सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिँदै

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो । कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो । १७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

मनास्लुमा मृत भेटिइन् अमेरिकाकी चर्चित स्की आरोही

काठमाडौं । अमेरिकाकी चर्चित स्की आरोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन् । गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन् । ४९ वर्षीया नेल्सन स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन् । नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ । अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।

साफ महिला च्याम्पियनसिप : खेल जिते नेपाली खेलाडीले जनही ५ लाख पाउने

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपको उपाधि जिते खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सरकारले हालै बनाएको नयाँ पुरस्कार कार्यविधिअनुसार सामुहिक खेल फुटबलको दक्षिण एसियाली च्याम्पियनसिपमा उपाधि जित्ने टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ । यस्तै, प्रमुख प्रशिक्षकले ३ लाख, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सकले जनही २ लाख र सो खेलको राष्ट्रिय संघले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका पाँच बजेदेखि सुरु हुनेछ ।