भाजपाका बरिष्ठ नेता बिजयजोलीद्वारा चन्द्रागिरि भ्रमण
काठमाडौं । भारतीय जनता पार्टीका बरिष्ठ नेता बीजयजोलीले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जोलीलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै जोलीले निर्माण कार्य शुरु गरेकै छोटो समयमा यस ऐतिहासिक स्थानमा स्थापित परियोजनाले पर्यटन प्रवद्र्धन गर्नुका साथै धार्मिक आस्था, शान्ति र सहिष्णुता कायम राख्न ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको जनाइएको छ ।
कैलाशको दोस्रो हेलिकप्टर सञ्चालनमा
काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्राइभेट लिमिटेडले बुधबारदेखि दोसो हेलिकप्टर उडान सुरु गरेको छ । कम्पनीले गत पुस १० गतेदेखि पहिलो हेलिकप्टरले उडान सुरु गरेको थियो । फ्रान्सको एयसबसले निर्माण गरेको सो हेलिकप्ट कम्पनीका अध्यक्ष तथा क्याप्टेन आशिष शेरचनको नेतृत्वमा हेटौडाबाट विरामीको उद्धार गरी काठमाडौंको मेडिसिटी हस्पिटलमा अवतरण गराएर पहिलो सेवाको सुरुवात गराएको हो । हेलिकप्टरले विरामीको उद्धार, कर्पोरेट फलाइट, कार्गो, स्पिड अपरेशन, हाइ अल्टिच्युट अपरेशन, एरियल सर्वे, दृष्यावलोकन र माउन्टेन फलाइट गर्ने कम्पनीले जनाएको छ ।
साँग्रीला ग्रुपले पोखरामा दोस्रो नयाँ रिसोर्ट बनाउदै, १ वर्षमा सञ्चालनमा ल्याउने
काठमाडौं । साँग्रीला ग्रुपले पोखरामा दोस्रो नयाँ होटल निर्माण थालेको छ । पोखरा लेखनाथ महानगरपालिकाको ३१ स्थित वेगनासमा ५० वेडको साँग्रीला रिसोर्टको निर्माण सुरु भएको हो । होटल आगामी १ वर्षमा सञ्चालनमा ल्याउने गरी निर्माण सुरु भएको साँग्रीलाले जनाएको छ । रिसोर्ट निर्माण तथा सञ्चालनबाट भौतिक, जैविक, साँस्कृतिक, सामाजिक र वातावरणीय प्रभाव मूल्याँकनको काम थालेको छ । यस्तै यसअघि सञ्चालनमा आएको साँग्रीला भिलेज रिसोर्टको पनि वातावरणीय प्रभाव मूल्याँकनको काम थालेको छ । काठमाडौंमा रहेको ५ ताँरे साँग्रीला होटलपछि सन् १९९६ मा पोखरामा साँग्रीला भिलेज रिसोर्ट सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले वेगनासमा अर्को रिसोर्ट सञ्चालनको तयारी थालेको हो । पर्यटकीय नगरी पोखरामा विदेशीको चाप बढेपछि होटल निर्माण गर्ने क्रम बढेको छ । यस्तै प्रदेश नम्बर १ को राजधानी विराटनगरमा १ अर्ब ८० करोड रुपैयाँ लागतमा ५ तारे सेन्चुरी होटल निर्माण सुरु भएको छ ।विराटनगर महानगर पालिकाको वडा न ६ मा रहने होटलमा १०८ कोठा रहने छ । होटल आउदो १ वर्षमा सञ्चालनमा ल्याउने तयारी छ । पछिल्लो समयमा होटल खोल्ने क्रम पनि बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको होटल क्षेत्रमा लगानी १८ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको माघसम्म होटल क्षेत्रमा ९ अर्ब १४ करोड रुपैयाँ लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । हालसम्म होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब रुपैयाँ लगानी गरेका छन् । राजधानीमा रहेका अपार्टमेन्ट बिक्री नभएपछि केही हाउजिङ कम्पनीले त्यसलाई होटलमा परिणत गर्न लागेका छन् । सिभिल समूहले निर्माण गरेका केही हाउजिङ योजना होटलमा परिणतको तयारी सुरु भएको छ ।