तेह्रौँ सागमा रजत र कास्य जितेका खेलाडीका लागि पुरस्कार घोषणा गर्न माग
काठमाडौं। राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले सङ्घले उक्त माग गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर २५ गते सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गरेका थिए । व्यक्तिगत स्पर्धातर्फ स्वर्ण विजेता खेलाडीलाई रु ९ लाख, रजत विजेतालाई रु ६ लाख र कास्य जितेकालाई रु ३ लाख दिने घोषणा गरिएको थियो । सरकारले टिम इभेन्ट्सतर्फ स्वर्ण जित्नेलाई रु ५ लाख दिने घोषणा गरे पनि रजत र कास्य पदक जित्नेका हकमा भने पुरस्कारको घोषणा गरेको छैन । तेह्रौँ साग सकिएको दुई सातासम्म पनि सोबारे सरकारले निर्णय गरेको छैन । “टिम इभेन्ट्सका पदक विजेताका लागि पुरस्कार तत्काल घोषणा गरी खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्छौं”, सङ्घका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली खेलकूदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतीक्षा गर्नुपरेको स्मरण गराउँदै उहाँले यसपटक घोषित रकम तत्काल उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । नेपालले १३औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कूल २०६ पदक जितेको थियो
एन्फाले सार्वजनिक गर्याे मोफसलको खेल तालिका
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र धनगढीमा दुई÷दुई प्रतियोगिता हुनेछ । यस्तै बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज, सिमरा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँमा एक÷एक प्रतियोगिता हुने एन्फाले जनाएको छ । तालिकाअनुसार फागुन १ देखि १० गतेसम्म पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षी गोल्डकप र मकवानपुरमा वागमती गोल्डकप आयोजना गर्नेछ । फागुन १५ देखि २४ गतेसम्म झापा गोल्डकप, माइभ्याली गोल्डकप र बागलुङमा मेयर कप आयोजना गरिनेछ । यस्तै फागुन २२ देखि चैत १ गतेसम्म पोखरामा आहा रारा गोल्डकप, सर्लाहीमा राजर्षी गोल्डकप र वीरगञ्जमा विशाल मेमोरियल गोल्डकप सञ्चालन हुनेछ । फागुन २९ देखि चैत ८ गतेसम्म मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहवी गोल्डकप, धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गङ्गा गोल्डकप, चैत १३ देखि २२ गतेसम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप आयोजना गरिने एन्फाले जनाएको छ । यस्तै फागुन ८ देखि १७ गतेसम्म बुटवलमा तिलोत्तमा गोल्डकप, धरानमा बुढासुब्बा गोल्डकप, फागुन २४ देखि चैत ३ गतेसम्ममा नेपालगञ्ज गोल्डकप, चितवनमा भरतपुर गोल्डकप तथा चैत ६ देखि १५ गतेसम्म सिमरा गोल्डकप र सुनसरीमा मदन भण्डारी गोल्डकप आयोजना गरिनेछ । यसैगरी एन्फाले फागुन ५ देखि १५ गतेसम्म चितवनमा राइनो गोल्डकप, फागुन ११ देखि २२ गतेसम्म धनगढीमा खप्तड गोल्डकप, चैत २० देखि २९ गतेसम्म एन्फा नकआउट प्रतियोगिता र चैत १७ देखि वैशाख ६ गतेसम्म झापामा मेचीनगर गोल्डकप सञ्चालन गरिनेछ । रासस
महिला फुटबलको उपाधी जित्न सफल दुर्गा मावि
काठमाडौं । महिला फुटबल प्रतियोगिताको उपाधी दुर्गा माविले हात पारेको छ । रुपन्देहीको आयोजनामा पुस १ गतेबाट शुरु भएको उक्त खेलको फाइनल राउण्डमा पशुपति मावि कोटिहवालाई १–० गोलले पछाडि पार्दै खेलको उपाधी हात पार्न सफल भएको हो । सोही दिनको दोश्रो खेल पर्ल मावि तिनपा कोटिहवा र पशुपति मावि तिनपा कोटिहवा बीच भएको थियो । पर्ल मावि र पशुपति मावि बीच भएको खेलमा पशुपति माविलाई पर्ल माविले ५–० गोलले हराएको थियो । पशुपतिलाई ५ गोलले हराएपनि पर्ल माविको चलाखीपूर्ण घुषपैठको कारणले पशुपतिले खेलमा पुन प्रवेश पाएको थियो । पर्ल माविको चलाखीपूर्ण कामले खेललाई दुई दिन सम्म प्रभावित बनायो । पूर्व निर्धारित समय अनुसार ३ गते हुने फाईनल खेल सरेर ५ गते पुग्यो । ४ गते भएको दोश्रो चरणको खेलमा खेलको सुरु मै बाई पाएको टिकुलीगढ मावि तिनपा टिकुलीगढ र पर्ल मावि सँग पराजित भएको पशुपति मावि खेलको मैदानमा उत्रिएका थिए । पशुपति मावि र टिकुलीगढ मावि बीच भएको खेलमा पशुपति माविले टिकुलीगढ माविलाई १–० गोलले पराजित गर्दै फाईनल राउण्डमा प्रवेश गरेको थियो । फाईनल राउण्डको लागि शनिबार भएको दुर्गा मावि र पशुपति मावि बीचको खेलमा दुर्गा माविले पशुपति माविलाई १–० गोलले पराजित गरेसँगै प्रथम पुरस्कारको विजेता बन्न सफल भयो । दुर्गा माविको जित सँगै खेलमा पशुपति मावि तिनपा कोटिहवा दोश्रो, टिकुलीगढ मावि तिनपा टिकुलीगढ तेश्रो र ठुटिपिपल मावि सियारी गापा चौथो भएका छन् । बनको खेल मैदानमा भएको खेलमा प्रथमलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ, तृतीयलाई २० हजार रुपैयाँ, सान्तवनालाई दश हजार रुपैयाँ पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र सहित बनका अध्यक्ष तथा प्रमुख अतिथी भोला प्रसाद यादब, खेल संयोगक मिना पाण्डेले लगायतले सम्मान गरेका थिए । साथै खेलमा उत्कृष्ट गोल किपरमा दुर्गा माविकी ईशा थापा र उत्कृष्ट खेलाडीमा पशुपति माविकी विन्दु चौधरी पनि पुन सम्मानमा परेका थिए ।