महासंघको निर्वाचन : चन्द्रको झिमिक्क र पैसाको प्रभाव

काठमाडौं । चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन र त्यसको सम्भावित परिणामबारे निजी क्षेत्रमा धेरैको चासो छ । धेरै विषय प्रष्ट हुँदै गएका छन्, केही विषय अन्योलामा छन् । विधानअनुसार बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वतः अध्यक्ष बन्दैछन् । लुम्बिनी प्रदेश र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य पदमा सर्वसहमति भएको छ । बाँकी ६१ पदमा लागि ११६ जनाको उम्मेदवारी परेको उद्योग वाणिज्य महासंघले जनाएको छ । बरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको उम्मेदवारी दिएका छन् । तिनै जनाले प्यानलसहित चुनावी प्रचारप्रसारमा अन्तिम चरणमा छन्। प्यानल निर्माणको क्रममा उमेशलाल श्रेष्ठ सबैभन्दा अगाडि, अञ्जन श्रेष्ठ दोस्रो र रामचन्द्र संघई तेस्रो देखिए । तीनमध्ये कसले जित्ला भन्नेमा मानिसहरुको फरक फरक विश्लेषण रहेको छ । वस्तुगतमा ढकाल र प्रधानबीच प्रतिष्पर्धा वस्तुगत तर्फको उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ । हेमराज ढकाल, मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनले वस्तुगत तर्फको उपाध्यक्षका लागि मनोनयन दर्ता गरेका छन् । अहिले पनि महासंघको कोषाध्यक्ष रहेका हिराचनले चुनाव हार्न सक्ने अनुमान गरेका छन् । उनको प्रचारप्रसार, उनले विभिन्न व्यक्तिहरुसँग गरेको लविङ र उनको टीममा उनको निकट समूहका सदस्यहरुको उपस्थितिले पनि धेरैको त्यो अनुमान सही सावित हुन सक्छ । वस्तुगत समूहबाट १४ सदस्य निर्वाचित हुनुपर्ने विधानमा व्यवस्था छ । हिराचनको समूहबाट सदस्यमा एक जनाको पनि उम्मेद्वारी परेन । महासंघको वर्तमान कार्यसमितिका कोषाध्यक्ष समेत रहेका हिराचन उपाध्यक्षका लागि योग्य उम्मेद्वार मात्र होइन, एक सक्षम व्यक्ति पनि हुन्, उनी एक परिचित अनुहार पनि हो । तर पनि उनले सबैभन्दा थोरै मत पाएर पराजित हुने आकंलन व्यवसायीहरुले गरेका छन् । अरु पक्ष जति सबल भएपनि निर्वाचनमा एक्लै जितिँदैन । हिराचनले ६ वर्षअघि स्वतन्त्र उम्मेद्वार रहेका अनुपबहादुर मल्लको जति पनि भोट नपाउने सम्भावना रहेको धेरैको दाबी छ । वस्तुगत उपाध्यक्षका अन्य दुई उम्मेद्वार मनिषलाल प्रधान र हेमराज ढकालले हिराचनलाई प्रतिस्पर्धीको रुपमा लिएकै छैनन् । ढकाल र प्रधानबीच भने प्रतिस्पर्धा राम्रो हुने देखिएको छ । उनीहरुले सदस्यहरुमा पनि १४/१४ जनाको समूह बनाएर प्रतिस्पर्धामा होमिएका छन् । ढकाल उमेशलालको टिमबाट र प्रधान अञ्जनको टिमबाट प्रतिस्पर्धा गर्दैछन् । उमेशलाल यसअघि दुई कार्यकाल वस्तुगत तर्फको उपाध्यक्ष निर्वाचित भइसकेका व्यक्ति हुन् । तर, पछिल्लो निर्वाचनमा अञ्जनसँग उमेशलाल पराजित भएका थिए । वस्तुगत संघहरुमा दुबैको प्रभाव र पकड उत्तिकै बलियो भएको अनुमान छ । बोलिचाली, आनीबानी र मतदातासँगको सम्बन्धका आधारमा प्रधानले भन्दा ढकालले बढी मत पाउन सक्ने धेरैको अनुमान छ । जिल्लामा अरुण र दिनेशबीच प्रतिस्पर्धा उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा पनि तीन जनाले प्रतिस्पर्धा गर्दैछन् । रामचन्द्रको समूहबाट सुरकृष्ण वैद्य, अञ्जनको समूहबाट अरुणराज सुमार्गी र उमेशलालको समूहबाट दिनेश श्रेष्ठको उम्मेद्वारी परेको छ । चुनावी दौडधूपको बेलामा करिब दुई महिनासम्म उमेशलालको समूहबाट जिल्ला भ्रमण गरेका सुरकृष्ण बैद्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै रामचन्द्रको समूहमा पुगेका हुन् । महासंघको चनावी माहोल नजिकबाट नियाल्नेहरुका अनुसार तीन जना उम्मेद्वारमध्ये सुरकृष्ण सबैभन्दा पछाडि छन् । जिल्ला उपाध्यक्ष पदमा निकटम प्रतिस्पर्धा अरुणराज सुमार्गी र दिनेश श्रेष्ठबीच हुने धेरैको अनुमान छ । दिनेश पाको व्यक्ति, व्यवसायीको समस्या बुझ्ने र बोल्ने व्यवसायीको छवि बनाएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदरको विषयमा सडकमा सबैभन्दा बढी कराउने व्यवसायी नै उनै श्रेष्ठ हुन् । त्यसैले पनि उनलाई धेरै व्यवसायीले रुचाएका छन् । तर, दिनेशको लागि मुख्य चुनौति भनेको उनी सोही पदका लागि तेस्रो पटक उम्मेदवार बनेका छन् । मतदाताले नयाँ अनुहार खोजी गर्नु उनको लागि सबैभन्दा ठूलो चुनौतिको विषय बन्न सक्छ । अरुणराज सुमार्गीले अघिल्लो निर्वाचनताका पनि जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गरेको थिए । पछि उनले दिनेश श्रेष्ठलाई समर्थन गरे र कार्यसमिति सदस्यमा उठेका थिए । कृषि उद्यम केन्द्रको सभापति समेत भएर राम्रो काम गरेको, अघिल्लो निर्वाचनमा पनि त्याग गरेको र यसपालीका निर्वाचनमा तयारी पनि राम्रो भएकोले आफूले निर्वाचन जित्ने सुमार्गीको दावी छ । जे होस् दिनेश र अरुणराजबीचको प्रतिस्पर्धा रोचक नै हुने देखिन्छ । एशोसिएटमा भरतराज अगाडि एशोसिएट समूहको उपाध्यक्षमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । आचार्य उमेशलाल र अञ्जन समूहको साझा उम्मेद्वार बनेका छन् । ज्योत्सना प्यानल फेर्दै, फोटो खिचाउँदै, समाचार लेखाउँदै रामचन्द्र संघईको प्यानलमा पुगेर अडिएकी छन् । एशोसिएट मतदाताले प्रतिनिधि (प्रोक्सी) मार्फत् मतदान गर्न पाउँछन् । प्रोक्सी जसको हातमा बढी छ, उसले विजय हासिल गर्छ एशोसिएटतर्फ । करिब १७ सय एशोसिएट सदस्य रहेकोमा भरतराजले करिब ८०० प्रोक्सी संकलन गरेको र ज्योत्सनाले करिब ६०० प्रोक्सी संकलन गरेको दावी गरेका छन् । करिब ३०० मतदाताले विवेक प्रयोग गर्दैछन् । आइतबार रामचन्द्र संघई समूहले गरेको रात्रिभोज कार्यक्रममा पनि ज्योत्सना प्रभाव कमजोर रहेको देखियो । सो कार्यक्रमम एसोसिएटतर्फका सदस्यहरुको सहभागिता न्यून थियो । यसको प्रभाव ब्यालेट बक्समा देखिने नै छ । वरिष्ठ उपाध्यक्षको निर्वाचन दुई चरणमा अहिले महासंघको निर्वाचनका लागि तीन समूह प्रतिस्पर्धा छन् । वरिष्ठ उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेकोले पनि धेरैले महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्न सक्ने अनुमान गरेका छन् । त्यो अनुमान महासंघको निर्वाचन समितिले पनि गरेको छ । समितिले जानीबुझि नै वरिष्ठ उपाध्यक्ष पदका लागि चैत ३० गते निर्वाचन हुन सक्ने र त्यसको लागि तयारी गरेको सूचना सार्वजनिक गरिसकेको छ । विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनको लागि कम्तिमा ५१ प्रतिशत मत ल्याउनुपर्ने छ । तीन जना उम्मेदवार हुँदा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसक्ने अनुमान गरिएको छ । पहिलो चरणका बढी मत प्राप्त गर्ने दुई वरिष्ठ उपाध्यक्षको उम्मेद्वारहरुबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । पहिलो चरणका ‘टप टु’मा पर्न सफल उम्मेदवार दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । तेस्रो भएको उम्मेदवारले दुईमध्ये एउटा उम्मेदवारलाई समर्थन गरेमा तेस्रोको समर्थन पाएको उम्मेदवार विजयी हुन सक्ने सम्भावना देखिन्छ । दोस्रो चरणका दावेदार सबैभन्दा कम उम्मेद्वार लिएर चुनावी प्रतिस्पर्धामा गएका रामचन्द्र संघईका लागि महासंघको निर्वाचन सबैभन्दा चूनौतिपूर्ण देखिन्छ । उनलाई पहिलो चरण पार गर्न नै चुनौतिपूर्ण रहेको धेरैको बुझाइ पनि छ । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ रामचन्द्र संघईको प्रभाव कम छ । जिल्लानगरतर्फ संघई कमजोर हुनुमा तीन वटा कारण छन् । पहिलो, जिल्ला नगरमा प्रभाव राम्रो भएका कोही पनि रामचन्द्र संघाईको प्यानलमा छैनन् । दोस्रो, उनले मारवाडी भर्सेस् अन्य समुदायबीच दूरी बढाउने किसिमले चुनावी टिम बनाए । खास गरी एशोसिएट सदस्यहरुमा र कार्यक्रमहरु पनि त्यसैगरी सञ्चालन गरे । तेस्रो, शेखर गोल्छा र पशुपति मुरारका अध्यक्ष हुँदा जिल्ला नगर संघ सदस्यहरु महासंघको नेतृत्वसँग बढी असन्तुष्ट बने । त्यसको असर रामचन्द्रलाई पर्ने जानकारहरु बताउँछन् । वस्तुगत तर्फ उपाध्यक्षमा मात्र उम्मेदवार बनाउन सक्नु र १४ सदस्य पदमा एक जना पनि उम्मेदवार दिन नसक्दा संघईले वस्तुगतबाट सबैभन्दा कम मत पाउन सक्ने आँकलन छ । यस समूहको मतभार २० प्रतिशत छ । वरिष्ठ उपाध्यक्ष पदका लागि मतभार ३० प्रतिशत रहेको एशोसिएटबाट भने संघईले सबैभन्दा बढी मत पाउने छन् । एशोसिएट उपाध्यक्ष भरतराजलाई जाने मत उमेशलाल र अञ्जनलाई बाढिने सम्भावना छ भने ज्योत्सानाले पाउने मत संघईलाई जानेछ । वस्तुगत र जिल्लामा बढी प्रभाव अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको देखिन्छ । ज्योत्सनाले गुट परिवर्तन गरेपछि खस्किएका अञ्जन भरतराजलाई एसोशिएट उपाध्यक्ष बनाएपछि उत्साहित देखिन्छन् । रामचन्द्र, अञ्जन र उमेशलाल सबैले पहिलो चरणमा नै निर्वाचन जित्ने दावी गरेपनि त्यो सम्भव देखिँदैन । जिल्लाबाट सबैभन्दा बढी मत पाउने उमेशलाल समूहको दावी छ । चण्डीराज ढकाल, दिनेश श्रेष्ठ लगायत जिल्लामा बढी प्रभाव छोड्ने व्यक्तिहरु उमेशलालको टिममा छन् । वस्तुगतबाट पनि सबैभन्दा बढी मत पाएर पहिलो चरणमा नै आफू विजयी हुने उमेशलाल समूहको विश्लेषण छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोशिएटबाट बढी मत पाउने अञ्जन समूहको विश्लेषण छ । धेरैले उमेशलाल र अञ्जन नै दोस्रो चरणमा प्रवेश गर्न सक्ने अनुमान गरेका छन् । चन्द्रको झिमिक्क र पैसाको प्रवाह यो निर्वाचनको नयाँपन भनेको महासंघको वर्तमान अध्यक्ष र अध्यक्ष हुँदै गरेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको मौनता हो । अघिल्लो निर्वाचनहरुमा अध्यक्ष वा वरिष्ठ उपाध्यक्ष प्रिय प्यानलको चुनावी घोडा बनेर जाने गरेका थिए । यस पटक त्यस्तो देखिएन । तैपनि शेखर र चन्द्र ढकालले कसलाई समर्थन गर्लान् ? भनेर धेरैले प्रतिक्षा गरिरहेका छन् । जिल्ला नगर, वस्तुगत, एशोसिएट सबैतिर राम्रो सम्बन्ध भएको र चन्द्र ढकाल झिमिक्क इसारा मात्र गरे पनि झण्डै १० देखि १५ प्रतिशत मत प्रभावित हुने जानकारहरु बताउँछन् । ढकाल आफैले कसलाई मत हाल्ने भन्ने बारेमा अन्तिम समय झिमिक्क मात्र गर्दा काफी हुने बताउँदै आएका छन् । दोस्रो, पुष्टि गर्न गाह्रो हुने तर सबैले स्वीकार गरेको अदृष्य मतप्रभाव हुन्छ । पैसामा भोट किनबेच हुन्छ । ‘चैत मसान्तको किस्ता जसले तिर्छ, उसैलाई भोट’ भन्ने आवाज महासंघको चुनावी पार्टीमा धेरै सुनियो । आर्थिक संकटको बेलामा दारुपानी पिएर बोलिएको यस्ता अभिव्यक्तिमा शंका गर्ने ठाउँ छ । दुई दर्जनभन्दा बढी जिल्ला तथा नगर उद्योग वाणिज्य संघको प्रतिनिधिहरुले उम्मेद्वारसँग लाखौं रुपैयाँ लिएर भोट हाल्ने गरेको पनि बताइन्छ । यसरी भोट किनबेच हुने भएकोले पनि निर्वाचन परिणामबारे आँकलन गर्न कठिन हुने जानकारहरु बताउँछन् ।

वरिष्ठ उपाध्यक्ष ढकालद्वारा वृहत् राष्ट्रिय विमर्शको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्न आग्रह गर्दै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष ढकाल यो साधारण सभाबाट महासंघको अध्यक्ष बन्दै छन् । “यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा छ । आर्थिक गतिविधिहरु शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी/व्यवसायीहरु समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजश्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन,” उनले भने, “तर, अर्थतन्त्रका सबै सरोकारहरुले बेलैमा बिचार पुर्‍याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो छैन ।” उनले हाम्रो जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने बताए । बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफू अध्यक्ष भएपछि निजी क्षेत्रलाई प्रोटोकल कायम गर्ने बताएका छन् । जसको लागि सरकारसँग पहल कदम चाल्ने उनको भनाई छ । ‘नजिकको तीर्थ हेला भने जस्तै निजी क्षेत्रलाई हेर्ने दृष्टि गलत छ, निजी क्षेत्रसँग हातेमालो गरेर विकसित मुलुक बन्न सम्भव छ, यो क्षेत्रको आधुनिकिकण गर्न सरकारलाई आग्रह छ,’ उनले भने । उनले सरकारले लगानी बिना प्रतिफल हुने गरि वातावरण कायम गर्नु पर्ने बताए । एफडीआईबाट आउने लगानीलाई सहि रुपमा प्रयोग गर्न सक्नु पर्ने उनकोे भनाई छ । ‘पुराना नियन्त्रणमुखी कानुनहरु संशोधन गर्न जरुरी रहेको बताउँदै उनले भने- ‘नयाँ सरकार बनेपछि नयाँ नयाँ मन्त्री आउँदा निजी क्षेत्र अन्यौल बनेको उनले भने । साथै, उनले सातै प्रदेशमा ठूला आयोजना निर्माण कार्य अघि बढाएको जानकारी गराए ।