क्रसर तथा खानीमा वर्तमान मापदण्ड तत्काल सुधार गर्नुपर्छ : महासंघ

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले ढुङ्गा, बालुवा र ग्राभेलजस्तो स्वदेशी कच्चापदार्थ, लगानी र उद्योग सञ्चालनमा देखिएको असहजता हटाउन यससम्बन्धी वर्तमान मापदण्ड तत्काल सुधारको खाँचो औंल्याएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा महासंघका अध्यक्ष सीताराम न्यौपानेले हालको मापदण्ड उद्योग सञ्चालन गर्नेभन्दा बन्द गराउनेतर्फ लक्षित रहेको आरोप लगाए । उनले भने, ‘मापदण्डमा उद्योग विस्थापित गर्ने उद्देश्य देखिन्छ, व्यवसायीले राज्यलाई तिर्नुपर्ने कर तिर्न मञ्जुर भए पनि नवीकरण गर्न नसकिएको अवस्था छ । राज्यको हित विपरीत तथा उद्योग र व्यवसायीलाई बदनाम गर्ने चेष्टाका साथ ल्याएको मापदण्ड तत्काल सुधार हुनुपर्छ ।’ महासंघले समितिसमक्ष दिएको निवेदनका आधारमा छलफलका लागि बोलाइको बैठकमा महासंघका महासचिव पुरुषोत्तम रेग्मीले सम्पूर्ण हिसावले स्वदेशी लगानी र कच्चापदार्थ रहेको रोडा, ढुङ्गा र गिट्टी सम्बन्धित उद्योग एवं व्यवसायको दर्ता नवीकरणका लागि सहज र सरल तुल्याउन आवश्यक रहेको बताए । उनले तीन तहका सरकार र विभिन्न सरोकारबाला मन्त्रालयबीच समन्वय अभाव तथा कानुनी अड्चनका कारण उद्योग दर्तामा निकै झन्झट ब्यहोर्न परेको घटनासहितको गुनासो सुनाए । बैठकमा समितिका सदस्य सूर्यमान दोङले ढुङ्गा, बालुवा र गिट्टीजस्ता खानी तथा खनिजजन्य उद्योग व्यवसायको प्रवद्र्धनमा देखिएको कानुनी र व्यावहारिक अड्चन हटाउन समितिको अग्रसरतामा तत्कालै सरोकारवाला मन्त्रालय र निकायसँग गहन छलफलको आवश्यकता औँल्याए । समितिका सदस्य लालप्रसाद लिम्बूले मुलुकभर करिब दुई खर्ब रुपैयाँको लगानी, दुई लाखलाई प्रत्यक्ष रोजगारी र वार्षिकरुपमा करिब चार अर्ब रुपैयाँ योगदान पुर्‍याएको उद्योग सञ्चालनका लागि संसदीय समिति सहयोगी बन्नुपर्ने धारणा राखे । चुरेबाट बगेर हटाउनैपर्ने अवस्थामा रहेको मुलुकभर ठूलो मात्रामा गिट्टी, बालुवा र रोडाढुङ्गा रहेको हुँदा मुलुकको मागलाई आवश्यक पर्नेबाहेक अरू निकासीका लागि अनुमति दिँदा निकासी पैठारीमा देखिएको असन्तुलन कम गर्न सकिने उनले बताए । रासस

मारुती सिमेन्टका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरेको भन्दै सिमेन्ट उत्पादक संघको आपत्ति

काठमाडौं । बिनाअनुसन्धान मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको घटनाप्रति नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ । कुनै व्यक्तिले घर बनाउँदा बनाउँदै भत्किएको घटनामाथि थप अनुसन्धान नगरी उजुरीकै आधारमा पक्राउ पूर्जी जारी गरिएको भन्दै संघले आपत्ति जनाएको हो । सोही उजुरीका आधारमा उद्योगका सञ्चालकसहित दुई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले सोही घटनामा कम्पनीका बिजेनस डाइरेक्टर ज्योति शर्मालाई पक्राउ गरेको छ । पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामग्रीको प्रयोगलगायत प्रविधिक विषयमा अनुसन्धान नगरी एकपक्षीय रूपमा उद्योगीलाई निसाना बनाइएको संघको भनाइ छ । उद्योगीलाई अनावश्यक दुःख दिने उद्देश्यले पक्राउ पुर्जी जारी भएको विरोध भएपछि प्रशासन दबाबमा परेको थियो । कुनै व्यक्तिले विषयलाई अन्यत्र मोडेर निहित स्वार्थको लागि दिएको उजुरीको आधारमा अर्बाैंको लगानी गर्ने करोडौं राजस्व र हजारौंलाई रोजगारी दिने उद्यमी व्यवसायीलाई थुन्ने तथा पक्राउ पुर्जी जारी गर्ने जस्ता कार्य गर्नु समग्र औद्योगिक वातावरणमा नकारात्मक असर पर्ने संघको भनाइ छ । गुणस्तरसम्बन्धी विषयमा आकर्षित हुने कारबाही सम्वन्धित ऐन नियम अनुसार नै हुनुपर्ने कानुनी व्यवस्थालाई विषयान्तर गरी ठगी (अपराधिक) मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिनु उद्योगीलाई पक्राउ गर्ने जस्ता क्रियाकलापले लगानीकर्ता हतोत्साही हुने र यस्ता क्रियाकलापवाट देशलाई फाइदा नहुने संघको दाबी छ ।

नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात

चितवन । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ । सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ । एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना छ । सो सहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन । पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो । कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार अहिले पठाइएको हाइलेज डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको हो । क्रमशः अम्रिसो, नेपियर लगायतका घाँसबाट समेत पशुआहार बनाइँदै छ । यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएको हो । चाङका अनुसार किसानलाई उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोगसमेत गरिँदै आएको छ । यो प्रविधिमा दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ । सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि यो घाँस चीन पठाउने चाङले जानकारी दिए । दुई वर्षसम्म घाँस प्रयोग गर्न मिल्छ । यसलाई निकै पोषिलो आहारका रुपमा लिने गरिन्छ । कम्पनीले किसानसँग गुणस्तर हेरेर बोटै सहितको मकै खरिद गर्दै आएको छ । पशुआहारलाई रोला बनाएर पठाइएको छ । एउटा रोलामा चार सय ६० किलो पशुआहार हुन्छ । उनका अनुसार दैनिक ८० देखि एक सय रोला पशुआहार उत्पादन गर्न सकिन्छ । हाल तयार गरिएको पशुआहार चितवनका विभिन्न ठाउँबाट सङ्कलन गरिएको हो । धेरै मात्रामा पूर्वी चितवनको मकै रहेको छ । सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो । पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ । चाङले चीनको सो क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग रहेको बताए। सिगात्से सहरसँग भरतपुर महानगरपालिकाको भगिनी सम्बन्ध रहेको छ । पशु आहार निर्यात कार्यक्रमको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपालका लागि चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।