‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’
काठमाडौं । नेपालमा कृषिको अथाह सम्भावना छ ।’ यो वाक्य नीति–निर्माता, उद्योगी व्यवसायी र बैङ्कहरुको मुखबाट पनि बारम्बार निस्किन्छ । तर, न नीति निर्माताले कृषिमा सहज नीति बनाउँछन् । न उद्योगी व्यवसायी लगानी गर्न चाहन्छन् न त बैङ्करहरुले कृषि क्षेत्रमा कर्जा प्रवाह गर्न नै रुची राख्छन् । सबैको बोली फुटछ् तर कदम चल्दैन । भएका नीति नियम तथा व्यवस्थाहरु पनि प्रभावकारी रुपमा कार्यान्वयन हुँदैनन् । नेपाल राष्ट्र बैङ्कले कृषिलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा तोकेको छ । निश्चित प्रतिशत कर्जा कृषिमा लगानी गर्नै पर्ने व्यवस्था गर्छ । तर, बैङ्कहरु कृषिमा लगानी गर्न कन्जुस्याईं गर्छन् । कृषिका लागि भनेर प्रवाह भएको ऋण पनि व्यवसायीहरुले अन्तै लगानी गर्छन् । कृषि क्षेत्र बोलीमा प्राथमिकता पाउँछ तर कार्यान्वयनमा जहिल्यै पछाडी । देशमा कृषिमा उदाहरणीय काम गरेको भनेर चिन्न सकिने व्यक्ति औंलामा गन्न मिल्ने पनि छैनन् । तर, गोल्यान समूहले भने पछिल्लो समय कृषिमा एग्रेसिभ रुपमा काम गरिरहेको छ । धागो उद्योग, जलविद्ययुत्, बैंकिङ, होटल, रियलस्टेट क्षेत्रमा सक्रिय रुपमा लागेको गोल्यान समूहले अहिले कृषिमा लगानी बढाइरहेको छ । केही आफैले त केही किसानसँग मिलेर यो समूहले ‘माटो’ ब्राण्डमार्फत् आफ्ना कृषि उत्पादनलाई देशभर फैलाउने योजनाका साथ काम गरिरहेको छ । गोल्यान समूहले झापामा २ सय बिघा जग्गा खरिद गरेर काम गरिरहेको छ । त्यहाँका किसानसँग सहकार्य गरी अर्गानिक कृषि वस्तु उत्पादन गरेर देशसँगै विदेशमा पनि निर्यात गर्ने उद्देश्यका साथ काम भइरहेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् । ‘हाइड्रोपावरमा काम सुरु गर्दा पहिले नै लाग्नु पर्ने रहेछ भन्ने महशुस भयो, पर्यटन क्षेत्रमा लाग्दा पनि यसमा त झन् २० वर्ष अघि नै लाग्नु पर्ने रहेछ भन्ने लाग्यो, अहिले कृषिमा सुरु गरेको छु, कृषिमा त झन् धेरै पहिले लाग्नु पर्ने, अहिले ढिला भयो जस्तो लाग्दैछ, पहिले कृषिमा लगानी नगरेर गल्ती गरेको महशुस भएको छ, मेरो करियरको सुरुवात नै यसबाट गरेको भए राम्रो हुन्थ्यो भन्ने लागिरहेको छ, जुन क्षेत्रमा गयो त्यसमा धेरै सम्भावना देखिरहेको छु, अब गोल्यान समूह कृषिमा जम्छ,’ अध्यक्ष गोल्यानले भने । गोल्यान गु्रपले नेपालको सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स सञ्चालन गरेर एक किसिमको सफलता पाइसकेको छ । नेपाली व्यवसायिक घरानामा गोल्यान समूह पनि परिचित नाम हो । उत्पादन मुलक उद्योग, बैंकिङ, बीमा, होटल, जलविद्युत्, आवास विकास क्षेत्रमा सफलता चुम्दै आफूलाई एक सफल व्यावसायिक घरानाका रुपमा स्थापित गोल्यान समूहले कृषिमा क्रान्ति ल्याउने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष गोल्यान बताउँछन् । लक्ष्यअनुसार गोल्यान समूहले कृषिमा लगानी बढाउँदै लगेको छ । गोल्यान समूहले ३ अर्ब पुँजीको जनता एग्रो एण्ड फोरेष्ट्री पब्लिक कम्पनी दर्ता गरिसकेको उनले बताए, जहाँ गोल्यान समूहको २ अर्ब रुपैयाँ पुँजी हुनेछ भने उत्पादन र बजारीकरणमा साझेदार गर्ने कम्पनीहरुबाट एक अर्ब पुँजी जुटाउने उनको तयारी छ । ‘हामीले पब्लिक कम्पनी दर्ता गर्नुको कारण यसलाई पुँजीबजारमा पनि लैजाने योजना हो, सर्वसाधारणको लागि सेयर निष्काशन गर्ने बेलामा कम्पनीको पुँजी फेरी बढ्छ’ उनले भने । कृषि व्यवसायबाट पनि राम्रो आम्दानी हुन्छ, कृषि कम्पनीले पनि उद्योगले झैं ठूलो व्यवसाय गर्न सक्छ, कृषि कम्पनीले पनि पुँजी बजारमा राम्रो स्थान लिन सक्ने भनेर देखाउने उनको चाहाना छ । अहिले भने कम्पनीले नाफा लिन नसकेको उनले बताए । ‘हामी लगानी थपिरहेका छौं, चालु आर्थिक वर्षमा यसबाट प्रतिफल नआउन सक्छ, दुई/तीन वर्ष कोरोनाका कारण केही नोक्सान भयो, अब आगामी वर्षदेखि बैङ्कको व्याज उठाउन सक्छ, त्यसपछि कम्पनी नाफामा जान्छ,’ उनले भने । ‘जब बिजनेशम्यान भएर नयाँ–नयाँ काम गरिन्छ, त्यो बेलामा जसरी पनि पैसा कमाउने भन्ने नै हुन्छ, बिजनेशम्यानको पहिलो चरण भनेको पैसा कमाउने हो तर म बिजनेशम्यान वा व्यापारी नभएर उद्योगी भएको हुनाले उद्योगमा नै लागेँ, त्यो बेलामा मेरो सपना एउटा ठूलो धागो उद्योग बनाउने थियो, ३० वर्षअघि त्यो काम गरियो, त्यसले मलाई धेरै खुसी दियो, म जुन ठाउँमा हात हाल्छु त्यसमा सफल हुन्छु भन्ने कन्फिडेन्ट छ, अहिले कृषिमा लागेको छु, असल कृषक भएर काम गरिरहेको छु, यसले मलाई आनन्दको अनुभूति दिइरहेको छ,’ उनी भन्छन्, ‘समय अनुसार बिजनेस पनि विविधीकरण गरिरहनु पर्छ ।’ म असल कृषक भएर काम गरिरहेको छु । यसले मलाई आनन्दको अनुभूति दिइरहेको छ । कृषि कम्पनीले पनि ठूलो उद्योगले झैं ठूलो व्यवसाय गर्न सक्छ, उच्च नाफा दिन सक्छ, कृषि कम्पनीले पनि पुँजी बजारमा राम्रो स्थान लिन सक्ने भनेर देखाउने मेरो चाहना छ । विविधीकरण गरिरहनु पर्छ ।’ आधुनिक कृषिमा व्यावसायिक रुपमा अघि बढ्न गोल्यान समूह तयार रहेको उनी बताउँछन् । कृषिमा बिचौलियाको बिगबिगी छ । असली कृषकले सरकारको सहुलियत पाउँदैनन् । बैङ्कबाट ऋण निकाल्ने ल्याकत राख्दैनन् । अब पवन गोल्यान त्यो दूरी हटाउन चाहन्छन् । कृषकलाई सहुलियत कर्जा दिलाउन भूमिका खेल्न चाहन्छन् । उनीहरुले उत्पादन गरेको वस्तु आफैले किनेर बजार खोज्ने प्रयत्न गर्नेछन् । ‘समुन्द्रमा हाम नफाली गहिराई कति छ भनेर थाहा पाँइदैन, सानो पोखरीमा पौडी खेल्न गयो भने पनि च्याम्पियन बनिँदैन, त्यसैले पनि मैले ठूलै लगानीमा ठूलै स्पेसमा कृषि सुरु गरेको छु, मलाई समाजले धेरै दियो, मैले पैसा पनि कमाएँ, अब म समाजलाई दिन चाहन्छु, यो देशलाई दिन चाहन्छु,’ नेपाल बैङ्क तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष समेत रहेका उनी भन्छन्, ‘स्थानीय कृषकलाई सिकाउँछु, दक्ष बनाउँछु, म मेरो कम्पनीको हित मात्र हेर्दिन, किसानलाई व्यावसायिक हुन सिकाउँछु, उत्पादनसँग प्याकेजिङ सिकाउँछु, कृषि उपजलाई कसरी हाइजनिक बनाउन सकिन्छ ? कसरी बढी समय टिकाउन सकिन्छ ? सबै सिकाउँछु । कृषि उद्यममा नयाँ ट्रेण्ड सेट गर्दैछु ।’ अब सेयर बजारमा पनि सबैभन्दा बढी सेयर मूल्य कृषिसँग सम्बन्धित कम्पनीहरुको हुने किसिमले आफूले काम गर्न लागेको उनी बताउँछन् । ‘कुनै दिन बैङ्कको सेयरमा आकर्षण थियो, त्यसपछि बीमामा आकर्षण बढ्यो, पछि बीमा लगायत अन्य क्षेत्रको क्रेज आयो, अब कृषिसँग सम्बन्धित कम्पनीहरुको सेयरमा लगानीकर्ताकोआकर्षण हुन्छ,’ उनले भने । उनी अब आफ्नो उत्पादनलाई देशसँग जोड्न चाहन्छन् । अब कृषिमा सरकारको नीति पनि प्रभावकारी हुनु पर्ने उनको भनाइ छ । कृषकले पाउने अनुदानको प्रणाली पनि प्रभावकारी हुनु पर्ने उनी बताउँछन् । यसमा पालिकाहरुलाई अगाडि ल्याउनु पर्ने धारणा उनको छ । ‘कृषिमा फड्को मार्न सङ्घ र प्रदेश सरकारले सक्दैनन्, स्थानीय सरकारले नै सक्छ, सबैभन्दा धेरै जिम्मेवार स्थानीय सरकारलाई बनाउनुपर्छ,’ उनी भन्छन्,’ मैले पनि धेरै स्थानीय सरकारसँग उत्पादनको बजारीकरण, कृषकको तालिम तथा सीप विकासका लागि छलफल गरेको छु ।’ उनका अनुसार अहिले गोल्यान समूहले १४० बिघा जग्गामा केरा, अम्बा, कागती ड्रागन फ्रुट, तुलसी र सुपारी लगायतका फलफूल तथा तरकारी लगाएको छ । यो वर्ष धेरै उत्पादन बिक्री भइसकेको उनी बताउँछन् । ‘हामी नेपालभर बजार बनाउन चाहन्छौं, निर्यात पनि गर्छौं, विदेशमा बस्ने नेपालीहरु पनि हाम्रो लक्षित ग्राहकहरु हुन्, बजारको खासै समस्या हुँदैन ।’ उनले भने । ‘अब कमाउनका लागि पुगिसकेको छ, धेरै कमाउने रहर पनि छैन, एउटा धर्मको हिसावले पनि आफ्नो कर्म दीगो भएन भने त्यो अगाडि जान सक्दैन, म रहुञ्जेलसम्म मात्रै चल्छ, त्यसैले बिजनेश दीगो हुनु पर्छ, त्यसका लागि म लागिरहेको छु, नेपालमा कृषिलाई दीगो व्यवसायको रुपमा लिन सकिन्छ,’ उनी भन्छन् । पब्लिकमा जाने योजना गोल्यान समूहले हरेक कम्पनीलाई सेयर बजारमा सूचीकृत गराउने योजना बनाएको छ । त्यसका लागि तयारी पनि भइरहेको उनको भनाइ छ । कृषि कम्पनीसँगै रिलायन्सलाई पनि सेयर बजारमा सूचीकृत गराउनका लागि प्रक्रिया भइरहेको उनले बताए । त्यसका लागि कम्पनीले आवदेन पनि दिइसकेको छ । रिलायन्सले बुक बिल्डिङ्गमा आईपीओ निष्कासन गर्नेछ । उनले हायात प्यालेस होटलको पनि आईपीओ ल्याउने योजना रहेको सुनाए । वार्षिक ६० हजार टन धागो उत्पादन हुने रिलायन्सको वार्षिक १२ अर्ब रुपैयाँ बराबरको कारोबार हुन्छ । अहिले पनि कम्पनी विस्तार गर्ने काम भइरहेको उनले बताए । रिलायन्सले पाँच हजारलाई रोजगारी दिएको छ । दुव्र्यमा रियल स्टेटको सफल व्यवसाय गरिसकेका गोल्यान विश्वका विभिन्न देशमा धागो निर्यात गर्छन् । गोल्यान समूहले ३ अर्ब पुँजीको जनता एग्रो एण्ड फोरेष्ट्री पब्लिक कम्पनी दर्ता गरिसकेको छ, जहा“ गोल्यान समूहको २ अर्ब रुपैयाँ पुँजी हुनेछ भने उत्पादन र बजारीकरणमा साझेदार गर्ने कम्पनीहरुबाट एक अर्ब पुँजी जुटाउने तयारी छ । उद्योग, बैङ्क, होटल, जलविद्युत्, रियलस्टेटमा झैं कृषि व्यवसायमा पनि सफल हुनेमा पवन गोल्यान विश्वस्त छन् । १६ वर्षको उमेरमै आफ्नै व्यवसायमा होमिएका पवन गोल्यान अब रिटायर्ड हुन चाहन्छन् । अहिले उनको छोरा र भतिजले व्यवसाय सम्हाल्न सुरु गरिसकेका छन् । उनका भतिज दुव्र्यमा रियल इस्टेटको व्यवसाय गर्छन् । छोरा अक्षयले नेपालको व्यवसायमा कार्यकारी भूमिका खेल्न थालेका छन् । ‘अब म सक्रिय बिजनेशमा सहभागी हुँदिन, आफ्नो अनुभव मात्रै सेयर गर्ने हो, अब प्रत्येक युवाहरुलाई मसँग भएको अनुभव ज्ञान र सीप बाँड्न चाहन्छु, अहिले पनि विभिन्न विद्यालय तथा कलेजमा गएर उनीहरुलाई मोटिभेट गरिरहेको छु, गर्न चाहनेलाई लगानी जुटाउन पनि मद्दत गर्छु, मलाई त्यो पैसाको नाफा/व्याज चाहिँदैन, मात्रै दिएको पैसा फिर्ता गरे हुन्छ, अब म समाज सेवा गर्न चाहन्छु, कृषिमै रम्न चाहन्छु,’ उनले भने । (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
नवीन शर्मा : १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म
काठमाडौं । काठमाडौंको पद्मोदय मोडदेखि सिंहदरवार अगाडिसम्मको फूटपाथमा बिहानैदेखि ठूलो भीड लाग्छ । त्यो भीडमा नेपालका बेष्ट ब्रेन भएका युवायुवतीहरु हुन्छन् । डाक्टर, नर्स, इन्जिनियर बन्ने वा लोकसेवा पास गरेर सरकारी जागिर खाने लक्ष्य बोकेका मानिसहरुको भीड हुन्छ त्यहाँ । जो पढ्नको लागि बिहान सबेरै उठेर त्यहाँ पुगेका हुन्छन् । तर, त्यहाँ कुनै विश्वविद्यालय छैन । नेम नामको ट्यूशन इन्स्टिच्यूट छ । जहाँ वर्षमा १० हजारभन्दा बढी युवाहरु एमबीबीएस, नर्सिङ, लोकसेवा तयारी लगायतको विषयमा अध्ययन गर्न पुग्छन् । नेमका प्रबन्धक निर्देशक नवीन कुमार शर्मा भन्छन्, ‘बैशाखदेखि साउनसम्म नेपालभरीमा सबैभन्दा धेरै मान्छे आउने संस्था नेम नै हो, फिल्म हलमा पनि यति मान्छे जम्मा हुँदैनन् ।’ नेमले गत आर्थिक वर्षमा करिब ४८ करोड रुपैयाँ ब्रिजकोर्स पढाएर शुल्क संकलन गरेछ । इन्स्टिच्यूटको क्षेत्रमा नेम एक्लैले ७० प्रतिशत स्थान ओगटेको शर्माको भनाइ छ । नेम कसरी बन्यो ? यसले छोडेका पदचिन्ह के हुन् ? सफलताको कथा रिर्पोटिङ गर्न हामी नेममा पुग्यौं । रिसेप्सनमा नवीन कुमारलाई भेट्न चाहेको कुरा ग¥यौं । ‘ऊ उहाँ हुनुहुन्छ’ रिसेप्सनकी कर्मचारीले गेट बाहिर उभिएर अभिभावकसँग कुरा गर्दै गरेको मोटो, अग्लो र फूर्तिलो मान्छेलाई चिनाइन् । हामीले भेटेर आफ्नो परिचय दियौं, अन्तरवार्ता लिन चाहेको कुरा गर्यौं । ‘म बैङ्कमा जान लागेको, ल भनिहाल्नुहोस्, के छ प्रश्न’ मोटरसाइकल पार्किङ क्षेत्रतर्फ लम्कँदै भने । हामीले कार्यकक्षमा बसेर अन्तर्वार्ता गर्दा सहज हुने प्रस्ताव गर्यौं । ‘मेरा कार्यकक्ष छैन, भित्र चिसो छ, एसी पनि छैन, यहाँ घाम ताप्दै कुरा गर्दा राम्रो हुन्छ’ उनले भने । क्यान्टिनवालासँग कुर्सी मगाए । प्लास्टिकको कुर्सीमा बसेर हत्केलाले अनुहारमा घाम छेक्दै उनी पत्रकारसँग कुरा गर्न थाले । पार्किङ क्षेत्रबाट मोटरसाइकल स्टार्ट गर्नेको घ्यारघ्यार, विद्यार्थीहरुले गर्ने हल्लाकै बीचमा हामीले नवीनको सफलताको कथा कैद गर्न थाल्यौं । नवीन कुमार शर्मा सन् १९८९ एमबीबीएसमा त्रिभुवन विश्वविद्यालयको टपर रहेछन् । त्यसपछि उनलाई एमडीस्तरको अध्ययन गर्नको लागि अमेरिका जाने इच्छा भयो । त्यो समयमा एमडी अध्ययन गर्नको लागि ७/८ लाख रुपैयाँ आवश्यक पर्दथ्यो । उक्त रकम जुटाउनको लागि उनले विभिन्न योजना बनाए । त्यही क्रममा एमबीबीएसको ब्रिजकोर्स अध्यापन गराउनको लागि इन्स्टिच्युट खोले, जुन अहिले नेपालको सबैभन्दा ठूलो ब्रिजकोस सेन्टर बनेको छ । बुवाको पालामा नै शर्माको परिवार पाँचथरबाट बिराटनगर झरेको थियो । तर, शर्माको जन्म भने बुटवलमा भएको हो । शर्माले स्कूल शिक्षादेखि आइएससीसम्मको अध्ययन विराटनगरमा हासिल गरे । एमबीबीएस अध्ययन उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पूरा गरे । एमबीबीएस पढ्दा पनि ट्युसन पढाएर आफ्नो खर्च धान्दै आएका शर्मा घरबाट पैसा मागिरहनु हुँदैन भन्ने मान्यतामा थिए । अध्ययनकै क्रममा अभ्यास गर्न कलेजले ३ महिना पोखरा पठायो । उनले त्यहाँ पनि विद्यार्थीलाई ट्यूशन पढाउन थाले । ट्यूशन सेन्टर चलाउँदा राम्रो आम्दानी हुने सम्भावना उनले त्यही देखे । र, एमडी पढ्नको लागि आवश्यक रकम जुटाउने उद्देश्य राखेर ब्रिजकोर्स पढाउन शुरु गरे । सन् १९९६ मा शर्माले आफ्नी दिदीसँग १२ हजार ऋण लिएर इन्स्टिच्युटको शुरुवात गरेका थिए । २ वटा कोठामा फर्निचर राखेर सो इन्स्टिच्यूटको प्रारम्भ भएको थियो । ‘शुरुको २ वर्ष निकै दुःख भयो, राम्रोसँग फर्निचरको व्यवस्था गर्न सकेनौं, शिक्षकहरुलाई तलब दिने अवस्था पनि बनेन ।’ शुरुको २ महिना इन्स्टिच्युटमा पढ्ने ५ जना विद्यार्थी मात्रै थिए । थोरै विद्यार्थी भएकाले शिक्षक राख्ने अवस्था थिएन । शर्माले आँफैले पढाए । उनका अनुसार ६/७ महिनासम्म अन्य स्टाफ राखिएन । दिन बित्दै गए । विद्यार्थी बढ्दै गए । ‘पहिलो वर्ष हामीले २ सय ५० जना विद्यार्थी पढायौं, दोस्रो वर्ष ५/७ सय भयो भने तेस्रो वर्षमा १५ सय जति विद्यार्थी पढ्न आएका थिए’ शर्माले भने । केही वर्षसम्म कोठाहरु भाडामा लिने र त्यही कक्षा सञ्चालन गर्ने गर्दथे । विद्यार्थी संख्या बढ्दै गएपछि नेपाल ल क्याम्पसमा कोठा भाडामा लिएर कक्षा सञ्चालन गरेको शर्मा बताउँछन् । नवीन शर्मालाई लामो समय व्यवसाय गर्छु भन्ने पनि लागेको थिएन । तर बिस्तारै यसले व्यावसायिक आकार लियो । नेमलाई संस्थागत बनाउँदै लगे । ब्रिजकोर्स पढ्नेमध्ये सबैभन्दा धेरै विद्यार्थी नेममा जान थाले । ५ वर्ष पार गर्दा नेम नेपालकै टप लेभलको ब्रिजकोर्स पढाई हुने इन्स्टिच्युटको रुपमा स्थापित हुन पुग्यो । ०५२ सालमा सञ्चालनमा आएको नेमले ०६२ सालमा काठमाडौं पुतलीसडकमा ३७ आना जग्गा किन्यो । त्यसपछि नेमको व्यावसायिक गतिले रफ्तार लियो । त्यही जग्गा धितो राखेर भवन बनाउन शर्माले नबिल बैङ्कबाट ऋण लिए । ‘जग्गाको मूल्यभन्दा अलि बढी नै कर्जा पाए, त्यसपछि मलाई भवन बनाउनेदेखि व्यवसाय सञ्चालन गर्न सजिलो भयो’ उनले खुलस्त बताए । नेम इन्स्टिच्युटभित्र ३/४ वटा कार्यक्रम सञ्चालन भएका छन् । जसको नेतृत्व शर्माको पारिवारिक टिमले नै गर्दै आएको छ । ‘नेमले मेडिकल इन्ट्रान्स र नर्सिङ इन्ट्रान्सको कक्षा सञ्चालन गर्छ, सेडेपले लोकसेवा र बैंकिङ क्षेत्रको विषयमा कक्षा सञ्चालन गर्छ र नर्सिङ प्लसले नर्सिङको लोकसेवा कक्षा सञ्चालन गर्छ,’ शर्माले भने । आम्दानीको विस्तारसँगै शर्माले लगानीको क्षेत्र पनि विस्तार गर्दै लगेका छन् । जसमध्ये उनले बानेश्वरमा रहेको ह्वाइट हाउस इन्टरनेशनल कलेजको ७० प्रतिशत सेयर लिएका छन् । त्यस्तै गत सालदेखि अर्वाना स्कुल अफ साइन्स नामको प्लस टु कलेज स्थापना गरेका छन् । नेम अगाडिको जग्गा किनेर उनले बहुउद्देश्य भवन बनाउने तयारी थालेका छन् । साथै, शर्माले वीरगञ्जमा चिनियाँ लगानीकर्तासँग मिलेर स्लटर हाउस पनि सञ्चालन गरेका छन् । इन्स्टिच्युट व्यवसायको प्रकृति भनेको मौसमी हुने शर्माको भनाइ छ । मौसमी र दैनिक आंशिक समय मात्रै कक्षा सञ्चालन हुने भए पनि भौतिक पूर्वाधारको पर्याप्त व्यवस्था गर्नुपर्ने भएकाले सोही पूर्वाधारमा प्लस टु सञ्चालन गर्ने गरी अगाडि बढेको उनी बताउँछन् । ‘बैशाखदेखि ४ महिना बिहानदेखि साँझसम्म सञ्चालन हुन्छ, त्यसपछि भने बिहान चल्छ, दिउँसो खाली हुन्छ’, उनले भने । त्यसैले खाली भएको समयलाई लक्षित गरेर प्लस टु सञ्चालनमा जोड दिएका छन् । आफूलाई व्यवसायको विषयमा छिटो निर्णयकर्ताको रुपमा शर्मा परिचय गराउँछन् । ‘म प्रचण्ड जस्तै हो, राती दिमागमा आयो भने बिहान काम गरिसक्छु’, उनले भने । पछिल्लो समयसम्म आउँदा व्यवसायको कारोबार र नाफा राम्रो भएको र त्यसकै आधारमा नयाँ लगानीको क्षेत्रमा लगानी गरिएको उनले बताए । शर्मा इन्स्टिच्युटमा प्रायः बिहान साढे ५ बजे नै आउने गर्छन् । सरसफाइ गर्ने कर्मचारी आउन केही ढिला हुने हुँदा उनी आँफैले सामान्य सरसफाइको काम गर्छन् । ‘कामदार साढे ६ बजे आउँछन्, उनीहरुलाई पर्खेर त भएन, साढे ५ बजे नै आएर एउटा हातमा कुचो र एउटा हातमा पोछा लिएर तुफान गतिमा सफा गर्ने काम गर्छु,’ उनी भन्छन् । ‘निरन्तर मिहिनेत गर्दा सफल हुन सकिन्छ, व्यवसायले तुरुन्त नाफा दिँदैन’, उनले भने, ‘एउटा जागिर खाने मान्छेले भन्दा व्यवसाय गर्ने मान्छेले बढी दुःख गर्नुपर्छ ।’ व्यवसाय गर्ने मान्छे आफ्नो व्यावसायिक स्थलमा अरुभन्दा अगाडि आउनुपर्ने र अरुभन्दा पछाडि घर फर्कनु पर्ने बताउँछन् । उनका अनुसार अमेरिका लगायत अन्य विकसित देशमा पनि सो अभ्यास हुन्छ । नेपालमा कुनै व्यवसायको क्षेत्रमा लामो समयसम्म प्रतिस्पर्धी नभएको र व्यवसाय गर्न सजिलो पनि भएको शर्माको अनुभव छ । नेम जस्तै गर्छु भनेर धेरै संस्था आए । नेपाली र विदेशी धेरैले लगानी पनि गरे । ठूला लगानीकर्ताहरुले पनि राम्रो गर्न सकेनन् । पछिल्लो २० वर्षमा नेमसँग प्रतिस्पर्धा गर्ने गरी कोही पनि बजारमा नआएको उनी बताउँछन् । ‘धेरै पैसा लगानी गरेर मात्रै इन्स्टिच्युट सञ्चालन गर्न सकिन्न, यो क्षेत्रको विषयमा ज्ञान र काम गर्ने इच्छा हुनुपर्छ’ उनले भने– ‘पहिलो, विद्यार्थीलाई चाहिने राम्रो शिक्षक हो, दोस्रो, राम्रो शिक्षकले पनि नचाहिँदो विषय पढाउने चलन छ, त्यसलाई करेक्सन गर्न आँफैले जान्नुपर्छ, त्यसैले विषयकै ज्ञान हुनुपर्छ ।’ पाकिस्तानमा करोड डुब्यो सन् १९९९ मा शर्माले पाकिस्तानमा मेडिकल कलेज सञ्चालन गर्न लगानी गरे तर त्यो डुव्यो । ‘पाकिस्तानको एउटा कलेजमा लगानी गरेँ, पछि रिकग्नाइज भएन, मैले गल्ती गरेँ, १ करोड पैसा डुव्यो, त्यो त्यतिबेलाको ५/७ वर्षको आम्दानी थियो,’ उनले भने । नेपालमा निजी क्षेत्रका मेडिकल कलेज नभएको अवस्थामा नेपाली विद्यार्थी चिकित्सा शिक्षा पढ्न जाने कलेज बनाउने उनको सोच रहेछ । ‘त्यतिबेला नेपालमा विद्यार्थीले डाक्टर पढ्नको लागि मेडिकल कलेजमा भर्ना पाउँदैन थिए, पाकिस्तानमा प्राइभेट मेडिकल कलेजमा लगानी गर्यो भने राम्रो हुन्छ भन्ने सल्लाह आयो विश्वास गरेर ५०/५० लाख गरेर दुई पटक पैसा लगानी गरेँ, तर सबै स्वाहा भयो,’ उनले भने– ‘पछि कानुनी प्रक्रियामा पनि गएँ, त्यसमा पनि थप खर्च भयो तर पाकिस्तानको अदालतमा मुद्दा नै हारियो’ उनले ठूलो असफलतासहितको कथा सुनाए । नेपालको कानुनले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएकोले उनले नेपालको अदालतमा न्याय खोज्न पनि सकेनन् । त्यस्तै, शर्माले फिल्म क्षेत्रमा पनि लगानी गरेर डुबाए । सन् २००० अगाडि उनले आफ्नो साथीमार्फत ‘के भो लौ न नि’ फिल्ममा लगानी गरेका थिए । सो फिल्मले ३५ लाख घाटा खाएको र १७ लाख रुपैयाँ आफ्नो डुबेको उनले सुनाए । ‘धेरै क्षेत्रमा हात हालेर हुँदैन, धेरै कम्पनी खोल्ने व्यवसायीले पनि १/२ वटा कम्पनीबाट राम्रो कमाएका हुन्छन्, बाँकी कम्पनी नोक्सानमा हुन्छन्’ उनले केही कर्पोरेट हाउसहरुको उदाहरण पनि प्रस्तुत गरे । अमेरिकामा ट्याक्सी ड्राइभर व्यवसायले धेरै ठूलो आकार लिइसकेपछि पनि शर्माभित्र एमडी गर्ने इच्छा मरेको छैन । आफ्ना सहपाठीहरुले सोही विधाका विभिन्न क्षेत्रको नेतृत्व तहमा पुगेको कुराले उनलाई चुक–चुक बनाइरहेको छ । पैसा वा व्यवसायको आकारले मात्रै सन्तुष्टी नदिने धारणा सुनाउँछन् शर्मा । ‘ओभरल कारोबारको परिणाम हेर्नुहुन्छ भने त धेरै छ, तर यसमा मेन्टल सेटिस्फ्याक्सन हुँदैन्, २५ वर्षदेखि नै कहिले विद्यार्थी क्लासमा आएन भन्ने हुन्छ, कहिले शिक्षक,’ उनले भने, ‘मेरो यो पेसा नै होइन भन्ने लाग्छ ।’ शर्माको पारिवारिक बसोवास अमेरिकामा पनि छ । उनी अमेरिका जाँदा आवश्यक खर्चको लागि डलर साटेर लैजाने विषय आफ्नो मनले नमान्ने बताउँछन् । पछिल्लो समय ३ महिनाको लागि शर्मा अमेरिका गएका थिए । सो क्रममा उनले आफ्नो जाने आउने र आवश्यक खर्चको लागि वासिङटन डीसीमा ट्याक्सी चलाएको बताउँछन् । ‘मैले ३ महिनासम्म बिहान साँझ ट्याक्सी चलाएँ, दैनिक ३ सय डलरसम्म आम्दानी गर्थें,’ उनले भने, ‘दिनको २/३ सय डलर कमाउँथे, त्यहाँ दिनको २/३ सय डलर कमाउँदा जुन आराम छ यहाँ वर्षको ५/७ करोड कमाउँदा पनि त्यो आराम छैन ।’ अमेरिकामा कामको सम्मान गर्ने वातावरण भएको र नेपालमा नभएको उनको अनुभव छ । ठूलो व्यवसाय गर्दैमा गुणस्तरीय जीवन नहुने उनको भनाइ छ । मान्छेलाई पोजिसनको आधारमा सम्मान गर्नेभन्दा पनि उसको योगदानको आधारमा सम्मान गर्नुपर्ने धारणा शर्माको छ । उनी भन्छन्, ‘देश विकास भनेको सबै मान्छेको भ्यालु हो ।’ सबै मान्छेलाई भ्यालु दियो भने मात्रै काम गर्ने वातावरण हुने उनी बताउँछन् । ‘अमेरिकामा जुनसुकै स्तरको काम गर्ने मान्छेलाई बराबर सम्मान गरिन्छ ।’ नेपालमा विकास भनेको सरकारले गर्छ भन्ने भ्रम परेको तर त्यसो नभएको उनको भनाइ छ । नेपालको विकासमा धेरै योगदान उद्यम गर्ने र राज्यलाई धेरै कर बुझाउनेहरुको भएको उनी बताउँछन् । करदाताहरुले कर बुझाएकै कारणले राज्यले जनतालाई विभिन्न विषयमा सुविधा दिन सकेको बताउँदै शर्माले कर बुझाउनेले त्योभन्दा अगाडि उत्पादन र रोजगारीको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताउँछन् । जुन मान्छेले जुन क्षेत्रमा काम गरिरहेको छ, सोही क्षेत्रलाई सफल बनाउने कोशिस गर्दा नै देशको विकास हुने उनको तर्क छ । (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
जसले नेपालमा केबलकार क्रान्ति ल्याए
काठमाडौं । नेपाली पर्यटन व्यवसाय क्षेत्रमा सबैले गर्वका साथ लिने नाम हो लक्ष्मणबाबु श्रेष्ठ । व्यक्ति भौतिक रुपमा रहेपनि वा नरहेपनि, उसले गरेको काम, योगदान र समाजमा छोडेको छाप जीवन्त रहन्छ । जुन कामले ती व्यक्तिहरुको स्मरण जो कोहीले पनि गरिरहन्छन् । हुन त लक्ष्मण बाबु श्रेष्ठको निधन २०७० सालमै भयो । तर, उनको कामले उनलाई जीवन्त तुल्याएको छ । नेपाली पर्यटन व्यवसाय क्षेत्रमा उनले एउटा पदछाप छोडेका छन् । अहिले देशभर केबलकार व्यवसायको लहर छ । ठूूला र चर्चित् व्यवसायीहरुले एकपछि अर्को केबलकार ल्याइरहेका छन् । यो व्यवसायको सुरुवात तिनै लक्ष्मणबाबुले आजभन्दा २५ वर्ष अगाडि अर्थात् सन् १९९८ मा सुरु गरे । कसैले नगरेको काम । सरकारको पनि नजर नपरेको क्षेत्र । लक्ष्मणबाबुको कल्पनामा कसरी आयो होला केबलकार ? यो जिज्ञासा, प्रश्न र चासो तपाईं हामीमा आउनु स्वभाविकै हो । एक कपडा व्यापारीको छोरा । घर गोरखा । कपडा व्यापारकै कारण तनहुँ, चितवन, धादिङ र लमजुङसम्म आवतजावत गर्नु दैनिकी थियो । खासै सडकहरु थिएन । अधिकांश ठाउँमा पैदल जानु पर्ने बाध्यता । सानैमा काठमाडौं पढ्न आए लक्ष्मणबाबु । स्नातकसम्म त्रिचन्द्र कलेजमा पढे । बिचमा जागिर गर्ने सोच पनि उनमा नआएको होइन तर गरेनन् । उनका छोरा राजेशबाबु श्रेष्ठ भन्छन्, ‘बुबामा आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने हुट्हुटी थियो ।’ एकदिन उनी काठमाडौं आउँदै थिए । कुरिनटार नजिकैको रमाइलो डाँडाबाट देखिने प्राकृतिक दृश्यहरूले उनलाई लोभ्यायो । तल त्रिशुली आफ्नै रफ्तारमा बगिरहेको छ । बीचमा सालघारीको हरियाली । आकाशमा बादल । तिनै बादलमा एक ठाउँबाट अर्को ठाउँसम्म लुकामारी गरिरहेका चराचुरुङ्गीहरु । दृश्य मनमोहक लाग्यो । लक्ष्मणको दिमाखमा अनेकौं शब्दहरुले स्थान लिए । उनले सोचे, ‘यो ठाउँबाट मनकामना मन्दिरसम्म रोपवे सञ्चालन गर्न सकियो भने कस्तो हुन्छ होला ?’ किनकी उनले भारतमा पनि रोपवे चल्छन् भन्ने सुनेका थिए । गोरखाबाट मनकामना जान आउन ५/६ घण्टा समय लाग्थ्यो । रोपवे सञ्चालन गर्न सकेमा त्यो समय पनि बचत गर्न सकिने, मान्छेहरुको त भीड लाग्छ होला भन्ने सोच उनीमा आइरहेको थियो । प्राविधिक जाँच गर्न उनले काठमाडौंबाट इञ्जिनियर लिएर मनकामना पुगे । अध्ययन गराए । मनकामनामा कति मान्छेहरु जाने रहेछन् भनेर सर्वेक्षण पनि गराए । अष्ट्रियाबाट स्याटेलाइटमार्फत् ठाउँ हेराए । केबलकारका लागि राम्रो ठाउँ भनेपछि उनमा काम अगाडि बढाउने हिम्मत बढ्यो । त्यसपछि सुरु भए मनकामना केबलकार बनाउने औपचारिक दिनहरु । उद्योग विभागमा लाइसेन्सका लागि गए । विडम्वना, अर्कैले लाइसेन्स लिइसकेको रहेछ । तर, बर्षौसम्म काम नगरेपछि उद्योग विभागले त्यो लाइसेन्स खारेज गरेर लक्ष्मणबाबुलाई लाइसेन्स दियो । त्यतिखेर विभागको महानिर्देशकमा रामविनोद भट्टराई थिए । ‘बुबामा आफ्नै जिल्लामा लगानी गर्ने चाहना थियो, केबलकार बन्ने भएपछि उहाँ धेरै खुसी हुनुहुन्थ्यो तर सुरु गर्दा सबैले लक्ष्मणबाबु बौलायो, अब डुब्छ भन्थे, बैङ्कले पनि पत्याएनन्,’ राजेशबाबु साढे दुई दशक अगाडिको कुरा स्मरण गर्दै भन्छन्, ‘नयाँ काममा जोखिम अवश्य नै हुन्छ, त्यतिबेला त्यो जोखिम नलिएको भए आज सबैले केबलकारमा लक्ष्मणबाबु ट्रेण्ड सेटर हो भनेर चिन्थेनन् होला, हामीलाई अहिले गर्व लाग्छ ।’ त्यतिखेर लक्ष्मणबाबुको प्रोजेक्टलाई नेपाल बैङ्कले पत्यायो । त्यसमा हिमालयन बैङ्कले पनि साथ दियो । निर्माण सुरु भएको १० महिनामै मनकामना केबलकार व्यावसायिक सुरुमा सञ्चालनमा आयो । अर्को वर्षदेखि रेष्टुराँ लगायतका पूर्वाधारहरु निर्माण सुरु भए । ‘केबलकार निर्माण गर्दा अनेकौं समस्या, दुःख र चुनौतीहरु भोगियो, स्थानीयदेखि नीति निर्मातासँग जुध्नु प¥यो, सुरुमा काम गरेपछि दुःख पाइँदो रहेछ तर त्यसको श्रेय पाउँदा र सबैले उदाहरणका रुपमा लिँदा भने पृथक किसिमको आनन्द आउँदो रहेछ,’ मुस्कुराउँदै केबकारका प्रबन्ध निर्देशक राजेशबाबुले भने । त्यसबेला केबलकार सम्बन्धी सरकारको कुनै नीति नियम थिएन । मूल्य अभिवृद्धि कर (भ्याट) छुटको विषयमा कुनै व्यवस्था थिएन । लक्ष्मणबाबुले त्यसका लागि धेरै मिहिनेत गरे । सङ्घर्ष गरे । ‘केबलकारको सामान भन्सारमा आएर रोकियो तर सरकारले भ्याट छुटको विषयमा कुनै निर्णय गरेन, सामान भन्सार नाकामै थियो, संयोगवश त्यतिखेर अर्थसचिव पनि तत्कालीन उद्योग विभागकै महानिर्देशक रामविनोद भट्टराई नै हुनुहुन्थ्यो, पछि धेरै कुराहरु बुझाइसकेपछि बैङ्क ग्यारेन्टीमा सामान आयो,’ केबलकार निर्माणका दिनहरु स्मरण गर्दै राजेशबाबु सुनाउँछन्, एकदिन त सचिवले ऐनमा गरेको व्यवस्था हो परिवर्तन गर्न मिल्दैन भनेपछि बुबाले त्यसो भए तपाईंहरु भएको के काम ? पीए भए पनि काम चलिहाल्थ्यो नी भन्नुभयो, अलि विवाद पनि भयो ।’ भ्याट छुट नदिएकै कारण मनकामना केबलकार र सरकारको मुद्दा पनि चल्यो । अदालतले केबलकार विरुद्ध नै फैसला ग¥यो । पछि कम्पनीले भ्याट ति¥यो । तर, अर्को आर्थिक वर्षदेखि केबुलकारलाई आर्थिक ऐनको भाग ८४ मा राखियो । बजेटमार्फत् भन्सारदर रेट ५ प्रतिशत भएका वस्तुमा ५० प्रतिशत भ्याट छुटको व्यवस्था भयो । आफूहरुले ठूलो मिहिने त गरेकै कारण सरकारले बजेटमा सो व्यवस्था गरेको राजेशबाबु बताउँछन् । अहिले केबलकार निर्माण गर्ने सबैले त्यो छुट पाउने गरेका छन् । लक्ष्मणबाबुले एउटा बाटो देखाएकै कारण देशमा एउटा उत्कृष्ट पर्यटन बढाउने माध्यमका रुपमा केबलकार देखिएको छ । प्रत्येक वर्ष नाफामा साढे दुई दशकको अवधिमा देशमा धेरै उतारचढावहरु आए । विभिन्न आरोह अवरोहरु भए । पछिल्लो समय विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा एक किसिमको सङ्कट ल्यायो । विभिन्न उद्योग व्यवसाय थला परे । पर्यटकीय क्षेत्र सुनसान बने । पर्यटकको आवागमन ठप्प बन्यो । तर, मनकामना केबलकार भने आफ्नै गतिमा छ । यो २४ वर्षको अवधिमा मनकामना जाने न मान्छे घटेका छन् न त कम्पनीको नाफामा नै सङ्कुचन आएको छ । कम्पनी अहिलेसम्म घाटामा छैन । कम्पनीका अनुसार केबलकारमा हालसम्म १ करोड ७० लाख बढी मानिसहरुले यात्रा गरेका छन् । ‘हामीले अहिलेसम्म नोक्सान व्यहोर्नु परेको छैन, सञ्चालनमा ल्याएको ७ वर्षमै ऋण चुक्ता ग¥यौं, अहिले पनि सबै खर्च कटाएर, कर तिरेर ३० प्रतिशत जति नाफा हुन्छ,’ प्रबन्ध निर्देशक श्रेष्ठ भन्छन्, ‘केबलकारसँगै गन्तव्य बनाउन सकियो भने आम्दानी राम्रै गर्न सकिन्छ ।’ केबलकारमा गत मंसिरमा १ लाख २० हजारले यात्रा गरेको उनी बताउँछन् । अहिले पनि दैनिक ३ हजार ५ सय जनाले यात्रा गर्ने गरेका छन् । अहिलेसम्म एक महिनामा सबैभन्दा बढी १२ लाख मानिसले केबलकारबाट यात्रा गरेको रेकर्ड छ । ‘केबलकार मात्रै आकर्षण भएर होइन, गन्तव्य आकर्षण हुनुप¥यो, गन्तव्य राम्रो भएपछि पयर्टक स्वतः जान्छन्, कोरोनामा अरुलाई समस्या भयो, मनकामना केबलकारले राम्रै नाफा ग¥यो, कोभिडपछि ३ लाख पर्यटकले यात्रा गरे,’ राजेशबाबु भन्छन्, ‘डाँडाँको टुप्पो छ भन्दैमा केबलकार परियोजना सफल हुँदैन, केबलकार सफल बनाउनका लागि गन्तव्य बनाउन सक्नु पर्छ ।’ मनकामना दर्शन प्रालिले ४६ करोडको लगानीमा अब मनकामनामै सुविधा सम्पन्न होटल खोल्दैछ भने अर्को ठाउँमा पनि केबलकार निर्माण गर्ने जनाएको छ । नयाँ निर्माण हुुने केबलकारलाई पब्लिकमा लैजाने योजना रहेको पनि उनी सुनाउँछन् । मनकामनाको सेयर भने अहिले दोस्रो बजारमा सूचीकृत गराउने कुनै तयारी नभएको उनले बताए । २५ वर्षअघि कुरिनटारबाट मनकामना मन्दिर जाने केबलकार निर्माण शुरु गर्दा उद्यमी लक्ष्मणबाबु श्रेष्ठलाई धेरैले ‘बौलायो’, ‘डुब्छ’ भन्थे । तर, अहिले उक्त परियोजनालाई पछ्याउँदै देशभर चलेका र बन्दै गरेका केबलकार परियोजना एक दर्जन पुगेका छन् । ‘मनकामनामा सुविधा सम्पन्न होटलहरु नभएकै कारण भीआईपीहरु बसेनन् भन्ने गुनासो आएपछि हामी आफैले ४० बेड क्षमताको होटल निर्माण गर्दैछौं, जसको नाम रिसोर्ट बाई मनकामना केबलकार नाम राखेका छौं, यसमा स्वीमिङ पुल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल हुनेछ, केबलकारमा आउने कुल मान्छेको ३ प्रतिशत मान्छे होटलमा आए भने होटल राम्रैसँग चल्छ,’ श्रेष्ठले आफ्नो योजना सुनाए । अहिले मनकामना केबलकारको मर्मत र स्तरोन्नतिको काम पनि भइरहेको छ । जसका लागि ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने अझै ४० करोड मर्मतमा लाग्ने कम्पनीको भनाइ छ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ । केबलकारको सुधारका लागि अहिले पनि चरणवद्ध रुपमा काम भइरहेको श्रेष्ठले बताए । ६५ करोड रुपैयाँ लगानीमा सुरु भएको मनकामना केबलकारले अहिले मासिक करोडौं कमाउँछ । गत आर्थिक वर्षमा पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी मनकामना बनेको छ । पर्यटकसँगै स्थानीयको व्यापार बढ्यो मनकामना केबलकार सञ्चालनमा आउँदा स्थानीयहरू आक्रोशित थिए । जसको कारण जग्गा प्राप्ति, जंगल लगायतको विषयमा कम्पनीले धेरै सकस भोग्नु प¥यो । तर, अहिले परिस्थिति बदलिएको छ । मनकामना केबलकारको हाइहाई नगर्ने कोही छैनन् । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार सञ्चालन गरेपछि स्थानीयहरुको जीवनस्तर सुध्रिएको छ । स्थानीय उत्पादनले बजार पाएको छ । अधिकांश मानिसहरु स्वरोजगार बनेका छन् । धेरैले रोजगारी पाएका छन् । आन्तरिक पर्यटकको घुइँचो छ । ‘आन्तरिक पर्यटक बढाउनमा हामीले धेरै सहयोग गरेका छौं, केबलकार सञ्चालनमा आएपछि राजमार्गमा पनि धेरै होटल/रेष्टुराँहरुखुले, स्थानीय उत्पादनले बजार पाएको छ, कतिपयको उत्पादन मनकामना मन्दिरमै बिक्छ,’ राजेशबाबु भन्छन्, ‘अब हामीले मनकामना धार्मिकसँगै पर्यटकीय गन्तव्य पनि हो है भन्ने सन्देश दिन खोजेका छौं ।’ श्रेष्ठका अनुसार मनकामना केबलकारले मलेखुदेखि आँबुखैरेनी क्षेत्रलाई जोडेको छ । ‘मनकामनाबाट फर्केको मान्छे मलेखुमा माछा खान्छन्, व्यवसाय चम्किएको छ, राजमार्गमै नयाँ–नयाँ रिसोर्ट आएका छन्, धेरैले रोजगारी पाएका छन्,’ उनी भन्छन्, ‘२४ वर्ष अगाडि र आजको मनकामना आकाश पातल फरक छ ।’ मनकामना केबलकार अहिले श्रेष्ठ परिवारको व्यवसायमा मात्र सीमित भएन, स्थानीयको जीवनस्तर विकास, मुग्लिनदेखि नारायणघाट क्षेत्रको व्यापार विस्तारको प्रमुख आधार बनेको छ । देशको आन्तरिक पर्यटनमा सबैभन्दा चलेको गन्तव्य पनि भएको छ । कमाएपछि समाजलाई पनि केही दिनुपर्छ भन्ने मानसिकताका साथ मनकामना दर्शन प्रालिले प्रत्येक वर्ष नाफाको एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आएको छ । कम्पनीले एक प्रतिशत शहिदलखन गाउँपालिका र एक प्रतिशत इच्छामनकामना गाउँपालिका भित्रका केही वडाहरुमा खर्च गरिरहेको छ । श्रेष्ठ परिवारले केबलकारसँगै निर्माण, हाइड्रोपावर र दुध प्रशोधन उद्योगमा ठूलो लगानी गरेको छ । चितवन मिल्क आएपछि नेपालमा ‘मिल्क होलिडे’ को नै अन्त्य भएको उनी बताउँछन् । अब भएकै व्यवसायलाई विस्तार गरेर अगाडि बढ्ने सोचमा उनको परिवार छ । (देशविकास पत्रिकाको वर्षअङ्कबाट) सम्बन्धित सामग्री : गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल