हङकङलाई हराउँदै नेपाल च्याम्पियन,एशिया कपमा प्रवेश

काठमाडौं । नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङकङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यस जितसँगै नेपाल यु –१९ एशिया कपमा समेत एशिया कपमा प्रवेश गरेको छ । श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेत सहभागी हुनेछन् । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जीतमा पवन शर्राफले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै रित गौतमले १३ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ तथा खड्कबहादुर बोहोराले ८ रन जोडे । बलिङतर्फ हङकङका रौनक कपुरले दुई विकेट लिए भने मोहमद हसन र मोहमद हसन खान एक /एक विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रनमा समेटिएको थियो । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली २ विकेट गुमाएको थियो । हङकङका लागि आदित गोरवाराले २४ र काल्हन चल्लुलले १९ तथा रौनक कपुरले १२ रन जोड्नेबाहेका अन्य आठ ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । हङकङलाई कमैमा समेट्ने क्रममा नेपालका सागर ढकालले घातक बलिङ गरे । दश ओभर बलिङ गरेका ढकालले ५ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी कमलसिंह ऐरीले ३ विकेट लिँदा कुशल मल्ल र तिलक राजभण्डारीले एक एक विकेट झारे । यसअघि भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिंगापुरलाई डिएल पद्धतिका आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । रासस

उपाधिका लागि हङकङले नेपाललाई दियो ९६ रनको लक्ष्य

काठमाडौं । एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो । आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै रौनक कपुरले १२ रन जोडे । हङकङलाई सस्तैमा समेट्न क्रममा नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए भने कमल सिंह ऐरीले तीन तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट झारे । यसअघि भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिङ्गापुरलाई डिएल पद्धतिको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । उक्त प्रतियोगिताको उपाधि विजेता टोली यु–१९ एशिया कपमा छनोट हुनेछन् । एशिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्गलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

मलेसियालाई पराजित गर्दै क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश नेपाल

काठमाडौं । एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । साविक विजेतासमेत रहेको नेपालले अब उपाधिका लागि सिङ्गापुर र हङ्कङबीचको विजेतासँग खेल्नेछ । सिङ्गापुर र हङ्कङवीच दोस्रो सेमिफाइनल खेल अहिले भइरहेको छ । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्यलाई नेपालले १५ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । नेपालको जितमा भीम सार्कीले अविजित ३३ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले अविजित ३१ रन जोडे । त्यसैगरी पवन सर्राफले १८ रन तथा रित गौतमले तीन रन जोडे । बलिङतर्फ मलेसियाका हैकल मोहमद खेरले दुई विकेट लिए भने मुहमद आमीरले एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो । उसका लागि मुहमद आमिरले सर्वाधिक २४ रन जोडे । त्यस्तै हैकल मोहमद खेरले १२, वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन जोडे । मलेसियालाई सस्तैमा समेट्नेक्रममा नेपालका सागर ढकाल एक्लैले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए । उक्त प्रतियोगिताको उपाधि विजेता टोलीले श्रीलङ्कामा आयोजना हुने यु–१९ एशिया कपमा छनोट हुनेछन् । फाइनल खेल मङ्गलबार हुनेछ । रासस