैँले व्यस्त समयका अलवा व्यावसायिक अचार उत्पादन सुरु गरेको उनले बताइन् । ‘महिलालाई सशक्तीकरण गर्न, रामपुरको उत्पादन बाहिर चिनाउन र फुर्सदको समय सदुपयोग गर्दै यस व्यवसायमा लागेको छु’, उनले भनिन्, ‘अहिलेको बजार अवस्था राम्रै रहेकाले उत्पादन वृद्धि गर्दै जाँदा यसबाट मनग्य आम्दानी लिन सकिने सम्भावना एक वर्षको अनुभवले मैले देखेको छु ।’ घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा ‘भान्छाको साथी दिदीको अचार’ नाममा उद्योग दर्ता गरी व्यावसायिक उत्पादन सुरु गरेकी छन् । मुला, गाँजर, गुन्द्रुक, भटमास, तामा, अकबरे खुर्सानी, मेथी, लसुन, आँप, अमला, इमिली, लप्सीलगायतका गाउँघरमा उत्पादन हुने कृषिउपजबाट विभिन्न खालका अचार उत्पादन गर्छिन् । होलसेल मूल्य हाल (तौलअनुसार फरक) न्यूनतम रु एक सय १० देखि बढीमा दुई सय ५० र खुद्रा मूल्य न्यूनतम रु एक सय ३५ देखि तीन सयमा धमाधम बिक्री भइरहेको छ । उनी भन्छिन्, ‘अचारको माग धेरै आएको हुँदा यसलाई विस्तार गरी ठूलो मात्रामा उत्पादन गर्ने तयारी गरिरहेको छु, ल्याब टेस्टको लागि भैरहवा पठाइएको हँुदा त्यसको रिपोर्ट आएपछि उत्पादन बढाएर विभिन्न स्थानमा ब्राण्ड बनाएर बजार पठाइनेछ ।’ पाल्पा (तानसेन), बुटवल, काठमाडौँमा समेत अचार खपत भएको छ । स्थानीय उत्पादन भएकाले विभिन्न स्थानबाट खोजी खोजी अचार माग गर्ने बढेको उनी बताउँछिन्। स्थानीय उत्पादनको स्वाद फरक र गुणस्तर राम्रो भएकाले विदेशमा बसोबास गर्ने नेपालीबाट माग भई विभिन्न देशमा अचार पुगेको उद्यमी पोखरेलले बताइन्। कोभिड–१९ को प्रभावले बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै केही नयाँ उद्यम गरौँ भन्ने मनसायले यस व्यवसायमा सीप सिकेर उत्पादन सुरु गरेको उनको भनाइ छ । उद्यमी पोखरेलले काठमाडौँको बूढानीलकण्ठमा रहेको रिक फुड उद्योगमा पाँच दिनको तालिम लिएर व्यावसायिक उत्पादनलाई जोड दिएकी हुन् । ‘न्याय र समानता, आर्थिक समृद्धिका लागि महिलाको अर्थपूर्ण सहभागीता हुनु जरुरी छ, महिला आफैँमा आर्थिक क्षेत्रमा सक्षम भइएन भने घरपरिवार, समाजमा हिंसाको सिकार बन्नुपरेको छ, आफैँले कमाउन सकियो भने अरुसँग आश्रित हुनुपरेन, यसले महिला हिंसाका घटना कमी हुँदै जानेछ’, उद्यमी पोखरेलले भनिन्। उनले रामपुरमा भएको व्यापार मेलामा रु एक लाख २५ हजार बराबरको अचारको कारोबार गरेकी छन् । एक वर्षको अवधिमा मात्रै उनले एक हजार पाँच सय किलो अचार बजारमा खपत भएको छ । बिक्री गर्न तीन सय किलो अचार बाँकी छ भने उत्पादन कार्य चलिरहेको छ । एक वर्षको अवधिमा करिब रु दुई लाख बराबरको अचार बिक्री भएको छ । गत माघ २७ देखि फागुन ८ सम्म रामपुरमा चलेको तेस्रो व्यापार मेला तथा व्यापार मेलामा कृषि ज्ञान केन्द्र पाल्पाको स्टल व्यवस्थापनमा राखिएको अचार मेलाको मुख्य आकर्षणसमेत बनेको थियो । सोही मेलाका कारण अहिले अचारको माग थपिँदै गएको उद्यमी पोखरेल बताउँछिन् । यस क्षेत्रमा सुक्खाभन्दा झोलिलो अचार खोज्ने ग्राहक बढेकाले उनीहरुको मागलाई मध्यनजर गर्दै झोलिलो खालको अचार उत्पादन गर्ने उनको सोच छ । आफ्नै गाउँघरका खेतबारीमा उत्पादन भएका कृषिजन्यउपजलाई अचार बनाएर बजार पठाउँदा आनन्दको अनुभूति भएको उनले अनुभव सुनाइन्। आफूले केही व्यवसाय गरेर समाजमा अन्य महिलालाई पनि विभिन्न उद्यम, व्यवसाय गर्न अग्रसर गराउँदै सामाजिक अभियान्ता, पत्रकारिता सँगसँगै यस उद्योगलाई निरन्तररुपमा अगाडि बढाउने उनी बताउँछिन् । उद्यमी पोखरेल हाल बोलीखबर डटकमका सम्पादक, मेचीकाली राष्ट्रिय दैनिकका पाल्पा संवाददाता तथा प्रेस चौतारी नेपाल पाल्पाका उपाध्यक्ष हुन् । यसका अलवा अहिले उनी मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल विकास समितिद्वारा सञ्चालित साइपल बोटेक ज्वइक टिएमएस जेभी एसोसिएसनको सामाजिक सहजकर्ताका रुपमा समेत काम गर्दै आएकी छन् । व्यस्त समयको बाबजुद पनि अचार उत्पादनमा सक्रियताका साथ लागिरहेकी छन् । श्रीमान् वैदेशिक रोजगारीमा घरमा एक छोरा र आफू बसोबास गर्दै आएकी छन् । उनले पत्रकारिता, सामाजिक अभियान्तासँगै गरेको यस अचार उद्योगले फुर्सदको समय काममा लगाउने र आर्थिक क्षेत्रमा अरुको निर्भर नभई आफैँ अब्बल बन्नुपर्छ भन्ने सामाजमा राम्रो प्रभाव पारेको रामपुरका पुराना पत्रकार वासुदेव ढकाल बताउँछन् । रासस ।

ग्याँस उद्योगमा मर्ज आरम्भ, मेट्रो काठमाडौं र एसटीसी ग्याँस मर्ज हुने

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जर भइरहँदा ग्याँस उद्योगहरु पनि मर्जरका लागि अग्रसर भएका छन् । ग्याँस उद्योगहरुको संख्या धेरै भएपछि मर्जरका बाटो अपनाएर संख्या कम गर्ने भएका हुन् । साथै पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरु संकुचन भएका बेला व्यापार व्यवसाय ठप्प हुन थालेपछि ग्याँस उद्योगहरु पनि मर्ज हुन थालेका हुन् । ग्याँस उद्योगमा मेट्रो काठमाडौं ग्याँस इण्डष्ट्रिज लिमिटेड र एस.टी.सी. ग्याँस उद्योग लिमिटेडले मर्जरको थालनी गर्ने भएका हुन् । यी दुई ग्याँस उद्योग एक आपसमा मर्ज हुने भएका हुन् । एस.टी.सी. ग्याँस उद्योगसँगको मर्जर प्रस्ताव पारित गर्न काठमाडौं मेट्रो ग्याँस इण्डष्ट्रिजले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा चैत २४ गते बिहान ११ बजे साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको हलमा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीको सभाले मर्जरसम्बन्धी सम्पूर्ण काम पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।