बीमाका शक्तिशाली सीईओ

काठमाडौं । दिनमै तीन जोडी बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरे । यो साता मात्र सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भयो । यसअघि प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सम्झौता भइसकेको छ । त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको थियो । यी दुई कम्पनीबीच मर्जर प्रक्रिया सकिएको छ । असार मसान्त सकिन एक दिन र दुई रात पुरै बाँकी छ । यस अवधिमा कुन कुन बीमा कम्पनीबीच मर्जरको सम्झौता हुने हो ? त्यो अनुमान गर्न कठिन छ । नियामक बीमा समितिले मर्जरको सुविधा पाउनको लागि असार मसान्तसम्म सैद्धान्तिक सहमतिको सम्झौता गर्नु पर्ने निर्देशन दिएको थियो । मर्जरमा जाने केही कम्पनीको मोडालिटी प्रष्ट छ भने केहीको अस्पष्ट छ । विविध असहमतिलाई पछि सहमति गरौंला भनेर सैद्धान्तिक सहमति मात्र गर्ने कम्पनीहरुको मर्ज भाँडिन पनि सक्छ । एनसीसी बैंकमा मर्ज नहुने भनेर कुमारी बैंकको विशेष साधारणसभाले गरेको निर्णय, इन्भेष्टमेन्ट बैंकसँग मर्ज नहुने भनेर हिमालयन बैंकको विशेष साधारणसभाले गरेको निर्णय झै कुनै पनि बीमा कम्पनीले मर्जमा नजाने भनेर निर्णय गरे भने नियामकको पनि केही लाग्दैन, अदालतले पनि केही गर्न सक्दैन । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीचको एकिकृत कारोबार साउन १ गतेदेखि हुँदैछ । मर्जपछि कम्पनीको नाम हिमालयन एभेरेष्ट जनरल इन्स्योरेन्स राखिएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाह बन्दै छन् । एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमलाई मर्जसँगै विदा गरिदैछ । ८ वर्ष एजएलजी इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएको शाह नेपाल इन्स्योरेन्स कम्पनीमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरे । हिमालयन जनरल इन्स्योरेन्समा गत फागुनदेखि उनी प्रमुख कार्यकारी अधिकृत छन् । नेपाल बिमक संघको अध्यक्ष भइसकेका शाहले विकासशील देशहरुको बीमा कम्पनी तथा नियामकहरुको संस्था एआईआरडीसीको समेत अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन् । बीमा क्षेत्रमा अबको ८ वर्ष उनी प्रभावशाली सीईओको रुपमा रहि रहनेछन् । बीमा क्षेत्रमा बलियो उपस्थिति जनाउँदै हाइट गेन गरिरहेका प्रमुख कार्यकारी अधिकृतमध्ये एक हुन् चंकी कुँवर क्षेत्री । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा दोस्रो कार्यकालको जिम्मेवारी समालिरहेका क्षेत्री नेपाल बीमक संघको अध्यक्ष पनि हुन् । मनमा लागेको कुरा समकक्षी, कम्पनीको सञ्चालक, नियामक जो कोहीसँग पनि खुलेर राख्ने सीईओ छवि बनेको छ उनको । मर्जपछि बन्ने सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा अब ८ वर्ष प्रमुख कार्यकारी अधिकृत बन्न उनलाई मार्ग प्रशस्त भएको छ । मर्ज भएको थिएन भने उनी चालु कार्यकाल सकिएपछि सगरमाथाबाट विदा हुने थिए । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भई बन्न लागेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत रमेश कुमार भट्टराई रहने छन् । हाल महालक्ष्मी लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराई विगत २७ वर्षदेखि विभिन्न कम्पनीको सीईओ रहँदै आएका छन् । महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक हुँदै महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओ बनेको भट्टराई मर्जपछि बन्ने नयाँ कम्पनीमा पनि आफ्नो निरन्तरता जारी राख्न सफल भएका छन् । सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्जपछि बन्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुद्युम्न उपाध्याय बन्दैछन् । सानिमा जनरल इन्स्योरेन्स संस्थापनको मस्यौदाकार नै हुन् उनी । प्रिमियर इन्स्योरेन्समा ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भई अवकाश पाएका उपाध्यायले विगत दुई वर्षदेखि सानिमाको नेतृत्व गर्दै आएका छन् । लो प्रोफाइलमा बसेर प्रुडेन्ट विजनेश अभ्यास गर्ने छवि बनाएको उपाध्याय बीमा क्षेत्रमा अब ८ वर्ष निरन्तर रहने निश्चित भएको छ । पेशाकर्मीहरुको लागि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनु पैसा, पावर, प्रख्याती सबै हिसावले उच्चतम विन्दु हो । दुई कम्पनी मर्ज हुँदा अरु कर्मचारीले त्याग गर्नुपर्ने बाध्यता हुँदैन । तर प्रमुख कार्यकारी अधिकृतमा एक जनाले छोड्नै पर्छ । यस्तो बाध्यात्मक अवस्थामा मर्जपछिको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुनु जो कोहीको शक्ति परिक्षण हुनु पनि हो । सिद्धार्थ इन्स्योरेन्समा दोस्रो कार्यकाल प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका विरेन्द्र बैद्यवार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्दैछन् । छोटो अवधिमा कम्पनीलाई माथि पुर्याउने सीईओको रुपमा उनलाई बजारले लिने गरेको छ । व्यापार विस्तार, जोखिम विश्लेषण र सुशासनलाई सन्तुलित बनाएर अगाडि बढेकाले उनलाई प्रवद्र्धकले रुचाएका छन् । सानिमा लाइफ र रिलाइन्स लाइफ इन्स्योरेन्स मर्ज भएर बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिका राकेश पोखरेलले पाउँदैछन् । उनी हाल रिलाइन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा डीजीएम, आईएमई लाइफ इन्स्योरेन्समा जीएमको भूमिका निर्वाह गरेको पोखरेल चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । रिलाइन्समा करिव ७ महिना मात्र सीईओको भूमिका निभाएका युवा सीईओ पोखरेल छोटो समयमा नै प्रभावशाली सीईओको रुपमा उदाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जपछि को प्रमुख कार्यकारी अधिकृत बन्ने भन्ने स्पष्ट भएको छैन । तर प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको कार्यकाल यहि असार मसान्तमा सकिएको छ । तसर्थ गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मध्ये सिनियर भएकाेले मनोज कुमार लाल कर्ण नै नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना छ । पेशाकर्मीहरुको लागि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनु पैसा, पावर, प्रख्याती सबै हिसावले उच्चतम विन्दु हो । दुई कम्पनी मर्ज हुँदा अरु कर्मचारीले त्याग गर्नुपर्ने बाध्यता हुँदैन । तर प्रमुख कार्यकारी अधिकृतमा एक जनाले छोड्नै पर्छ । यस्तो बाध्यात्मक अवस्थामा मर्जपछिको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुनु जो कोहीको शक्ति परिक्षण हुनु पनि हो ।

व्यवसायको नयाँ मोडल ‘आकाशमा पदयात्रा’

काठमाडौं । उत्प्रेरकहरुले भन्छन्, ‘सफलताको लागि नयाँ काम गर्नुपर्छ ।’ नेपालको सन्दर्भमा नयाँ प्रकृतिको व्यवसाय थालेको छ वन्डर्स नेपाल प्रालिले । स्काईवाक अर्थात आकाशमा पदयात्रा । इन्जिनिरिङ पढेका, देशविदेश घुमेका, फरक काम गर्न रुचाउने प्रवद्र्धकहरुको प्रयासमा ‘आकाशमा पदयात्रा’ गराउने व्यवसाय शुरु भएको छ । त्यो पनि एकै पटक तीन ठाउँमा-कमलादी, भेडेटार र कन्याममा । प्रवद्र्धक कम्पनी फरक छन्, ठाउँ फरक छन्, संरचना फरक छन्, तर व्यवसायको प्रकृति एउटै हो । भूईबाट धेरै माथि चढ्ने र पूर्ण पारदर्शी शीशाको संरचनामा पदयात्रा गर्ने । हिड्दा आकाशमा हिँडेको अनुभूति हुन्छ । माथि अविराम आकाश देखिन्छ । दायाबाँयाँ चारैतिर खुला र दुर दृष्य । तल जमिन । कही बगैचा । कहि पार्किङ । कही जंगल । कही चिया बगान । कमलादीको संरचनामा लिफ्ट चढेर सिधै माथि पुगिन्छ । टपको शीशामा हिड्दा ७८ मिटर तलको बगैचा, पार्किङ, बजार देखिन्छ । नजिकका सडकमा शान्तसँग सवारी वगिरहेको देखिन्छ । काठमाडौं उपत्याकाको पुरै दृष्यावलोकन गर्न सकिन्छ । भेडेटारमा भ्यूटावर चढेर धरान तर्फको भिर माथिको आकाशमा पदयात्रा शुरु हुन्छ । पैताला अडिने शीशा मुनि ठूलो भीर, जंगल । अलि टाडा धरान । वेगमा आएको हावाको चाप, ध्वानी । आँखाको तेजले भ्यासम्मको दुरदृष्य । इलामको कन्याममा अलि फरक छ । टावर पनि सानो छ । हल्का उकालो हुँदै टावर चढिन्छ । इलामको चिया बगान आकाशबाट नियाल्न सकिन्छ । यसका प्रवद्र्धक सबै महिला हुन् । पढ्दा लाग्ला कल्पनाको खेती गरे जस्तो । साहित्यको पाना पढे जस्तो । तर प्रवद्र्धकले तिथिमिति तोकिसके आकाश पदयात्रा सञ्चालनमा ल्याउने बारे । भ्याएसम्म दशैंको घटस्थापनाको दिन व्यवसाय शुभारम्भ गर्ने कम्पनीको योजना छ । ढिलै भएपनि सन् २०२३ को जनावरीसम्ममा उद्घाटन गरिने स्काईवाक टावरका सञ्चालक तथा इन्जिनियर संजिव रोक्काले बताए । सहासिक पर्यटकको लागि नयाँ गन्तव्य, मनोरञ्जनको नयाँ क्षेत्र उघार्न लागेको रोक्का बताउँछन् । वन्डर्स नेपाल प्रालिले कमलादीमा १३ रोपनी जग्गा २३ वर्षसम्मको लागि लिजमा लिएर स्काई वाक टावर बनाउँदैछ । यो टावरको निर्माण कार्य २०७७ सालबाट सुरु गरिएका थियो । करिब साढे २ वर्षको अवधिमा ९० प्रतिशत काम सम्पन्न भइसकेको रोक्काले जानकारी दिए । फलाम नै फलामले बनेको टावर ७८ मिटर अग्लो छ । र, जग कंक्रिटले बनेको छ । ‘भवन विभागको मापदण्ड अनुसार यसको सम्पूर्ण संरचना तयार पारेका छौं, यस भवनमा चढ्दा कुनै असुरक्षित हुन्छ कि भनेर कुनै संङ्का गर्नु पर्दैन, यो टावर सत प्रतिशत सुरक्षित छ,’ उनले भने । यो टावर २६ तलाको हुन्छ । २६ औ तला स्काईवाक र सिटी भ्यूको लागि बन्दैछ । टावरको माथि सीमा हिँड्ने इस्पेश २ हजार स्कवायर फिट हुन्छ । वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ हुन्छ । टावरको २ साइडमा लिफ्ट  हुन्छ । लिफ्टबाट एकै चोटिमा ४८ जना तलमाथि गर्न सक्नेछन् । ७८ मिटर अग्लो टावरको माथि लिफ्टबाट २८ सेकेन्डमा पुग्न सकिन्छ । स्काईवाक एरियामा एकै पटक ५ सय जनासम्म अट्ने बताइएको छ । उक्त टावर माथि लिफ्ट मात्र नभई भर्याङबाट पनि चढ्न तथा ओर्लन सकिने सुविधा छ । स्वास्थ्य लाभको हिसावले पर्यटकलाई भर्याङबाट यात्रा गर्न प्रोत्साहित गर्न झर्याङबाट हिड्दा आनन्दित हुने म्यूजिक सिस्टम राखिनेछ । साथै, भर्याङ प्रयोग गर्नेलाई टिकटमा १०० रुपैयाँ छुट दिने सोच प्रवद्र्धकले बनाएका छन् । ‘टावरको माथि चढेर हेर्नुको मज्जा बेग्लै छ, यसको जति वर्णन गरेर सम्भव छैन, माथिबाट काठमाडौंको सबै ठाउँ देखिन्छ, रातको समयमा झलमल्ल काठमाडौं देख्नुको आनन्द बेग्लै छ, अग्लो ठाउँमा पुगेर शीशामाथि हिँड्नु आफैमा अनौंठो कुरा हो, त्यसैले जब हामीले सिसामाथि टेकेर तल हेरिन्छ तब फरक अनुभूति मिल्छ,’ उनले भने । टावरको २४ र २५ तलामा रेस्टुरेन्ट रहनेछन् । सो रेस्टुरेन्ट लिजमा दिने हो कि आफै चलाउने भन्ने विषयमा प्रवद्र्धहरुबीच आन्तरिक छलफल भइरहेको उनले बताए । भूई तलको साइटमा गार्डेन, सपिङ सेन्टर, रेष्टुराँ हुनेछन् । त्यस क्षेत्रमा ७० वटा गाडी र ३ सय वटा मोटरसाइकल पार्किङ गर्न ठाउँ हुन्छ । २ अर्ब लगानी निर्माणकर्ता वन्डर्स नेपाल प्रालिले यसमा करिब २ अर्ब रुपैयाँ लगानी हुने जनाएको छ । यसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । छोटो अवधिमा नै लगानी उठाउन सक्ने प्रवद्र्धकहरुको भनाई छ । टिकट प्रतिव्यक्ति १००० रुपैयाँ तोक्ने सोच बनेको तर अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए । वर्षमा २/३ लाख मानिस यस टावरमा स्काई वाक गर्न आउने अनुमान निर्माताहरुको छ । त्यसबाहेक टावरको वाहिरी क्षेत्रमा दुई तलाको भवन बन्दैछ । जहाँ दर्जनौ सटरहरु हुनेछन् । ‘सटरहरु भाडामा लगाउँछौं, रेष्टुरेन्टहरु पनि लिजमा दिन्छौं होला । यो प्रजेक्टको लगानी छिटै उठ्ने हाम्रो विश्वास छ’ एक प्रवद्र्धकले भने । ‘राष्ट्रको गौरवशाली आयोजनामध्ये यो पनि एक हो, जसले मुलुकको नाम र नेपालीको परिचय फराकिलो बनाउने कुरामा हामी विश्वस्त पनि उत्तिकै छौं,’ उनले भने । रोक्काका अनुसार जग्गा विनोद विक्रम सिंहसँग लिजमा लिएको हो । लिज अवधि सकिएपछि सबै संरचना जग्गाधनीलाई छोडिदिनुपर्छ ।

अग्लो पहाडमा भव्य रिसोर्ट, सभा सम्मेलनको प्रख्यात गन्तव्य

काठमाडौं । हरियाली र मनमोहक जंगल । चराचुरिङ्गीहरुको चिरविर–चिरविर आवाज । न कुनै कोलाहल नत मानिसहरुको चिच्याहट । फुस्फुस उड्दै आउने कुहिरोको शीतल स्पर्श । छिनमै पानी । छिनमै पारिलो घाम । यस्तै मौसममा मस्त देखिन्छन् चन्द्रागिरी घुम्न आएका पर्यटक । यही मौसम र विशेषताका कारण चन्द्रागिरी घुम्न आउने मानिसहरुको घुइँचो लाग्छ । चन्द्रागिरीबाट देखिने काठमाडौं उपत्यकाको मनोरम दृश्य । सगरमाथा, अन्नपूर्ण, लाङ्टाङ, गौरिशङ्कर र मनास्लु लगायतका हिमश्रृंखलामा देखिने सेताम्य हिउँ । चन्द्रागिरीबाट बिहानै देखिने सूर्योदय र साँझ अस्ताउँदै गरेको सूर्य हेर्दा मान्छेलाई लाग्दो हो, यो पो त स्वर्ग । काठमाडौंको धुलो धुवाँ, फोहोर, ट्राफिक जाम, कोलाहल, मानसिक तनाव र एकोहोरो काम लगायतले निराशा मान्छेहरु चन्द्रागिरी पुगेपछि अलग्गै संसारकाे अनुभूति गर्दछन् । सिँगो काठमाडौँ उपत्यकालाई चन्द्रागिरीको टुप्पोबाट नियाल्न पाउनु, चन्द्रागिरीको स्वच्छ हावा स्प्वनसँगै ‘पोज–पोज’का तस्वीरहरु खिचाउनु अनि चन्द्रागिरी हिमाल पुगेर भालेश्वर मन्दिरको पूजा गर्न पाउनु सायद मान्छेहरु यहाँ पुगेपछि आफूलाई भाग्यमानी ठान्छन् होला । कोही आफन्त र साथीभाइहरुसँग गफिँदैछन् । कोही तस्वीर खिचाउनमै व्यस्त छन् । कोही चन्द्रागिरी टाप्पुबाट रमणीय दृश्यावलोकनमा केन्द्रित छन् । काेही जेठकाे गर्मी छलेरे चन्द्रागिरीकाे चिसो सिरेटोमाथि रमाउँदै चिसो बियर चुस्किरहेका भेटिन्छन् । चन्द्रागिरीमा रिसोर्ट खुलेपछि त झन स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढेको छ । विगतमा बिहान चन्द्रागिरी पुगेर साँझ घर फर्किने कयौं पर्यटकहरुको त्यहीँ बास बस्ने चाहना ‘चन्द्रागिरी हिल्स रिसोर्ट’ले पूरा गरेको छ । भारतको असामबाट काठमाडौं घुम्न आएको एक परिवार अघिल्लो साता चन्द्रागिरीमै भेटियो । दुई छोरा श्रीमान श्रीमतीसहित काठमाडौं घुम्न आएको उनको परिवारलाई असामकै एक जनाले चन्द्रागिरी पुग्न सुझाव दिएका रहेछन् । ‘मेरो साथी पनि पहिले यहीँ आएको रहेछ, उसैले भनेर म यहाँ (चन्द्रागिरी) आएँ, म यहाँ नआएको भए पश्चाताप हुुन्थ्यो होला, मलाई चन्द्रागिरी स्वर्ग जस्तै लाग्यो, काठमाडौंमा त्यस्तो कोलाहल छ, तर यहाँ आहा ! क्या शान्त’ पवन नाम गरेका भारतीय नागरिकले खुसी हुँदै भने । चन्द्रागिरी रिसोर्टले चन्द्रागिरीको महत्व झनै बढाएको छ । घना जंगलको बीचमा रहेको रिसोर्टमा बस्नुको अनुभति बेग्लै किसिमको छ । रिसोर्टका म्यानेजर सन्तोष कुवँर मानिसहरुको रिफ्रेस बन्ने गन्तब्य चन्द्रागिरी हिल्स रिसोर्ट बन्दै गएको बताउँछन् । ‘९० प्रतिशत नेपाली नै रिसोर्टमा आउनुहुन्छ, जति आउनुहुन्छ उहाँहरु चन्द्रागिरीको अत्याधिक प्रशंसा गर्नुहुन्छ, मलाई लाग्छ कि हामी यहाँ काम गर्नेहरु यहाँको वातावरणकै कारण पाँच वर्ष बढी बाँँच्छौं होला,’ उनले आफ्नो अनुभुति सुनाउँदै भने । चन्द्रागिरीमा हिउँ परेको बेला रिसोर्टमा थेगिनसक्नु मानिसकाे चाप हुन्छ । अहिले पनि रिसोर्ट भरिभराउ भएकाे उनले बताए । ‘यहाँ न साउण्ड पोलुसन छ, यो वातावरणमा काम गर्दा स्वर्गमा काम गरेको महसुस हुन्छ, ‘उनी थप्छन्,‘मान्छेले एक पटक रिफ्रेस गर्न चाहन्छु, तनावमुक्त हुन्छु भन्ने लाग्छ भने चन्द्रागिरी अति उत्तम गन्तव्य हो ।’ दिउसो मात्रै होइन चन्द्रागिरीबाट काठमाडौं उपत्यकाको रातिको दृश्य पनि साँच्चिकै सुन्दर लाग्छ । बत्तिले झलमल्ल काठमाडौं, सिरिरि.. हावा । वाऊ ! साँच्चिकै सुन्दर काठमाडौं देख्न मन छ भने एक पटक राति चन्द्रागिरी पुग्नै पर्छ । सुन्दर ठाउँसँगै चन्द्रागिरी रिसोर्टको आतिथ्यता पनि गज्जवको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा काम गर्ने सबै नेपाली नै छन् । विदेशीसँगै नेपाली वास्तविक स्वाद चन्द्रागिरीमा भेटिन्छ । रेष्टुरेन्टका म्यानेजर प्रकाश शाहका अनुसार चन्द्रागिरी पुग्ने हरेकले रिसोर्टमा पाक्ने पिरो आलु असाध्यै मन पराउँछन् । ‘हुन त हामीले विदेशी र स्वदेशी परिकारहरु बनाउँछौं, सबैले सबै परिकार मन पराउनु हुनछ तर, पछिल्लो समय धेरैले पिरो आलु नै रोज्नु हुन्छ,’ उनी भन्छन्, ‘हाम्रो मेनु नै विशेष छ ।’ सभा सम्मेलनको गन्तव्य विगतमा काठमाडौं उपत्यकाबाट कतै टाढा कुनै कार्यक्रम गर्नु पर्यो भने मानिसहरुले नगरकोट, गोदावरी, धुलिखेल रोज्थे । कम्पनीको साधारणसभा, कुनै सभा सम्मेलन तथा विवाह नै किन नहोस् धेरैले रोज्नै भनेको यिनै दुई/तीन ठाउँ मात्रै हुन् । तर, अहिले अधिकांशको रोजाइ चन्द्रागिरी हिल्स रिसोर्ट बनेको छ । कुनै दिनमा त रिसोर्टमा कार्यक्रम आयोजनाका लागि ठाउँ नै हुँदैन । मारवाडीहरुको मात्रै होइन नेपालीहरुको विवाह गर्ने राम्रो गन्तव्य पनि चन्द्रागिरी नै बनेको छ । ‘हरेक दिनमा कुनै न कुनै सभा सम्मेलन तथा ठूलो कार्यक्रम भइरहेको हुन्छ, उहाँहरु यहाँ आएपछि अर्को कार्यक्रम पनि यतै गर्ने सुनाएर जानुहुन्छ, अरुलाई पनि चन्द्रागिरीमा कार्यक्रम गर्न सुझाव दिनु हुन्छ,’ जति आउनुहुन्छ सबैले रिसोर्टको प्रशंसा गरेर नै जानुहुन्छ,’ म्यानेजर कुँवरले भने । चन्द्रागिरी हिल्स रिसोर्टमा तीन वटा हलहरु छन् । हलहरुको नाम पनि नेपालको हिमश्रृङ्खलाको नामबाट राखिएको छ । सगरमाथा, गणेश, मनास्लु, शिवपुरी लगायतको नामबाट हलको नामाकरण गरिएको छ । रिसोर्टमा सफा सुग्घर पौडी खेल्न सक्ने सुविधा पनि छ । रिसोर्ट नजिकै जिपलाइन, चिल्ड्रेन पार्क लगायतका मनोरञ्जनात्मक खेलहरुले पनि चन्द्रागिरीको गरिमा बढाएको छ । त्यससँगै रिसोर्टमा हेलिप्याडको पनि सुविधा छ भने पर्यटकलाई ल्याउन र पुर्याउनका लागि केबलकारसम्म निःशुल्क दुई वटा हाइसको सुविधा छ । कति लाग्छ खर्च ? चन्द्रागिरी हिल्स रिसोर्टमा सय वटा कोठा छन् ।  रिसोर्टमा ६२ वटा डिलक्स, एक्जुकेटिभ ३० वटा, स्विट ६ वटा र २ वटा प्रेसिडेन्ट कोठाहरु छन् । म्यानेजर कुवँरका अनुसार न्यूनतम १२ हजारदेखि ३०/३५ हजार रूपैयाँ पर्छ । उनले एउटा प्रेसिडेन्ट रुमको नै एक रातको बसाइ शुल्क ३५ हजार रुपैयाँ पर्ने बताए । ‘रिसोर्टमा एक रात बस्न चाहने हो भने न्यूनतम १६ हजार खर्च हुन्छ, त्यसमा दुई जनाको डिनर र बिहान खाजा र दुई वटा केबलकारको टिकट पाइन्छ, तीन जना बस्न चाहेमा ४ हजार थप गर्नु पर्छ,’ उनले भने । हाल रिसोर्टमा दैनिक २ सय जना ग्राहक आउने गरेको र रिसोर्टका  कोठाहरु अधिकांश प्याक नै हुने उनले बताए । यस्तै, रेष्टुरेन्टका म्यानेजर शाहले अहिले दुईटा आउटलेट सुरु गरेर काम भइरहेको बताए । ‘हामीले २ सय जनालाई एकैचोटी सेवा दिन सक्ने अवस्था छ, हिमाल पहाड र तराईको खानलाई समेट्ने प्रयास गरेका छौं,’ उनले भने ।