अनामनगरमा यस्तो बन्यो ७३ करोड लागतमा महालेखाको १० तले अत्याधुनिक भवन
काठमाडौं । महालेखा परीक्षकको कार्यालयका लागि काठमाडौंको अनामनगरमा अत्याधुनिक भवन निर्माण भएको छ । भवन निर्माणको कार्य सकिएकोले मंसिर ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । २०७२ को शक्तिशाली भूकम्पको कारण महालेखाको बबरमहलमा भएको भवनमा क्षति पुगेर प्रयोग गर्नै नसक्ने अवस्था आएपछि अनामनगरमा नयाँ भवन बनाइएको हो । कार्यालयले २०७३ साल साउन ३१ गते लुम्बिनी/गौरी पार्वती शान्ति जेभीलाई भवन निर्माणको ठेक्का दिएको थियो । सुरुमा सो भवन बनाउनको लागि ७८ करोड २० लाख ६६ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । यद्यपि, ठेकेदारसँग सुरुमा ६१ करोड २७ लाख १७ हजार रुपैयाँमा भवन निर्माणको सम्झौता भएको थियो । ठेकेदारलाई भेरियसन वापद सुरु ठेक्का रकमको ६.६६ प्रतिशत रकम थप गरी कुल ७३ करोड ९ लाख ४३ हजार रुपैयाँमा सो भवन निर्माण भएको हो । महालेखा परीक्षकको कार्यालयका सहप्रवक्ता नेत्रप्रसाद पौडेलले दिएको जानकारी अनुसार भवन निर्माणको लागि ठेकेदारसँग सम्झौता हुँदा २०७६ साल भदौ २० गतेभित्र भवन निर्माण सम्पन्न गर्ने भनिएको थियो । तर, समयमै तोकिएको समयभित्र भवन निर्माण सम्पन्न नभएपछि ४ पटक म्याद थप गरेर यही कात्तिक मसान्तभित्र भवन बनाइसक्ने सम्झौता भएको थियो । सो भवन ७ रोपनी क्षेत्रफलको जग्गामा बनेको छ । भवनमा बेसमेन्ट सहित १० तला छन् भने अण्डर ग्राउन्ड २ तलाको छ । जसलाई पार्किङको लागि प्रयोग गरिनेछ । सो पार्किङमा ५० वटा ४ पांग्रे सवारी साधन र २४० वटा दुई पांग्रे सवारी साधन अट्ने छन् । भवनको भुईतलामा रिसेप्सन, पुस्तकालय, सोधपुछ कक्ष र चमेनागृह हुनेछ भने पहिलो तलामा फाइल व्यवस्थापन कक्ष बनाइएको छ । दोस्रो तलामा महालेखा परीक्षकको कार्यकक्ष, ७५ जना अट्ने क्षमताको बैठक कक्ष र विशिष्ट व्यक्ति भेटघाट कक्ष हुनेछ । अन्य तलाहरुमा कार्यालयका विभिन्न विभागहरु हुनेछन् । कार्यालयमा १ जना महालेखा परीक्षक, ४ जना उपमहालेखापरीक्षक, १८ जना नायब महालेखापरीक्षक सहित ६४३ जनाको दरबन्दी छ । बबरमहलमा रहेको भवनमा भूकम्पबाट क्षति पुगेपछि कार्यालयले बबरमहलको आफ्नै भवनका प्रयोग गर्न मिल्ने कोठाहरु तथा पुल्चोक, ताहाचल, अनामनगर र डिल्लीबजारमा भवन भाडामा लिएर कार्यालय संचालन भइरहेको छ । अनामनगरमा रहेको भवन बनिसकेपछि कार्यालयका विभिन्न स्थानमा रहेका विभागहरु सोही स्थानमा सार्ने योजना रहेको छ । भवनका विशेषता सो भवन परम्परागत र आधुनिक ढाँचाको संयुक्त आवरणको छ । पार्किङको लागि दुई तला छन्, जसमा २४० वटा दुई पांग्रे सवारी साधान र ५० वटा ४ पांग्रे गाडी अट्ने छन् । यस्तै, भवनमा २ सय जना अट्ने क्षमताको सभाकक्ष छ भने खुल्ला कार्यकक्षको अवधारणमा बनाइएको छ । फाइल व्यवस्थापनको लागि एकीकृत कक्षको व्यवस्था गरिएको छ ।
एउटा कोठाबाट सुरु भएको भाटभटेनीको यात्राः अबको लक्ष्य १ नम्बर करदाता बन्ने, आईपीओ निकाल्ने
भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ काठमाडौं । कात्तिक ११ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटा सफल व्यवसायिक ग्रुपको विगत सम्झिए । उनले सम्झिएको सफल व्यवसायिक ग्रुप भाटभटेनीको व्यवसायिक यात्रा थियो । गभर्नर अधिकारी भाटभटेनीमा क्युआर कोडबाट भुक्तानीको उद्घाटन कार्यक्रममा सहभागी थिए । गभर्नर अधिकारीले भनेका थिए– म सम्झिन्छु, त्यो बेला हामी बालुवाटार अफिस (राष्ट्र बैंकको) बाट फर्किँदा ब्रेड, बटर, फेन्टा कोक किन्थ्यौं, सानो पसल थियो, आज यत्रो ठूलो बनेको छ, एकदमै खुसी लागेको छ । उनी यतिमै रोकिएनन् । थपे– सानो पसलबाट सुरु भएको भाटभटेनी आज अन्तर्राष्ट्रियस्तरको सुपरस्टोर बनेको छ, कतिपय स्थानमा त पर्यटकीय स्थलसमेत भएको छ, इटहरीको भिडियोहरु सामाजिक सञ्जालमा देख्दा घुम्नका लागि पनि मान्छेहरु भाटभटेनी स्टोर छिरेको देखिन्छ । गभर्नर अधिकारी राष्ट्र बैंकको कर्मचारी थिए । उनी कार्यकारी निर्देशक हुँदै एक कार्यकाल डेपुटी गभर्नर बने । डेपुटी गभर्नरबाट बाहिरिएको करिब ४ वर्षपछि अधिकारी फेरि गभर्नरको रुपमा राष्ट्र बैंक पुगे । राष्ट्र बैंकको नजिकै रहेको भाटभटेनीको प्रगति देखिरहेका साक्षीमध्ये गभर्नर अधिकारी एक हुन् । त्यसैले उनी भाटभटेनीको १० बाई १२ फिटको कोठबाट सुरु भएको सफलताको उडान सम्झिरहेका थिए त्यो बेला । गभर्नर अधिकारीले पुरानो प्रसंगसँगै नयाँ प्रगतिको प्रशंसा गरेपछि भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ पनि उत्साही भए । आफ्नो मन्तव्यका क्रममा अध्यक्ष गुरुङले भने– भाटभटेनी देशकै नम्बर वान करदाता बन्ने लक्ष्यका साथ अघि बढिरहेको छ, रोजगारी सिर्जनामा पनि नम्बर वान हुने लक्ष्य छ । अध्यक्ष गुरुङले कात्तिक ११ गते सुनाएको करदाताको रुपमा नम्बर वान हुने लक्ष्य पुरा भएको मंसिर १ गते सरकारले स्पष्ट पारिदियो । १०औं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आन्तरिक राजस्व विभागले भाटभटेनी सुपरमार्केटलाई वस्तु व्यापारतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मान गरेको छ । अर्थात वस्तु व्यापार गरेर सबैभन्दा बढी कर तिर्ने कम्पनीहरुमा भाटभटेनी नम्बर वान बनेको छ । उत्कृष्ट करदाता सम्पान ग्रहण गर्दै कार्यकारी निर्देशक कल्याण गुरुङ तर, अध्यक्ष गुरुङ अहिलेको सफलता आंशिक मात्रै भएको बताउँछन् । ‘हामी वस्तु व्यापारतर्फ बढी कर तिर्ने कम्पनी भएका मात्रै हौं, समग्रमा बढी कर तिर्ने कम्पनी बन्ने हाम्रो लक्ष्य हो, रोजगारी प्रदान गर्ने सुचकमा पनि हामी एक नम्बर नै हौला, अहिले हामीले करिब ७ हजार जनालाई प्रत्येक्ष रोजगारी दिइरहेका छौं, बढी बुझाएर र बढी रोजगारी सिर्जना गरेर सरकारलाई सहयोग गर्ने हाम्रो लक्ष्य हो, यो लक्ष्य प्राप्त गर्न हामी अघि बढिरहेका छौं,’ अध्यक्ष गुरुङले विकासन्युजसँग भने । २०७६ जेठ ५ गते भने अध्यक्ष गुरुङले विकासन्युजसँगको कुराकानीमा बेग्लै कुरा सुनाएका थिए । उनले भनेका थिए– हामी नेपालको सबैभन्दा बढी कर तिर्ने तेस्रो कम्पनी बन्ने लक्ष्यका साथ अघि बढेका छौं । तर, अहिले उनी यो कुरा पुरानो भएको र अब नम्बर वान करदाता बन्ने लक्ष्य राखिएको सुनाउँछन् । पब्लिक कम्पनी बन्ने, आईपीओ निकाल्ने अध्यक्ष गुरुङले भाटभटेनी सुपरमार्केटले चाढै सर्वसाधारणको लागि आईपीओ जारी गर्न लागेको बताए । ‘हामीले २०७६ सालमै ३ वर्षभित्रमा आईपीओ जारी गरिसक्ने भनेका थियौं, कोभिड महामारीको कारण केही ढिला भयो, अब कोभिड संक्रमण र त्रास कम हुँदै गएको छ, आईपीओ जारी गर्ने तयारीमा हामी जुटिसकेका छौं, केही वर्षभित्रै भाटभटेनीको आईपीओ आउँछ,’ अध्यक्ष गुरुङले थपे । उनले करिब ३७ वर्षअघि नेपाल बैंकको स्थायी जागिर छोडेर काठमाडौंको नक्साल नजिकै भाटभटेनीमा ग्रोसरी व्यवसाय शुरु गरेका थिए । भाटभटेनीमा २० अर्ब रुपैयाँ भन्दा बढी लगानी भईसकेको छ भने करिब ७ हजारले रोजगारी पाएका छन् । वस्तु उत्पादक तथा आपूर्तिकर्ताको लागि पनि भाटभटेनी सुपरमार्केट महत्वपूर्ण बजार हो । भाटभटेनीमा २५ सय भन्दा बढी बस्तु आपूर्तिकर्ता छन् । त्यसमा करिब ४५० नेपाली सप्लायर्स रहेका छन् । खोटाङ जिल्लाको सामान्य किसान परिवारमा जन्मे हुर्केका मीनबहादुर गुरुङ नेपालको व्यवसायिक क्षेत्रमा पायोनियर नै बनेका छन् । भाटभटेनी सुपरमार्केट शुरुवातसँगै यसलाई उचाईमा पुर्याउने कार्यमा उनले जुन सफलता हासिल गरेका छन्, त्यो सबै क्षेत्रका व्यवसायीहरुको लागि प्रेरणादायी नै रहेको छ । सम्बन्धित समाचार भाटभटेनीको सेयर बेचेर सबै नेपालीलाई व्यापारमा जोड्ने योजना, ५० हजार जनाले रोजगारी पाउने संकटमै भाटभटेनी ग्रुपको छलाङः ईटहरीमा १ अर्ब लागतको आउटलेट, दशैंअघि नै सञ्चालनमा
साढे ८ लाख पूँजी र १० जनाबाट सुरु भएको नेपाल बैंकः जेठो बैंक, तन्नेरी कर्मचारी
काठमाडौं । आजभन्दा ८४ वर्ष अगाडि नेपालमा बैंकिङ अभ्यास कस्तो थियो होला ? आम सर्वसाधारणलेअहिले जस्तो बैंकमा निक्षेप जम्मा गर्ने र कर्जा लिने काम ८४ वर्ष अगाडि पनि गर्थे होला त ?कि ‘बैंक’ शब्द नै थाहा थिएन होला ? यी र यस्तै विविध प्रश्नतथा जिज्ञासाहरु नयाँ पुस्ताका लागि मात्रै होइन नेपाली बैंकिङ इतिहासका लागि पनि महत्वपूर्ण र उत्तिकै अपरिहार्य छन् । अहिले नेपाली बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक, २७ वटा वाणिज्य बैंक, १८ वटा विकास बैंक, १७ वटा वित्तीय संस्था र २ सयभन्दा बढी लघुवित्त संस्थाहरुको विकासको एक मात्रै जगहो नेपाल बैंक लिमिटेड । नेपाल बैंक नेपालको सबैभन्दा पुरानो बैंक मात्रै होइन नेपाली बैंकिङ अभ्यासलाई यो अवस्थासम्म पुर्याउनका लागि ठूलो योगदान गरेको एक धरोहर पनि हो । सोही नेपाल बैंक मंगलबार आफ्नो ८५ औं वार्षिकोत्सब मनाउँदैछ । ८४ वर्ष पार गरेर ८५ वर्षमा पाइँला टेकेको नेपाल बैंकले यो ८४ वर्षको अवधिमा विविध आरोह अवरोह तथा उतारचढावहरु पनि सामना गरेको छ । वि.स १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकको स्थापनामा पहलकर्ता तत्कालिन राजा श्री ५ त्रिभुवन बीर विक्रम शाह हुन् । तत्कालिन समयको तेजारथ अड्डालाई प्रतिस्थापन गर्दै नेपाल बैंक खोलिएको बैंकको भनाई छ । ८ लाख ४२ हजार पूँजी नेपाल बैंकका अनुसार वि.स १९९४ सालमा नेपाल बैंक ८ लाख ४२ हजार रुपैयाँ पूँजीमा स्थापना भएको हो । तत्कालीन साहु महाजनहरुका निजी डिलर तथा ब्यापारिक केन्द्रमा सीमित रहेको वित्तीय कार्यहरु (मौद्रिक लेनदेन) लाई औपचारिक माध्यमबाट सञ्चालन गर्नु, जनताहरुमा बचत गर्ने बानीको विकासगर्दै उद्योग व्यवसायका लागि कच्चा पदार्थ आयातगर्न, देशमा उत्पादित वस्तुहरु निकासी गर्न मद्धत पुगोस् भन्ने अभिप्रायले सरकार तथानिजी क्षेत्रको संयुक्त लगानीमा नेपाल बैंक स्थापना गरिएको नेपाल बैंकका प्रवक्ता प्रकाश अधिकारी बताउँछन् । उनका अनुसार बैंकिङ क्षेत्रको अवधारणानै बुझ्ननसकिएको सो समयमा अधिकृत पूँजी १ करोडमा निजी क्षेत्रको ६० प्रतिशत र सरकारको ४० प्रतिशत लगानी गर्ने गरी २५ लाखको सेयर जारी गरिएको थियो । सो सेयरमा १० जना सेयरधनीबाट कुल ८ लाख ४२ हजार मात्रै लगानी भएको बुझिएको छ । ‘त्यतिखेर धेरैलाई बैंक भनेकै थाहा थिएन, निक्षेप संकलन र कर्जा लगानी गर्न पनि गाह्रो नै पथ्र्यो होला, स्थापनाको पहिलो वर्षमा १७ लाख रुपैयाँ निक्षेप, १९ रुपैयाँ कर्जा र १४ हजार रुपैयाँ बचत रहेको भेटिएको छ,’ प्रवक्ता अधिकारीले भने । उनका अनुसार बैंकको स्थापनाकालमा बैंकको अध्यक्षको रुपमाकेशर शम्सेर जबराले र प्रमुखकार्यकारी अधिकृतको रुपमाठाकुर सिंह कठायतले काम गरेको भेटिएको छ । स्थापनाको वर्षमा १२ जना कर्मचारीबाट काम भएको उनको भनाई छ । प्रवक्ता अधिकारीले बैंक स्थापना हुँदा तत्कालीन प्रधानमन्त्री जुद्ध शमसेर जबराले श्री ५ को कृपापूर्ण अनुमतिमा राष्ट्रको बृहत्तर हितमा हुन लागेको यो बैंक स्थापनाको काम आफ्ना लागि स्मरणिर गर्वको क्षण भएको भन्दै सम्बोधन गरेको दस्तावेजमा उल्लेख छ । दस्तावेजमा उल्लेख भए अनुसार उनले भनेका छन्, ‘बैंक खोल्न नसकिएको यस समयमाराष्ट्रको आवश्यकता पुरा गर्न स्थापित यस बैंकले धनी र गरिब जनतालाई सेवाप्रदानगर्ने र राष्ट्रको विकासमा योगदानपुर्याउने बिश्वास ब्यक्त गरेको छु ।’ नेपाल बैंकको नजिर नेपाली बैंकिङ क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण छाप बसालेको नेपाल बैंकले केही महत्वपूर्ण काम पनि गरेको छ । बैंक भनेको थाहा नभएका आम सर्वसाधारणहरुलाई बैंकिङ सिकाउनेदेखि भारतीय मुद्रा विस्थापन गर्नसम्म भूमीका खेलेको नेपाल बैंक अहिले पनि संस्थागत सामाजिक उत्तरदायित्वमा अगाडि नै छ । स्थापनाको १९ बर्षसम्म राष्ट्रको केन्द्रिय बैंक समेतको कार्य गर्दै नियामक निकायको भूमिका निभाउँदै आएको नेपाल बैंक अहिले एक वाणिज्य बैंकका रुपमा काम गरिरहेको छ । वि.स २०२२सालसम्म नेपालमा एकलभूमिका रहेको नेपाल बैंकले नेपालभर बैंकिङ सेवा विस्तार गर्न, भारतीयमुद्राको प्रचलन हटाउन, अन्तर्राष्ट्रिय ब्यापार/कारोबार अभिवृद्धि गर्न अहम भूमिका खेलेको प्रवक्ता अधिकारीको भनाई छ । उनका अनुसार राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको स्थापना भएपछि देशभर बैंकिङ सञ्जाल स्थापनागर्ने तत्कालीन सरकारको नीतिबमोजिम नेपाल बैंकले पनि आफ्नो शाखा सञ्जाल विस्तार गर्दै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि महत्वपूर्ण काम गरेको बताउँछन् । ‘ऋण साहुबाट भन्दा पनि बैंकबाट लिनु पर्छ भन्ने पाठ नेपाल बैंकले नै सिकाएको हो, सुरुवाती दिनमा लेजर बुक, धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने, कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने, रुपैयाँ, पैसा घडा तथा बाकसमा हैन बैंकमा राख्नुपर्ने अवस्था थियो, अहिले हामी डिजिटल बैंकिङ मार्फत कारोबार र प्रतिस्पर्धा गरिरहेका छौं,’ अधिकारीले विकासन्युजसँग भने । उनका अनुसार नेपाल बैंक सरकारी लगानीको बैंक भएपनि अहिले निजी लगानीका बैंकहरुसँग प्रतिस्पर्धा गरेर अगाडि बढिरहेको छ । यस्तै, उनले नेपाली बैंकिङ इतिहासमा नेपाल बैंकले एक एजिर राखेको बताए । ‘विभिन्न समयमा हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान कार्यक्रम गर्ने, महिला सशक्तीकरण सम्वन्धि कार्यक्रम गर्ने, विपन्न वर्ग लक्षित स्वास्थ्य सुधार कार्यक्रम ल्याउने, असहाय बालबालिकाहरूलाई सहयोग गर्नेदेखि विश्व महामारीको रुपमा फैलिएको कोरोनाको समयमा पनि धेरै सहयोग गर्यौं, विभिन्न संघ–संस्थाहरुलाई आर्थिक सहयोग पनि गर्यौं, उनले भने । बैंकमा आइलागेको त्यो संकट उसो त नेपालका धेरै सरकारी लगानी रहेका संस्थानहरु अहिले पनि नोक्सानमा छन् । सरकारी लगानी रहेका धेरै संस्थाहरुलाई निजिकरण गर्नु पर्ने माग पनि नउठेको होइन । तर, जसोतसो ती संस्थाहरु चलिरहेका छन् । वर्षेनी करोडौंको घाटा व्यहोरेर सरकार पनि ती संस्थाहरु प्रति उदार बनिरहेको छ । यस्तै, संकट एकताका नेपाल बैंकमा पनि आइलाग्यो । वि.स २०४६/४७ को राजनैतिक परिवर्तन पश्चातनिर्वाचित नेपाली काँग्रेस सरकारले अबलम्वन गरेको नीजिकरण नीतिले निजीक्षेत्रलाई बैंक तथा वित्तीय संस्थाहरु स्थापनागर्न प्रोत्साहन मिल्यो । परिणामस्वरुप मुलुकमा दर्जनौ वाणिज्य बैंकहरुको स्थापना भयो । बैंकिङ बजार निकै प्रतिस्पर्धामा होमियो ।धेरै पुँजी, नयाँ शैली र पृथक जोश जाँगरका साथ स्थापना भएर बजारमा प्रतिस्पर्धामा उत्रिका बैंकहरुका बिच नेपाल बैंकको केही चलेन । एकातिर बढ्दो प्रतिस्पर्धा र अर्कोतर्फ देशमा राजनैतिक अस्थिरताका कारणले नेपाल बैंकको बजार क्रमशः संकुचित हुनथाल्यो । नेपाल बैंकका कर्मचारीहरु पुरानै ढर्राबाट सञ्चालित हुनु, परिर्वतनलाई स्वीकार गरी सोही बमोजिम आफुहरुई पविर्तन गर्न नसक्नु, नयाँ–नयाँ प्रोडक्टहरु बजारमा ल्याउन नसक्नु, नेपाल राष्ट्र बैंक द्वारा जारी नयाँ–नयाँ नीति निर्देशनहरु अंगिकार गर्न कठिनाई हुँदै जानु, अधिक राजनैतिक हस्तक्षेप हुनु, कर्जा लगानी गर्दा भएका बदमासीपूर्ण निर्णयहरु र तत्कालीन समयमामा माओवादीबाट भएको जनयुद्ध लगायत विविध कारणले नेपाल बैंकको बिजनेस घट्दै गयो । र,परिणाम स्वरुप बैंक थप संकटमा जान थाल्यो । बैंकका अनुसार आर्थिक वर्ष २०५७/५८ मा नेपाल बैंक ठूलो आर्थिक जोखिममा पर्यो । बैंकका विभिन्न शाखाहरुमा ठूलो नोक्सानी भयो । आर्थिक वर्ष २०५८/५९ मा बैंकको जम्मा निक्षेप ३४ अर्ब, कर्जा १९ अर्ब, लगानी ७ अर्ब, खराब कर्जा करिब ५७ प्रतिशत, खुद सम्पत्ति करिब ९.५ अर्बले नकारात्मक हुन पुग्यो । बैंकको बार्षिक घाटा करिब ३ अर्ब, र करिब ९.९४ अर्बको नकारात्मक रिजर्ब एण्ड सरप्लस हुन पुग्यो । सो समयमा बैंकमा कुल ५ हजार ६ सय ५२ कर्मचारी थिए । बैंक नाजुक अवस्थामा पुगेपछि तत्कालीन सरकार बैंकबारे सोच्न बाध्य बन्यो । अधिक कर्मचारी भएपछि नेपाल सरकारले कर्मचारी अवकासको सुविधा ल्यायो । त्यसपछि पुराना कर्मचारी बैंकबाट बाहिरिन थाले भने नयाँले स्थान पाउँदै गए । बैंकका प्रवक्ता अधिकारीका अनुसार संकटमा रहेको नेपाल बैंक विघटन हुने अवस्थामा पुगेको थियो । सरकारले त्यतिखेरबैंक बिघटन गर्ने वा पूनरसंरचना गरी चुस्त स्फूर्त एबं प्रतिस्पर्धी बनाउने बिकल्पमध्ये सरकारले दोश्रो विकल्प छनौट गर्यो । त्यसपछि बिश्व बैंकबाट ऋण सहयोग समेत लिई वित्तीय क्षेत्र सुधार कार्यक्रम (आईसीसीएमटी) मार्फत नेपाल बैंकलाई सुधार गर्न सुरु गरियो । यति मात्रै होइन यो घटनाभन्दा अगाडि अर्थात नेपाल बैंकस्थापना कालको दोस्रो वर्षदेखि नै पहिलो संकटको सामना गर्नु परेको थियो । त्यति बेला तत्कालिन इष्ट इन्डिया सरकारले सञ्चालनमा ल्याएको कम्पनी रुपैयाँको भाउ निरन्तर घट्दै जाँदा नेपाल बैंकले विनिमय गर्नै नसक्ने अवस्था सिर्जना भएको थियो । जवकी त्यो बेला नेपाल बैंकको मुख्य व्यवसाय नै विनिमय थियो । नेपाल बैंकले भोगेको अर्को संकट भने प्रजातन्त्र स्थापनापछिको समय हो । राणा शासनको अन्त्यपछि सरकारमा राणाहरूको पहुँच गुमेसँगै अधिकांश शेयर हिस्सा राणा परिवारको भएको बैंकमा बैंक एकातिर लगानीकर्ता अर्कोतिरको जोखिमपूर्ण अवस्था पनि नेपाल बैंकका लागि संकटपूर्ण थियो । तत्कालिन नेपाल सरकारले ४० प्रतिशत रहेको आफ्नो सेयर हिस्सालाई बढाएर सेयर बेच्न चाहने सेयर खरिद गरेर सो संकट टारेको थियो । २०५८ को संकट भनेस्वेच्छिक अवकाशलागुगरी प्रबिधिमैत्रीनभएका र परिर्वतनअंगिकार गर्न नसक्ने कर्मचारीहरुको बर्हिगमन, खुल्ला प्रतिस्पर्धाद्वारा नयाँ प्रतिस्पर्धी र प्रबिधिमैत्री कर्मचारीहरुको भर्ना, खराब कर्जाको असुलीमा जोड, बैंक संचालनका लागि बिभिन्न निर्देशिकाहरु, म्यानुअलहरु लगायतको तर्जुमा, नयाँ प्रबिधिको कम्प्युटराईजेशन तथा नयाँ बैंकिङ्ग सफ्टवेयरको प्रयोग लगायतका कार्यको थालनी गरेपछि मात्रै नेपाल बैंक अहिलेको अवस्थामा पुगेको हो । बैंकको वर्तमान अवस्था बैंकले ८४ वर्षको अवधिमा विभिन्न आरोह अवरोहरु सामना गर्दै अहिले अन्य सरकारी तथा निजी बैंकहरुसँग प्रतिस्पर्धा गरिरहेको छ । सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको बैंक अहिले नयाँ–नयाँ प्रविधिको प्रयोगले आम ग्राहकहरुको मन जितिरहेको छ । नेपाली बैंकिङ बजारमा अत्याधुनिकप्रबिधिमैत्री, प्रभावकारी कर्मचारी र देशभर शाखा सञ्जाल भएको बैंकका रुपमा नेपाल बैंक परिचित छ । बैंकका अनुसार नेपाल बैंकको हाल १ प्रधानकार्यालय, ७ वटा प्रादेशिककार्यालय, २१३ शाखाकार्यालय, ४६ एक्स्टेन्सन काउण्टर, १४७ एटीएम बुथ रहेका छन भने २ हजार ४ सय ९० कर्मचारी छन् । हालसम्म बैंकको निक्षेप १७०.९४ अर्ब, कर्जा लगानी १६० अर्ब, नाफा ३ अर्ब भन्दा बढी कायम राख्न सफलभएको छ । बैंकले आधुनिक प्रबिधिलाई अपनाउँदै सेफ डिपोजिट लकर, मोबाईल बैंकिङ्ग, एटिएम कार्ड, क्रेडिट कार्ड, डिएमएसप्रबिधिबाट छिटो कर्जाको स्विकृति, पीओएस, क्यूआर कोडबाट भुक्तानी, इण्टरनेट बैकिङ्ग, अनलाईन एकाउण्ट ओपनिङ्ग, अनलाईन डिम्याट, नागरिक एप बाट खाताखोल्ने, बैंकको आफ्नै मोबाईल एप, अनलाईन केआईसी, बैंकको आफ्नै एनबीएल रेमिट जस्ता अत्याधुनिकप्रबिधिमैत्री प्रडक्ट तथा सेवाहरु बजारमाल्याएर आफुलाई अब्बल साबित गरिरहेको छ । हाल बैंकको कुल १२ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी, २१ अर्ब बढीको जगेडा कोष खडा गर्न सफल भएको छ भने २१ लाख बढी बैंकका ग्राहक छन् । यस्तो छ विगत ११ वर्षको नाफा आर्थिक वर्ष २०५८/५९ मा आर्थिक संकटमा पुगेको बैंक पछिल्ला वर्षहरुमा भने उल्लेख्य नाफा गर्दै आएको छ । नेपाल बैंकको विगत ११ वर्षको खुद नाफा हेर्ने हो भने अन्य वाणिज्य बैंकसँग निकै प्रतिस्पर्धा गरेको देखिन्छ । बैंकले आर्थिक वर्ष २०६७/६८ मा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेकोमा आर्थिक वर्ष ०६८÷६९ मा १७ करोड ६० लाख रुपैयाँ नाफा गरेको बैंकको वार्षिक प्रतिवेदनले देखाएको छ । यस्तै, अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा २ अर्ब ३३ करोड ३० लाख रुपैयाँ नाफा गरेको देखिएको छ भने गत आर्थिक वर्ष ०७७/७८ मा ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ नाफा गरेको छ । दुई दशकभन्दा बढी समयसम्म लाभांश वितरण नगरेको बैंकले आर्थिक वर्ष २०७६/७७ देखि सेयरधनीमा लाभांश वितरण समेत गर्न थालिसकेको बैंकले जनाएको छ । बैंकको उत्साहजनक वित्तीय परिसूचकहरुले गर्दा नै बैँकप्रति पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको पनि बैंकले जनाएको छ । जेठो बैंकमा तन्नेरी कर्मचारी बैंकका अनुसार आजभन्दा दुई दशक अगाडि बैंकमा अनावश्यक कर्मचारीको चापले नै बैंक बढी आर्थिक समस्यामा गएको थियो । पुराना, प्रविधिमैत्री नभएका र बैंकको विकासप्रति चासो नभएका कर्मचारीहरुको कारणले नै बैंक आर्थिक संकटमा परेको थियो । सो समयमा नेपाल बैंकमा साढे ५ हजार जना कर्मचारी थिए । पछि सरकारले स्वेच्छिक अवकासको नीति ल्याएपछि अधिकांश कर्मचारीको बिदाई भयो । अहिले बैंकमा २४ सय ९० जना मात्रै कर्मचारी छन् । यी कर्मचारीहरुमा अधिकांश नयाँ पुस्ता अर्थात युवा पुस्ताको भएको प्रवक्ता अधिकारी बताउँछन् । ‘नेपाल बैंकका कर्मचारीहरुको औसत उमेर ३२/३३ रहेको छ, हामीसँग २१ वर्षदेखि ५७ उमेर पुगेका कर्मचारीहरु हुनुहुन्छ, ४ जनाले यो आर्थिक वर्षभित्र अवकाश पाउँदै हुनुहुन्छ, त्यसपछि हाम्रो कर्मचारीको अधिकतम भनेको ५२ हुन्छ, नेपाल बैंकमा सबै युवा कर्मचारी हुनुहुन्छ, पुरानो बैंक भएपनि कर्मचारी सबै नयाँ पुस्ताको हुनुहुन्छ,’ अधिकारीले भने । पछिल्लो समय बढ्दो बैंकिङ प्रतिस्पर्धाका बीच पनि मुलुककै पुरानो बैंकले यत्तिको सफलता हासिल गर्नुमा आम सेवाग्राही र कर्मचारीहरुको भूमीका र सेयरधनीहरुको साथ नै रहेको उनको भनाई छ । आगामी योजना नेपाल बैंकले आगामी दिनमा थप शसक्त भएर काम गर्ने योजना रहेको बताएको छ । समयसापेक्ष तथा गुणस्तरिय सेवाका लागि बैंक सधैं प्रतिवद्ध रहेको प्रवक्ता अधिकारीको भनाई छ । ‘अहिले बैंकिङ क्षेत्र लगायतमा प्रविधिको विकास बढ्दो छ, हामी पनि समयसँगै प्रविधिको प्रयोगको विषयलाई जोड दिइरहेका छौं, कसरी सेवाग्राहीलाई छिटो छरितो र गुणस्तरिय सेवा दिन सकिन्छ त्यसमा हामी लागि पर्छौं, हामीले थप योजना र रणनीति बनाएर अगाडि बढिरहेका छौं,’ उनले भने । उनका अनुसार नेपाल बैंकले केही नयाँ एटीएमहरु थप गरेर व्यवसाय बढाउने योजना पनि गरिरहेको छ । अब केही दिनमै धेरै शाखाहरुमा एटीएम बुथ जडान हुनेछन् । उनले कोर बैंकिङ्ग सिस्टम मार्फत बैंकका कृयाकलापहरु अझ बढी डिजिटलाईजेशनगर्दै सेवाग्राहीलाई सेवा दिने योजनामा बैंक रहेको योजना सुनाए । उनले बैंकको ८५औँ वार्षिकोत्सवको अवसरमो थप प्रतिवद्धताहरु समेत गर्ने बताए । हरेक स्थानीय तहमा वित्तीय साक्षरता प्रदान गर्ने तथा वित्तीय पहुँच अभिवृद्धि गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै बैंकले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमीका खेल्ने काम गर्ने समेत बताए । उनका अनुसार भिसासहित एटीएम, डेबिट कार्ड, क्रेडिट कार्ड एनिब्रान्च बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, बिल भुक्तानी सेवा लगायतका सेवामा बैंक सधैं अग्रणी स्थानमा रहेको छ ।