पर्यटकको बसाइँ लम्ब्याउन पर्यटक पथ प्रदर्शक तालिम शुरु
पोखरा, २२ भदौ । पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले पोखरा पर्यटन परिषद्ले बुधबारदेखि १० दिने पर्यटक पथ प्रदर्शक तालिम शुरु गरेको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवम् अन्तर्राष्ट्रिय श्रम सङ्गठन जापानको सहयोगमा सञ्चालित सो तालिममा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) ले प्राविधिक सहयोग उपलब्ध गराएको छ । पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउन सहयोग पु¥याउन र औपचारिक रुपमा पर्यटक पथ प्रदर्शकलाई व्यवस्थित गर्न तालिम आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताए । पर्यटक पथ प्रदर्शक तालिमका लागि धेरै युवा आकर्षित भए पनि पहिलो चरणमा जम्मा ४१ जना युवालाई सहभागी गराउन सकिएको जानकारी दिँदै उनले तालिमका अन्य आकांक्षीका लागि चाँडै नै अर्को तालिम आयोजना गर्ने सोच राखिएको जानकारी दिए। तालिमउद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा क्षेत्रीय कार्यालयका प्रमुख उदय भट्टराई, नाथमका यातायात एवम् अनुसन्धान विभाग प्रमुख कृष्ण खरेल, परिषद्का पूर्व अध्यक्षद्वय डम्बरबहादुर केसी र टीकाराम सापकोटा, उपाध्यक्ष चिरञ्जीवी पोखरेल, महासचिव रामु गौतम लगायतले पर्यटक पथ प्रदर्शकले निर्वाह गर्ने भूमिकाले चर्चा गर्दै ती पथप्रदर्शकले पर्यटकको बसाइँ लम्ब्याउन वा छोट्याउन सक्ने बताए । रासस
श्री एयरलाइन्सले जहाजबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै, एक वर्षभित्रमा पाँच अर्ब लगानी
काठमाडौं २२, भदौ । हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले नियमित उडानका जहाजको अनुमति पाएको छ । १७ वर्षदेखि नियमित रूपमा हेलिकोप्टर उडाइरहेको यो कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानको जहाज थप गरेर नियमित उडानको अनुमति दिएको हो । मन्त्रालयबाट मंगलबार फिक्स विंग्स (पंखा जडित) जहाज संचालनको इजाजतपत्र (लाइसेन्स) श्रीले पाएको छ । ‘मन्त्रालयबाट इजाजत पाएकोले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान संचालन अनुमित (एओसी) लिएर आगामी तीन महिनाभित्रमा आन्तरिक गन्तव्यमा जहाज उडाउँछौ’, श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधीर मित्तलले भने । उनका अनुसार डेढ दशक लामो समय हेलिकोप्टर (रोटर विंग्स) संचालन गरेको अनुभवलाई आन्तरिक उडानमा पनि प्रयोग गर्न लागिएको हो । श्रीले हेलिकोप्टरमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय दुबै अनुमति थप गर्न खोजिएको हो । मंगलबारबाट आन्तरिक उडानको लागि भने इजाजत थप भएको छ । जहाज उडान सुरुसँगै आवश्यक प्रक्रिया पू¥याएर अन्तर्राष्ट्रिय उडान अनुमतिसमेत लिने श्रीले जानकारी दिएको छ । अहिलेको श्रीको प्राथमिकता आन्तरिक गन्तव्यमा हो भने ६ महिना भित्रमा क्षेत्रीय अन्तर्राष्ट्रिय गन्तव्यको उडानको पनि भएको मित्तलको भनाइ छ । आन्तरिक उडान संचालन सुरु गरेपछि आवश्यक प्रक्रिया मिलाएर अन्तर्राष्ट्रिय उडानमा जानुपर्ने भएकोले हामीले छिटो गर्ने भन्दाभन्दै पनि प्रक्रिया पूरा गर्न समय लाग्न सक्ने मित्तलको बुझाई छ । हालका लागि भारतका विभिन्न सहरका गन्तव्यबाट अन्तर्राष्ट्रिय उडानमा जाने र आवश्कता अनुसार एयरवस वा वोइङका जहाजमा थप गर्दै मध्यपूर्वी मुलुकपनि जान सकिने मित्तलको भनाई रहेको बुधबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ । आन्तरिक उडानमा दुई अर्ब रुपैयाँसम्मको लगानी योजना बनाएको मित्तलले जानकारी दिए । मित्तलको एकल लगानी रहेको यो वायुसेवाले उड्डयन क्षेत्रमा क्रियाशील भएर लागिएसकेपछि आक्रामक योजना बनाएरै आगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । १७ वर्षको हेलिकोप्टर उडानको अनुभवबाट जहाज उडान नेपालमा श्रीले एमआई १७ नामक ठूला र एएस ३५० बी ३ नामक साना हेलिकोप्टर संचालन गरिरहेको छ । हेलिकोप्टरमा राम्रो सेवा गरेको अनुभवलाई नै जहाजमार्फत अन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्ने योजना बनेको श्री एयरका कर्पोरेट प्रवन्धक अनिल मानन्धरको भनाइ छ । श्रीले आन्तरिक उडानका लागि ५० सीट क्षमताका सीआर जे २०० नामक तीनवटा जहाज ल्याउने भएको छ । तत्काल दुईवटा यो जहाज ल्याएर उडान संचालन गरिहाल्ने योजना श्रीको छ । काठमाडौं विमानस्थललाई आधार बनाएर माउन्टेन फ्लाइट, भन्द्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीसहितका शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुटका) गन्तव्यमा उडान गर्ने योजना यो वायुसेवाको छ । आन्तरिक उडानका यी गन्तव्यमा उडान गर्न सीआरजे २०० नामका जहाजबाट उडान हुन्छ । देशभित्र उडान गर्न ५० र ७० सीटका क्षमतामा जहाज हेरिएको मानन्धरको भनाइ छ । उड्डयन नियम अनुसार कम्तिमा दुईवटा जहाज संचालन गर्नुपर्ने भएकोले एकैपटक दुईवटा र थप एक गरी दुइटै क्षेत्रमा तीनतीन वटा जहाज हुने छ । अन्तर्राष्ट्रिय उडानका लागि ईआरजे १९० सिरिजका ११० सीटक्षमताको जहाज ल्याउन प्रक्रिया अगाडि बढेको छ । अन्तर्राष्ट्रिय उडानका गन्तव्यमा भारतीय सहर हैदराबाद, मुम्मै, मदरास, बैग्लोर, कोलकत्ता, वनारसलगायतका गन्तव्य रहेको उल्लेख छ । अन्तर्राष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा निर्मित १ सय १० सिट क्षमतायुक्त ‘इआरजे–१९०’ सिरिजका तीनथान जहाज ल्याउने गरी योजना तय भैसकेको छ । श्री का अनुसार जहाज तयारी अवस्थामा रहेकोले उड्डयन प्राधिकरणबाट अनुमति पाउनेवित्तिकै काठमाडौं आइहाल्ने जानकारी दिएको छ । डेढ दशकदेखि हेलिकोप्टर संचालन गरिरहेको यो कम्पनीले लामो समयदेखि नियमित उडानको जहाज संचालन गर्न पनि आन्तरिक योजना बनाइरहेको थियो । नेपालमै रोजगारी बढाउने उद्देश्यले हवाइ क्षेत्रमै आक्रामक लगानी गर्न थालेको पनि मित्तलको भनाइ छ । जहाज उडानमा प्रतिस्पर्धामा जाने आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न श्रीले आफ्नो व्यापारिक योजनालाई फराकिलो दायरा बनाएर अगाडि सारिएको जानकारी दिएको छ । श्रीले हाल साना र ठूला गरी १० वटा हेलिकोप्टर सञ्चालन गरिरहेको छ । नेपालसहित अफ्रिकी मुलुकमा पनि श्रीले एमआई १७ नामक ठूलो हेलिकोप्टर उडाइरहेको छ । हाल श्रीसँग रुसमा निर्मित २४ सिट क्षमताका ६ वटा एमआई–१७ नामक ठूलो हेलिकोप्टर छ । फ्रान्सेली वायुसेवा कम्पनी एयरबस हेलिकोप्टर्सले निर्माण गरेको पाँच र ६ सिट क्षमताका अर्को चारवटा ‘एएस३५० बिथ्रिई’ नामका साना होलिकोप्टर पनि छन् । हेलिकोप्टर सेवाप्रदाकय कम्पनीबाट नियमति उडानका आन्तरिक वायुसेवामा जाने कम्पनी श्री नै पहिलो होइन । यस अघि गोर्खा र कस्मिक एयरले पनि ठूलो हेलिकोप्टरसँगै नियमति उडानका जहाज संचालन गरेका थिए । आफूसँग भएको वर्षोदेखिका आन्तरिक र अन्तर्राष्ट्रिय हेलिकोप्टर सेवाको अनुमति तथा सेवालाई विस्तार गरेर जहाजमा पनि जान लागेको श्रीको भनाइ छ ।
वायुसेवा निगमको १८ जहाज पुर्याउने लक्ष्य, हरेक वर्ष जहाज थप गर्ने योजना
काठमाडौं २१, भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले १८ वटा जहाज पुर्याउने लक्ष्य राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले हरेक वर्ष जहाज थप गर्दै १८ वटा बनाउने योजना रहेको बताए । वायुसेवाले २/४ गर्दै १८ वटा विमान पुर्याउने लक्ष्यलाई व्यावहारिक रूपमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको पनि मन्त्री शाहीले बताएका छन् । नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा उहाँले विमान थप गर्ने क्रमसँगै आवश्यक जनशक्ति पाइलट, इन्जिनियरको व्यवस्था पनि समानान्तर रुपमा गर्दै जानुपर्ने पनि बताए । मन्त्री शाहीले लक्ष्य निर्धारण गर्दा भविष्यका संभावना र व्यावहारिकतालाई ध्यानमा राखी महत्वाकाँक्षा सहित बढ्नु पर्दछ भन्नु हँुदै क्रमिकरुपमा विमान थप्दै जाने आधार आफूले तयार गर्ने र सक्रिय भूमिका निर्वाह गर्ने बताए । उनले एकै पल्ट १८ वटा विमान सेवामा समावेश गर्ने नभई प्रत्येक वर्ष थप गर्दै जाँदा केही वर्षपछि यस्तो लक्ष्य पूरा गर्न सकिने जानकारी दिए । निगमका गन्तव्य पर्याप्त भए पनि ती सबै गन्तव्यमा पुग्ने विमानको कमीलाई पुरा गर्ने प्राथमिकता साथ नयाँ नयाँ गन्तव्यको खोजीगर्ने विकल्पमा पनि सोच्नुपर्ने बताए । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले निगम नयाँ र जटिल मोडमा पुगेको उल्लेख गर्दै निगमले वाइडबडी विमान चलाएर अन्तर्राष्ट्रिय उडानमा नयाँ फड्को मार्ने दृढता व्यक्त गर्नुभयो ।