संघको प्रश्न- गलैँचामा भ्याट किन ? तत्काल फिर्ता गरियोस्

काठमाडौं । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले गलैँचा उद्योग उत्पादन स्रोतमै मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कार्य अव्यावहारिक रहेको जनाउँदै फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी वार्षिकरूपमा ५० लाख रुपैयाँभन्दा कम कारोबार हुने उद्योग भ्याटमा दर्ता हुनु र जान नपर्ने स्पष्ट कानूनी व्यवस्था नरहेकाले समयमै निर्णय फिर्ता लिन सुझाव दिएको हो । सो अवसरमा सङ्घका अध्यक्ष तेन्जिङ गुरुङले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा दुई दशमलव १६ प्रतिशत योगदान पुर्याउँदै आएको गलैँचा उद्योगलाई यस वर्षको बजेट वक्तव्यबाट सरकारको प्राथमिकताबाट हटाइएको भान भएको प्रतिक्रिया दिए । उनले भने- ‘सुविधा र सहुलियत दिएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बढाउने कार्यमा सरकारको सहयोग र समन्वय आवश्यक छ ।’ सरकारको पछिल्लो निर्णयबाट नेपाली गलैँचाको उत्पादन लागत मात्र नभई मूल्यसमेत बढ्न गई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चुनौती खडा हुने उनको भनाइ थियो । ‘आगामी आर्थिक वर्षमा गलैँचा उद्योगसँग सम्बन्धित व्यवस्थालाई पुनर्विचार गरी पूर्ववत् यथावत व्यवस्था कायम गरिदन सङ्घ सरकारसमक्ष अपील गर्दछ,’ सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । करिब दुई सयको सङ्ख्यामा गलैँचा उत्पादक तथा निकासीकर्ता आवद्ध रहेको सङ्घले नेपाली गलैँचा उद्योगको संवर्द्धन, प्रवर्द्धन तथा विकासमा आवश्यक सहयोग र समन्वय गर्दै आएको छ । मुलुकको निकासीजन्य सामग्री उत्पादन गर्ने प्रमुख उद्योगका रूपमा रहेको गलैँचा उद्योगले वार्षिक १० अर्ब रुपैयाँ बराबरको सामग्री निकासी गरी भुक्तानी सन्तुलनमा टेवा पुर्याउँदै आएको छ । गलैँचा उद्योगले करिब दुई लाखलाई प्रत्यक्षरूपमा रोजगारी प्रदान गर्दै आएको महासचिव बलराम गुरुङले बताए । देशका अशिक्षित एवं गरिबीको रेखामुनि जीवनयापन गरिरहेका र सीमान्तकृत समूहलाई उद्योगले प्रत्यक्षरूपमा रोजगारी प्रदान गरेको सङ्घको दाबी छ । मुलुकको आयात र निर्यातबीच रही आएको ठूलो खाडल हटाएर सन्तुलन गर्न गलैँचा उद्योगले केही हदसम्म योगदान पुर्याइरहेको छ । सरकारले भ्याटसम्बन्धी गरेको निर्णयले वैदेशिक निर्यातमा ३० प्रतिशत गिरावट आउने जनाउँदै सङ्घले फिर्ता लिन अनुरोध गरेको उनले बताए । नेपालले गलैँचाका लागि चाहिने आवश्यक कच्चा पदार्थअर्थात् ऊन न्यूजिल्याण्ड र तिब्बतबाट ल्याउने गरेको छ । अल्लो, गाँजा, केराको रेशा तथा रेशमी धागो प्रयोग हुने भएकाले नेपाली गलैँचा अरु देशको तुलनामा सरदरमा २० प्रतिशत महँगो भए पनि गुणस्तरीय हुने गरेको निर्यातकर्ताको दाबी छ । कतिपय अवस्थामा एउटा गलैँचा तयार गर्न तीनदेखि छ महिनासम्म लाग्ने र त्यसको मूल्य ४० लाख रुपैयाँसम्म पर्ने जानकारी गराइयो । नेपालसँग कुनै बेला वार्षिक ३३ लाख वर्गमिटरसम्म गलैँचा उत्पादन गरेको रेकर्ड रहेकामा हाल वार्षिक चार लाख वर्गमिटर उत्पादन हुँदै आएको छ । रासस

शिवम् सिमेन्टका कार्यकारी निर्देशक अवार्डबाट सम्मानित

काठमाडौं । सिवम् सिमेन्ट लिमिटेडका कार्यकारी निर्देशक रघुनन्दन मारु इन्टरनेशनल अवार्डबाट सम्मानित भएका छन् । असार ९ गते दुबईमा भएको इन्टरनेशनल एचिभर कन्फ्रेन्स (आइएसी)द्वारा आयोजित कार्यक्रममा उनी आउटस्टान्डिङ इन्टरनेशनल लिडरसिप एचिभर्स अवार्ड–२०२३ बाट सम्मानित भएका हुन् । मारु शिवम् सिमेन्टको स्थापना काल देखिनै निर्देशकको रुपमा कार्यरत रहँदै आएका छन् । उनी विगत लामो समय देखि निरन्तर व्यावसायी क्षेत्रमा सकृय रुपमा लागी रहेका तथा कुशल नेत्तृत्वका साथ संस्था संचालनमा अब्बल ब्यक्तित्वको रुपमा पहिचान बनाएका छन् । आइएसीले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ र यस वर्ष दुवईमा १६औं अवार्ड कार्यक्रम आयोजना गरेको थियो । आइएसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साह गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, विभिन्न राष्ट्रका महत्वपूर्ण योगदान पुर्याएका उत्कृष्ट उद्योगीहरुको छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु गर्दै आईरहेको छ । उक्त कार्यक्रममा राष्ट्रिय स्तरका नेताहरु, सेलिब्रेटी एम्बास्डरहरु, विभिन्न राष्ट्रका उच्च पदाधिकारी लगायत २०० जना भन्दा बढीको सहभागिता रहेको थियो । आइएसीले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रिका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने उद्योगहरुको छनौट गरी उद्योगको समग्र क्षेत्रको मुल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदान आधार छनौट गरी अवार्ड दिने गर्दछ ।

स्टार्टअप उद्यमलाई सघाउन विराटनगरमा एन्जल इन्भेष्टर नेटवर्क स्थापना

काठमाडौं । स्टार्टअप उद्यमलाई शुरुवाती लगानी व्यवस्थापनमा सघाउन विराटनगरमा एन्जल इन्भेष्टर नेटवर्क स्थापना भएको छ । बिहिबार उद्योग संगठन मोरङको आयोजनामा सम्पन्न एन्जल ईन्भेसरर्स मिटको नेटवर्कमा संगठनका अध्यक्ष राकेश सुराना, मेयर नागेश कोईराला, सुयश प्याकुरेल, नन्दकिशोर राठी, राजकुमार गोल्छा, भोलेश्वर दुलाल, विपिन कावरा, सुरेन्द्र गोल्छा, वीरेन्द्र राठी, दिपक कुमार अग्रवाल, जयन्द्र शर्मा, सन्तोष कुमार भगत, सिद्धार्थ कावरा, विवेक राठी, मनोज अधिकारी, सुजित झा, विनय विष्णु के.सी, युक्ति गोल्छा, राघव कोईराला, मनोज विक्रम शाह, विकास कुमार वेगवानी, अशोक वगडिया, रोमन कट्टेलले आवद्ध हुन प्रतिवद्धता जनाएका छन् । विगत दुई वर्ष देखि संचालनमा रहेको स्टार्टअप कार्यक्रमको दोश्रो सत्रमा व्यवसायीक विकासको सेवा अन्तर्गत बजारीकरण, वुट क्याम्प, हाटबजार लगायतका कार्यक्रम संचालन गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले वताए । उनले संगठनको मेन्टरसिपमा रहेका स्र्टाटअपहरुलाई लगानीमा पहुच पुर्याउदै वित्तीय व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले एन्जल ईन्भेष्टरर्स मिटको आयोजना गरिएको बताउँदै व्यसायीक योजना भएरपनि लगानीका लागि विउपूँजीको अभावमा व्यवसाय प्रारम्भ गर्नबाट वन्चित भएका व्यवसायलाई लगानीमा प्रोत्साहन गरी सकारात्मक वातावरण तयार गर्ने विश्वास संगठनका अध्यक्ष सुरानाले व्यक्त गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले उद्योग संगठन मोरङले सानो स्वरुपमा संचालनमा ल्याएको कार्यक्रमलाई महानगरपालिकाले आगामी दिनमा आफनो वार्षिक कार्यक्रममा समावेश गरी ठूलो स्वरुपमा लगि युवाहरुलाई उद्यमशिलता विकास तर्फ अभिप्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरे । स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले ईन्भेष्टमेन्टका मोडालिटी र प्राविधिक विषयका सन्दर्भमा समितिले तयारी गरिरहेको जानकारी दिदै यसले युवा उद्यमशिलता विकासमा छुट्टै आयाम थप्ने विश्वास व्यक्त गरे । उनले असार ११ गते संगठन अन्तर्गतका दोश्रो चरणका तेह्र स्र्टाटअपहरुले आफनो व्यवसायको पिचिङ गर्ने र आफुलाई उपयुक्त लागेको व्यवसायमा ईन्भेष्टरर्सको नेटवर्कमा रहेका लगानीकर्ताले लगानी गर्ने कार्यक्रम रहेको बताए । सो अवसरमा संगठनका अध्यक्ष राकेश सुराना, महानगरपालिकाका मेयर नागेश कोईराला, निर्वतमान अध्यक्ष सुयश प्याकुरेल र संयोजक सुरेन्द्र गोल्छाले एन्जल ईन्भेष्टरर्स नेटवर्कको लोगो अनावरण गरेको थिए । कार्यक्रममा संगठनको कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरु, वैंकसहरु, चार्टर्ड एकाउन्टेन्टहरुको सहभागिता रहेको थियो ।