मापदण्ड मिचेर पाँच तारे होटल डबल ट्री हिल्टन, शंकर ग्रुपको सेवा उद्योग पहिलो गाँसमा ढुंगा

काठमाडौ । शंकर समूहअन्तर्गतको जगदम्बा हस्पिटालिटीले मापदण्ड पूरा नगरी काठमाडौंको नक्सालमा ‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माण सुरु गरेको खुलेको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआई)( र माटो परीक्षणका कानुनी प्रावधान उल्लंघन गर्दै होटेल निर्माण सुरु गरिएको हो । होटेल निर्माणक्रममा भगवतीबहाल(पुलिस हेडक्वार्टर खण्डको सडक पुस २४ गते भासिएको थियो । जमिन भासिँदा वरपरका घरमा पनि क्षति पुगेको छ । भवन आचारसंहिताको दफा १४।७ मा १७ मिटर वा पाँच तलाभन्दा अग्लो भवन निर्माणमा माटो परीक्षण अनिवार्य हुन्छ । यसका लागि खानी तथा भूगर्भ विभागले माटो परीक्षण गरी निर्माणयोग्य भनेपछि मात्र अनुमति दिन सकिने प्रावधान छ । पाँच रोपनी क्षेत्रमा दुई तला बेसमेन्टसहित करिब १५ तलाको भवन निर्माण गर्न लाग्दा मापदण्डअनुरूप माटो परीक्षणको प्रक्रिया पूरा गरिएको थिएन । ‘माटो परीक्षण आधारभूत मापदण्ड हो’, सहरी विकास मन्त्रालयका प्रवक्ता रमेशप्रसाद सिंहले भने, ‘यसका लागि मन्त्रालयले मापदण्ड बनाएर लागू गर्ने अधिकार महानगरपालिकालाई दिएको छ ।’ काठमाडौं महानगरपालिका स्रोतका अनुसार माटो परीक्षण गर्दा त्यस स्थानमा त्यति ठूलो भवन निर्माण गर्न नमिल्ने प्रतिवेदन आएको थियो । ‘तैपनि निर्माण अनुमति दिइयो’, स्रोतले भन्यो । अहिले माटो परीक्षणको प्रतिवेदनसहित फाइल अख्तियारले लगेको छ । यस विषयमा बुझ्न पटकपटक सम्पर्क गरे पनि महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङ सम्पर्कमा आउन चाहेनन् । व्यवस्थापिका संसद्को सुशासन अनुगमन समितिमा यसबारे माघ २८ मा छलफल भएको थियो । छलफलमा तामाङले भवन निर्माणका लागि प्रारम्भिक स्वीकृति मात्र दिएको, पूरा नक्सा पास नभएको जनाएका थिए । छलफलमा सांसदहरूले होटेल निर्माणमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)प्रतिवेदन नआउँदै निर्माणको अनुमति दिएको भन्दै तामाङमाथि प्रश्न गरेका थिए । जबाफमा तामाङले भवन निर्माणका लागि प्रारम्भिक अनुमति मात्र दिएको जिकिर गरेका थिए । उनले यसको जबाफदेही उपत्यका विकास प्राधिकरणतिर पन्छाएका थिए । उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले भने भवनको निर्माण योजना स्वीकृत गर्ने तथा मापदण्ड पालना गराउने मात्र दायित्व भएको जबाफ दिएका थिए । भवन निर्माणका लागि जग्गा छ कि छैन, सडकबाट हुनुपर्ने दूरी छ कि छैन, भवन संहिताअनुसार डिजाइन छ कि छैन, त्यो हेरेर आफूले स्वीकृति दिने तिवारीले बताए । उक्त होटेल निर्माणको ईआईए प्रतिवेदन नआएको वातावरण मन्त्रालयको भनाइ छ । योजनाअनुसारको निर्माणका लागि ईआईए अनिवार्य हुन्छ । ईआईए प्रतिवेदन पास हुन सार्वजनिक सूचना प्रकाशन गरी स्थानीयको सुझावसमेत लिनुपर्ने हुन्छ । स्थानीयले विरोध गरे निर्माण नहुन पनि सक्छ । वातावरण संरक्षण ऐनमा ईआईए स्वीकृत नभई भवन निर्माण भएको अवस्थामा एक लाख रुपैयाँसम्म जरिबाना गराउनसक्ने व्यवस्था छ । समितिको छलफलमा ईआईएबिना निर्माण अनुमति दिइएको, गलत डिजाइनलाई पनि स्वीकृत गरिएको भन्दै सदस्यहरूले जिम्मेवार निकायले चरम लापरबाही गरेको आरोप लगाएका थिए । होटेलको अन्तर्राष्ट्रिय चेन हिल्टनको व्यवस्थापनमा सञ्चालन गर्ने गरी समूहले एक सय २८ कोठाको होटेल निर्माण गरिरहेको छ । एक सय २० वटा गाडी र दुई सयवटा मोटरसाइकल पार्किङ गर्न सकिने दुईतले बेसमेन्टसहितको होटेल निर्माणमा ४ अर्ब रुपैयाँ लगानी गर्ने भनिएको छ । हिल्टनले विश्वभर चार हजार दुई सय होटेल सञ्चालन गरिरहेको छ । यी होटेलमा ६ लाख ९० हजार कोठा छन् । अन्नपूर्ण पोस्टबाट ।

जेट एयरवेजको ‘बिलियन माइल्स फेस्टिबल’ योजना सार्वजनिक, उडान गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं । भारतको प्रमुख अन्तराष्ट्रिय एयरलाइन्स जेट एयरवेजले भारतकै पहिलो तथा सर्वाधिक ठूलो‘बिलियनमाइल्स फेस्टिबल’ आयोजना गरी धेरै पटक उडान गर्ने यात्रुलाई पुरस्कृत गर्ने योजना सार्वजनिक गरेको छ । योजना अवधि भित्र जेट एयरवेजको टिकट बुक गर्ने तथा यात्रा गर्ने जुनसुकै देशका यात्रुले एक करोड भन्दा बढी जेपी माइल बराबरको बोनस प्राप्त गर्न सक्ने छन् । आगामी गर्मी मौसममा बिदा मनाउने यात्रुहरुलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत जेट एयरवेजका यात्रुले बोनस जेपीमाइल प्राप्त गरी लाभान्वित हुन सक्ने छन् । हवाई यात्राको चाहना गर्नेहरुको सपना साकार पार्न ‘बिलियन माइल्स फेस्टिबल’ सहायक सिद्ध हुने विश्वास एयरवेज सूत्रले व्यक्त गरेको छ । यो योजना जेट प्रिभिलेजका सवै सदस्य तथा लोयाल्टी रिवार्ड कार्यक्रमका विजेताहरुका लागि समेत खुल्ला रहने छ । सदस्यता लिइ नसकेकाहरुले एयरवेजको वेबसाइटमार्फत आफूलाई सूचिकृत गरी बोनस जेपी माइल योजनाको फाइदा उठाउन सक्ने छन् । ग्राहकले यही फरवरी २१ देखिमार्च ३१ सम्ममा जेटएयरवेज डटकम वा मोबाइल एपमा बुक गरेको प्रत्येक टिकटमा बोनस जेपी माइल प्राप्त गर्न सक्ने छन् । उक्त योजना अवधिभर प्रत्येक दिन एक जना भाग्यशाली विजेता घोषित गरिने छ । यसरी घोषित गरिएका भाग्यशाली विजेताहरुले एक लाख जेपी माइल प्राप्त गर्ने छन् । साथै एक जना ज्याकपट विजेताले दस लाख जेपी माइल प्राप्त गर्ने छन् । विजेताहरुले आफूले प्राप्त गरेको जेपी माइल आगामी जेट एयरवेज वा साझेदार एयरलाइन्सको अवार्ड टिकट खरीद गर्दा प्रयोग गर्न सकिने जानकारी गराइएको छ ।

कालिन्चोक दर्शन अब केवलकारबाटै, अधिकांश सेयर स्थानीयको, दसैंलाई सञ्चालनको तयारी

काठमाडौं । दोलखाको कुरी भञ्ज्याङदेखि कालिन्चोक मन्दिरसम्म केबलकार संचालन हुने भएको छ । करिब एक किलोमिटरको यो केवलकार निर्माणको काम धमाधम भइरहेकोले आगामी दसैंसम्ममा कालिन्चोक दर्शन केवलकारबाटै हुने भएको छ । केबलकार निर्माणको काम द्रत गतिमा भइरहेकोले आगामी दसैंबाट नै सेवा सञ्चालन गर्ने गरी तयारी गरिएको कालिञ्चोक केबलकारका एक संचालक बालकृष्ण शिवाकोटीले बताए । फाइल फाेटाे उनका अनुसार केबलकार संचालन पछि अहिले औसतमा दैनिक ३ सय दर्शनार्थी कालिन्चोक पुग्ने गरेकामा केबलकार सञ्चालनपश्चात तुरुन्तै ५ सय पुग्ने छन् । केबलकार सञ्चालको केही समयपछि नै दैनिक दर्शनार्थी १ हजारको संख्यामा कालिन्चोक मन्दिर पुग्ने अनुमान गरिएको पनि शिवाकोटीले बताए । केवलकार निर्माण पछि यो क्षेत्रमा होटल र रिसोर्ट आवश्यकता अनुसार लगानी बढाउन सकिन्छ । हाल कुरी भञ्ज्याङमा ३० वटा होटल रहेका छन् । यी होटलमा अहिले पनि मागको आधा मात्रै आवश्यकता पूरा गर्न सकेको उल्लेख छ । धार्मिक पर्यटकीय दृष्टिले अन्त्यन्तै महत्वपूर्ण मानिएको यो क्षेत्रमा केवलकार संचालनपछि यसको मुहार नै परिवर्तन हुने उल्लेख छ । करीब ४० करोड रुपैयाँ लगात अनुमान गरिएको यो केवलकार निर्माणमा नेपाल एसबीआई बैंकले लगानी गर्दै छ । यो बैंकले करिब २० देखि २२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केवलकारमा ४ वटा गोन्डुला (केवलकारका बक्स) हुने भएका छन् । एउटा गोन्डुलामा १० देखि १२ जनाको क्षमता हुने कालिन्चोक केवलकारले जानकारी दिएको छ । आधुनिक शैंलीको यो केवलकारमा थोरै गोन्डुला भएपनि संचालन विधि पनि अत्याधुनिक हुने उल्लेख छ । स्थानीयको लगानी १० लाखदेखि करोडसम्म स्थानियको लगानी भएको यो केवलकार पहिलो पब्लिक कम्पनी हुने पनि केबलकार संचालकको भनाइ छ । नेपालमा स्थानीयलाई सेयर दिएर संचालन हुने पहिलो कम्पनीको रुपमा यसले आफ्नो छवि बनाउने भएको छ । यो केबलकार सञ्चालन गर्न पब्लिक कम्पनी खडा गरेर लगानी जुटाएको उल्लेख छ । यो केवलकारमा करिब ५० जनाको लगानी रहेको छ । प्रतिव्यक्ति १० लाखदेखि एक करोडसम्म नै लगानी रहेको यो कम्पनीमा अधिकांश दोलाखाली नै रहेको पनि उल्लेख छ । संभावना प्याराग्लइडिङ र स्कीको यो स्थानमा कालिन्चोक र सँगैको डाँडाबाट प्याराग्लाइडिङ र स्कीको संम्भाव्यता पनि अध्ययन भइरहेको छ । आकर्षक र मनामोहक यो स्थानमा केवलकारसँगै स्की र प्याराग्लाइडिङको संम्भाव्यता देखिएकोले एक विदेशी नागरिकले लगानी गर्ने इच्छा देखाएका छन् । एक जना नेपालीसँगको सहकार्यमा ती विदेशीले प्याराग्लाइडिङ र स्कीमा लगानी गर्न चाहेको पनि स्रोतले जानकारी दिएको छ । दोलखाको चरिकोटबाट १८ किलोमिटरको दूरीमा रहेको यो स्थानमा पर्यटकीय संम्भावना औल्याउँदै केवलकार संचालन भएको हो । यहाँ पुग्ने हरेक पर्यटकको लागि एक रात वास बसाउने उद्देश्य स्थानियको रहेको छ । यो स्थानमा भएको विविध पर्यटकीय संभावनाले र आकर्षक स्थान भएकोले पनि पर्यटक भुलाउने सेवा र सुुविधा थप गर्दै जान सकिने उल्लेख छ । अहिले पनि कालिन्चोक पुग्ने ७५ प्रतिशत पर्यटककको एक दिनको बसाई हुने गरेको छ ।