बैंक, बीमा र किसान जोड्दै पूर्व सचिव
काठमाडौं । प्रत्येक वर्षको बजेट बनाउने बेलामा अर्थमन्त्रालयको टीमको दिमागमा आउने एउटै कुरा हो– कृषि प्रधान देश, कृषिले धानेको अर्थतन्त्र । देशको योजना तर्जुमा गर्ने राष्ट्रिय योजना आयोग पनि भनिरहेको हुन्छ– नेपालको दुईतिहाई जनसंख्या कृषिमा आश्रित छ । र, योजना बनाउँदा कृषि क्षेत्रको विकासलाई मुख्य केन्द्रमा राख्नुपर्छ । पूर्व प्रधानमन्त्री विपी कोइरालाका अनुयायीहरु त भनिरहेका हुन्छन्– सबै परिवारसँग एक हल गोरु होउन्, एउटा लैनो गाई होस्, अलिकति करेसाबारी पनि । सरकारी योजना र अधिकारीहरुले भनेर के गर्नु ! निर्वाहमुखी कृषिले प्रत्येक वर्ष किसानलाई झन् गरिब बनाउँदैछ । उत्पादित वस्तुले उत्पादन लागत पनि धान्दैन । कृषिको यान्त्रिकरण, उन्नत मल, विउ तथा सिंचाईको अभाव जस्ता समस्या समाधानका उपाय सरकारी योजना उल्लेख गरिएको कागजातमा धेरै भेटिए पनि व्यवहारमा भेटिदैन । त्यसैले त किसान भनिरहेका भेटिन्छन्– उत्तम व्यापार, मध्यम जागिर, खत्तम कृषि । कृषि विकास मन्त्रालयको सचिव भएर अवकाश पाएका जयमुकुन्द खनाललाई किसानले अहिले भनिरहेको ‘खत्तम कृषि’ले पिन्च गरिरहेको रहेछ सायद । त्यसैले अवकाशपछि किसानलाई केही सहयोग गर्न सकिन्छ कि, कृषि क्षेत्रको विकासका लागि केही योगदान गर्न सकिन्छ कि भनेर पहल थालिरहेका छन् । सरकारी संयन्त्रमा बसेर लामो समय काम गर्दा खनालले अनुभूत गरेको कुरा के हो भने कृषि उत्पादनमा समस्या छ । उत्पादनपछि बजारीकरणमा समस्या छ । फलतः किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनै सकेका छैनन् । सरकारले लामो समयदेखि पहल गरेर योजना तर्जुमा गरी कृषिको उन्नतिका लागि यति धेरै लगानी गर्दा पनि समाधान नभएको समस्या सरकारी संयन्त्रबाट बाहिर निस्केपछि धेरै के नै गर्न सकिन्छ र ! त्यसैले पूर्व सचिव खनाल सहितको एउटा टीम किसानले अहिले भोगिरहेको सबैभन्दा टड्कारो समस्या सम्बोधनको पहलमा लागेको छ । पूर्व सचिव खनाल किसानले उत्पादन गरिसकेका कृषि उपजले ‘मार्केट अपरच्युनिटी’ मात्रै पाउने हो भने पनि किसानलाई धेरै सहज हुने विश्लेषण सुनाउँछन् । त्यसका लागि किसानले आफ्ना उत्पादनलाई बढी मूल्य पाउने समयमा विक्री गर्न सक्ने अवस्था सिर्जना हुनुपर्छ । त्यो भनेको के हो त ? त्यो भनेको किसानले बाली भित्र्याएपछि त्यसको गुणस्तर नविग्रने गरी बढी मूल्य पाइने समयसम्म राख्न पाउने व्यवस्था हुनुपर्यो । बाली लगाउनको लागि मल विउ किन्दाको, काम गर्ने मान्छेलाई ज्याला दिन, किसानले आफ्नो दैनिकी गुजार्न र अर्काे बाली लगाउनको लागि चाहिने पैसा पनि पाउने संयन्त्र विकास हुनुपर्यो । ‘हामीसँग पर्याप्त मात्रामा भण्डारण गर्ने स्थान नहुँदा उत्पादन हुने वित्तिकै सस्तो मूल्यमा कृषि उपजको बिक्री गर्नुपरेको हो । एक त राख्ने स्थान हुँदैन, अर्काे कुरा साहूँसँग लिएको ऋण तिर्न वा आफ्नो तत्कालको आवश्यकता परिपूर्ति गर्न बिक्री गर्नुपर्ने बाध्यता किसानलाई छ, उत्पादन भएकै महिनामा उत्पादित वस्तुको मूल्य समेत सस्तो हुने हुँदा किसानले भनेजस्तो मूल्य पाउन सक्दैनन्,’ पूर्व सचिव खनाल भन्छन् । यसको लागि किसानलाई पायक पर्ने ठाउँमा गोदाम घर चाहियो । गोदाम घरमा राखेको सामान विग्रनु पनि भएन । अनि गोदाममा राखिएको कृषि उत्पादनको धितोमा कर्जा पाइने संयन्त्र विकास हुनुपर्यो । गोदाम घरमा राखिएको वस्तु कुनै कारणबस क्षति हुन सक्ने जोखिम पनि रहेकोले त्यसको बीमा पनि हुनुपर्यो । किसानका यी तीन प्रमुख समस्या समाधान गर्नको लागि पूर्व सचिव खनाल प्रमुख कार्यकारी अधिकृत रहने गरी नेपाल वेयरहाउस कम्पनी लिमिटेड दर्ता भएको छ । यो कम्पनीले किसानले उत्पादन गरेका कृषि उपजलाई अत्याधुनिक प्रविधिसहितको गोदामघरमा भण्डारण गर्ने व्यवस्था गरिदिने छ भने त्यस्ता वस्तुको बीमा र धितोका आधारमा कर्जा पाइने व्यवस्था मिलाइदिनेछ । प्रमुख कार्यकारी अधिकृत खनालका अनुसार गोदामघरमा राखेको सामानको धितोमा किसानले बैंकहरुबाट ऋण पाउने छन् । किसानले कसरी पाउँछन् बैंकबाट ऋण ? वेयरहाउले विभिन्न बैंकसँग कर्जा लिएको छ । यो कर्जा उसले आफ्नो व्यवसायिक प्रयोजनको लागि लिएको हो । कम्पनीले एभरेष्ट, नेपाल एसवीआई, बैंक अफ काठमाडू र हिमालय बैंकसँग कर्जा लिएको छ । यी बैंकहरुले गोदाममा कृषि उपज राख्ने किसानलाई कर्जा दिने प्रतिबद्धता जनाएका छन् । यस्तै, कृषि विकाश बैंक र मुक्तिनाथ विकास बैंकसँग पनि कृषि उपज धितोमा कर्जा दिने सम्बन्धी सम्झौता हुने तयारी भइरहेको कम्पनीका जिफ विजनेश अफिसर (सीबीओ) निश्चित अर्यालले जानकारी दिए । ‘किसानले हाम्रो गोदामघरमा सामान राख्दा हामीले सर्टिफाई गरेर राखिदिन्छौं, गुणस्तरको ग्यारेन्टी अर्थात ल्याव टेष्ट गरेर जस्तो सामान राखेको छ, त्यस्तै दिने ग्यारेन्टी हामी गरिदिन्छौं, अनि त्यही सामानको धितोमा बैंकहरुले प्रचलित व्याजदरमा किसानलाई कर्जा दिन्छन्,’ सीबीओ अर्याल भन्छन् । अत्याधुनिक प्रविधिसहित बन्ने सो गोदामघरमा राखिएको सामानको गुणस्तरमा समस्या नआउने भएकोले बैंकहरुले सहजै कर्जा दिने अनुमान अर्यालले गरे । गोदामघरमा राखिएका समानको बीमा पनि हुने व्यवस्था मिलाइएको छ । तराईका तीन जिल्लामा निर्माण गरेको गोदामघर मध्ये सुनसरीमा सेप्टेम्बरबाट सञ्चालनमा ल्याउने तयारी छ । कम्पनीले तीन स्थानमा गोदामघर निर्माण गरिरहेको छ । एक अर्ब ४९ करोड लगानीमा सुनसरी, पर्सा र कपिलवस्तुमा गोदामघर निर्माणको अन्तिम चरणमा पुगेको प्रमुख कार्यकारी अधिकृत खनाल बताउँछन् । ‘किसानले जस्तो खाद्य पदार्थ ल्याउनु भएको छ, सोही मात्रामा निश्चित अवधिपछि हामीले किसानलाई नै फिर्ता गछौँ । हाम्रो काम सामग्रीको सुरक्षा गर्ने हो, हामी आफैले खाद्य पदार्थको खरिद र बिक्री गर्दैनौँ’, उनले भने । गत वर्ष नै गोदामघर सञ्चालनको तयारी भएकोमा कोेभिडका कारण रोकिएको थियो । सुरुवाती चरणमा किसानले जम्मा गरेको खाद्यान्न निःशुल्क रुपमा कम्पनीकै गाडीले डेलिभरी गर्ने तयारी भएको उनी बताउँछन् । लगातीकर्ता कम्पनीमा निम्बस ग्रुप, एनएमबि बैंक, शिखर इन्स्योरेन्स, टिम भेन्चर्स, श्रीनगर एग्रो फार्म र विभिन्न १२ जना व्यवसायीको लगानी रहेको छ । कम्पनीमा कुल एक अर्ब ४९ करोड लगानी रहेको छ । कम्पनीमा डा. दिनेश गौतम, शैलेस लामिछाने, सुमन जोशी, आनन्द बगरिया र अनुज अग्रवाल व्यक्तिगत लगानीकर्ता छन् । पहिलो चरणमा सुनसरीको इटहरी नजिकै औरावनी, पर्साको जितपुर र कपिलवस्तुको चन्द्रौटामा वेरहाउस निर्माण कार्य थालिएको हो । यी ३ ठाउँमा बन्ने वेयरहाउसको क्षमता ५५ हजार मेट्रिकटन रहेको छ । जसमध्ये सबैभन्दा धेरै पर्सामा २५ हजार मेट्रिकटन र सुनसरी र कपिलवस्तुमा १५/१५ हजार मेट्रिकटन क्षमता रहेको छ । ‘पहिलो चरणमा निर्माण गरिएका वेरहाउसमा मकै, गहुँ र भटमास मात्रै भण्डारण गरिने छ । दोस्रो चरणमा बन्ने वेरहाउसमा धान, आलु र तरकारी तथा फलफूल भण्डारण गरिने छ, यो साइरो बेस्ड प्रणाली हो, यसमा किसानले आफ्नो सामग्री ल्याउँछन् । ल्याव टेस्ट गराउँछन् । क्वालिटी सेट गराएर त्यहाँ राख्ने र रसिद लिएर जान्छन्,’ खनालले थपे । उनका अनुसार जर्मनबाट भित्र्याइएको नयाँ प्रविधिको प्रयोग गरी वेयरहाउसमा राखिएको कृषि उपजलाई सुरक्षित बनाइनेछ । कति लाग्छ शुल्क ? किसानले गहुँ, मकै र मटमास गोदामघरमा राख्दा निश्चित रकम तिर्नुपर्ने हुन्छ । कम्पनीका अनुसार एक किलो गहुँ एक महिना गोदाममा राख्दा किसानले ५० पैसा रकम बुझाउनुपर्ने हुन्छ । किसानले आफ्नो आवश्यकता अनुसार तीन प्रकारका वस्तुहरु गोदाममा राख्न पाउँछन् । ‘नेपालमा विभिन्न प्रकार र प्रजातिका धानहरु उत्पादन हुन्छ । उदाहरणका लागि मोटा, मसीना, मन्सुली, मार्सी लगायतका धानहरुलाई लिऔँ । यी धान छुट्टा छुट्टै प्रकृतिमा पर्छन । गोदाममा राख्दा सबै धानलाई एकै स्थानमा राख्नेकुरा भएन । छुट्टा छुट्टै राख्दा धेरै स्थान लिन्छ, हामी सुरुवाती चरणमा बजारकोे अवस्था हेरेर विस्तारै कृषि उपजको मात्रा बढाउँदै जान्छौं,’ खनालले भने । कम्पनीले प्रत्येक स्थानमा ४÷४ विगाह जग्गा कम्पनीकै नाममा खरिद गरिसकेको छ । यस्तो जग्गा गोदामघर बनाउन प्रयोग गरिनेछ । एक वर्षमा आईपीओ, विधि बुक विल्डिङ वेयरहाउस कम्पनीले एक वर्षभित्रमा आईपीओ जारी गर्ने जनाएको छ । कम्पनी सञ्चालनमा आएको १ वर्षभित्रमा १३ करोड ७५ लाख बराबरको सेयर बिक्री गर्ने प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए । उनका अनुसार बुक विल्डिङ विधिमार्फत सेयर बिक्री गरिनेछ । कम्पनीले तीन वर्ष तयारी वर्ष, ५ वर्षमा नाफामा जाने र ८ वर्षदेखि लगानीकर्तालाई लाभांश दिने प्रक्षेपण गरेको छ ।
अनि तोकिएन श्रीपेचको मूल्य
मेरो पुर्खा नै सुन व्यवसायमा छ । चार पाँच पुस्तादेखि यही व्यवसाय गर्दै आएका छौं । मैले थाहा पाएदेखि नै हाम्रो परिवारको व्यवसाय सुन व्यवसाय नै थियो । म आफै भने २०२२ सालदेखि सुन व्यवसायमा संलग्न छु । त्यतिबेला म १५/१६ वर्षको थिएँ । पढ्दाताकादेखि नै सुन व्यवसायमा संलग्न भएको हुँ । हाम्रो जातिगत व्यवस्थामा गठ्यामंगल (घण्टाकर्ण) मा औंठी लगायत गरगहना बनाउन सिकाउने चलन थियो । त्यो दिन सामान बेचेर आएको पैसा त्यस्ता नयाँ पुस्ताकै हुन्थ्यो । गठ्यामंगलको दिन फलामको औंठीदेखि लिएर धातुको औंठी बनाएर गहन बनाउन सिक्ने चलन थियो । बाबु बाजेले जहाँ पसल गरिरहेको हुन्थ्यो, त्यही एउटा कबलमा साना केटाकेटीलाई पसल चलाउन दिइन्थ्यो । त्यो पसलबाट बेचेको सामानको पैसा पनि ती केटाकेटी नै चलाउन पाउँथे । पहिला पहिला त घण्टाकर्णको दिन अस्थायी पसल राखिन्थ्यो । त्यसको साहुजी नयाँ केटाकेटी हुन्थे । केटाकेटी नै बनाएको हुन्थ्यो । हाम्रो रिती रिवाजमा फलामको औंठी लगाउनु पर्छ भन्ने छ । विभिन्न धातु मिसाइएको फलामको औंठी लगायो भने भूत प्रेत पिसाच भाग्छ भन्ने विश्वास थियो । अहिलेसम्म यो विश्वास कायम छ । गठ्यामंगल आउन लागेको एक महिना अघिदेखि स्कुलबाट बचेको समय यसरी तालिम दिइन्थ्यो । पहिला हामी एक पैसामा एउटा औंठी विक्री गर्थ्यौं । मैले साल चै बिर्से तर, एक वर्ष मैले गठ्यामंगलको दिन ५ रुपैयाँको व्यापार गरेको थिएँ । त्यो दिन मलाई लागेको थियो कि यो संसारको सबैभन्दा धनी मान्छे नै मै हूँ । मैले पित्तल र तामा मिसाएर बनाएको धातु र फलामको औंठीको व्यापार गरेको थिएँ । पन्चरत्न (तामा, पित्तल, चाँदी, सुन राखेर फलामको) औंठी बनाएको थिएँ । हामीले व्यापार सिक्ने र गहना बनाउन सिक्ने भनेको नै गठ्यामंगलको दिन थियो । पाँच रुपैयाँ कमाएको बेलामा पनि त्यो पैसा मेरै भएको थियो । त्यो दिनको लागि हामीले धातु किन्नु पर्ने हुदैन । धातु लगायत जे जति सामान चाहिन्छ त्यो बुबाहरुले नै किनिदिनु हुन्थ्यो । आफ्नो पुख्र्याैली व्यवसायमा लागोस् भनेर प्रोत्साहन गर्ने काम त्यसरी हुन्थ्यो । तर, त्यो पाँच रुपैयाँ केमा खर्च गरें भन्ने मलाई अहिले याद छैन । तर, त्यो दिन म असाध्यै खुसी भएको थिएँ । संसारकै सबैभन्दा ठूलो मान्छे म नै हूँ भन्ने अनुभूति भएको थियो । त्यो क्षण म आज पनि सम्झन्छु । कहिल्यै विर्सिन्न । धातु र किंवदन्तीको सम्बन्ध हाम्रो शरीरदेखि सम्पूर्ण सृष्टी पञ्चधातुमा आधारित छ । पञ्चधातु भनेको सुन, चाँदी, तामा, फलाम र पित्तल हो । मानिस पनि पृथ्वीकै उत्पादन हो । धातु पनि पृथ्वीकै उत्पादन हो । ज्योतिषविज्ञान र धातु सम्बन्धि अन्य विज्ञानले पनि धातु र मानव जीवनको सम्बन्ध छ भन्छ । मानिसले आजसम्म पनि ग्रहको लागि हिरा मोतीदेखि लिएर नवरत्न लगाउने गर्छन् । यस्तै सम्बन्ध धातुको पनि छ । मानव जीवनमा आइपर्ने वा आएका समस्या र अप्ठेराहरुलाई धातुले सहजीकरण गरिदिन्छ । धातु, पथ्थर वा मानिसको जीवनको सम्बन्ध अन्धविश्वास मात्रै होइन । विज्ञानले पनि पुष्टी गरेको विषय हो । जस्तो कि मेडम क्युरीले रेडियम पत्ता लगाउनु भयो । त्यो पत्ता लगाउने क्रममा धेरै मासिकको ज्यान गयो । त्यसको ‘टेष्ट’ गर्ने क्रममै ५/७ जना वैज्ञानिकले ज्यान गुमाउनु परेको थियो । रेडियमलाई केहीले रोक्नै सक्दैन । तर, त्यसलाई सिसाले रोक्छ । सिसा त आगोमा देखाउने वित्तिकै गलेर जान्छ । तर, रेडियम जस्तो शक्तिशाली बस्तुलाई यसले रोक्छ । त्यसैकारण रेडियमलाई सिसाको बाकसमा राख्ने गरियो । एटोमिक इनर्जीको त नयाँ नयाँ अनुसन्धान भइरहेको छ । अर्काे, विद्युततिर लाग्यौं । ‘स्पाक्र्लिङ’ हुने धेरै जस्तो बस्तुहरुमा तामाको प्रयोग हुन्छ । पित्तलको पनि प्रयोग हुन्छ । तामा र पित्तलको प्रयोगले राम्रोसँग ‘फ्लो’ हुने भयो । त्यसमा गडबड नहोस् भनेर चाँदीको प्रयोग हुन्छ । यसैकारण पछिल्लो समय विज्ञान प्रविधिमा चाँदीको बढी प्रयोग हुन थालेको छ । सुनको पनि प्रयोग हुन थालेको छ । यसैकारण अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य बढ्ने भयो भनेर लगानीकर्ताहरुले सुन विक्री गरेर चाँदी किनेका थिए । यस्तै, सुनको कुरा गरौं । आयुर्वेदमा सुनको महत्व असाध्यै धेरै छ । सुवर्ण भष्म शक्तिको सबैभन्दा बलियो स्रोत हो । मान्छेहरु ‘कोल्याप्स’ हुने अवस्थामा पनि सुवर्ण भष्म दियो भने त्यसले ‘रिभाइभ’ गर्छ । पहिला पहिला हामीहरु गुइठा बालेर सुवर्ण भष्म बनाउँथ्यौं । यस्तै, मोति भष्म, लोहा भष्मको पनि महत्व र उपयोगिता छ । यस्ता भष्महरुलाई औषधीको रुपमा प्रयोग गर्ने गरिएको छ । यस्तो किन भयो भने मानिसदेखि यी सबै धातुको उत्पत्ति पृथ्वीबाटै हुने हो । मान्छे र धातुको सम्वन्धका बारेमा पहिला विश्वास थियो भने अहिले विज्ञान प्रविधिले पुष्टी पनि गरिरहेको छ । त्यसैकारण धातु र मानव जीवन सँगै रहन्छ जस्तो मलाई लाग्छ । हातका सबै औंलामा औठी लगाउनु पर्छ ? कसै कसैले हातका औंलाभरि औंठी लगाएको देखिन्छ । यो भनेको बढी ‘क्रेजीनेस’ हो भन्ने मलाई लाग्छ । संसारमै सबैभन्दा धेरै औंठी लगाउने भारतीयहरु हुन् । भारतमा अन्धविश्वास पनि बढी छ । औंठी पनि धेरै वटा लगाउने गरिएको पाइन्छ । त्यति धेरै औंठीहरु लगाउनु पर्छ भन्ने मलाई लाग्दैन । धातुको सम्बन्ध मानव जीवनसँग छ । असर गर्छ । तर, त्यसमा ‘टाइम फ्याक्टर’ हुन्छ । नवरत्नको प्रयोग गर्ने भनेको ग्रहसँग सम्बन्धित विषय हो । ग्रहहरु समयचक्रसँग चल्छन् । हामीलाई सबैभन्दा अप्ठेरो पार्ने भनेको उल्का दशाले हो । उल्का दशा जम्मा १५ दिन मात्रै चल्छ । सबैभन्दा लामो समय अर्थात ११ वर्षसम्म बृहस्पति ग्रह चलेको हुन्छ । त्यसैकारण ग्रहको आआफ्नो भूमिका अनुसार समय परिवर्तन भएको हुन्छ । त्यसैकारण ग्रहदशासँग सम्बन्धन राम्रो बनाउनको लागि समय मिलाएर एउटा वा दुईटा औंठी लगाए हुन्छ भन्ने मलाई लाग्छ । सुन व्यवसायी कि ज्योतिष ? हामी सुन व्यवसायी हौं । सुन जस्ता धातुको काम गर्ने भएपछि ज्योतिष विज्ञानबारे जानकारी राख्नै पर्छ । ज्योतिष विज्ञानको मात्रै होइन, रसायन विज्ञानको ज्ञान पनि हामीलाई आवश्यक पर्छ । जस्तो कि माटोदेखि विभिन्न प्रकारका एसिड हामीलाई चाहिन्छ । हामीलाई काम गर्न रातो माटो चाहिन्छ । अहिले आएर नाइटिङ एसिड, हाइड्रोक्लोरिक एसिड, सल्फरिक एसिड लगायतका धेरै एसिड आवश्यक पर्न थालेको छ । त्यसको प्रयोग गर्नुपर्छ । कलरिङ, फिनिसिङ, कटिङ गर्न एसिड चाहिन्छ । अचेल त रोडियम पालिस पनि गर्नुपर्ने भएको छ । यस्ता कार्यमा एसिड चाहियो । त्यसैले सबैखाले ‘एलिमेन्ट्री नलेज’ राख्न आवश्यक छ । होइन भने हामी ‘पर्फेक्ट’ कालिगढ हुन सक्दैनौं । अर्काे एउटा उदाहरण दिऊँ । यो कुरा हामीसँग प्रत्येक्ष सम्बन्ध भएको कुरा त होइन । तर, ‘रेफरेन्स’को रुपमा लिन सकिन्छ । केही समयअघि मात्रै राजेश शाक्य भन्ने पाटनको एक जना शिल्पकारले भुटानमा गएर ११०-११२ फिटको बुद्धको ठूलो मूर्ति बनाएको थियो । यो कार्यमा उसको खास भूमिका भनेको त पाता बनाउने र मूर्तिको स्केच बनाउने मात्रै हुनुपर्ने हो । तर, त्यहाँ राजेश शाक्यको अगुवाईमा काम भयो । उसले डकर्मी, इन्जिनियर, इलेक्टिसियनको सहायता लिनुपर्ने भयो । कहाँबाट आयो नेपालमा कालिगढी ज्ञान ? नेपालका नेवार समुदायले लामो समयदेखि धातुको गरगहना तथा मूर्ति बनाउने ज्ञान प्राप्त गरेका छन् । उनीहरुले आफ्नो बाबु बाजेमा भएको परम्परागत ज्ञान नै बाढेर यहाँसम्म ल्याइपुर्याएका हुन् । मेरै कुरा गरौं न । २०२५ सालतिर एउटा गहनाको फिनिङ गर्नुपर्ने काम आयो । बाहिरको एउटा कष्टुमरले झुम्का बनाउन अर्डर गर्यो । तिमीले यो काम गर्न सक्छौं भनेर मलाई भन्यो । मलाई एउटा डिजाइन देखायो पनि । अरुले सक्ने काम हामीले किन नसक्ने भनेर मैले बनाउने जिम्मा लिएँ । बढो कष्टका साथ डिजाइन अनुसार झुम्का त बनाएँ तर, फिनिसिङ गर्न सकिनँ । उज्यालो बनाउन जुन पालिस गर्नुपर्ने थियो, त्यो गर्न मलाई गाह्रो पर्यो । त्यो झुम्काको फिनिसिङका लागि मैले कयौं मानिससँग सम्पर्क गर्नुपर्यो । पहिला हामीले नुन, फिटकिरी, कन्भिसोडा मिसाएर लेप बनाएर कलरिङ गथ्र्याैं । गण्डकको पनि प्रयोग गथ्र्याैं । तर, यस्ता सबै बस्तुहरु कच्चा बस्तुको रुपमा मात्रै हुन्थे । हामी आफैले औषधीको मात्रा मिलाए जस्तै गरी मिलाएर कलरिङ गथ्र्याैं । तर, त्यो बेलाको नयाँ स्टायलको झुम्काको कलरिङ गर्न सकिनँ । मैले विभिन्न मान्छे भेटेर सहयोग प्राप्त गर्न खोजे पनि मेरो काम भएन । मेरो एक जना भिनाजु विदेशी हुनुहुन्थ्यो । उहाँसँग समन्वय गरेर प्रविधि प्राप्त गरेपछि त्यो झुम्का कलरिङ गर्न सकेँ । मैले त्यो झुम्का डिजाइन जस्तै बनाउन सकेपछि ‘अब तिमीले जे काम पनि गर्न सक्छौं’ भन्ने मौखिक तारिफ पनि पाएको थिएँ । सुन व्यवसायी वा कालिगढ किन रोगी हुन्छन् ? हामीले पनि एसिडमै काम गर्नुपर्छ । सावधानी अपनाएरै काम गर्नुपर्छ । तर, पनि हाम्रो काममा त्यति धेरै जोखिम छैन । हामीले प्रयोग गर्नुपर्ने पोटासियम साइनेट भनेको विष नै हो । धातुको रिफाइन गर्नको लागि यसको प्रयोग गर्नुपर्छ । यस्तो समस्या गहना बनाउनेहरुमा भन्दा पनि मूर्ति बनाउनेहरुमा बढी छ । यो समस्या थाहा पाउन पाटन जानुपर्छ । मूर्ति बनाउनको लागि मर्करीको प्रयोग गर्नुपर्छ । मर्करीले सबैभन्दा पहिला दाँतमा असर पुर्याउँछ । केही समयअघि हाम्रो विज्ञान मन्त्रालयले एउटा कार्यक्रम गरेको थियो । त्यो कार्यक्रममा मैले पनि भाग लिएको थिएँ । म सुनचादी व्यवसायी महासंघको अध्यक्ष थिएँ । मर्करीले स्वास्थ्य समस्या ल्यायो, यसलाई कसरी विस्थापन गर्ने भन्ने विषयमा छलफल चलेको थियो । यसको विकल्प के हुन सक्छ भन्ने विषयमा पनि कुरा भएको थियो । तर, मूर्तिको जलप लगाउने कार्यको लागि मर्करी नभई हुँदैन । इलेक्ट्रोप्लेटिङ पनि हुन्छ । इलेक्ट्रोप्लेटिङले लाइट मात्रै हुन्छ । दिगो हुँदैन । जलप लगाएपछि दियो हुन्छ । त्यसको लागि सुनको धुलो बनाउनै पर्छ । सुन धुलो हुने भनेको मर्करीमा मात्रै हो । सुन धुलो (डष्ट) बन्ने अर्काे विकल्प भनेको नाइटिक एसिड र हाइड्रोक्लोरिक एसिडको मिश्रणमा हो । यसरी डस्ट बनाइएको सुनले जलप लगाउन मिल्दैन । मर्करीमा भाङ मिलाएर गरिदियो भने सुनको डष्टले मूर्ति जलप गर्न सकिने भयो । स्थायी पनि हुने भयो । मर्करीबाट सबैभन्दा पहिला ग्यास आउने भयो । त्यो ग्यास सबैभन्दा पहिला मुखमा पर्छ । त्यसैको कारण दाँत खतम हुने भयो । दाँतपछि हड्डीमा असर पर्छ । त्यसैकारण मर्करी प्रयोग गर्ने मान्छेहरुको औंला कक्रिएर जाने गरेको हो । पछि मुटुमा असर पर्छ । त्यसैले मर्करीको प्रयोग गर्दा सावधानी अपनाउने परिस्थिति निर्माण गर्न सरकारले सहजीकरण गरिदेओस् भन्ने मेरो सुझाव थियो । हुँदैन भनेर हाम्रो कला संस्कृति नै सकिने थियो । अनि श्रीपेचको मूल्य तोकिएन २०६२/६३ को जनआन्दोलनपछि देश गणतन्त्रात्मक व्यवस्थामा जाने कुरा भयो । राजाले दरबार छोडेर जाने र दरबारमा भएका सबै सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण गर्ने भन्ने कुरा भयो । दरबारसँग हाम्रो देशको सबैभन्दा महत्वपूर्ण बस्तु श्रीपेच पनि थियो । मेरो नेतृत्वको टोलीले दरबारले बुझाएको श्रीपेच ठीक छ कि छैन भनेर जाँचेको हो । हाम्रो श्रीपेचमा हिरा, पन्ना, मोती, माणिक लगायत बहुमुल्य धातुहरु छन् । दरबारले श्रीपेच पनि नेपाल सरकारलाई बुझाउने भएपछि तत्कालिन बाणिज्य सचिव पुरुषोत्तम ओझाले फोन गर्नुभयो । दरबारले बुझाउन लागेको श्रीपेच सक्कली हो कि होइन भनेर हेर्नुपर्ने छ, कसलाई देखाउने भनेर उहाँले भन्नुभयो । मैले हुन्छ म हेर्छु भनेँ । सामान्य मन्त्रालयका सचिव गोविन्द कुसुमको नेतृत्वमा एउटा समिति थियो । त्यो समितिमा गृह सचिव उमेश मैनाली पनि हुनुहुन्थ्यो । रक्षा सचिव पनि हुनुहुन्थ्यो । सेनाको व्रिगेडियर जनरल हुनुहुन्थ्यो । त्यो समितिले श्रीपेचमा भएका बस्तुहरु धमाधम खोल्यो । हामीले त्यहीँ टेष्ट गर्यौं । दरबारमा भएको रेकर्डसँग भेरिफाइ गर्यौं । सबै कुरा ठिक पाइएपछि यो ठीक छ, सक्कली श्रीपेच हो भनेर मैले पनि हस्ताक्षर गरेको छु । यसरी नेपालको इतिहासमा असाध्यै महत्वपूर्ण काम (श्रीपेच जाँच्ने काम) गर्ने सौभाग्य मैले पनि पाएको छु । श्रीपेच छुँदा असाध्यै ‘एक्साइटेड’ हुँदो रहेछ । हुन त म केटाकेटी हुँदा कै बखतमा राजा रजौटाहरुको ३/४ वटा श्रीपेच छोइसकेको थिएँ । जुम्ला, गल्कोट र बझाङका रजौटाहरुको श्रीपेच मैले पहिला नै छोएको थिएँ । तर, ती श्रीपेच साना हुन्थे । खाली कल्की (चरा) हुन्थ्यो । राजाले प्रयोग गर्ने श्रीपेच भने आफ्नै विशेषतासहितको हुने नै भयो । म जाने वित्तिकै सो समितिले श्रीपेच भ्यालुएसन (मूल्यांकन) गर्नु पर्यो भन्यो । मैले दोहोर्याएर-यसको भ्यालुएसन गर्नुपर्ने कि आइडेन्टिफिकेसन (पहिचान) गर्नुपर्ने भनेर सोधे । उनीहरुले यो प्रश्न किन गरेको भनेर मलाई सोधे । मैले भ्यालुएसन गर्ने भए म गर्न सक्दिन भनेँ । भ्यालुएसन गर्न सकिदैन र गर्नुपनि हुँदैन भन्ने मेरो अडान थियो । नेपालको पहिचानको मोलमोलाई गर्न मिल्दैन भन्ने मेरो तर्क रह्यो । नेपालको श्रीपेचको मूल्यांकन गर्ने कार्य मानवता विरोधी, नेपाल विरोधी र हाम्रो इतिहास विरोधी कार्य हुन्छ भन्ने मेरो कुरा थियो । मैले यही कुरा राखें । श्रीपेच भनेको नेपालको लागि अनमोल चिज हो । अनमोल चिजको मूल्य नै हुँदैन । मेरो कुरामा त्यहाँ हुनुभएका ४/५ जना सचिवहरु सहमत हुनुभयो । अनि श्रीपेचको मूल्यांकन गरिएन, दरबारमा भएको रेकर्डसँग भिडाएर भेरिफिकेसन मात्रै गरियो । दरबार संग्राहलय सर्वसाधारणको लागि खुल्ला भएपछि पनि केही समयसम्म श्रीपेच राखिएको थिएन । त्यसलाई कसरी संरक्षित रुपमा त्यहाँ राख्न सकिन्छ भनेर हामीले पनि केही सुझावहरु दिएका थियौं । समितिको दोस्रो मिटिङमा बेलायतको महारानीको खास श्रीपेच संरक्षित रुपमा राखिएको र हाम्रो पनि त्यसै गरी राख्न सकिने सुझाव हामीले दिएका थियौं । अहिले हाम्रो श्रीपेच त्यही विधि अपनाएर राखिएको थियो । कति सुन बेचियो होला अहिलेसम्म ? मेरो व्यापार मध्यम खालको हो । ठूलो व्यवसायी म होइन । म वार्षिक ४ देखि ५ केजी सुन विक्री गर्छु । २०२२ सालदेखि सुन व्यवसायमा संलग्न छु भने अहिलेसम्म कति सुन बेचेँ होला ? यसको हिसाव मैले चै गरेको छैन । सबैभन्दा बढी सुन कति लगाइयो एकैपटक ? हामी त अरुलाई लगाउन सुन दिने व्यक्ति हो । हामीले लगाउने होइन (लामो हाँसो) । अहिले हातमा दुईटा साना औंठी लगाएको छु । यही हो मैले लगाएको सुन । केही वर्ष पहिला घाँटीमा एउटा सिक्री लगाएको थिएँ । अहिले त त्यो पनि छोडेँ । जनसमुदायलाई सजाउने हाम्रो काम हो । (विकासन्युजका लागि शिव सत्यालसँगको कुराकानीमा आधारित)
एउटा गुमनाम बैंकरको कथाः सधैँ क्लास टप, चेसमा गोल्डमेडलिष्ट (भिडियोसहित)
काठमाडौं । आजभन्दा दुई दशक अगाडि काठमाडौंको बौद्धका गल्लीहरुमा टोलका दाईहरुले चेस खेलेको पुरुषाेत्तम चौलागाईं अझैँ सम्झिन्छन् । चेसको बोर्डमा घोडा, हात्ती, बाघ लगायतका संज्ञा दिइएका गोटीहरु चालेका स्मरणहरु पुरुषाेत्तमको दिमागमा ताजै छन् । घरमा आफ्ना दाई अनि ठूलोबुबाहरुले खेलेको टुलुटुलु हेरेको र आफुले पनि कहिलेकाँही उनीहरुसँगै सिक्ने मौका पाएको दिनहरु उनलाई हिजोजस्तै लाग्छ । ओहो ! समय त कति घर्किसकेछ ? समयको गति पनि कति रफ्तारको ? गालामा दाह्री मात्रै होइन, काँधमा धेरै जिम्मेवारीहरु पनि थपिइसकेछन् । घर परिवार, साथीसङ्गी, बैंकको जागिर अनि प्यासनले जुराएको टाइटल ‘नेपाल च्याम्पियन’ । हो, काठमाडौं बौद्धका पुरुषाेत्तम चौलागाईं चेस खेलका ‘नेपाल च्याम्पियन’ हुन् । चेस पुरुषाेत्तमका लागि खेल मात्रै होइन, प्यासन पनि हो । त्यही प्यासन, लगाव, झुकाव र निरन्तरताले चेस खेलमा पुरुषाेत्तमलाई नेपाल च्याम्पियन बनाइदियो । विगत १० वर्षदेखि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा कार्यरत छन् । हाल उनी सो बैंकमा असिस्टेन्ट म्यानेजरको भूमिका निर्वाह गरिरहेका छन् । उनी भन्छन्, ‘बैंकको जागिर मेरो करियर हो भने चेस खेल चाहिँ प्यासन हो । जागिर बिना मेरो करियर भत्किन्छ अनि चेस बिना प्यासन । त्यसैले चेस र बैंकको जागिर मेरो लागि एकै सिक्काका दुई पाटा हुन् ।’ धार्मिक ग्रन्थ गितामा लेखिएको छ नि ‘कर्म गर फलको आश नगर,’ हो, बैंकर तथा चेस खेलका नेपाल च्याम्पियन पुरुषाेत्तम चौलागाईं पनि त्यही भनाईलाई आत्मसाथ गर्छन् । ‘म काम डटेर गर्छु, आफुले चाहेको कामको नतिजा ल्याउन सकेसम्मको प्रयास गर्छु, तर म त्यसले प्राप्त हुने फलको भने आश कहिल्यै गर्दैन, बस्, आफ्नो काम र प्यासनलाई सर्वोपरी ठान्छु, हदैसम्मको प्रयास गरेपछि फल नपाइने त कुरै हुँदैन नि,’ उनी आफ्ना भोगाई स्मरण गर्दै सुनाउँछन् । एसएलसीपछि चेस पुरुषाेत्तम चौलागाईंको जन्मघर प्रदेश दुईस्थित रौतहट जिल्लाको रौतहट नगरपालिका हो । वि.सं. २०४० सालमा जन्मेका पुरुषाेत्तमको बाल्यकाल भने काठमाडौंमै बित्यो र अहिले पनि उनी काठमाडौंको बौद्धमा परिवारसँगै बस्छन् । उनको घरमा आमाबुवा, दाजु–भाउजु, श्रीमति अनि सानो बच्चा छन् । २०४० सालमै रौतहटबाट काठमाडौं आएका उनले बौद्धकै प्रेरणा बोर्डिङ हाईस्कुलमा पढे । कक्षा १० सम्म उनी सोही स्कुलमा पढे । त्यो बेलासम्म न उनले चेस राम्रोसँग खेलेका थिए न त चेसको वारेमा खासै बुझेका नै । वि.सं. २०५७ सालमा एसएलसी दिएपछि भने उनले चेसलाई नजिकबाट नियाल्ने मात्रै होइन भरपुर खेल्ने मौका पनि पाए । एसएलसीसम्म घरमा दाई र ठूलोबुवाले खेलेको हेर्नु र बाटोमा टोलका दाईहरुले खेलेको हेर्नुमै उनी सीमित थिए । बुवाले खेतिपाती र सानोतिनो व्यापार व्यवसाय गर्ने । आमा घरको काम गर्ने । अनि दाई साथीभाईहरुसँग मिलेर व्यापार । सबै आ–आफ्नो काममा व्यस्त । तर, पनि आफुलाई चेस खेलमा लाग्नको लागि घरपरिवारबाट गज्जवको साथ मिलेको उनी बताउँछन् । कक्षा १० सकेपछि चेस खेललाई बढी समय दिएर खेल्न थालेको उनी बताउँछन । ‘म एसएलसीपछि मात्रै चेस खेलमा लागेँ, त्यो भन्दा अगाडि दाईहरुले खेलेको मात्रै हेर्थेँ, हेरेर पनि धेरै कूरा सिकेँ, १० कक्षापछि भने राम्रैसँग खेल्न थालेँ, एसएलसीमा चेसको टुर्नामेन्ट हुन्छ भन्ने थाहा पाएपछि चावहिलमा भएको एउटा प्रतियोगितामा आफु पनि सहभागी भएको उनी सुनाउँछन् । कक्षा १० पछि मात्रै चेसको वास्तविक विषेशता थाहा पाएको उनी बताउँछन् । ‘चेसको बारेमा अध्ययन पनि गर्नु पर्दो रहेछ भन्ने १० कक्षापछि थाहा पाएँ, चेसको किताब पनि पढ्नु पर्दो रहेछ, सानैदेखि चेस खेल्ने प्यासन भएपनि १० कक्षापछि भने राम्रैसँग खेल्ने मौका मिल्यो,’ उनी भन्छन् । क्लासमा सधैँ टप बैंकर चौलागाईंले कक्षा १० सम्म बौद्धकै प्रेरणा बोर्डिङ हाईस्कुलमा पढ्दा उनी कहिल्यै औसत विद्यार्थीमा गनिएनन् । कक्षामा उनी कहिले प्रथम त कुनै वर्ष दित्तीय हुन्थे । ‘प्रायः जसो म कक्षामा प्रथम नै हुन्थेँ, प्रथम नभएको वर्ष दोस्रो हुन्थेँ, सरहरुले पनि असाध्यै माया गर्नुहुन्थ्यो, चेस खेल खेलेपछि दिमाख पनि बढ्ने रहेछ भन्ने मैले त्यतिबेला देखि नै थाहा पाइसकेको थिएँ, पछि झन समय दिएर नै खेल्न थालेँ,’ उनी भन्छन् । कक्षा १० उत्तिर्ण भएपछि उनी प्लसटु पढ्न मदन भण्डारी कलेज गए । मदन भण्डारी कलेजमा उनले कमर्स पढे । प्लसटुमा पनि राम्रै अंकका साथ प्रथम श्रेणीमा पास भएकोे उनी बताउँछन । मदन भण्डारी कलेजबाट उनी स्नातक र स्नातकोत्तर पढ्न शंकरदेव कलजे गए । त्यो समयसम्म आफु चेसमा निकै अभ्यस्त भइसकेको उनी सुनाउँछन् । ‘१० कक्षापछि चेसलाई बढी समय दिन थालेँ, पढाईमा भने अलि कम समय हुन थाल्यो, तर परीक्षाको तयारी भने निकै गर्थ्र्यौं, स्नातक र स्नातकोत्तर पनि राम्रै अंक ल्याएर पास भइयो त्यसपछि विवाह गरियो,’ उनी आफ्नो विगत सुनाउँछन् । पार्ट टाईमबाट बैंकमा इण्ट्री बैंकर चौलागाईंलाई बैंकिङ क्षेत्रमा काम गर्न थालेको १० वर्ष भन्दा बढी समय भएको छ । सन् २०१० डिसेम्बरबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट पार्ट टाइमबाट जागिर सुरु गरेका उनी हालसम्म सोही बैंकमा काम गरिरहेका छन् । हाल उनी सो बैंकको असिस्टेन्ट म्यानेजर पदमा कार्यरत छन् । ‘सन् २०१० सम्म आइपुग्दा म धेरै परिपक्क भइसकेको थिएँ, चेस खेलसँग राम्रै प्रेम बसिसकेको थियो, म चाहँथेँ यो खेलसँगै ‘फुल टाइम’ बिताऔं, तर चेस खेलेरै करियर बनाउन भने असम्भव थियो, घरबाट पनि केही काम गर्नुपर्छ भन्ने कुरा आयो, म पनि चाहँन्थे पार्ट टाईम जागिर होस्, र चेसलाई पनि समय दिन पाउँ, हुन पनि त्यस्तै भयो, स्ट्याण्डर्ड बैंकमा पार्ट टाईममा काम गर्ने मौका पाएँ,’ उनी बताउँछन् । आफ्नो दाईको प्रेरणाबाट बैंकमा काम गर्ने अवसर मिलेको उनी बताउँछन् । ‘पढाईमा पनि राम्रै थिएँ, बैंकले कर्मचारीका लागि आवेदन मागेको रहेछ, मैले पनि परीक्षा दिएँ, लिखित राम्रो भयो, त्यसपछि मौखिक पनि राम्रै भयोे, तर मसँग बैंकमा काम गरेको अनुभव थिएन, बैंकले पनि पार्ट टाईममा राख्ने भन्यो, मलाई फुल टाइम जागिर पाएको भन्दा बढी खुसी त्यतिखेर मिल्यो,’ उनले थपे, ‘मैले चाहेको जस्तै भयो, त्यसपछि बैंकमा पार्ट टाइमबाट काम सुरु गरेँ र सँगै चेसलाई पनि समय दिएँ ।’ चेसले बैंकमा काम गर्न धेरै सहयोग पुग्ने चौलागाईंको अनुभव छ । चेसले ब्रेनको विकास गर्ने, क्याल्कुलेटिभ पावर बढाउने भएको हुँदा पनि आफुलाई बैंकमा काम गर्न धेरै सहयोग मिलेको उनी बताउँछन् । केही समय पार्ट टाइम काम गरेपछि उनलाई बैंकले फुल टाइमका लागि अफर गर्यो । त्यसपछि आफुले पनि अब करियरका लागि फुल टाइम काम गर्नु पर्छ भन्ने मानसिकता बनाएको उनी सुनाउँछन् । ‘चेस मेरो प्यासन हो, जसलाई मैले चाहेर पनि निकाल्न सक्दैन, यो मेरो दिमाखबाट हट्न सक्दैन, मसँग समय छैन भने केही समयका लागि म चेस नखेल्न पनि सक्छु, तर, बैंकिङ क्षेत्र मेरो करियरसँग सम्बन्धित, जसले मलाई मेरो परिवार चलाउनका लागि सहयोग गर्छ, मलाई लाग्छ बैंकको जागिर र चेस खेल मेरो लागि अपरिहार्य छन्,’ ‘उनी भन्छन्, ‘चेसले नै जिविकोपार्जन गर्न सक्ने अवस्था नेपालमा अहिलेसम्म बनिसकेको छैन, बैंकमा काम गर्दा गर्दै बढी तनाब भयो भने म रिफ्रेस हुन चेस खेल्छु, चेसले मलाई रिलिफ गर्छ ।’ बैंकर्सलाई चेस अपरिहार्य उनी बैंकर्सलाई चेस अपरिहार्य भएको बताउँछन् । चेसले ब्रेन विकासमा महत्वपूर्ण भूमीका खेल्ने भएकोले बैंकर्सले चेस खेल्नै पर्ने सुझाव उनी दिन्छन् । ‘चेस खेल बैंकमात्र होइन हरेक क्षेत्रमा आवश्यक छ, दिमाख जहाँ पनि प्रयोग हुन्छ, दिमाख प्रयोग हुुने सबै क्षेत्रमा चेस खेलको आवश्यकता छ, चेस खेल बैंकमा झन अपरिहार्य छ, बैंकमा आउने हरेक समस्याहरु समाधान गर्नको लागि पनि चेस खेलले महत्वपूर्ण भूमीका खेल्न सक्छ, धैर्यता बढाउनको लागि पनि यो खेल अपरिहार्य छ,’ उनले भने । आफु बैंकर पनि भएकोले धेरै फाइदा हुने गरेको उनको भनाई छ । उनका अनुसार अहिले उनलाई बैंकबाट पनि चेस खेलमा राम्रो साथ मिलेको छ । ‘समय मिलाउन सक्नु ठूलो विषय हो, बैंकले पनि निश्चित जिम्मेवारी दिएको हुन्छ, त्यो जिम्मेवारीलाई आफुले राम्रो सँग निर्वाह गर्ने हो, मैले बैंकले दिएको बिदा राम्रोसँग सदुपयोग गर्छु, कहिले काहिँ एउटा टुर्नामेन्ट हुँदा ४/५ दिन पनि समय लाग्छ, त्यतिखेर म बैंकसँग समन्वय गरेर मेरो बिदा कटाएर व्यवस्थापन गर्छु,’उनले भने,‘ मैले बैंकलाई मेरो यस्तो काम छ भनेर आग्रह गरेपछि बैंकले पनि स्वीकार गर्छ ।’ टुर्नामेन्ट चल्दै गर्दा आफ्नो खेल खेलेर फर्केर त्यही दिन बैंकमा काम गरेको अनुभव पनि चौलागाईंसँग छ । भुल्नै नसकिने त्यो क्षण चेसमा गोल्ड मेडलिष्ट बनेर नेपाल च्याम्पियन बन्नु उनको सपना थियो । सोही सपना साकार भएको दिन नै पुरुषाेत्तम आफ्नो भुल्नै नसकिने क्षणमा रुपमा लिन्छन् । ‘कुनै पनि टुर्नामेन्टमा प्रथम हुनु र गोल्ड मेडलिष्ट बन्नु मेरो लागि ठूलो उपलब्धि हो,मेरो निरन्तर रुपमा टुर्नामेन्छ जितेको छु, जुन मेरो जीवनमा महत्वपूर्ण क्षण हो, १४ देशहरुबीच एसिएन लेभलमा भएको चेस खेलमा म ब्राउन मेडलिष्ट पनि हुँ,उनी भन्छन्,‘तर नेपालमा चेस खेलाडीको खासै चर्चा हुँदैन, सरकारले पनि खासै प्राथमिकतामा राखेको छैन, त्यसबेला मात्रै दुःख लाग्छ ।’ दोस्रो नमुना बौद्ध मास्टर चेस प्रतियोगिताको विजेतापछि आमासँग तस्वीर खिचाउँदै चालागाईं उनी २०७६ मा भएको आठौं राष्ट्रिय चेस प्रतियोगिताका नेपाल च्याम्यिन हुन् । ओलम्पिआरमा सहभागी हुने अवसर पनि आफ्ना लागि ठूलो उपलब्धिका रुपमा उनी लिन्छन् । जुन कोरोनाको कारण २०२२ मा सरेको छ । सो खेलले आफुलाई अन्तर्राष्ट्रिय रुपमा अझ माथि बढ्ने महत्वपूर्ण खुुड्किला बन्ने आत्मविश्वास उनमा छ । ‘म टुर्नामेन्टमा पहिले दोस्रो मात्रै हुन्थेँ, केही वर्ष मात्रै भएको छ प्रथम हुन थालेको छु, अझै नेपाललाई चेस खेलमा अन्तर्राष्ट्रिय रुपमा चिनाउने लक्ष्य छ,’ उनले भने । हालसम्म दर्जनौं खेलहरुमा उनी विजेता बनिसकेका छन् । चार देशमा भ्रमण च्याम्पियन चौलागाईले चेस खेल खेल्नकै लागि विभिन्न चार देशमा भ्रमण गरिसकेका छन् । उनले भारतको मुम्बई, राजस्थान, जयपुर, चेन्नई, दिल्ली लगायतकाका शहरहरुमा गइसकेका छन् । सन् २०१३ मा रसियामा भएको एउटा प्रतियोगितामा भाग लिँदै चौलागाईं यस्तै उनले चीन, रसिया र दुवई गएर पनि चेस खेलिसकेका छन् । विदेशमा एक पटक गएपछि १५/२० दिन पनि बस्नु पर्ने अवस्था आउने उनले बताए । ‘घर परिवार मेरो काममा सकारात्मक हुनुहुनँ, उहाँहरुले साथ नदिएको भए त म यहाँसम्म हुँदैन थेँ, मेरो स्मोकिङ ड्रिङकिङमा ह्याविट नभएको कारणले पनि म जहाँ गए प नि घरको मान्छेले त्यति धेरै चिन्ता गर्नु हुन्नँ । उहाँहरुलाई मप्रति विश्वा भएको कारणले पनि जता गए पनि पूर्ण साथ दिनुु भयो, म १०/२० दिन बाहिर गए पनि उहाँहरुले कुनै अवरोध गर्नु भएन,’ उनी भन्छन्, ‘यसले मलाई झन यसमा रम्न हौसला मिलेको छ ।’ चेस खेलाडीलाई सुझाव बैंकर तथा च्याम्पियन चौलागाईं सुरुमा यो खेलको महत्व बुझ्न सुझाव दिन्छन् । ‘कुनै पनि खेलको आ–आफ्नै विशेषता र महत्व हुन्छन्, धेरै खेलहरुका विभिन्न फाइदा र वेफाइदा हुन्छन्, तर चेसका वेफाइदा छैनन् फाइदा मात्रै छन्, चेस खेल्ने मान्छे र नखेल्नेमान्छेमा धेरै फरक पाउन सक्छौं, एउटा चेस खेल्ने र नखेल्ने विद्यार्थीको तुलना गर्दा नखेल्नको भन्दा खेल्ने विद्यार्थीको राम्रो ग्रडे आएको अध्ययनले पनि देखाइसकेको छ, उनी भन्छन्,’ ‘चेस खे्ल्दा दुइटै बे्रन एक्टिभ हुने हुन्छ र यसले व्यक्तिको बे्रेन विकामा धेरै महत्वपूर्ण भूमिका खेल्छ, चेस खेल्ने सबैलाई यसलाई रिन्तरता दिन आग्रह गर्छु ।’ चेस खेल्ने मानिसमा बिर्सने रोग लाग्ने सम्भावना पनि एकदमै कम हुने उनको भनाई छ । ‘अहिले चेस खेलेर पनि जिविकापार्जन गर्न सकिने अवस्था छ,अनलाइनमा खेलेर पनि पैसा कमाउन सकिन्छ,यसले मान्छलाई धैयर्ता सिकाउँछ, राम्रो व्यक्ति बन्न यसले महत्वपूर्ण काम गर्छ,’ उनी बताउँछन् । राज्यले यसलाई महत्व नदिँदासम्म र यसमा लगानी नबढाउँदा सम्म माथि उठ्न नसक्ने बताउँदै यो खेलमा राज्यले लगानी बढाउनु पर्ने उनको धारणा छ । अहिले चेस खेल सिक्ने धेरै माध्यम भएको बताउँदै सानैदेखि चेस खेल्न सुरु गर्न पनि सुझाव दिन्छन् । भावी योजना उनी आगामी दिनमा नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने प्रयास गर्ने बताउँछन् । ‘मैले धेरैपछि चेस खेल्न सुरु गरेँ, जुन धेरै ढिलो भइसकेको थियो, चेसको विकास गर्नुछ भने स्कुल तहबाट सुरु गर्नुपर्छ, विदेशमा एलकेजी यूकजेटीबाटै चेस खेल्न सुरु गर्छन्, अब हामीले पनि स्कुल तहबाटै चेसलाई प्राथमिकता दिनु पर्छ,’ उनी भन्छन्,’ ‘एसएसएलसीसम्म पुग्दा व्यक्ति चेसमा टप भइसेको हुनु पर्छ ।’ अब विभिन्न स्कुलहरुमा चेस सुरु गर्नु पर्छ भनेर आफ्नो टिम लागि रहेको उनले बताए । यसका लागि अहिले अनलाइनबाट पनि काम भइरहेको उनको भनाई छ । यस्तै, आफु सहित साथीहरुले मिलेर अहिले एउटा चेस क्लब स्थापना गरेको उनले सुनाए । ‘अब चेसलाई बढी प्राथमिकता दिएर अगाडि बढ्ने योजना छ, क्लब पनि स्थापना गरिसकेका छौं, क्लब मार्फत चेसलाई अगाडि बढाउनको लागि पनि धेरै सहयोग पुग्छ,’ उनले भने । भिडियाे: