काठमाडौं । नेपाललाई सूचना प्रविधिको क्षेत्रमा विश्व मानचित्रमा स्थापित गर्ने उद्देश्यका साथ नेपाली लगानीमा अत्याधुनिक डेटा सेन्टर परियोजना बिचुटेन डेटा वर्ल्ड सञ्चालनमा आउने भएको छ ।
नेपालमा बढ्दो डिजिटल माग र कृत्रिम बाैद्धिकता (एआई) को भविष्यलाई मध्यनजर गर्दै साढे २ अर्ब रुपैयाँको प्रारम्भिक लगानीमा यो परियोजना सुरु गरिएको हो ।
नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेको बिचुटेन डेटा वर्ल्ड अन्तर्राष्ट्रिय स्तरको ‘टियर ४ प्रमाणीकरण प्राप्त गर्ने देशकै पहिलो अत्याधुनिक डेटा सेन्टर हुनेछ ।
यसको सबैभन्दा ठुलो विशेषता भनेको यसले प्रदान गर्ने ९९.९९ प्रतिशत अपटाइम हो । जसको अर्थ यहाँ राखिएका डिजिटल तथ्याङ्क र सेवाहरू वर्षभरि नै बिना कुनै अवरोध निरन्तर सञ्चालनमा रहनेछन् ।
उच्च स्तरको सुरक्षा र ब्याकअप प्रणाली हुने भएकाले जस्तोसुकै कठिन प्राविधिक समस्या वा मर्मत सम्भारको समयमा पनि सेवा बन्द नहुने जनाइएकाे छ ।
विशेषगरी एआई कार्यभार र ठूला डिजिटल डाटाहरू व्यवस्थापनका लागि यो पूर्वाधार खडा हुने कम्पनीको भनाइ छ ।
किन राखियो बिचुटेन नाम ?
परियोजनाको नाम बिचुटेन भगवान विष्णुको जापानी नामबाट जुराइएको हो । कम्पनीका अनुसार जसरी भगवान विष्णुलाई सृष्टिको रक्षक र संरक्षक मानिन्छ, त्यसैगरी यो डेटा सेन्टरले नेपालको महत्त्वपूर्ण डेटालाई सुरक्षित र संरक्षित राख्ने, डेटा सार्वभौमिकताको रक्षा गर्ने कम्पनीका अध्यक्ष नवीन अग्रवालले जानकारी दिए ।
उनका अनुसार कम्पनीले काठमाडौंको चोभार र वीरगञ्ज गरी दुईवटा स्थानमा डेटा सेन्टर निर्माण गरिरहेको छ । चोभारको सेन्टर मुख्य केन्द्रको रूपमा रहनेछ भने वीरगन्जको सेन्टरलाई डिजास्टर रिकभरी साइटका रूपमा प्रयोग गरिनेछ । २४० किलोवाट क्षमताबाट सुरु भइ सन् २०३० सम्ममा ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ ।
चोभारमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र आगामी जुलाईसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको अध्यक्ष अग्रवालले बताए ।
उनले भने, ‘स्वदेशी जनशक्ति र हरित ऊर्जाको प्रयोग यो परियोजनाले नेपालको दक्ष जनशक्तिलाई स्वदेशमै अवसर प्रदान गर्ने लक्ष्य हामीले राखेको छौं । नेपालका इन्जिनियर र प्राविधिकहरूलाई विदेश पलायन हुनबाट रोक्न यसले ठूलो मद्दत पुर्याउनेछ । साथै नेपालको सस्तो र स्वच्छ जलविद्युत लाई उपयोग गर्दै यसलाई वातावरणमैत्री र किफायती बनाइनेछ ।’

अन्तर्राष्ट्रिय साझेदारी र भविष्यको सोच बिचुटेनले एआई प्रविधिलाई नेपालको कुना–कुनासम्म पुर्याउन भिभिडीएन र गुगल क्लाउडजस्ता विश्वविख्यात प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको उनको भनाइ छ ।
यसले नेपालको शिक्षा, स्वास्थ्य अर्थात् अस्पतालको रिपोर्ट डिजिटलाइज गर्ने, कृषि र सरकारी सेवाहरूमा आमूल परिवर्तन ल्याउने अपेक्षा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले सन् २०३० सम्ममा आफ्नो क्षमता ५ मेगावाटसम्म पुर्याउने दीर्घकालीन योजना अघि सारेको छ । ‘यो केवल एउटा भवन मात्र होइन, यो डिजिटल नेपालको एउटा बलियो जग हो,’ बिचुटेनका अध्यक्ष अग्रवालले भने ।
यस परियोजनाको सफल कार्यान्वयनसँगै नेपाल दक्षिण एसियाकै एक प्रमुख डेटा सेन्टर हब बन्ने र डिजिटल अर्थतन्त्रमा ठूलो योगदान पुग्ने कम्पनीको भनाइ छ ।
बिचुटेन डाटा भोल्ट प्रालि नेपाली निजी कम्पनी हो । यसले डिजिटल पूर्वाधार निर्माणको काम गरिरहेको अध्यक्ष अग्रवालले जानकारी दिए ।
यसमा उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयल संलग्न रहेका छन् ।