हायात रिजेन्सीले सबै कर्मचारीलाई हटायो, तत्काल सञ्चालनमा नआउने

काठमाडौं । हायात रिजेन्सीले सबै कर्मचारीलाई हटाएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएकाे आगजनी तथा तोडफोडले होटललाई ठूलो आर्थिक क्षति भएको र तत्काल सञ्चालनमा आउने अवस्था नभएकोले कर्मचारीलाई विदा गरेको हाेटलकाे भनाइ छ ।  होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशाधन विभागलाई पत्र लेख्दै श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात् मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण श्रमिक कटौती गरिएको बताएका छन् ।  होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ । पत्रमा जेनजी आन्दोलनमा होटलमा आगजनी हुँदा एक जना पर्यटकले चार तला माथिबाट हाम फालेको र उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पनि जानकारी दिएको छ ।  कोभिड-१९ को असरबाट सुधार हुँदै गएको होटल जेनजी आन्दोलनले फेरि ठूलो आर्थिक समस्या सिर्जना गरेको र पर्यटकको पनि सामान लुटपाट हुँदा अन्तर्राष्ट्रिय स्तरमै होटलको ब्राण्डमा नकारात्मक धक्का लागेको बताएको छ ।  पत्रमा अहिले होटल बन्द भएको, मर्मत सम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको उल्लेख छ । होटलको पुर्ननिर्माणका लागि करोडौं रकम आवश्यक हुने उल्लेख छ । 

नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती

काठमाडौं । नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ । निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेसनहरूमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेसन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेसनबाट हुने उडान सङ्ख्यालाई मध्यनजर गरी कर्मचारी कटौती गर्दै लाने नीति अनुरूप करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको जनाएको छ । सोही अनुरूप हाल करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत छ जना कर्मचारीको करार सेवा तथा मासिक ज्यालादारी अवधि मंगलबारको मितिदेखि नै लागू हुने गरी अन्त्य गरिएको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दिए । निगमलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्वसमेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरूप व्यवस्थापनले उक्त निर्णय गरेको उनले बताए । 

हिउँद भरि सुनसान हुन्छ बुकी पाटन

काठमाडौं । बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकी पाटन चिसो बढेपछि सुनसान भएको छ । सयौं गोठाला र हजारौं वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकी पाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकी पाटन पछिल्लो २ वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । असारदेखि असोजसम्म बुकी पाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बाक्लो बसाइँ हुने गर्छ । गोठालाले गोठ बेसी झारेपछि बुकी पाटन सुनसान छ । चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन् । समुद्री सतहदेखि करिब ४ हजार ५०० मिटरको उचाइमा पर्ने बुकी पाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ । बर्खा याममा बेसी क्षेत्रमा गर्मी हुने हुँदा शीतलता खोज्दै बुकी पाटन बढी चढ्ने तर अहिले चिसो बढेपछि बुकी पाटन जाने पर्यटक कम भएको ढोरपाटनका होटल व्यवसायी सन्देश थापाले बताए । असोजसम्म बुकी पाटन पुग्ने पर्यटकको सङ्ख्या धेरै भए पनि अहिले फाट्टफुट्ट मात्रै जाने गरेको उनको भनाइ छ । बुकी पाटन पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौं हिमशृङखलाको दृश्यावलोकन गर्न सक्ने हुँदा बर्खाको समयमा बढी पर्यटक बुकी पाटन उक्लने थापा बताउँछन् । गोठाला वस्तुभाउ लिएर असोजमै बेसी झरेको उनको भनाइ छ ।  उनले भने, ‘२ वर्षदेखि त बुकी पाटनमा पर्यटकको आगमन व्यापक हुँदै गएको छ, पहिले गोठाला मात्रै बस्ने ठाउँमा अहिले टाढाटाढाबाट पर्यटक आउन थालेका छन् ।’ नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकी पाटन बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका पशुपालक किसानले बर्खाको समय चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका छन् । ढोरपाटन नगरपालिका-८ का तुलबहादुर सुनारले आफू सबैभन्दा अन्तिममा बेसी झरेको सुनाए । धेरै गोठालाहरूले भदौ अन्तिम सातादेखि नै गोठ झार्न सुरु गरेको भन्दै आफू असोज दोस्रो सातामा त्रै झरेको उनको भनाइ छ । आफूले गोठ झार्ने बेला नै बुकी पाटन सुनसान भएको भन्दै अहिले चिसोका कारण कोही पनि पुग्न नसक्ने सुनार बताउँछन् । ‘यतिबेला त बुकी पाटनमा पानी जम्छ, धेरै चिसो हुन्छ, त्यहाँ गएर बस्न सकिदैन, गोठाला झरेपछि त्यो ठाउँ सुनसान भयो, अहिले कोही पनि छैनन् बुकीमा, बर्खामा पहिले-पहिले गोठाला मात्रै हुन्थ्यौँ, अहिले त देश विदेशबाट घुम्न आउनेको भीड लाग्छ,’ सुनारले भने, ‘अब गोठाला जेठ असार महिनामा मात्रै बुकी उक्लन्छन्, त्यस बेलासम्म त्यो ठाउँ सुनसान हुन्छ ।’ चिसो बढेपछि ढोरपाटन उपत्यकामा पनि पर्यटकको आगमन कम भएको छ । अब हिउँ परेपछि हिउँ खेल्न आउनेको सङ्ख्या बढी हुने स्थानीय पवन घर्तीमगरले बताए । ढोरपाटनमा चिसो बढ्दै गएपछि स्थानीय पनि बोबाङ, अधिकारीचौर लगायतका ठाउँमा झर्ने उनको भनाइ छ । पहिले अधिकांश ढोरपाटन उपत्यकावासी घुम्ती बसाइँ गर्थे । हिउँदमा बेसी र बर्खामा ढोरपाटनमा बस्ने गर्थे । तर अहिले ढोरपाटनमै बस्नेको सङ्ख्या बढेको छ । सडकले जोडिएपछि विस्तारै विकासले गति लिँदा धेरै स्थानीयको रोजाइमा ढोरपाटन परेको घर्तीमगर बताउँछन् ।