हरि बुढा बने विश्वकै पहिलो ‘डबल एम्प्युटी’ सेभेन समिट आरोही
काठमाडौं । रोल्पा, थवाङका हरि बुढाले संसारका सात उच्च हिमालको आरोहण (सेभेन समिट) सम्पन्न गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । ६ जनवरी २०२६ मा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनमा आरोहण सम्पन्न गरेपछि उनी खुसी साट्न सिधै नेपाल आएका हुन् । शिखर माउन्ट भिन्सनमा सफल आरोहण गरेका बुढासँगै उनका गाइड मिङ्मा शेर्पा र अफिसियल फोटो पत्रकार अविरल राई पनि उपस्थित थिए । अपाङ्गता भएका नेपाली पर्वतारोही हरि बुढा पूर्वगोरखा सैनिक हुन् । सन् २०१० मा अफगानिस्तानमा लडाइँका क्रममा विष्फोटमा परी दुवै खुट्टा गुमाएका उनी त्यसपछि पनि जीवन र चुनौतीहरू सामना गर्दै अगाडि बढेका छन्। बुढाले आफ्नो अभियान सपनाहरूको विजय – ७ शिखर अन्तर्गत विश्वका सबै महादेशका सर्वोच्च शिखर आरोहण गरे । हरि बुढाले सगरमाथा आरोहणपछि आफ्नो लक्ष्य सातै महादेशका शिखर चढ्ने रहेको बताएका थिए । यस अभियान अन्तर्गत उनले माउन्ट ब्याङ्क (२०१९), माउन्ट किलिमाञ्चारो (२०२०), सगरमाथा (२०२३), डेनाली (२०२४), अर्कोकागुवा (२०२५), कास्र्टेन्स पिरामिडरपुनचक जया (२०२५) र अन्ततः माउन्ट भिन्सन ९२०२६० आरोहण गरेका छन् । अत्यधिक चिसो, भिरालो पहाड र कठिन आरोहणका चुनौतीहरूको सामना गर्दै, बुढा र उनका टोलीले विशेष उपकरण र प्रोस्थेटिक खुट्टाहरूको प्रयोग गर्दै विश्वका सर्वोच्च शिखरमा पाइला टेकेका थिए । उनले यो सफलता अपाङ्गता सचेतना फैलाउने र अन्यलाई आफ्ना सपना पूरा गर्न प्रेरित गर्ने उद्देश्यका लागि हासिल गरिएको बताए। बुढाले भने, ‘यदि हामीसँग सपना छ, आफूलाई समर्पित गर्छौं र कहिल्यै हार मान्दैनौं भने जीवनका कुनै पनि चुनौती असम्भव छैन । मैले दुवै खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गरेको छु र आज सातै महादेशका शिखर चढेको छु । मेरो उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूमा विश्वास जगाउनु र समाजमा सचेतना फैलाउनु हो ।’ उनले अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो क्षमताअनुसार सफल र अर्थपूर्ण जीवन बिताउन सक्ने बताए । साथै नेपालको मात्र नभई विश्वभर अपाङ्गताका बारेमा रहेका गलत धारणालाई परिवर्तन गर्न पनि यो अभियान महत्त्वपूर्ण रहेको पनि उनले बताए ।
राजस्व बढाउन क्यासिनो नीति पुनरावलोकन आवश्यक : पर्यटन विभाग
काठमाडौं । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले क्यासिनो सञ्चालनसम्बन्धी विद्यमान व्यवस्थाले राज्यको राजस्व वृद्धि र व्यवसाय प्रवर्द्धनमा अपेक्षित योगदान दिन नसकेको बताएका छन् । आइतबार (आज) बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयकमाथिको छलफलमा बोल्दै महानिर्देशक लामिछानेले यस्तो बताएका हुन् । उनले कानुनले रोक लगाएको बाबजुद चार तारे होटलमा समेत क्यासिनो खेलाउने गरेको उजुरीहरू धेरै पर्ने गरेको बताए । उनले पाँच तारेमाथिका होटललाई मात्र क्यासिनो खेलाउन अनुमति दिइएकोमा लुकिछिपि साना होटलहरूले समेत खेलाउँदा राजश्व संकलन घट्नुका साथै पर्यटन प्रवद्र्धन हुन नसकेको गुनासो गरे । महानिर्देशक लामिछानेले राज्यको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखी क्यासिनोसम्बन्धी नीतिगत व्यवस्था सुधार गर्न आवश्यक रहेको औंल्याए । क्यासिनोको वर्गीकरण गर्दै ठूला क्यासिनोले क्षेत्रफल विस्तार गर्न पाउने गरी विधेयक निर्माण गर्न उनको माग छ । बैठकमा बोल्ने अधिकांश सांसदहरूले रोयल्टीको आधारमा क्यासिनोहरूको वर्गीकरण गर्नुपर्ने धारणा राखेका थिए ।
गैँडाकोटबाट ‘राइनो क्रुज’ सञ्चालनमा आउँदै
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याउन लागिएको हो । राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नारायणी नदीमा राइनो क्रुज सञ्चालन गर्न लागेका हुन् । कम्पनीका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले पर्यटकीय प्रयोजनका लागि सञ्चालन गर्न लागिएको क्रुज गैँडाकोट पुलचोकबाट देवघाटसम्म सञ्चालन गर्ने तयारी गरिएको बताए । 'हामीले राइनो क्रुजलाई यातायातका लागि भन्दा पनि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्ने तयारी गरेका छौँ', उनले भने, 'हामीले डिनर क्रुज (क्रुजभित्रै खाना खाने प्याकेजसहित)लाई केन्द्रित गरी राइनो क्रुज सञ्चालन गर्दैछौँ ।' यही माघमा सञ्चालनमा ल्याउने तयारीस्वरुप राइनो क्रुटलाई पुनर्निर्माण गरिएको उल्लेख गर्दै प्रबन्ध निर्देशक ढुङ्गेलले प्राविधिक परीक्षणपछि नियमित सञ्चलनको तयारी भइरहेको बताए । दुईवटा तला र एउटा ३६० डिग्री अवलोकनस्थल रहेको क्रुजको क्षमता दुई सय जना यात्रुको भए पनि एक सय ५० जनालाई सेवा दिनेगरी सञ्चालन गर्न लागिएको ढुङ्गेलको भनाइ छ । क्रुजभित्रै रेष्टुराँको सुविधा रहने भन्दै उनले क्रुजमा मनोञ्जन हुनेगरी लाइभ म्युजिक (गीत, सङ्गीत) प्रस्तुत हुने बताए। यस राइने क्रुजलाई लक्जरी रिभर क्रुज बनाउँदै नियमित प्याकेजहरू सञ्चालन गरिने उनले बताए। क्रुज यात्राका लागि प्याकेजमा क्रुजभित्रै खाना तथा नास्ताको व्यवस्था रहने भन्दै ढुङ्गेलले टिकटमात्र काटेर क्रुज यात्रा गर्दा पनि थप शुल्क तिरेर रेष्टुराँबाट खाना तथा खाजा खान सकिने जानकारी दिए । 'राइनो क्रुज नियमित सञ्चालनमा आएपछि हामीले प्याकेज र शुल्क सार्वजनिक गर्नेछौँ', ढुङ्गेलले भने, 'अहिले हामीले होटल रिभर क्राउन र क्रुजमा गरी रु ५० करोड लगानी गरेका छौँ, यहाँ ५० जनालाई प्रत्यक्ष रोजगारीसमेत सृजना भएको छ ।' होटल रिभर क्राउन र राइनो क्रुजलाई एउटै कम्पनीबाट सञ्चालन गरी होटललाई तारे (स्टार)होटलको स्तरमा पुर्याउने र आगामी पाँच वर्षभित्र पब्लिक कम्पनीमा गएर सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी रहेको उनको भनाइ छ । राइनो क्रुज सञ्चालनपछि सम्भाव्यता अध्ययन गर्दै थप दुईवटा ‘मिनी क्रुज’ पनि सञ्चालन गर्ने तयारी रहेको ढुङ्गेलले जानकारी दिए । 'गैँडाकोटको पुलचोक पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको र यहाँ आउने पर्यटकका लागि सहज पहुँच पनि भएकाले रिभर क्राउनबाट राइनो क्रुज सञ्चालन हुन लागेको हो', उनले भने, 'मनोरञ्जनसहित डिनर केन्द्रित क्रुजमा तीन घण्टासम्म समय बिताउन सकिनेगरी प्याकेज तयार हुँदैछ ।' गैँडाकोटमा नारायणी नदीमाथि बन्दै गरेको सिग्नेचर पुलसँगै राइनो क्रुजले यस क्षेत्रमा पर्यटनको नयाँ ढोका खोल्ने ढुङ्गेलले बताए । विसं २०७९ माघ १ गते चितवनको भरतपुर–१६ काभ्रे घाटमा सञ्चालन गरिएको क्रुज विभिन्न कारणले बन्द भएपछि पुनर्निर्माणसँगै गैँडाकोटबाट सञ्चालन गर्न लागिएको हो । काभ्रेघाट वरिपरि नारायणी नदीको बहाव, अवस्थिति धेरै कारणले त्यहाँ क्रुज यात्रा सहज नहुँदा यो बर्खामा विभिन्न उपकरण प्रयोग गरी क्रुजलाई गैँडाकोटसम्म ल्याइएको थियो । 'सबै कुराले गैँडाकोट उपयुक्त रहेकाले अब यस क्रुजलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजनासहित होटललाई समेत जोडेर हामी अगाडि बढेका हौँ', उनले भने, 'क्रुजलाई देवघाटसम्म सञ्चालन गर्दा नवलपुरसँगै चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा नयाँ आयाम थपिने हाम्रो विश्वास छ ।' क्रुज सञ्चालनका लागि कम्पनीले यसअघि नै पवित्र धार्मिकस्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाइसकेको छ । रासस