एआई प्रविधिमा अगाडि बढ्दै ‘एनथ्रपिक’, १३ अर्ब डलर लगानी संकलन
काठमाडौं । अमेरिकी कृत्रिम बाैद्धिकता (एआई) स्टार्टअप एनथ्रपिकले १३ अर्ब अमेरिकी डलरको लगानी जुटाएको छ । यो लगानी आईकोनिक नामक लगानी संस्थाको नेतृत्वमा सिरिज एफ चरणमा गरिएको हो । कम्पनीको पछिल्लो मूल्यांकन १८३ अर्ब डलर पुगेको छ । ‘एनथ्रपिक’ एक अमेरिकी एआई प्रविधि कम्पनी हो, जसले सुरक्षित, पारदर्शी र उत्तरदायी एआई प्रणालीहरू विकास गर्ने लक्ष्य राखेको छ । सन् २०२१ मा पूर्व ओपनएआई अनुसन्धानकर्ताहरूले स्थापना गरेको यो कम्पनी विशेषगरी ‘क्लोड’ नामक उन्नत भाषा मोडेलहरू निर्माण गरेर चर्चित भएको हो । एनथ्रपिकको मुख्य उद्देश्य मानवीय मूल्यसँग मेल खाने र दीर्घकालीन रूपमा सुरक्षित रहने एआई प्रविधि तयार गर्नु हो । यस कम्पनीले व्यवसायिक प्रयोगका लागि भरपर्दो एआई समाधानहरू प्रदान गर्दैछ, जसमा भाषा प्रशोधन, ज्ञान सहायता र निर्णय समर्थन प्रणालीहरू पर्छन् । यस लगानी चरणमा फिडेलिटी म्यानेजमेन्ट एन्ड रिसर्च कम्पनी र लाइटस्पिड भेन्चर पार्टनर्सले पनि सह–नेतृत्व गरेका छन् । कम्पनीका अनुसार, यो लगानीले व्यवसायिक माग पुरा गर्न क्षमता विस्तार, सुरक्षा अनुसन्धानमा गहिराइ ल्याउन तथा अन्तर्राष्ट्रिय विस्तारमा सहयोग पुर्याउनेछ । 'हाम्रो सम्पूर्ण ग्राहक समूहमा माग तीव्र रूपमा बढिरहेको छ,' एनथ्रपिकका आर्थिक प्रमुख (सीएफओ) कृष्ण रावले बताए । यसअघि मार्च महिनामा, कम्पनीले सिरिज ई चरणमा ३.५ अर्ब डलर जुटाउँदै ६१.५ अर्ब डलरको मूल्यांकन प्राप्त गरेको थियो । कम्पनीका अनुसार, २०२३ को मार्चमा क्लोड नामक एआई मोडेल सार्वजनिक गरेपछि एनथ्रपिकको विकास दर निकै तीव्र भएको हो । रासस
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बिहीबारबाट बन्द गर्ने निर्णय गरेको हो । आज सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो । फेसबुक, इन्स्टाग्राम, युट्युब र एक्स (पूरानो ट्वीटर)लगायतका २६ वटा सामाजिक सञ्जाल बन्द हुने भएका हुन् । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल आजबाट क्रमश: बन्द गर्ने निर्णय भएको हो । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ । सर्वोच्च अदालतले पनि बुधबार एक परमादेश जारी गर्दै सामाजिक सञ्जाल तथा ओटीटी प्लेटफर्महरू नेपालमा दर्ता नभए बन्द गर्न भनेको थियो । २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिए पनि सामाजिक सञ्जालहरूलाई वेवास्ता गरेका थिए । त्यसपछि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकार पुगेको हो । नेपालमा हालसम्म भाइबर, टिकटक, विटक, निम्बज र पोपोलाइन मात्र दर्ता भएका छन् ।
भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सोही अवसरमा कम्पनीले नयाँ अभियान ‘इन्टरनेट फर ड्रिमर्स’ सुरु गरेको छ । भायानेटका अनुसार उक्त अभियानले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल प्लेटफर्ममार्फत केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ । सुशान्त केसीको यात्रा नै इन्टरनेटबाट सुरु भएको उल्लेख गर्दै भायानेटले, उनको जस्तै सपना देख्ने अन्य युवाहरूसँगै हिँड्ने उद्देश्यले अभियान अघि सारिएको जनाएको छ । ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान अन्तर्गत डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक कार्यक्रमहरू, अनुभव आदानप्रदान गर्ने गतिविधि जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन् । यसमार्फत कन्टेन्ट क्रिएटर र डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकहरूलाई इन्टरनेटको सही उपयोग गर्दै आफ्ना सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ ।