सरकारले बढी राजस्व संकलन गर्ने नाममा व्यवसायिक फर्ममा छापा मार्नु गलत : उमेशलाल श्रेष्ठ

काठमाडौं । सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए । ‘अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको छ भने जसका कारण अर्थतन्त्र पनि समस्यामा परेको छ,’ उनले भने, ‘अहिले सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउने पर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरेको छ जुन एकदमै गलत छ ।’ आर्थिक क्षेत्रको सम्वाहक निजी क्षेत्र हो र निजी क्षेत्र नभई सरकार नचल्ने भन्दै अहिलेको अवस्थामा निजी क्षेत्रको मनोवल उकास्न नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए । ‘बजारमा आएको मागको गिरावटको कारण अहिले उद्योगी व्यवसायीको सामान बिक्री हुने अवस्था छैन जसका कारण बैंकको कर्जा तिर्न सक्ने अवस्थामा छैनौं,’ उनले भने, ‘हामी उद्योगी व्यवसायीले बैंकको कर्जा वा ब्याज तिर्दैनौं भनेका छैनौं तर अहिलेको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुर्नतालिकिरण र सरकारले ब्याजमा सहुलियत दिनु जरुरी छ ।’ देशको अर्थतन्त्रमा निजी क्षेत्रले ६५ देखि ७० प्रतिशत योगदान दिँदै आएको भन्दै अर्थतन्त्र जोगाउनका लागि पनि सरकारले निजी क्षेत्रको सुरक्षा दिनुपर्ने बताए । यसैगरी अहिलेको अवस्थामा व्यवसायीक हकहितका लागि महासंघमा कुशल नेतृत्व आवश्यक भएको भन्दै त्यसका लागि अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सारथी भएका वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको बताए । ‘अहिले महासंघले प्रदेश, जिल्ला नगर, वस्तुगत संघ र एसोसिएट्स सदस्यहरुबीच समन्वय गरेर व्यवसायीका वास्तविक समस्या समाधान गर्न सकेको छैन,’ उनले भने, ‘जवसम्म जिल्ला नगर तथा वस्तुगतका साथिहरुले महासंघको केन्द्रिय नेतृत्वलाई गाली गर्ने अवस्था आइरहन्छ तबसम्म महासंघ सुधार भएको मानिदैन ।’ अहिले महासंघको पुरानो गरिमामा आच आएको भन्दै आफुलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाएको अवस्थामा उक्त गरिमालाई उच्च बनाउँदै सम्मानित व्यवसायी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘राज्यलाई सबैभन्दा बढी योगदान दिँदै आएको हामी निजी क्षेत्रलाई हेर्ने नजर एकदमै गलत छ भने जाजय माग राख्दा पनि सरकारले सुनुवाई गरिहेको छैन,’ उनले भने, ‘हामीले राज्यसँग माग्ने होइन देशको अर्थतन्त्र सुधारका लागि राज्यले हामीसँग सल्लाह सुझाव माग्न आउने अवस्था बनाउने छु ।’ यसैगरी कार्यक्रममा उमेशलाल समुहबाट जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट शसक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगर तर्फको उपाध्यक्षमा दाबेदारी दिएको बताएका हुन् । ‘यो क्षेत्रको नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ श्रेष्ठले भने । साथै उनले अहिलेको अवस्थामा व्यवसायीक हितका लागि फुटेरभन्दा पनि जुटेर अघि बढ्नुपर्ने अवस्था आएकाले आफुले उमेशलाल श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा अघि बढाएको समेत उनले जानकारी दिए ।

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको संरक्षकमा राजेशकाजी श्रेष्ठ तथा मानार्थ सदस्यमा ध्रुवकुमार श्रेष्ठ चयन भए भने कार्यसमितिको निवर्तमान अध्यक्षमा नवराज ढकाल र वरिष्ठ उपाध्यक्षमा अरनिको राजभण्डारी निर्वाचित भएका छन् । संघको दुई उपाध्यक्षमा निरज श्रेष्ठ र मनोज ज्ञवाली तथा महासचिवमा तीर्थबहादुर रोका, कोषाध्यक्षमा पवन अग्रवाल र दुई सचिवमा रोमनाथ घिमिरे र मनोज श्रेष्ठ बडेल निर्वाचित भएको संघले जनाएको छ । कार्यसमिति सदस्यहरुमा अरुण केसी, अन्ना मारिया, बसुमाया तामाङ, बीणा प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैंजु, विनोद सग्तानी र वीरेन्द्र शाही चयन भएका छन् । यस्तै, संघको अन्य सदस्यहरुमा किसान सुनार, किशोर भट्टराई, साम्बा लामा, सञ्जय अग्रवाल सर्राफ, सारिक बोगटी, शम्भु लामा, सुमित धानुका, सुशील जैन, सुभाशविक्रम शाह र युगेश बादे श्रेष्ठ निर्वाचित भएको जनाइएको छ । नवनिर्वाचित कार्यसमितिले नेपाल र इटलीबीच व्यापार, लगानी, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य लिएको छ । नेपाल र इटलीबीच व्यापारघाटा कम गर्न नेपाली वस्तुको निकासी बढाउन पहल गर्ने संघले जनाएको छ । संघको साधारणसभालाई गतसाता उपप्रधान तथा भौतिक पूर्वाधार र यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

निजी क्षेत्रको सम्मानविना आर्थिक विकास असम्भव, निर्यातमुलक उद्योगका सहुलियत चाहिन्छ : हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्यमा महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्न छाडेको छ,’ नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघको साधारणसभामा बोल्दै वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकालले भने, ‘जससम्म सरकारले निजी क्षेत्रलाई साझेदारको रुपमा हेरेर सहकार्य गर्दैन तवसम्म देशमा हामीले सोचेजस्तो आर्थिक विकास हुन सक्दैन ।’ देशको उद्योग कलकारखाना स्थापना गरेर स्वदेशभित्रै रोजगारी सिर्जना नगरेसम्म देश आर्थिकरुपमा सम्पन्न हुन नसक्ने उनको तर्क थियो । ‘अहिले देशको मुख्य पुँजीको रुपमा रहेको युवा शक्ति रोजगारीका लागि विदेश पलायन भैराखेका छन् भने उनीहरुले विदेशी भुमिका रगत पसिना बगाएर पठाएको पैसाले देश चलाउन परेको छ,’ उनले भने, ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुपको भरमा पर्नु हो तसर्थ आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि देशभित्रै रोजगारी सिर्जना गर्नु जरुरी छ ।’ यदि कुनै कारणले बैदेशिक रोजगारीमा समस्या आयो भने देशको अर्थतन्त्रनै धराशायी हुने अवस्थामा पुग्ने समेत उनले जानकारी दिए । कुनै समय निर्यातको मुख्य वस्तुको रुपमा रहेको नेपाली गलैचा लगायका वस्तुको अवस्था दयनीय बन्दै गएको भन्दै अबका दिनमा निर्यात वृद्धि गरी विदेशी मुद्रा भित्र्याउन सरकारले विशेष योजना ल्याउनु पर्ने बताए । ‘कुनै समय कार्पेट, पस्मिना, गार्मेन्ट उद्योगले देशको भुक्तानी सन्तुलत गर्न ठूलो योगदान दिएको थियो भने सोही अनुरुप रोजगारी पनि सिर्जना भएको थियो,’ उनले भने, ‘त्यस्ता बस्तु उत्पादनका लागि आवश्कय कच्चा पदार्थ उत्पादनका लागि सरकारले ध्यान नदिनुका साथै निर्यातमा समेत झण्झटिलो प्रक्रिया हुँदा अहिले नगन्य मात्रामा निर्यात हुन थालेको छ ।’ सरकारले निर्यातका सम्भावनाका क्षेत्रको पहिचान गरी त्यस्ता बस्तु उत्पादनका प्रयोग हुने कच्चा पदार्थको भन्सार छुट दिनुका साथै बैंककाट सहुलियत ब्याजदरमा कर्जा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा उनले आफुले निर्यात, उत्पादनमुलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आवद्ध भएर काम गर्दा वस्तगत संघहरुको समस्यालाई नजिकसँग बझेको भन्दै उक्त समस्या समाधानका लागि पनि आफुलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरेका छन् । ‘मैले दुई पटक वस्तुगत संघबाटै सदस्यमा चुनाव जितेर यहिँ क्षेत्रका साथिहरुको हकहितका लागि काम गरिसकेको छु,’ उनले भने, ‘ महासंघले जिम्मेवारी दिएका हरेक क्षेत्रमा अब्बल काम गर्दै आएको र अहिलेपनि सरकारसँग मिलेर कसरी यी क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भनेर छलफल गरिरहेको छु ।’ यदि आफु उपाध्यक्षमा निर्वाचित भएर गएको अवस्थामा वस्तुगत संघको समस्या बुझरे समाधान गर्ने महासंघ बनाउने समेत उनको प्रतिवद्धता थियो । यसैगरी देशको अर्थतन्त्र सुधार गर्न कर्मचारी तन्त्रमा इच्छाशक्ति हुनुपर्ने उनले बताए । देशमा समयसापेक्ष सरकारमा राजनीतिक नेतृत्व फेरिरहने भएपनि कर्मचारीतन्त्र भनेको स्थायी सरकार रहेको भन्दै आर्थिक एजेन्डामा कर्मचारीले विशेष ध्यान दिनुपर्ने समेत उनको भनाई थियो ।