हिमालय एयरलाइन्सको काठमाडौं–दोहा नियमित उडान जेठ १८ गतेदेखि, अन्तराष्ट्रिय उडानको ५० प्रतिशत बजार लिने घोषणा

काठमाडौ, १० जेठ । हिमालय एअरलाइन्स्ले जेठ १८ गतेदेखि काठमाडौं–दोहामा नियमित उडान भर्ने भएको छ । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास गरी १५८ सीट क्षमताको विमान एअरबस ३२०–२०० ले सो दिनदेखि नियमित रुपमा काठमाडौँ–दोहा उडान भर्ने कम्पनीले जनाएको छ । कम्पनीले शुरुमा सातामा तीन दिन उडान भर्ने र केही समयपछि दैनिक उडान भर्ने जनाएको छ ।कम्पनीले अन्तराष्ट्रिय उडानको ५० प्रतिशत बजार अगट्ने महत्वकांक्षी लक्ष्य पनि लिएको छ । उक्त उडान काठमाडौँबाट स्थानीय समय अनुसार राती ११ बजे उडेर विहान १ः३० बजे दोहामा अवतरण गर्नेछ । त्यसैगरी दोहाबाट विहान २ः३० बजे उडेर १०ः१५ बजे काठमाडौँ अवतरण गर्नेछ । नेपालीहरुको यात्रालाई सरल बनाउने गरी रात्री उडान तालिका बनाएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए । ‘रातीको उडान भर्दा नेपालीले दिनभरी आफ्नो काम गरेर यात्रामा निस्कन सक्ने, राती होटलमा बस्ने खर्च बचत हुने, दोहाबाट नेपाल आउने नेपालीले ११ बजे नै काठमाडौं एयरपोर्टबाट वाहिरीन सक्नेछन्’ उनले भने । bikashnews.com कतार र नेपालबीच नियमित उडानले दुई देशबीच पर्यटन प्रवर्धन र जनस्तरमा सम्बन्ध विकास विस्तार गर्न निकै मद्दत गर्ने श्रेष्ठले बताए । नेपालबाट अन्तराष्ट्रिय उडान भर्ने सबै जहाजमा कम्तिमा ६० प्रतिशत यात्री नेपाली नै हुने भएकोले हिमालयन एयरलाईन्स्मा नेपाली सँस्कृतिको झलक दिँदै उच्च स्तरीय सेवा प्रदान गर्ने बताए । केही महिना पछि एयरलाइन्स्ले भारतको नयाँ दिल्ली, चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान भर्ने तालिका बनाएको उनले बताए । कम्पनीका व्यापार महाप्रबन्धक राजु केसीले आगामी पाँच वर्षभित्र नेपाली आकाशबाट उड्ने अन्तराष्ट्रिय उडानको ५० प्रतिशत बजार लिने कम्पनीको लक्ष्य रहेको बताए । हाल नेपाल वायुसेवा निगमले अन्तराष्ट्रिय उडानको ५ प्रतिशत हिस्सा मात्र लिदै आएको छ । ९५ प्रतिशत बजार विभिन्न देशका २९ वटा हवाई सेवा प्रदायक कम्पनीले लिएका छन् । कम्पनीले आगामी पाँच वर्ष भित्र पन्ध्र वटा ३२० सिरिजका जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ । कम्पनीले नयाँ जहाज मात्र किनेर चलाउने नीति लिएको केसीले बताए । एअरलाइन्स्ले केही समयपछि लामो दुरी उडान भर्ने ए ३३० सिरिजका जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना बनाएको छ । एअरलाइन्सले कतारको लागि जेनरल सेल्सएजेन्ट (जीएसए) क्लियोपेट्रा टाभल्सलाई नियुक्त गरेको छ । सो कम्पनीले कतारमा एअर लाइन्सको मार्केटि, बजार विकास, आरक्षण, टिकेटिङ लगायत सेवाहरुको प्रतिनिधित्व गर्ने छ । हिमालय एअरलाइन्स्ले कतारी बजारमा सुपथ मुल्यमा आरामदायी सेवा प्रदान गर्ने जनाएको छ । एअरलाइन्स् आफ्ना ग्राहकहरुलाई विश्वासीलो र तोकिएको समयमानै गतब्य स्थानमा पु¥याउने सेवा दिने प्रतिबद्घता जनाएको छ । अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्स्ले चैत ३१, २०७२ मा कोलम्बो, श्रीलंकामा उडान भरेर आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । त्यसै अनुसार हिमालय एयरलाइन्स्ले आफ्नो व्यवसायिक उडान सुरु गर्न सम्पूर्ण तयारी पूरा गरिसकेको छ । यस शिलसिलामा एअरलाइन्स्ले आफ्ना विमान चालक, परिचारिका र प्राविधिक कर्मचारीहरुलाई तालिम दिने लगायत सम्पूर्ण तयारी पूरा गरीसकेको छ । संयुक्त लगानीमा सञ्चालित यस एअरलाइन्स्मा ५१.०१ प्रतिशत लगानी नेपालीको छ भने ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ।

तीन महिनादेखि लाइसेन्सबिनै ग्राउण्ड ह्याण्डलिङ गर्दै नेपाल बायु सेवा निगम, सम्झौता नविकरण गर्न मन्त्रीको आनाकानी

काठमाडौं, ९ जेठ । नेपाल वायु सेवा निगमको ग्राउण्ड ह्याण्डलिङ लाइसेन्सको म्याद तीन महिना अघि सकिएको तथ्य फेला परेको छ । सरकारी सेवा प्रदायक कम्पनीका रुपमा निगमले त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको सेवा एकलौटी रुपमा प्रवाह गर्दै आएको छ । तर गत फागुनदेखि नै पुरानो सम्झौताको म्याद सकिएको भएपनि नयाँ सम्झौता भएको छैन् । निगम व्यवस्थापनले सम्झौताको अवधी सकिनै लाग्दा नयाँ सम्झौताका लागि पत्राचार गरेको भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले कुनै चासो देखाएको छैन् । निगमले तीन महिनादेखि लाइसेन्स बिनै ग्राउण्ड ह्याण्डलिङ गरिरहेको तथ्य भने कर्मचारी युनियनले सार्वजनिक गरिदिएको हो । नेपाल वायु सेवा निगम कर्मचारी यूनियनले निगमका महाप्रबन्धक सुगतरत्न कंसारकारलाई ज्ञापन पत्र बुझाउँदै १५ दिन भित्र ग्राउण्ड ह्याण्डलिङको सम्झौता नविकरण नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । यूनियनले व्यवस्थापनकै लापरवाहीका कारण ग्राउण्ड ह्याण्डलिङको सम्झौता नविकरण नभएको आरोप समेत लगाएको छ । तर निगमका प्रवक्ता रामहरी शर्माले भने ग्राउण्ड ह्याण्डलिङको सम्झौता नविकरणको प्रक्रियामा रहेको दावी गरे । ‘नेपाल वायु सेवा निगमले प्रस्ताव पेश गरिसकेको छ, क्यानको बोर्ड बैठक नबसेकाले ढिलो भएको हो ।’,निगम प्रवक्ता शर्माले विकासन्युजसँग भने । निगम कर्मचारी श्रोतका अनुसार पर्यटन मन्त्री आनन्द पोखरेलकै कारण नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले निगमसँगको ग्राउण्ड ह्याण्डलिङ सम्झौता नविकरण नगरेको हो । क्यानको अध्यक्ष पर्यटन मन्त्री रहने व्यवस्था छ । मन्त्री पोखरेलले कुनै उपायद्धारा ग्राउण्ड ह्याण्डलिङको जिम्मा निजी कम्पनीलाई दिने तयारी गरेको आरोप कर्मचारी युनियनले लगाइरहेका छन् । निगमसँगको सम्झौता लामो समयसम्म नविकरण नगर्ने र त्यहिबिचमा सेवामा गुणस्तर नआएको वा अन्य कुनै बहाना बनाएर ग्राउण्ड ह्याण्डलिङका लागि टेण्डर आव्हान गराउने योजनामा मन्त्री रहेको उनीहरुको आरोप छ । ग्राउण्ड ह्याण्डलिङका लागि यति एयरलाइन्स तथा हिमालय एयरलाइन्सले उपकरण भित्र्याइसकेका छन् । यति तथा हिमालय एयरलाइन्सका मालिक आङछिरिङ शेर्पासँग पर्यटन मन्त्री आनन्द पोखरेलको नजिकको सम्बन्ध रहेको श्रोत बताउँछ । आङछिरिङ शेर्पा मुख्य लगानी कर्ता रहेको हिमालय एयरलाइन्सले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा निःशुल्क उडान भरेको थियो । त्यसकै गुण तिर्न पनि सोही कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिन लागिएको आरोप लाग्दै आएको छ ।

होटल क्षेत्रमा ५ अर्ब लगानी गर्ने सिजी होल्डिङको घोषणा, १५ सयले रोजगारी पाउने

काठमाडौं, १६ बैंशाख । चौधरी समूहका अरुण चौधरीले सिजी होल्डिङ मार्फत होटल क्षेत्रमा लगानी शुरु गरेको छन् । उनले आगामी पाँच वर्षको करिब ५ सय बेड रुम क्षमताको ५ वटा होटल खोल्ने घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले ५ वटा होटलका करिव ५ अर्ब रुपैयाँ लगानी हुने र कम्तिमा १५ सय जनाले रोजगारी पाउने उनले जानकारी दिए । सीजी होल्डिङले चितवन जगतपुरस्थित टाइगर ल्याण्ड खरिद गरेर पर्यटन सेवाको क्षेत्रमा लगानी गरेको हो । झण्डै ५२ वर्ष पुरानो उक्त रिसोर्ट कतिका खरिद गरिएको हो भन्ने विषय उनले खुलाएनन् । bikashnews.com ‘३५ वटा कटेजको टाइगर ल्याण्ड खरिद गरेर हामी होटल क्षेत्रमा लगानी सुरु गरेका छौ, आगामी पाँच वर्षमा थप ४ वटा होटल तथा रिसोर्ट सञ्चालनमा ल्याएने छौं’ सिजी होल्डिङका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण चौधरीले भने–‘नेपाली अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रमा लगानी थपिनु महत्वपूर्ण विषय हो, मूल्य प्रधान विषय होइन ।’ उनले अन्तराष्ट्रिय चेन होटल ’होलिडे इन’सँगको सहकार्यमा झम्सिखेलस्थित मारुती सुजुकीको शोरुम तथा त्यसको परिसर क्षेत्रमा दुई सय बेड रुम क्षमताको पाँच तारे होटल बनाउने घोषणा गरे । यो होटल सन् २०२० सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले बताए । त्यस्तै त्रिपुरेश्वरको राइस एण्ड बल भएको स्थानमा अर्को बिजनेश होटल स्थापना हुनेछ । यो होटलमा १२५ वटा रुम हुनेछ । यो होटल मध्यमस्तरको हुने उनले जानकारी दिए । सीजी होल्डिङले बुढानिलकण्ठमा ५० वटा कटेजको वेलनेस सेन्टर तथा पोखराको साराङ्कोटमा ८० वटा रुमको रिसोर्ट स्थापनाको तयारी समेत गरेको छ । बुढानिलकण्ठ र पोखरामा पनि हामीले जग्गा लिइसकेका छौं, अब डिजाइनको काम सुरु हुन्छ, अध्यक्ष चौधरीले बताए। पत्रकार सम्मेलनमा उनले पर्यटन उद्योगको सम्भावना धेरै भएको बताए । नेपालमा तुलनात्मक लाभ भएको क्षेत्रको रुपमा जलविद्युत, कृषि, पर्यटन क्षेत्रलाई लिने गरिएको उल्लेख गर्दै जलविद्युत र कृषिमा आफूले धेरै सम्भावना नदेखेको तर पर्यटन क्षेत्रमा सम्भावना धेरै देखेको बताए । विश्वमा चल्ले इको टुरिजम, कल्चर टुरिजम, वाइल्डलाइफ टुरिजम, स्पोर्ट टुरिजम, एडभेन्चर टुरिजम मध्ये सबै प्रकारका टुरिष्ट नेपाल आउने गरेको र सबै प्रकारका पर्यटक आर्कषित गर्न सकिने उनले बताए ।