काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित पदाधिकारीहरूले महासंघभित्र हुने राजनीतिक खिचातानीलाई अन्त्य गर्दै अब पूर्ण रूपमा देशको आर्थिक एजेन्डामा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै उनीहरूले निजी क्षेत्रको आत्मसम्मान र लगानीमैत्री वातावरणका लागि सरकारसँग सहकार्य गर्दै अघि बढ्ने बताएका हुन् ।
महासंघका एशोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डेले विगतमा महासंघभित्र विधान संशोधन र सदस्यताका विषयमा धेरै राजनीति हुने गरेको स्मरण गर्दै अब ती दिन सकिएको बताए ।
‘अब हामी आर्थिक मुद्दामा कटिबद्ध हुने गरी प्रण गरौं,’ उनी भन्छन्, ‘विगतमा सरकार सुस्त थियो होला, तर अब उद्योगी व्यवसायीहरू सरकारको गतिमा मात्र होइन, निजी क्षेत्रले नै देशको आर्थिक गति बढाउन नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’
त्यसैगरी, वस्तुगत तर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चुनावी प्यानलको प्रसङ्ग अब समाप्त भइसकेको उल्लेख गर्दै सबैलाई एउटै परिवारको रूपमा अघि बढ्न आग्रह गरे ।
‘आगामी कार्यसमिति बैठक, समिति गठन वा विभागहरूमा अब पक्ष–विपक्ष हुनुहुँदैन,’ उनले भने ।
श्रेष्ठले बैंकहरूमा थुप्रिएको तरलता अहिले बैंकहरूकै लागि बोझ बनेको टिप्पणी गर्दै लगानीको वातावरण निर्माणमा जोड दिए ।
साथै निर्यातमा पाइरहेको अनुदान कटौती भएकोमा चिन्ता व्यक्त गर्दै वैदेशिक लगानी भित्र्याउन निजी क्षेत्रले नै अग्रसरता लिनुपर्ने उनको तर्क थियो ।
त्यस्तै, जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले आफ्नो निर्वाचनलाई ऐतिहासिक भन्दै नारायणी नदी पारिबाट जिल्ला नगरको नेतृत्वमा पुग्नु गौरवको विषय रहेको बताए ।
उनले व्यवसायीमाथि हुने पटक–पटकको धरपकड र नेतृत्व थुनिएर बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्घोष गरे । ‘निजी क्षेत्रको आत्मसम्मानका लागि म सदैव अगाडि बढ्नेछु, मप्रतिको विश्वासलाई डगमगाउन दिने छैन,’ शर्माले प्रतिबद्धता जनाए ।
अर्का उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले जिल्ला नगरका व्यवसायीहरू अहिले एमआरपीको समस्याले पिरोलिएको बताए । भन्सारमा गाडीहरूको लर्को लाग्ने समस्याप्रति संकेत गर्दै उनले सबै व्यवसायीलाई एकजुट हुन आह्वान गरे ।
सरकारको आलोचना गर्दै श्रेष्ठले भने, ‘राजस्व अनुसन्धान विभाग खारेज गर्ने अर्थमन्त्रीले चोरीपैठारी रोक्न सक्नुभएन। सरकारले व्यापारीलाई दुःख दिने नियत राख्नुहुँदैन ।
उनले पनि निर्वाचनका प्यानलहरू बिर्सेर अब अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा एकढिक्का भएर अघि बढ्ने स्पष्ट पारे ।