विश्वकप छनोटको एशिया फाइनलका लागि खेलाडी छनाेट, काे काे भए ?

काठमाडाैं ।  सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि मंगलबार प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले २५ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो । सो प्रतियोगिताका लागि नन्दनकुमार यादव पहिलो पटक छनोटमा परेका छन् । आगामी सन् २०२० मा आयोजना हुने विश्वकप छनोटको रुपमा रहेको उक्त फाइनल खेलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण यही असार ५ गतेबाट शुरु हुनेछ । छनोट हुनेमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, वसन्त रेग्मी, अमित श्रेष्ठ, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जीतेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल र ललित भण्डारी छन् । त्यसैगरी, ललितनारायण राजवंशी, आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छनोटमा परेका छन् । एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ । रासस

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स एचडी च्यानलको सह-प्रायोजन

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले सह-प्रायोजन गरेको छ । डिस मिडिया नेटवर्क र एनएसजेएफबीच शुक्रबार मुख्य सह प्रायोजन (इन एसोसिएसन विथ) सम्बन्धी सम्झौता भएको हो । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि एनएसजेएफले डिस मिडियासँग लगातार नवौं वर्ष सहकार्य गरेको हो । आइतबार एक कार्यक्रमबीच एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी(देवेन्द्र) र डिस मिडिया नेकवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मुख्य सह–प्रायोजकको रुपमा सम्झौता भएसँगै अवार्डको नाम ‘एनएसजेएफ इन एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिसेन्ट्ज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’को नाममा रहने अध्यक्ष सुवेदीले बताउनु भयो । सम्झौताअनुसार डिस मिडियाले अवार्डकालागि सात लाख रुपैयाँ नगद र चार लाख रुपैयाँ बराबरको डिस होम सेट–अफबक्स र दुई बर्षसम्मनिशुल्क सुविधा उपलब्ध गराउने छ । ‘ डिस मिडियासँग सम्झौतामा यसपटक रकम गतवर्ष भन्दा चार गुणा वृद्धि भएको छ । सरकारले समेत यसपटक अवार्डको लागि रकम छुट्याएको छ,’ अध्यक्ष सुवेदीले भने । नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डको रुपमा रहेको यस अवार्डको १६औं संस्करण असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुँदैछ । एक्शन स्पोर्ट्स एचडी च्यानलमा यो कार्यक्रम प्रत्यक्ष देखाइने छ । यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ ।

कोपा अमेरिका कपमा नेइमार बिनै ब्राजिलको सानदार जीत, काउटिन्होको २ गोल

काठमाडौं । कोपा अमेरिका कप फुटबल प्रतियोगीतामा ब्राजिलले शानदार जीत हासिल गरेको छ । स्टार खेलाडी नेइमार बिनै खेलेको ब्राजिलले बोलिभिया विरुद्ध ३ गोलको जित निकालेको हो । पहिलो हाफ बराबरी खेलेको ब्राजिलले दोश्रो हाफको सुरुमै ब्राजिलले पेनाल्टी पायो र काउटिन्होले त्यसलाई सहजै गोलमा परिणत गरे । ५३ औं मिनेटमा काउटिन्होले अर्काे गोल गर्दै ब्राजिललाई २ गोलको अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा इभर्टन सोअर्सले गोल गर्दै ब्राजिलको जीत सुनिश्चित गरे । कोपा अमेरिका कप शनिबारदेखि ब्राजिलमा सुरु भएको हो । ७५ प्रतिशत बल पोजिसन लिएको ब्राजिलले गोल गर्न भने दोश्रो हाफ कुर्नु परेको थियो । लगातार खराब प्रदर्शन गरिरहेको ब्राजिल लामो समयदेखि उपाधी बिहिन बन्दै आईरहेको छ । घरेलु मैदानमा आयोजीत कोपा अमेरिका कप जितेर ब्राजिलले खराब दिनहरुको अन्त्य गर्ने अपेक्षा गरेको छ ।