रूकुमका राजा, शहरका सर

काठमाडौं । तत्कालीन माओवादी पार्टी र त्यसको नेतृत्वमा उठेको १० वर्षे जनयुद्द । त्यो जनयुद्दको उदगम स्थल हो रूकुम । यो हिसाबले पनि रूकुमको बेग्लै परिचय, परिभाषा र पहिचान छ । कुनै समय रूकुम एउटा राज्य थियो । पछि टुक्रियो । रूकुम, मुसिकोट, बाँफीकोट, आठबिस, जहारी, गोताम र खगेना जस्ता स–साना राज्यमा परिणत भयो रूकुम । बहादुर शाहको नायवी र रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरूः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविस कोट, बाँफीकोट, कोटजहारी नेपालमा गाभिए । वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरियो । पछि रुकुम सिंगो जिल्ला बन्यो । अहिले पुनः पश्चिम रूकुम र पूर्वी रूकुम गरेर दुई जिल्लामा परिणत भएको छ । देश परिवर्तनको एउटा सम्वाहक बन्ने अवसर रूकुमले पाएको छ । १० वर्षे जनयुद्धले नै पछिल्लो शाही शासनको अन्त्य गर्यो । अहिले देशमा गणतन्त्र छ । सबै समान हौं भन्ने भावना संविधानले समेटेको छ । तर, अतितलाई कसले पो भुल्न सकिन्छ र । १० वर्षे जनयुद्दमा ध्वस्त पारिएका तत्कालीन रूकुम राज्यका राजाका दरबारका अवशेषहरु अहिले पनि ठाडै छन् । संरचनाहरु स्वस्थ छैनन् । तर, मान्छेको मानसपटलमा भने ती संरचनाहरु ताजै छन् । तत्कालीन रूकुम बाँफीकोट राज्यका राजाका सन्तान हुन् अभिषेक बिक्रम शाह । उनको मानसपटलमा पनि केही सीमित घटनाक्रमहरुले राज गरेर बसेका छन् । त्यो आत्मिता, हार्दिकता । एक अर्काप्रतिको चिन्तन । सहयोगी भावना र मान–सम्मान । वाउ ! तर, अहिले एकअर्काप्रतिको हार्दिकता, सहयोगी भावना र मित्रता घटिसकेको बताउँछन् अभिषेक । अभिषेक विक्रम शाह रूकुमको बाफीकोटमै जन्मिए । सानो छँदा रूकुमको विरेन्द्र माध्यामिक विद्यालयमा पढे । बुबा निजामति सेवामा कार्यरत । बुबा जता सरुवा भयो, उतै पढ्न जानु पर्ने बाध्यता अभिषेकमा थियो । उनी सानै हुँदा सुदूरपश्चिमको बैतडीमा पनि पुगे । विद्यालय स्तरको पढाइ उनले बैतडी पुगेर गरे । पछि काठमाडौं आए । काठमाडौंमै पढाइलाई अगाडि बढाए । पढ्नमा औसत विद्यार्थी थिए अभिषेक । त्यतिबेला पढेपछि डाक्टर, पाइलट र सरकारी जागिरे बन्ने ‘ह्विम’ थियो । तर, उनले सजिलो बाटो समाते । पर्यटन क्षेत्रमै काम गर्ने सोच बनाए । उनले स्वविवेकले त्यही क्षेत्रसँग सम्बन्धित अध्ययन गरे । काम पनि सुरु गरे । अन्नपूर्णको क्यासिनोबाट काम सुरु कक्षा १२ को पढाइ सकेपछि अभिषेकलाई पढ्न विदेश जाने रहर थियो । तर, उनी गएनन् । काठमाडौंमै पढे । त्यतिबेला नेपालको पर्यटनमा एक किसिमको आकर्षण थियो । ‘राम्रो आथित्यता तथा सत्कार, काम पनि सजिलो, मलाई अब यो क्षेत्रमै काम गर्नु पर्छ जस्तो लाग्यो, अन्नपूर्ण होटलको क्यासिनोमा काम गर्न सुरू गरेँ, उनले सुरुवाती दिनहरु स्मरण गर्दै भने,’ ‘त्यतिखेर घर परिवार र साथीहरुले गाली पनि गरे ।’ रूकुमेली राजाको सन्तान । बुबा निजामति कर्मचारी (सुधिरकुमार शाह) सहसचिव थिए । पछि निर्वाचन आयुक्त भएर रिटायर्ड भए । अंकल (सुरेश विक्रम शाह) डिआईजी । बुबा र काकाको सम्बन्धले पनि उनी जुनसुकै ठाउँ र क्षेत्रमा सजिलै काम पाउन सक्थे । तर, उनलाई आफ्नै मेहेनत र पौरखले काम गर्नु पर्छ भन्ने लाग्यो । अन्नपूर्ण होटलमा काम सुरू गर्दा धेरैले राजाको सन्तान किन होटलको भाँडा माझ्ने काममा लागेको भनेर गाली पनि गरेको उनी स्मरण गर्छन् । ‘म मेरो योजनामा अडिक थिएँ, काम सानो ठूलो हुन्न भन्ने कुरामा कन्भिन्स थिएँ, ठूलो लक्ष्य हासिल गर्न सानोबाट काम सुरु गर्नु पर्छ भन्नेमा विश्वास गर्थें,’ उनले भने । अन्नपूर्ण होटलको क्यासिनोमा काम गर्दै गर्दा उनी बिरामी भए । पछि काम नै छोडे । केही समयपछि सोल्टी होटलमा ट्रेनिङका लागि आवेदन खुल्यो । ट्रेनिङपछि काम पनि मिल्थ्यो । ट्रेनिङ पुरा गरे । र सोल्टी होटलमा फ्रण्ट अफिसरबाट काम सुरु गरे । त्यहाँ आफुले ५ वर्ष काम गरेको उनी सुनाउँछन् । सन् २००५ देखि २०१० सम्म उनले सोल्टी होटलमै काम गरे । त्यसपछि उनी सोल्टी छोडेर हायात पुगे । सोल्टी होटल छोडेर हायात जाँदा पनि उनले आफन्त र साथीहरुको गाली खानु पर्यो । तर, उनले केही वास्ता गरेनन् । त्यहाँ पनि साढे ४ वर्ष काम गरे । पुनः हायात छोडेर समिट होटलमा साढे २ वर्ष काम गरे । समिट होटलमा काम छोडेर उनी चन्द्रागिरि हिल्स पुगे । चन्द्रागिरि केबलकारको उनी महाप्रबन्धक बने । त्यतिखेर पनि उनका साथीभाइ र घरपरिवारले उनको आलोचना गरे । ‘चन्द्रागिरि किन गएको ? केबलकार बन्छ कि बन्दैन, कहाँ जंगलमा गएको ? भनेर धेरै मानिसहरु मसँग रिसाए, तर म काम गर्दै गएँ, चन्द्रागिरिलाई सफल प्रोजेक्टका रूपमा अगाडि बढाएँ,’ उनले खुसी हुँदै भने । चन्द्रागिरि हिल्समा गएको भनेर रिसाएकाहरुसँग भने अभिषेकको गज्जबको अनुभव छ । सुरूमा रिसाउनेहरु चन्द्रागिरि बनेपछि जागिर, टिकट लगायतका लागि सहयोग माग्ने गरेको उनी सुनाउँछन् । ‘सुन्न रमाइलो लाग्छ, अगाडि गाली गर्नेहरुको दृष्टिकोण पछि बदलिँदा खुसी मिल्दो रहेछ,’ उनले भने । मान्छेले सफलता र ग्रोथ हासिल गर्न जोखिम पनि लिन सक्नु पर्ने उनी बताउँछन् । ‘हिजो गालि गर्ने, आलोचना गर्ने मान्छेलाई नै आज सिकाउनु परेको छ, मान्छेले कम्फर्ट जाेन छोड्नु पर्छ, तब मात्रै करिअर बन्छ, रिक्स लिन सक्नु पर्छ,’ उनले भने, ‘मैले त्यही रिक्स लिएँ र अहिले यता छु ।’ जुँगा र महाप्रबन्धकको किस्सा टाउकोमा ढाँकाको टोपी । रातो फ्रेमको चस्मा । गालामा दाह्रीजुँगा अनि चिटिक्क ‘गेटअप’ । हामीले अभिषेक विक्रम शाहलाई प्रश्न गरौं, ‘तपाईंको दाह्रीदेखि चस्माको फ्रेमसम्म बैंकर अनिल केशरी शाहसँग मिल्दोजुल्दो छ, तपाईं उहाँको अनुयायी हो, यो संयोग मात्रै ?’ उनले यसलाई अस्वीकार गरे । उनले यो आफुलाई सुहाउने र आफ्नो व्यक्तिगत शोख पनि भएको बताए । यो सँगै उनले अर्को गज्जबको किस्सा सुनाए । उनी चन्द्रागिरि हिल्सको महाप्रबन्धक थिए । केबलकार निर्माण गर्दा स्थानीयहरुले केही अवरोध गरे । एकदिन स्थानीयहरुले उनलाई भेट्न खोजिरहेका थिए । महाप्रबन्धक (जीएम) उनै शाह थिए । तर, स्थानीयले उनैलाई जीएमलाई बोलाउन भनिरहेका थिए । उनले आफु नै जीएम भएको बताए पनि उनीहरुले पत्याएनन् । पछि भित्र गएर ‘गेटअप’ चेञ्ज गरेपछि र केही कन्भिन्स गरेपछि उनीहरुले कुरा गर्न चाहे । कारण थियो कलिलो उमेर । उनी ३२ वर्षको उमेरमा चन्द्रागिरि हिल्सको जीएम बनेका थिए । त्यो घटनापछि उनलाई दाह्री जुँदा पाल्नु पर्दो रहेछ भन्ने महसुस भयो । ‘जीएम अर्थात् सीईओ या कुनै संस्थाको नेतृत्व गर्न दाह्री कपाल फुल्नै पर्छ भन्ने मानसिकता हामीमा छ, त्यसलाई काउन्टर दिन पनि मैले यो गरेको हुँ, दाह्री–जुँगा सुहाउने भएकोले पनि मैले नकाटेको हो, यसको छुट्टै चार्म छ, पहिचान पनि हुने भयो,’ उनले ठट्यौली शैलीमा भने । उनी अहिले ४० वर्षका भए । उनी अहिले होटल ले हिमालयनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा काम गरिरहेका छन् । उनलाई यो क्षेत्रमा काम गर्न थालेको दुई दशक बढी समय भइसकेको छ । उनी मुस्कुराउँदै भन्छन्, ‘अब ४० कटेसी रमाउँला भन्दा पनि ४० कटेसी झन नयाँ किसिमले दौडिनु पर्नेछ ।’ उनले सर्टिफाइड बिजनेस हस्पिटालिटी एडमिनेस्ट्रेसन (सीएचबिए) पनि पास गरेका छन् । यो टाइटल नेपालमा आफुले मात्रै लिएको उनी दाबी गर्छन् । उनी अब नयाँ जोस, जाँगर र शैलीका साथ काम गर्ने संकल्पमा छन् । नेपाली ब्राण्ड स्थापित गर्ने सीईओ शाह अब नेपाली होटलहरुमा नेपाली ब्राण्ड नै स्थापित गर्नु पर्ने बताउँछन् । विदेशी चेन ब्राण्डलाई प्रोत्साहन गर्नेभन्दा पनि पर्यटकहरुले नेपाली स्ट्याण्डर्ड नै मन पराउने हुनाले अब नेपाली हस्पिटालिटी क्षेत्रमा नेपाली ब्राण्डको अभ्यास सुरू गर्नु पर्ने उनको भनाइ छ । त्यसका लागि आफुहरुले अभ्यास सुरू गरिसकेको उनी बताउँछन् । ‘अब हामीले नेपाली ब्राण्डलाई स्थापित गर्नु पर्नेछ, विदेशी चेन ब्राण्ड आएर करेन्सी लिएर जान्छन्, हाम्रो आफ्नै आतिथ्यता छ, विदेशी आएर हामीसँग सिकेर जान्छन्, हामी विदेशी अभ्यास सुरु गर्छौं, हामी अहिले आफ्नै हस्पिटालिटी ब्राण्ड बनाउने प्रयासमा छौं, होटलमा नेपाली जीएम, नेपाली खाना, नेपाली स्ट्याण्डर्ड बनाउन सकिन्छ, नेपालमा आउने पर्यटकले यहाँकै आथित्यता चाहिन्छ, आफ्नोपनलाई प्रमोट गर्न आवश्यक छ, सोही ढंगले हामी काम गरिरहेका छौं,’ उनले भने । यस्तै, उनले पर्यटकीय गन्तव्रयहरुको प्रचारप्रसार गरेर काम गर्नु पर्ने आवश्यकता रहेको पनि बताए । उनी अब आफु यही क्षेत्र पृथक र सिर्जनशील भएर काम गर्ने बताउँछन् । रूकुमलाई फर्केर हेर्दा अभिषेक बिक्रम शाह कहिले काहीँ रूकुम जान्छन् । आफ्नो पुर्खाहरु बसेको बाफीकोट दरबार नियाल्छन् । कहिलेकाहीँ उनलाई लाग्छ, ‘यो दरबार पुनर्निर्माण गर्न कति खर्च खर्च लाग्ला ?’ ‘अझ उनी आफ्नै मन बुझाउँछन्, पुरानो दरबार जस्तो बनाउन सकिँदैन, सामान पनि पाइँदैन ।’ शाहले स्केचमा तयार पारेको बाँफीकोट दरबार । उनलाई अझै पनि रूकुमा पाइने सम्मान ताजै छ । जसरी उनका पुर्खाले पाउँथे । ‘शहरिया सर र रूकुमको राजा भाषा उस्ता उस्तै हुन्, यी दुवै सम्मानित भाषा हुन्, यसलाई म सम्मानको रूपमा लिन्छु, पहिला ठकुरी भाषालाई सामन्ती भन्थे, खाना मिठो थकालीको, भाषा मिठो ठकुरीको भनिन्छ नी, उनले स्पष्ट पार्न खोज्दै भने, ‘अहिले सबैलाई यही भाषा चाहिएको छ ।’ उनी रूकुमलाई पर्यटकीय हिसाबमा चिनाउन चाहन्छन् । भत्केका दरबारहरुलाई संग्राहलय बनाउन चाहन्छन् । तर, यसमा सरकारको साथ आवश्यक छ । ‘ऐतिहासिक धरोहरको भ्यालू छ, त्यो क्षति देशको लागि पनि नोक्सान हो, यसलाई पुर्ननिर्माण गर्नतर्फ सरकार अग्रसर हुनु पर्ने उनको भनाइ छ । रूकुम प्राकृतिक दृष्टिकोण र पर्यटकीय सम्भावनाले पनि भरिभराउ भएकोले त्यसको प्रचारप्रसार तथा प्रमोटका लागि आफु लागि पर्ने बताउँछन् । अहिले पनि रूकुममा ओझेलमा परेका धेरै ठाउँ भएकोले त्यसको प्रचार प्रसार गर्न आवश्यक छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल मेनेज्मेन्टबाट स्नातक तह पुरा गरेका शाह बढी घुमघामा रुचाउँछन् । उनको शोख भनेको ‘एयर गन सुटिङ’ हो । फुर्सदमा उनी सुटिङको अभ्यास गर्छन् । विभिन्न समयमा उनी पर्यटन क्षेत्रमा पुर्याएको योगदान स्वरुप सम्मानित हुँदै आएका छन् । गत फागुनमा पनि उनलाई सगरमाथा प्रतिष्ठान नेपालले सम्मान गरेको थियो । अघिल्लो वर्ष पनि बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा मत्वपूर्ण योगदान पुर्याएको भन्दै शाहलाई सम्मान गरेको थियो ।

महासंघको अध्यक्ष बने चन्द्रप्रसाद ढकाल, सफल उद्यमीसँगै निजी क्षेत्रको नेता पनि

काठमाडौं । चैत २८, २९ र ३० गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघले ५७ औ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको छ । साधारणसभा सम्पन्न सँगै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वातः अध्यक्ष भएका छन् । महासंघको नव-निर्वाचित अध्यक्षको रुपमा ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक-निजी साझेदारीको प्रवद्र्धन गर्ने तथा स्वदेशी-विदेशी लगानी पर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेका छन् । वरिष्ठ उपाध्यक्षको कार्यकालमा हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो पूर्वाधारमा लगानी गर्ने अध्यक्ष ढकालको लक्ष्य पूरा हुनै लागेको छ । महासंघ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवद्र्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य लिएको अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले उद्यम व्यवसाय तथा लगानीगर्दा तीनवटा सिद्धान्तलाई सधै प्राथमिकतामा राख्ने गरेका छन् । पहिलो, आम जनतालाइ सिधै फाइदा वा सेवा पुर्‍याउने, दोस्रो सरकारको प्राथमिकताको क्षेत्र र तेस्रो, व्यावसायिक सम्भावनाको क्षेत्र । को हुन ढकाल ? चन्द्रप्रसाद ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुन् । दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मेका ढकालले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका हुन् । त्यसपछि विसं २०४८ मा कार्गो कम्पनी हँुदै २०५७ मा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेर अध्यक्ष ढकालले व्यावसायिक फड्को मारेका हुन् । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमइ ग्रुपले २० हजार जना भन्दा बढी प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ । ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन् । ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजीटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपको प्रमुख हिस्सेदारी छ । पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय छन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसाय मार्फत् देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय योगदान छ । विदेशमा कमाएको रकम वैधानिक माध्यमबाट देश पठाउँदा लाखाँैं श्रमिकहरु अनावश्यक झन्झट र ठगी हुनबाट जोगिएका छन् । औपचारिक माध्यम मार्फत् ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाल, नेपाल सरकारले पटक पटक ‘महत्वपूणर् व्यावसायिक व्यक्ति सम्मान-सिआइपी’ बाट सम्मानित भएका छन् । यस्तै रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ । सेवा तथा उत्पादनमूलक उद्योगहरुमा थप लगानी प्रवद्र्धन र सर्वसाधारण समेतलाई नाफाको हिस्सेदार बनाउने उद्देश्य राख्दै आइएमई ग्रुपका कम्पनीहरु पब्लिक लिमिटेडमा लैजाने प्रतिबद्धतालाई ढकालले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन् । यसरी आइएमई ग्रुप, स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाहमा उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकास तथा आफ्ना ग्राहकहरूको आर्थिक-सामाजिक रुपान्तरणमा समर्पित देखिन्छ । २०७२ को भूकम्प र कोभिड-१९ को महामारी तथा अन्य विपद्का समयमा समेत उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गर्न समेत अध्यक्ष ढकालले अग्रसरता लिँदै आएका छन् । कोभिड-१९ मा आइएमई ग्रुपले भरोसा कोष स्थापना गर्दै करोडौं रुपैयाँ बराबरको सहयोग गरेको थियो । ग्रुपले वैदेशिक रोजगारीमा रहँदा कोभिड १९ बाट मृत्यु भएका श्रमिकका परिवारलाई नगद सहयोग समेत गरेको थियो । नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको रुपमा रहेका ढकाललाई २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले समेत सम्मान गरेको थियो । अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिण बाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट सम्मानित व्यक्तित्व हुन् ।

व्यवसायमा ट्रयाक खोल्दै, छोरानातिलाई सँगसँगै डोर्याउँदै

काठमाडौं । एउटा ठूलो कोठा । कोठाको तीनतर्फ तीन वटा सोफा सेट । भित्तामा ठूलो टीभीको जस्तै स्क्रिन । तर, त्यो टीभी होइन, सीसीटीभीको निगरानी गर्ने डिस्प्ले हो त्यो । त्यही डिस्प्ले निगरानीमै व्यस्त देखिन्छन् प्रदिपजंग पाण्डे । नेपाली उद्योग व्यवसायमा परिचित नाम हो प्रदिपजंग । काठमाडौंको लाजिम्पाट नजिकै रहेको उत्तरढोकामा छ लोमस फर्मास्यूटिकल्सको केन्द्रिय कार्यालय । त्यही कार्यालयमा बसेर उनले व्यवसायिक योजना बनाउँछन् । केन्द्रिय कार्यालयबाटै पेप्सिकोलामा रहेको लोमस फर्मास्यूटिकल्स उद्योगको निगरानी गर्छन् । जाँगर चलेको बेला उद्योगमै पुग्छन् । कर्मचारीहरुलाई सल्लाह सुझाव दिन्छन् । काम गर्न उप्रेरणा जगाउँछन् र हौसला दिन्छन् । आजकल यसरी नै बित्छ उनको दैनिकी । उमेर ७५ वर्ष । युवाहरुको जस्तो जोस जाँगर । देशविदेशमा हुने घटनाक्रम र अर्थतन्त्रको जल्दोबल्दो अवस्थाको अपडेट । यतिसम्मको उर्जा पाण्डेमा कसरी आउँछ होला ? उनको सक्रियताभित्रको उर्जाको राज हामीले खोतल्ने प्रयास गर्यौं । उनले मुसुक्क मुस्कुराउँदै जवाफ दिए, ‘जहिल्यै पनि सकारात्मक भावना राख्नु पर्छ, यदि नकारात्मक सोच्यो भने आफैलाई खान्छ, राम्रोसँग निद्रा लाग्दैन, रोग वृद्धि हुन्छ, शरीर पुरै गल्छ, खुसी हुन सकिँदैन, काममा सन्तुष्ट हुन सक्नु पर्छ, उर्जा आफै आउँछ ।’ तपाईं आफ्नो उद्योग व्यवसायमा सन्तुष्ट हुनुहुन्छ ? हामीले पुनः जिज्ञासा राख्यौं, ‘एकदम सन्तुष्ट छु, एउटा खुड्किलो टेकिसकेपछि मात्रै अर्काे खुड्किलो टेक्नुपर्छ भन्ने मेरो मान्यता हो, एकैपटक चार खुड्किलामाथि टेक्यो भने लडिन्छ, एउटा खुड्किलोमा टेकेपछि सफल भएर मात्रै अर्काे खुड्किलोमा टेक्नु पर्छ, लोमसको सफलतापछि मात्रै मैले अन्य क्षेत्रमा हात हालेँ, मैले कहिल्यै पनि एकै पटक ४ वटा क्षेत्रमा लगानी गरिनँ, जुन क्षेत्रमा लगानी गरेँ, त्यो क्षेत्रबाट म पूर्ण सन्तुष्ट र सफल भएको आभास गर्छु,’ उनले भने । उनी भएका व्यवसायलाई सफल बनाउन तर्फ लाग्न सल्लाह दिन्छन् । एउटा व्यवसायसँगै अर्कोमा जम्प गर्दा त्यसले सफलता र सन्तुष्टि नमिल्ने उनको भनाइ छ । ‘मैले हेलिकप्टरमा लगानी गरेँ, तर अब एयरलाइन्समा लगानी गर्नुपर्छ भनेर कहिल्यै सोचिनँ, जे छ त्यसैमै सन्तुष्ट भएँ, हुन त हजार इच्छाहरु हुन्छन् तर, सबै इच्छाहरु पुरा हुँदैनन्, सारा मान्छेले होटल खोले भने मैले पनि होटल खोल्नुपर्छ भनेर कहिल्यै सोचिनँ,’ तर अरुले सम्भावना नदेखेको र योजना नबनाएका क्षेत्रमा लगानी गर्ने योजना बनाएँ,’ उनले आफ्नो व्यवसायिक रणनीति सुनाए । आफुले जति पनि संरचनाहरु विस्तार गरेँ ती नम्बर वान भएको उनको दाबी छ । अब त्यसलाई खस्किन नदिन, दीगो बनाउन र उत्कृष्ट बनाउन यो उमेरमा पनि सक्रिय भएर लागि परेको उनी बताउँछन् । ‘जबसम्म मेरो स्वास्थ्य र विवेकले काम गर्छ, तबसम्म सक्रिय भएर काम गर्छु,’ उनले भने, ‘मान्छे जति सक्रिय हुन्छ, त्यति नै स्वस्थ हुन्छ, सक्रिय भएपछि व्यस्त भइन्छ, व्यस्त भएपछि उर्जा बढ्दै जान्छ, ।’ व्यवसायमा ट्रयाक खोल्दै अहिले जुनसुकै क्षेत्रमा पनि देखासिकी हावी छ । एउटा व्यवसायीले होटल खोल्यो भने अर्को व्यवसायीलाई पनि होटल खेल्ने इच्छा जाग्छ । एउटा व्यक्तिले एयरलाइन्समा लगानी थप्यो भने अर्कोलाई पनि सोही क्षेत्रमा काम गर्न मन लाग्छ । तर, उद्योगी पाण्डेलाई भने त्यस्तो कहिल्यै लागेन । नेपाली औषधि उद्योगममा उनको पृथक किसिमको छाप छ । जतिखेर नेपालमा विदेशी औषधिको दबदबा थियो । बिरामीहरुले विदेशी औषधि खाएर जीवन बचाउनु पर्ने विवशता थियो । तर, त्यो बाध्यताको बाटो पाण्डेले सदाका लागि अन्त्य गरे । त्यो अवस्थामा नेपालमै औषधि उद्योग खोल्न सकिन्छ भन्ने न कुनै उद्योगी व्यवसायी नत कुनै प्रशासकहरुले सोचेका थिए । तर, त्यो विवशतामाथि बुद्धी लगाएर पाण्डेले औषधि उद्योग खोल्ने योजना बुने र वि.सं २०४४ सालमा स्थापना गरे लोमस फर्मास्यूटिकल्स । ‘मैले नेपालमा औषधि उद्योग खोल्दा देशमा औषधि उद्योग नै थिएनन्, उद्योग खोल्नु अगाडि २/३ वटा उद्योग थिए तर खासै चलेका थिएनन्, औषधि के हो जनतालाई पनि थिएन, धेरैजसोले जडिबुटी प्रयोग गर्थे, डाक्टर र सचिवहरुले पनि नेपालमा औषधि बन्छ र भनेर प्रश्न गर्थे, त्यो बेला जोखिम नै लिएर २५ लाख पुँजीमा गोंगबुमा उद्योग खोलेँ, तर जोखिमको प्रतिफल राम्रै पाइँदो रहेछ,’ सुरुवाती दिनहरु स्मरण गर्दै पाण्डेले भने । दिनहरु बित्दै गए । लोमसको औषधिले बजारमा चर्चा पाउँदै गयो । आइएमएस हेल्थले गरेको सर्वेक्षणमा सन् २००१, २००२ र २००३ मा भारत र नेपालबाट बिक्री हुने औषधिहरुमध्ये सबैभन्दा उत्कृष्ट बन्यो लोमस । संरचनाहरु विकास र नियम कानुनहरु परिमार्जन हुँदै गए । गोगंबुमा उद्योग विस्तारका लागि ठाउँ नपुगेपछि पेप्सीकोलामा पाण्डेले २५ रोपनी जग्गा खरिद गरे । त्यतिबेला प्रतिरोपनी ७ लाख रुपैयाँमा जग्गा खरिद गरेको उनले बताए । अहिले सोही क्षेत्रमा आनाको ५० लाख रुपैयाँ मूल्य पुगेको छ । ‘पहिला एउटै भवनमा ३४ वटा औषधि उत्पादन गरिन्थ्यो तर, दिनप्रतिदिन माग बढ्न थालेपछि विस्तार गर्दै लगियो, अहिले ४ सयभन्दा बढी औषधि उत्पादन भइरहेका छन्, हर्वल, स्टोरेन्ट, पेनिक्लिनिक लगायत सबै प्रकारका औषधि छट्टाछुट्टै भवनमा बन्छन्, उनले भने । पाण्डेले सबै काम एउटै उद्योगबाट सञ्चालन गर्दा गाह्रो हुन्छ भनेर जनकपुरमा समेत आफ्नो उद्योग विस्तार गरेका छन् । उनको सबैभन्दा पछिल्लो लगानी यही हो । जनकपुरमा साढे ४ बिघा जमिनमा विभिन्न प्रकारका औषधि उत्पादन भइरहेको छ । ‘मेरो फराकिलो सोच छ, ५०/६० वर्षको भिजन लिएर काम गरिरहेको हुन्छ, काठमाडौंमा ठाउँ पुगेन भने फ्याक्ट्री सञ्चालन गर्न दिँदैनन्, काठमाडौंमा उद्योग बन्द गर्न लगाइयो भने पनि हामी तुरुन्तै जनकपुर जान सक्छौं,’ उनले आफ्नो आगामी कदम पनि सुनाए । लोमस औषधि उद्योग स्थापनाको किस्सा भने रोचक छ । मान्छेलाई हानी हुने भन्दा पनि त्यसले सबैलाई टेवा पुग्ने क्षेत्र आफुले रोज्ने गरेको उनी बताउँछन् । ‘म चुरोट, रक्सी, मासु बेच्दिन, त्यसमा लगानी पनि गर्दिनँ, चुरोट र रक्सीले स्वास्थ्यलाई हानी गर्छ भने मासु खानु भनेको अर्काको ज्यान लिनु हो, स्वास्थमा खराब हुने काम नगर्ने मेरो संकल्प छ, जनतालाई नोक्सान गर्ने पेशा कहिल्यै गर्दिनँ, त्यसैले पनि औषधि क्षेत्रमा हात हालेको हुँ,’ उनले भने । औषधि उद्योगपछि उनले सिमेन्ट उद्योग खोले । उनले दुई दशक अगाडि कसमस सिमेन्ट उद्योग सञ्चालनमा ल्याए । सिमेन्ट उद्योग स्थापना गर्दा पनि देशमा खासै सिमेन्ट उद्योग थिएनन् । पछि उनले सिमेन्ट उद्योग खोले । विस्तारै नेपालमा सिमेन्ट उद्योग स्थापनाको लहर सुरु भयो । औषधि व्यवसायबाट व्यवसायिक जीवन सुरु गरेका पाण्डेको सिमेन्ट, बैंक, जीवन तथा निर्जीवन बीमा, सूचना प्रविधि र पर्यटन लगायत क्षेत्रमा लगानी छ । उनी सबै क्षेत्रमा आफु सफल भएको दाबी गर्छन् । ती क्षेत्रमा नयाँ ‘ट्रेण्डसेट’ गर्न पनि आफु सफल भएको उनी सुनाउँछन् । उद्योगी व्यवसायी भन्दा जति सजिलो छ त्यो भन्दा कयौं गुण दुःख पीडा भोग्नु पर्ने उनी बताउँछन् । २०६२/६३ को जनआन्दोलन उनको मानसपटलमा ताजै छ । त्यो सकस उनी अहिले सम्झिन पनि चाहन्नन् । ‘औषधि उद्योग गोंगबुमा थियो, आन्दोलनका बेला सडकमा हिड्डुल गर्न पनि सकस हुन्थ्यो, म बिहानै ७ बजे फ्याक्ट्रीमा पुगेर कर्मचारीलाई खाना खुवाएर काम गराउँथे, बेलुका सुरक्षित घर पुर्याउँथे, त्यतिबेला धेरै जोखिम मोलियो, चन्दा माग्न लाइन लाग्थ्यो, चन्दा नदिए तेरो घर जलाउछु भन्थे,’ डरत्रासका बिच व्यवसाय गर्नु पथ्र्यो,’ उनले विगत स्मरण गर्दै भने । तर, आफुले कहिल्यै चन्दा नदिएको उनी सुनाउँछन् । उहिलेको भन्दा अहिले सकस ७५ वर्षको अवधिमा पाण्डेले धेरै जोखिमहरु मोले । धेरै चुनौतीहरुको सामना गरे । चन्दा माग्नका लागि टेबल अगाडि पेस्तोल ताक्नेहरुसँग उनी डराएनन् । अनुशासित भएर आफ्नो उद्योग व्यवसायमा रमाए । परिणाम स्वरुप उनी निजी क्षेत्रको ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत बने । तर, महासंघको अध्यक्ष बन्दै गर्दा अध्यक्ष पदबाट बाहिरिनुको अनुभव भने नमिठो छ । त्यसलाई उनी राजनीतिक विषय ठान्छन् । ‘मलाई राजनीति गरेर महासंघबाट बाहिर गरे, त्यसैले पनि मलाई राजनीतिदेखि घृणा लाग्छ, उनीहरुले मलाई दुख दिए, उजुरी पनि हाले, सर्वाेच्च अदालतले मलाई सफाइ दियो, ममाथि कुनै दाग लागेको छैन,’ उनले महासंघभित्र बस्दाका विवादहरु स्मरण गर्दै भने । ती विभिन्न सकस र समस्याहरुभन्दा अहिले बढी चुनौति भएको उनी बताउँछन् । उनी अहिलेको अर्थतन्त्रमा देखिएको समस्या आफ्नो जीवनकालको सबैभन्दा ठूलो सकस भएको सुनाउँछन् । व्यवसायी र ब्यक्तिगत जीवनमा सबैभन्दा धेरै दुखको क्षण अहिले भएको उनी बताउँछन् । ‘अहिले अवस्था गम्भीर छ, आर्थिक क्षेत्रमा ठूलो संकट आउने देखिन्छ, त्यसैले पनि दिनरात आफैले खटिएर संघर्ष गर्नुपरेको छ,’ उनले भावुक हुँदै भने । अहिले बाँच्नका लागि संयमित, चनाखो, बुद्धिमता र लागत कम गरेर काम गर्नु पर्ने उनको भनाइ छ । ‘अर्थतन्त्रमा देखिएको समस्याले धेरै उद्योगहरु धराशायी भइसके, आर्थिक क्षेत्र डामाडोल छ, धेरै सहकारी संस्थाहरु बन्द भए, प्रमोटरले लगानी गरेको रकम डुबेको छ, बैंक तथा वित्तीय संस्थाहरुले पनि राम्रो गर्न सकेका छैनन्, बैंकको नाफा पनि घट्दै गएको छ, भएका संरचनाहरु टिकाइ राख्नु अहिलेको मुख्य चुनौति हो, हरेश नखाएर अर्थतन्त्रलाई सही दिशामा ल्याउने अभिभारा निजी क्षेत्रमाथि छ,’ उनले भने । छोरानातिलाई सँगसँगै डोर्याउँदै उद्योगी प्रदिपजंग पाण्डेका तीन छोरा छन् । छोराहरुलाई पनि उनले व्यवसायमा अभ्यस्त बनाइसकेका छन् । छोराहरुसँगै नातिलाई पनि उनले व्यवसायमा नै सक्रिय बनाएका छन् । जीवनको उत्तरार्धमा रहेका पाण्डेका तीन छोरा प्रवल, प्रताप र प्रज्वल पनि विभिन्न उद्योग व्यवसाय सम्हालिरहेका छन् । तीन जना छोराहरु नै उनको व्यवसायका सारथी हुन् । प्रवलले भारतको बैंगलोरबाट इन्जिनियरिङ, प्रतापले फिलिपिन्सबाट एमिबए र प्रज्वलले ढाकाबाट एमफर्मा पास गरेका छन् । तीनै छोराले हासिल गरेको शिक्षा अनुसार व्यवसाय पनि बाँडफाँट गरिएको छ । पारिवारिक विजनेशमा औषधि उनी आफैले हेर्छन् । उनी सिटिजन्स लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि हुन् । उनलाई कान्छो छोराले सहयोग गर्छन । सिमेन्ट उद्योग प्रबलले हेर्छन । वित्तीय क्षेत्रको लगानी प्रतापजंग पाण्डेले हेरिरहेका छन् । दायाँबाट क्रमशः प्रतावजंग, प्रबलजंग, प्रदिपजंग र प्रज्जलजंग पाण्डे छोराहरु पनि निजी क्षेत्रका विभिन्न संघ संस्थाका उच्च ओहदामा रहेर काम गरिरहेका छन् । प्रज्वल फार्मेसी काउन्सिल र एफक्यानको अध्यक्ष पनि हुन् । छोराहरुसँग सँगै व्यवसायिक यात्रा गर्दा खुसी र रमाइलो पनि लाग्ने उनी बताउँछन् । प्रनवजंग पाण्डे पाण्डे परिवारको दुइटा वाणिज्य बैंक र तीन वटा बीमा कम्पनीमा पनि ठूलो लगानी छ । सिटिजन्स इन्टरनेनल बैंक, हिमालयन बैंक, शिखर इन्स्योरेन्स, आइजीआई इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्समा लगानी छ । कैलाश हेलिकप्टर पनि पाण्डे परिवारले सञ्चालन गरिरहेको छ । अहिले उनका नाती प्रनवजंग पाण्डेले पनि व्यवसायमा साथ दिइरहेका छन् । ‘उनीहरुलाई पनि म जतिकै संयमित बनाइरहेको छु, कहिँकतै गल्ति गरे सच्याउन लगाउँछु, सबैसँग राम्रो व्यवहार गर्न संस्कार दिन्छु, उद्योगबाट उत्पादन भएका वस्तुहरुमा गुणस्तरीयता कायम गर्न, दीगो बनाउन र प्रतिस्पर्धी, क्षमता वृद्धि गर्नु पर्छ भनेर सिकाउँछु,’ उनले भने, ‘आफू मात्रै सन्तुष्ट भएर हुँदैन, संस्थामा आवद्ध कर्मचारी र मजदुरलाई पनि सन्तुष्ट बनाउनुपर्छ भनेर सल्लाह दिन्छु, छोराहरुसँगै नातीलाई व्यवसायिक सारथी बनाउन पाउँदा खुसी छु ।’ ‘त्यसपछि सरकारी जागिर छोडें’ उद्योगी प्रदिपजंग पाण्डे कुनैबेला सरकारी जागिरे थिए । सरकारी जागिरको प्रशंग बुझ्नु अगाडि उनको बाल्यकाल बुझौं । वि.सं. २००५ सालमा पाण्डेको जन्म काठमाडौंको क्षेत्रपाटीमा भयो । घर क्षेत्रपाटी । खेत लाजिम्पाटमा थिए । उनी आफ्नो बाल्यकाल अझै सम्झन्छन् । त्यतिबेला खेल्नका लागि बल पाइँदैनथे । सानो हुँदा भोगटेको भकुण्डो खेलेको उनको मानसपटलमा ताजै छ । उनले विं.सं २०२२ सालमा जीबी पब्लिक स्कूलबाट एसएलसी (हालको एसईई) पास गरे । व्यवसायमा सफल भएजस्तै उनी शैक्षिक योग्यता हासिल गर्न पनि कहिल्यै असफल भएनन् । उनले एसएलसी प्रथम श्रेणीमा पास गरे । वि.सं. २०२४ सालमा प्लस टू (आइकम) पब्लिक कमर्स कलेजबाट गरे । त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०२६ सालमा स्नातक (विक्रम) र २०२८ सालमा स्नातकोत्तर (एमकम) पास गरे । कानुन विषय पढ्न उनले कलेज भर्ना गरे । तर, परीक्षा दिन उनको मनले मानेन । ‘वकिल भएपछि पक्ष र विपक्ष भएर वकालत गर्नुपर्छ, मलाई कहिल्यै पनि पक्ष र विपक्ष हुन मन लाग्दैन, आधिकारिक वकिल नभएपनि कानुनका आवश्यक काम म आफै गर्छु,’ उनले भने । उनी आफु सकारी जागिर छोडेर व्यवसायी बनेको बताउँछन् । ‘मैले दुई वर्षसम्म एउटा सरकारी कार्यालयमा काम पनि गरेँ, त्यसलाई निरन्तरता दिएको भए अहिलेसम्म सचिव भएर पनि अवकाश भइसक्थें होला तर मलाई जागिर गर्न मन लागेन, त्यसमा प्रगति हुने नदेखेपछि व्यवसाय नै गर्नु पर्छ भन्ने लाग्यो,’ उनले जागिरे जिन्दगीबाट व्यवसायमा जम्प गर्दाका क्षणहरु स्मरण गर्दै भने । उनका धेरै साथीहरु सरकारी क्षेत्रमा छन् । महालेखापरीक्षक भानु शर्मा, पूर्वमन्त्री नारायण खड्का, गजेन्द्र बहादुर श्रेष्ठ लगायत उनका ‘क्लासमेट’ हुन् । ‘मेरो क्लासमेटहरु मुख्य सचिवसम्म भए, उनीहरु एक टाइम भएपछि फेज आउट भएर जान्छन् तर व्यवसाय गर्ने मान्छे आफ्नो शक्ति भएसम्म काम गर्न सक्छन्,’ उनले व्यवसायी बनेकोमा गर्व गर्दै भने । उनी थप्छन्, ‘मेरो पुर्खा (कालु पाँडे)ले युद्ध लडेर देशका लागि बलिदानी दियो, म देशको अर्थतन्त्रमा टेवा पुर्याएर काम गरिरहेको छु, आर्थिक क्षेत्रबाट यो देशका लागि योगदान दिइरहेको छु, यसमै खुसी छु, सन्तुष्ट छु ।’