हिमानीदेखि मनिषासम्म पुगेको अनानिक ब्युटी सैलुन, नेपालमा ५ र क्यानाडामा २ वटा ब्रान्च

काठमाडौं । कोभिड १९ को महामारीले धेरै कुरा अस्तव्यस्त बनाइदियो । मानिसहरुको जनजीवनमा यसले ठूलै उथलपुथल ल्यायो । लकडाउनमा धमाधम पसल, रेस्टुराँहरु बन्द हुँदै गए । व्यवसाय ठप्प हुँदै गयो । राजधानीबाट मानिसहरु सुरक्षित बासको खोजीमा गाउ फर्किन थाले । तर, त्यहि संकटको बेला बौद्धमा भने ठूलै लगानीमा अनानिक ब्युटी सैलुन एण्ड स्पा सञ्चालनमा आयो । केही अघि अभिनेत्री मनिषा कोइरालाले यसको औपचारिक रुपमा उद्घाटन गरिन् । प्रतिनिधि सभा सदस्य शान्ता चौधरी, क्याप्टेन विजय लामा, मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नायिका स्वस्तिमा खड्का लगायत एक दर्जन नाम चलेका कलाकारहरुको जमघट पनि यसमा जमघट थियो । लकडाउनका बेला यो सैलुनले घर–घरमै गएर सेवा दियो । विषम परिस्थीतिमा पनि फरक तरिकाले व्यापार गर्न सकिन्छ भन्ने पाठ कोरोनाले सिकायो । त्यसो त अनानिक व्युटि सैलुनले यसअघि नयाँबानेश्वर, दरवारमार्ग, पोखरामा आफ्ना ब्राञ्च विस्तार गरिसकेको छ । लकडाउनपछि भने लाविम मलमा पनि थप नयाँ ब्राञ्च विस्तार भईसकेको छ । अनानिक व्युटि सलोन एण्ड स्पाले नेपालमा ५ वटा ब्राञ्च फैलाइसकेको छ । क्यानाडामा यसका दुई वटा ब्राञ्च छन् । यसका सञ्चालक हुन्, भोजुर, पातलेपानी, बाख्रेम स्थायी घर भएका सुरविन वान्तवा राई । क्यानाडामा भने उनकी दिदी जुनु देवीले व्यवसायलाई सम्हाल्छिन् । जुनु देवीको उपनाम हो, अनानिक । त्यही नामबाट सैलुन खोलिएको हो । जुन अहिले सैलुनहरुको भीडमा बेग्लै ब्राण्ड बनिसकेको छ । सुरविनले नेपालमा ट्राभल एजेन्सी चलाएका थिए । सामाजिक अभियन्ताका रुपमा सक्रिय रहेका उनी दिदीकै कारण सैलुन व्यवसायमा संलग्न भए । अहिले नेपालमा सबै सैलुनका ब्राञ्चहरू उनले नै सम्हालिरहेका छन् । पेशाले उनका बुबा राम बहादुर शिक्षक हुन् । परिवारबाट सबैको सहयोग रहेको उनले बताए । नेपालमा सन् २०१३ मा पहिलो पटक नयाँ बानेश्वरमा अनानिक सुरु भयो । ९ जना स्टाफ र एक करोड रुपैयाँको लगानी गरेको सञ्चालक सुरबिनले बताए । ‘व्यवस्थित, ठूलो र सुविधायुक्त थियो । मानिसहरू आउँदा तर्सिन्थे ।’ उनी भन्छन्, ‘सिमित प्रोफेसनल व्यक्तिहरु आउँथे ।’ अनानिकमा अन्य ठाउ भन्दा बढी सुविधा भएकाले बैंकर्स, राजदुत, फाइभ स्टार होटेलका स्टाफ, स्कुल कलेजका सञ्चालक, एनजिओ, आइएनजिओका कर्मचारीको रोजाइमा पर्‍यो । त्यसबेला देखि यो सैलुनका आफ्नै ग्राहकहरु छन् । अहिलेसम्म यस सैलुनबाट १ हजार भन्दा बढीले तालिम लिइसकेका छन् । जेल, नेल, फेसियल, हेयर कट्, पेडिकेयर, मेनिकेयर जस्ता फरक–फरक विधामा यसले तालिम प्रदान गर्दै आएको छ । यहाँबाट सिकेर गएकाहरु युरोप, अस्ट्रेलियामा आफ्नो व्यवसाय गरिरहेका छन् । बिपन्न, पिछडिएका, विपन्नलाई नि:शुल्क तालिम दिएको र उनीहरूले आफ्नै व्यवसाय गरिरहेको सञ्चालक सुरविन बताउँछन् । यही समाजसेवाको कामलाई पूर्व युवराज्ञी हिमानी शाहले तारिफ गरेकी छिन् । लाबिम मल ब्राञ्चको उद्घाटनमा पनि हिमानी उपस्थित भएकी छिन् । ‘लकडाउनमा अनानिकले घर–घर पुगेर सेवा दिएर आफ्नो व्यवसायलाई निरन्तरता दियो । लकडाउनले ठूलो पाठ सिकायो ।’ उनी भन्छन् ‘सबै व्यवसाय बन्द हुँदा हामीले आफ्नो कामलाई निरन्तरता दियौं ।’ प्रियंका कार्की, स्वस्तीमा खड्का, वर्षा राउत जस्ता थुप्रै सेलिब्रिटीहरुको रोजाईमा परेको सैलुन हो । अनानिकले पाँच वटा ब्राञ्च गरेर ७० जनालाई रोजगारी प्रदान गरेको छ । यो सैलुनले अरु भन्दा फरक तरीकाले जनशक्ति परिचालन गरेको छ । अमेरिका र अस्ट्रेलियामा तालिम लिएर फर्केका चार जना क्रियटिभ स्टाइलिस्ट छन् । काठमाडौंमा एरिया म्यानेजर तोकिएको छ । जसले सबै ब्राञ्चको निरीक्षण गर्छ । हरेक सैलुनमा क्रियटिभ स्टाइलिस्ट छन् । ग्राहकहरूको रुप, बनोट अनुसार हेयर स्टाइलको डिजाइन गर्ने काम गर्छन् । आफ्नो स्टाफहरूलाई अनाटिकले राम्रो सेवा, सुविधा दिएको सञ्चालक सुरविन दावी गर्छन् । उनका अनुसार यहाँ काम गर्ने स्टाफले २० हजार देखि ८० हजार रुपैयाँसम्म पारिश्रमिक पाउँछन् । ओभर टाइम, विदाको समय काम गरेको, प्रोडक्ट बेचेको बेग्लै पैसा आउँछ । विहान साढे ९ बजे खुल्ने अनाटिक साँझ ७ बजे बन्द हुन्छ । नेपालका बुटवल, चितवन लगायतका शहरबाट शाखा खोल्नका लागि प्रस्ताब आईरहेको सुरविन बताउँछन् । नेपाल बाहिर कोरिया, भारत लगायतका देशमा पनि त्यहाँ रहेका नेपालीहरूले ब्राञ्च खोल्नका लागि हौस्याईरहेका छन् । प्राय: भारतबाटै आएका नागरिकहरु सैलुन व्यवसायमा कब्जा जमाइरहेका छन् । सञ्चालक सुरविन नेपालमा काम गर्न यतै जनशक्ति तयार हुनुपर्ने बताउँछन् । ‘किन विदेशबाट मानिस ल्याउनु पर्ने ?’ उनी भन्छन् ‘नेपालीहरुले नै यो काम सिकेर व्यवसाय गर्न सक्छन् । बजार धान्न सक्छन् ।’ सञ्चालक सुरविनका अनुसार ५ वटै ब्राञ्च गरेर १० करोड रुपैयाँ भन्दा बढी लगानी भईसकेको छ । यसमा क्यानाडा बस्ने दिदी जुनु देवीकै ठूलो सहयोग रहेको उनी बताउँछन् । लकडाउन अगाडी सैलुनले राम्रो कारोबार गरेको उनी बताउँछन् । नयाँ बानेश्वरको एउटै शाखाले मात्र एक महिनामा ४० देखि ४५ लाख रुपैयाँ कारोबार गरेको रेकर्ड उनले सुनाए । ‘हरेक ब्राञ्चहरुमा एक लाख रुपैयाँ भन्दा माथि कारोबार हुन्थ्यो ।’ उनी भन्छन्, ‘अहिले स्टाफ खर्च र भाडा तिर्न पुगेको छ । अहिलेलाई यही नै ठूलो कुरा भएको छ ।’ आगामि दिनमा अनानिककै शाखालाई विस्तार गर्ने योजना रहेको सुरविन बताउँछन् । नेपालमा जता पनि सम्भाबना छ । गुणस्तर दिन सक्ने हो भने ग्राहकहरुको कमी नभएको उनको अनुभब छ । हाल सञ्चालनमा आएका ब्राञ्चहरुले पनि त्यो कुराको प्रमाणित गरिसकेका छन् । ‘टिप्न जान्नुपर्छ । नेपालमा अवसर र पैसा जताततै छ ।’ छुट्टिने बेला सुरविनले सुनाए ।

महेशलालको ट्रिक अपनाएर विनोद चौधरीको सपना पूरा गरे सतिश कुमार मोरले

काठमाडौं । नेपालमा उत्पादन भएको वस्तु विदेश निर्यात गर्नको लागि उत्पत्तिको प्रमाणपत्र चाहिन्छ । यो प्रमाणपत्र जारी गर्ने अधिकार नेपाल उद्योग परिसंघ (सिएनआई) ले पनि पाएको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार सिएनआईले पनि पाएपछि अब यस्तो प्रमाणपत्र जारी गर्ने निजी क्षेत्रकै निकाय ३ वटा भएका छन् । नेपाल चेम्बर अफ कमर्शले जारी गरेर सुरु भएको यो प्रमाणपत्र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) हुँदै अहिले सिएनआईसम्म पुगेको हो । उत्पत्तिको प्रमाणपत्र जारी गर्ने निकायको इतिहास हेर्ने हो भने २००७ सालको राजनीतिक परिवर्तनसम्म पुग्नुपर्छ । विक्रम संवत २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि संघ, संस्था खोल्न पाइने भयो । कानुनको यही सुविधा प्रयोग गरी उद्योगी व्यवसायी पनि संगठित हुन थाले । यसै क्रमममा २००७ सालमा उद्योगी व्यवसायीहरुको संस्था ‘वाणिक मण्डल’ खुल्यो । यही संस्था २००९ सालमा अखिल नेपाल व्यापार संघ बन्यो, अनि नेपाल चेम्बर अफ कमर्शमा परिणत भयो । उद्योगी व्यवसायी संगठित हुने क्रमले निरन्तरता पायो । जिल्ला जिल्लामा उद्योग वाणिज्य संघ खुले । विक्रम संवत २०२० सालसम्ममा विराटनगर, जनकपुर, बुटवल, पोखरा, भैरहवा, स्याङ्जा, राजविराज, पाल्पा, झापा, नारायणगढ, धरान र बागलुङमा उद्योग वाणिज्य संघ गठन भइसकेका थिए । जिल्ला जिल्लामा संघ स्थापना भएपछि देशभरका संस्थालाई समेटेर राष्ट्रियस्तरको संस्थाको आवश्यकता देखियो । यही आवश्यकताको बीचमै नेपाल चेम्बर अफ कमर्शले २०२२ साल पुसमा काठमाडौंमा वाणिज्य तथा औद्योगिक सम्मेलन गर्यो । सो सम्मेलनको उद्घाटन तत्कालिन राजा महेन्द्र शाहले गरे । र, सोही सम्मेलनले राष्ट्रियस्तरको संस्था नेपाल उद्योग वाणिज्य संघ स्थापना गर्यो । नयाँ संस्थाप्रति तत्कालिन राजा महेन्द्रको पनि साथ रह्यो । नेपाल चेम्बर अफ कमर्सका तत्कालीन अध्यक्ष लोकनाथ जोशीको अध्यक्षतामा २०२२ सालमा नेपाल उद्योग वाणिज्य संघको तदर्थ समिति गठन भयो । तदर्थ समितिका सदस्यहरुमा राजबहादुर चिपालु, जुद्धबहादुर श्रेष्ठ, पशुपति गिरी, इन्द्रभक्त श्रेष्ठलगायत थिए । र, यी सबै सदस्य चेम्बरकै सदस्य तथा पदाधिकारीहरु थिए । सोही नेपाल उद्योग वाणिज्य संघ नै अहिलेको नेपाल उद्योग वाणिज्य महासंघ बनेको हो । उत्पत्तिको प्रमाणपत्रको उत्पत्ति उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) वितरणको काम २०१६/०१७ सालदेखि नै चेम्बरले गर्दै आएको थियो । यता नेपाल उद्योग वाणिज्य संघ भने महासंघ बनेर ४६ जिल्लामा संजाल फैलदासम्म उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकारबाट बन्चित थियो । यही परिवेशमा २०४४ सालदेखि २०५० सालसम्ममा महेशलाल प्रधान एफएनसीसीआईको अध्यक्ष बने । प्रधानले चेम्बरका तत्कालीन अध्यक्ष बनवरीलालसँग जुधेर उत्पत्तिको प्रमाणपत्र वितरण गर्ने अधिकार महासंघलाई दिलाउन सफल भए । चेम्बरले केन्द्रबाट मात्रै उत्पत्तिको प्रमाणपत्र जारी गथ्र्याे । एफएनसीसीआईले सबै जिल्ला उद्योग वाणिज्य संघबाट यस्तो प्रमाणपत्र जारी गर्न थाल्यो । महासंघको दरिलो आर्थिक स्रोत र सदस्यहरुलाई सहज सेवा पाउने अवस्था यसरी बनेको थियो । विनोद चौधरीको सपना व्यवसायीको राजनीति एफएनसीसीआईमा केन्द्रीत भइरहेको थियो । विक्रम सम्बत २०५० सालमा एफएनसीसीआईको अध्यक्ष विनोद कुमार चौधरी बने । पहिलो कार्यकालमा चौधरीका प्रत्यासी बनेका हुसाल चन्द गोल्छा अस्वस्थ भएर अमेरिका गएपछि चौधरी एक्ला प्रत्यासी अर्थात निर्विरोध निर्वाचित भए । पहिलो कार्यकाल २०५२ सालमा सकिएपछि चौधरीले अर्काे कार्यकालको लागि चुनावी प्रतिस्पर्धा रोजे । तर, २०५२ सालमा भएको निर्वाचनमा चौधरी अर्का प्रत्यासी पद्म ज्योतिसँग पराजित भए । आफ्नो पराजयलाई चौधरीले सहज रुपमा लिएनन् । चौधरीले नेतृत्व गरेको समूह असन्तुष्ट बनिरह्यो । र, २०५९ साल बैशाख ४ गते सिएनआईको स्थापना भयो, जसको नेतृत्व चौधरीले नै गरेका थिए । एफएनसीसीआईसँगको दुरी सिएनआई स्थापना भएपछि एफएनसीसीआईसँग वैचारिक भिन्नता रह्यो । सिएनआईले स्थापनाकालदेखि नै आफूहरुलाई उद्योगीहरुको संस्थाका रुपमा पहिचान बनाउने पहल गरे । एफएनसीसीआई खासगरी व्यापारीहरुको संस्था जस्तो भान हुन थाल्यो । तर एफएनसीसीआईमा उद्योगी, व्यापारी सबै सदस्य रहिरहे । महासंघका सफल युवा अध्यक्ष चौधरीले नेतृत्व गरेको सिएनआईले एफएनसीसीआईलाई टक्कर दिन थाल्यो । सरकारका हरेक नीतिगत निर्णयहरुमा सिएनआई सक्रिय रुपमा बहस पैरबीमा लाग्यो । र, आफू उद्योगीहरुको संस्था भएको र उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार आफूले पनि पाउनु पर्ने लविङ गर्न थाल्यो । माधव नेपालको खोलेको ढोका सिएनआईले स्थापनाकालदेखि नै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउनु पर्ने माग गरिरहेको थियो । यस्तै, परिवेशमा २०६४ सालदेखि २०६७ सालसम्म एफएनसीसीको अध्यक्ष कुशकुमार जोशी भए । २०६४ सालको संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिए । तर, तत्कालिन प्रधानसेनापति रुक्मांगद कटवाललाई पदबाट हटाउन प्रधानमन्त्री दाहालले गरेको प्रयास राष्ट्रपति डा. रामवरण यादवका कारण सम्भव भएन । अनि दाहालले पदबाट राजीनामा गरे र नयाँ प्रधानमन्त्रीको रुपमा तत्कालिन नेकपा एमालेका नेता माधवकुमार नेपाल आए । नेपाल प्रधानमन्त्री भएको समयमा एफएनसीसीआईको अध्यक्ष कुशकुमार जोशी थिए भने सिएनआईको अध्यक्ष चौधरी थिए । चौधरी तत्कालिन एमालेको तर्फबाट संविधानसभामा समानुपातिक तर्फको सभासद् पनि थिए । प्रधानमन्त्री नेपालले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार सिएनआईलाई पनि दिए । तर, सिएनआईले भारत बाहेकका तेस्रो मुलुकका लागि उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने अधिकार तोकिएको थियो । एफएनसीसीआई र सिएनआई आमने सामने प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार सिएनआईलाई पनि दिएपछि एफएनसीसीआईका पदाधारीहरु सरकारसँग रुष्ट बने । र, सँगै सिएनआई र एफएनसीसीआईबीच सार्वजनिक रुपमा भनाभन हुन थाल्यो । तर, भारत बाहेकको तेस्रो मुलुकका लागि उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कानुनी अधिकार सिएनआईले भने पाइसकेको थियो । एफएनसीसीआईको आम्दनीमा कैची उत्पत्तिको प्रमाणपत्र जारी गर्ने विषय ‘इगो’को रुपमा विकास हुँदै गइरहेको थियो । तर, सँगै वार्षिक करोडौं रुपैयाँ आम्दानीसँग पनि जोडिएको थियो । उत्पत्तिको प्रमाणपत्र जारी गरेर एफएनसीसीआईले वार्षिक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । नेपाल नेतृत्वको सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त हुने रकम पनि एफएनसीसीआई, सिएनआई र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र (टीईपीसी) ले बाढेर लिनुपर्ने नीतिगत निर्णय पनि गरेको थियो । तर, एफएनसीसीआईले सिएनआईलाई दिनुपर्ने रकम र त्यसको हिसाव अहिलेसम्म नदिएको सिएनआईका अध्यक्ष सतिश कुमार मोर बताउँछन् । उक्त शिर्षकमा उठेको आम्दानीलाई महासंघले एकिकृत र पारदर्शी बनाएको पनि छैन । यस विषयमा महासंघभित्र पटक पटक चर्को विवाद हुँदै आएको छ । मोरले पूरा गरे चौधरीको सपना विनोद कुमार चौधरीले सिएनआई स्थापनाको समयदेखि नै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार ल्याउनको लागि गरेको पहल अहिले साकार भएको छ । अब सिएनआईले पनि उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने अधिकार पाएको छ । आफूहरुले उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउनु पर्छ भनेर लामो समयदेखि गरेको प्रयासले अहिले सार्थक रुप लिएको अध्यक्ष मोरले बताए । ‘सिएनआई भनेको उद्योगीहरुको संस्था हो, हामी माग्नको लागि मात्रै केही कुरा मागिरहेका हुँदैनौं, हामीले गर्ने हरेक कुरा रिसर्चमा आधारित हुन्छन्, त्यसैकारण सरकारले हाम्रा कुराहरुलाई गम्भीर रुपमा लिने गरेको पनि छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार सिएनआईले पाउनुपर्ने थियो, अहिले पाएको छ, यो राम्रो कुरा भयो,’ अध्यक्ष मोरले भने । किन चाहियो उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार ? सिएनआई अध्यक्ष मोर भन्छन्– हरेक संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्ने सोच बनाएर काम गरिरहेका हुन्छन् । रोजगारी सिर्जना र राजस्वमा योगदान सबैभन्दा बढी गर्ने भनेको सिएनआइ र यसका सदस्यहरुले नै हो । नेपाल सरकारले १५ जना सबैभन्दा बढी कर तिर्ने व्यक्तिहरुलाई सम्मान गर्दा ७ जना सिएनआईकै नेसनल काउन्सिल र गभर्निङ काउन्सिलका व्यक्तिहरु पर्नुभएको छ । यो विषय सिएनआइकै लागि पनि गर्वको विषय हो । तर, हामीले हाम्रा साथीहरुलाई उत्पत्तिको प्रमाणपत्र लिनको लागि एफएनसीसीआईमा वा अन्त कतै जाऊ भनेर भन्नुपरिरहेको थियो । यो कुरा जायज थिएन । न्याय संगत पनि थिएन । त्यसैले हामीले नेपाल सरकारसँग भनेका थियौं कि हाम्रा सदस्यहरुलाई हामीले नै उत्पत्तिको प्रमाणपत्र प्रदान गर्ने अधिकार दिनुस् । उत्पत्तिको प्रमाणपत्र त्यसै दिनुस् भनेको होइन । हाम्रा साथीले निर्यात प्रबद्र्धनमा सहयोग गरिरहेका हुन्छन् । निर्यातको नयाँ सम्भावनाहरुको खोजी गरिरहेका हुन्छन् । हामीले त्यसका लागि विभिन्न प्रकारको रिसर्चहरु पनि गरेका हुन्छौं । यही क्रममा २०६७/६८ सालमा सिएनआईले तेस्रो मुलुकको लागि उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार पायो । त्यही बेला, भारतको लागि उत्पत्तीको प्रमाणपत्र जारी गर्दा नेपाल उद्योग वाणिज्य महासंघले यति पैसा राखेर बाँकी सिएनआईलाई यति दिने, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र (टिइपीसी) ले यति रकम पाउने भनेर सरकारले नै नियम बनायो । तर, हामीले अहिलेसम्म एफएनसीसीआईबाट एक पैसा पनि पाएका छैनौं । हिसाबै नभएकोले कति पैसा दिन बाँकी छ भन्ने यकिन नै भएको छैन । टिइपीसीले पनि पैसा पाएको छैन भन्ने कुरा आएको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्दा पहिला सय रुपैयाँमा १२ पैसा थियो, अहिले घटाएर ९ पैसा बनाइएको छ । हामीले पनि उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउनु पर्छ भनेर नेपाल सरकारसँग अनुरोध गरिरहेका थियौं । सिएनआईले कुनै पनि कुरा गर्दा खाली माग्नको माग्ने काम गर्दैन । पूरा रिसर्च गरेर त्यसको आधारमा कुरा गर्छ । व्यक्तिगत स्वार्थको कुरा पनि गरेको छैन । म गर्वका साथ आज पनि भन्न सक्छु कि सिएनआईका कुनै पनि पदाधिकारी वा सदस्यले कुनै पनि फोरममा व्यक्तिगत स्वार्थको कुरा आजसम्म गरेको छैन । त्यसैको कारण होला, आज पनि नीतिगत विषयमा छलफल गर्ने कुनै पनि फोरममा नेपाल सरकारले सिएनआईलाई नै खोज्छ । नेपाल सरकारको नीति निर्माण गर्ने हरेक कमिटीहरुमा सिएनआईको प्रतिनिधि सदस्यका रुपमा रहेको हुन्छन् । यही शिलशिलामा हामीले नेपाल सरकारलाई बारम्बार अनुरोध गरेका थियौं कि उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार हामीलाई दिनुस् भनेर । यो कुरा हामीले १७ वर्षदेखि उठाइरहेका थियौं । कहिले सघन रुपमा उठ्यो त कहिले अहिले कमजोर भए जस्तो भयो । उत्पत्तिको प्रमाणपत्र जारी गर्नको लागि सरकारले एउटा कार्यविधि पनि बनाएको थियो । त्यो कार्यविधिलाई मन्त्रिपरिषदले पास गरेको छ । हामीले अब उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार पाएका छौं । यसको लागि हामीले आन्तरिक तयारीहरु गरेका छौं । अब चाढै नै उत्पत्तिको प्रमाणपत्र जारी गर्छाैं ।

जसलाई सहकारीले साहु बनायो

काठमाडौं । एउटा सानो खरको घर । घरमा मिठो मसिनो त परै जाओस् बिहान बेलुका छाक टार्नलाई पनि अन्न छैन । न आफ्नो जमिन छ नत अन्य कुनै सम्पत्ति नै । सानो खरको घर पनि माइतीले दिएको । छोराछोरीले भोक लाग्यो भने पनि पेटभरी खाना दिनलाई छैन । अब बुझ्नुस् त ती मानिसको जीवन कति कष्टकर र दुःखदायी होला ? हो, त्यही जीवनलाई शक्तिमा रुपान्तरण गर्दै संघर्ष गर्न सिकायो झापाको शिवसताक्षी नगरपालिका ११ दुधेकी देवी दाहाललाई । भनिन्छ नि ‘संघर्षले मानिसलाई मजबुत बनाउँछ, चाहे उ जति नै कमजोर किन नहोस् ।’ त्यही पीडा,, दुःख र गरिबीलाई आत्मसाथ गर्दै देवी दाहाल अगाडि बढिरहिन् । उनी आफ्नो पथमा अडिक रहिन् । संघर्षको फल मिठो हुन्छ भनेजस्तै देवी दाहालको जीवन पनि साँच्चिकै लोभलाग्दो र उत्तिकै प्रेरणादायी पनि छ । हिजो गाउँमा सबैले हेप्ने, नटर्ने देवी दाहाललाई आज सबैले विश्वासिलो र भरपर्दो नेतृत्वको रुपमा उनलाई चिन्ने र बुझ्ने गर्छन् । हिजो अरुको घरमा भाडा माझेर पेट पाल्ने देवी आज अरुलाई सीप सिकाउने र कसरी स्वरोजगार बन्ने भन्ने सिकाइरहेकी छिन् । देवी दाहालको जीवनको यात्रामा सफल बनाउनको लागि टर्निङ प्वोइन्ट बन्यो मौरी व्यवसाय । हो, मौरीकै कारण अहिले उनको जीवन फेरिएको मात्र होइन सम्पन्न पनि भएको छ । कुनै संघर्षशिल महिलाको उदाहरण दिँदा देवी आजभोलि आफ्नै उदाहरण दिन्छिन् । आफ्ना संघर्षका पाइलाहरु बताउँदै सुन्ने मानिसलाई भावबिभोर पार्छिन् उनी । विश्वास गर्नु हुन्छ ? हिजो बिहान बेलुका छाक टार्न माइती वा छिमेकीलाई गुहार्ने उनी आज लाखौं रुपैयाँ कमाउँछिन् । उनीसँग लाखौं रुपैयाँ बराबरको सम्पत्ति छ । उनले आफु मात्र होइन आफु जस्तै अन्य महिलाई पनि कमाउने र स्वावलम्बी बनाउन सफल भएकी छिन् । झापाको शिवसताक्षी नगरपालिका ११ दुधेकी देवी कुमारी ओली दाहाल आजभन्दा १७ वर्ष अगाडि के खाउँ र के लगाउँ भन्ने अवस्थामा थिइन् । तर, अहिले भने उनको जीवन मौरीले हराभरा बनाएको छ । २०६० सालतिर शिवसताक्षीका महिलाहरु पुरुषमै निर्भर थिए । उनीहरु चुल्हो चौकामै सीमित थिए । पुरुषले कमाएर ल्याएको पैसाले घर खर्च चलाउँथे । तर, त्यसयता भने उनीहरु स्वरोजगार मात्र होइन अरुलाई रोजगारी पनि दिने अवस्थामा पुगेकी छन् । शिवसताक्षीका स्थानीय केही अगुवाहरुको सल्लाहमा २०६३ सालमा उनीहरुले एक सहकारी खोले । नाम राखियो श्री सतासी महिला मौरी पालन सहकारी संस्था । त्यो सहकारीमा देवी दाहालले पनि काम गर्ने अवसर पाइन् । त्यो समय नै देवी दाहालको जीवनमा टर्निङ प्वाइन्ट बन्यो । उनी भन्छिन्, ‘त्यो मेरो लागि स्वर्मिण समय हो ।’ उनले शुरुमा दुई घारबाट मौरीपालन व्यवसाय शुरु गरिन् । त्यो दुई घार मौरीले आफ्नो जीवन परिवर्तन मात्र होइन हराभरा र सम्पन्न बनाएको उनी बताउँछिन् । दाहालले मौरी व्यवसाय गरेको १७ वर्ष भइसकेछ । ‘ती दिनहरु हिजो जस्तै लाग्छन्, बाबुनानीहरुले भोक लाग्यो भन्दा कुनै काममा भुलाउनु पर्थ्यो, बस्ने घर समेत माइतीले दिएको थियो, श्रीमानको कुनै सम्पत्ति थिएन, धेरै संघर्ष गरियो, संघर्ष गर्दा फल पनि मिठो पाइने रहेछ भन्ने मैले बुझे,’ विगतका दिनहरु सम्झिदै दाहालले भनिन् । मौरी व्यवसाय गरेको यो १७ वर्षको यात्रामा पछाडि फर्केर हुर्नु पर्ने अवस्था नआएको उनी बताउँछिन् । उनी निराश हुँदै भन्छिन्,‘ दुःख पर्दा आफन्त पनि विरानो हुने रहेछ, जुन मैले लामो समय अनुभव गरेँ ।’ ‘अहिले मेरो दुई छोराछोरी छन्, दुवैले बिहे गरिसके, श्रीमान गाडी लाइनमा काम गर्नुहुन्छ, सबै आ–आफ्नै काममा छौं, कसैले कसैलाई माग्नु पर्दैन, जीवन अझै संघर्षमै छ,’ देवी भन्छिन्, ‘अहिले मलाई ४४ वर्ष पुग्यो, संघर्ष गर्ने दिनहरु अझैँ बाँकी छन् ।’ उनी छोराछोरीलाई पेटभरी खाना खुवाउनलाई पनि अरुको घरमा काम गरेको बताउँछिन् । आफ्नो घर नभएरै धेरै समय भाडमा बसेको अनुभव भएको पनि उनी बताउँछिन् । ‘सायद म गरिवको पनि गरिव थिएँ, म भन्दा कोही पनि गरिब थिएन होला, अहिले मेरो जीवन आकाश पातालको फरक छ, मौरी व्यवसायबाटै सिजनमा ३५ लाख रुपैयाँ कमाउँछु, २ घारबाट सुरु गरेको मौरी अहिले ३ सयभन्दा बढी घार छन्, धेरैले मबाट नै काम सिके, अहिले आफ्नो संघर्ष देख्दा खुसी लाग्छ,’ उनले भनिन् । अहिले देवी दाहाल सतासी महिला मौरी पालन सहकारी संस्थाकी व्यवस्थापकको रुपमा पनि काम गर्छिन् । उनका अनुसार उनले मौरी व्यवसायबाटै घरजग्गा जोडेकी छिन् भने लाखौं रुपैयाँ पनि कमाएकी छिन् । मौरी व्यवसायले देवी दाहाल मात्र होइन सतासी महिला मौरी पालन सहकारी संस्थामा आवद्ध ३२० जना महिलाको नै जीवन फेरिएको छ । उनीहरु स्वरोजगार मात्र होइन स्वावलम्बी पनि बनेका छन् । सो सहकारीमा आवद्ध प्रत्येक महिलाले न्यूनतम ५ देखि अधिकतम ३०० घारसम्म मौरी पालेका छन् । देवी जस्तै संर्घषको यात्रामा छिन् सोही सहकारी संस्थाकी अध्यक्ष धनमाया थापा पनि । विपन्न परिवारकी धनमाया अहिले सहकारी नै हाँकेकी छिन् । अहिले उनले पनि २ सयभन्दा बढी मौरी घारहरु बनाएर स्वरोजगार बनेकी छिन् । मौरीपालनमा लाग्नु अगाडि कुनै पनि आम्दानी नभएको बताउने धनमाया अहिले सिजनमा लाखौं रुपैयाँ कमाउने भएकी छिन् । उनले मौरी व्यवसाय गरेरै छोरीलाई नर्सिङ पढाएको बताइन् । उनका अनुसार उनले सिजनको २० लाख रुपैयाँसम्म कमाउँछिन् । संस्थाले स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउन शुरुमा दुई घार मौरी धरौटी दिई व्यवसाय गर्न लगाउने र त्यसपछि ती दुई घार सहकारीलाई नै फिर्ता गरी त्यसबाट गरेको नाफाका घारहरु आफैले नै राखी व्यवसाय गर्दै आएका छन् । धनमायाका अनुसार महिलाहरुले उत्पादन गरेको मह सहकारीले नै खरिद गरी प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पुर्याउने काम गरेको छ । संस्थाका अनुसार प्रतिकेजी महको मूल्य न्यूनतम ३ सयदेखि ५सयसम्म पर्ने गरेको छ । थापाले तोरी, फापर र जंगली जडिबुटीको मह उत्पादन गर्ने गरेको बताइन् । सतासी महिला मौरी पालन सहकारी संस्थाले उत्पादन गरेको मह पूर्वका विभिन्न जिल्लादेखि पश्चिम दाङसम्म पुग्ने गरेको थापाले बताइन् । उनले मौरीको महले विभिन्न रोगहरु पनि निको पार्ने बताइन् । संस्थाका अनुसार यो सिजनमा ४ करोड रुपैयाँको मह बिक्री भइसकेको छ । सिजनमा ६० टन जति मह उत्पादन हुने उनीहरुको भनाई छ । गत वर्ष भने कोरोना भाइरसको कारण मौरीलाई हिँडडुल गराउन नसकिएकाले ३० टन मात्रै मह उत्पादन भएको थियो । हाल सो सहकारीले १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । संस्थाका अनुसार एक घारबाट सिजनमा ३० देखि १ सय केजीभन्दा बढी मह उत्पादन हुने गरेको छ । मौरी व्यवसायले शिवसताक्षीका महिलाहरु खुसी छन् । स्वदेशमै काम नपाएरै विदेश जाने सोच भएकाहरुलाई पनि स्वदेशमै केही काम गर्न उनीहरु सुझाव दिन्छन् ।