महासंघको कोषाध्यक्षमा अम्बिका पौडेलको दाबी

तेस्रो पटक महासंघमा निर्वाचित पौडेल यसअघि राजस्व समिति सभापति थिए ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को कोषाध्यक्षमा अम्बिका पौडेलले दाबी गरेका छन् । एसोसिएट तर्फबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका पौडेलले कोषाध्यक्षमा दाबी रहने बताएका हुन् । 

उनले कार्यसमिति सदस्यहरुसँग आफ्नो कोषाध्यक्षमा दाबी रहने बताउँदै सहयोगको अपिल गरेका हुन् ।  

एसोसिएटतर्फको १७ सदस्य पदका लागि भएको प्रतिस्पर्धामा पौडेलले १ हजार १९३ मत प्राप्त गर्दै विजयी भएका थिए । पौडेल तेस्रो पटक महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि उनी महासंघको कर तथा राजस्व समिति सभापतिको भूमिकामा थिए ।

पौडेल पुँजी बजारका लगानीकर्ताहरूको छाता संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष हुन् । उनी बैंक तथा वित्तीय संस्था, जलविद्युत्, निर्माण कम्पनी, पर्यटन तथा उत्पादनमूलक उद्योग क्षेत्रमा समेत सक्रिय रूपमा आबद्ध छन् ।

पौडेलले सहकार्य, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै व्यावसायिक हकहितका विषयमा बुलन्द आवाज उठाउने बताएका छन् । सम्पूर्ण व्यावसायिक समुदायको आवाजलाई सम्मान गर्दै साझा लक्ष्य हासिल गर्न एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 

Share News