नेपाल एयरलाइन्स सुधार्न हस्तक्षेप गर्छु, निजी क्षेत्रको मनोमानी हटाउँछु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन् । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीको स्वागत तथा पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाहरूबीचको परिचयात्मक कार्यक्रममा उनले निगमको नीतिगत सुधारका लागि अब हस्तक्षपकारी योजना अगाडि बढाउने बताए । ‘नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरूरी छ । म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन, अब नीतिगत हस्तक्षेपको बाटोमा अगाडि बढ्छु । यथास्थितिलाई भत्काएर सुधारको दिशामा लैजान्छौँ, सुधारिएको नेपाल एयरलाइन्स बनाउन चाहन्छौँ, उनले भने । पर्यटनमन्त्री पाण्डेले निगम सुदृढ भएमा हवाई उडानमा निजी क्षेत्रको मनोमानी घट्ने विश्वास व्यक्त गरे । निगमले न्यूनतम शुल्कमा सेवा दिने वातावरण बन्नेबित्तिकै हवाई यात्रा सुलभ र सहज हुने उनको भनाइ छ । मन्त्री पाण्डेले ठूलो खर्च गरेर बनाइएका विमानस्थल सञ्चालन गरेर जनतालाई सर्वसुलभ सेवा दिइनुपर्नेमा जोड दिए । ‘आन्तरिक उडानलाई सुरक्षित र भरपर्दो बनाइ विमान सेवा बढाएर दुर्गममा बढीभन्दा बढी सेवा दिन जरूरी छ । बन्द अवस्थामा रहेका विमानस्थल सञ्चालन गर्नेतर्फ पनि ध्यानदिनुपर्ने आवश्यकता छ, उनले भने ।

काठमाडौं आउने एकजना यात्री, जहाज ग्राउन्डेडपछि शुक्रबार मात्र उडान भरिने

काठमाडौं । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए । निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबार मात्र उडान भर्ने नीति लिएको सुनारले जानकारी दिए । ‘हप्तामा सात दिन चलाउने कुरा हो, तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ, त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा छ, उनले भने । अहिले प्रत्येक शुक्रबार दिउँसो १२ः०० बजे टरिगाउँ आउने र १२ः२० मा फर्किनेछ। हाल दाङबाट काठमाडौँ जाँदा ७ हजार १ सय रुपैयाँ भाडा लाग्छ भने काठमाडौंबाट दाङ आउँदा ७ हजार २५० रुपैयाँ भाडा लाग्ने उनले बताए । अहिले दाङबाट काठमाडौं जानका लागि यात्री नपाउने अवस्था रहेको छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुँने उनको भनाइ छ । यसअघिको शुक्रबार दाङबाट काठमाडौं जाँदा एकजना मात्र यात्री थिए । टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो । केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताए । उक्त विमानस्थलाई नियमित बनाउन पटक–पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुनसकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । ७५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् । यसलाई बढाएर १ हजार ५ सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ ।

श्री एयरलाइन्समा एउटा टिकट किन्दा अर्को सित्तैँ

काठमाडौं । श्री एयरलाइन्सले ‘एउटा टिकट किन्दा अर्को टिकट फ्री’ आफर ल्याएको छ । श्रीले सेप्टेम्बर ८ अर्थात आजदेखि सेप्टेम्बर २० सम्म काठमाडौं-पोखरा वा पोखरा-काठमाडौं फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क दिने अफर ल्याएको हो । यस्तै, ३० सेप्टेम्बरसम्म कुनै पनि समयमा श्री एयरबाट यात्रा गर्ने यात्रुले एउटा टिकट किन्दा अर्को टिकट सित्तैँमा पाउने पनि श्री एयरले जनाएको छ ।