अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन आग्रह
काठमाडौं । नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । परिसङ्घको नवनिर्वाचित पदाधिकारीले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर निजी क्षेत्रको मनोबल उच्च बनाउने र अर्थतन्त्र चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए । ‘पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरूले स्थगित गरेको थिए, अहिले तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पूँजी कर्जाका विभिन्न प्रावधानका कारणले कर्जा लिन सकेका छैनन्,’ अध्यक्ष अग्रवालले भने । उनले आगामी आवमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए । लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तीमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमूलक क्षेत्रमा जोड दिनुपर्ने उनको भनाइ थियो । स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता रहेको अध्यक्ष अग्रवालले बताए । भेटमा गभर्नर अधिकारीले परिसङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए । उनले परिसङ्घले अध्ययन गरेर दिएको नीतिगत सुझावलाई ग्रहण गर्दै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंक लाग्ने बताए ।
मूल्यवृद्धि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजक भइरहनु पर्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजक भइरहनु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन् । सो अवसरमा गभर्नर अधिकारीले परिसंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए । उनले परिसंघले अध्ययन गरेर नीतिगत सुझाव दिने गरेको भन्दै आगामी दिनमा पनि सोही अपेक्षा गरेको बताए । छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए । पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरुले स्थगित गरेको जानकारी गराउँदै उनले हाल तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पूँजी कर्जाका विभिन्न प्रावधानहरूका कारणले कर्जा लिन नसकेको बताए । उनले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए । लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तिमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्ने उनले बताए । उनले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमुलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता पनि औल्याए ।
साढे २ लाख रुपैयाँ लगानीमा कालीकोटमा नेपाली कागज उद्योग, ४ जनालाई रोजगारी
काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा नेपाली कागज उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । स्थानीयस्तरका पाइने कच्चा पदार्थ सङ्कलन गरेर टोप्ला लघुउद्यम विकास समूहले नेपाली कागज उद्योग सञ्चालन गरेको गाउँपालिका उद्यम विकास शाखाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए । ‘२ लाख ४० हजार रुपैयाँमा टोप्ला लघुउद्यम विकास समूह गठन गरी कागज उद्योग सञ्चालन गरिएको हो, गाउँपालिकाले ३ वर्ष पहिलेदेखि स्थानीय कच्चा पदार्थबाट हुने उत्पादनलाई लघु उद्योग स्थापनालाई प्राथमिकतामा राख्दै आएको छ,’ उनले भने । गाउँमै उत्पादन हुने कच्चा पदार्थ सेतोवढु सदुपयोग हुने र गाउँमै रोजगारी पाउने आएको स्थानीय राजबहादुर सहकारीले बताए । ‘गाउमै केही गरौँ भन्ने युवाहरू मिलेर कागज उद्योगको स्थापना गरेका छौँ, यसले स्थानीयलाई रोजगारी दिन सहयोग पुगेको छ,’ उनले भने । गत वैशाखमा स्थापना भएको उद्योगबाट हालसम्म दुई सय थानभन्दा बढी नेपाली कागज उत्पादन भइसकेको टोप्ला लघुउद्यम विकास समूहका अध्यक्ष जसमल बोगटीले जानकारी दिए । ‘नेपाली कागज बनाउन चाहिने अन्य केमिकल कास्टिङ सोडा, ब्रिफ पाउडर र नुरी खरिद गरी ल्याइएका छौँ, कागज बनाउनका लागि आवश्यक कच्चा पदार्थ गाउँमै उत्पादन हुने गरेको छ,’ उनले भने । उद्योगमा ४ जना स्थानीयले रोजगारी पाएका छन् ।