विदेशी पर्यटकको रोजाइ बन्दै बागलुङको घरबास

बागलुङ । बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी पर्यटकसमेत आउन थालेका छन् । हेलिकप्टरमार्फत विदेशी पर्यटक आउने गरेको बागलुङ नगरपालिका–१० भकुण्डे घरबासमा विश्व भेगन अर्गनाइजेशनले पहिलो पटक पदमार्ग हुँदै कोरोना अघिदेखि विदेशी पर्यटक भित्र्याउन थालेको थियो । हालसम्म सो संस्थाले भकुण्डेमा लगातार विदेशी पर्यटक भित्र्याइरहेको पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए । ‘केही विदेशी पर्यटक भकुण्डेमा आउने गरेका रहेछन्, अत्यधिक पर्यटक भनेको आन्तरिकनै रहेछ, तर हामीले भेगनमा आवद्ध १७ देशका पर्यटकलाई पहिलो पटक भकुण्डे भित्र्यएका हौंँ, अहिले पनि भकुण्डेमा विभिन्न दशेका विदेशी पर्यटक आइराख्नुभएको छ’, शर्माले भने, ‘आर्थिक सङ्कटकका कारण अन्तरिक पर्यटक घटेको घरबासमा विदेशी पर्यटक भने अध्ययन, अवलोकन गर्न, घरबासमा रमाउन आउने गरेका छन् ।’ बागलुङ बजारदेखि तीन घण्टाको पैदल र डेढघण्टाको यातनयात साधनमा पुग्न सकिने भकुण्डे गाउँमा घरबाससँगै पर्यटकीय ताल, दृश्यावलोकनका लागि बनाइएको भ्यूटार लगायतका संरचनाले समेत आकर्षण थप्ने गरेको छ । आन्तरिक पर्यटकले भरिभराउ हुने अतिथि सत्कार घरवासमा आर्थिक सङ्कटका कारण आन्तरिक पर्यटकमा केही कमी आए पनि विदेशी पर्यटक बढेको अतिथि सत्कार सामुदायिक घरबासका सञ्चालक समितिका अध्यक्ष मुना थापाले बताए । ‘२०७३ सालमा स्थापना भएको घरबासमा मुख्य पर्यटक आन्तिरकनै हुन्, तर कोरोनापछि विदेशी पर्यटकसमेत आएका छन्, चैत महिनामा मात्रै तीन समूहमा विदेशी पर्यटक आइसकेका छन्,’ थापाले भने, ‘चैत महिनामा मात्रै बेलायत, अमेरिका, क्यानडा र कोरियाका पर्यटक आएका छन्, यहाँको भौगोलिक वातावरण, दृश्यावलोकन, स्वागत तथा बिदाई संस्कृति र मगर संस्कृतिका कारण पर्यटक आकर्षति हुने गरेका छन् ।’ पछिल्लो समय प्रचारप्रसारका कारण विदेशी पर्यटक आउन थालेको घरबासका सञ्चालक याम थापाले बताए । उनले गैर सरकारी सङ्घ संस्थामा काम गर्न आएका विदेशी पर्यटकसमेत घरबासको परिकारको स्वाद लिन यहाँ आउने गरेका छन् भने । पछिल्लो समय यहाँका घरबासको स्तरोन्नति गरिएको छ । पर्यटक लक्षित गरी तातो चिसो पानी, व्यवस्थित स्नान घर, पार्क तथा सांस्कृतिक सङ्ग्रहालय लगायतको विकास गरिएको छ । जिल्लाकै पहिलो घरबासका रुपमा स्थापना भएको अतिथि सत्कार घरबास अहिले भकुण्डे गाउँको आठ घरमा सञ्चालित छ । घरबासमा एकै रात ५० जना पाहुना राख्न सकिने छ भने पछिल्लो पटक पाहुनाको रोजाइ अनुसारको सेवा सुविधा दिइँदै आएको छ । भकण्डेको शिरमा हीरा ताल र तल बराहतालसमेत रहेका छन् । स्थानीय उत्पादनको स्वादको मजा लिन, हिमशृङखलाको मनोरम दृश्य हेर्न, बिदा समयको सदुपयोग गर्दै प्रकृतिसँग रमाउन आन्तरिक र बाह्य पर्यटक घरबाससम्म पुग्ने गरेका छन् । विसं २०७३ मा पर्यटन कार्यालय पोेखराबाट दर्ता भई आधिकारिक रुपमा सञ्चालनमा आएको बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको जिल्लाकै पहिलो अतिथि सत्कार होमस्टे पर्यटकको लागि गन्तव्य बनिरहेको छ । समयसमयमा घरबासमा बस्न अमेरिका, कोरिया र चिनियाँ लगायतका देशबाट पर्यटक आउने गरेको घरबास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले बताए । घरबास सञ्चालकले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुँनाको रोजाइ अनुसार खुवाउने गरिएको छ । भकुण्डे पुग्ने सडक पक्की बनाउन सके थामिनसक्नु पर्यटक पुग्ने स्थानीयवासीको भनाइ छ । रासस

निगमका अध्यक्ष अधिकारीलाई हटाउने तयारीमा मन्त्रालय, सोध्यो दोस्रो पटक स्पष्टिकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने तयारी गरेको छ । पछिल्लो समय निगमको व्यवस्थापकिय कमजोरी देखिएको, उडान प्रक्रियाका दौरान पटक/पटक लापरबाही गरेको भन्दै मन्त्रालयले सोमबार साँझ पुनः देस्रो पटक स्पष्टीकरण सोधेको हो । यसअघि गत चैत १५ गते मन्त्रालयले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई काठमाडौं–मलेसियाको क्वालाम्पुर नियमति हवाई उडानका विषयमा स्पष्टिकरण सोधेको थियो । निगमले चैत १९ गते बुझाएको स्पष्टिकरण स्पष्ट पानुपर्ने विषयहरु स्पष्ट नभएको भन्दै तीन दिनको समय राखेर मन्त्रालयले सोमबार साँझ पुनः स्पष्टिकरण सोधेको हो । मन्त्रालयले यसअघि सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै निगमलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । उनले सामाजिक सञ्जाल (फेसबुक) मा एक स्ट्टाटस राख्दै निगमका कार्यकारी अध्यक्षलाई ५ बुँदे स्पष्टीकरण सोधिएको उल्लेख गरेका छन् । उनका अनुसार मलेसियाको क्वालालाम्पुरमा चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो, स्पष्ट पार्न निर्देशन दिएको छ । मन्त्रालयले निगमको जहाज दिल्लीमा रहँदा पाङ्ग्रा बिग्रिएर यात्रु घण्टौँ अलपत्र परेको विषयमा पनि निगमलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले सानातिना समस्या पनि समाधानमा निगम नेतृत्व असफल भएको भन्दै जवाफ समेत मागेको छ । त्यसैगरी राम्रो आम्दानी र नियमित उडान हुने काठमाडौं–दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाई भएको विषयमा जानकारी हुँदा हुँदै समेत पाइटलको व्यवस्था गर्न नसक्दा भएको आर्थिक भारबारे समेत जानकारी दिन मन्त्रालयले निर्देशन दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान हराएको गुनासो बारम्बार आइरहेको भन्दै सो नियन्त्रण गर्ने कार्य योजना पेश गर्न निर्देशन दिएको हो । पर्यटनमन्त्रीका रुपमा सुदन किराती नियुक्त भएपछि निगमले आन्तरिक रुपमा उडान गर्दै आएको टिवनअट्र विमान कित पटक ग्राउण्डेड भयो । ग्राउण्डेड हुँदा संस्थालाई परेको आर्थिक भार र आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनु पर्छ कि पर्दैन ? भन्दै स्पष्टिकरण माग गरिएको पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिए । दोस्रो पटक सोधिकएको स्पष्टीकरणको जवाफ आएपछि उनलाई हटाउने तयारीमा मन्त्री किराती रहेको मन्त्रालयले जनाएको छ । ‘अधिकारीको कार्यक्षमतामा पटक/पटक प्रश्न उठ्दै आएको छ, पछिल्लो समय निगम व्यवस्थापनदेखि कर्मचारीहरु समेत अराजक भएको देखिएको छ, कार्यकारीको भूमिका नै स्पष्ट नभएपछि उनलाई हटाउने तयारी अनुसार नै स्पष्टीकरण सोधिएको हो’, स्रोतले भन्यो । यसअघि गत असारमा सरकारले अध्यक्ष अधिकारीलाई निलम्बन गरेको थियो । उनका काम चित्तबुझ्दो नभएको भन्दै तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले अधिकारीलाई स्पष्टीकरण सोधको थिए । स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै २०७९ को असार ६ गते मन्त्रिपरिषद्को बैठकले अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय समेत गरेको थियो । उक्त निर्णय विरुद्धमा अधिकारीले असार १३ गते सर्वाेच्च अदालमा रिट दर्ता गरेका थिए । अधिकारीको पक्षमा २३ असारमा सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । सोही आदेश अनुसार निगम फर्किएका आधिकारीमाथि तत्कालीन पर्यटनमन्त्रीले समेत हटाउने तयारी गरेका थिए । आलेपछि तत्कालीन पर्यटनमन्त्री प्रेम आलेपछि पर्यटनमन्त्री जीवनराम श्रेष्ठले हटाउने तयारी गर्दै उनलाई स्पष्टिकरण सोधेका थिए ।

बैशाखको पहिलो साता कालीकोटको सुनथरालीलमा परीक्षण उडान हुने

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा रहेको सुनथराली विमानस्थलमा बैशाखको पहिलो साता परीक्षण उडान हुने भएको छ । विसं २०४२ मा सुरु भएको विमानस्थल निर्माण कार्य पूरा भएपछि वैशाखको पहिलो साताबाट परीक्षण उडान हुने भएको हो । विमानस्थल निर्माणको काम पूरा भएको र वैशाख पहिलो हप्तामा नै परीक्षण उडान हुने सुनथराली विमानस्थल आयोजनाका सुपरभाइजर गणेशकुमार विष्टले बताए । ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारीअनुसार परीक्षण उडान गर्ने जानकारी आएको छ’, उनले भने, ‘हामीले त्यहीअनुसार यहाँको तयारी गरेका छौँ ।’ परीक्षण उडान हुने भएकाले विमानस्थलको पूर्व अधेरी खोला, पश्चिममा नुवादेव देवताको मन्दिर, उत्तरमा भेरी सामुदायिक वन र दक्षिणमा लामीडाडा लामपाटा क्षेत्रको भूभागमा पशुचौपाया छाडा नछोडन् र मानिसको आवातजावत बन्द गरिएको सुपरभाइजर विष्टले बताए । हाल यो विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर, घेराबार र भवनसमेत तयार भइसकेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ । विमानस्थलमा नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए । ‘विमानस्थल नियमित उडान गर्नका लागि र छिटो निर्माण कार्य सम्पन्न गर्नका लागि गाउँपालिकाका तर्फबाट दबाब दिँदै आएका छौँ । विमानस्थल समयमा बनेन’, उनले भने, ‘परीक्षण उडान हुने भएपछि त्यसपछि नियमित उडान गर्ने जानकारी पनि पाएको छु ।’ रासस