पर्यटकलाई गोठालोसँग सुत्नुपर्ने बाध्यताको अन्त्य, बुकीपाटनमा ‘गोठबास’ले सहज

डम्मर बुढामगर काठमाडौं । ढोरपाटन उपत्यकादेखि करिब साढे ४ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुद्री सतहदेखि ४ हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदल यात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई विश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडी गोठबाहेक अरु कुनै पनि संरचना थिएन । गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिक जसो औसतमा एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जाने गरेका छन् । विशेष गरी बर्खाको समयमा बुकीपाटन हरियाली देखिने र यहाँबाट अनगिन्ती हिमशृङखलासहित हजारौंका सङ्ख्यामा भेडाका बथानको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो । बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा नहुँदा उनीहरू भेडी गोठालेसँगै गोठमा रात बिताउने गर्थे । गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे । तर अहिले त्यो समस्याको कम भएको छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै गत वर्षदेखि ढोरपाटनका सन्देश थापाले बुकीपाटनको प्रवेशद्वार गर्पाछेडामै गोठस्टे सञ्चालनमा ल्याएका हुन् ।  थापासँगै स्थानीय महेन्द्र घर्ती मगरले पनि यस वर्षदेखि गोठस्टे सञ्चालनमा ल्याउनु भएको छ । थापा र घर्ती मगरको गोठस्टे नजिकै छ । ढोरपाटन उपत्यकाबाट जाने पर्यटकलाई उनीहरुले स्वागत गर्नुहुन्छ । घण्टौँको यात्रापछि गर्पाछेडा पुग्ने पर्यटक लागि गोठस्टे विश्रामस्थल बनेको छ । गोठस्टेबाट पर्यटकले उच्च पहाड, हिमश्रृंखला र गोठालाको जनजीवन अनुभूत गर्न पाउँछन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकीपाटन आउने पर्यटक बढेको गोठस्टे सञ्चालक सन्देश थापाले बताए । पछिल्लो समय बुकीपाटन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचारप्रसार हुन थालेपछि पर्यटक बढ्न थालेको उनको भनाइ छ । बुकीपाटन गोठस्टे सञ्चालन गर्नुको मुख्य उद्देश्य यस क्षेत्रको प्रवर्द्धन गर्नु र पर्यटकको सेवा गर्नु भएको उनी बताउँछन् । गोठस्टेमा बास बस्ने पर्यटकलाई ढोरपाटनमा उत्पादन भएको आलु, बुकीपाटनमा रहेका भेडा च्याङ्‍ग्राको मासु, लेकाली साग, आँटो ढिडोलगायतका परिकार खान दिने गरेको थापाले बताए ।  ‘बुकीपाटनमा पर्यटक आउन थालेको धेरै भएको छैन, केही समय अघिसम्म यो क्षेत्र पर्यटकका लागि ओझेलमै थियो, दुई/तीन वर्षदेखि यहाँ बढी मात्रामा पर्यटक आउन थालेका हुन्, पोहोर सालदेखि मैले गोठस्टे सुरु गरे, यसवर्ष अर्को एक जना साथीले पनि सुरु गर्नुभएको छ,’ उनले भने, ‘पहिले पर्यटक बुकीपाटन आउँदा गोठालासँग गोठमा बस्नु बाध्यता थियो, उहाँहरूलाई खाना र सुत्नका लागि निकै समस्या थियो, अहिले त्यो समस्याको समाधान गरेका छौँ ।’ महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठस्टे सञ्चालन गरेका हुन् । ढोरपाटन उपत्यकामा होटल सञ्चालन गर्दै आउनुभएका घर्तीमगरले गोठस्टे सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको बताए ।  गोठस्टेमा आउने पर्यटकले एक रातको बसाइँसँगै खाना र खाजाको २ हजार ५ सय शुल्क लिने गरेको उनको भनाइ छ । कोही पर्यटक बिहान ९ बजे बुकीपाटन पुग्ने र साँझ फर्किने गरेको उनले बताए ।  ‘बुकीपाटनमा पर्यटकको आगमनमा धेरै वृद्धि भएको छ, सडकको पहुँच नभएको हुँदा पद मार्गमार्फत यहाँ आउनुपर्छ, हिँडेर आउँदा धेरैलाई थकान लाग्छ, त्यति मात्रै होइन यो ठाउँ उच्च क्षेत्रमा पर्ने हुँदा लेक लाग्छ, केही त बिरामी पर्नुहुन्छ,’ घर्ती मगरले भने, ‘बुकीपाटन आउँदा स्वास्थ्यको ख्याल गरेर आउनुपर्छ, हामीहरुले गोठस्टेमा आउने पर्यटकका लागि सामान्य प्राथमिक उपचारको व्यवस्थाप गरेका छौँ, अब पर्यटकलाई पहिलेको जस्तो गोठमा बस्नुपर्ने अवस्था छैन ।’  गर्पाछेडाबाट फागुने, टीकाधार, लगायतका स्थानमा पुग्न सकिन्छ । गोठस्टेले बुकीपाटन आउँदा बसाइँ र यहाँको घुमफिरलाई सहज बनाइ दिएको पोखरा महानगरपालिका-७ बाट आएका मुकेश सुब्बाले बताए । बुकीपाटनमा आफू पहिलो पटक चार वर्ष अगाडि आएको भन्दै त्यस बेला गोठमै बसेर फर्किएको उनले सुनाए । गोठस्टेमा होटलको जस्तो सुविधा नभए पनि बास बस्न र खाना खानका लागि धेरै सहज भएको उनको भनाइ छ । रासस

२४ क्यासिनोले गरे नवीकरण, रोयल्टी तिरे २५ करोड रूपैयाँ

काठमाडौं । देशभरका विभिन्न स्थानमा सञ्चालित २४ क्यासिनोले नवीकरण गरेका छन् । नेपाल पर्यटन विभागका अनुसार रोयल्टी बुझाएका २४ क्यासिनोको चालु आर्थिक वर्ष २०८२/८३ मा क्यासिनो सञ्चालनको लागि नवीकरण भएको हो । नवीकरण भएकामध्ये ९ ठूला क्यासिनो र १५ सानो क्यासिनो रहेका छन् ।  नवीकरण भएका क्यासिनोहरूमा बेल्लिज नेपाल, डेल्टीइन नेपाल, माजोङ इन्टरटेन्टमेन्ट, वाल्डो डाइनेस्टी इन्टरटेन्टमेन्ट, इम्पेरियल इन्टरटेन्टमेन्ट, भेगास रिक्रियसन, रोयल टाइगर रिक्रियसन रहेको छ ।  त्यसैगरी, प्राइड इन्टरटेन्टमेन्ट एण्ड रिक्रियसन किङ्वश्वरी इन्टरटेन्टमेन्ट, सिद्धार्थ गेमिङ जोन, ज्याकपोट गेमिङ सेन्टर, निर्वाना लक्जरी इन्टरनेशनल, ओम त्रयम्बकम इन्टरटेन्टमेन्ट, ताज इन्टरटेन्टमेन्ट, ग्रीन ज्याकपट इन्टरटेन्टमेन्ट, अपूर्व गेमिङ जोन, दियालो गेमिङ प्रालि, ईलिगेन्ट इन्टरटेन्टमेन्ट, डाइमण्ड रिक्रिइसनले नविकरण गरेका छन् ।  त्यस्तै, नवीकरण गर्ने क्यासिनोहरूमा च्याम्पिएन जोन, सेपिएर इन्टरटेन्टमेन्ट, गोल्डेन फिंगर, वेलिज इन्टरटेन्टमेन्ट र गोल्डेन क्वाइन क्यासिनो रहेका छन् । क्यासिनो नियमावलीअनुसार नवीकरणको लागि रोयल्टी अनिवार्य चुक्ता हुनुपर्ने व्यवस्था छ । नियमावलीअनुसार ठूलो क्यासिनोको लागि नवीकरण शुल्क १ करोड ५० लाख रुपैयाँ तोकिएको छ भने सानो क्यासिनोले ७५ लाख रुपैयाँ तिर्नुपर्छ ।  २४ कम्पनीले २४ करोड ७५ लाख रूपैयाँ रोयल्टी तिरेका छन् । 

धमाधम होटल बिक्रीमा राख्दै बुटवलका व्यवसायी, बैंकको साँवा-ब्याज तिर्नै सकस

काठमाडौं । भैरहवाकाे अरोमा होटलका सञ्चालक पदम केसी पहिले काठमाडौंमा होटल सञ्चालन गर्थे । उनले  काठमाडौं मनकामना डिलक्स होटल ६० सालदेखि ७३ सम्म (१३ वर्ष) सञ्चालन गरे । जब भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने कुरा उठ्यो त्यसपछि उनले भैरहवा गएर होटल खोल्ने योजना बनाए । बुद्धको जन्मस्थल र त्यहाँबाट आफ्नो घर पनि सहजै आऊ-जाऊ गर्न मिल्ने भएपछि केसीको मन उतैतिर मोडियो । विमानस्थल बन्ने भएपछि पक्कै पनि त्यहाँ आफ्नो होटल फस्टाउँछ र सफल हुन्छु भन्ने आशासहित उनी भैरहवामा होटल सञ्चालन गर्ने निष्कर्षमा पुगे । तर, उनले जे सोचेर त्यहाँ होटल सञ्चालन गरे, त्योअनुसार काम भएन । आफूले सोचेकोभन्दा ठीक विपरित भएको उनी सुनाउँछन् । ‘आफ्नै आँगनमा, बुद्धको जन्मस्थलमा गएर होटल सञ्चालन गर्दा किन व्यवसाय नहोला र भनेर आएँ तर सोचेअनुसार भएन,’ केसीले भने, ‘लक्ष्य एयरपोर्टबाट पाहुना ल्याउने र लैजाने भन्ने थियो तर एयरपोर्ट नै नचलेपछि त्यो वातावरण बनेन ।’ अहिले उनको होटल उनले सोचेअनुसार चलेको छैन । पदम केसीको होटलजस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अपेक्षाका साथ बुटवल–भैरहवा क्षेत्रमा ठूलो संख्यामा खुलेका धेरै होटलहरू अहिले संकटमा छन् ।  विमानस्थल बनेपछि पर्यटकको ओइरो लाग्ने र व्यापार फस्टाउने आशामा अर्बौं लगानी गरेका व्यवसायीहरू विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा र अन्तर्राष्ट्रिय उडानहरू नहुँदा निराश छन् । ४० अर्ब रुपैयाँभन्दा बढी रकम खर्चेर बनेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा अधिकांश होटलहरू सुनसान छन् । जसले गर्दा बैंकको ऋण तिर्न नसकेर केही व्यवसायीहरु कालोसूचीमा परेका छन् भने धेरै जना कालोसूचीमा पर्ने जोखिम बढेको छ ।  सुरुमा होटलमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरूले अहिले हात झिक्न थालेका छन्, यसले व्यवसायीलाई थप समस्यामा पारेको छ । होटलमा संकट बढ्दै गएपछि पछिल्लो समय कतिपय व्यवसायीहरूले होटल बिक्री गर्न खोजेपनि खरिदकर्ता पाउन सकेका छैनन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले खर्बौ खर्च गरेर होटलमा लगानी गरेका व्यवसायीहरुको अहिले लगानी डुबेको बताउँछन् । लगानी डुबेसँगै बैकबाट ब्याज तिर्न भन्दै व्यवसायीलाई टर्चर आउने जसले गर्दा धेरै व्यवसायीले होटल बेच्न खोजेको उनको भनाइ छ ।  उनले होटल बेच्न खोजेपनि किन्ने मान्छे नभएको कारण बिक्री हुने अवस्था पनि नभएको उनले सुनाए । ‘हाम्रा होटल व्यवसायी साथीहरूले सकेसम्म होटल बिक्रीको लागि प्रयास गर्नुभएको छ, तर बेच्न खोज्दाखोज्दै पनि किन्ने मान्छे पाउनुभएको छ,’ उनले भने ।  होटल नचलेको कारण समयमै बैंकको किस्ता तिर्न नसकेका कारण धेरै व्यवसायीहरु  कालोसूचीमा पर्ने र लिलामीमा जाने अवस्था रहेको उनी बताउँछन् । उनका अनुसार भैरहवामा दुई/चार वटा होटल राम्रै चलेको अवस्था छ भने अधिकांश समस्यामा छन् । पहिले सो क्षेत्रमा २५/३० वटा होटलहरू सञ्चालनमा थिए । विमानस्थल निर्माणपछि भैरहवा, सुनौली, लुम्बिनी क्षेत्रमा साना ठूला गरेर १६० भन्दा बढी होटल सञ्चालनमा रहेको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द प्रकाश श्रेष्ठ (सिपी) बताउँछन् ।  उनका अनुसार अझैं पनि दुई/तीन वटा पाँच तारे होटल, दुई/तीन वटा चार तारे होटलहरू निर्माणाधीन छन् ।  जुन हिसाबले बुटवल, भैरहवा-लुम्बिनी क्षेत्रमा होटलहरू सञ्चालनमा आए, त्यहीअनुसार पर्यटकको संख्या भने बढ्न सकेन । बरु होटलहरूबीच प्रतिस्पर्धा बढ्यो । होटल धेरै भएसँगै ट्राभल एजेन्सीहरूले रेटमा प्रतिस्पर्धा गर्न थाले । पर्यटक बाँडिए । होटलहरू खाली नै राखिराख्नु भन्दा तारे होटलले कम रेटमा भएपनि बिक्री गर्न बाध्य भएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।  उनका अनुसुार ५०/६० वटा कोठा भएको होटलमा मुस्किलले चार/पाँच वटा कोठा बुक हुने गरेका छन् । ‘सामान्यतया चार तारे होटलले कम्तीमा ८/१० हजारमा कोठा बेच्नैपर्छ । तर ती होटलले तीन/चार हजारमा बेचिरहेका छन् । पर्यटक नै नभएपछि रेट त घट्नै नै भयो,’ उनले सुनाए ।  ‘व्यवसाय संकटमा पर्न थालेपछि भैरहवामा धेरैजसो व्यवसायी होटल बिक्री गर्न खोजिरहेका छन्,’ अध्यक्ष श्रेष्ठले भने । विमानस्थल सञ्चालनमा आउने भएसँगै होटलमा लगानी गरेका ८/१० ठूला होटलहरू अहिले लाशको हड्डीजस्तो बन्न पुगेको उनको तर्क छ ।  अध्यक्ष श्रेष्ठका अनुसार सुरुमा होटलमा लगानी गरेको बैंकहरूले अहिले लगानी गर्न मानिरहेका छैनन् । जसले गर्दा ठूला होटलहरु पूर्ण रूपमा निर्माण हुन सकेका छैनन् ।  ‘बैंकहरू पनि बलेको आगो ताप्ने हो, सुरुमा लगानी गर्छु भन्ने तर अहिले पैसा नै दिँदैनन् । यसरी होटल पूर्ण रूपमा सञ्चालनमा नआउँदा लगानी डुब्यो,’ उनले भने । बन्दै गरेका र नचलेका होटलले बैंकको ब्याज तिर्न नसक्ने स्थिति भएपछि व्यवसायीको एउटै विकल्प होटल बिक्री गर्ने रहेको उनको भनाइ छ ।  ‘व्यवसायीहरूले होटल बेच्न चाहेको भएपनि यहाँ खरिद गर्ने मान्छे छैनन्,’ श्रेष्ठले भने, ‘अहिले आर्थिक चलायमान छैन, आर्थिक चलायमान नभएपछि मान्छेसँग पैसा छैन, होटल किन्न चाहने पनि कोही छैन ।’  उनका अनुसार यहाँ होटल किन्ने मान्छे मात्रै पाउने हो भने बिक्री गर्नेको लाइन लाग्नेछ । अहिले अफसिजन पनि हो, जसले गर्दा पर्यटकको संख्या न्यून छ । धेरै होटलको अकुपेन्सी अहिले ५ प्रतिशत पनि नभएको अध्यक्ष श्रेष्ठ बताउँछन् । उनका अनुसार धेरै अकुपेन्सी भनेकै अहिले अधिकतम ३० प्रतिशत मात्रै हो । विमानस्थललाई नियमित सञ्चालनमा ल्याउनको लागि सरकारलाई निरन्तर पहल गरे पनि राज्यले वेवास्ता गर्दै आएको व्यवसायीहरू बताउँछन् ।  अध्यक्ष श्रेष्ठले यस विषयमा राज्य पक्षलाई पटक-पटक ज्ञापनपत्र, व्यक्तिगत रुपमा भेटेर पनि कुरा राखेको बताए । सरकारले हुन्छ भनेर प्रतिबद्धता जनाए पनि सञ्चालनमा ल्याउनलाई कुनै सक्रियता नदेखाएको उनको भनाइ छ । लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली विमानस्थल सञ्चालनमा आउने भएपछि धेरै व्यवसायीले ऋण लिएर होटलमा लगानी बढाएको तर  आज बैंकको कर्जा तिर्न नसक्ने स्थितिमा पुगेको सुनाउँछन् ।  ‘सुरुमा बैंकले लगानी गर्छु भनेर साथ दियो, अहिले आएर हात झिक्दा धेरै व्यवसायीले बाध्य नै भएर होटल बेच्न खोजेकोका छन्,’ उनलेभने ।  उनका अनुसार बैंकले लगानी गर्न रोक्दा कति होटल निर्माणाधीन अवस्थामै अन्योल भएर बस्नुपरेको अवस्था छ । ‘होटल नचलेपछि विकल्प हामीसँग छैन, तनावबाहेक केही रहेन । अहिले बैंकले पनि साथ नदिएको अवस्था छ । धेरैले होटल बेच्न खोजिरहेका छन् । कतिले त आफ्नो व्यक्तिगत सम्पति बेचेर होटलमा लगानी बढाएको अवस्था छ,’ अध्यक्ष ज्ञवालीले भने । होटलमा संकट आउनुको पछाडि विमानस्थल मात्रै होइन, अन्य धेरै कारण औंल्याउँछन् व्यवसायीहरू । उनीहरूका अनुसार सीमा क्षेत्रमा प्रहरीले पर्यटकलाई अनाहकमा भन्सारदेखि हरेक ठाउँमा दुई÷तीन घण्टा समय लगाइदिने गर्दा पर्यटक आउने वातावरण बन्न सकेको छैन । अध्यक्ष ज्ञवालीले स्थलमार्ग राम्रो नहुँदा पनि पर्यटकको संख्या बढाउन नसकेको बताए ।  ‘बुटवल सडक समयमै बन्न सकेको छैन, बाटो राम्रो नहुँदा कति घण्टामा पुग्छु भन्ने नै थाहा छैन । पर्यटकले निकै सास्ती भोग्नुपरेको छ,’ उनले भने । सबैभन्दा बढी पर्यटक भारतबाट आउने बताउँदै उनले भारतीय पर्यटकलाई नै भित्र्याउन नसकेको बताए । अध्यक्ष ज्ञवालीले कोभिडपछि धराशायी बन्न पुगेको पर्यटन क्षेत्र बिग्रिएको सडकले झन् समस्या बनाएको उल्लेख गरे । यसमा राज्यले निभाउनुपर्ने आफ्नो दायित्व पूरा नगर्दा यसको असर समग्र पर्यटन क्षेत्रमा देखिएको उनको भनाइ छ । भैरहवा गार्डेन रिसोर्टका सञ्चालक निर्मल श्रेष्ठ धेरै होटलले फिजिविलिटी अध्ययन नगरिकनै सञ्चालन गर्दा समस्या सिर्जना भएको औंल्याउँछन् ।  उनका अनुसार व्यवसायीलाई घाटा हुनु भनेको राज्यलाई नै घाटा हुनु हो । ‘मान्छेले फिजिविलिटी अध्ययन नगरी एउटाले खोलेको देखेपछि अर्कोले पनि खोल्ने प्रवृत्ति बढ्यो, यसले गर्दा धेरै होटलहरू समस्यामा पर्न थाले,’ उनले भने । निर्मल दिल्ली फ्लाइट मात्रै निरन्तर हुन सक्यो भने होटलमा अहिले देखिएको समस्या न्यूनीकरण हुने बताउँछन् । उनले भने, ‘हामीले दिल्ली फ्लाइटलाई मात्रै नियमित उडान गर्न सक्यौँ भने भारतीय पर्यटकको फ्लो बढ्छ । ५ प्रतिशत मात्रै भारतीय पर्यटक आउने हो भने समस्या हुँदैन ।’ होटल निर्भाना एण्ड क्यासिनोका सञ्चालक पवन गोयल आफ्नो होटल पुरानो र परिचित भएको हुँदा संकट नै नभए पनि समस्या भने भोग्नु परेको बताउँछन् ।  होटलमा विभिन्न ग्रुप इभेन्टको लागि आइरहने उनको भनाइ छ । आफ्नो व्यवसाय ठीक ठीकै चले पनि धेरैको व्यवसायले आफ्नो सञ्चालन खर्च नै निकाल्न नसक्ने अवस्था रहेको गोयल बताउँछन् ।  ‘कति जना व्यवसायीले आफ्नो सञ्चालन लागत नै निकाल्न नसकेपछि सस्तोमै रुम बिक्री गर्न थालेका छन् । अहिलेको अवस्थामा तारे होटल सस्टेन हुन गाह्रो छ,’ उनले भने ।  होटल नचलेको कुरा वास्तविक भएपनि त्यसको कारण एयरपोर्टलाई मात्रै दिन नहुने उनको तर्क छ । एयरपोर्ट नचलेपनि त्यसको विकल्पमा दोस्रो योजना के हुन सक्छ त्यो व्यवसायीले सोच्न नसक्दा यस्तो समस्या निम्तिएको उनको भनाइ छ ।  एयरपोर्ट चलेन, बाटो राम्रो भएन भनेर सरकारलाई मात्रै दोष दिनुभन्दा आफै नै कसरी सस्टेन हुने भनेर सोच्नुपर्ने धारणा उनको छ ।  (यस समाचारमा भुलवस बिक्रीमा नभएको होटलको फोटो प्रयोग हुन गएकोले सच्याइ सांकेतिक फोटो पोष्ट गरिएको छ । सम्पादक)