व्यापार घाटा ११ खर्ब, १८ प्रतिशतले घट्यो आयात

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार आयातमा १८ र निर्यातमा २६ प्रतिशतले कमी आएको छ । नौ महिनाको अबधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो आवको तुलनामा चालू आवको ९ महिनामा १८.८ प्रतिशतले आयातमा कमी आएको हो । अघिल्लो वर्षको सोही अबधिमा १४ खर्ब ६६ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको आयात भएको थियो । यस्तै, चालू आवको नौ महिनाको अबधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आवमा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा चालू आवमा २६.३४ प्रतिशतले निर्यातमा कमी आएको हो । चालू आवको नौ महिनाको अबधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कमी आएको हो । नौ महिनाको अवधिमा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबर भएको विभागले जनाएको छ । अघिल्लो आवमा १६ खर्ब २७ अर्ब २३ लाख ४९ हजार रुपैयाँ बराबरको कूल व्यापार भएको थियो ।

नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता, २१६ उद्याेग दर्ता

काठमाडौं । नौ महिनामा करिब दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना गत साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि २५ अर्ब ४४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार आठ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । चैत महिनामा मात्रै तीन हजार छ सय १२ जनालाई रोजगारी दिने उल्लेख छ । यस्तै, नौ महिनामा दुई सय ५३ वटा विदेशी लगानीका उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ३१ हजार चार सय ४६ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जसमा चैतमा आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा दुई अर्ब ६४ करोड नौ लाख रुपैयाँ, भदौमा तीन अर्ब ४४ करोड ६५ लाख रुपैयाँ, असोजमा एक अर्ब ८५ करोड ४७ लाख रुपैयाँ र कात्तिकमा तीन अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । यस्तैगरी, मङ्सिरमा ८० करोड आठ लाख रुपैयाँ, पुसमा चार अर्ब ८५ करोड २० लाख रुपैयाँ, माघमा एक अर्ब ३९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ को साउनमा पाँच अर्ब ५३ करोड ५० लाख रुपैयाँ, भदौमा छ अर्ब ३२ करोड रुपैयाँ, असोजमा एघार अर्ब ९६ करोड पाँच लाख रुपैयाँ, कात्तिकमा ९८ करोड रुपैयाँ, मङ्सिरमा पाँच अर्ब १५ करोड ५१ लाख रुपैयाँ, पुसमा ६१ करोड २० लाख रुपैयाँ, माघमा ५३ करोड ९५ लाख रुपैयाँ र फागुनमा दुई अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । त्यस्तै, चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब नेपाली रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार पाँच सय ५९ रुपैयाँ लाभाशंबापत रकम फिर्ताको सिफारिस भएको हो । विभागले नौ महिनामा रोयल्टीबापत दुई अर्ब ११ करोड ६ हजार छ सय ३४ रुपैयाँ, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर रुपैयाँ, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ । विभागले चैत महिनामा लाभाशंबापत तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई सय ३५ रुपैयाँ विदेश लैजान सिफारिस गरेको हो । यस्तै, रोयल्टीबापत चैत महिनामा बीस करोड ६० लाख नौ हजार पाँच सय २६ रुपैयाँ, ७३ हजार तीन सय १३ अमेरिकी डबर रुपैयाँ, १५ लाख ४५ हजार सात सय ८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो । यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । चैत महिनामा मात्रै विभागले एक सय ६६ लगानीकर्ता, ४५ प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ । रासस

बजारमा ४० देखि ८० प्रतिशत माग संकुचन छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् । सोमबार काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताए । उनले पछिल्लो समय उद्योगी व्यवसायीहरु कठिन अवस्थामा गुज्रिएको बताए । उनले व्यवसायीहरुलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताए । अध्यक्ष अग्रवालले पछिल्लो समय कागजी रुपमा बैंकहरुमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरुले सहजरुपमा कर्जा पाउन नसकेको दाबी गरे । उनले व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्न समेत नसकि रहेको उल्लेख गरे । उनले भने,‘अहिले उद्योगी र व्यवसायीहरु कठिन परिस्थितिमा गुज्रिरहेका छन् । व्यवसायीहरुले बैंकको उच्च ब्याजदरको समाना गर्नु परेको छ । बैंकहरुमा तरलताको अवस्था सुधार भए पनि कागजमा सिमित हुँदा उद्योगी व्यवसायीहरुले अझै ऋण पाउन समस्या छ । व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्ने कमजोर अवस्था देखापरेको छ । मागमा ४० देखि ८० प्रतिशतको कमी आएको छ । सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक छ । सरकारले समयमा नै पुँजीगत खर्च गर्नुपर्छ । यतिबेला सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाउने काम गर्न खाँचो छ ।’ अध्यक्ष अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए । उनले सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक रहेको बताए । उनले सरकारले समयमा नै पुँजीगत खर्च गर्न नसक्दा पनि धेरै समस्या देखिएको बताए ।