पहिलोपटक तातोपानी नाकाबाट भित्रियो हेलिकप्टर, ४ करोड बढी राजस्व

काठमाडौं । माउन्टेन हेलिकप्टर प्रालिले पहिलोपटक चीनको स्थलमार्ग हुँदै तातोपानी नाकाबाट हेलिकप्टर आयात गरेको छ । फ्रान्समा निर्मित एयरबस कम्पनीको उक्त हेलिकप्टरलाई पार्टपूर्जा खोलेर कन्टेनरमा राखी भन्सार ल्याइएको हो । यो हेलिकप्टर चीनबाट ट्रान्स सिल्क ट्रान्सपोर्टमार्फत ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार दुई दिनअघि ४० फिटे कन्टेनरमा ल्याइएको हेलिकप्टरको जाँचपास प्रक्रिया सुरु भएको छ ।  उनले भने, ‘आवश्यक प्रक्रिया पूरा गरी एक प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिएर छोडिनेछ ।’ उनका अनुसार हेलिकप्टरको भन्सार महसुल करिब चार करोडभन्दा बढी पर्नेछ । कम्पनीका महाप्रबन्धक दिल बहादुर ओलीले भन्सारमा ल्याइएका हेलिकप्टरका पंखा लगायतका पार्ट पुर्जा पुनः जडान गरी परीक्षण उडानपछि काठमाडौं ल्याइने जानकारी दिए । उनका अनुसार चीनमा उडिरहेको यो हेलिकप्टर कम्पनीले डिल गरेर नेपाल ल्याइएको हो ।  ‘नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति, सर्वेक्षणलगायत जाँच पास गरी हेलिकप्टरमा पार्ट पुर्जा जडान गरेर सिधै काठमाडौं उडाएर ल्याउने तयारी छ । हाल बाटो खराब भएका कारण उडाएरै हेलिकप्टर ल्याउने भएका हौं,’ उनले भने । कम्पनीले यसअघि समुद्री मार्गबाट कोलकाता बन्दरगाह हुँदै वीरगन्जबाट हेलिकप्टर ल्याएको थियो । चीनतर्फको अर्को नाका रसुवागढी (टिमुरे) को बाटो साँघुरो र अप्ठ्यारो भएकाले तातोपानीबाट ल्याइएको कम्पनीले जनाएको छ । माउन्टेनले हालसम्म २ वटा हेलिकप्टर सञ्चालन गर्दै आएको छ भने नेपालमा हाल १२ कम्पनीका करिब ३५ हेलिकप्टर रहेका छन् ।

पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई बोर्डको ब्रिफिङ, २५ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । नेपाल पर्यटन बोर्डले मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी गराएको छ ।  सिंहदरबारस्थित समितिको सभाहलमा बुधबार भएको बैठका बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटनको वर्तमान अवस्था, वार्षिक प्रगती, भावी रणनीति, समस्या र चुनौतीबारे ब्रिफिङ गरेका छन् । बोर्डका सीईओ जोशीले भने, 'हालको आर्थिक वर्ष २०८१/८२ मा ९३.३५ करोड रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि १३२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य हामीले राखेका छौं ।'  पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले अमेरिका, युरोप, चीन, भारत, बङ्गलादेश, दक्षिण–पूर्व एशिया, र मध्यपूर्वका विभिन्न सहरहरूमा गरी २५ अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको सीईओ जोशीले जानकारी गराएका हुन् । ती मेलामा सहभागी ३३३ भन्दा बढी नेपाली पर्यटन व्यवसायी कम्पनीहरूले नेपालको पर्यटन उत्पादन र सेवाहरूलाई प्रवर्द्धन गरेका थिए । विदेशस्थित नेपाली दूतावासहरूसँग सहकार्य गर्दै १५ वटा गन्तव्य प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरेको र यसले नेपालको दिगो पर्यटन विकासमा कूटनीतिक नियोगहरूको भूमिका थप प्रभावकारी बनाएको सीईओ जोशीले जानकारी गराएका हुन् ।  बोर्डले '४५ गन्तव्य स्तरीकरण कार्यक्रम' सँगै, होमस्टे व्यवस्थापन, होटल व्यवस्थापन, ट्रेकिङ, र्‍याफ्टिङ, प्रकृति गाइड तालिम, भाषा तालिम, प्याकेज निर्माण र डिजिटल मार्केटिङसम्बन्धी तालिमहरू सञ्चालन गरेको जनाइएको छ । यससँगै पर्यटन जनशक्ति विकासमा समेत ध्यान दिइएको सीईओ जोशीले बताए । नेपालमा आयोजना गरिएका ४० स्थानीय कार्यक्रमहरू, जस्तै सांस्कृतिक पर्व, परिकार महोत्सव, साहसिक पर्यटन उत्सवहरूले आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको पनि सीईओ जोशीले जानकारी गराएका हुन् । साथै, कुम्भमेलाका अवसरमा भारतीय पर्यटक लक्षित विशेष प्रचार अभियानहरू सञ्चालन गरिएको थियो । सीईओ जोशीले नेपालको पर्यटन विकासमा केही संरचनागत र प्रणालीगत चुनौतीहरू कायमै रहेकोसमेत जानकारी गराएका हुन् । उनले भने, 'आधारभूत पूर्वाधारको अभाव, स्पष्ट रणनीति नभएको गन्तव्य प्रवर्द्धन, दक्ष जनशक्तिको अभाव, स्वास्थ्य तथा सुरक्षाको चासो, मौसममा आधारित पर्यटन प्रवृत्ति, संस्थागत दिगोपनाको कमजोरी, नीति–निर्माणमा अस्थिरता, र गुणस्तरीय उत्पादनको अभाव आदि प्रमुख चुनौतीहरू हुन् ।' साथै, अन्तर्राष्ट्रिय स्तरमा उदीयमान प्रतियोगिता र पर्यटकको बदलिँदो मनोविज्ञानको प्रभाव पनि नेपालले ध्यानपूर्वक अवलम्बन गर्नुपर्ने विषय भएको बोर्डका सीईओ जोशीले बताए । पर्यटन बोर्डले नयाँ दृष्टिकोण प्रस्तुत गर्दै नेपाललाई 'विश्वकै सबैभन्दा अनुभवमूलक र जीवनभर सम्झनलायक गन्तव्य'को रूपमा स्थापित गर्ने योजना अघि सारेको छ ।   बोर्डले एसियाली बजारमा माग वृद्धि र परम्परागत बजारको संरक्षण, डिजिटल क्षमतामा वृद्ध‍ि, गुणस्तरीय लगानी प्रोत्साहन र गन्तव्य विविधीकरण, पर्यटन उत्पादनको सुधार र नियामकीय सुधार, श्रम, सीप र प्रादेशिक सहभागिता विस्तार, उद्योगको लचिलोपन, उत्पादकत्व र गुणस्तर अभिवृद्धि, वातावरणीय उत्तरदायित्व र दिगोपनाको सुनिश्चितता र प्रदेशहरूको पर्यटन सम्भावना उजागर गर्ने रणनीतिक आधारस्तम्भ अवलम्बन गरेको सीईओ जोशीले जानकारी गराएका हुन् ।  'पर्यटन सडक पूर्वाधार आयोजना' अन्तर्गत काठमाडौं–पोखरा, नारायणघाट–बुटवल, धुलिखेल–रामेछाप, रसुवा–केरुङ, बुटवल–पाल्पा–पोखरा आदि मार्गहरूमा सुधार गर्नुपर्ने सीईओ जोशीले बताए । हवाइ सेवा सुधारमा सिधा अन्तर्राष्ट्रिय उडान, हेलिकप्टर सञ्चालन सहजता, गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अधिकतम प्रयोग, र हवाइ खेलकुद प्रवर्द्धनको लक्ष्य बोर्डले लिएको  छ । पर्यटन बोर्डको दीर्घकालीन योजनाअनुसार आगामी वर्षहरूमा नेपालमा वार्षिक २५ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने, १४ लाख रोजगारी सिर्जना गर्ने र २.५ खर्ब रुपैयाँको पर्यटन आम्दानी प्राप्त गर्ने लक्ष्य बोर्डले राखेको छ ।  समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले पर्यटन बोर्डले गरिरहेका गतिविधिहरुको प्रशंसा गर्दै मन्त्रालय नीतिगत र संरचनागत सुधारका काममा लागिरहेको बताएका हुन् । नेपालको पर्यटनमा लगानी बढाउनका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले भने, 'पर्यटन बोर्डका माध्यमबाट निजी क्षेत्रलाई सहजीकरण गर्ने काममा लागिरहेका छौं । उहाँहरु पनि बोर्डको सहजीकरणबाट विश्वस्त  र उत्साहित हुनुहुन्छ । पर्यटन बोर्ड थिंक ट्यांक पनि हो । त्यसकारण बोर्ड थप रणनीतिक तवरमा अघि बढ्नेछ भन्नेमा विश्वस्त छ ।'  त्यसैगरी समितिका सदस्यहरू एनपी साउद, उदय शमशेर जबरा, धवल शमशेर राणा, प्रेम सुवाल, भिम आचार्य, शिशिर खनाललगायतले नेपालको पर्यटन प्रबर्द्धनमा देखिएका चुनौतीहरू समाधान गर्न समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  समितिका सभापति राजकिशोर यादवले पर्यटन बोर्डले आफ्ना समस्याहरूलाई प्राथमिकिकरण गरेर ल्याउन आग्रह गर्दै खरिद नियमावली, पूर्वाधार विकास तथा सडक र हवाई यातायात सहज बनाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुकीपाटन पुग्ने पर्यटकका लागि पदमार्ग निर्माण, विश्रामस्थल र काठेपुलले थप्यो सहजता

ढोरपाटन । पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो । किनभने प्राकृतिक सुन्दरताका दृष्टिले मनमोहक रहेको बुकीपाटन पुग्न निकै समस्या थियो । साँघुरो गोरेटोमा गोठाला र वस्तुभाउ हिँड्ने गर्थे । आन्तरिक तथा बाह्य पटक फाट्टफुट्ट मात्रै जाने गर्थे । तर पछिल्लो समय बुकीपाटनमा पर्यटकको चहलपहल बढ्दै गएको छ । अघिल्लो वर्षदेखि यहाँ पुग्ने पर्यटकको भीडै लाग्न थालेको हो । पर्यटकको रोजाइमा बुकीपाटन पर्न थालेपछि यसवर्ष विभिन्न स्थानमा विश्रामस्थल, पदमार्ग र काठेपुल निर्माण गरिएको छ । ढोरपाटन उपत्यकादेखि बुकीपाटनको गर्पाछेडा जोड्ने पदमार्ग निर्माण भएपछि पर्यटक र गोठालेलाई सहज भएको छ । पछिल्लो समय बुकीपाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाखमा पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको हो । साँघुरो गोरेटोमा यात्रा गर्दा पर्यटक लड्ने र घाइते हुने गर्थे । पदमार्ग निर्माण भएपछि उक्त समस्याको समाधान हुन थालेको छ । उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत पदमार्गग निर्माण भएको हो । ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग उपभोक्ता समितिमार्फत निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । गत चैतदेखि सुरु भएको काम असार पहिलो सातामै सम्पन्न भएको उनको भनाइ छ । प्रमुख थापाले भने, 'बुकीपाटन पुग्न पर्यटकको सहजताका लागि यो पदमार्ग निर्माण गरिएको हो, काम सकिएर अहिले पर्यटकहरु उक्त पदमार्गमा हिँड्न थालेका छन्, पहिले साह्रै अप्ठ्यारो हुँदा यात्रा गर्न समस्या रहेछ, अब सहज भएको छ, पाँच किलोमिटर पदमार्गमध्ये केही ठाउँमा पक्की र केही ठाउँमा कच्ची छ, ठाउँठाउँमा विश्रामस्थल र काठका पुल बनेका छन्, यसले पर्यटकको यात्रालाई थप रमणीय र आमदायी बनाउने छ ।' बुकीपाटन हिउँदमा खाली हुने र वर्षामा गोठलाहरु वस्तुभाउ लिएर जाने गरेका छन् । पछिल्लो समय ढोरपाटन आउने अधिकांश पर्यटक बुकीपाटन पुग्ने गरेको ढोरपाटनका होटल व्यवसायी जीवन अदैले जानकारी दिए । वर्षौदेखि गोठाला बस्ने बुकीपाटनमा अहिले पर्यटक जान थालेपछि वर्खायाममा चहलपहल बढेको उनको भनाइ छ । बुकीपाटनमा पर्यटक जान थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालन गर्न थालेको अदैले बताए । 'बुकीपाटनमा पहिले गोठला र हजारौँको सङ्ख्यामा भेडाबाख्रा र गाईभैँसी हुन्थे, अहिले धेरैभन्दा धेरै पर्यटक जान थालेका छन्, ढोरपाटन उपत्यकादेखि गर्पाछेडा पुग्ने गोरेटो निकै साँघुरो र अप्ठ्यारो थियो, समय–समयमा गोठाला र वस्तुभाउ लडेर घाइते हुने गर्थे, यसवर्ष पदमार्ग बनेको छ, अब पर्यटकहरुले जोखिम मोलेर यात्रा गर्न पर्ने छैन', अदैले भने । उनका अनुसार तीन स्थानमा काठेपुल, तीन स्थानमा विश्रामस्थलसमेत निर्माण गरिएको छ । गत जेठ पहिलो सातादेखि नै पर्यटकहरु बुकीपाटन पुग्न थालेका छन् । समुन्द्र सतहदेखि करिब चार हजार पाँच सय मिटरको उचाइसम्म रहेको बुकीपाटनसँगै टीकाधार, फागुने, गर्पाछेडालगायतका स्थानमा पनि पर्यटकको चपहपहल बढेको ढोरपाटनका तिलबहादुर पुनले बताए । रासस