सूचना प्रविधिमा ललितपुर महानगरको नेतृत्वदायी फड्को, ‘आईसीटी अवार्ड २०२५’ बाट सम्मानित
ललितपुर । मुलुकभरका स्थानीय तह र प्रदेश सरकारलाई उछिन्दै ललितपुर महानगर सूचना तथा संचार प्रविधि मन्त्रालयबाट सम्मानित भएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री के पी शर्मा ओलीले आइसिटी सूचना प्रविधि अवार्ड २०२५बाट महानगर प्रमुख चिरीबाबु महर्जनलाई सम्मान गरे । ललितपुर महानगरले सूचना प्रविधि प्रयोग गरी सेवा प्रवाह ,विकास निर्माण, सचेतना कार्यक्रमलाई प्रभावकारी बनाएको भन्दै सम्मान गरेको सूचना तथा संचार प्रविधि मन्त्रालयले जनाएको छ । अवार्ड ग्रहण गरेपछि महानगर प्रमुख चिरीबाबु महर्जनले टिम वर्कका कारण अवार्ड प्राप्त गर्न सफल भएको बताए । उनले भने, ‘हामीले महानगरभित्र सम्पादन हुने काम, कुरालाई प्रविधिसँग जोडेका छौं ।’ विपद्को जानकारी दिन एलएमसी एप, सुरक्षाका लागि सिटि टिभी क्यामेरा , इन्टिलिजेन्ट ट्राफिक लाईट लगायतका विषयलाई सूचना प्रविधिसँग जोडेको बताए । उनले भने , ‘प्रविधिकै कारण महानगरबासीले फाइल बोकेर कोठा कोठामा पुग्न नपर्ने बनाएका छौं ।’ एकद्धार प्रणालीद्वारा काम गर्दा समयको बचतदेखि काम चुस्त रुपमा भएको उनको भनाई थियो । महानगरको कामलाई प्रभावकारी बनाउन सूचना, प्रविधिको क्षेत्रमा योजनाबद्ध ढंगबाट काम गरिरहेको बताए । मन्त्रालयले सूचना, प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न निजी संघ संस्था र व्यक्तिलाई समेत उक्त अवार्डबाट सम्मान गरेको थियो ।
प्रविधि दिवसको अवसरमा ८ विधामा आईसीटी अवार्ड वितरण
काठमाडौं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा सरकारले विभिन्न ८ विधामा आईसीटी अवार्ड वितरण गरेको छ । शुक्रबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व, संघसंस्था तथा कम्पनीहरूलाई सम्मान गरेका हुन्। आईसीटी अवार्ड २०८२ पाउनेमा नेशनल आईसीटी एक्सिलेन्स अवार्ड (पुरुष) – प्राध्यापक डा. शशिधरराम जोशी (पुरस्कार राशिः १ लाख) नेसनल आईसीटी एक्सिलेन्स अवार्ड (महिला)- भैरहवाकी बन्दना शर्मा, नेसनल आईसीटी अवार्ड (पब्लिक सेक्टर) - जल तथा मौसम विज्ञान विभाग, बबरमहल, नेसनल आईसीटी अवार्ड (प्राइभेट सेक्टर)- म्याबरिम सिस्टम प्रा.लि., बालुवाटार, नेसनल आईसीटी अवार्ड (पब्लिक सेक्टर-प्रदेश-स्थानीय) – ललितपुर महानगरपालिका, नेसनल आईसीटी अवार्ड प्राइभेट सेक्टर (प्रदेश/स्थानीय) – निन्जा इन्फोस प्रालि, नेपालगञ्ज, आईसीटी इनोभेसन अवार्ड- इ-कागज पत्र प्रालि, महालक्ष्मी आर्ट, ललितपुर, आईसीटी स्टार्टअप अवार्ड– ट्याकम डिजिटल प्रालि, नख्खु, ललितपुर, सो अवसरमा एनसेल आजियाटा लि, फोनपेमेन्ट सर्भिस लि र इसेवा लिलाई धेरै आयकर तिर्ने कम्पनीको रूपमा सम्मान गरिएको छ । त्यस्तै, सिडर गेट सर्भिसेस, स्प्राउट टेक्नोलोजी र लिपफ्रग टेक्नोलोजी लाई धेरै विदेशी मुद्रा भित्र्याउने कम्पनीका रूपमा सम्मान प्रदान गरिएको छ ।
अब युट्युबले पनि अनलाइन सञ्चार माध्यमको रूपमा कानुनी मान्यता पाउने
काठमाडौं । सरकारले अब युट्युबलाई अनलाइन सञ्चार माध्यमको रूपमा कानुनी मान्यता दिने भएको छ । यसका लागि सरकारले ल्याएको ‘केही नेपाल ऐन संशोधन विधेयक’ मंगलबार प्रतिनिधि सभाबाट पारित भएको हो । छापाखाना तथा प्रकाशन ऐन २०४८ को दफा २ मा नयाँ उपदफा थप गरी अनलाइन सञ्चार माध्यमको स्पष्ट परिभाषा गरिएको छ । संशोधित परिभाषामा इन्टरनेटमार्फत सन्देशमूलक सामग्री प्रसारण गर्ने सबै प्लेटफर्महरू (जस्तै युट्युब) लाई अनलाइन सञ्चार माध्यम मानिने व्यवस्था गरिएको छ । नयाँ उपदफामा भनिएको छ, 'अनलाइन सञ्चारमाध्यम भन्नाले इन्टरनेटको माध्यमबाट संकेत, चिह्न, आवाज, ग्राफिक्स, भिडियो, एनिमेशन तथा मल्टिमिडियाको प्रयोगमार्फत सूचना, समाचार वा विचार प्रसारण गर्ने संस्था वा माध्यम बुझिनुपर्छ ।' यो विधेयक अघिल्लो सरकारको पालामा कानुन मन्त्री धनराज गुरुङले ल्याएका थिए । अब यो विधेयक राष्ट्रिय सभामा पठाइने, त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याइनेछ ।