पुस १५ देखि एमडिएमएस पूर्णरूपमा कार्यान्वयनमा आउने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडिएमएस लागू गरिएको जनाएको छ । विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले उक्त सूचनामार्फत अनुरोध गरेको छ । नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट प्रज्ञापनपत्रसहित राहदानीरनागरिकतारराष्ट्रिय परिचयपत्रका आधारमा मात्र एमडिएमएसमा गई दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ । नेपालभित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गर्न सकिने हुँदा त्यसअनुसार यकिन गरेर मात्र खरिद गर्न साथै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न प्राधिकरणले उक्त सूचनामा उल्लेख गरेको छ । रासस

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सम्पन्न, १४ विधामा अवार्ड वितरण

काठमाडौं । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले सम्पन्न भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै सातौं संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो । आइसिटी अवार्डका संयोजक राजन लम्सालको सभापतित्वमा सुरू भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले प्रविधीमार्फत गरेका थिए । प्रतिनिधि सभा सदस्यहरु ठाकुर गैरे, महेश बर्तौला, मनीष झा, शिशिर खनाल लगायतको उपस्थिती रहेको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल र राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीकोे उपस्थिति रहेको थियो । त्यस्तै अतिथिको रूपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव मधु मरासिनी, नास्टका उपकुलपति सनिलबाबु श्रेष्ठ, आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल , पूर्व मन्त्री गणेश शाह , राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयाल, राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा सरकारी संस्थाका उच्च अधिकारी, सूचना प्रविधि क्षेत्रका विभिन्न अग्रज व्यक्ति, सहकार्य संस्थाका प्रतिनिधि, सूचना प्रविधि कम्पनीका प्रतिनिधि, पत्रकार लगायत देश तथा विदेशबाट समेत उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्त्वय राख्दै आइसिटी अवार्ड संयोजक राजन लम्सालले नेपालमा डिजिटल इकोसिस्टम विकास गर्न विगत सात वर्षदेखि अवार्ड आयोजना गरिरहेका बताए । ‘६ महिनादेखिको अथक मेहनत र परिश्रम पश्चात आइसिटी अवार्ड सफलतापूर्वक सम्पन्न गरेका छौं,’ उनले भने, ‘नयाँ नयाँ स्टार्टअप, आईडिया र इन्नोभेसनलाई प्रोत्साहन तथा अग्रजलाई सम्मान गर्ने हाम्रो अभियान निरन्तर जारी रहनेछ ।’ कार्यक्रमका प्रमुख अतिथि मुख्यसचिव बैरागीले आइसिटीको क्षेत्रमा केही फड्को मारेको तर गर्नुपर्ने धेरै रहेको बताए । ‘आईसिटी जीवन जिउने एउटा तरिका भइसकेको छ,’ उनले भने, ‘हरेक क्षेत्रमा आइसिटीले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । आइसिटीबाट देशको विकास गर्नुपर्छ ।’ त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. अर्यालले आइसिटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न मन्त्रालय सधैं तयार रहेको प्रतिवद्धता जनाए । आइसिटी अवार्डले नयाँ नयाँ इनोभेसनलाई प्रेरणा मिलेको बताउँदै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले डिजिटल इकोसिस्टम विकास गर्न सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने बताए । त्यस्तै इन्फोडेभलपर्सका ग्रुप अध्यक्ष सञ्जिब राज भन्डारीले यस वर्ष आईसिटी अवार्ड ५५० बढीको आवेदन आउनु एकदमै राम्रो कुरा भएको बताए । नेपालले इन्टेलुक्चुअल पर्पटीमा पनि काम गर्नुपर्ने उनको भनाइ छ । यसैगरी काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिला डंगोलले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्न पर्ने बताइन् । काठमाडौं महानगरपालिका सोही अनुसार अगाडि बढेको समेत जानकारी दिइन् । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले डिजिटल पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउँदै त्यसका लागि नीति निर्माण तहबाट आफुले पहल गर्ने बताए । त्यस्तै अवार्डका जुरी संयोजक हेमपाल श्रेष्ठले विभिन्न चरणको छलफल र छनौट पश्चात सर्वोत्कृष्ट विजेता छानिएको बताए । कार्यक्रमको समापन गर्दै सुस्मित ग्रुपका अध्यक्ष सुशिल पोखरेलले आइसिटी अवार्ड हरेक वर्ष उत्कृष्ट हुँदै गइरहेको जानकारी दिए । ग्राण्ड फिनाले कान्तिपुर टेलिभिजन, कान्तिपुर सिनेप्लेस, कान्तिपुर टिभीको एप तथा वेबसाइट र आइसिटी अवार्डको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भएको थियो । त्यस्तै यसअघि कान्तिपुर टिभीबाट अवार्डका विशेष ४ श्रृखला समेत प्रसारण भएका थिए । यस वर्ष अवार्डका लागि ५५० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो भने ५ महिनासम्म छनौट प्रक्रिया सञ्चालन भएको थियो । यस वर्ष १४ विधामा आइसिटी अवार्ड प्रदान गरिएको छ भने सातै प्रदेशका उत्कृष्ट ७ स्टार्टअपलाई समेत सम्मान र प्रमाणपत्र गरिएको छ । यस वर्षको ह्वावे स्टार्टअप आइसिटी अवार्ड मोनाल टेकलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आइसिटी अवार्ड गल्ली म्याप्सलाई र राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड कारोबार एपलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ समेत गरिएको थियो । त्यस्तै व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आइसिटी अवार्ड मंगेशलाल श्रेष्ठ , नेपाली डायस्पोरा आइसिटी अवार्ड डा. वेद काफ्ले , नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड विजय कृष्ण श्रेष्ठ र एनसेल वुमन आइकन आइसिटी अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) बाफलको ज्ञानोदय माध्यमिक विद्यालय, डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) खोकनाको ज्ञानोदय बाल बाटिका स्कुल स्कुल, डिजिटल सर्भिसेस आइसिटी अवार्ड फोनपे र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड वैदेशिक रोजगार विभागलाई दिइएको छ । यस्तै सबैभन्दा बढी पब्लिक भोट ल्याउने टिगलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिएको छ भने साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड चिंगारीलाई प्रदान गरिएको छ । सार्क राष्ट्रका ५० बढी स्टार्टअपको प्रतिस्पर्धाबाट चिंगारीले अवार्ड हात पारेको हो । अवार्डको सिलसिलामा यस वर्ष स्टार्टअप एण्ड आईडिया फेस्ट, मेन्टरिङ सेसन, स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङहरू सञ्चालन भएका थिए । इन्फोडेभलपर्सले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३० भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको कार्यक्रममा नेपाल टेलिकम र जेनेस सोलुसन इन एसोसिएसन प्रायोजकको रूपमा रहेका छन् । विश्वप्रसिद्ध कम्पनी ह्वावे र एससीटी स्मार्ट क्युआर पावर्ड बाईमा पार्टनरमा रहेका छन् । यसैगरी क्याटेगोरी पार्टनरमा एनसेल, ई–कमर्स पार्टनरमा दराज, पेमेन्ट पार्टनरमा आईएमई पे, बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक, इकोसिस्टम पार्टनरमा माइक्रोसफ्ट, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, नलेज पार्टनरमा प्रेसिडेन्सियल कलेज, इम्स्योरेन्स पार्टनरमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् । त्यस्तै फिनोभेसन पार्टनरमा नेपाल क्लियरिङ हाउस, आईटी ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, एडटेक पार्टनरमा वेद, एआई टेक पार्टनरमा फ्युज मेसिन्स, डेटा सेन्टर एण्ड क्लाउड पार्टनरमा सिल्भर लाइनिङ, गेमिङ पार्टनर यार्सा ल्याब्स, लर्निङ पार्टनर एम्बिसस गुरू, मोबिलिटी पार्टनर दराज, सेक्युरिटी पार्टनर एमिनेन्स वेज, ब्रोडकास्टिङ पार्टनर कान्तिपुर, एप पार्टनर हाम्रो पात्रो, टेक्नोलोजी पार्टनर टेक्नोरियो, इन्भेष्टमेन्ट पार्टनर बिजबेल रहेका छन् । अन्य सहयोगी संस्थामा नेपाल बैंक लिमिटेड, किंग्स कलेज, दूरशिक्षा, बारकोड नेपाल, स्प्यारो एसएमएस, नेपाल आन्टरप्रेनर्स हब, ब्रोडब्याण्ड र आइसिटी फाउन्डेसन नेपाल रहेका छन् । के के पाउँछन् अवार्ड विजेताले ? नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा आइसिटी अवार्ड प्राप्त गर्नु एउटा गौरवको विषय बन्दै आएको छ । यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइीसटी अवार्ड २०२२ का विजेताले माइक्रोसफ्ट र ह्वावेबाट क्लाउड सेवाको लागि लाखौं रुपैया बराबरको क्रेडिट पाएका छन् । नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षको लागि हाई स्पिड इन्टरनेट सेवा दिएको छ भने एनसेलले वुमन आइकन आइसिटी अवार्ड विजेतालाई ३ लाख रूपैयाँ नगद दिएको छ । यसैगरी सिल्भर लाइनिङले डिजिटल सर्भिसेस विधामा विशेष सपोर्ट प्याकेज दिएको छ । अन्य स्पोन्सर तथा सहयोगी सस्थाहरुले विभिन्न किसिमले सेवाहरु निशुल्क प्रदान गरेका छन् । स्टार्टअप तथा प्रडक्टहरुको लागि लगानीको वातावरण बनाउन विभिन्न किसिमका नेटवर्किङ र मिटिङहरु सञ्चालन हुने छन् । सातै प्रदेशका ७ उत्कृष्ट स्टार्टअप गत चैतदेखि जेठसम्म लिभिङ विथ आइसिटीले सातै प्रदेशममा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरेको थियो । देशैभरका स्टार्टअप तथा आईडियालाई प्रवर्द्धन र प्रोत्साहन गर्न आयोजना भएको उक्त कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप छनौट गरिएको थियो । छनौट भएका स्टार्टअप तथा आईडियालाई काठमाडौं ल्याएर ३ दिने बुटक्याम्प सञ्चालन गरिएको थियो भने नेपालका केही ठूला आईटी कम्पनीको भिजट समेत गराइएको थियो । सातै प्रदेशबाट छनौट भएका ३५ बढी स्टार्टअप र आईडिया मध्येबाट प्रत्येक प्रदेशका सर्वोत्कृष्ट छनोट गरिएको छ । यस अनुसार प्रदेश १ बाट क्युरा हेल्थ, मधेश प्रदेशबाट इजिइट्स, बागमती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक ग्रुप (स्वस्तिक न्युट्री फुड), लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथिभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपको रूपमा सम्मान गरिएको छ ।  

अतिआवश्यक सेवा अवरुद्ध नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । अति आवश्यक सेवा अन्तरगतका सेवाहरुमाथि अवरोध नगर्न दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विद्युत प्राधिकरणले अतिआवश्यक सेवा अन्तरगत पर्ने इन्टरनेट सेवा काटिदिएको भन्दै अवरोध नगर्न आग्रह गरेको हो । विद्युत प्राधिकरणले केही दूरसञ्चार सेवा प्रदायक कम्पनीको विद्युत लाईन सप्लाई काटीदिदा राज्यका धेरै स्थानहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको सूचनामा उल्लेख गरिएको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकिङ, हवाई सेजा लगायतका अतिआवश्यक सेवाहरु अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा प्रवाह अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था रहेको भन्दै विद्युत प्राधिकरणले दूरसंचार सेवा अवरुद्ध गर्ने गरेको प्रति असन्तुष्टी व्यक्त गरेको छ । ‘राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई अनुरोध गर्दछौँ’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ । प्राधिकरणले हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने भन्दै सबै पक्ष वसी आपसी छलफलबाट समस्याको समाधान गरी अत्यावश्यक दूरसञ्चार सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्वद्ध सम्वन्ध सबै पक्षलाई अनुरोध गरेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलको भाडा भुक्तानी नगरेको भन्दै विद्युत प्राधिकरणले तार काटिने चेतावनी दिदै आएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै पुस ११ भित्र इन्टरनेट सेवा प्रदायक कम्पनीले तार व्यवस्थापन नगरे आफै हटाउने चेतावनी दिएको थियो । प्राधिकरणले त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, केशरमहल, लाजिम्पाट, नारायणगोपाल चोक र बुढानीलकण्ठ क्षेत्रका पोलमा राखिएको तार हटाउने जनाएको थियो। प्राधिकरणले यसअघि कात्तिक १५ गते र मंसिर १८ गते सूचना प्रकाशन गरी तार हटाउन आग्रह गर्दा समेत हालसम्म सेवा प्रदायक संस्थाहरुबाट तार व्यवस्थापन नभएको भन्दै आफै हटाउने चेतावनी दिएकोे हो ।