सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ काठमाडौंमा हुने
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन ‘एभरेष्ट समिटर समिट’ नेपालमा हुने भएको छ । विश्वभरका पर्वतारोहीलाई एकै थलोमा जम्मा गरेर उनीहरूको अनुभव आदानप्रदान गर्ने, साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपालले यही जेठ १३ मा सम्मेलन आयोजना गर्न लागेको हो । नेपालले पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौंमा आयोजना गर्न लागेको एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिए । उनका अनुसार सम्मेलनमा भाग लिन हालसम्म १६ देशका एक सय ७७ आरोहीले नाम दर्ता गराइसकेका छन् । सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका विश्वभरका पाँच सय आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्वीट्जरल्याण्ड, नर्वे, इरान, सिङ्गापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, युएईलगायत मुलुकका आरोहीहरूले सहभागिता जनाउनेछन् । 'सम्मेलनमा ७१ वर्षअघिदेखिका सगरमाथा आरोहीको सहभागिता रहनेछ । कीर्तिमानी आरोहीको अनुभव आदनप्रदान हुनेछ । फरक क्षमता भएका कीर्तिमानी आरोहीको प्रस्तुति रहनेछ', अध्यक्ष नेपालले भने । उनका अनुसार सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक सर एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गरिनेछ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा बृहत् छलफल हुने अध्यक्ष नेपालले जानकारी दिए । हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएका खुसीको आदानप्रदान हुनेछन् । प्रकृतिका लागि विश्वव्यापी कोष (डब्लुडब्लुएफ), अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), समृद्ध पहाडलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा हिमालका समस्याका बारेमा आरोहीसँग समूहगत छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । पर्यटन व्यवसायीको छाता संस्थाहरू नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाललगायत संस्थाको समन्वय र सहकार्य रहेको अध्यक्ष नेपालले जानकारी दिए । सम्मेलनले नेपाल भ्रमण गर्न आउने तथा बढी खर्च गर्ने पर्यटकलाई हौसला प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ । नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटनमा महत्त्वपूर्ण इभेन्टका रूपमा आयोजना हुने यस समिटर सम्मेलन साहसिक पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । रासस
फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौंमा सुरक्षित अवतरण
काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई सुरक्षित अवतरण गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौं फर्काउने निर्णय लिएका थिए । बिहान ७ बजेर २४ मिनेटमा विमान सुरक्षित अवतरण भएको हो । विमानको इञ्जीनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए । यात्रुहरू सबै सुरक्षित रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ ।
हिमालको काखमा हराएका चार दिन [यात्रा वृत्तान्त]
नयाँ यात्रा । एउटा नयाँ गन्तव्य । मनमा पृथक किसिमको उत्साह । कहिलेकाँही जीवनको व्यस्तताबाट थाकेका आत्माहरूलाई प्रकृतिको काखमा थोरै पल विश्राम चाहिन्छ । त्यो विश्राम केबल विश्राममात्रै होइन, आफूलाई चिन्ने, बुझ्ने र महसुस गर्ने एउटा सुवर्ण अवसर पनि बन्दो रहेछ । हावामा हिमालको सुगन्ध, सल्लाघारीबाट चियाउँदै आएका सूर्यको किरण, बाटोभरि ढकमक्क फुलेर स्वागत गर्न बसेका लालीगुँरासहरू । कानै सुरिलो पार्ने टिनटिन टिनटिन बजिरहेका लावा लस्कर खच्चडरूको घाँटीमा झुण्डिएका घण्टीहरू । अनि मन फुरुङ्ग पार्ने सिरसिरे बतास । आहा ! कसलाई पो जान मन लाग्दैन होला पुनहिल ? यही सौन्दर्यताको सुगन्ध सुँघ्न वैशाख २१ गते मेरो यात्रा काठमाडौंबाट म्याग्दीको प्रसिद्ध पर्यटकीय गन्तव्य पुनहिलसम्मका लागि सुरु भयो । जीवनको पहिलो पटक यति टाढासम्मको लागि यात्रामा निस्किँदै थिएँ म । साथमा आमा बुबा र भाइ पनि । पहिलो पटक यति लामो यात्रामा निस्किएकोले पनि होला, धेरै कौतुहलता, उत्साह र थोरै संशयहरु बोकेर वैशाख २१ गते बिहानै काठमाडौंको माछापोखरीस्थित लोत्से भवनबाट बागलुङ जाने बस चढ्यौं । काठमाडौंको कोलाहल, धुलो-धुवाँ पार गर्दै बसले आफ्नो रफ्तारको गति बढायो । नागढुङ्गा पार भयौं । सुरुवातमै सडकका दायाँबायाँ देखिने हरियाली, नागढुङ्गाको सुरुङ मार्ग र परम्परागत ढुङ्गा-माटोका घरहरूले मेरो मन आकर्षित गर्यो । पोखरा पुग्दासम्म मेरो मनको फुरुङ्गता शरीरमा फैलिसकेको थियो । साँझ ४ बजे पोखरास्थित नयाँ पुलमा बस रोकियो । त्यतिबेलै हामीले घान्द्रुक जाने जीप समात्यौं । मोदीखोलाको छेउछाउ बग्दै गरेका जलविद्युत आयोजना, साँघुरो तर सुन्दर सडक छिचोल्दै हामी घान्द्रुक पुग्यौं । घान्द्रुक । ओहो ! घान्द्रुक त स्वर्ग पो रहेछ । ढुंगाका घरहरू, फूलले सजिएका आँगनहरू अनि त्यहाँका मिजासिला मान्छेहरु । मलाई थप आनन्द र रमाइलो महसुस हुनथाल्यो । २१ गते रात घान्द्रुकमै बित्ने भयो । पर्यटकीय स्थलमा बसाइँ महँगो पर्छ भन्ने कतै सुनेको थिएँ । अहँ ! तर, मेरो बुझाइ गलत सावित भयो । खाना बस्नसहित एक हजार एक सय रुपैयाँ खर्चमै घान्द्रुकमै बस्न पाइयो । ठाउँजस्तै स्वर्गको स्वाद खानामा भेटें मैले । घ्यूसहितको ढिँडो, फापरको साग, घान्द्रुकको विशेष निउरो, आलु काउलीको तरकारी, र मुलाको अचार । खानाको मीठो स्वादसँगै घान्द्रुकको बारेमा छेउमै बसेर बताइरहेका आठ कक्षामा पढ्ने एक जना घान्द्रुककै सानो भाइको मीठा कुराहरू मलाई अहिलेसम्म पनि याद आइरहेको छ । रात घान्द्रुकमै बित्यो । बिहान फापरको रोटी र कालो चिया लिएर हाम्रो यात्रा गन्तव्यसम्मका लागि सुरु भयो । घान्द्रुकदेखि घोरेपानीसम्म पैदल यात्रा घान्द्रुकलाई ढाकेको बिहानी सूर्यका किरणहरू । बिहानै यात्रातर्फ लागिरहेका स्वदेशी र विदेशीहरूको लावालस्कर । त्यही भीडमा मिसियौं हामी पनि । २२ गते बिहान ९ बजे हाम्रो पदैल यात्रा घान्द्रुकबाट घोरेपानीसम्मका लागि सुरु भयो । मैले आजका दिनसम्म लामो पैदल यात्राको अनुभव लिएकी थिइनँ । तर, हिम्मत जुटाएँ र सात घण्टाको घोरेपानीसम्मको यात्रा प्रारम्भ गरें । बाटोभरि लालीगुँरासका फूल, पानीको सुस्केरा दिने धाराहरू, ढुङ्गाका सिँढीहरू, समुन्द्रमा नुहाउन हतारमा सुसेल्दै छिचोल्लिरहेका झरनाहरू, अनि त्यसभित्र हराउँदै गएका चराहरूका मीठा आवाजहरू । यी सबैले पदयात्रालाई स्वर्गको अनुभूति गराइरहेका थिए । ठाँटी, देउरालीजस्ता गाउँहरू पार गर्दै करिब ७ घण्टाको पैदलयात्रा समाप्त गर्दै हामी बेलुका करिब ७ः३० बजे घोरेपानी पुग्यौं । सात घण्टासम्मको पैदल यात्रा मेरो लागि सात सौन्दर्यको स्वाद थियो । बाटोमा भेटिएका स्वदेशी र विदेशी पर्यटकहरूसँगको मीठो गफगाफ, एक-अर्कालाई देखाइएको साथ र आत्मीयता साँच्चिकै लोभलाग्दो थियो । भारत, चीन, भियतनाम, बेलायत, जापान, दुबईजस्ता मुलुकबाट आएका पर्यटकहरूसँगको टुटेफुटे अंग्रेजी गफगाफले यात्रालाई थप रोमाञ्चक बनायो । बालबच्चा बोकेर त्यहाँसम्म पुगेका विदेशी पर्यटकलाई देख्दा नेपालमै बसेर यात्रा गर्न अल्छी गरिरहेको मलाई पश्चाताप पनि दिलायो । हाम्रो आजको रात घोरेपानीमै बित्ने भयो । घोरेपानीमा काठबाट बनेका आकर्षक होटलहरूले पृथक किसिमको सौन्दर्यता थपेको थियो । घान्द्रुक भन्दा सस्तो घोरेपानी बन्यो । एक रातमा खान बस्नसहित एक हजार रुपैयाँ शुल्क । सहरिया जीवनशैलीबाट हुर्केकी म गाउँले जीवनशैलीको महसुस र अनुभव घोरेपानीमा गरें । सम्पूर्ण घर परिवार मिलेर होटल सञ्चालन गर्दा रहेछन् । बाँस र निगालोको डोकाहरू बुन्दै हँसिलो मुहारमा होटलमा स्वागत गर्ने घोरेपानीका होटल व्यवसायीहरूको मिजासिलो स्वभाव सायद मैले अब कहिल्यै भुल्न सक्दिनँ होला । मेरो मनको जोश, जाँगर र उत्साह थप चुलिँदै थियो । जसरी ३ हजार २१० मिटरको अग्लो स्थानमा पुनहिल आफूलाई हँसाइरहेको थियो, त्यसरी नै मेरो मनको उर्जा पनि चुलिँदै थियो । २३ गते बिहानै चार बजे उठेर हामी गन्तव्य स्थलतर्फ लाग्यौं । बिहान ४ बजे मोबाइलको टर्च बाल्दै सुरु भएकाे हाम्रो यात्रा साढे ६ बजे पुनहिलको शिखरमा पुगेर रोकियो । पुनहिल पुनहिलमा पुगेर म एकछिन रोकिएँ । सोचें । बुझें र मनमनै भनें, ‘स्वर्ग त यो पो रहेछ ।’ जीवन त यस्तै पो सुन्दर । मैले एकछिन कानबाटै सुसेली मार्दै दौडिरहेको हावासँग गफ गरें । पुनहिलबाट सुन्दर देखिने धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिम श्रृंखला र टुपुलुक्क उदाउँदै गरेको सूर्यको रातो किरणलाई साँची राखेर मनमनै भनें, ‘अब तँ प्रकृतिसँग घुम्नुपर्छ ।’ पुनहिलले मलाई आकर्षित गर्यो । ५० रुपैयाँको पुनहिलको प्रवेश शुल्क ५ हजार पुर्याए पनि हुने नि भन्ने महसुस भयो । ५० रुपैयाँको शुल्कले लाखौंले दिन नसक्ने आनन्द दियो । अनि आफैले आफैलाई भनें, ‘नेपालजस्तो सुन्दर देशमा जन्मिन पाउनु म भाग्यमानी रहेछु ।' सँगै पुनहिल पुगेकी मलाई जन्म दिने मेरी आमाप्रति थप माया, सम्मान र गर्व जाग्यो । त्यो सुन्दर पुनहिलमा जति बसेपनि धीत नमर्ने रहेछ । एक पटक सुन्दर पुनहिललाई मिठो चुम्बन गरेर हामी फर्कियौं । पुनहिलबाट फर्किएपछि हामीले घोरेपानीमा खाजा खायौं । त्यहाँबाट बिदाइ भएर उल्लेरीको यात्रा प्रारम्भ गर्याैं । जंगल, खोला, लालीगुँरास र कहीँकतै बाँकी रहेको हिउँसँग रमाउँदै हामी फर्कियौं । पुनहिलबाट हामी घोडेपानी, खाल्टे, नाङ्गेठाँटी, नयाँठाँटी, वनठाँटी, उल्लेरी, तिखेढुङ्गा, वीरेठाँटी, नयाँपुल हुँदै साँझ पोखरा आइपुग्यौैं । उल्लेरीबाट पोखरासम्म जीपको भाडा १३ सय रुपैयाँ रहेछ । साँझ लेकसाइडको एउटा होटलमा बास बस्यौं । भाडा थियो- रातको २ हजार रुपैयाँ । पोखराको फेवाताल भोलिपल्ट सुन्दर फेवा तालको डुंगा सयर, गुप्तेश्वर महादेवको गुफा, चमेरो गुफा, महेन्द्र गुफा, विन्दावासिनी मन्दिर, स्तूपा र पुम्दीकोटको विशाल शिव मूर्ति अवलोकन गर्याैं । पोखराको हावापानी, फेवातालको छाल र हिमालको छायाले फेरि मनमा अर्को यात्रा गरौं जस्तो अनुभुती गरायो । तर, बाध्यता र विवशताले बाँधिएको मानव चोला । मनले चाहेको र रोजेको जस्तै भइदिए त ! हामीले २४ गते साँझको यात्रा काठमाडौंका लागि प्रारम्भ गर्याैं । यात्रा रमाइलो र सोचेभन्दा सुन्दर भएको अनुभव आमाबुबा र भाइले पनि सुनायो । लामो यात्रा नगरेकी मलाई पहिलो पटक पुनहिलले प्रकृतिको संवाद गरायो । पुनहिलले मलाई स्वच्छता, संयम, संस्कार, र सौन्दर्यको पाठ सिकायो । बाटोमा भेटिएका हरेक मान्छे, देखिएका हरेक दृश्य र भागेको अनगिन्ती अनुभवहरूले एउटा गतिलो शिक्षा सिकायो । यात्रामा भेटिएका ध्वस्त सडक र स्वास्थ्य सेवाको अभावले देशको नाजुकपना देखायो । यति सुन्दर देशमा भएका सुन्दर पर्यटकीय स्थलको प्रचार प्रचारप्रसार र प्रवर्द्धन गर्न नसकेको सरकारको असली चित्र देखायो । पुनहिलले आफूले आफैलाई बिर्सेको मलाई ब्यूँझायो ।