मलेसियाबाट फर्किएका धनबहादुर धानुकले पिउने पानी उद्योग सञ्चालन गर्दै
दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गरेका छन् । करिब एकदशक समय मलेसियामा सुरक्षागार्डको काम गरेर नेपाल फर्किएका उनले ‘बेदकोट बेसलरी’ नामक पिउने पानी उद्योग सञ्चालन गरेका हुन् । पानी उद्योगसँगै उनले सिरक डसना उद्योगसमेत सञ्चालन गरेका छन् । ‘नौ वर्ष मलेसियामा सुरक्षागार्डका रुपमा काम गरे ।’ उनले भने, ‘अर्काको देशमा १२/१२ घण्टा काम गर्नुभन्दा आफ्नै देशमा १२ घण्टा काम गरे सफल भइन्छ भन्ने सोच आयो अनि घरमै उद्योग सञ्चालन गरेको हुँ ।’ डेढ दशकअघि रोजगारी खोज्दै खाडी मुलुक पुगेका उनले अहिले उद्योगमा पाँच जनालाई रोजगारी दिएका छन् । उनले तीन वर्षअघि ३८ लाख रुपैयाँमा उद्योग स्थापना गरेर काम सुरु गरेको बताए । ‘अहिले पाँच जनाबाहेक मलाई बुवा र श्रीमतीले पनि सहयोग गर्नुभएको छ’, उनले भने । ‘विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउँछु भनेर लागेको छु ।’ उनले फुर्सदका समय निकालेर कृषि कार्यमा समेत लागेको बताए । ‘फुर्सद भएका बेला आफ्नै खेतमा काम गर्छु ।’ उनले भने, ‘सिजनका बेला गन्नाको जुस पनि बिक्री गर्ने गरेको छु ।’ उनले पुराना सिरक डसनाबाट नयाँ सिरक डसना बनाउने गरेको बताए । ‘अहिले बेदकोट नगरपालिकामा मात्रै बिक्रीवितरण गर्ने गरेको छु’, उनले भने, ‘बाहिर बजारमा अवस्थ्य प्रतिस्पर्धा छ स्थानीय बजारमै सन्तुष्ट छु ।’ स्वदेशमा उद्यम गर्नका लागि थुप्रै समस्या भए पनि अर्काको देशमा मेहनत गर्नुभन्दा आफ्नै देशमा मेहनत गर्न लागेको उनले बताए । ‘यहाँ केही गर्न चाहनेलाई राज्यबाट सहयोग भएको देखिएन’, उनले गुनासो गर्दै भने, ‘कृषिमा पनि गर्नेले कहिले सहुलियत अनुदान पाउँदैन नगर्नेले अनुदान पाएको हुन्छ ।’ उनले यहाँ बजारको मुख्य समस्या रहेको बताए । विदेशबाट फर्केर स्वदेशमा उद्यम गर्नेलाई स्थानीय सरकारले सहयोग गर्ने भने पनि अहिलेसम्म कुनै निकायबाट सहयोग नभएको उनको भनाई छ । यहाँ कृषि गर्न चाहनेका लागि पनि सरकारले वातावरण बनाउन नसकेको उनको दुखेसो छ । ‘आफ्नै खेतबारीमा केही उत्पादन गरौँ भने पनि त्यस्तो वातावरण छैन’, उनले भने, ‘समयमा मलखाद र बीउबिजन पाउन मुस्किल पर्छ ।’ उनले सरकारले समयमै मलखाद र बीउबिजन उपलब्ध गराए विदेशिने युवा रोकिने बताए । ‘अहिले पनि दैनिक सयौँ युवा विदेश गइरहेका छन् यहाँ रोजगारी नपाएर नै हुन’, उनले भने, ‘सरकारले आफ्नो भूमिमा उत्पादन गर्ने उद्यमीका लागि विशेष सुविधा दिनुपर्छ ।’ उनले आफ्नो उद्योगबाट पर्याप्त आम्दानी नभए पनि परिवारको जोहो भइरहेको बताए । रासस
वरिष्ठ उपाध्यक्षका उम्मेदवारसँग ढकालको ‘टेबल टक’, सर्वसम्मत नेतृत्व चयनको अभ्यास थालौं
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्र २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षीहरुलाई एकै ठाउँमा राखेर सर्वसम्मत नेतृत्व चयन गर्ने किसिमले पहल सुरु गरेका हुन् । ढकाल आगामि साधारणसभाबाट स्वतः अध्यक्ष बन्दै छन् । बुधबार काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनजना आकांक्षीहरु उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर तीन जनालाई मिलेर अगाढि बढ्न आग्रह गरेका छन् । ‘महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो, त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौ भन्ने हो, ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन्, यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ, यसै शिलशिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो,’ ढकालले भने । उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतीको झनै ठूलो महत्व रहने बताए । ‘हामी एक भयौं भने मात्र निजी क्षेत्र बलियो हुन्छ,। हाम्रो महत्व बढ्छ, हाम्रा माग सम्बोधन गराउन सकिन्छ, अहिलेको अवस्थामा झन हामी एक हुनुको विकल्प छैन,’ उनले भने । उनले निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा व्यवसायीहरु बिभाजन नहुन पनि आग्रह गरेका छन् । एकता र सहकार्यबाट समाधान खाजेर अगाडि बढ्नु पर्न उनको भनाइ छ ।
छोराभाइलाई जिताउन पूर्व अध्यक्षको दौडधूप, ५ जनाले खुलेरै गरे समर्थन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोल उत्कर्षमा पुगेको छ । देशका उद्योगी व्यवसायीको छाता संस्थाको महासंघको ५७औं वार्षिक साधारण सभा र निर्वाचन अधिवेशन चैत २८ र २९ गते हुँदैछ । सो नर्वाचनका लागि तीन व्यानल चुनावी मैदानमा छन् । तीन वटै प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेर मनोनयन पनि दर्ता गरिसकेका छन् । चैत २८ गते हुने महासंघको साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष बन्दैछन् भने उनको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित कार्यकारिणी सदस्यका लागि तीन वटा प्यानलहरु प्रतिस्पर्धामा छन् । यसअघि महासंघको निर्वाचनमा दुइटा प्यानल मात्रै चुनावी प्रतिस्पर्धा होमिएपनि यस पटक भने तीन वटा समूह चुनावी मैदानमा छन् । वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईले आफ्नो प्यानल नै बनाएर अहिले प्रचार प्रसारमा व्यस्त छन् भने मत आफ्नो पक्षमा पार्न मतदाताहरुसँग आग्रह गरिरहेका छन् । जिल्ला/नगर, वस्तुगत, एशोसिएटतर्फ उम्मेदवारी दिँदै उम्मेदवारले आफ्नो जित निश्चित भएको दावी गरिरहेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोशिएटतर्फको उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दिएका छन् भने अञ्जन श्रेष्ठको समूहबाट जिल्लानगर तर्फ अरुणराज सुमार्गी, वस्तुगततर्फ मनिषलाल प्रधान र एसोशिएटर्फको उपाध्यक्षमा भरत आचार्यले उम्मेदवारी दिएका छन् । आचार्य उमेशलाल र अञ्जनका साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । यस्तै, रामचन्द्र संघईको समूहबाट जिल्लानगरमा सुरकृष्ण बैद्य, वस्तुगतर्फ सुकुन्तलाल हिराचन र एसोशिएट उपाध्यक्षतर्फ ज्योत्साना श्रेष्ठले उम्मेदवारी दिएकी छन् । वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । पूर्व अध्यक्षहरुको दौडधूप विगतका वर्षहरुमा महासंघको निर्वाचनमा पूर्व अध्यक्षहरुको भूमीका बढी हुन्थ्यो । अर्थात् पूर्व अध्यक्षहरुले एउटा उम्मेदवारको साथ दिएर अर्कोलाई हराउन लाग्थे । त्यो क्रम यस वर्ष केही कम देखिए पनि त्यसको बाछिटा भने सकिएको छैन । यस वर्ष ढिलो गरी सुरु भएको महासंघको चुनावी रौनचमा यस वर्ष पाँच जना पूर्व अध्यक्षहरु खुलेआम चुनावी दौडधूपमा छन् । विशेष गरेर अहिले पूर्व अध्यक्षहरु महेशलाल प्रधान, आनन्दराज मुल्मी, कुशकुमार जोशी, चण्डीराज ढकाल र विनोदबहादुर श्रेष्ठ खुलेआम रुपमा आफ्नो टीम भनेर समर्थनमा लागेका छन् । केही पूर्व वरिष्ठ उपाध्यक्षहरु पनि महासंघको चुनावी रौनकमा व्यस्त छन् । वर्तमान अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल कुनै पनि प्यानलमा देखिएका छैनन् । यसअघिका चुनावहरुमा बहालवाला अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षहरुले एउटा टीमको समर्थन गरे पनि यस पटक भने त्यस्तो देखिएन । अघिल्लो निर्वाचनमा किशोर प्रधान र चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा गर्दा प्रधानको पक्षमा तत्कालीन अध्यक्ष भवानी राणा र तत्कालीन वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा देखिएका थिए भने ढकालको पक्षमा पूर्व अध्यक्ष चण्डीराज ढकाल देखिएका थिए । तर, वर्तमान कार्यसमितिका अध्यक्ष र वरिष्ठ उपाध्यक्ष मौन बस्दा चुनावी माहोल थप रोचक बनेको छ । यद्यपि पाँच जना पूर्व अध्यक्षले भने खुलेरै आफ्नो टीम भन्दै प्रचारप्रसार गरिरहेका छन् । महासंघको नेतृत्व चयनमा पूर्व अध्यक्षहरूको भूमीका पनि महतवपूर्ण हुने जानकारहरु बताउँछन् । उमेशलाललाई ढकाल र श्रेष्ठको साथ वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठलाई पूर्व अध्यक्ष द्वय चण्डीराज ढकाल र विनोदबहादुुर श्रेष्ठले साथ दिएका छन् । ढकाल आफुलाई महासंघको चुनावमा ‘किङ्ग मेकर’को रुपमा चिनाउन रुचाउँछन् । किनकी आफुले जुन प्यानलाई साथ दियो त्यही प्यानलले जित्ने उनको दाबी लामो समयदेखिको हो । उमेशलालको उम्मेदवारी घोषणा कार्यक्रममा यी दुई पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । त्यसैले पनि यो उमेशलाल प्यानललाई यी दुई पूर्व अध्यक्षले साथ दिएको बुझिएको हो । गत सोमबार भएको उनको श्रेष्ठको उम्मेदवारी घोषणा कार्यक्रममा दुवै पूर्व अध्यक्षहरुले यो टीमलाई मतदान गर्न अपील गरेका थिए । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष ढकालले महासंघको गरिमालाई कायमै राख्न उमेशलालको समूहलाई मतदान गर्न मतदातालाई आग्रह गरे । ढकाल वस्तुगत उपाध्यक्षका उम्मेदवार हेमराज ढकालका दाजु हुन् । त्यसैले पनि उनी सो टीममा लागेको धेरैको बुझाइ छ । उनले आफुसँग सातै प्रदेशका अध्यक्षहरु र विभिन्न वस्तुगत संघका अध्यक्षहरुले यति मत दिने बताएको उल्लेख गर्दै उमेशलालको समूहको जित सुनिश्चित भएको दावी गरे । उनले महासंघ पार्टीको भातृ संगठन जस्तो हुन नदिन यो समूहलाई मतदान गर्न आवश्यक रहेको धारणा राखे । पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठले पनि सबैले उमेशलालको टीमलाई चाहेको धारणा राखे । उनले निर्वाचनमा पूर्व अध्यक्षहरुको भूमीका महत्वपूर्ण हुने बताउँदै यस पटक उमेशलालको टिमले जित्ने पक्का भएको बताए । ‘महासंघको निर्वाचानमा पूर्व अध्यक्षको भूमिका महत्वपूर्ण हुन्छ, उमेशलालको योगदान महासंघमा महत्वपूर्ण छ र महासंघको गरिमा कायमै राख्न यो टीमको आवश्यकता छ,’ उनले भने । महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार श्रेष्ठ र पूर्व कोषाध्यक्ष निरज केसीले पनि श्रेष्ठको समूहलाई खुलेरै समर्थन गरेका छन् । कतिपयले यो समूहलाई पूर्व उपाध्यक्ष किशोर प्रधानको पनि साथ रहेको बताइरहेका छन् । अञ्जनलाई तीन पूर्व अध्यक्षको काँँध दुई अध्यक्ष ल्याएर उम्मेदवारी घोषणा गरेका उमेशलालको भन्दा बढी पूर्व अध्यक्षलाई बोलाएर अञ्जन श्रेष्ठले आफ्नो तागत देखाएका छन् । बुधबार उम्मेदवारी घोषणा गर्दै उनले तीन पूर्व अध्यक्षहरु महेशलाल प्रधान, आनन्दराज मुल्मी र कुशकुमार जोशीको समर्थन आफुलाई रहेको प्रमाणित गराएका हुन् । अञ्जन समूहबाट प्रतिस्पर्धामा रहेका वस्तुगत उपाध्यक्षका उम्मेदवार मनिषलाल प्रधान पूर्व अध्यक्ष महेशलाल प्रधानका छोरा हुन् ।अञ्जनलाई पूर्व अध्यक्ष पशुपति मुरारकाको पनि साथ रहेको स्रोत बताउँछ । तर, उनी अहिलेसम्म खुलेका छैनन् । कार्यक्रम यी तीनै जनाको सहभागिता थियो । आफुलाई बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरिरहेका श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफुले उम्मेदवारी दिएको धारणा राखे । उम्मेदवारी घोषणा कार्यक्रममा पूर्व अध्यक्षहरुको तर्फबाट बोल्दै पूर्व आनन्दराज मुल्मीले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अञ्जनको समूह सवल, सक्षम र अनुभवी रहेको धारणा राखे । ‘यो मुलुकले चाहेको जिवन्त र चलायमान अर्थतन्त्र हो, अर्थतन्त्र स्थीर हुनु भनेको विकास रोकिनु हो, वर्षेनी समस्याहरु थपिँदै गएका छन्, आउने दिनमा झन चुनौतिहरु थपिने देखिन्छन्, यी सबै समस्याको समाधानका लागि अञ्जनको टीम सक्षम देखिन्छ, यो टिमलाई नै जिताउन आवश्यक छ,’ उनले कार्यक्रममा भने । संघाई भन्छन् : गोल्छा र ढकालको साथ छ वरिष्ठ उपाध्यक्षको लागि टीमसहित चुनावी मैदानमा रहेका रामचनद्र संघाइले आफुलाई अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको साथ रहेको दाबी गर्दै आएका छन् । उनले गत आइतबार उम्मेदवारी घोषणा गर्दै गोल्छा र ढकालको साथ आफुलाई रहेको दाबी गरे । उनले आफ्नो प्रचार प्रचार पर्चाहरुमा पनि गोल्छा र ढकालको साथ रहेको भनेर दाबी गरेका छन् । यस विषयमा उनीहरु दुवै जनाले मुख खोलेका छैनन् । उनीहरु मौन छन् । संघाइले घोषणा कार्यक्रममा राखेका ब्यानर तथा फ्लेक्समा पनि वर्तमान अध्धक्ष र वरिष्ठ उपाध्यक्षको साथ सहयोग र समर्थनसहित भन्दै तस्वीर पनि राखेका थिए । उनीसँग कुनै पनि पूर्व अध्यक्षहरु भने खुलेका छैनन् । महासंघमा १ सय २१ जिल्ला नगर, १ सय २३ वस्तुगत संघ छन् भने १ हजार ७ सय ३२ एशोसिएट सदस्य छन् । २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू छन । निर्वाचनमा जिल्ला नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत हुन्छ भने एशोसिएटस सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघको मतभार ३० प्रतिशत हुन्छ । यस्तै, वस्तुगतसंघको मत भार २० प्रतिशत हुने व्यवस्था छ । चैत २९ गते हुने निर्वाचनमा ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र द्विराष्ट्रिय सदस्यमा नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनिल केसी निर्विरोध निर्वाचित भइसकेका छन् ।