एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुर विजयी
काठमाडौं । मलेसियामा मंगलबारदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो । सिङ्गापुरले २९ रनको विजयी लक्ष्य ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । सिङ्गापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित चेतेस मेहताले ११ रन बनाए । बलिङतर्फ चीनका टियान सेन कुनले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा चीनका सात ब्याट्सम्यान शून्य रनमा आउट भए । वेई गुइलीले सर्वाधिक ७ रन बनाए । चीनलाई न्यून स्कोरमा समेट्ने क्रममा सिङ्गापुरका विनित चितेस मेहताले सात विकेट लिए । सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित चीन र सिङ्गापुर छन् भने समूह ‘बी’मा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । प्रतियोगिताको विजेताले श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कप खेल्नेछ । रासस
विश्वकप एशिया फाइनलका लागि खेलाडी छनोट,को को भए ?
काठमाडौं । सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आइतबार १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको खेलाडीको सूचीमा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन् । त्यसैगरी, वैकल्पिकतर्फ कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख र जीतेन्द्र मुखिया छन् । आगामी सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको उक्त फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा हुँदैछ । एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत गरी पाँच राष्ट्र सहभागी छन् । जसमा विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोट आगामी अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई)मा हुँदैछ । यस्तै विश्वकप छनोटको तयारीको लागि नेपाली टोली यही असार २४ गते मलेसिया प्रस्थान गर्नेछ । त्यहाँ नेपालले असार २८ र २९ गते मलेसियाविरुद्व दुईवटा टी –ट्वान्टी सिरिज खेल्नेछ । रासस
एसिसी यु–१९ क्रिकेट खेल्न मलेशिया जाँदै नेपाली टोली
काठमाडौं । मलेशियामा यही असार १७ गतेदेखि आयोजना हुने एसिसी १९ वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी हुन १४ सदस्यीय नेपाली युवा टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन् । कप्तान रोहितकुमार पौडेलले नेतृत्व गरेको सो टोलीमा रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद खान, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, कमलसिंह ऐरी, खडक बोहरा, तिलक भण्डारी र लोकेश बम छन् । त्यस्तै टोलीको प्रशिक्षकमा विनोद दास छन् भने व्यवस्थापकमा राजु खड्का र फिजियोमा विक्रम न्यौपाने छन् । प्रतियोगितामा समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल यही असार १८ गते चीनसँग खेल्नेछ । नेपालको समूहमा चीन र सिङ्गापुर छन् । त्यसैगरी नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिङ्गापुरसँग खेल्नेछ । प्रतियोगितामा यसअघि आठ टोलीले सहभागिता जनाउने भनिए तापनि प्रतियोगिता शुरु हुनु केही दिनअघिमात्रै म्यान्मारले नाम फिर्ता लिएको थियो । समूह ए रहेको म्यान्मारले नाम फिर्ता लिएपछि उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका हुन् । अर्को समूहमा भने चार टोली छन् । अर्को समूहमा आयोजक मलेशियासँगै, भूटान, हङ्कङ र थाइल्याण्ड रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउने छन् । नेपाली टोली आइतबार दिउँसो २ बजे त्यसतर्फ प्रस्थान गर्नेछ । प्रतियोगिता यही असार २५ गतेसम्म चल्नेछ । रासस