९ दूरसञ्चार सेवा प्रदायक संस्थाले सरकारलाई तिरेनन् रोयल्टी र जरिवानावापत १३ करोड रुपैयाँ

काठमाडौं । ९ दूरसञ्चार सेवा प्रदायक संस्थाले सरकारलाई रोयल्टी र जरिवानावातपको  रकम नबुझाएको पाइएको छ । बुधबार महालेखापरीक्षकले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनका अनुसार आव २०८०/८१ मा  ९ दूरसञ्चार सेवा प्रदायक संस्थाले १३ करोड ७ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । महालेखाले उक्त रकम असुल्न सरकालाई भनेको छ । त्यस्तै ७ सेवा प्रदायकले ग्राहकसँग मर्मत तथा विभिन्न शुल्क बापत प्राप्त गरेको आम्दानीको रोयल्टी र जरिमानासमेत १ करोड ४२ लाख ५४ हजार छुट भएको देखिएकोले उक्त रकम असुल गर्नुपर्ने उल्लेख गरिएको छ । दूरसञ्चार नियमावली, २०५४ को नियम ३१ बमोजिम रेडियो फ्रिक्वेन्सी दस्तुर प्रत्येक वर्ष समाप्त भएको ६ महिनाभित्र भुक्तानी गर्नुपर्ने, न्यूनतम फ्रिक्वेसी बाहेक थप फ्रिक्वेन्सी, अधिकतम फ्रिक्वेन्सी र भिस्याटको दस्तुर प्रत्येक आर्थिक वर्षको लागि सो आर्थिक वर्ष सुरु भएको ३ महिनाभित्र अग्रिम भुक्तानी गर्नुपर्ने छ ।  नगरेमा बाँकी दस्तुरमा थप दस्तुरसमेत लाग्ने व्यवस्था छ । त्यसैगरी आव २०८०/८१ मा १ सेवा प्रदायकले बुझाउनुपर्ने फ्रिक्वेन्सी तथा भिस्याट दस्तुरबापत २४ करोड ३४ लाख दाखिला गर्न बाँकी देखिएकाले असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।

टेलिकमको ४जी सेवा लाङटाङ-क्यान्जिन पदमार्गमा विस्तार

काठमाडौं । नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्र लाङटाङ-क्यान्जिन पदमार्गमा ४जी मोबाइल सेवा विस्तार गरेको छ । क्यान्जिन उपत्यकामा नयाँ बिटिएस (बीटीएस) जडान गरी सञ्चालनमा ल्याइएको यो सेवा स्थानीय बासिन्दा, पर्यटक र पर्यटन व्यवसायीका लागि लाभदायक हुने अपेक्षा गरिएको छ । समुद्री सतहबाट करिब ३८०० मिटर उचाइमा रहेको क्यान्जिन उपत्यका गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्छ । स्याफ्रुबेशीबाट करिब दुई दिनको पदयात्रापछि पुगिने यो गन्तव्य लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ र स्वदेशी-विदेशी पर्यटकबीच लोकप्रिय मानिन्छ । टेलिकमका अनुसार ४जी सेवाबाट पदयात्राका क्रममा पर्यटकहरूले सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनसँग तुरुन्तै साटासाट गर्न सक्नेछन् । साथै, यस सेवा विस्तारले दुर्गम भेगमा सञ्चार पहुँच वृद्धि गरी आपतकालीन परिस्थितिमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ ।

एआईमा अर्बौं डलर लगानीका बाबजुद घाटामा सफ्टबैंक

काठमाडौं । जापानी प्रविधि लगानीकर्ता सफ्टबैंक समूहले हालैको वित्तीय त्रैमासिकमा करिब २६.९ अर्ब येन (अन्दाजी १८४.४ मिलियन अमेरिकी डलर/ २५ अर्ब बढी रुपैयाँ ) को नोक्सानी बेहोर्ने अनुमान गरिएको छ । प्रारम्भिक चरणका स्टार्टअपहरूमा लगानी घट्नु र प्रमुख पोर्टफोलियो कम्पनीहरूमा घाटा बढ्नु यसको प्रमुख कारणका रूपमा देखिएको छ । एलएसईजीद्वारा संकलित पाँच विश्लेषकको औसत अनुमानअनुसार जनवरी-मार्च २०२५ को त्रैमासिक नतिजा अघिल्लो वर्षको सोही अवधिमा देखिएको २३१ अर्ब येन (१‍‍.५८ अर्ब डलर) को नाफाको तुलनामा निकै कमजोर हुने देखिन्छ । यद्यपि विश्लेषकहरूका अनुसार यो अनुमानित घाटालाई बलियो येन र सफ्टबैंकको दूरसञ्चार होल्डिङजस्तै टी-मोबाइलको सेयर मूल्यमा २० प्रतिशतभन्दा बढीको वृद्धिले आंशिक रूपमा सन्तुलनमा ल्याउन सक्ने बताइएको छ । यस अवधिमा सफ्टबैंकको पोर्टफोलियोमा रहेका स्वीगी र ओला इलेक्ट्रिकजस्ता स्टार्टअपहरूको मूल्य करिब ४० प्रतिशतले घटेको छ । तीव्र प्रतिस्पर्धाको कारण यी कम्पनीहरूले सार्वजनिक लिस्टिङपछि व्यापक घाटा बेहोरिरहेका छन् । नोमुरा सेक्युरिटिजका विश्लेषक डाइसाकु मासुनोका अनुसार सफ्टबैंकको भिजन फन्डद्वारा होल्ड गरिएका सूचीबद्ध कम्पनीहरूले मात्र करिब ९०० मिलियन डलर बराबरको सामूहिक घाटा व्यहोरेका छन् । यस त्रैमासिकमा नयाँ लगानीहरू प्रायः ठूला स्थापित कम्पनीहरूमा केन्द्रित देखिए, जबकि प्रारम्भिक चरणका स्टार्टअपहरू- विशेषतः भिजन फन्ड २ अन्तर्गतका लगानी पछिल्ला पाँच त्रैमासिकहरूमध्ये सबैभन्दा न्यून रहेको छ । क्रन्चबेसको तथ्यांकले यस्तो देखाएको हो । सफ्टबैंकले भने यस अवधिमा आक्रामक लगानी घोषणा गर्‍यो । च्याटजीपीटी निर्माता ओपनएआईमा २० देखि ३० अर्ब डलरसम्म लगानी गर्ने प्रतिबद्धता लिएको कम्पनीले  एम्पेरे कम्प्युटीङ नामक चिप स्टार्टअपलाई ६.५ अर्ब डलरमा खरिद गर्ने घोषणा पनि गर्‍यो । तर विश्लेषकहरू यसमा सशंकित छन् । 'सफ्टबैंकले एआई क्षेत्रमा ठूलो लगानी गरिरहेको भए तापनि यी परियोजनाले अझै प्रष्ट व्यावसायिक फाइदा देखाउन सकेका छैनन्,' जापानका लगानी विश्लेषक अमिर अनवरजादे बताउँछन् । बजारको हालको अनिश्चितताको कारण प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने वातावरण बिग्रिँदै गएको छ । यसले सफ्टबैंकको सूचीकृत नभएका कम्पनीहरूको मूल्याङ्कनमा थप दबाब पर्न सक्ने संकेत देखिन्छ । क्लर्ना र ओयोजस्ता सफ्टबैंक पोर्टफोलियो अन्तर्गतका कम्पनीहरूले हालसालै अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा घोषणा गरिएका नयाँ महसुलका कारण आफ्नो लिस्टिङ ढिलाइ गरेका छन् । यद्यपि सफ्टबैंकको सहायक कम्पनी  पेपेले भने आगामी आईपीओको तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ । ओपनएआई पुनः गैरनाफामूलक कम्पनीमै फर्कियो, सफ्टबैंकको ३०० अर्ब डलर लगानी दोधारमा