एआई प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराइने
काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबिच सम्झदारी पत्रमा हस्ताक्षर गरिएको छ । सोमबार सम्झदारी पत्रमा कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहाल र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौताको उद्देश्य नेपाली किसानलाई डिजिटल प्लेटफर्ममार्फत कृषि सम्बन्धी समस्या समाधानमा सजिलो बनाउनु हो । कनेक्ट किसानले विकसित गरेको भ्वाइस बेस र टेक्स्ट बेस एआई एडभाइजरी प्रविधिले किसानलाई खेतबारीमा प्रत्यक्ष सहायता पुर्याउनेछ । यो प्रणालीमा किसानले खेतीबारीमा काम गर्दा आउने समस्या जस्तै मल, बजार, रोगरकीरा व्यवस्थापनको तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्नेछन् । कनेक्ट किसानका निर्देशक राजन दाहालले भारतमा प्रविधिमैत्री किसानले एआईको प्रयोग गरेर उत्पादन वृद्धि गरिरहेका छन् भने नेपालमा पनि यस्ता प्रविधि प्रयोग गर्दा किसानलाई ठूलो फाइदा हुने बताए । उनका अनुसार किसानहरूले यदि नीतिगत समस्या वा बजारसँग सम्बन्धित चुनौती देखेका छन् भने, वा खेतीमा रोग–कीरा सम्बन्धी अनुसन्धान आवश्यक छ भने उनीहरूले यी जानकारीहरू एआई प्रविधिको माध्यमबाट पठाउन सक्नेछन् । पठाइएको जानकारी सङ्कलन गरी एनएएएमपीले आवश्यक कदम चाल्न प्रयोग गरिनेछ । उनले भने, 'हाम्रो एआई प्रणालीले किसानलाई व्यक्तिगत कृषि सल्लाह दिन सक्षम छ ।' राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले किसानलाई डिजिटल प्लेटफर्ममा पुर्याउन र समस्या समाधानमा सहयोग पुर्याउन कनेक्ट किसानसँग सम्झौता गरिएको बताए । उनले भने, 'किसानले आफ्नो खेतबारीमा जुनसुकै समस्या आए पनि तत्काल समाधान पाउन सक्नेछन् । साथै, ठूला वा जटिल समस्याहरूको लागि प्रविधिक र अनुसन्धान टोलीले पनि सहयोग गर्नेछ ।' यस समझौताको माध्यमबाट किसानको समस्या दिर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखिएको छ। कृषि नीतिगत चुनौती जस्तै बजारमा पहुँच नपाउनु, मल अभाव, रोग व्यवस्थापन जस्ता समस्या पनि एआई प्रणालीमा डेटा बनाइने र भविष्यमा त्यसको आधारमा समाधानको योजना तयार पारिने निर्देशन श्रेष्ठले बताए । कनेक्ट किसानको एआई प्रविधि भनेको कृषकको आवश्यकता अनुसार कृषि सल्लाह, रोगरकीरा व्यवस्थापन, मल र बीउ सुझाव, बजार जानकारी लगायतका सेवाहरू उपलब्ध गराउने डिजिटल प्लेटफर्म हो। यो प्रणालीले किसानलाई आफ्नो खेतमा प्रत्यक्ष निर्णय लिन सजिलो बनाउनेछ र कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
डिशहोम गो एपमा ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ रिलिज
काठमाडौं । नेपाली चलचित्रप्रेमी दर्शकहरूका लागि खुसीको खबर छ । बहुप्रतीक्षित तथा लोकप्रिय दुई नेपाली चलचित्र ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ अब डिशहोम गो एपमार्फत हेर्न सकिने भएको छ । पारिवारिक भावना, प्रेम र सामाजिक यथार्थलाई समेटिएका यी दुवै चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । डिजिटल प्लेटफर्ममार्फत रिलिज भएसँगै नेपाल तथा विदेशमा रहेका नेपाली दर्शकले सहज रूपमा यी चलचित्र हेर्न पाउने भएका छन् । ‘नाइ नभन्नु ल ६’ नेपाली चलचित्रको चर्चित शृंखलाको छैटौँ संस्करण हो । विकासराज आचार्यद्वारा निर्देशित यस चलचित्रमा आँचल शर्मा, आशीर्वाद बी. क्षेत्री, सरोज खनाल र प्रियंका कार्की मुख्य भूमिकामा छन् । चलचित्रका निर्माता विकासराज आचार्य र विष्णु मणि दाहाल हुन् । चलचित्रले अभिनेता शिशिर र उनकी छोरी दित्याबीचको गहिरो सम्बन्धलाई केन्द्रमा राख्दै परिवार, प्रेम र जीवनका उतार–चढावलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ । दित्याकी आमासँग जोडिएको रहस्यले कथालाई थप रोचक बनाएको छ । पारिवारिक दर्शकका लागि उपयुक्त यस चलचित्रले रिलिजपछि सकारात्मक प्रतिक्रिया पाएको थियो । त्यसैगरी, ‘प्रसाद २’ नेपाली समाजका संवेदनशील सामाजिक विषयहरूलाई निरन्तरता दिने सशक्त चलचित्र हो । सुदर्शन थापाको निर्देशन तथा सुदर्शन बस्नेतको निर्माणमा बनेको यस चलचित्रमा बिपिन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी प्रमुख भूमिकामा छन् । पहिलो भागको कथालाई अगाडि बढाउँदै ‘प्रसाद २’ ले जातीय विभेद, अन्तरजातीय विवाहका चुनौती र राजनीतिक द्वन्द्वजस्ता विषयलाई गहिराइमा प्रस्तुत गरेको छ । समाज परिवर्तनको संघर्ष र मानवीय संवेदनालाई प्रभावशाली रूपमा उठान गरेको यस चलचित्र समीक्षक तथा दर्शक दुवैबाट प्रशंसित बनेको थियो । यी दुवै चलचित्र डिशहोम गोमार्फत नेपाल तथा विदेशमा रहेका नेपाली दर्शकले सहज रूपमा हेर्न सक्नेछन्। डिशहोम गो एक आधुनिक डिजिटल मनोरञ्जन प्लेटफर्म हो, जहाँ नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष खेलकुद, छोटा चलचित्र तथा कोरियन ड्रामा लगायत विविध सामग्री उपलब्ध छन् । एकै एपमार्फत गुणस्तरीय मनोरञ्जन लिन चाहने दर्शकका लागि डिशहोम गो उपयुक्त गन्तव्य बनेको छ ।
टेलिकमका जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अपडेट सेवा देशभर सुरु
काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्ने सेवा देशभर सुरु गरेको छ । कम्पनीमा रहेको ग्राहक विवरण अब ग्राहक स्वयंले अनलाइन प्रणालीमार्फत भरेर अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको हो । गत पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको थियो । नेपाल टेलिकमको २२औँ वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि देशभरका सबै कार्यालयमार्फत यो सेवा उपलब्ध गराइएको हो । यस सेवाअन्तर्गत हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकहरूले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन् । विवरण भर्दा सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी प्रयोग गरी व्यक्तिगत जानकारी तथा आफूले धेरै सम्पर्क गर्ने पाँचवटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सबै विवरण भरिसकेपछि प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । सो विवरणको आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ । अहिले पनि धेरै ग्राहकहरूको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यस सेवाबाट विवरण सच्याउन र अद्यावधिक गर्न सहज हुने कम्पनीले जनाएको छ । यसले अन्य सरकारी निकायमा समेत आफ्ना विवरण अद्यावधिक राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले यो सेवाले ग्राहकलाई सरल, सुरक्षित र छिटो माध्यमबाट विवरण अद्यावधिक गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।