पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने, व्यवसायी उत्साहित
पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा प्याराग्लाइडिङको समय डेढ घण्टा थनुका साथै यसअघि हुँदै आएको खपौदीमा अवतरण गर्ने निर्णयले आशा जगाएको हो । पुरानै ठाउँमा अवतरण समय थप्ने निर्णयले पोखरालाई विश्वस्तरीय प्याराग्लाइडिङ गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा व्यवसायी र प्यारापाइलटले गरेका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरक्षाको कारण देखाउँदै सराङकोट र तोरीपानीबाट उडान हुने प्याराग्लाइडिङलाई मान्द्रेढुङ्गा स्थानान्तरण गरिएको थियोभने पामेमा अवरतरण हुँदै आएको थियो । सोही कारण प्याराग्लाइडिङ व्यवसाय स्थिरजस्तो बन्नुका साथै व्यवसायीलाई चुनौती थपेको थियो । अब भने सरागडकोट तोरीपानीको बाहाकोट उडान (टेक अफ) गरेर खपौदी, (इन्ड अफ लेक) मा पूर्ववत् स्थानमा अवतरण हुने निर्णय भएको नाका अध्यक्ष अनिल केसीले जानकारी दिए । 'यसअघि हामीमा प्याराग्लाइडिङ सञ्चालन चुनौतीपूर्ण र समस्यायुक्त थियो । अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराको आकाशको चमकता हराइसकेको थियो । व्यवसाय धान्न पनि मुस्किल थियोभने करिब एक सय ५० बढी प्यारापाइलट विस्थापित हुनुपरेको थियो । अब भने यो निर्णयले आशा जगाएको छ', उनले भने । उनका अनुसार बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म प्याराग्लाइडिङ सेवा सञ्चालन हुने भएको छ । योसँगै पर्यटक र पाइलटलाई फेवाताल र अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यको आनन्द लिन थप समय प्रदान गर्ने जनाउँदै नाका अध्यक्ष केसीले भने, 'यो समय विस्तारले उडान सङ्ख्या बढाउन र पर्यटकको अनुभवलाई अझ रोमाञ्चक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।' पोखरा महानगरापालिका प्रमुख प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्ष–२०२५ सञ्चालन भइरहेको सन्दर्भसँगै भएको यो निर्णयले पोखराको साहसिक गतिविधिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । 'सकारात्मक प्रयास भएको छ, यसले पुनः पोखराको पर्यटनमा गति थप्नेछ, ढिलै भए पनि व्यवसायीको माग सम्बोधन भएको छ', उनले भने, 'प्याराग्लाइडिङको समय विस्तारसँगै पुरानो स्थलमा अवतरणले साहसिक पर्यटकको मन जित्नेछ । पोखरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेछ ।' अध्यक्ष केसीले उनले आगामी दिनमा सोलो प्याराग्लाइडिङ सञ्चालन र अन्तरराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्ने योजनासमेत बनाइएको जानकारी दिए । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रण प्रमुख योगेन्द्र कुँवरले दिगो पर्यटनका लागि क्यानको सहकार्यमा पुराना स्थलहरूमा अवतरण अनुमति दिइएको बताए । 'सुरक्षा पहिलो प्राथमिकता हो । सबै कम्पनी र पाइलटले कडा सुरक्षा मापदण्ड पालना गरी पर्यटकलाई सुरक्षित अनुभव प्रदान गर्नुपर्दछ', उनले भने । पोखरा भ्रमण वर्ष संयोजक गोपीबहादुर भट्टराईले पर्यटन वर्ष सफल पार्न पर्यटकीय गतिविधि बढाउनुका साथै चीन र भारतसँग पोखरालाई जोड्ने ‘कनेक्टिभिटी’को सुनिश्चिताको आवश्यक रहेको बताए । 'पोखराको सौन्दर्यकै रूपमा रहेको साहसिक पर्यटनको प्याराग्लाइडिङलाई अब कुनै हालतले विस्थापित हुन दिनुहुँदैन', उनले भने । भट्टराइले यसको विस्तार र प्रवर्द्धनका लागि थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय, समर्थन तथा पर्यटन व्यवसायीको सक्रिय सहयोगले यो सम्भव हुने उनको भनाइ छ । प्याराग्लाइडिङलाई थप सुरक्षित बनाएर सुरक्षालाई प्राथमिकता दिँदै नाले मे २१, २०२५ मा पाइलटका लागि प्राविधिक तालिम सञ्चालन गरेको थियो । तालिममा हवाई क्षेत्रको सीमा, अनुशासन र सुरक्षा प्रोटोकलका बारेमा थप प्रशिक्षित गराइएको नाका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार नाका प्राविधिक उपाध्यक्ष विजय गौतम, राष्ट्रिय खेलाडी विमल अधिकारी र प्रमुख प्रशिक्षक योगेशबहादुर भट्टराईले जिपिएस र आधुनिकपद विधिको प्रयोगबाट सुरक्षित र व्यवस्थित उडान सुनिश्चित गर्ने उपायबारे जानकारी दिएका थिए । जिपिएस र आधुनिक प्रविधिको प्रयोगले प्याराग्लाइडिङलाई थप सुरक्षित र व्यवस्थित बनाएको नाले जनाएको छ । समय, पूर्ववत् अवतरणस्थल र सुरक्षाका क्षेत्रमा गरिएको पहलले पोखराको प्याराग्लाइडिङले नयाँ उचाइ लिने अपेक्षा गरिएको नाका वरिष्ठ उपाध्यक्ष खेमराज आचार्यले बताए । 'प्राकृतिक सौन्दर्य, सुधारिएको नियमावली र महत्वाकाङ्क्षी पर्यटन योजनाको संयोजनले पोखरालाई सन् २०२५ र त्यसपछिका लागि साहसिक पर्यटकको अत्यावश्यक गन्तव्य बनाउने छ', उनले भने । उपाध्यक्ष आचार्यका अनुसार प्याराग्लाइडिङ व्यवसायमा करिब एक अर्ब लगानी छ भने ५९ व्यावसायिक कम्पनी छन् । चार सय जान ‘टेन्डम’ (दुई जना उड्न मिल्ने) पाइलट छन् । करिब एक सय ५० व्यवसायी विस्थापित भएको अवस्था रहेको बताउँदै उनले हाल दुई सय ५० ले काम गरिरहेका जानकारी दिए । पहिला दैनिक कम्तीमा पाँच सयदेखि बढीमा एक हजार पाँच सयसम्म उडान गर्न सफल हुँदै आएकामा स्थानान्तरणले उडानमा सीमित हुँदा व्यवसायी मर्कामा पर्दै आएका छन् । रासस
नेपाल स्पा र वेलनेस पर्यटनको गन्तव्य बन्दै : स्वास्थ्य, समृद्धि र सम्भावनाको संगम
स्पा र वेलनेसको अवधारणा मानव सभ्यताको प्रारम्भदेखि नै विद्यमान रहेको पाइन्छ । प्राचीन समयदेखि नै मानिसहरू प्राकृतिक स्रोतहरू जस्तै तातोपानी, जडीबुटी, ध्यान, योग र जल चिकित्साको माध्यमबाट आफ्नो शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य सन्तुलनमा ध्यान दिने गर्दथे । आजको युगमा मानिसहरुको जीवन अन्त्यन्तै व्यस्त र तनावपूर्ण हुने गरेको छ । कामको तनाव, अनियमित खानपान र अपर्याप्त आरामले गर्दा मानिस विभिन्न शारीरिक र मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । यसको समाधानको उपायको रूपमा विश्वभर स्पा र वेलनेशलाई लिन थालिएको छ । मेसोपोटामिया, मिश्र र भारतमा परम्परागत चिकित्सा पद्धति र प्राकृतिक उपचारको अभ्यास प्राचीनकालदेखि चलिआएको छ । प्राचीन भारतमा आयुर्वेद र योगलाई शरीर, मन र आत्माको सन्तुलनका लागि उपयोग गरिन्थ्यो । ग्रीस र रोमन साम्राज्यमा तातोपानी स्नान अत्यन्त लोकप्रिय थिए । त्यहाँ स्नान, विश्राम र सामाजिक जमघट सँगसँगै स्वास्थ्य सन्तुलनमा जोड दिइन्थ्यो । चीन र जापानमा तातोपानी, अकुपञ्चर/अकुप्रेसरजस्ता प्राकृतिक उपचार पद्धति स्वास्थ्य सन्तुलनको लागि प्राचीनकालदेखि चलिआएका छन् । आजको २१औँ शताब्दीमा स्पा र वेलनेस केवल स्वास्थ्य सेवाको रूपमा मात्र नभई खरबौँ डलरको विश्वव्यापी उद्योग बनेको छ । वेलनेस भन्नाले केवल रोगको अभाव मात्र होइन, यो जीवनशैलीको एक सक्रिय प्रक्रिया हो, जसले व्यक्तिलाई आफ्नै शरीर, मन र आत्मासँग जोड्न मद्दत गर्छ । डिजिटल जीवनशैली र मानसिक समस्याको वृद्धि, दीर्घकालीन रोगको जोखिम र मानिसको स्वास्थ्यप्रतिको सचेतनाले वेलनेस र स्पा सेवाको माग विश्वव्यापी रूपमा बढेको पाइन्छ । दिगो वेलनेस पर्यटन, पर्यावरणमैत्री स्पा, चिकित्सकीय वेलनेस, स्वास्थ्य केन्द्रित चिकित्सा सेवा, परम्परागत र आधुनिक चिकित्सा संयोजन जस्ता नयाँ विधा विकसित भएका छन् । कोभिड–१९ महामारीपछि मानसिक स्वास्थ्य, रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि÷समष्टिगत तन्दुरुस्तताप्रति विश्वभर नयाँ चासो देखिएको छ । त्यसैले मानिसहरू शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक सन्तुलनको खोजीमा छन् । नेपालमा स्पा र वेलनेस नेपाली सन्दर्भमा वेलनेस भन्नाले ‘कल्याण’ हो, जसले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक पक्षहरूको सन्तुलनलाई जनाउँछ । यो अवधारणा नेपालमा नयाँ होइन, यसको जरा हाम्रो परम्परागत आयुर्वेद, योग, ध्यान, जडीबुटी उपचार र प्राकृतिक जीवनशैलीमा गहिरो रूपमा जोडिएको छ । देशका विभिन्न स्थानमा रहेका तातोपानी कुण्डलाई प्राकृतिक जलचिकित्साको रूपमा लिने गरिन्छ । नब्बेको दशकपछि होटलहरुमा स्पा सेवाको थालनी भएको पाइन्छ । फुलबारी रिसोर्ट एण्ड स्पा नेपालकै पहिलो स्पा रिसोर्ट थियो । विसं २०५० सालतिर काठमाडौँ र पोखराका केही होटलमा विदेशी पर्यटकलाई लक्षित गरी स्पा सेवा सुरु भयो । अहिले भने नेपालभर स्पाको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । नेपाली समाजमा शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक सन्तुलनलाई महत्व दिइन्छ । यसले वेलनेसको व्यापक अर्थलाई समेटछ । आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र परम्परागत उपचार पद्धतिलाई उपभोग गरी वेलनेश गन्तव्यको रूपमा स्थापित गर्न सकिने सम्भावना छ । पछिल्लो १५–२० वर्षमा निजी क्षेत्रको अग्रसरताले यो क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाएको छ र बेलनेस पर्यटनलाई नेपालको पर्यटन क्षेत्र विविधीकरण गर्ने अवसरको रूपमा हेरिन थालेको छ । नेपालका अधिकांश लक्जरी होटल तथा रिसोर्टले अहिले स्पा र वेलनेस सेवा दिइरहेका छन् । यसमा अर्बौँ रूपैयाँको लगानी र हजारौँ व्यक्तिले रोजगारी पाएका छन् । हालका स्पा सञ्चालकले आफ्ना वर्षौँको अनुभव पाँचतारे होटलमा काम गर्दै वा विदेशी अन्तरराष्ट्रिय चेन होटलबाट सिकेर सीप आर्जन गरेका हुन् । नेपालको प्राकृतिक सौन्दर्य, हिमालयको शान्त वातावरण र समृद्ध सांस्कृतिक विरासतले यसलाई वेलनेस पर्यटनको लागि एक आदर्श गन्तव्य बनाउँछ । विश्वभर बढ्दो वेलनेस पर्यटनको मागलाई मध्यनजर राख्दै नेपालले आफ्नो प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गरी यस क्षेत्रमा आफ्नो पहिचान बनाउन ठूलो सम्भावना राख्दछ । अन्तरराष्ट्रिय पर्यटक नेपालमा योग, आयुर्वेद र प्राकृतिक उपचारको अनुभव लिन आउँछन्, जसले गर्दा नेपालको पर्यटक आगमनमा उल्लेख्य वृद्धि र तिनको बसाइलाई लम्ब्याउन सकिन्छ । सँगसँगै यसले स्थानीय संस्कृति र परम्परालाई संरक्षण गर्छ र नेपाललाई विश्वको नक्सामा एक स्वास्थ्य र आरामको गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुग्दछ । वेलनेसबाट हुने फाइदा वेलनेस पर्यटनले नेपाललाई धेरै प्रकारका फाइदा दिन्छ । यसले पर्यटन उद्योगलाई बढावा दिनुको साथै स्थानीय अर्थतन्त्रलाई पनि मजबूत बनाउँछ । स्पवा तथा वेलनेसको प्रवर्द्धनबाट व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारको साथै रोजगारी सिर्जना र मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्दछ । स्वास्थ्यमा फाइदा : आधुनिक जीवनशैलीले मानिसलाई विभिन्न स्वास्थ्य समस्याबाट जोगिन गाहे बनाएको छ । तनाव, अनिद्रा, मांसपेशी दुखाई र मानसिक अशान्तिजस्ता समस्या बढ्दै गइरहेका छन् । यसले विश्वभर मानिस आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सुधार गर्न स्पा र वेलनेश सेवाको खोजीमा छन् । वेलनेस सेवाजस्तै मालिस, योग, ध्यान, आयुर्वेदिक उपचार र प्राकृतिक चिकित्साले मानिसलाई तनावमुक्त गर्न, शरीरिलाई आराम दिन र मनलाई शान्त बनाउन मद्दत गर्दछ । यसले समग्र रूपमा समाजको उत्पादकता र जीवनस्तरमा पनि सुधार ल्याउछ । वेलनेस पर्यटनले मानिसहरूको शारीरिक र मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । आयुर्वेदिक उपचार, योग, र ध्यानले तनाव, अनिद्रा र मांसपेशी दुखाईजस्ता समस्याको समाधान गर्छ । यसले नयाँ स्वास्थ्य चुनौतीजस्तै नेकटेक (टेक्नोलोजी प्रयोगबाट हुने गर्धन दुखाई)को समाधानमा पनि मद्दत गर्छ । स्पाले शारीरिक र मानसिक स्वास्थ्य दुबैका लागि धेरै लाभ प्रदान गर्दछ । शारीरिक रूपमा यसले तनाव कम गर्न, रक्तसञ्चार सुधार गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । मानसिक रूपमा, स्पाले विश्राम अनुभूति दिलाउने, चिन्ता र डिप्रेसन घटाउने तथा समग्र जीवन सन्तुलन बढाउने काम गर्छ । विश्वभर मानसिक स्वास्थ्य समस्याको वृद्धि, बढ्दो प्रतिस्पर्धा र तीव्र गतिमा बदलिँदो जीवनशैलीले वेलनेस पर्यटनप्रतिको माग उल्लेखनीय रूपमा बढाएको छ । पर्यटक यात्रा गर्दासमेत तनाव घटाउने र आफ्नो समग्र स्वास्थ्य सुधार गर्ने उपायको खोजीमा हुन्छन् । यस प्रवृत्तिले स्पा उपचार, योग रिट्रिट र अन्य समग्र अभ्यासलाई झन् लोकप्रिय बनाएको छ । मानिसहरू अब वेलनेसलाई केबल उपचारको रूपमा नभई जीवनशैलीको अङ्ग बनाउँदैछन् । वेलनेसले शरीर र मनप्रतिको सजगता बढाउने, खानेकुरामा रुची जगाउने, मध्यमस्तरको तनाव र व्यायामको सन्तुलन कायम राख्न मद्दत गर्ने हुँदा यो हाम्रो जीवनशैलीको नियमित भागको रूपमा रहेको छ । शारीरिक तन्दुरुस्ती : मसाज, तातोपानीजस्ता स्पा उपचारले मांसपेशीमा भएको तनाव हटाउन, दीर्घकालीन पीडा कम गर्न र जोर्नीहरूको गतिशीलता सुधार गर्न सहयोग गर्छन् । तातोपानी स्नान, विपरीत तापक्रमको पानी र मसाजले रक्तसञ्चार बढाउन सहयोग पु¥याउँछ । यसबाट शरीरभरी अक्सिजन र पोषक तत्व राम्रोसँग आपूर्ति गर्न मद्दत पुग्दछ । स्पा उपचारले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न सहयोग गर्छ, समग्र स्वास्थ्य सुदृढ गर्छ र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोगी हुन्छ । विशेषगरी मसाजजस्ता स्पा उपचारले मानसिक तनाव घटाएर विश्राम अनुभूति दिलाउँछ । निद्राको गुणस्तर र बानीमा सुधार पनि ल्याउँछ । स्पा उपचारले छालाको स्वास्थ्य सुधार गर्न सहयोग गर्छन्, जसले छालालाई उज्यालो, मृदु र आकर्षक बनाउँछ । मानसिक स्वस्थता : मसाज, अरोमाथेरापीजस्ता स्पा उपचारले तनाव हर्मोनको मात्रा घटाउँछ र मानसिक शान्ति अनुभूति गराउँछन् । स्पाको शान्त वातावरण र उपचारले मानसिक सन्तुलन कायम राख्न, चिन्ता र डिप्रेसनका लक्षण कम गर्न तथा खुशीको अनुभूति बढाउन सहयोग गर्छ । रक्तसञ्चार सुधार हुने भएकाले स्पा उपचारले मानसिक स्पष्टता, एकाग्रता र सोच्ने क्षमतालाई बढावा दिन्छ । स्पा उपचारले शरीरमा इन्डोरफिन्स, डोपामाइन/सेरोटोनिनजस्ता ‘सुखद्’ हर्मोनको उत्पादन बढाउँछ, जसले ऊर्जास्तर र ‘मुड’ सुधार गर्न मद्दत गर्छ । स्पामा समय बिताउँदा आत्म–हेरचाहको अनुभूति हुन्छ । यसबाट व्यक्तिले आत्म–सम्मान र आत्मविश्वास बढाउँछ र सकारात्मक आत्म–छविमा सुधार आएको अनुभूति गर्दछ । रोजगारी सिर्जना : विश्वका धेरैजसो मुलुकमा वेलनेस पर्यटनको माध्यमबाट राज्यले राम्रो आम्दानी गर्नुको साथै स्थानीय रोजगारी सिर्जना भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकलाई मात्रै लक्षित गरेको अवस्थामा पनि पर्यटकको वसाइ लम्ब्याउनुको साथै उनीहरुले खर्च गर्ने ठाउँ बन्नसक्छ । चुनौतीहरू र समाधान नेपालमा वेलनेस पर्यटनको विकासमा धेरै चुनौती छन् । यसको लागि सरकार, निजी क्षेत्र, र स्थानीय समुदायको सहयोग आवश्यक छ । पर्यटन मन्त्रालयले होमस्टे, होटल, र रिसोर्टका लागि मापदण्ड तयार गरेको भए पनि अहिलेसम्म स्पा र वेलनेस क्षेत्रका लागि मापदण्ड बनाएको छैन । विश्वभर लक्जरी स्पा र होटलमा अत्यधिक माग भए पनि, धेरै नेपाली युवालाई यो उद्योगबारे अझै पर्याप्त जानकारी छैन । नेपालमा स्पा र वेलनेस सेवाका लागि स्पष्ट मापदण्ड नहुँदा केही विकृति विसङ्गति देखिएका छन् । यसले गर्दा सेवाको गुणस्तरमा असर पर्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी०ले मसाज थेरापी, योग र सौन्दर्य चिकित्साको प्रशिक्षण दिन सकेको छ । सिटिइभिटीले वेलनेससम्बन्धी पाठ्यक्रम तयार गरी त्यसअनुसार जनशक्ति तयार गर्न सकिएमा रोजगारीको अवसर विस्तार हुनेछ । निष्कर्ष नेपालले वेलनेस पर्यटनमा सफल हुन धेरै कदम चाल्न आवश्यक छ । नेपाल र विश्व बजारमा स्पा तथा वेलनेस क्षेत्रमा रोजगारीका अवसर निकै आकर्षक बन्दै गएका छन् । यो क्षेत्रमा दक्ष जनशक्तिको माग उच्च छ र तलब पनि प्रतिस्पर्धात्मक छ । नेपालका अधिकांश स्पा व्यवसायी पनि कहिल्यै न कहिल्यै स्पा व्यावसायिक भएरै आफ्नो ‘करिअर’ सुरु गरेका थिए । यो क्षेत्रमा व्यवसायी बन्ने अवसर पनि सजिलो छ, किनभने सीप, अनुभव र लगनशीलताबाट नै यो उद्योगमा सफल हुन सकिन्छ । युवाले स्पा तथा वेलनेसलाई गम्भीर रूपमा लिएर आफ्नो भविष्यको ‘करिअर’को रूपमा हेर्नु आवश्यक छ, किनभने यो क्षेत्रले देशभित्र र विदेशमा उत्कृष्ट रोजगारी र व्यावसायिक सम्भावना प्रदान गर्छ । नेपालमा वेलनेस पर्यटनको भविष्य उज्ज्वल छ । यसले न केवल स्वास्थ्य र आराम प्रदान गर्छ, तर यसले नेपालको अर्थतन्त्र र पर्यटन उद्योगलाई पनि बढावा दिन्छ । नेपाललाई वेलनेस पर्यटनको गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । यसका लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदायको सहयोग आवश्यक छ । यसलाई व्यवस्थित, गुणस्तरीय र दिगो बनाउन स्पष्ट नीति, मापदण्ड, तालिम र अनुगमनका लागि यो निर्देशिका अत्यन्त आवश्यक छ । नेपाल सरकारले अन्य पर्यटन क्षेत्रझैँ वेलनेस पर्यटनका लागि छुट्टै निर्देशिका तत्काल लागू गर्नुपर्ने आवश्यकता छ । (लेखक सुरेश पुरी नेपाल स्पा तथा वेलनेस सङ्घका अध्यक्ष तथा ट्रांक्विलिटी स्पाका कार्यकारी निर्देशक हुन्)
झाडीको ठाउँमा चिया : पाँच वर्षमै उत्पादन, आम्दानी र पर्यटक दुवै बढ्दै
गलकोट । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् । रेशको बौर, तिङरिङलगायतका ठाउँमा हाल १६२ रोपनी जग्गामा चियाखेती भइरहेको छ । गत वर्ष नमूनाका रूपमा परम्परागत शैलीबाट चिया उत्पादन गरे पनि यस पटक स्थानीयले चिया उत्पादन गर्ने उपकरण खरिद गरेका छन्भने ७० रोपनी जग्गामा लगाइएको चिया टिप्न थालिएको छ । थप सय रोपनी जग्गामा चियाका बोटहरू हुर्किरहेका छन् । पाँच वर्षमै चियाका बोटले पूर्ण रूपमै उत्पादन दिन थालेकाले हाल हप्तामा एक दिन चिया टिप्न थालिएको छ । चिया टिप्नेक्रम मङ्सिरसम्म जारी रहने छ । जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर थापाले ३५ रोपनी विद्यालयको जग्गामा चियाखेती गरिरहेको जानकारी दिए । रेशमा चियाको सुरुआत विद्यालयकै जग्गाबाट भएको बताउँदै उनले दाउरा बिक्री गर्ने पाखो हाल चिया बगान भएको बताए । रेशमा साना किसान सहकारी संस्थाको अगुवाइमा चियाखेती विस्तार भइरहेको थापाले बताए । उनका अनुसार विद्यालयले चियाका बिरुवासमेत उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ । हाल उक्त सहकारीको ६७ रोपनी, स्थानीय नागरिकको ६० रोपनी तथा विद्यालयको ३५ रोपनी गरी १६२ रोपनी जग्गामा चियाखेती विस्तार गरिएको छ । जसमध्ये पहिलो चरणमा लगाइएको विद्यालय र स्थानीयको ७० रोपनी जग्गामा मात्रै चिया उत्पादन भइरहेको र अन्य स्थानका चियाका बिरुवा हुर्कंदै गरेको सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले जानकारी दिइन् । काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले एक वर्षभित्रै चियाको निर्यात हुनेगरी चिया टिप्न थालिएको र चिया उत्पादन गर्ने उपकरणसमेत रु १८ लाख लागतमा स्थानीयले रकम सङ्कलन गरी खरिद गरेको जानकारी दिए । 'सुरुमा ताराखोलाबाट बिरुवा लिएर रोपेका थियौँ, पछि सहकारीकै अगुवाइमा बिरुवा उत्पादन गरेका हौँ । सुरुमा गण्डकी प्रदेशको मुख्यमन्त्री नमूना कृषि कार्यक्रममार्फत किसानलाई चिया खेतीमा अग्रसरता दिलायो', उनले भने, 'गत वर्ष परीक्षणका रूपमा हातले ग्रिन चिया उत्पादन गरेका थियौँ, तर व्यावसायिकता थिएन, हाल चियाको उत्पादनसमेत बढ्दो छ । आफैँ चिया बनाउने उपकरणले चिया उत्पादनमा व्यावसायिकता ल्याउन सहज भएको हो । ग्रिन चिया किलोकै दुई हजारभन्दा बढीमा बिक्री गर्न सकिन्छ, यहाँको विद्यालय, सहकारी र स्थानीयलाई झाडी फाँडेर लगाएको चियाले आयआर्जनमा सघाउनेछ ।' पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराइले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चियाखेती विस्तार गर्न थालेका छन् । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताए । थप ५० हजार चियाका बिरुवा लगाउने योजना रहेको उनको भनाइ छ । चियाखेती थालेपछि गाउँमा चियाबगान अवलोकनका लागिसमेत पर्यटकहरू आउन थालेका छन् । छ वर्ष अघिसम्म वनमारा झारले ढाकिएको पाखो हाल चिया बगानमा परिणत भइसकेको छ । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक/टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक रेशको चिया बगानमा आउने गरेका हुन् । यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन–अनुसन्धान गर्न पनि विद्यार्थी आउने गरेका छन् । पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आयआर्जन वृद्धि गर्न बिहूँको थामानेटामा समेत पहिलोपटक चियाखेती थालिएको काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेलले बताए । रासस