त्रिभुवन विमानस्थलबाट १ वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्नेको संख्या करिब ५० लाख, ५ वर्षमा ३४९ प्रतिशतले वृद्धि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा साढे ५० लाखभन्दा बढी अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२५ मा त्रिभुवन विमानस्थलबाट ४९ लाख ६३ हजार ४६६ जना यात्रुले यात्रा गरेका छन् । सन् २०२५ मा त्रिभुवन विमानस्थलबाट ४९ लाख ६३ हजार ४६६ जना यात्रुले यात्रा गरेका छन् । यो तथ्यांक आगमन र प्रस्थान गर्ने दुवैको संख्या हो । क्यानका अनुसार सन् २०२५ मा सन् २०२० को तुलनामा ३४९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ लाख ५ हजार ८५८ जनाले यात्रा गरेका थिए । तथ्यांकअनुसार हरेक वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या बढ्दो क्रममा देखिन्छ । तथ्यांकअनुसार सन् २०२२ मा २२ लाख २३ हजार ३३३ यात्रुले विमानस्थलबाट यात्रा गरेका छन् । सन् २०२३ मा यो संख्या दोब्बरले बढेको छ । क्यानको तथ्यांकअनुसार सन् २०२३ मा ४३ लाख २९ हजार ४ सय जना यात्रुले आवतजावत भएका छन् ।  आन्तरिकतर्फ ४५ लाख पर्यटकले गरे यात्रा वर्षभरिमा त्रिभुवन विमानस्थलबाट ४५ लाख १९ हजार ३२२ जना आन्तरिक यात्रुले आवतजावत गरेका छन् । यो संख्या आव २०२० को तुलनामा २२१.४८ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा १४ लाख ५ हजार ७७७ जनाले यात्रा गरेका छन् । सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट सबैभन्दा धेरै यात्रुले आन्तरिकमार्फत यात्रा गरेका छन् । उक्त वर्षमा ४९ लाख १३ हजार ३५७ जना पर्यटकले यात्रा गरेका छन् । सन् २०२१ मा त्रिभुवन विमानस्थलबाट ३५ लाख ७६ हजार ९४२ जना आन्तरिक हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ मा ४३ लाख २५ हजार ५६ जना यात्रुले यात्रा गरेका छन् ।  कुन विमानस्थलबाट कति पर्यटकले यात्रा गरे ? क्यानको तथ्यांकअनुसार भैरहवा विमानस्थलबाट सन् २०२३ र २०२४ मा मात्रै अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका छन् । तथ्यांकअनुसार उक्त विमानस्थलबाट सन् २०२३ मा २ हजार ३ सय १५ र सन् २०२४ मा ९ हजार २०२ जना यात्रुले आवतजावत गरेका छन् । आन्तरिकतर्फ सन् २०२४ मा ६ लाख १० हजार ४३७ जनाले यात्रा गरेका छन् । सन् २०२० मा उक्त विमानस्थलबाट १ लाख ८१ हजार ७०३ जना यात्रुले आवतजावत गरेका थिए । तथ्यांकअनुसार गौतमबुद्ध विमानस्थलबाट सन् २०२१ मा ५ लाख ५८ हजार र सन् २०२३ मा ५ लाख ४९ हजार यात्रुले यात्रा गरेका छन् । एक वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १० लाख १६ हजार, नेपालगञ्ज एयरपोर्टबाट ४ लाख ९९ हजार, विराटनगर एयरपोर्टबाट  ६ लाख ५९ हजार, चन्द्रगढी एयरपोर्टबाट ३ लाख ७२ हजार आन्तरिक यात्रुले यात्रा गरेका छन् । त्यस्तै, लुक्ला एयरपोर्टबाट २ लाख ४ हजार, भद्रपुर एयरपोर्टबाट २ लाख ३४ हजार, सुर्खेत एयरपोर्टबाट १ लाख ५९ हजार, जनकपुरबाट २ लाख ९५ हजार, सिमराबाट २ लाख ७३ हजार, धनगढी एयरपोर्टबाट २ लाख ८५ हजार यात्रुले यात्रा गरेका छन् । जोमसोम एयरपोर्टबाट २४ हजार, जुम्ला एयरपोर्टबाट ११ हजार, रामेछाप एयरपोर्टबाट ४६ हजार, सिमकोट एयरपोर्टबाट १६ हजार, फाप्लु एयरपोर्टबाट ११ सय, बाजुरा एयरपोर्टबाट ८८ हजार यात्रुले यात्रा गरेका छन् ।  त्यसैगरी, एक वर्षमा डोल्पाबाट ५ हजार, सल्लेबाट २ हजार, तुम्लिङटार एयरपोर्टबाट ३१ हजार, ताप्लेजुङबाट २ हजार, राराबाट ८ हजार, भोजपुरबाट ४ हजार, राजविराजबाट ३६ हजार, गुलीमीबाट १ हजार साँफेबजारबाट ७५१, दाङबाट ७७६, खानीडाँडाबाट ७५२, बझाङबाट २ हजार, इलामबाट ५३१ र थामखर्कबाट ६२ जना आन्तरिक यात्रुले यात्रा गरेका छन् ।  २०२५ मा पर्यटन क्षेत्रलाई फर्केर हेर्दा

गोर्खा ब्रुअरी–कार्ल्सबर्गको पहल : पोखरा स्ट्रिट फेस्टिभल स्वच्छ बनाउने प्रयास

काठमाडौं । पोखरालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सम्मान गर्दै गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले २७ औँ पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियान सञ्चालन गरेका छन् । यो अभियान रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि.को सहकार्यमा अघि बढाइएको हो । प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि परिचित पोखराको पहिचान जोगाउँदै पर्यटकको अनुभवलाई थप सहज र सुखद बनाउने उद्देश्यले सरसफाइलाई अभियानको केन्द्रमा राखिएको जनाइएको छ । ठूला सार्वजनिक महोत्सवका क्रममा ठूलो परिमाणमा फोहोर संकलन हुने भएकाले दिगो फोहोर व्यवस्थापन आवश्यक रहेको आयोजकको भनाइ छ । अभियानअन्तर्गत गोर्खा ब्रुअरीले बोतल र क्यान, पुनः प्रयोग गर्न मिल्ने फोहोर तथा सुख्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिन उपलब्ध गराएको थियो । ती डस्टबिन लेकसाइड क्षेत्रका विभिन्न स्थानमा राखिएका थिए, जसले सर्वसाधारणलाई फोहोर व्यवस्थापनमा जिम्मेवार बन्न प्रोत्साहित गरेको आयोजकहरूले बताएका छन् । संकलित फोहोरलाई भद्रकाली वेस्ट म्यानेजमेन्टले वातावरणमैत्री र जिम्मेवार ढंगले प्रशोधन गर्ने सुनिश्चितता गरेको छ भने रेबानले स्थानीय रेष्टुरेन्ट तथा बारहरूलाई अभियानमा सक्रिय रूपमा सहभागी गराएको छ । अभियानबारे गोर्खा ब्रुअरीले पोखरा स्वच्छ र सुन्दर सहर भएकाले यसको संरक्षणमा निजी क्षेत्रको पनि जिम्मेवारी रहने उल्लेख गर्दै, फेस्टिभल अवधिमा गरिएको यो प्रयासले भविष्यमा पनि स्वच्छ पोखरा निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । महोत्सव अवधिमा मात्र सीमित नराखी यस अभियानलाई पोखरामा जिम्मेवार फोहोर व्यवस्थापन, जनचेतना अभिवृद्धि र दिगो पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन सहकार्यका रूपमा अघि बढाइने जनाइएको छ । वातावरणीय दिगोपन र सामुदायिक हितप्रतिको गोर्खा ब्रुअरीको निरन्तर प्रतिबद्धताको रूपमा यस अभियानलाई लिइएको कम्पनीले जनाएको छ ।

पर्यटक बढेसँगै ठोरीमा होटल तथा रिसोर्ट खुल्न थाले

पर्सा । पर्साको ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमन बढेसँगै होटल तथा रिसोर्टमा लगानी बढेको छ । ठोरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएपछि झण्डै एक दर्जनको हाराहारीमा होटल तथा रिसोर्ट सञ्चालनमा आइसकेका छन् । कलाकार तथा होटल व्यवसायी सुशान्तसिंह ठकुरीले पनि  यहाँ आउने पर्यटकलाई लक्षित गर्दै रेष्टुरेन्टलाई सुविधासम्पन्न रिसोर्टको विस्तारमा जुटेको बताए । 'हामीले यहाँ चार वर्षदेखि रेष्टुरेन्ट सञ्चालन गरिरहेका थियौँ, पछिल्लो समय पर्यटक बढेसँगै नेचर रिसोर्ट गरिरहेका छौँ', उनले भने । ठकुरीले रिसोर्ट निर्माणका लागि करिब चार करोड लगानी गरिएको बताए । ठोरीमा भारतीय र स्वदेशी पर्यटकको  आवागमनले यहाँको व्यापार बढेको उनको भनाइ छ । उनका अनुसार चार वर्ष अघिसम्म ९० प्रतिशत भारतीय पहुना र १० प्रतिशत स्वदेशी पहुना आउने गर्थे । तर, अहिले यहाँ ७० प्रतिशत भारतीय पहुना र ३० प्रतिशत स्वदेशी पाहुना आउन थालेका छन् । त्यस्तै पछिल्लो समय वीरगञ्जका व्यवसायी जिम्दार राउतकुर्मी र धमेन्द्र पटेलले पनि  ठोरीमा स्वीमिङपुलसहितको लर्डस अफ ठोरी होटल सञ्चालनमा ल्याउने तयारीमा छन् । 'ठोरीमा घुम्न आउने पर्यटकको बसाई लम्बाउनका लागि व्यवस्थित खालको आवासीय होटलको अभावलाई परिपूर्ति गर्नका लागि होटल सञ्चालनमा ल्याएका हौं', उनले भने, 'अहिले पनि ठोरीमा राम्रो बस्नलायक होटलको अभावलाई यसले टेवा पुग्ने विश्वास लिएका छौं ।' अहिले ठोरीमा झण्डै साना–ठूला गरेर करिव डेढ दर्जन होटल तथा रिसोर्टमा रु ५० करोडभन्दा धेरै लगानी भइसकेको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय ठोरी बाह्रैमास व्यापार हुने पर्यटकीय गन्तव्य बनेको छ । भारतीय मात्र होइन, पर्सा आसपासका स्वदेशी पर्यटक पनि ठोरी आउने गरेका छन् । ठोरीमा राईधारा, सेतो पहाड, गोलेडाँडा, रातो पहाड, सिनेही पहाड, ‘स्टोनपार्क’ रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबासलगायत करिब ५० पर्यटकीयस्थल छन् । सुवर्णपुरमा मधेश प्रदेशको पहिलो घरबास (होमस्टे) सञ्चालनमा छ । ठोरी गाउँपालिका-२ स्थित भ्युटावरबाट सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक जाने गरेका छन् । ठोरी तीनवटा राष्ट्रिय निकुञ्जको सङ्गमस्थल हो । वन्यजन्तु तथा वनस्पतिको अवलोकन गर्न प्रकृतिप्रेमी पर्यटक पनि त्यहाँ जाने गरेका छन् । भारतको सीमावर्ती सहर जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर र पटनालगायत सहरबाट पर्यटक ठोरी आउने गरेका पर्यटन व्यवसायी ठकुरीले बताए । रासस