एनआईसी एशिया, ग्लाेबल आईएमई र नविललाई पछि पार्दै हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक, साना बैंकहरू दवावमा
काठमाडाैं । बिहीबार हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भयो । दुई बैंकको लामो प्रयासपछि नेपाली बैंकिङ क्षेत्रमा बिग मर्जरको दाेस्राे प्रयासले अाैपचारिक बाटाे तय गरेकाे छ । इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्दै मर्जरपछिको बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि’ प्रस्तावलाई सहर्ष स्वीकार गर्दै बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणालाई बनाउने रहने सहमति गरे । यी दुई बैंकको मर्जरपछिको एकिकृत कारोबार दुई महिनाभित्र हुनेछ । दुई पुराना र सबल बैंकबीचकाे चलेकाे याे मर्जर प्रकिया सफल हुनेमा बजार विश्वस्त पनि छ । यसले नेपाली बैंकिङ क्षेत्रमा एक किसिमको तरंग ल्याएँदैछ, जुन ढेड वर्षअघि ग्लाेबल र जनता बैंकबीच भएकाे मर्जले ल्याएकाे तरङ्ग भन्दा ठूलाे हुन्छ । मर्जपछि हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक नेपालकाे सबैभन्दा ठूलाे बैंक बन्ने दावी बैंकका प्रर्वद्धक तथा उच्च व्यवस्थापकले गरेका छन् । याे भनाइले एनआईसी एशिया बैंक, ग्लाेवल आईएमई बैंक र नबिल बैंककाे नेतृत्वलाई तनाव थपकाे छ । पुँजी, व्यवसाय, नेटवर्क, नाफाकाे हिसावले नम्बर वान बन्ने तीन बैंककाे प्रतिस्पर्धामा हिमालयन एण्ड इन्भेष्टमेन्ट थपिएकाे छ । पूर्ण सरकारी स्वामित्वकाे राष्ट्रिय वाणिज्य बैंक अरू भन्दा कम छैन । दुई महिनापछि हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो । बैंकको कुल पुँजी पनि अन्य २५ वाणिज्य बैंकको भन्दा बढी हुनेछ । वाणिज्य बैंकमा सबैभन्दा ठूलो बैंक बन्ने दावी गरेको हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक अधिकांश सूचकमा अगाडि हुनेछ । बैंकको पुँजी, निक्षेप संकलन र कर्जा लगानीमा सबैभन्दा अगाडि देखिए पनि अन्य सूचकहरुमा भने बैंकले अन्य बैंकहरूसँग प्रतिस्पर्धा गर्न थप कसरत गर्नु पर्ने तथ्यांकले देखाउँछ । निक्षेप र कर्जामा एनआईसी एशियासँग टक्कर एकिकृत कारोबारपछि हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप २ खर्ब ९८ अर्ब रुपैयाँ हुनेछ । बैंक निक्षेप संकलनमा अगाडि नै देखिए पनि यसको कडा प्रतिस्पर्धीका रुपमा एनआईसी एशिया बैंक देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको तथ्यांकको आधारमा एनआईसी एशिया बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । निक्षेपमा यी दुई बैंकबीच तुलना गर्दा हिमायन एण्ड इन्भेष्टमेन्ट बैंक एनआइसी एसिया बैंकभन्दा २३ अर्ब रुपैयाँले अग्रता कायम गर्नेछ । यस्तै, हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जा लगानीमा पनि एनआइसी एशियासँग नै प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ । बिग मर्जर गरेर सबैभन्दा ठूलो बैंक हुने दावी गरेपनि अहिले पनि सो बैंकसँग प्रतिस्पर्धा गर्न धेरै बैंक तयार छन् । कर्जामा मात्रै एनआइसी एशिया बैंक २९ अर्ब रुपैयाँले पछाडि छ । एनआइसी एशिया बैंकको कुल कर्जा लगानी २ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ गरेको छ भने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको कर्जा २ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ कायम हुनेछ । एनआइसी एशिया बैंकलाई पनि अब आफ्नो साख जोगाउन भने ठूलो चुनौती देखापरेको छ । एनआइसी एशिया बैंकलाई आफ्नो रफ्तार कायम गर्न अर्थात हिमायन एण्ड इन्भेष्टमेन्ट बैंकलाई जित्न थप आक्रामक बन्न सक्छ । एनआइसी बैंक र बैंक अफ एशियाबीच मर्जर भएर बनेकाे एनआईसी एशिया अर्काे मर्जकाे पक्षमा छैन । यस्तै, निक्षेप संकलन र कर्जा विस्तारमा यी दुई बैंकसँगै अन्य बलियो बैंकहरु पनि आक्रामक रुपमा अगाडि बढिरहेका छन् । कर्जा र निक्षेपमा ग्लोबल आईएमई बैंक तेस्रो नम्बरमा हुनेछ । कर्जामा नबिल चौथो र निक्षेपमा राष्ट्रिय वाणिज्य बैंक चौथो नम्बरमा हुनेछ । यी बैंकहरुलाई अब आफ्नो स्थान सुरक्षित गर्न कुनै बैंक तथा वित्तीय संस्थाको जरुरी पर्ने देखिएको छ । शाखामा विस्तारमा कृषि विकास बैंक आक्रामक हिमायन एण्ड इन्भेष्टमेन्ट बैंकले आफु सबैभन्दा बलियो र ठूलो बैंक भनेर दावी गरेपनि शाखा विस्तारमा भने कमजोर देखिएको छ । सो बैंक शाखा विस्तारमा चौधौं नम्बरमा छ । शाखा विस्तारमा सबैभन्दा अगाडि कृषि विकास बैंक छ । कृषि विकास बैंकको हालसम्म २ सय ७६ वटा शाखा छन् भने हिमायन एण्ड इन्भेष्टमेन्ट बैंकका १ सय ५२ वटा मात्रै छन् । शाखा विस्तारमा कृषि विकास बैंकसँग प्रतिस्पर्धा गर्न हिमायन एण्ड इन्भेष्टमेन्ट बैंकले धेरै कसरत गर्नु पर्ने देखिएको छ । अहिले वाणिज्य बैंकको शाखा संख्या ४ हजार १ सय २६ पुगेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार हालसम्म वाणिज्य बैंकहरुको शाखा सो संख्यामा पुगेको हो । हाल २७ वटा वाणिज्य बैंक सञ्चालन रहेकोमा ती बैंकहरुको शाखा संख्या न्यूनतम १२ देखि अधिकतम २ सय ७६ वटासम्म रहेको छ । शाखाको हिसावले दोस्रो नम्बरमा ग्लोबल आईएमई, तेस्रोमा एनआईसी एशिया, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा प्रभु बैंक छ । चुक्ता पुँजीमा ग्लाेबलले पछ्याउने ग्लोबल आईएमई बैंक पनि ठूलो मर्जर गरिसेकेको बैंक हो । ग्लोबल आईएमई बैंकले २०७६ असारमा जनता बैंकसँग मर्जर गरेको थियो । ठूलो बैंकसँग मर्जर गरेर पनि अहिले ग्लोबललाई फेरि पुँजीमा पहिलो स्थान हुनबाट रोक्दै हिमालयन एण्ड नेपाल इनभेष्टमेन्ट बैंक पहिलो बैंक बन्ने भएको छ । जसले ग्लोबललाई थप चाप पर्ने देखिन्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ छ । तर, अब बिग मर्जर गरेर आएको हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी भने २६ अर्ब ९४ करोड रुपैयाँ हुनेछ । यी दुई बैंकहरुसँगै अरु बैंकहरु पनि प्रतिस्पर्धाको दौडमा हुनेछन् । बढी चुक्ता पुँजी हुने बैंकको तेस्रो स्थानमा कृषि विकास बैंक, चौथोमो एनएमबि र पाँचौंमा प्राइम कमर्शियल बैंक हुनेछन् । चुक्ता पुँजी सबैभन्दा कम भएको बैंकको रुपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक देखिएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पुँजी न्युनतम ८ अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था मौद्रिक नीति मार्फत गरेको थियो । जगेडामा नेपाल बैंकको स्थान झर्यो सरकारी लगानी रहेको नेपाल बैंक हालसम्म सबैभन्दा ठूलो जगेडा कोष रहेको बैंकका रुपमा चिनिएको थियो । तर, अब भने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरले यसको स्थान तल झरेको छ । हाल नेपाल बैंकको जगेडा कोषमा १६ अर्ब ८४ करोड ५ लाख रुपैयाँ छ । तर ३ अर्बले अग्रता लिँदै हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकले अब जगेडा कोषमा सबैलाई पछि पार्नेछ । अब हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा कोष १९ अर्ब १४ करोड २९ लाख रुपैयाँको हुनेछ । जगेडा कोष ठूलो हुने तेस्रो बैंकका रुपमा राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंक पनि रहेको तथ्यांकले देखाउँछ । जगेडा कोषमा सबैभन्दा कम रकम रहेको बैंक भने सेञ्चुरी कमर्शियल बैंक देखिएको छ । सबै वाणिज्य बैंकका वित्तीय विवरण नियाल्दा बिग मर्जर गरेर बनेको हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकसँग प्रतिस्पर्धा गर्न एनआईसी एशिया बैंक, ग्लाेवल आईएमई बैंक र नबिललाई दवाव बढेकाे छ भने साना बैंकलाई टिक्नकाे लागि थप दवाव परेकाे छ ।
‘व्यापारले हात्ती पाल्छ, जागिरले श्रीमती पनि पाल्न सकिदैन’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल पक्कापक्की भइसकेका थिए । उनीसहित चेम्बरको नयाँ कार्यसमितिको नाम सार्वजनिक गर्न मात्रै बाँकी थियो । चेम्बर नयाँ कार्यसमितिको नाम सार्वजनिक गर्न ७० औं वार्षिक साधारणसभाको पखाईमा थियो । हामीले नवनियुक्त अध्यक्ष मल्ललाई त्यसको दुई दिन अगाडि चेम्बरकै बैठक कक्षमा भेट्यौं । बैठक कक्षमा अन्य सोफा सेटसहित दुई आकर्षक सेतो रङको सोफा पनि थिए । ती दुई सोफा एउटा अध्यक्ष र अर्को वरिष्ठ उपाध्यक्षको थियो । हामीले वरिष्ठ उपाध्यक्ष मल्ललाई फोटो खिचाउन अध्यक्षको सोफामा बस्न आग्रह गर्यौं । तर, आफुले अध्यक्षको पद बहाली नगरेको भन्दै उनले अध्यक्षको कुर्सीमा बस्न मानेन्न र हामीलाई कुराकानीका लागि चेम्बरकै सभाहलमा लिएर गए । चैत २६ गते भएको चेम्बरको ७०औं वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन् । झट्ट हेर्दा सालिन, भद्र र सरल देखिने राजेन्द्र मल्ल स्वभावमा पनि त्यतिकै भद्र र सालिन छन् । नेपालकै सबैभन्दा पुरानो र ७० वर्ष पुगेको संस्था नेपाल चेम्बर कमर्सको जिम्मेवारी अहिले उनै राजेन्द्र मल्लको काँधमा आइपुगेको छ । चेम्बरको अबको नेतृत्व मल्लले नै सम्हाल्नेछन् । नेपालको सबैभन्दा पुरानो संस्थाको नेतृत्व लिँदै गर्दा कस्तो अनुभुति भइरहेको छ ? कुराकानीको सुरुवात हामीले यही प्रश्नबाट गर्यौं । मुहारमा जिम्मेवारी बोधको झल्को दिँदै उनले उत्तर फर्काए– नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा मैले वि.स २०६२ सालबाट प्रवेश गरेँ । पहिलो पटक सदस्य, कोषाध्यक्ष त्यसपछि दित्तिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा निर्विरोध निर्वाचित भएको छु । मेरो यो सफलता र यहाँसम्म आइपुग्नुको हात सबै व्यवसायी साथीहरुको नै हो,’ उनले फेरि थपे, ‘मुलुकको उत्थान र विकासका लागि यो संस्थामार्फत हुन सक्ने काम निडर र निस्वार्थका साथ गर्नेछु ।’ वि.स २०२० सालमा काठमाडौंको साँखुमा जन्मेका राजेन्द्र मल्ल व्यवसायिक घरानाकै हुन् । ‘मेरो बाजे पनि व्यापार व्यवसाय गर्नु हुन्थ्यो, बुबाले पनि त्यही काम गर्नु भयो, साँखुमा जग्गा जमिन प्रशस्त भए पनि बुबाले कपडा, खाद्यान्न लगायतको व्यापार व्यवसाय गर्नु हुन्थ्यो, मेरो पनि सानैदेखि व्यापार गर्ने ईच्छा र चाहना हो, त्यही भएर नै म अहिले यो क्षेत्रमा छु,’ उनले भने । नागरिकता नहुँदा व्यवसाय गर्न रोक अध्यक्ष राजेन्द्र मल्ल २०४२ सालबाट आफूले व्यवसायिक यात्रा सुरु गरेको बताउँछन् । उनलाई व्यापार व्यवसाय गर्न थालेको ३५ वर्ष भइसकेको छ । वि.स २०४२ सालमा एउटा ज्वाइन भेन्चर ट्रेडिङ कम्पनी दर्ता गरेर व्यवसायिक यात्रा सुरु गरेका मल्ल त्यसताका निकै संघर्ष गर्नु परेको सुनाउँछन् । ‘म २२ वर्षको थिएँ, विहान ८ बजे घरबाट निस्कन्थेँ, बेलुका ८ बजे घर आइपुग्थेँ, दिनभर मानिसहरुलाई भेट्थेँ, कसलाई र कसरी भट्यो भने काम बन्छ अगाडि नै योजना बनाउँथेँ,’ उनी भन्छन्, ‘मेरो साथ नै आफूभन्दा ठूलासँग भयो, उनीहरुबाट सर–सल्लाह लिन पनि सजिलो हुन्थ्यो ।’ ग्लोबल टेण्डरिङको काम गरेको ४/५ महिनापछि मोटरपाट्सको काम गरेको उनी बताउँछन् । त्यसपछि विभिन्न क्षेत्रमा लगानी बढाएको उनले सुनाए । ‘सानैदेखि व्यवसाय गर्ने रहर थियो, १५ वर्षको हुँदा होजियरी उद्योग खोल्छु भनेर लागेको थिएँ, तर, १५ वर्षको उमेरमा नागरिकता नमिल्दो रहेछ, नागरिकता नै नभएको मानिस कसरी व्यवसाय गर्ने भन्ने भएपछि त्यो काम रोकियो, उनले भने, ‘तर पछि उमेर पुगेपछि नागरिकता बनाएर व्यापार व्यवसायमा लागेँ । मल्लका पाँच दाजुभाई छन् । उनी कान्छा हुन् । एक बाहेक सबैको दाजुभाईको आ–आफ्नै व्यापार व्यवसाय छ । बुबाको त्यो अर्ति मल्लका बुवा पनि साँखुमै व्यापार व्यवसाय गर्थे । जग्गा जमिन प्रयाप्त भएपनि व्यापार गर्नु पर्छ भन्ने सोच आफ्ना बुवामा पनि भएको उनी बताउँछन् । ‘बुवा स्थानीय लत्ता–कपडा, खाद्यान्नको व्यापार गर्नु हुन्थ्यो, उहाँ सामान बोकेर सिन्धुपाल्चोक काभ्रेतिर जानुहुन्थ्यो, त्यहीँ व्यापार गर्नुहुन्थ्यो, उहाँबाट व्यापार गर्ने तरिका पनि सिकेँ, त्यसपछि मैले पनि व्यापार गर्नु पर्छ भनेर यही क्षेत्रतिर लागेँ,’ उनले भने । अध्यक्ष मल्ल आफ्ना बुवाले दिएको एउटा अर्ति कहिल्यै नभुल्ने बताउँछन् । उनी भन्छन्,’ मेरो बुवा भन्नुहुन्थ्यो, ‘व्यापारले हात्ती पाल्छ तर जागिर गरेर श्रीमती पनि पाल्न गाह्रो हुन्छ, उहाँको यो अर्ति म कहिल्यै पनि भुल्दैनँ, यो अर्तिले मलाई काम गर्ने जाँगर आउँछ, काममा अझ धेरै खट्न सहयोग पुग्छ ।’ उनले थप सुनाए, ‘हुन त जागिर पनि चाहिन्छ तर जागिरबाट धेरै काम सम्भव छैन, पहिले जागिरबाट घर परिवार पाल्न पनि गाह्रो हुन्थ्यो, अहिले अलि सहज भएको छ, विभिन्न सेवा सुविधाहरु पनि सहज बनाएको, तर पनि व्यापार अपार हो ।’ यति लामो व्यवसायिक यात्रामा पैसा त मनग्य कमाउनु भयो होला नि ? एउटा व्यवसायीसँग हाम्रो यो प्रश्न जायज थियो । उनले लामो स्वास तान्दै भने, ‘म मेरो आम्दानी र प्रगतिमा सन्तुष्ट छु, हुन त पैसा जति भएपनि मानिसलाई पुग्दैन तर म भने सन्तुष्ट छु, अहिलेसम्म जति कमाएँ, यसमा म रमाएको छु, उनी अडिए ।’ लगानीमा विविधिकरण २०४२ सालमा एउटा ग्लोबल टेण्डरिङ अर्थात ठेक्कापट्टाबाट व्यवसायिक यात्रा सुरु गरेका मल्लले अहिले लगानी नगरेको कुनै पनि क्षेत्र बाँकी छैन । बैंक, बीमा, जलविद्युत, स्वास्थ्य, शिक्षा, उद्योग, उड्डयन, होटल लगायत क्षेत्रमा उनले लगानी विस्तार गरेका छन् । मनाङ एयर, प्रभु इन्स्योरेन्स, कान्तिपुर इन्जिनियरिङ कलेज लगायतका उनका परिचित व्यवसाय हुन् । उनी प्रभु इन्स्योरेन्सका डाइरेक्टर पनि हुन् । बीमामा २५ वर्ष लामो अनुभव भएका उनको ठमेलमा ठमेल ट्रेड सेन्टर पनि निर्माणाधीन छ । ‘व्यवसायमा जिरो लेवलबाट काम गरेको हुँ, सुरुमा विदेशी कम्पनीको एजेन्ट भएर विभिन्न ठेक्कापट्टाको काम गरेँ, त्यसपछि निरन्तर आम्दानी हुने काम गर्नु पर्यो भनेर कमलादीमा मोटरपाट्सको व्ययवसाय सुरु गरेँ, विस्तारै उद्योग र बीमामा लगानी बढाएँ, काम गर्न लागेको ३५ वर्ष भइसकेको छ, समय हिजै जस्तो लाग्छ, उनले भने,‘ अहिले विभिन्न क्षेत्रमा लगानी गरेको छु, सबैतिरबाट राम्रै आम्दानी भइरहेको छ ।’ सरकारले पब्लिक–प्राइभेट पाटर्नरसिप मोडलसहितको व्यवसायतर्फ ध्यान दिनु पर्ने उनको भनाई छ । ‘मैले यति लामो समय व्यवसाय गरेँ, जनसहभागिता सहितको व्यवसाय हुुनु पर्छ भन्ने मेरो धारणा हो, यसले व्यक्ति र देशको विकास हुन सक्छ,’ उनले भने । सरकारले विभिन्न व्यवसायमा पब्लिक सेयरको कन्सेप्ट ल्याउनु पर्ने उनको भनाई छ । विभिन्न क्षेत्रमा लगानी गर्दा आफुलाई पनि फाइदा हुने र मुलुकको पनि विकास हुने उनी बताउँछन् । ‘सबै व्यवसायमा आफु नै सहभागी हुनु पर्छ भन्ने हुँदैन, एउटा सिस्टम बसाल्नु पर्छ, प्रणालीले आफै काम गर्छ, विकास र सम्वृद्धि अवश्य पनि सम्भव छ’ उनले भने । वर्षेनी आफ्नो आम्दानीको ग्राफ बढ्दै गएको उनी बताउँछन् । उनी भन्छन्, ‘यो वर्ष कोरोना भाइरसको कारण उड्डयन क्षेत्रमा केही असर पर्यो, बीमा लगायत क्षेत्रले राम्रै आम्दानी दिइरहेको छ, मसँग जे जति सम्पत्ति म यसमै खुसी छु, ।’ सेयरमा लगानी अध्यक्ष मल्ल हालसम्म सेयर किनेको भएपनि बिक्री भने नगरेको बताउँछन् । उनका अनुसार हालसम्म विभिन्न कम्पनीहरुले सार्वजनिक गरेको प्राथमिक सेयर, हकप्रद सेयरमा लगानी गरेको भएपनि खरिद बिक्रीमा त्यतिधेरै सक्रिय नभएको उनी सुनाउँछन् । सेयरमा कारोबार गर्नको लागि मैले एउटा पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिससँग सम्झौता गरेको छु, उनीहरु आफै सेयर सार्वजनिक भएको समयमा भरिदिन्छन्, हालसम्म बेचेको भने छैन, उनीहरुसँग दुई/दुई वर्षमा सम्झौता हुन्छ हुन्छ,’ उनले भने,‘ तर त्यसको ग्रोथ भने मलाई बेलाबेलामा भनिरहेका हुन्छन्,त्यसबाट पनि राम्रै आम्दानी भइरहेको छ ।’ सेयर किन्ने बेच्ने समय नभएर नै सक्रिय रुपमा त्यसमा नलागेर अरुलाई नै जिम्मा दिएको उनी बताउँछन् । ‘अब त झन चेम्बरको नेतृत्व मेरो काँधमा आएको छ, अब चेम्बरलाई नै समय दिन्छु, यस संस्थागत विकास र सबै उद्योगी व्यवसायीहरुका समस्या बुझ्ने काम गर्छु, समाज सेवा त छदैँछ,’ उनले भने । रुची सामाजिक काम व्यवसायिक क्षेत्रमा काम गरेको यति लामो समय भएपनि आफ्नो रुची समाज सेवा भएको उनी बताउँछन् । ‘म सानैदेखि सामाजिक सेवा गर्नमा रुची राख्ने मान्छे, आजसम्म धेरै ठाउँमा सामाजिक काम पनि गर्दै आएको छु, अझै गर्ने धोको छ,’ उनले आफ्नो सामाजिक सेवा गर्ने योजना पनि सुनाए । जीवनमा पैसा धेरै कमाएको भएपनि सामाजिक कामले व्यक्तिको मनलाई शान्त गर्ने धारणा उनी राख्छन् । ‘५७ वर्षको दौरानमा धेरै संघष पनि गरियो, अब म आफुसँग भएको सम्पत्ति व्यवस्थित गर्न तर्फ लाग्छु, धेरे कमाएर के नै गर्नु छ र ?,’ उनले भने ‘थोरै पैसा कमाएर आफु पनि व्यवस्थित हुने र सरकालाई पनि राजश्व तिरेर सेवा दिने काम गर्छु, अब कमाएर लालपुर्जा मात्रै थुपार्ने भन्दा पनि कमाएर सामाजिक सेवा तर्फ लाग्ने सोच छ ।’ सामाजिक कार्य अन्तर्गत नै आफुले पढेको विद्यालय साँखु भाग्यदोयमा एउटा भवन निर्माण गरेको उनी बताउाछन् । यस्तै उनले आफ्नो जन्मथलोमा वृद्धाश्रमको घर बनाउँदा र साँखुको बैजनाथ मन्दिरमा पनि सहयोग गरेका छन् । अझै सामाजिक सेवामा लाग्ने उनको योजना छ । ‘कुन क्षेत्रमा सेवा गर्ने भन्ने मैले सोचेको छैन, तर म मृत्युवरणपछि मैले कमाएको सम्पत्ति मेरो छोराछोरीले मात्रै खाने होइनन्, केही सम्पत्ति यो मुलुकका लागि दिने सोचमा छु , मेरो ध्यान अब सामाजिक सेवामा छ, मलाई चेम्बर सामाजिक थलो जस्तै लाग्छ,’ उनले भने ‘चेम्बरले साना –साना मानिस दुखी पििडतलाई सहयोग गर्छ, ठूला व्यापारी साना व्यापारी भन्दा पनि हामी सबैको संस्था हो ।’ उनी भारतका अर्बपति रतन टाटा आफ्नो प्ररणाको स्रोत भएको पनि बताउँछन् । टाटाले पनि धेरै सामाजिक सेवा गर्ने भएको र आफ्नो पनि सामाजिक सेवा गर्ने ईच्छा भएकोले टाटा आफुलाई मन पर्ने व्यक्ति भएको उनी सुनाउँछन् । आगामी योजना अबको आफ्नो नेपाल चेम्बरलाई थप शसक्त संस्था बनाउने र उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ हुने उनी बताउँछन् । नेपाल चेम्बर अफ कमर्सलाई एक विश्वसनिय सामाजिक संस्थाका रुपमा विकास गर्नको लागि आफु सधैँ तत्पर रहने उनले बताए । उद्योगी तथा व्यवसायीको हितका लागि आफू सधैँ लागि पर्ने उनको भनाई छ । ‘देशलाई खान पुग्ने उत्पादनलाई कसरी वृद्धि गर्ने, किसानको उत्पादनलाई बजारिकरण कसरी गर्ने भन्ने तर्फ हाम्रो ध्यान जान्छ, अहिले व्यवसायमा बढी बिचौलिया छ, जुन करको दायरामा पनि आएका छैनन्, उनीहरुलाई करको दायरामा ल्याउने वा बिचौलिया नै समाप्त पार्नेतर्फ मेरो ध्यान जानेछ,’ उनले भने, ‘उत्पादित वस्तुलाई ढुवानीको सहज वातावरण सिर्जना गर्नेतर्फ पनि हाम्रो ध्यान जानेछ ।’ उनका अनुसार अहिले चेम्बर ७० जिल्ल्ला र २५ वटा पालिकामा विस्तार भएको छ । अझै संस्थालाई विस्तार गरेर सबै उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ आफ्नो ध्यान जाने उनले बताए ।
गाँजाको अर्थतन्त्रः विश्वभर ३ खर्ब ४० अर्ब डलरको बजार
काठमाडौं । आज महाशिवरात्री । शैव र हिन्दुहरुले महाशिवरात्री पर्व विशेष उल्लासका साथ मनाउने गर्छन् । नेपालमा शिवरात्रीमा ‘शिवबुटी’ भन्दै गाँजाको सेवन गर्ने प्रचलन छ । यद्यपि, नेपालको कानुनले गाँजाको प्रयोग, ओसार प्रसार र विक्री वितरण रोक लगाएको छ । विश्वका ५० भन्दा बढी देशले गाँजालाई प्रतिबन्धित लागू पदार्थको सुचीबाट हटाउँदै यसको व्यवसायिक खेती खुल्ला गरिसकेका छन् । पछिल्लो समय गाँजालाई प्रतिबन्धित औषधीको सुचीबाट हटाउनु पर्छ भनेर विश्वव्यापी रुपमा आवाज उठ्न लागेको छ । विश्वमा गाँजाको अर्थतन्त्र निकै ठूलो रहेको तथ्यांकहरुले देखाएका छन् । स्वीट्जरल्याण्डको न्युज पोर्टल ‘जेनेभा विजनेस न्युज’का अनुसार गाँजाको बजार वार्षिक ३ खर्ब ४० अर्ब अमेरिकी डलरभन्दा बढीको छ । सो न्युज पोर्टलका अनुसार गाँजाको सबैभन्दा ठूलो बजार एसिया महादेश हो । यो क्षेत्रमा वार्षिक १ खर्ब ३२ अर्ब ९० करोड अमेरिकी डलर बराबरको बजार छ । यस्तै, उत्तर अमेरिककामा वार्षिक ८५ अर्ब ६० करोड अमेरिकी डलर, युरोपमा ६८ अर्ब ५० करोड अमेरिकी डलर, अफ्रिका ३७ अर्ब ३० करोड अमेरिकी डलर ल्याटिन अमेरिकामा ९ अर्ब ८० करोड अमेरिकी डलर बराबरको बजार छ । नेपालमा गाँजा प्रयोगको इतिहास नेपालमा गाँजा उत्पादन र बिक्री वितरणको इतिहास लामो छ । तराईका बारा, पसाए, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजाखेती गर्ने गरिन्थ्यो । दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको विश्वास गरिएको छ । ‘हिप्पी’ युगको सुरुआत भएसँगै गाँजाको सेवनकर्ताको घुइचो काठमाडौंमा लाग्न थालेको थियो । सो समयमा काठमाडौंमा ३० भन्दा बढी गाँजा र चरेस केन्द्र खुलेका बताइएको छ । गाँजाको प्रयोग परम्परागत रुपमा बूढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन तथा एक्ला, अशक्त र पट्यारलाग्दा दिन बिताउन गर्ने चलन थियो । भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावरको उपचार गर्न जस्ता प्रयोजनमा गाँजाको प्रयोग हुने गरेको थियो । नेपालमा हिन्दु धर्मको प्रभावले गाँजा चलनमा आएको पाइएको छ । नेपाल र भारतमा फागु पर्व बेला गाँजाको फूल (भाङ) खाने चलन छ । भगवान शिवले समुद्र मन्थन बेला अमृत शुद्धीकरण निम्ति शरीरबाट गाँजा उत्पादन गरेको हिन्दु धर्मशास्त्रमा उल्लेख छ । समुन्द्र मन्थनकै बेलामा उत्पन्न भएको अमृतको थोपा जमिनमा परेपछि गाँजाको बिरूवा उम्रेको अर्काेथरी व्याख्या पनि शास्त्रहरुमा छ । नेपालमा गाँजा प्रयोगको लामो इतिहास छ । नेपालले समेत विश्वयुद्धका बेला गाँजाबाटै बनाइएका झाडापखलाको औषधि निर्यात गरेको र अहिले पनि सिंहदरबार वैद्यखानाले त्यस्ता औषधीहरू बनाउने गरेको वैद्यखानाले जानकारी दिएको छ । अहिले विश्वमा धेरै खोजिने मध्येको एक निद्रा सम्बन्धी रोगको उपचारमा पनि गाँजा प्रयोग हुने गरेको विज्ञले बताएका छन् । सन् १९७० अघिसम्म नेपालमा गाँजा खेती र व्यापार वैधानिक थियो । नेपालबाट ठूलो परिमाणमा गाँजा र चरेस निर्यात हुने गरेको तथ्यहरु फेला परेका छन् । सन् १९६० र सन् १९७० को दशकमा नेपालमा फैलिएको हिप्पी संस्कृतिको मुल कारण नै गाँजाको सहज उपलब्धता हो भनेर व्याख्या गरिएको थियो । नेपालमा कानुनी व्यवस्था संयुक्त राष्ट्रसंघले सन् १९६१ मा ‘द सिङ्गल कन्भेन्शन अन नार्काेटिक ड्रग्स १९६१’ पारित गर्यो । त्यसमा गाँजालाई पनि अफिमजस्तै कडा खालको लागुऔषध मान्दै प्रतिबन्ध लगाउनुपर्ने प्रावधान राखियो । नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो । त्यसमा गाँजाको खेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो । पाँचचोटि संशोधन भइसकेको सो ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना भनिएको छ । सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ । उक्त ऐनअनुसार ५० ग्रामसम्म गाँजा राखे तीन महिनासम्म कैद र ३ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । खुल्ला गर्ने वहसको सुरुवात गाँजा सेवनलाई विश्वमै सबैभन्दा पहिला अनुमति दिने देश उरुग्वे हो । त्यसपछि नेदरल्यान्ड्स, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाजस्ता देशले पनि गाँजा सेवनलाई अनुमति दिएका छन् । अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायल जस्ता देशहरुमा गाँजालाई औषधीमो रुपमा प्रयोग गर्न छुट छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्राड्यूले गाँजालाई कानुनी मान्यता दिने विधेयक संसदमा पेस गरे पारित गरिसकेकी छन् । गाँजाको फाइदा आधुनिक विज्ञानले पनि गाँजा प्रयोगले फाइदा हुने पुष्टी गरेको छ । गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान पनि भएका छन् । अनुसन्धानहरुले पुष्टी गरे अनुसार ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुन्छ । शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने पनि पुष्टी भएको छ । अर्काे एउटा अनुसन्धानले गाँजा सेवन गर्नेको यौन क्षमता बढी हुने देखाएको छ । ‘जर्नल अफ सेक्सुअल मेडिसिन’को सो रिपोर्टमा गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी हुने उल्लेख गरिएको छ । अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले सन् २००२ देखि २०१५ सम्म सो अनुसन्धान गरेको थियो । अनुसन्धानमा गाँजा सेवन गर्ने २५ देखि ४५ वर्ष उमेर समूहका ५० हजार मानिस सहभागी भएका थिए । सहभागीलाई एक वर्षमा कतिपटक गाँजा सेवन गरेको र त्यसको चार सातासम्म कति पटक यौनसम्पर्क राखेको भन्ने प्रश्न सोधिएको थियो । उनीहरूले सामान्य अवस्थाभन्दा गाँजा सेवनपछि धेरैपटक यौनसम्पर्क गरेको बताएका रिपोर्टमा उल्लेख छ । गाँजालाई आयुर्वेदमा ‘विजया’ भनेर उल्लेख गरिएको छ । निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्या जस्ता रोग निको पार्न गाँजा (विजया) को औषधि प्रयोग हुँदै आएको छ । सम्बन्धित सामग्री एक रोपनी जग्गा हुनेले वर्षमै करोड कमाउँछ: गाँजा खेतीबारे तामाङ र स्थापितको अन्तर्वार्ता गाँजाले देश समृद्ध गर्छ भन्ने कुरा कहाँबाट आयो ? यसले नेपाललाई समस्यामा पार्छः पूर्व डीआईजी मल्ल गाँजाको खेतीलाई बैधानिकता दिँदा नेपालको जीडीपी ५ गुणाले बढ्छः उपाध्याय