जसले सिनेमालाई डिजिटलाइज गरे, हललाई मल्टिप्लेक्स बनाए
काठमाडाैं । परम्परागत प्रविधिका हललाई परिणत गरी सुविधासम्पन मल्टिप्लेक्स हलको नयाँ मोड दिने व्यवसायी हुन्, नकिम उद्दिन । सन् २००२ मा सिनेमा व्यवसायमा प्रवेश गरेका उद्दिनले सिनेमा जगतमा छुट्टै पहिचान बनाईसकेका छन् । नेपाली फिल्म इन्ड्रस्ट्रीजको डिजिटलाईजेशन गर्नेदेखि फिल्म हलको गुणस्तर वृद्धिमा उनले नयाँ ट्रेण्डसेटरको भूमिका खेलेका छन् । कलेजको पढाई विदेश सकेर उद्दिन १९९६ मा नेपाल फर्किए । उनको पारिवारिक व्यवसाय पोतेको व्यापार थियो । उनका बुबाआमाले इन्द्रचोकमा पोतेको पसल चलाएका थिए । नेपाल फर्किएपछि नकिम उद्दिन पनि पारिवारिक बिजनेसमा सक्रिय भए । २ वर्षपछि उनले पोते व्यापार छोडे । ‘सानो व्यवसाय, बुबा आमाको लागि पनि प्रयाप्त काम थिएन, म त्यसमा रम्न सकिन’ उनले भने । त्यो बेला नेपालमा मुलत आयात व्यापार नै थियो । त्यसमा उनले हात हाले तर राम्रो भएन । पछि सभाना ट्राभल एजेन्सी सञ्चालनमा ल्याए । त्यहिबेला माओवादी द्वन्द्व उत्कर्षमा उक्लियो । सन् २००१ मा धेरै जसो पर्यटन व्यवसायहरू बन्द भए र उद्दिनले सञ्चालन गरेको सभाना ट्राभल बन्द भयो । उद्दिन फेरी नयाँ व्यवसाय गर्ने सोचमा पुगे । त्यहिबेला जेठान भाष्कर ढुंगानाले चलचित्र व्यवसाय सुरु गर्ने योजना सुनाए । उद्दिन पनि सानैदेखि सिनेमामा धेरै रुचि राख्ने मान्छे । उनलाई योजना मन पर्यो । भाष्कर अमेरिकामा पढाई गर्दा उनका प्रिय साथीका रूपमा राजेश सिद्दी थिए । ढुंगाना, उद्दिन र सिद्दीको टिम बन्यो । सिनेमा उद्योगलाई एउटा नयाँ गति दिने योजनासहित त्यो टिम सन् २००२ बाट चलचित्र व्यवसायमा प्रवेश गर्यो । जय नेपाल हलबाट उनीहरुले सिनेमा व्यवसायमा हात हाले । पछि कुमारीमा पनि लगानी गरे । ‘त्यो समयमा अवसरभन्दा बढी चुनौतीहरू थिए, द्वन्द्व चर्किएको थियो, उपत्यका बाहिर १२ बजे पछाडी एक शो र काठमाडौंमा २ शो फिल्म चल्थ्यो, सुरक्षाको हिसाबले तनाव नै थियो,’ विगतका दिन स्मरण गर्दै उद्दिनले भने । सन् २०७०/८० को दशकका हिन्दी या नेपाली सिनेमाको कपी मात्रै हुन्थे त्यो बेलाका सिनेमाहरू । हुबहु त्यस्तै बन्थे । त्यो ओपन सेक्रेट नै हो । १६ एमएममा खिचेर ३५ एमएममा देखाइन्थ्यो । हलमा स्पष्ट आकृति देख्न १०/१५ मिनेट नै लाग्थ्यो । झनै सेलोलाइड प्रविधि, जसको एउटा प्रिन्ट कष्ट नै एक लाख पथ्र्यो । हल-हलमा दौडाउनुपर्ने । सन् २००२ ताका देशभर ५ सय वटा सिनेमा हल थिए । माओवादी द्वन्द्वका कारण करिब ४ सय हल बन्द भए । तैपनि हलहरु एउटै फिल्म लामो समय हलमा देखाउन बाध्य थिए । पुराना सिनेमा कति समय हेर्ने भन्दै दर्शकको असन्तुष्टि त्यत्तिकै थियो । ‘यस अवस्थामा नयाँ प्रविधि नेपाल भित्र्याउने उद्देश्यका साथ हामी काम गर्न थाल्यौं, सिनेमा उद्योगले एनालग प्रविधि छोडेर डिजिटल प्रविधि तिर जानुपर्छ भन्नेमा हाम्रो ध्यान केन्द्रीत भयो,’ उनले भने । सन् २००४/०५ मा उद्दिन सिनेमा क्षेत्रमा प्रयोग भएका प्रविधिको अध्ययन गर्न विभिन्न देशमा पनि गए । विदेशमा धेरै प्रविधिको विकास भइसकेको थियो तर महँगो । यहाँका हल व्यवसायीहरूले त्यो प्रविधिलाई धान्न सक्ने अवस्था थिएन । समय बित्दै गयो । भारतमा युएअफो मुभिज भन्ने कम्पनी आयो । त्यसले विभिन्न प्रविधि ल्यायो । जुन चल्यो पनि । त्यसबारे उद्दिनको प्राविधिक टोलीले भारतमा गएर अध्ययन गर्यो । प्रविधि ल्याएर मात्र भएन, यहाँको उत्पादनदेखि वितरण प्रदर्शनी सबै कुरा मिल्नु पर्ने थियो । तत्काल अघि बढ्ने आधार देखेन उद्दिनको समूहले । उनका साथी भाष्करलाई आफै सिनेमा बनाउने हुटहुटी थियो । अरु दुईले पनि उनलाई साथ दिने भए । फिल्म बनाउने तर डिजिटल बनाउने निणर्यमा पुगे उनीहरु । त्यति बेलासम्म नेपालमा डिजिटल फिल्म बनेका थिएनन् । शुरुमा आफैले डिजिटल फिल्म बनाउने, त्यसको लागि आवश्यक पूर्वाधारको तयार गर्दै जाने र विस्तारै उद्योगलाई नै डिजिटलमा लाने उद्देश्य साथ उक्त टीमले ‘कागबेनी’ सिनेमा बनायो । ‘कागबेनी’ पहिलो डिजिटल प्रविधिमार्फत बनेको चलचित्र थियो । सिनेमा बनाउनको लागि अमेरिकाबाट क्यामेरा, सेटअप र आवश्यक प्रविधिहरू मगाएर सुटिङ गरेको उद्दिन बताउँछन् । ‘कागबेनी’ चलचित्र डिजिटल पर्दामा आयो । तर, त्यो बेला ८० लाख रुपैयाँ लगानी गरेर बनेको कागबेनीमा भएको लगानी उठाउन भने निर्माता समूह असफल भयो । ‘कागबेनी’ले घाटा खाएपनि फिल्म निर्मातालाई डिजिटल प्रविधिमा फिल्म बनाउन प्रोत्साहित गर्ने लक्ष्यका साथ उद्दिनको समूहले सन् २००८ ‘सानो संसार’ फिल्म बनाए । ‘सानो संसार फिल्म रिलिज गरिसकेपछि, यहाँ निर्माता, वितरक तथा प्रदर्शक साथीहरूले यो प्रविधि भरपर्दो रहेछ, यसमा लगानी गर्दा ठिकै हुन्छ भन्ने कुराको महशुस गर्नुभयो’ उद्दिन भन्छन्- सन् २०१० सबै हललाई डिजिटलाईज गरेर सबै फिल्म डिजिटल्ली रिलिज गर्न सक्ने बनायौं,’ उनले भने । ‘हामीले पैसा उठाउने उद्देश्यले सिनेमा बनाएका थिएनौं, ‘सानो संसार’ करिब एक करोड २५ लाख रुपैयाँमा बनाएका हौं, तर एउटा संस्कारको सुरुवात हामीले गरेका हौं, त्यो नगरेको भए यस क्षेत्र यो लेबलसम्म आइपुग्दैन थियो होला, त्यही लगानीको फल स्वरुप यस क्षेत्र अहिलेका अवस्थामा आइ पुगेको हो,’ उनले भने । ‘सानो संसार’ फिल्मपछि नेपालभर सिनेमा हलका पर्दा डिजिटलाइजेसन हुनु र मल्टिप्लेक्स फ्लेवरमा हलहरू खोल्नु नेपाली सिनेमाका लागि टर्निङ पोइन्ट भएको उनी बताउँछन् । डिजिटलाइजेसनले नेपालभरका हलमा सिनेमा रिलिज गर्न सजिलो भयो । उक्त प्रविधिले निर्माताहरूलाई पनि सहज भयो । खर्च कम भयो । यसैबीच चलचित्रमा नयाँ निर्माता प्रवेश गरे । सन् २०१२ मा चलचित्र ‘लुट’ प्रदर्शनमा आएपछि डिजिटल प्रविधिको उपयोगिता देखियो । यो सिनेमा नेपालभर रिलिज भएको थियो । पहिलोभन्दा दोस्रो हप्ता झनै राम्रो दर्शक पायो । ‘हामी कस्तो सिने उद्योगमा लम्कँदै छौं भनेर ‘लुट’ले देखाइदियो,’ उद्दिनले भने । ‘हामी जय नेपाल हलमा आउनु, सिनेमा हलहरू डिजिटल प्रविधिमा जानु, ‘लुट’ रिलिज हुनु ऐतिहासिक मोड थियो नेपाली सिनेमाका लागि,’ उद्दिन सम्झन्छन् । ‘छक्कापन्जा’को नयाँ शृंखलाहरुले हिन्दी र अंग्रेजी सिनेमालाई साइड लगाइदिए । ‘जो पायो त्यही मान्छेले नेपाली सिनेमा बनाएर चल्दैन । पढेको, बुझेको, सृजनशील, आइडिया भएको मान्छेले फिल्म बनाउँदा दर्शकले मन पराउँछन्,’ उनको ठम्याई छ । ४०० हल आवश्यक नकिम उद्दिन, भास्कर ढुंगाना, राजेश सिद्दीको टिम चलचित्र व्यवसायमा प्रवेश गर्दा १०० वटा हल थिए । दुई दशकपछि अहिले नेपाल २०० वटा सिनेमाका हल छन् । जसमध्ये ५०/६० वटा पुराना हल पनि छन् । ती हलहरू लामो समयसम्म सञ्चालनमा आउन नसक्ने अवस्थामा छन् । कोभिडको समयमा पनि केही हलहरू बन्द भए । अझै पनि बन्द हुने क्रममा छन् । सँगै ठूला सहरी क्षेत्रमा मल्टिप्लेक्स हलमा लगानी बढ्दै गएको छ । भूगोल र जनसंख्याको आधारमा करिब ४०० सिनेमा हल हुनुपर्नेमा अहिले २०० मात्र हुनुले यस क्षेत्रमा लगानीको राम्रो अवसर रहेको उनी बताउँछन् । ‘अहिले सिनेमा हलको कमी छ, धरै ठाउँमा सिनेमा हलको आवश्यकता छ, आधुनिक सिनेमा हल बनाउनको लागि लगानी ठूलै चाहिन्छ, त्यसले गर्दा हामी सबैतिर लगानी गर्न सकिँदैन, हामीले हाम्रो क्षमताले भ्याएसम्म विस्तारै लगानी गर्दैछौं,’ उनले भने । सिनेमा क्षेत्रको विकासको लागि सरकारी नीति उपयुक्त बनाउनु पर्ने आवश्यक उद्दिनले ठाने । भारत सरकारले मल्टिप्लेक्समा लगानी गर्नेलाई ५ वर्षसम्म कर दिएको उदाहरण दिँदै नेपाल सरकारले पनि त्यस्तो नीति लिएमा सिने हलमा लगानी आकर्षित हुने उनले बताए । सिने हलहरुलाई समय सापेक्ष स्तरवृद्धि गर्दा दर्शकहरु मूल्य तिर्न तयार भएको उनी बताउँछन् । ‘हामी सिनेमा जगतमा प्रवेश गर्दा गोपीकृष्णमा फिल्मको शुल्क ५० रुपैयाँ लाग्थ्यो, हामीले जय नेपाल हलमा फिल्म हेर्नको लागि १५० रुपैयाँ शुल्कबाट सुरु गरेका थियौं,’ उनले भने- ‘तर महँगो भनेर हाम्रोमा दर्शकको कमी भएन ।’ ‘हलभित्रको प्रविधि आधुनिक हुनुपर्यो, आधुनिक प्रोजेक्टर हुनुपर्यो, साउण्ड सिस्टम गुणस्तरीय हुनुपर्यो, बस्ने सिट आरामदाही हुनुपर्र्यो, सरसफाई राम्रो हुनुपर्यो, हलभित्रको सर्भिस राम्रो हुनुपर्यो, अनिमात्र ग्राहक उचित मूल्य तिर्न तयार हुन्छन्’ उनले थपे । ‘त्यतिबेला नेपालका सिने हलहरु व्यवस्थित थिएन, विदेशमा फिल्म हेरेको अनुभवका आधारमा हामीले दर्शकहरुको लागि सुविधा बढाउने गरी हल बनाउन थाल्यौं । भर्खरैका ठिटा आएर जे पायो त्यही गर्न लाग्यो भन्ने पुराना व्यवसायीहरुको आलोचना पनि गर्दथे, तर हामीलाई थाहा थियो, हामीले के गरिरहेका छौं, धेरै वटा हल खोल्न नसकिएला तर एउटा हल चाहिँ कसो चलाउन नसकिएला, आफूले पनि त्यहाँ गएर फिल्म हेर्न पाइएला भन्ने उद्देश्यले पनि सुरुवात गरेको हौं,’ विस्तृतमा उनले भने । क्यूएफएक्सको यात्रा कुमारी र जय हलपछि आफ्नै ब्राण्ड स्थापित गर्नतर्फ उद्दिनको टिम लाग्यो । प्रविधिले सुविधा सम्पन्न क्यूएफएक्स नामक पहिलो मल्टिप्लेक्स सन् २००९ मा सिभिल मलमा सञ्चालनमा आएको थियो । अहिले क्यूएफएक्स चलचित्र पर्दाको लोकप्रिय ब्राण्डको रूपमा स्थापित भइसकेको छ । देशका विभिन्न ११ ठाउँमा क्यूएफएक्सको शाखा सञ्चालनमा छन् । उद्दिनको टीमको लगानी सबै क्यूएफएक्सका हलमा छैन । यो ब्राण्ड र म्यानेजमेन्ट हो । उद्दिनको टिमले फ्रेनचाईज पनि गर्छ । अहिले क्यूएफएक्सको वार्षिक कारोबार एक सय करोड रुपैयाँ छ । कुल सिनेमा हलको व्यापारको करिब ५० प्रतिशत हिस्सा क्यूएफएक्सले ओगटेको छ । अहिले क्यूएफएक्सको नयाँ शाखा वीरगञ्जमा खुल्दै छ । वीरगञ्जमा ३ वटा पर्दाको सुविधा सम्पन्न मल्टिप्लेक्स हुनेछ । यो हल केही महिनापछि सञ्चालनमा ल्याउने तयारी छ । सो मल्टिप्लेक्समा एकैपटक ३ सय ६० जनासम्म बसेर फिल्म हेर्न सक्नेछन् । उक्त हलको निर्माण १६ करोड लगानीमा हुने पनि उद्दिनले बताए । कोभिडका कारण आर्थिक समस्यामा परियो । जसले गर्दा नयाँ हलमा लगानी गर्ने क्षमता नरहेको पनि उद्दिन सुनाउँछन् । उनीहरूले डिजिटल नेपाल भन्ने कम्पनी पनि सञ्चालन गरेका छन् । उक्त कम्पनीबाट नेपाल भरका हलमा प्राविधिक सहायता गर्ने काम पनि गर्दै आएको छ । ‘डिजिटल नेपाल कम्पनीबाट हलमा चाहिने प्रविधिको सहयोग गर्दै आएका छौं, डिजिटल फिल्म चाहिने कन्टेन्ट, टेक्नोलोजीको काम अहिले पनि गर्छौं, ओभरल हेर्ने हो भने त्यो कम्पनीमा धेरै जना लगानीकर्ता हुनुहुन्छ, सबै मिलेर त्यसमा ५/६ करोडक लगानी गरेका छौं,’ उनले भने । उद्दिन भन्छन्, ‘पहिला फिल्ममा पैसा थिएन, अहिले पैसा छ, राम्रो सिनेमा बन्यो भने १०/१५ करोड रुपैयाँको व्यापार गरिदिन्छ, उत्कृष्ट फिल्म बन्यो भने अब एउटै फिल्मले १०० करोडको व्यापार गर्ने गरी बजार विकास भएको छ ।’ ‘अमेरिकामा १५/१६ डलर शुल्क तिरेर फिल्म हेर्नुपर्छ, आज हामीले त्यही अनुपातमा, त्यही क्वालेटी, टेक्नोलोजी प्रयोग गरेर २/३ डलरमा दर्शकलाई देखाइरहेका छौं, त्यो नेपालीको लागि एउटा गौरवको कुरा हो,’ उनले भने । राजेश हमाल जस्ता नयाँ स्टारहरुको उदय हुने, क्षमतावान व्यक्ति फिल्म राइटर भएर बजारमा प्रवेश गर्ने, आधुनिक प्रविधिको प्रयोग पनि गर्दै जाने हो भने समग्रमा फिल्म इन्डस्ट्रीजको विकासले नयाँ चरणमा प्रवेश गर्ने उनको विश्लेषण छ । सम्बन्धित समाचार चार साथी मिलेर बनेको एफवान सफ्ट, फिनटेकमा उत्कृष्ट बुबाको जग गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी व्यापार छोडेर उद्योगमा स्थापित शशिकान्त अग्रवालको कथा विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
व्यवसायीको पासो बन्दै बैंकको ऋण, धमाधम देहत्याग, जिम्मेवार को ?
काठमाडौं । मंगलबार इलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि नै आत्मदाहको प्रयास गरे । व्यवसायी समेत रहेका आचार्यले शरिरमै पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । नेपाल प्रहरीले लगत्तै अस्पताल लिएर उपचार गर्दा उनलाई बुधबार स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरे । व्यवसाय डुबेर बैंकको ऋणको जञ्जालमा परेपछि आफुले आत्महत्या गर्नु परेको विषय उनले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए । अहिले उनको आत्मदाहको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ । गत मंसिरमा पनि सिरहाका एक जना व्यवसायीले बैंकले चर्को ब्याज लिएको र आफ्नो व्यवसायले थेग्न नसकेको भन्दै आत्महत्या गरे । सिरहा गोलबाजारमा व्यापार गर्दै आएका पप्पु महासेठले बैंकको ब्याज तिर्नै नसकेको भन्दै आत्महत्या गरेका थिए । यस्तै, गत भदौ २१ गते काठमाडौं न्यूरोडमा कपडा व्यापार गर्दै आएका व्यवसायी सुदर्शन घिमिरेले पनि आत्महत्या गरे । उनले पनि बैंकको ऋण तिर्न नसकेपछि आत्महत्या गरेको सुसाइड नोट भेटिएको थियो । मासिक ४० हजार बढी सटर भाडा र लाखौं रकम बैंकको किस्ता तिर्नु परेको र सोही अनुसार व्यापार नचलेपछि मृत्युको बाटो रोज्नु परेको हुदयविदारक शब्दहरु उनको सुसाइड नोटमा उल्लेख थियो । भक्तपुर मध्यपुर ठिमीका व्यवसायी सुदीप अधिकारीले पनि अघिल्लो वर्ष बैंकको ऋण तिर्न नसकेको भन्दै परिवारको समेत हत्या गरेर आत्महत्याको बाटो रोजे । प्रहरीले अनुसन्धान गर्दा उनको आत्महत्याको कारण बैंकको ऋण भएको खुलेको थियो । यी प्रतिनिधि घटनाहरु मात्रै हुन् । पछिल्लो समय बैंकको उच्च ब्याज र सावाँ तिर्नै नसकेर दिनहुँ व्यवसायीहरुले मृत्युवरण गर्नु परेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि संकटमा परेको अर्थतन्त्र र व्यवसाय पनि खासै नचल्दा सक्नेले व्यवसायबाटै पलायन भइरहेका छन् भने कतिपय सहन नसकेर मृत्युको बाटो रोजिरहेका छन् । अहिलेसम्म व्यवसाय संकटमै परेर कति जना व्यवसायीले मृत्युको बाटो रोज्नु पर्यो यसको यकिन विवरण भने कुनै पनि निकायसँग छैन । तर, बैंकको ऋण तथा ब्याज र व्यवसाय संकटमै परेको कारणले आत्महत्या गरेका घटनाहरु भने सञ्चार माध्यममा सम्प्रेषण भइरहन्छन् । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले समस्या सिर्जना भएर आत्हत्या गरेका उद्योगी व्यवसायीको तथ्यांक महासंघसँग नभएको बताए । उनका अनुसार पछिल्लो समय बैंकको ब्याज तथा व्यवसायमा समस्या आएकै कारण आत्महत्या गरेका व्यवसायीको संख्या बढेको भएपनि यकिन तथ्यांक भने महासंघले नराखेको बताए। उनले व्यवसाय संकटमै परेको कारण आत्महत्या गर्नु गम्भीर र सोचनीय विषय भएको धारणा राखे । उद्योग व्यवसाय बिग्रदै गएपछि बैंक तथा वित्तीय संस्थाले पनि ऋणीहरुलाई दबाब दिन थालेका छन् । बैंकहरुले सावाँ ब्याज असुली तथा धितो लिलामीका सूचनाहरुले पछिल्लो समय पत्रपत्रिका भरिभराउ हुने गरेका छन् । योसँगै धेरै उद्योगी व्यवसायीहरुले समेत बैंकको ब्याज घटाउनु पर्ने भन्दै आन्दोलन पनि गरे । तर, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बैंकिङ पनि व्यवसाय भएकोले ऋणीले लिएको ऋणको सावाँ ब्याज तिर्नु पर्ने बताउँछन् । ‘बैंकिङ पनि एउटा व्यवसाय हो, लगानीकर्ताले नाफाकै लागि लगानी गरेका हुन्छन्, कोरोनाअघिको तुलनामा बैंकको ब्याज एक प्रतिशतले मात्रै बढेको छ, बैंकहरुले ब्याज धेरै बढाएका छैनन्, ब्याज घटाउ भनेर अनावश्यक दबाब दिनका लागि आन्दोलन तथा नारावाजी गर्नु राम्रो होइन, अहिले पनि सिंगल डिजिटमा ब्याज भएका ऋणीहरु पनि हुनुहुन्छ, नियतवस रुपमा बैंकले ब्याज बढाएर समस्यामा पार्दैन,’ अध्यक्ष केसीले भने । कालोसूचीमा पर्नेको ग्राफ बढ्दो कर्जा सूचना केन्द्रले ऋणीहरुलाई कालोसूचीमा राख्ने काम गर्छ । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ऋणीहरूलाई प्रवाह गरेको ऋण नउठेमा विभिन्न समयमा सूचना जारी गरेर ऋण तिर्नका लागि ताकेता गर्छन् । पटक–पटक सूचना जारी गर्दा पनि ग्राहक सम्पर्कमा नआएपछि बैंकले धितो लिलामी गरेर ऋण असुल गर्ने काम गर्छन् । सोही समयमा बैंकले कर्जा सूचना केन्द्रलाई सो ऋणीको सम्पूर्ण तथ्यांक उपलब्ध गराएर कालोसूचीमा राख्न सिफारिस गर्छन् । सोही सिफारिसलाई आधार मानेर कर्जा सूचना केन्द्रले पनि ऋणीलाई कालोसूची राख्छ । कर्जा सूचना केन्द्रका अनुसार अहिले कालोसूचीमा पर्ने व्यक्ति तथा व्यवसायीको संख्या बढ्दो छ । बैशाखदेखि माघ ९ गतेसम्म कुल १८ हजार ७० जना व्यवसायी कालोसूचीमा परेका छन् । प्रत्येक महिना त्यो संख्या बढ्दो अवस्थामा रहेको केन्द्रले जनाएको छ । कर्जा सूचना केन्द्रका अनुसार बैशाखमा १ हजार ११५ जना, जेठमा १ हजार ५८७ जना, असारमा २ हजार ५३८ जना, साउनमा १ हजार ७८६ जना, भदौमा २ हजार ८८ जना, असोजमा १ हजार ७९९ जना, कात्तिकमा १ हजार ५९२ जना, मंसिरमा २ हजार ७३ जना, पुसमा २ हजार ६६८ जना र माघ ९ गतेसम्म ८२४ जना कालोसूचीमा परेका छन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिरेर कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका ऋणी बैंकिङ सुविधाबाट वञ्चित हुन्छन् । राष्ट्र बैैंकको एकीकृत निर्देशिकाले बैंकको निर्देशनबमोजिम कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न नपाउने व्यवस्था गरेको छ ।. आत्महत्या गर्ने पनि बढ्दै नेपाल प्रहरीका अनुसार आत्हत्या गर्ने संख्या वर्षेनी बढ्दै गएको छ । नेपाल प्हरीले के कति व्यवसायीले आत्महत्या गर्छन् भन्ने तथ्यांक नराखेपनि आत्महत्या गर्नेको संख्या भने बढ्दै गएको छ । नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले नेपालमा विगत तीन वर्षमा २० हजार बढीले आत्महत्या गरेको बताए । उनका अनुसार वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । व्यवसायिक संकट, बैंकको उच्च ब्याज, शैक्षिक बेरोजगारी, निराशापन लगायतका विषयले व्यक्तिले आत्महत्या गर्ने गरेको उनको भनाइ छ । तथ्याङ्क अनुसार समग्रमा महिला भन्दा पुरुषमा आत्महत्याको दर बढी देखिन्छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २५२ जना, आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार १४१ र आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेका छन् । जिम्मेवार को ? मंगलबार प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि नै आत्मदाह गर्ने प्रयास गरेपछि अहिले सर्वत्र सरकारको आलोचना भइरहेको छ । स्वर्गीय आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमार्फत् पनि विभिन्न मागहरु राख्दै आफु मरेपनि देश बाँचिरहोस् भन्ने हृदयविदारक स्टाटस राखेका थिए । उनले बैंकको उच्च ब्याजदर घटाउनु पर्ने, आयात प्रतिस्थापन गरी घरेलु उत्पादन र निर्यातलाइ प्रोत्साहन गर्नु पर्ने लगायतका मागहरु सरकार समक्ष राखेका थिए । उनका मागहरु पुरा हुनु पर्ने भन्दै बुधबार माइघर मण्डलामा सर्वसाधारणले सरकारविरुद्द नारावाजी समेत गरेका थिए । यो र यस्तै घटनाको जिम्मेवार सरकार भएको भन्दै सर्वसाधारणहरुले सरकारको विरोध गरेका थिए । यो घटनाको विषयलाई लिएर गृहमन्त्री रवि लामिछानेले माफी पनि मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्दै आचार्यलाई माफी मागेका हुन् भने बुधबार आचार्यको परिवारलाई भेट्न समेत पुगेका थिए । गृहमन्त्री लामिछानेल आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको भन्दै यसमा सरकार हामी दोषी भएको उल्लेख गरेका छन् । आचार्यको विषयमाथि सरकारले छानविन तथा अध्ययन गर्ने निर्णय पनि गरिसकेको छ ।
साथीहरू मिलेर बनेको एफवान सफ्ट, फिनटेकमा उत्कृष्ट
काठमाडौं । तपाईं आफ्नो साथी, सहकर्मी वा घरपरिवारलाई पैसा पठाउन आग्रह गर्दै हुनुहुन्छ भने, कसरी पठाउनु भन्नुहुन्छ ? इसेवा, फोनपे वा मोबाइल बैंकिङ ? हो, अधिकांशले लिने नाम यिनै हुन् । व्यावसायिक जगत् वा युवा पुस्ता माझ डिजिटल कारोबारको लागि इसेवा, फोनपे सर्वाधिक प्रयोग हुने डिजिटल एप्लिकेशन हुन् । इसेवा नेपालमा सर्वाधिक डाउनलोड भएको एपमध्ये एक हो । अहिलेसम्म ७० लाख मानिसले इसेवा एप डाउनलोड गरेको कम्पनीले जनाएको छ । मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने इसेवा अहिले अधिकांशको दैनिकी बनेको छ । घरमै बसेर जोकोहीलाई पनि पैसा पठाउन, घरभित्रै बसेर किनमेल गर्न र घरमै बसेर अनेकौं बिल भुक्तानी गर्न सक्ने सुविधा इसेवाले प्रदान गरिरहेको छ । कसैलाई पैसा पठाउन वा पाउन मान्छेलाई भेट्नै पर्दैन । इसेवाबाट सहजै सकिन्छ । इसेवा, फोनपे लगायत अन्य केही डिजिटल प्लेटफर्महरुको मदर कम्पनी भने एफवान सफ्ट हो । जुन कम्पनीको स्थापना गरेका हुन् विश्वास ढकालले । संस्थापनादेखि नै ढकाललाई साथ दिने अन्य तीन जना संस्थापक सेयरधनी हुन्, सुवास शर्मा, अस्गर अली र सुवास सापकोटा । सुवास सापकोटा चार्टर्ड एकाउन्टेन्ट हुने भने अन्य तीनै जना इञ्जिनियर हुन् । सन् २००४ सालमा स्थापना भएको यो कम्पनीले १८ वर्षको अवधिमा प्रविधिमा धेरै ठूलो फड्को मारेको छ । नेपाललाई प्रविधि सिकाएको छ । ‘हामी कलेजमै हुँदा कम्पनीको स्थापना भएको हो, त्यतिबेला विश्वास ढकालले एक्लै कम्पनी दर्ता गरे, एक आपसमा चिनजानले हामी चारै जना कम्पनीमा जोडियौं, पछि विस्तारै काम गर्न थाल्यौं, बजारले चिन्न थाल्यो, अहिले सबैले प्रविधिको क्षेत्रमा एउटा अग्रणी कम्पनीका रुपमा लिँदा खुसी लाग्छ,’ कम्पनीका सञ्चालक तथा एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्मा भन्छन् । एफवान सफ्ट ठूलो महत्वकांक्षा लिएर सुरु भएको कम्पनी होइन । विस्तारै सम्भावनाहरु देखिँदै गए । सुरुमा कम्पनीले बैङ्कको एसएमएस बैंकिङ्गको उत्पादन सुरु ग¥यो र बैङ्कहरुलाई बेच्यो । अधिकांश बैङ्कले त्यो प्रडक्ट प्रयोग गरे । त्यसपछि इसेवा सार्वजनिक भयो । सन् २००९ मा सार्वजनिक भएको इसेवाले अहिले डिजिटल कारोबारको बजार तताइरहेको छ । इसेवाले मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने सुविधा ल्यायो । विस्तारै टेलिकम कम्पनी, सिनेमा हल, एयरलाइन्स, स्कुल/कलेज, बिजुली तथा पानीको बिल, यातायात कम्पनीलगायतले अनलाइनबाट कारोबार गर्न सकिने व्यवस्था भयो । ‘इसेवाबाट भुक्तानी गर्न सकिने धेरै सेवा भइसकेका छन्, यी विभिन्न सेवा हामीले सुरुवात गरेपछि अन्य कम्पनीहरु पनि आइरहेका छन्, हाम्रै कारणले यो क्षेत्र एउटा उद्योगका रुपमा स्थापित हुँदा खुसी लाग्छ,’ सीईओ शर्मा भन्छन् । अहिले एफवान सफ्टकै वार्षिक आम्दानी करिब ५५ करोड रुपैयाँ हुन्छ । इसेवा, फोनपे लगायत अन्य कम्पनीको कारोबार आ-आफ्नै छ । अहिले एफवान सफ्टका प्रडक्टहरु सबैको घर-घरमा पुगेका छन् । बिजुलीको बिल तिर्ने ६० प्रतिशतले इसेवाबाट भुक्तानी गर्छन् । एफवान सफ्टले बैङ्कहरुलाई चाहिने सफ्टवेयर बनाउँछ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र इसेवा मनी ट्रान्सफर पनि यसकै प्रडक्ट हो । विदेशी कम्पनीसँगको प्रतिस्पर्धा प्रविधिको दायरा असीमित छ । तर, मान्छेहरूले यसको दायरा सीमित बनाइदिएका छन् । भनिन्छ नि, ‘प्रविधिले विश्वलाई एउटा एउटा गाउँ बनाएको छ ।’ तर, विडम्बना, स्रोत साधन र नीतिगत व्यवस्थाकै कारण सीमित घेराभित्र रहेर व्यवसाय गर्नु पर्ने बाध्यता नेपालमा छ । अहिले नेपाली कम्पनीहरूलाई विदेशमा लगानी गर्न सक्ने नीतिगत व्यवस्था छैन । तर, विदेशी कम्पनीहरू भने नेपालमा आएर सजिलै व्यवसाय गर्न पाउँछन् । ‘विदेशी इन्टरनेट कम्पनीहरु पनि नेपालमा आउन सक्छन्, हामीले उनीहरुसँग प्रतिस्पर्धा गर्न सक्नु पर्छ, उनीहरुभन्दा सस्तो, भरपर्दो र राम्रै सेवा दिन सक्नु पर्छ, त्यसका लागि हामी तयार भएर बस्नु पर्छ,’ शर्मा भन्छन्, ‘तर, नीतिगत रुपमा नेपालमा प्रतिस्पर्धा गर्ने वातावरण नै छैन ।’ हुन त नेपाली कम्पनीलाई विदेशमा गएर प्रडक्ट बेच्न चुनौती नै छ । ‘सुरुमा त नेपाल भन्ने ब्राण्ड नै राम्रो छैन, नेपाल सफ्टवेयर बेच्ने देश हो र ? भनेर सोध्छन् । किन्नै परेपछि नेपालको सफ्टवेयर किन किन्ने भन्ने प्रश्न गर्छन्, नेपालको सफ्टवेयर किन्ने बनाउन हामीले सस्तोमा बेच्न सक्नुपर्छ, धेरै विषयहरु कन्ट्री इमेजले पनि फरक पार्छ, हामीलाई अहिले नेपालमै बिक्री गर्न चुनौती छ, विदेशमा त झन् कति–कति,’ शर्माले भने । १८ वर्षअघि स्थापना भएको एफवान सफ्ट नेपालको पहिलो फिनटेक कम्पनीमात्र होइन, सबैभन्दा बढी प्रयोगकर्ता भएको र सबैभन्दा ठूलो कारोबार गर्ने कम्पनी हो, जहाँ ३०० इन्जिनियर्ससहित १००० भन्दा बढीले रोजगारी पाएका छन् । क्षमताका हिसाबले एफवान सफ्टमा धेरै अनुभवी र क्षमता भएका व्यक्तिहरु छन् । एफवान सफ्ट समूहका अध्यक्ष ढकाल रेस्ट अफ व¥ल्डले सार्वजनिक गर्ने विश्वका १०० शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा पनि परेका छन् । रेस्ट अफ व¥ल्डले ढकाल नेतृत्वको कम्पनीले निर्माण गरेका १२ वटा सोलुसनमध्ये ९० प्रतिशत बैङ्कहरुले कुनै न कुनै एउटा प्रयोग गर्ने उल्लेख गरेको छ । दक्ष जनशक्तिको अभाव शर्मा पछिल्लो समय नेपाली युवाहरुको विदेश पलायनको ट्रेण्ड देखेर चिन्तित बनेका छन् । स्वदेशमा राम्रो जागिर र त्यसको पनि स्थीरता नदेखेर विदेशिने युवाहरुको ट्रेण्ड देखेर उनी नेपालको भविश्य के होला ? भन्ने विषयमा प्रश्न गर्छन् । ‘नेपालमा बस्न चाहने धेरै कम छन्, राम्रो जागिर र करियर राम्रो बनाउनका लागि विदेशिने क्रम बढ्दो छ, हाम्रोमा पनि दुई/तीन वर्ष काम गरेर विदेश जान्छौं भन्छन्, हामी केही स्थीरताको वातावरण सिर्जना गरिरहेका छौं, नेपालमा कसैलाई बस्ने रहर नै छैन, यो एकदमै ठूलो समस्या हो, हामी गर्न नसक्नेको देश बन्दैछौं, उनी भन्छन्, ‘नेपालमा कम्पनी चलाउने जो कोहीलाई पनि सम्मान गर्नुपर्छ ।’ एफवान सफ्टले ल्याएका सेवाहरु सबै नेपालीले प्रयोग गर्दछन् कुनै न कुनै रुपमा । फोन, पानी, बिजुलीको पैसा तिर्न, रकम ट्रान्सफर गर्न, किनमेलपछि डिजिटल भुक्तानी गर्न वा मोवाइल तथा इन्टरनेट बैकिङ्ग सुविधा लिन । नेपालमा बिजनेस गर्नेहरु माफिया नै हुन् भन्ने भ्रम राजनीति र बुझाइमा छ । जुन गलत छ । ‘राम्रो काम गरिरहेको मान्छे नेपाल छोडेर विदेश जान्छु करिअर बनाउँछु भन्दा नजा भन्न सकिँदैन, उसले गएर स्थीर अर्थतन्त्रमा यहाँको भन्दा राम्रो काम गर्न सक्छ भने नजा कसरी भन्ने ? कि उनीहरुलाई विदेशको सुविधा यतै दिन्छु भन्न सक्नु प¥यो, तर, सकिँदैन’ उनले थपे, ‘यहाँको वातावरणले दिँदैन, हामी निकै कमजोर छौं ।’ हाल एफवान सफ्ट समूहमा १ हजार बढीले रोजगारी पाएको उनी बताउँछन् । त्यसमा करिब ३ सय इञ्जिनियर छन् । ईसेवा भारतको पेटिएमभन्दा दुई वर्ष अगाडि आएपनि भारतमा पेटिएमले जसरी ठूलो बजार लिन नसकेको उनी बताउँछन् । नेपालमा जति नै राम्रो प्रडक्ट बनाए पनि ठूलो मार्केट लिने सम्भावना न्यून रहेको उनी बताउँछन् । इसेवामा ७० लाख ग्राहक आवद्ध रहेको बताउँदै उनी अब नेपालमा बजार विस्तार गर्न समस्या भइरहेको बताउँछन् । एफवान सफ्टले केही नयाँ प्रडक्टहरु ल्याउने तयारी गरिरहेको छ । कम्पनी अझै डिजिटल फाइनान्सियलसँग सम्बन्धित केही सर्भिसहरु ल्याउने योजनामा छ । स्रोत साधनको सीमितताको बाबजुत पनि काम भइरहेको उनी बताउँछन् । ‘हुन त गर्न मिल्ने ठाउँ धेरै छ, हामीले जुन फिल्डमा काम गर्ने सोच बनायौं, त्यो क्षेत्रलाई भाइब्रेन्ट बनायौं, अहिले यो क्षेत्र एक उद्योगकै रुपमा चिनिन थालेको छ, कुल ३७ वटा कम्पनी थपिए । अर्बौं लगानी भएको छ, हजारौंले रोजगारी पाएका छन्, हामीले गर्न सकिन्छ भन्ने बाटो देखायो, यसको विस्तार हुन आवश्यक छ,’ उनले भने । ५ लाख लगानीबाट सुरु भएको एफवान सफ्टले गरेको कामप्रति सञ्चालकहरु सन्तुष्ट छन् । कम्पनी अहिले ५० करोडको हाराहारीमा पुगेको छ । कम्पनीले गर्नुपर्ने धेरै विषय बाँकी रहेको उनको भनाइ छ । इसेवा र फोनपेले पब्लिकमा जाने तयारी पनि गरेका छन् । कोभिड–१९ ले गर्दा केही ढिलाई भए पनि अबको एक वर्षभित्र पब्लिकमा जाने उनले बताए । ‘नेपालमा प्रविधिमा भविश्य छ, जागिरभन्दा पनि सकेसम्म उद्यमी बन्न सक्नुपर्छ, चुनौती मोल्न र दुःख गर्न तयार भयो भने नेपालमा पनि अवसरहरु छन्, नेपालमै समस्या समाधान गर्छु भन्यो भने पनि सम्भावना छन्,’ उनले भने । अहिले एफवान सफ्ट विज्ञ तथा अनुभवीहरुलाई कम्पनीहरुमा भित्र्याएर एग्रेसिभ बिजनेसभन्दा पनि यसको स्थिरतामा ध्यान दिइरहेको उनले बताए । युवाहरुले सुरु गरेर बजारको लिडिङ पोजिसनमा स्थापित यस कम्पनीमा शशिन जोशी, परशुराम कुँवर क्षेत्री जस्ता भेट्रान पूर्व बैङ्कर्सलाई सञ्चालकको भूमिका दिइएको छ । यसको उद्देश्य कम्पनीलाई अझ विश्वासिलो र दीगो बनाउनु रहेको उनी बताउँछन् । (देशविकास पत्रिकाको वर्षअङ्कबाट) सम्बन्धित सामग्री : बुबाको जग गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल