वालनट बिस्ट्रोले सुरु गर्‍यो ‘लिटल फ्री लाइब्रेरी’, अब रेष्टुरेण्टमा स्वादसँगै ज्ञान

काठमाडौं । पानीपोखरीमा रहेको वालनट बिस्ट्रो रेष्टुरेण्टले  ग्राहकहरूलाई लक्षित गरेर पुस्तकालय पनि सञ्चालनमा ल्याएको छ । ग्राहकलाई स्वादिष्ट भोजन मात्र नभइ, ज्ञानको पनि स्वाद चखाउने उद्येश्यसहित पुस्तकालय सञ्चालनमा ल्याएको हो । रेष्टुरेण्टले हालै ‘लिटल फ्री लाइब्रेरी’ (सानो निःशुल्क पुस्तकालय) नौलो अभियानको सुरुवात गरेको छ ।जसअन्तर्गत कोही ग्राहकले पुस्तक निःशुल्क लिन सक्ने र आफ्नै पुस्तक राखिदिन सक्ने व्यवस्था गरिएको छ । रेस्टुरेन्टको प्रवेशद्वार नजिकै राखिएको यो सानो तर आकर्षक पुस्तकालय बाकसमा साहित्य, कविता, यात्रा विवरण, जीवनीदेखि बालसाहित्यसम्मका विविध पुस्तकहरू उपलब्ध हुनेछन् । ‘पुस्तक छोड र पुस्तक लिएर जाउ'  अर्थात् ‘एउटा लिनुस्, एउटा राखिदिनुस्’ भन्ने अवधारणामा आधारित यो अभियानले पुस्तक आदानप्रदानमार्फत पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पुस्तकालय सञ्चालनमा ल्याइएको रेष्टुरेण्टका म्यानेजर राकेश डंगोलले जानकारी दिए । उनका अनुसार यो पहलले ग्राहकहरूलाई भोजनभन्दा बढी ज्ञानको अनुभव दिने लक्ष्य लिएको छ । 'हामी मान्छेहरूलाई जोड्ने ठाउँ बन्न चाहन्छौं,' उनले भने, 'खाद्यान्न मात्र होइन, विचार, कथा र अनुभवको आदानप्रदान हुने स्थान बनाउने हाम्रो प्रयास हो ।' रेष्टुरेण्टले यसअघि नै ‘गुणस्तर र सन्तुलन’ लाई आफ्नो खाद्य दर्शनको रूपमा लिँदै, स्थानीय रूपमा उत्पादित ताजा सामग्रीहरू प्रयोग गरेर नेपाली पारम्परिक व्यञ्जन ‘दाल भात तरकारी’ का विभिन्न  (वेज, चिकन, मटन, फिस वा ट्राउट)  सेवा दिँदै आएको छ । पुस्तकालयको यो पहलले स्वाद, संस्कृति र सिर्जनशीलताको सम्मिश्रणमार्फत ग्राहकहरूलाई अझै गहिरो अनुभव दिलाउने अपेक्षा गरिएको छ । समुदाय र संस्कृतिमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । रेष्टुरेण्टको यो अभियानले नेपाली समाजमा पढ्ने बानी पुनर्जीवित गर्ने र सामुदायिक सम्बन्ध सुदृढ पार्ने सम्भावना देखिएको उनले बताए । बौद्धिक आदानप्रदान फरक–फरक पृष्ठभूमिका मानिसहरूले आफ्नो ज्ञान र विचार बाँड्न पाउने भएकाले यस अभियानलाई महत्त्वका साथ हेरिएको डंगोलको भनाइ छ । डंगोलले पुस्तकालयले प्रत्यक्ष रुपमा समाज र मानिसलाई जोड्ने विश्वास व्यक्त गरे । सामुदायिक साझा गतिविधिको माध्यमबाट समुदायबीच सम्बन्ध र सहकार्य अझ बढ्ने उनले उल्लेख गरे । यसले नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रोत्साहन दिँदै सांस्कृतिक पहिचान जोगाउन योगदान गर्ने उनले बताए । वालनट बिस्ट्रोले आगामी दिनमा यो अभियानलाई अझ विस्तार गर्ने योजना बनाएको छ । रेष्टुरेण्टले भविष्यमा साहित्यिक वाचन कार्यक्रम, लेखकहरूसँग अन्तरक्रिया, र बालसाहित्य प्रवर्द्धनका विशेष गतिविधि आयोजना गर्ने तयारी गरिरहेको छ । यो सानो ‘लिटल फ्री लाइब्रेरी’ले रेष्टुरेण्टभित्र होइन, बाहिर पनि एउटा ‘पढ्ने संस्कृति’ को सुरुवात गरेको छ । भोजन, संगीत र साहित्यको मधुर संगममा आधारित वालनट बिस्ट्रोको यो प्रयासले काठमाडौंका अन्य व्यवसायीहरूलाई पनि सामाजिक र सांस्कृतिक उत्तरदायित्वप्रतिको भावना जगाउने अपेक्षा गरिएको छ ।  

शनिबारदेखि चन्द्रागिरि केबलकार पुनः सञ्चालनमा आउँदै

काठमाडौं । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार (भोलि) बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ ।  जेनजी आन्दोलनमा तोडफोड भएपश्चात चन्द्रागिरि हिल्सको सेवा बन्द भएको थियो । केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन्। गत भदौ २४ गतेको घटनाका क्रममा भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरूपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो । सेवा बन्द हुनुअघि चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार  भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए । 

पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शन जारी, के–के छ व्यवस्था ?

काठमाडौं । सरकारले पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शन–२०८२ जारी गरेको छ । पदमार्ग निर्माण तथा व्यवस्थापनमा अन्तर सरकार समन्वय र सहकार्य अभिवृद्धि गर्दै पदमार्ग निर्माण तथा विकासमा एकरूपता कायम गर्ने हिसाबले दिग्दर्शन जारी गरिएको हो ।  खासगरी पदयात्रीको सुरक्षा र सेवामा गुणस्तर कायम गर्न, दिगो, सुरक्षित, पहुँचयोग्य र पर्यावरणमैत्री पदमार्ग निर्माण गरी पदयात्रामा आकर्षण अभिवृद्धि गर्न, तीनै तहबाट निर्माण गरिने पदमार्गको व्यवस्थापनलाई सहजीकरण गर्न सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ बमोजिम दिग्दर्शन बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । दिग्दर्शनमा पदमार्गको वर्गीकरण रेखांकन, मापदण्डदेखि पालना गर्नुपर्ने नियमहरूसम्म उल्लेख गरिएको छ ।  पदमार्गको वर्गीकरणमा हाइकिङ पहिलो नम्बरमा राखिएको छ । एक दिन भित्र यात्रा गरिने न्यूनतम पाँच किमि दुरीको मार्गलाई हाइकिङका रुपमा परिभाषित गरिएको छ भने दोस्रो नम्बरमा सहज पदमार्ग राखिएको छ । एक दिन भन्दा बढी समय यात्रा गरिने अधिकतम तीन हजार मिटर उचाइसम्मको मार्गलाई सहज पदमार्ग राखिएको छ ।  त्यस्तै, तेस्रो नम्बरमा साहसिक पदमार्ग राखिएको छ । एक दिनभन्दा बढी समय यात्रा गरिने तीन हजार मिटर भन्दा माथिको उचाईको मार्गलाई सहासिक पदमार्गका रुपमा परिभाषित गर्न खोजिएको छ । पदमार्गको रेखाङ्कनसम्बन्धि मापदण्ड पनि दिग्दर्शनमा स्पष्ट पारिएको छ । पदमार्गले प्राकृतिक, जैविक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वका स्थानलाई जोड्नुपर्ने, पदमार्ग मोटरबाटोसँग नजोडिने गरी रेखाङ्कन गर्नुपर्ने, स्थानीय सम्पदाहरुको संरक्षण हुने गरी रेखाङ्कन हुनुपर्ने उल्लेख गरिएको छ ।  मन्त्रीस्तरीय निर्णयबाट जारी गरिएको पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनमा पदमार्गको मापदण्ड तोकिएको छ । जसमा पदमार्गको न्युनतम लम्बाई पाँच कि.मी हुनुपर्ने, पदमार्गको न्युनतम चौडाई, हाइकिङ पदमार्गको हकमा २ मिटर, सहज पदमार्गको हकमा २ मीटर र साहसिक पदमार्गको हकमा १.५ मीटर उल्लेख गरिएको छ।  पदमार्गमा सिँढी निर्माण गर्नुपर्ने भएमा सिँढीको उचाइ पनि तोकिएको छ । हाइकिङ पदमार्ग १८ देखि २० सेन्टिमिटर, सहज पदमार्ग १६ देखि १८ सेन्टिमिटर, साहसिक पदमार्ग १४ देखि १६ सेन्टिमिटर उचाइ तोकिएको छ । पदमार्गमा सिँढी निर्माण गर्दा अपाङ्गमैत्री संरचनासमेत बनाउनुपर्ने उल्लेख छ । पदमार्गको निर्माण कसले गर्ने भन्ने पनि उल्लेख गरिएको छ ।  हाइकिङ पदमार्ग निर्माण स्थानीय तहले गर्नुपर्ने,सहज पदमार्ग निर्माण प्रदेश सरकारले गर्नुपर्ने, साहसिक पदमार्ग निर्माण नेपाल सरकारले गर्नुपर्ने, पदमार्ग निर्माण गर्दा स्थानीय निर्माण सामग्री, जैविक प्रविधि, परम्परागत सीप र श्रमको प्रयोग गर्नुपर्नेछ तर, भाैगोलिक दृष्टिले जटिल रहे प्रविधिको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।  पदमार्ग निर्माण गर्दा पदयात्रीको लागि आवश्यक पर्ने विश्राम स्थल, शौचालय, फोहोर संकलन तथा व्यवस्थापन पूर्वाधार जस्ता आधारभुत सेवाको सुनिश्चितता हुने व्यवस्था गर्नुपर्ने, राष्ट्रिय निकुञ्ज र आरक्षभित्र पदमार्गको निर्माण गर्दा वन तथा वातावरण मन्त्रालयको पूर्व सहमति लिएर र संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पूर्वसहमति लिई पदमार्ग निर्माण गर्नुपर्ने उल्लेख छ ।   पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनमा पदमार्गमा उपलब्ध हुनुपर्ने सेवा समेत तोकिएको छ । तीनै तहका सरकारले पदयात्रीलाई लक्षित गरी पदमार्गमा  खानेपानी, शौचालय, आधारभूत सूचना तथा सञ्चार/पर्यटन सूचना केन्द्र,विश्राम स्थल, आधारभूत स्वास्थ्य उपचार, सुरक्षा तथा आपतकालीन उद्दार, स–साना पुलपुलेसा, दृष्यावलोकन स्थल (भ्यू प्वाइन्ट) को व्यवस्था गर्नुपर्ने उल्लेख छ ।   आवास तथा खानपिनको व्यवस्थाका बारेमा समेत पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनले तीनै तहका सरकारले पदमार्गमा स्थानीय समुदाय तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपने उल्लेख गरेको छ ।