सात समूहलाई सगरमाथा आरोहणको अनुमति

काठमाडौं । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।  विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए ।  विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण–५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् । मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन् । सगरमाथाको दोस्रो शिविरसम्म बाटो निर्माण जारी सगरमाथा आरोहणका लागि अहिले धमाधम बाटो निर्माण भइरहेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको जनाइएको छ । हिजो साँझसम्म प्रतिघण्टा ३५ किलोमिटरको गतिमा हावा चलिरहेको र ‘आइसफल’का टुक्रा छरिरहेकाले आइसफल डाक्टर अनुकूल मौसमको प्रतिक्षामा रहेको विभागले जनाएको छ ।  खुम्बु आइसफल क्षेत्रमा अहिले भर्याङ राख्ने र ह्याङगिङ एयरमा किला ठोक्ने काम भइरहेको छ । 'आइसफल क्षेत्रमा चार वटा भर्याङ र १२ वटा किला ठोकिसकिएको छ', निर्देशक अवस्थीले भने, 'दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्ने हुन्छ । हालसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ ।' सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाएको छ । यो यामका लागि १० जनाको टोली खटाइएको एसपीसीसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन् । खुम्बु आइसफलमा बाटो बनाउने आरोहीलाई (आइसफल डाक्टर) भनिन्छ । सगरमाथाको दोस्रो शिविरसम्म बाटो तयार भएपछि मात्रै पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्ने छ । यसका लागि सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय टोली खटाइसकेको जनाएको छ । सङ्घले यो याममा सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ ।  वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङख्यामा विदेशी आउँछन् ।   

फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय, होटल भरिभराउ

काठमाडौं । बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार ।  व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धराशायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ ।  नयाँ शहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना सहर बनाउने गरी सरकारले सूचीकृत गरेको बजार हो । यहाँको व्यापारसमेत फस्टाउँदो छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार निसीखोला, तमान खोला र बडिगाड गाउँपालिकाको प्रमुख शहरका रूपमा रहेको छ । चार पालिकाको स्वास्थ्योपचार, किनमेल तथा प्रशासनिक काम पनि बुर्तिबाङ बजारबाटै हुने गरेको छ । इलाका प्रशासन कार्यालय, नापी र मालपोत जस्ता कार्यालय यही बजारमा छन् ।  नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजार ‘गुल्जार’ भइरहेको स्थानीय बताउँछन् । पछिल्लो समय आन्तरिक पर्यटकका कारण यहाँ होटल व्यवसाय पनि राम्रो चलेका छन् । ढोरपाटन सिकार आरक्ष, ढोरवाराही जाने आन्तरिक तथा बाह्य पर्यटक बास बस्नका लागि यहीँ आउने गरेका छन् भने मध्यपहाडी पुष्पलाल लोकमार्गले जोडिएपछि रुकुम तर्फबाट पनि पर्यटक आउने गरेका छन् । बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिए । उनले आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको बताए ।  ‘निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटनका पर्यटकीय स्थल घुम्न आएका पाहुना खान बस्न यही आइपुग्छन्, नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजारको सम्भावना निकै रहेको छ, यहाँ सुविधासम्पन्न ठूला होटल थपिने क्रम जारी छ, पर्यटकीय याममा यहाँको होटल भरिएका हुन्छन्,’ भट्टचनले भने, ‘बुर्तिबाङ बजार जनघनत्व भएको पालिकाको केन्द्रमा पर्दै आएको छ भने नयाँ सहरोन्मुख रहेकाले अन्य बजारभन्दा यहाँको बजार चलायमान छ ।’ यहाँका स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै प्रदेश स्तरीय ५० शय्याको अस्पताल पनि स्थापना गरिएको छ भने सामुदायिक क्याम्पसलगायतको सुविधासमेत छ । मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि बुर्तिबाङ बजार चलायमान भएको बताउँदै ढोरपाटन नगरपालिका–६ का स्थानीय हीराबहादुर भण्डारीले बुर्तिवाङ-ढोरपाटन सडक कालोपत्र भए अझै सहज हुने बताए ।  १ हजार २०० घर रहेको बुर्तिबाङमा किनमेल गर्न आउनेको भीड देखिन्छ । बुटवलसँगै राजमार्गले जोडिएको यस बजार पछिल्लो समय पर्यटकका कारण चलायमान भएको स्थानीय बताउँछन् ।  ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले मध्यपहाडी लोकमार्ग र ढोरपाटन सिकार आरक्षका कारण बुर्तिबाङ बजार गुल्जार बनेको बताए । उनले लोकमार्ग कालोपत्र भएर रुकुमसँग जोडिएपछि रुकुम पूर्वबाट यातयातका साधन तथा मालबाहक सवारीसाधन बुर्तिबाङ हुँदै चल्ने जानकारी दिए । ढोरपाटन घुम्न आउने पर्यटकसँगै पछिल्लो समय काठमाडौँबाट रारा जाने पर्यटक पनि यही मार्ग प्रयोग गर्न थालेको छन्त्यालको भनाइ छ । ‘लोकमार्गले रुकुमका सवारीसाधन यही मार्ग भएर काठमाडौंलगायत अन्य ठूला सहरमा पुग्छन्, राराताल घुम्न जाने पर्यटक छोटो मार्गका रूपमा यही लोकमार्ग हुँदै बुर्तिबाङ बसेर जाने गरेका छन्,’ छन्त्यालले भने, ‘अन्य शहरको तुलनामा बुर्तिबाङ बजार चलायमान देखिन्छ, पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा सुविधासम्पन्न होटल नहुनु र बुर्तिवाङबाट ८५ किलोमिटर टाढा रुकुमपूर्व पर्ने भएकाले अधिकांश पर्यटकले एक रात यही बिताउने गरेका छन्, यहाँको नयाँ सहर निकै सम्भावना बोकेको शहरका रूपमा विकसित भइरहेको छ ।’ राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ढोरपाटन सालझण्डी सडक कालोपत्र भएमा यहाँको पर्यटन व्यवसाय झनै फस्टाउने अपेक्षा गरिएको छ ।

२० औं फेवा नववर्ष महोत्सव चैत ३० गते देखि, पर्यटन र नेपाली खानाको प्रवर्द्धन गरिने

काठमाडौं । नेपाली संस्कृतिको संरक्षण, परम्परागत नेपाली खानाको प्रवर्द्धन तथा आन्तरिक एवं बाह्य पर्यटनलाई टेवा दिने उद्देश्यले पर्यटन राजधानी पोखरामा २०औं फेवा नववर्ष महोत्सव २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।  महोत्सव आगामी चैत ३० गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारको करिब ३ किमि क्षेत्र, लेकसाइड सडकमा आयोजना हुने बताइएको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली नयाँ वर्षलाई उल्लासमय बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले सांस्कृतिक झाँकीसहित महोत्सवको शुभारम्भ गरिनेछ । महोत्सवमा नेपाली खानाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिइएको छ ।  पोखरा आउने पाहुनाहरूका लागि होटल संघअन्तर्गतका होटलहरूले प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्नेछन् भने अन्य व्यवसायीहरूले पनि विभिन्न छुट तथा सहुलियत दिने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा संघले जाऊँ है पोखरा अभियान सञ्चालन गरी पूर्वी नेपालका प्रमुख सहरहरूमा फेवा महोत्सवमा सहभागी हुन आमन्त्रण गरिसकेको छ । साथै, घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखराजस्ता प्याकेजहरू पनि घोषणा गरिएका छन् । पोखरा महानगरपालिकाले सन् २०२५ लाई ूपोखरा भ्रमण वर्ष घोषणा गरिसकेकाले यो महोत्सवले भ्रमण वर्षको लक्ष्य पूरा गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । महोत्सवलाई सफल बनाउन २१ भन्दा बढी समिति गठन गरिएका छन् । महोत्सवमा प्रदेश स्तरीय मौलिक तथा परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद, पर्यटक दौड प्रतियोगिता, ब्याडमिन्टन कप, पप कन्सर्ट, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी, लोकदोहोरी कार्यक्रम लगायत विविध आकर्षण रहनेछन् । महोत्सवको मुख्य प्रायोजक गोर्खा बुअरी प्रालि रहेको छ भने सहप्रायोजक बरुण बेभरेज लि (पेप्सी) रहेको छ। अन्य प्रायोजकहरूमा बन्दीपुर केवलकार लि, फोन पे, अन्नपूर्ण केवलकार लि, टोकला चिया लगायत छन् । इन्सोरेन्स पार्टनरमा प्रभु इन्सुरेन्स कम्पनी रहेका छन् भने प्रवर्द्धक संस्थामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका छन्। होटल संघ नेपाल, पोखरा पर्यटन परिषद, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूको समेत सहयोग रहनेछ । नेपाली नयाँ वर्ष २०८२ लाई हर्षोल्लासपूर्वक मनाउन सम्पूर्ण नागरिकलाई महोत्सवमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।