विदेशी मुद्रा व्यवस्थापनमा अर्थमन्त्रालयको उदाशिनता, राष्ट्र बैंककै भरथेग
काठमाडौं । अहिले देशको अर्थतन्त्रको नाजुक बन्दै गएको छ । व्यापार घाटा बढिरहेको छ । शोधान्तर स्थिति ऋणात्मक बनेको छ भने विदेशी विनिमय सञ्चिती पनि घट्दै गइरहेको छ । वस्तुको मूल्य दिनप्रतिदिन उकालो लाग्दैछ । देशको अर्थतन्त्रको दिशाले अर्थविद्हरु मात्रै होइनन् अधिकांश सरकारी अधिकारीहरु पनि चिन्तित छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको माघ मसान्तसम्म १६.२ प्रतिशतले कमी आई ११ खर्ब ७३ अर्ब २ करोड कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । जबकी नेपालका लागि ८ महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने विदेशी विनिमय सञ्चिति सन्तोषजनक मानिने अर्थविद्हरु बताउँछन् । अर्थशास्त्री डा.रमेश पाडेल अर्थतन्त्रलाई सहज रुपमा मार्गनिर्देश गर्नका लागि अर्थमन्त्रालय र राष्ट्र बैंकको समन्वय हुन नसकेको बताउँछन् । अहिलेको असहज परिस्थितिमा जुन किसिमको समन्वय गरेर जानु पर्थ्यो त्यो अभ्यास अर्थमन्त्रालय र राष्ट्र बैंकबीच नदेखिएको उनको भनाई छ । ‘विकसित र सन्तुलित अर्थतन्त्र भएका देशहरुमा ३ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्राको संचिति छ भने त्यसलाई सहज अवस्था मानिन्छ, नेपालमा भने हाम्रो अर्थतन्त्रका धेरे अवयवहरु हेरेर करिब ८ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा संचिति छ भने त्यसलाई सहज अवस्था मान्ने भनिएको छ तर अहिले हामीसँग भएको विदेशी मुद्राको संचितिले साढे ६.७ महिनाको आयात मात्रै धान्न पुग्ने देखिएको छ, यो केही असहज अवस्था हो,’ उनले भने । उनका अनुसार अहिले जारी युक्रेन र रसियाबीचको युद्धको कारणले पनि वस्तुहरुको मूल्य बढ्ने हुँदा त्यसको प्रत्यक्ष प्रभाव तथा दवाव नेपालको विदेशी विनिमय सञ्चितीमा पर्नेछ । उनले राष्ट्र बैंकले विदेशी मुद्रा व्यवस्थापनमा अपनाइएको औजारहरु पनि दीर्घकालीन रुपमा परिणाममुखी नहुने बताए । उनले यी औजारहरुलाई अल्पकालिन रुपमा नराखेर पछिसम्म कायमै राखे अन्य समस्या सिर्जना भएर देशको राजश्वमै ह्रास आउन सक्ने दावी समेत गरे । राष्ट्र बैंकको प्रयास विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेको अर्थतन्त्रलाई पुनरुत्थानका लागि भन्दै आएको राष्ट्र बैंकको मौद्रिक नीतिले व्यवसायीबाट वाहीवाही पायो । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटभन्दा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ल्याएको मौद्रक नीतिको खुबै प्रशंसा पायो । मौद्रिक नीति पश्चात अर्थतन्त्र समस्यामा पर्न थालेपछि राष्ट्र बैंक आयातमा कैँची लाउन थाल्यो । हाल नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा व्यवस्थापन अर्थात विदेशी विनिमय सञ्चिती बचाउनकै लागि विभिन्न व्यवस्था गरेको छ । राष्ट्र बैंकले २५ सय वटा वस्तुको आयातमा कडाई गरेको छ । धेरै वस्तुहरुको आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको छ भने कतिपयमा ५० प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको छ । यस्तै, विदेशी विनिमय सञ्चिती व्यवस्थापनकै लागि राष्ट्र बैंकले बैंकहरुलाई रेमिट्यान्स बचत खातामा अन्यको तुलनामा १ प्रतिशत व्याज बढी दिने व्यवस्था पनि गर्यो भने सुनमा पनि कडाई गर्यो । नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेल विदेशी मुद्रा व्यवस्थापनका लागि राष्ट्र बैंक लागिपरेको बताउँछन् । वस्तु आयातमा राष्ट्र बैंकले बन्देज लगाउन सक्ने नभएकोले मार्जिन राखेरै भएपनि कडाई गरेको उनको भनाई छ । ‘हामीले आफ्नो क्षेत्राधिकार अनुसारको काम गर्ने हो, ५० वटा वस्तुमा शतप्रतिशत मार्जिन राखेका छौं, सुन आयातमा कडाई गरेका छौं, रेमिट्यान्स खातामा १ प्रतिशत बढी व्याज दिने व्यवस्था गरेका छौं, यसले विदेशी विनिमय सञ्चितीमा कम दवाव पर्छ भन्ने हाम्रो बुझाई हो,’ उनले भने । राष्ट्र बैंक स्रोतका अनुसार अहिले राष्ट्र बैंकले नै अर्थमन्त्रालयमाथि ‘ओभरटेक’ गरेको छ । ‘अर्थमन्त्रालयले गर्नु पर्ने काम पनि राष्ट्र बैंकले गरिरहेको छ, यस्तो अवस्थामा अनावश्यक अर्थात कम आवश्यक वस्तुहरु आयातमा अर्थमन्त्रालयले बन्देज नै लगाउनु पर्थ्यो, विभिन्न अल्पकालीन व्यवस्थाहरु गरेर नागरिकलाई विश्वस्त पार्न सक्नु पर्थ्यो । तर, कुनै काम हुन सकेनन्, वित्त नीति वित्त नीति जस्तो नै भएन, स्रोतले भन्यो । अर्थमन्त्रालयको उदाशिनता अहिले विदेशी मुद्रा व्यवस्थापन तथा व्यापारघाटा कम गर्नका लागि अर्थमन्त्रालयले कुनै चासो नदिएको आरोप पनि लागेको छ । अर्थतन्त्र समस्याग्रस्थ भइरहेको अवस्थामा अल्पकालीन व्यवस्थाहरु गरेर अगाडि बढ्नु पर्ने अवस्थामा अर्थमन्त्रालय राष्ट्र बैंककै भर परेर मौन बसेको आरोप पनि विभिन्न अर्थविद् तथा सरोेकारवालाहरुले लगाउँदै आएका छन् । पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्रालय र राष्ट्र बैंकबीच समन्वय हुन नसक्दा झन ठूलो समस्या सिर्जना भएको बताउँछन् । उनले सरकारले पुँजीगत खर्च बढाउन नसक्नु, नीतिहरु सही ढंगबाट ल्याउन नसक्नु, अनौपचारिक क्षेत्रको पैसा बैंकिङ च्यालनमा ल्याउन नसक्नु र गरेका प्रतिवद्धताहरु कार्यान्वयन नगर्दा नै अहिले समस्या सिर्जना भएको बताउँछन् । ‘मुख्य विषय त अर्थमन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नै हुन सकेन, पुँजीगत खर्च पनि हुन सकेन, अनुमानभन्दा बढी कर्जा लगानी पनि बढ्यो, रेमिट्यान्स घट्न नहुने व्यवस्थ गर्न सक्नु पर्थ्यो त्यो पनि गर्न सकेन, परिणाम स्वरूप अहिलेको वातावरण सिर्जना भयो,’ उनले भने । राष्ट्र बैंकले आफ्नो गल्ति सच्याउनका लागि पछि केही व्यवस्था गरेपनि त्यो धेरै ढिलो भइसकेको उनको भनाई छ । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई विश्वास नगर्दा पनि अर्थतन्त्रमा यो समस्या आएको उनको भनाई छ । अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला भने अर्थमन्त्रालयले वित्त नीतिमार्फत दीर्घकालीन व्यवस्थाहरु मात्रै गर्ने भएकोले राष्ट्र बैंकलाई सल्लाह सुझाव तथा सहकार्यमै काम भइरहेको बताउँछन् । मौद्रिक औजारहरु परिचालन गर्ने काम राष्ट्र बैंकको नै भएकोले त्यसमा अर्थमन्त्रालयले सल्लाह सुझाव मात्र दिन सक्ने उनको तर्क छ । ‘प्रायजसो वित्त नीतिले दीर्घकालीन नीतिहरु ल्याउँछ, अल्पकालीन व्यवस्था तथा मौद्रिक औजार राष्ट्र बैंकले नै प्रयोग गर्छ, मनिटरी पोलिसीमार्फत नै सबै काम हुन्छन्, अहिलेको अवस्था आउनुमा कसैको कुनै कमजोरी छैन, रुस र युक्रेनको युद्धको कारण महँगी बढ्यो र त्यसको प्रत्यक्ष असर विदेशी विनिमय सञ्चितीमा पर्यो, डलरको मूल्य बढिरहेको छ, हामीले कुनै वस्तुमा तत्काल बन्देज गर्दा पनि अर्को समस्या सिर्जना हुन सक्छ,’ हामीले गर्नसम्मको प्रयास गरिरहेका छौं,’ उनले विकासन्युजसँग भने ।
बैंकर जोडीः श्रीमान फर्ष्ट म्यान, श्रीमती सेकेण्ड म्यान र राष्ट्र बैंकले खोसेको पद
काठमाडौं । अमेरिकन प्रशिद्ध संगीतकार ड्यूक एलिंगटनले भनेका छन्, ‘समस्या भनेको राम्रो गर्ने अवसर हो ।’ हरेकको जीवनमा विभिन्न आरोह, अवरोह तथा समस्याहरु आउँछन् । ती समस्याहरुलाई अवसर ठानेर जसले आफुलाई थप परिस्कृत गर्छ उसले नै एकदिन अवश्य सफलता हात पार्छ । भनिन्छ नि, ‘सत्यलाई नकार्न सकिँदैन’ सफलता वा असफलता पनि सत्य हो । त्यो सत्यलाई अगाडि आत्मसाथ गरेर जसले अगाडि बढ्छ उसलाई लक्ष्य भेटाउन धेरै समय कुर्नु पर्दैन । आजभन्दा २० वर्ष अगाडि रसुवाकी सरिता ढकाललाई पनि यस्तै लाग्थ्यो । प्लसटुको पढाई सकेर काम खोज्दै गरेका ती पल हुन् वा काम पाइसकेपछि पनि राति अबेरसम्म दुर्गम गाउँठाउँमा टर्च बालेर काम गर्दाका ती दिनहरु सरितालाई हिजो जस्तै लाग्छ । कमै काम गर्नु परोस्, सुविधा सम्पन्न ठाउँमा काम पाइयोस्, सँगै काम गर्ने सहकर्मीहरुले साथ दिउन्, सकेसम्म कामबाट चाँडै घर जान पाइयोस् भन्ने सबैको इच्छा आकांक्षा र रहर अवश्य नै हुन्छ । तर, सरिता ढकालले भने अहिलेसम्म त्यस्तो अनुभव गर्न पाएकी छैनन् । विवाह नगर्दै सिउँदोमा सिन्दुर भर्नुको बाध्यता होस्, आफैले अफिसमा कुच्चो लगाएका दिनहरु हुन् वा सँगै काम गर्ने सहकर्मीहरुले सरितालाई आफ्नो टीममा नराखेको दुःखदायी क्षणहरु नै किन नहुन् ती हरेक दुःखदायी क्षण र चुनौतिहरुले उनलाई थप पाठ सिकायो । ती चुनौति र समस्याहरु उनका लागि अवसर बने । सरिता ढकाल हाल साधना लघुवित्त वित्तीय संस्थाकी सहायक महाप्रबन्धकमा कार्यरत छिन् । यो पदमा पुग्न उनले २० वर्ष संघर्ष गर्नु पर्यो । वि.स २०३९ सालमा रसुवा जिल्लाको बेद्रावतीमा जन्मिएकी ढकाल मध्यमवर्गीय परिवारको सदस्य थिइन् । रसुवाकै निलकण्ठ माध्यामिक विद्यालयबाट २०५५ सालमा एसएलसी (हालको एसईई) पास गरेकी उनले नुवाकोटको चण्डेश्वरीबाट मानविकी संकायमा प्लसटु पूरा गरिन् । एसएलसीसम्म मध्यमस्तरकी विद्यार्थीको रुपमा चिनिने उनले प्लसटुमा कलेज टप गरिन् । ‘एसएलसी दिएपछि म विभिन्न तालिमहरुमा व्यस्थ हुन्थें, मसँग खासै समय हुन्थेन, कलेज जानलाई समय पनि हुँदैनथ्यो तर, पनि कलेज टप हुँदा खुशी लागेको थियो,’ उनले स्कुले जीवन स्मरण गर्दै सुनाइन् । प्लसटुपछि काम सरिताले प्लसटु सकेपछि अब काम गर्नु पर्छ भन्ने योजना बनाइन् । उनी पढाईमा मात्र फोकस नभई जब करियरमा बढी रुची देखाउन थालिन् । एसएलसी पास भएपछि हाउसहोल्ड सर्भिसको कामसँगै लिट्रेसी सम्बन्धि तालिम लिएकी थिइन् । सो तालिमले उनलाई एक अर्कासँग बोल्न नडराउने बनायो । उनी निडरका साथ अरुसँग बोल्ने भइसकेकी थिइन् । ‘मलाई सानैदेखि जागिर खाने खुब रुची थियो, जसलाई भेट्दा पनि जागिर मिलाई दिनु भन्थें, यसैक्रममा एक जना दाईले बारामा डिप्प्रोक्स नेपालमा काम छ जान्छौं भन्नुभयो, म पनि हुन्छ भनेर गएँ, सोही संस्थाबाट मेरो जब करियर सुरु भयो,’ उनले भनिन् । ढकालले काम शुरु गरेको संस्था डिप्रोक्स नेपालले माइक्रोफाइनान्सको सेवा सुविधा दिन्थ्यो । संस्थाले उनलाई प्रशिक्षार्थी कर्मचारीमा राख्यो । उनले त्यहाँ ७ वर्ष पुरा काम गरिन् । यो अवधिमा उनी प्रशिक्षार्थी कर्मचारीबाट सिनियर मोटिभेटरसम्म बन्न सफल भएकी थिइन् । टीम पाटर्नरसँगै प्रेम, त्यसपछि विवाह डिप्रोक्स नेपालमा सरितासँगै काम गर्थे लमजुङका रेशम न्यौपाने । सँगै काम गर्दा सरिता र रेशमको आत्मियता बढ्यो । एउटै पद भएर पनि हुन सक्छ उनीहरुको सामिप्यता झन् बढ्यो । ‘डिप्रोक्समा हुँदा मलाई कसैले पनि टीममा राख्न मान्नु भएको थिएन, एउटा टीममा दुई जना हुनु पर्नेमा मेरो टीममा म एक्लै थिएँ, पछि म आवद्ध भएको तीन महिनापछि एक जना सर (रेशम न्यौपाने) मेरो पोष्टमै आवद्ध हुनुभयो, एउटै पोष्टमा भएपछि हामीबीचको नजिकता बढ्दै गयो, एक अर्कालाई बुझ्ने मौका पनि पायौं, हामी यतिसम्मको डिसिप्लेनमा थियौंकी खाना पनि कहिल्यैसँगै खादैनथ्यौं, सँगै खाना खाएपछि भोलि केही अफ्ठ्यारो पर्छ की भनेर म आफै सजक बनेको थिएँ, त्यसैले म छुट्टै खाना बनाएर खान्थें भने उहाँ होटलमा गएर खानुहुन्थ्यो, मैले पनि खाना खाउँ भनेर प्रस्ताव राख्न सकेको थिइनँ तर, पछि एकदिन उहाँ बिरामी पर्नु भयो, अरु टीमका साथीहरुले होटलको खानाले उहाँलाई टाइफाइड भयो, अब सँगै खाना खाने गर्नुस् भनेपछि मात्रै हामीले सँगै खाना खान थालेका हौं,’ उनले विगत सम्झिदै भनिन् । दिनहरु बित्दै गए । सरिता र रेशमको साथ प्रगाढ हुन थाल्यो । दुवै जनाले एकअर्कालाई प्रेम गर्न थालिसकेका थिए । सरिता र रेशमले नजिक हुँदा मात्रै नभई टाढा हुँदा पनि एक अर्कालाई राम्रोसँग कियरिङ र सियरिङ गर्न थाले । एक अर्कालाई आँट भरोसा दिन थाले । ‘काम गर्दै जाँदा हाम्रो सामिप्यता बढ्दै गयो, एक अर्कालाई राम्रैसँग बुझ्न थाल्यौं, मैले पनि उहाँलाई आँट भरोसा दिन थालें, उहाँ विराटनगर हुँदा म काठमाडौं सरुवा भएको थिएँ, यति लामो दुरि हुँदा पनि हामीले एक अर्कालाई नजिकबाट बुझिरहेका थियौं, कुनै काम गर्न एक अर्कालाई म छु भन्दै हौसला दिन थाल्यौं, यतिसम्मकी सरले मैले भनेको कुनै पनि कुरालाई ‘नो’ भन्न सक्नुहुन्थेन, उहाँबाट मैले शुरुवातदेखि नै अहिलेसम्म पनि त्यो किसिमको सपोर्ट पाइरहेको छु,’ ढकालले भनिन् । प्रेम भएको ४ वर्षपछि मात्रै उनीहरु विवाह बन्धनमा बाँधिए । जतिबेला सरिता २३ वर्षकी थिइन् । एकअर्कालाई राम्रोसँग बुझ्ने भएकाले विवाह बन्धनमा बाधिएको उनले सुनाइन् । सँगै काम गर्दाको टीम पाटर्नरलाई लाइफ पाटर्नर बनाउन पाउँदा उनी अहिले खुशी छिन् । विवाह नहुँदै सिन्दुर लगाएका ती दिन कयौं दिनहरु दुर्गम गाउँमा गएर भोकै बस्नु परेका अनभुवहरु सरितासँग प्रशस्त छन् । वित्तीय संस्थामा धेरै नै दुःख गरिएका दिन सम्झदै उनले भनिन्, ‘अहिले अफिस समय ८ बजेदेखि बनाइएको छ, पहिला त बिहान ७ बजेनै अफिस पुगेर बेलुका ९/१० बजे मात्र फर्किन्थ्यौं, फिल्डको कामको लागि कतै गाउँ जानुपर्ने छ भने झोलामा टर्च बोकेर ४/५ घण्टा उकालो हिँडेर भए पनि पुग्थ्यौं,’ उनले भनिन् । त्यति मात्रै होइन अविवाहित अवस्थामै सिउँदोमा सिन्दुर लगाउनु पर्ने नमिठो अनुभव उनीसँग छ । पहाडकी छोरी ढकालले तराईंमा करिब ७ वर्ष आफ्नो कलिलो जीवन बिताइन् । ‘म १६/१७ वर्षकी थिएँ, विवाह भएको थिएन, तर तराईंमा सबैले विवाह भएको छ भनेर सोध्थे, म भइसकेको छ भन्थें । किनकी मलाई अफ्ठ्यारो हुन्छ भनेर विवाह भएको छ भन्न लगाइएको थियो, अनि विवाह भएको मान्छेको खाली सिउँदो हेर्न हुँदैन भनेर त्यहाँका महिलाहरुले दैनिक सिउँदोमा सिन्दुर लगाउँथे, म विवश भएर सिउँदो थाप्थें, त्यो मेरो जीवनकै नमिठो अनुभव थियो,’ उनले निराश हुँदै सुनाइन् । उनले फिल्डमा जाँदा सिन्दुर लगाउने र अफिसमा फर्केपछि पानीले पखाल्ने गरेको बताइन् । तर, आफुले जस्तो सुकै पीडा भोगेपनि निरन्तर काममा लागि परेको सुनाइन् । ‘म अरुले के भन्छ भनेर पछि लागिन, त्यो सुन्ने समय पनि हुँदैनथ्यो, अरुले सुनाउँदा पनि वास्ता गरिनँ, भन्नेले भनिराखुन्, दुनियाँमा कसैले कुरा सुनेर हिड्नु हुँदैन र विश्वास पनि गर्नुहुँदैन, मलाई लाग्थ्यो मान्छेको जति सोचाईं हुन्छ, त्यति नै भन्ने हुन्, उनीहरुलाई जस्टिफाई दिइरहन जरुरी छैन, आफुले गल्ती गरेको बेलामा जस्टिफाई दिनु पर्ला नत्र आवश्यक छैन,’ उनी आत्मविश्वासका साथ भन्छिन् । विकास बैंकमा पनि काम डिप्रोक्स नेपालमा ७ वर्ष काम गरेको अनुभव बटुल्दै उनी पोखरा पुगिन् । उनी २०६७ साल बैशाख १ गतेदेखि कास्कीको साउँखोलामा शाखा रहेको मुक्तिनाथ विकास बैंकमा आवद्ध भइन् । त्यसपछि, डेढ वर्षपछि डेभिडफलमा रहेको सोही बैंकको शाखामा जोडिन पुगिन् । उनले करिब ७ वर्ष जति सोही शाखामा रहेर काम गरिन् । असिस्टेन्टको रुपमा गएकी उनी जुनियर अफिसर हुँदै सिनियर अफिसरसम्म भइन् । र, पछि उनी सुभरभिजन विभागमा तानिइन् । त्यतिबेला उनले बैंकको काठमाडौंमा रहेको ११ वटा शाखाको मनिटरिङ्ग गर्थिन् । मुक्तिनाथ विकास बैंकमा काम गर्दा पनि धेरै कुराहरु सिकेको उनी सुनाउँछिन् । सो बैंकमा कामा गर्दा सरिताले छोराको जन्म दिइन् । सानो छोरालाई पिठ्युँमा बोकर बैंकमा काम गर्दाको अनुभव पनि उनीसँग छ । ‘छोरो सानो थियो, कति मिटिङहरुमा छोरोसँगै हुन्थ्यो, बिहान ७ बजे अफिस जानुपर्ने हुन्थ्यो, बिहान ७ बजे नै बच्चा छोडेर अफिस जान्थें, १३ वर्षको नानीलाई बच्चा जिम्मा लगाएर फिल्ड जान्थें, अनि कसैले फोन गर्दा पनि मन झसंग हुन्थ्यों, कतै बच्चालाई केही भइहाल्यो की भन्नलाई फोन आएको हो की भन्ने जस्तो अवस्था पनि हुन्थ्यो,’ पहिला गरिएका ती संघर्षलाई सम्झिँदै ढकालले भनिन्- ‘म परिवासँग थिइनँ, साथीको रुपमा मसँग दिदीको छोरी थिइन्, उनले नै बाबु हेर्थिन्, बाबुलाई निमोनिया हुँदा पनि म उनकै भरमा छोडेर अफिसको काममा लागि परेको थिएँ, त्यतिबेला पनि धेरै नै संघर्ष गरियो ।’ सरिताले मुक्तिनाथमा काम गर्दै गर्दा रेशम पनि डिप्रोक्स नेपालबाट मुक्तिनाथ विकास बैंकमा आए । त्यहाँ केही समय काम गरेर उनी चौतारी माइक्रोफाइनान्समा गए । हाल उनी साधना लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा कार्यरत छन् । श्रीमान फर्ष्ट म्यान, श्रीमती सेकेण्ड म्यान मुक्तिनाथ विकास बैंकमा काम गरेपछि सरिताले साधना लघुवित्त वित्तीय संस्थामा काम थालिन् । उनले २०७४ साल कात्तिक २३ गते सो संस्थामा नियुक्ति पाइन् । ‘मलाई मुक्तिनाथ विकास बैंकमा सबै कुराले राम्रै थियो तर, सरलाई साधना लघुवित्त वित्तीय संस्थामा सीईओमा अफर आयो, उहाँलाई त्यो अफर आईसकेपछि दुबैजना जानुपर्छ भन्ने भयो, फर्ष्ट म्यान सफल हुनुमा सेकेन्ड म्यानको हात पनि ठूलो हुन्छ भन्ने भयो, र सोही मान्यता अनुरुप नै हामी हुर्किसकेको संस्थाबाट भर्खर जन्मिएको संस्थामा आवद्ध भयौं,’ उनले भनिन् । त्यतिबेला उनका श्रीमान र उनको धेरैले आलोचना गरे । राम्रो संस्था छोडेर किन भर्खरको संस्थामा गएको भनेर प्रश्न पनि गरे । तर, उनीहरु दुवै जनाले निरन्तर आफ्नो काम गरिरहे । ‘धेरैले तिमीहरुले जुवा खेलेको हो, स्थापना भइसकेको संस्था छोडेर एकैपटक नजाओ, एकैपटक जाँदा गाह्रो हुन्छ भने धेरै साथीहरुले भन्नु भएको थियो, तर एक युगमा एकपटक मात्रै समय आउँछ, समय आएको बेलामा जोखिम लिनै पर्छ भनेर हामी अघि बढ्यौं, श्रीमानले पनि अहिले अलि बेला भएको छैन, दुई चार वर्षपछि मात्रै जानेकी भन्नु भएको थियो । तर, मैले होइन अब पनि बेला नभए कहिले हुन्छ, अब अघि बढ्नु पर्छ, म छु, साथ दिन्छु भनेर संस्थामा आईयो,’ उनले भनिन् । ‘हामी आउँदा संस्था सानो थियो, सबै जिम्मेवारी नै हामीलाई नै दिएको छ भन्ने हुन्थ्यो, मैले कुच्चो लगाउँदै जाने र सीईओ (श्रीमान)ले पुछ्दै जानेसम्मको पनि काम गर्यौं, यति संघर्षपछि हामीले खोलेको पहिलो वर्षको ८ महिनामै संस्थालाई नाफामा लियौं, थोरै जनशक्तिबाट हामीले धेरै काम लियौं, पहिला शाखा खोज्नको लागि ७/८ घण्टा हिँडेर गइन्थ्यो, त्यसपछि बल्लतल्ल एउटा मोटरसाइकल किनेका थियौं, अहिले ६५ लाखको गाडी छ, मान्छे पिच्छे नै मोटरसाइकल त नर्मल भइसक्यो,’ उनले पहिलेको दुःख र अहिलेको सफलता सुनाउँदै भनिन् । उनका अनुसार साधनाको ९३ वटा शाखा छन् । हाल संस्थामा ४५० हाराहारीको कर्मचारी छन् । ‘संस्थामा पहिलो नियुक्ति मेरो थियो भने उहाँको सेकेन्ड नियुक्ति हो्, त्यतिबेला ६ वटा ब्रान्च थियो । धेरै संघर्ष गरेर शाखा खोल्यौं, अहिले ६ अर्ब बराबरको लगानी छ, एक लाख हाराहारीमा ग्राहक छन्,’ उनले भनिन् । ‘म कहिले कता त कहिले कता पुगिरहेको हुन्छु, आधि अफिसमा हुन्छु भने आधि फिल्ड, ब्रान्च सुपरभिजन, ट्रेनिङ्ग तिरै हुन्छु । मैले यहाँ आएको पहिलो दुई वर्षजति सबै डिपार्ट हेर्थें, उनले भनिन्,‘अहिले विशेष गरी तालिम, एचआर र प्रशासन गरी तीन वटा डिपार्ट हेर्छु ।’ आएर धेरै संघर्ष गरेर संस्थालाई नेशनल लेभलको बनाइयो । अहिले संस्थाको सबै स्ट्रक्चरहरु राम्रो छ ।’ श्रीमानलाई सीईओ बनाउने दृढता सरिताका श्रीमान रेशम न्यौपाने पनि बैंकर नै हुन् । उनी हाल साधना लघुवित्तकै सीईओका रुपमा कार्यरत छन् । न्यौपाने सीईओ बन्नु पछाडिको महत्वपूर्ण पहल, योजना र निर्णय सरिताको छ । सुरुमा डिप्रोक्समा काम गर्ने उनीहरु त्यसपछि मुक्तिनाथमा पनि सँगै काम गरे । मुक्तिनाथमा काम गरेपछि न्यौपाने चौतारी माइक्रोफाइनान्समा आवद्ध भए । सो संस्थाबाट बाहिरिएर उनीहरु साधनामा काम गर्न थाले । साधनामा रेशम फष्ट म्यान बने भने सरिता सेकेण्ड म्यान । तर, राष्ट्र बैंकको एक नीतिले उनीहरुको पद बदलियो । ‘मेरो त्यो बेलाको लक्ष्य सरलाई कुनै बलियो कम्पनीको सीईओ बनाउँछु भन्ने थियो, जुन मेरो प्रतिवद्धता नै थियो, र, पुरा पनि भयो, साधनामा आएपछि थुप्रै संघर्ष पनि गर्यौं, त्यतिबेला सर फर्ष्ट म्यान हुनुहुन्थ्यो भने म सकेण्ड म्यान, तर पछि नेपाल राष्ट्र बैंकले एउटै घर परिवारको फर्ष्ट म्यान र सेकेण्ड म्यान राख्न नमिल्ने नीति ल्याएसँगै अहिले सहायक महाप्रबन्धक पदमा छु, उहाँ सीईओ नै हुनुहुन्छ’ उनले सुनाइन् । ढकालले महेन्द्ररन्त कलेजबाट स्नातक तहको शिक्षा हासिल गरेकी छिन् । एजुकेशनबाट स्नातक गरेकी उनले सोसियोलोजि र आर एण्ड डीबाट एमबीए गरेकी छिन् । प्लसटुमा बेला बेलामा कलेज पुगेकी ढकालले स्नातकमा त कलेज समेत नदेखेको सुनाउँछिन् । सेल्फ स्टडीबाट नै उक्त शिक्षा हासिल गर्न सफल भएको उनले बताइन् । उनले आफुलाई पनि श्रीमानले धेरै साथ सहयोग गरेको सुनाइन् । उनले माइती पक्षबाट पनि धेरै साथ मिलेकै कारण आफु संघर्षको बाटोमा दौडिन पाएको बताउँछिन् । समाजले विभिन्न प्रश्नहरु उठाउने भएपनि आफ्नो काम र कर्तव्यमा अडिक रहेर काम गरे मात्रै सफलता पाइने उनले बताइन् । ‘धेरैले त मलाई तपाईं कसरी यस्तो एक्टिभ हुनुभएको ? के खानुहुन्छ ? भनेर सोध्नुहुन्छ, मेरो जवाफमा काम गर्ने शरीरले होइन, दिमागलाई जसरी चलायो त्यसैगरी चल्ने म भन्छु, वास्तविकमा हो पनि, पहिलेदेखि नै मेरो मान्यता त्यहि नै थियो, सो मान्यताको कारणले होला कोभिड हुँदा पनि म २ देखि ३ दिनसम्म पनि सुतिन, जबकी मलाई ४ पटकसम्म कोभिड भएको थियो, यसको लागि आफ्नो आत्मबल बलियो हुनुपर्छ,’ उनले भनिन् । ‘म दिनरात काम गरिरहेकी हुन्छु, दिनरात खट्दा तपाईंको श्रीमानसँग राम्रो सम्बन्ध छैन की, डिभोर्स भइसकेको हो की क्या हो पनि भन्थे, डेरामै बस्दा पनि बिहानै ७ बजेर निस्केर बेलुका ८/९ बजे आउँदा घरबेटीले गरेको चाल राम्रो छैननी भन्ने प्रश्न पनि सहनु पर्यो, केटी मान्छे यति रातीसम्म किन यसरी काम गर्ने भनेर एक किसिमको पीडाहरु दिन्थे,’ विवाहित भएपछिको त्यो पीडा सम्झँदै ढकालले भनिन् । महिलालाई सुझाव सरिता ढकाल महिलाहरुलाई आर्थिक रुपमा एकदमै सबल हुनुपर्ने सल्लाह दिन्छन् । त्यसका लागि आफुले नै संघर्ष गर्नु पर्ने उनको भनाई छ । ‘अब महिलाहरु आर्थिक रुपमा सबल हुनैपर्छ, अरु विकल्पै छैन । अहिले पनि कतिपय महिलाहरु घरेलु हिंसामा पीडित भएको सुनिरहेका हुन्छौं, आर्थिक रुपमा सबल नभएको कारणले नै महिलाहरु हेपिनु परेको हो, त्यसैले महिलाहरु पनि आर्थिक रुपमा सबल हुनै पर्छ, त्यसको लागि संघर्ष गर्नै पर्छ, संघर्ष गरेपछि अवश्य पनि सफल भइन्छ, पोजेटिभ थिङ्किङसँगै म गर्न सक्छु भन्ने भावना हुनु पर्छ,’ उनले भनिन् । वित्तीय संस्थामा २ दशक पार गरेकी ढकालले विभिन्न समयमा विभिन्न ठाउँका महिलाहरुसँग छलफल गर्न पाएको अवसर सुनाउँदै उनी भन्छिन्, ‘जीवनमा मान्छेलाई चान्स भनेको एकपटक मात्रै आउँछ, त्यो चान्स जतिबेला आएको छ, त्यसलाई गेन गर्न सकिएन भने पछि परिन्छ ।’ अब सीईओ बन्ने, संस्थालाई नम्बर वान बनाउने ढकालले लघुवित्तको क्षेत्रमा दुई दशक पार गरिसकेकी छिन् । उनलाई यही क्षेत्रमा रहेर सामाजिक काम गर्न अझै पनि रहर छ । उनले अब आफ्नो सीईओ बन्ने लक्ष्य भएको सुनाइन् । ‘म शुरुवात देखिनै सामाजिक क्षेत्रमा लागेको मान्छे, अबको जीवन पनि सामाजिक क्षेत्रमै बिताउँछु, मेरो श्रीमानलाई सीईओ बनाउने सपना थियो, त्यो पुरा गरें, अबको लक्ष्य भनेको आफु पनि कुनै संस्थाको सीईओ बन्ने नै हो, यसमा सरको फुल सर्पोट पाएको छु, उक्त सपना पुरा गर्न पनि सक्छु,’ उनले आफ्नो योजना सुनाइन् । यस्तै, उनले हाल आवद्ध संस्था साधना लघुवित्तलाई नम्बर वान बनाउने योजना रहेको सुनाइन् । ‘पिछडीएका महिलाहरुको जीवनमा आर्थिक सर्पोट गर्ने र यही साधनालाई नेपालको नम्बर वान माइक्रोफाइनान्स बनाउने लक्ष्य छ, साधनाको नामसँग मेरो नाम जोडिएको छ, करियर जोडिएको छ, यहाँको कर्मचारी नभई करियर सोचेर यो संस्थालाई एकदमै स्ट्रङ बनाउने र साधनाकै सीईओ बनेर संस्थालाई लघुवित्त क्षेत्रमध्येकै नम्बर वान बनाउने मेरो इच्छा छ,’ उनले भनिन् ।
बैंकले नगद लाभांश दिन पाएको भए अहिलेको संकट कम हुन्थ्यो ?
काठमाडौं । सरकारले गत जेठ र असार महिनामा सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकम आफैले दिन्छु भनेर बजेट वक्तव्यमै भन्यो । यी दुई महिनाको रकम दिदा सरकारले १ अर्ब ५० करोड रुपैयाँ दिनुपर्ने रहेछ । तर, अर्थमन्त्रालयले यो रकम दिएको छैन । कोषले योगदान रकमबाट ६.५ प्रतिशत व्याज दिने भनेको छ । सरकारले १ अर्ब ५० करोड रुपैयाँ समयमै नदिदा योगदानकर्तालाई ५ करोड रुपैयाँ जति व्याजबाटै नोक्सानी भइसकेको छ । किनभने सरकारले दिने नभनेको भए रोजगारदाताले पैसा हालिसक्थे, योगदानकर्ताले पनि दिन्थे । तर, सरकारले म दिन्छु भन्यो, दिएको छैन, कहिले दिने थाहा छैन, नोक्सानी योगदानकर्तालाई भएको छ । कोरोना बीमाको पुनर्बिमकको रुपमा सरकार बस्यो । बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले आफ्नो भागको दायित्व तिरिसके । तर, सरकारले पुनर्बिमकका रुपमा तिर्नुपर्ने करिब ११ अर्ब रुपैयाँ दाबी नदिदा कोरोना बीमा गराएका बिमितले शर्त अनुसार दाबी भुक्तानी पाएका छैनन् । कोषको लागि दिनुपर्ने र कोरोना बीमा वापतको रकम दिनको लागि बजेट नभएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । कोरोना बीमाको लागि नपुगेपनि सामाजिक सुरक्षा कोषको लागि दिनुपर्ने रकम यसपाली सरकारले सजिलै पाउथ्यो । कोषमा दिनुपर्ने रकम १ अर्ब ५० करोड रुपैयाँ मात्रै हो । नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था नगरेको भए सरकारले राष्ट्रिय वाणिज्य बैंकबाट लाभांशको रुपमा २ अर्ब ५४ करोड रुपैयाँ पाउने थियो । किनभने राष्ट्रिय वाणिज्य बैंकमा सरकारको करिब शतप्रतिशत लगानी छ । बैंकले यो वर्ष ३३ प्रतिशत लाभांश वितरण गर्दा २ अर्ब ५४ करोड रुपैयाँ हुन्छ । नेपाल राष्ट्र बैंकले यो वर्ष नगद लाभांश दिन बैंकहरुलाई रोक्यो । अधिकांश बैंक वित्तीय संस्थाहरुले बोनस सेयर दिए । यसैकारण राष्ट्रिय वाणिज्य बैंकमा सरकारको २ अर्ब ५४ करोड रुपैयाँ पुँजी थपियो, नगद पाएन । नविल बैंकले यसवर्ष नगद लाभांश मात्रै बाढेको भए चौधरी ग्रुपले १ अर्ब ६८ करोड रुपैयाँ जति नगद लाभांश पाउने थियो । किनभने नविल बैंकमा चौधरी ग्रुपको ५० प्रतिशतभन्दा बढी लगानी छ । नविलले यसवर्ष ३ अर्ब ३७ करोड रुपैयाँ (३३.५ प्रतिशत) लाभांश वितरण गरेको छ । अहिले बैंकिङ क्षेत्रमा तरलता अभाव छ । बैंकहरु कर्जा दिन सकिरहेका छैनन् । बैंकहरुले कर्जा रोकेको समयमा चौधरी ग्रुपले १ अर्ब ६८ करोड रुपैयाँ नगद पाएको भए उसले थप उद्योग लगाउन सक्थ्यो या भएका उद्योगको क्षमता विस्तार गर्थ्याे होला । नभएपनि चौधरी ग्रुपले लगाउदै गरेका उद्योग संचालनको गृहकार्य गर्थ्याे । तर, नगद पाएन । नविल बैंकमा सो ग्रुपको पुँजी थपियो । सन्दर्भ नविल बैंक वा राष्ट्रिय वाणिज्य बैंकको मात्रै होइन । सबै बैंक तथा वित्तीय संस्थाहरुका सेयरधनीको अवस्था यस्तै हो । गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी ३ खर्ब ९० अर्ब ५६ करोड रुपैयाँ थियो । यो वर्ष बैंकिङ क्षेत्रले औसतमा १५ प्रतिशत लाभांश बाढ्यो । बैंकिङ क्षेत्रले सेयरधनीलाई यो वर्ष (१५ प्रतिशत लाभांशको दरले हिसाव गर्दा) ५८ अर्ब ५० करोड रुपैयाँ वितरण गरेछ । तर, सेयरधनीले यो बराबरको रकम भने पाएनन् । बोनस सेयर मात्रै दिएकोले बैंकको पुँजी बढ्यो, बैंकमा लगानी गर्नेले नगद देख्न पाएनन् । बैंकिङ क्षेत्रमा अहिले तरलता अभाव छ । यो क्षेत्रले ५८ अर्ब ५० करोड रुपैयाँ नगद लाभांश बाढेको भए सो रकम बैंक तथा वित्तीय संस्थामै निक्षेपको रुपमा रहन्थ्यो । यसो हुँदा बैंकिङ क्षेत्रमा थप ५८ अर्ब ५० करोड रुपैयाँ तरलता सिर्जना हुन्थ्यो । यस्तै, पछिल्लो समय अर्थतन्त्र गम्भीर समस्यातर्फ अग्रसर भएको देखिन्छ । यस्तो समस्याको कारणहरुमध्ये राष्ट्र बैंकको लाभांश नीति पनि हो कि होइन ? राष्ट्र बैंकले बैंकहरुलाई धेरै कर्जा बढाउन दिने तर, सेयरधनीलाई नगदै नदिने नीति ल्याएर समस्या सिर्जना गरेको त होइन ? १४० अर्बको लगानी प्रभावित बैंकहरुले यो वर्ष प्रदान गरेको ५८ अर्ब ४० करोड रुपैयाँमध्ये ४० प्रतिशत रकम सर्वसाधारणको हातमा जान्थ्यो । किनभने अहिले बैंकहरुमा औसतमा प्रमोटरको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत जति सेयर छ । यो वर्ष प्रमोटर सेयरधनीले ३५ अर्ब रुपैयाँ जति नगद लाभांश (५८ अर्ब ५० करोडको ६० प्रतिशतले हुने रकम) पाउँथे । बैंकिङ क्षेत्रबाट कर्जा पाउन सक्ने अवस्थामा बोनस सेयर मात्रै दिन पाइन्छ भनेर नीतिगत व्यवस्था गरिनु औद्योगिक वातावरण विगार्नु नै रहेको एक उद्योगी बताउँछन् । अहिले बैंकहरुले कर्जा नै रोकेकोले मात्रै राष्ट्र बैंकको नीति ठिकै जस्तो देखिएको ती उद्योगीको भनाई छ । ‘बैंकहरुले नगद लाभांश दिदा उद्योगीको हातमा पनि पैसा जान्छ, किनभने हाम्रोमा उद्योग, व्यापार वा बैंकको प्रमोटर हुने भनेको सिधा वा घुमाइफिराई जे गरेर भएपनि एउटै मान्छे वा समुह हो, उद्योग गर्नको लागि मसँग २५ रुपैयाँ छ भने बाँकी ७५ रुपैयाँ बैंकले ऋण दिन्छ, अहिले बैंकहरुले ऋण दिनै नसक्ने अवस्था भएकोले यो नीति ठिकै जस्तो लागेको हो, बैंकबाट ऋण पाइने अवस्था हुन्थ्यो भने यो गलत नीति हो,’ ती उद्योगीले भने । बैंकका प्रमोटरले पाएको ३५ अर्ब रुपैयाँ ती उद्योगीले भनेको जस्तै गरी २५ प्रतिशत मान्ने हो भने सो रकमबाट १ खर्ब ४० अर्ब रुपैयाँ जति उद्योगमा लगानी थपिने अवस्था देखिन्छ । वित्तीय स्थायित्वका लागि आवश्यक थियोः डा. गुणाकर भट्ट नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट वित्तीय स्थायित्वका लागि नगद लाभांश वितरणमा रोक लगाउनु आवश्यक देखिएको बताउँछन् । ‘कोभिड संकटपछि वित्तीय स्थायित्वका लागि विभिन्न देशले विभिन्न प्रकारका रणनीति अख्तियार गरे, केही देशले लाभांश वितरण नै रोके, हामीले नगद लाभांश मात्रै रोकेको हो, जुन आवश्यक थियो’, डा. भट्टले भने । कागजको खोस्टो भिडाइयोः शशिकान्त अग्रवाल विभिन्न बैंकको प्रमोटर सेयरधनी रहेका शशिकान्त अग्रवाल आफ्नो लगानीबाट नगद लाभांश नपाएकोमा असन्तुष्ट छन् । उनले विभिन्न बैंकहरुमा गरी करिब ३ करोड कित्ता प्रमोटर सेयर भएको जानकारी दिए । ‘मसँग विभिन्न बैंकहरुको गरी करिब ३ करोड कित्ता प्रमोटर सेयर छ, बैंकहरुले औसतमा यो वर्ष १५ प्रतिशत लाभांश दिदा मैले ४५ करोड रुपैयाँ जति नगद लाभांश पाउने थिएँ तर, मैले नगद पाइनँ, प्रमोटर सेयर थप भयो, प्रमोटर सेयर बेचेर नगद बनाउन साह्रै कठिन छ, प्रक्रिया पूरा गर्न नै एक वर्षभन्दा बढी समय लाग्छ, नगद बनाउन कठिन हुने सम्पत्ति त कागजको खोस्टो जस्तै भयो नि,’ अग्रवालले विकासन्युजसँग भने । यसपाली नगद लाभांश पाएको भए मेरियट होटलको कर्जा तिर्ने सोच बनाएको उनले सुनाए । ‘कोभिड महामारीको कारण यसवर्ष नयाँ प्रोजेक्ट सुरु गर्न त्यति अनुकुल देखिएन, नगद लाभांश पाएको भए मेरियट होटलको लागि लिएको कर्जा घटाउँने योजना बनाएको थिएँ,’ अग्रवालले भने । मेरियट होटलले बैंकहरुबाट करिब ३ अर्ब रुपैयाँ कर्जा लिएको छ । लगानी गर्न सक्षमले पुँजी पाउँछः रामेश्वर खनाल पूर्व अर्थ सचिव रामेश्वर खनाल बोनस सेयर दिने नीतिले अर्थतन्त्रमा संकुचन आएको स्वीकार गर्दैनन् । राज्यका निकायहरुलाई बैंक वित्तीय संस्थाका प्रमोटरले भन्दा कर्जाको रुपमा रकम लिनेहरुले बढी प्रभावकारी रुपमा लगानी गर्छन् भन्ने लागेमा नगद लाभांश रोक्न सक्ने उनको धारणा छ । ‘प्रभावशाली व्यक्तिहरुले उद्योग व्यवसाय गर्नको लागि स्रोतको व्यवस्था सहजै गर्न सक्छन्, उनीहरुले प्रमोटर सेयरबाट आउने नगद लाभांशमा भर पर्नु पर्दैन तर, कुनै समयमा राज्यलाई बैंकका प्रमोटरले भन्दा अन्य व्यक्तिहरुले प्रभावकारी ढंगबाट लगानी गर्छन् भन्ने लाग्यो भने, बैंकको पुँजी बृद्धि आवश्यक देखियो भने वा बैंकले कमाएको रकम बाहिर नजाओस् भन्ने निष्कर्ष निकालियो भने नगद लाभांश दिन रोक्ने गरिन्छ, जुन स्वभाविक नै हो,’ पूर्व अर्थ सचिव खनालले भने । अन्याय भयोः शंकरलाल अग्रवाल शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल नगद लाभांश वितरणमा रोक लगाउनु अन्याय भएको बताउँछन् । ‘अहिले म आफै रिटायर्ड लाइफमा पुगें, मैले यो उमेरमा प्रतिफल पाउनको लागि भनेर कुनै बैंकको प्रमोटर सेयरमा लगानी गरेको थिएँ भने मैले नगद लाभांश पाइनँ, प्रमोटर सेयर विक्री गर्नेको लागि लामो प्रक्रिया पूरा गर्नुपर्छ, मलाई औषधी खान वा अन्य दैनिक प्रयोजनको लागि चाहिने रकम लाभांशबाट आउछ भन्ने अपेक्षाले लगानी गरेको थिएँ तर, अहिले क्यास पाइनँ भने मेरो हालत खराब हुने भयो,’ अग्रवालले भने । राष्ट्र बैंकले ठीक गर्योः दिनेश श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ भने नगद लाभांश वितरण गर्न रोकेर राष्ट्र बैंकले ठीक गरेको बताउँछन् । अहिले अर्थतन्त्रमा गम्भीर समस्या देखिए पनि राष्ट्र बैंकले बैंकहरुलाई नगद लाभांश वितरण गर्न रोक्ने नीतिको यसमा कुनै योगदान नभएको उनको भनाई छ । ‘अहिले अर्थतन्त्रमा गम्भीर समस्या देखिएको छ तर, यो समस्या आउनुमा बैंकहरुले नगद लाभांश दिन रोक्ने निर्णयको कुनै योगदान देख्दिनँ, बरु नगद लाभांश रोकेर राष्ट्र बैंकले ठीक गर्यो,’ उपाध्यक्ष श्रेष्ठले भने । उनले नेपालका केही बैंकहरुमा सरकारको र केही बैंकहरुमा विदेशी लगानी पनि भएकोले नगद लाभांश वितरण गरिएको भए बैंकिङ क्षेत्रको साथै शोधनान्तर अवस्थामा अझ समस्या थपिने बताए । ‘तीनवटा बैंकमा सरकारको लगानी छ, ती बैंकले नगद लाभांश दिएका भए सरकारले बैंकबाट पैसा लिएर जान्थ्यो, केही बैंकहरुमा विदेशी लगानी पनि छ, ती बैंकहरुले नगद लाभांश दिएका भए विदेशी मुद्रामा जाने भएकोले हाम्रो शोधनान्तर अवस्था अझ नराम्रो हुन्थ्यो, त्यसैले राष्ट्र बैंकले लिएको यो नीति त ठीक हो भन्ने मलाई लाग्छ,’ उपाध्यक्ष श्रेष्ठले भने । ‘दुई वर्ष पूरै रोक्नुपथ्र्यो’ राष्ट्र बैंककै केही पूर्व कार्यकारी निर्देशकहरु राष्ट्र बैंक फलोअर हुन थालेको बताउँछन् । मार्केट लिडरको रुपमा काम गर्नुपर्ने राष्ट्र बैंक बजारमा नतिजा देखिन थालेपछि त्यसैलाई आत्मसाथ गर्ने गरी फलोअर जस्तो बन्न थालेको उनीहरुको आरोप छ । ‘मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत बैंकदर, स्थायी तरलता सुविधा दर, नीतिगत रिपोदर र निक्षेप संकलन दर २÷२ प्रतिशतका दरले बढाइयो, यस्तो किन गरियो भने बजारमा व्याजदर धेरै बढ्यो, राष्ट्र बैंक मार्केट लिडरको रुपमा रहनु पथ्र्याे तर, बजारमा जस्तो अवस्था देखियो, त्यस्तै बन्ने भनेर फओर मात्रै हो,’ राष्ट्र बैंकका एक पूर्व कार्यकारी निर्देशकले भने । राष्ट्र बैंकका अर्का एक अधिकारी भने राष्ट्र बैंकले २ वर्षको लागि लाभांश वितरणमै रोक लगाउनु पर्नेमा त्यसो गर्न नसकेको बताउँछन् । ‘कोभिडको असर व्यालेन्ससीटमा कस्तो देखिन्छ भन्ने अझै थाहा भएको छैन, त्यसको असर थाहा भएपछि मात्रै बैंकहरु अव यस्ता हुने भएछन् भन्ने थाहा हुन्छ, त्यसैले २ वर्षसम्म बोनस नै वितरण गर्न रोक्नुपर्नेमा राष्ट्र बैंकले नगद लाभांश मात्रै राक्यो,’ ती अधिकारीले भने । ६० कम्पनीमा ४ खर्ब ३७ अर्ब लगानी केही विश्लेषकहरु भने बैंकिङ क्षेत्रमा अधिक पुँजी थुप्रिएको र त्यसैको कारण समस्या देखिन थालेको बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीे २०७८ असार मसान्तमा ३ खर्ब ९० अर्ब ५६ करोड रुपैयाँ थियो, पुस मसान्तमा बढेर ४ खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ, यो भनेको खासगरी २७ वटा वाणिज्य बैंक, १८ वटा विकास बैंक र १५ वटा फाइनान्स कम्पनी गरी ६० कम्पनीमा भएको पुँजी लगानी हो, निश्चित क्षेत्रका सिमित कम्पनीमा बढी लगानी केन्द्रीत हुँदा समस्या सिर्जना भएको हो,’ एक विश्लेषकले भने । सम्बन्धित सामग्री बैंकको नाफाः सरकार र उच्च व्यवस्थापनलाई नोटका बिटा, सेयरधनीलाई कागजको खोस्टा !