२९० रुपैयाँको जागिरदेखि गभर्नरको यात्रासम्म
काठमाडौं । खोटाङको गाउँबेसीमा उकाली गर्दै गर्दा महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्छु भन्ने विषय ‘आकाशको फल’ थियो । जसलाई सजिलो हेर्न सकिन्थ्यो तर टिप्न असम्भव । त्यो असम्भवतालाई उनले कसरी सम्भव तुल्याए ? यही प्रश्न हामीले उनै महाप्रसाद अधिकारीलाई सोध्यौं । उनले जवाफमा भने, ‘नेपालमा गभर्नरको एउटा मात्रै पद हुन्छ, म त्यही बन्छु भन्ने लागेको थिएन, तर सबै कुरा समयले बनायो, मैले मेहनत मात्रै गरेको हुँ ।’ उनले थप्दै भने, ‘जसले म यो बन्छु भनेर सपना बुन्छ, उसले त्यही अनुसार मेहनत पनि गरेको हुन्छ, उसले मेहनत अनुसार नपाइरहेको पनि हुन्छ । आफ्नो तर्फबाट गर्नुपर्ने मेहनत निरन्तर जारी राख्नुपर्छ तर, अलिकति महत्वकांक्षी राखियो त्यो भोलि गएर हुन सकेन भने व्यक्तिगत रुपमा पनि त्यसले राम्रो गर्दैन ।’ वि.सं २०२१ सालमा खोटाङमा जन्मेका महाप्रसाद अधिकारीको स्कुले जीवन गाउँमै बित्यो । बिहान साँझ घरमा आमाबुवालाई सहयोग गर्ने उनी दिउँसो विद्यालय जान्थे । वि.स २०३९ सालमा उनले गाउँबाटै एसएलसी (हालको एसईई) पास गरे । गाउँमा हुँदा उनले शिक्षण पेशा शुरु गरे । उनले बुझेको पहिलो तलब २ सय ९० रुपैयाँ थियो । त्यसपछि उनी वि.सं २०४० सालमा बाँकी अध्यनको लागि काठमाडौँ छिरे । यसपछि सुरु भयो उनको पढाइसँगैको जागिरे जीवन । महाप्रसादले काठमाडौंमा आइकमको पढाइसँगै खाद्य संस्थानमा काम थाले । ‘मलाई म काम गर्दे जाँदा संस्थाको लागि इमान्दारी पूर्वक गरें, धेरै पछिसम्म पनि म राष्ट्र बैंकको चिफ नै हुन्छु भन्ने सोचेको थिइनँ । निरन्तर काम गर्दै गएँ इडी बनें, डेपुटी गभर्नर भएँ, डेपुटी भइसकेपछि चाहिँ स्वभाविकै रुपमा गभर्नर हुनुपर्छ भन्ने लाग्यो,’ उनले आफ्नो सुरुवाती दिनदेखि हालसम्मको जीवन यात्रा सुनाउँदै भने । अधिकारीले वि.सं २०४२ सालमा प्रतिस्पर्धात्मक परीक्षामा नाम निकालेर सरकारी जागिरको यात्रा तय गरेका हुन् । वि.सं २०४२ सालमा राष्ट्र बैंकको साहयक स्तरको पदमा जागिर सुरु गरेपछि उनलाई अब यही क्षेत्रमा मैले अझैं प्रतिसपर्धा गर्नु पर्छ भन्ने लाग्यो । उनी वि.सं. ०५१ सालमा राष्ट्र बैंकको उप निर्देशक पदमा स्तरोन्नती भए । वि.सं २०५६ मा निर्देशक पदमा बढुवा भए । त्यसपछि २०६७ सालमा उनी राष्ट्र बैंकको डेपुटी गभर्नर बने । राष्ट्र बैंकमा विभिन्न पदमा गरी तीन दशक बढी समय बिताएका उनी वि.स २०७६ चैत २४ गते गभर्नरका रुपमा नियुक्त भए । महाप्रसाद जुन संस्थाबाट सामान्य कर्मचारीको रुपमा प्रवेश गरेका थिए त्यही संस्थाको सर्वोच्च पदमा पुग्दा अचम्म मान्दैनन् । बरु उनलाई काम गर्दैजाँदा अझै मेहनत गर्न जाँगर चल्छ । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन संकायमा र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेट (सीए) पनि गरेका छन् । गभर्नर महाप्रसाद अधिकारी मिहिनेत र सपनाले मान्छेलाई कल्पना नगरेको ठाउँमा पु¥याउने बताउँछन् । उनी अहिलेका विद्यार्थी अथवा केटाकेटीलाई पनि ठूलो महत्वकांक्षा नराखी मेहनत गर्न सल्लाह दिन्छन् । ‘म यही बन्छु, तिमी भोलि गएर यही बन भन्नुभन्दा पनि म मिहेनत गर्छु र केही गर्छु भन्ने सोच्दा राम्रो हुन्छ, उनले भने, ‘यसो गरे भोलि तनाव पनि लिनु पर्दैन ।’ गभर्नरको सपना लेखपढ गरी भोलि के बन्ने ? सामान्यतया सबैलाई सोधिने एउटा सामान्य प्रश्न हो । छोराछोरीलाई अभिभावक, विद्यार्थीलाइ शिक्षक यस्तै प्रश्न सोध्छन् । तपाईं हामीले पनि एसएलसी दिइसकेपछि वा अहिलेको एसईई दिसकेपछि भविष्यलाई निर्धारण गरेर आफ्नो अध्ययन यात्रा सुरु गरेका थियौँ र अहिले गर्छौँ पनि । कहिलेकाँही हामीले बनाएको योजना सफल नहुन पनि सक्छ अर्थात् जुन उद्देश्य बोकेर हामी हिँडिरहेका हुन्छौँ त्यो लक्ष्यमा नपुग्न पनि सकिन्छ । र, नदेखेको सपना नबोकेको उदेश्यमा पनि हामी भोलि पुग्न सक्छौं । गभर्नर महाप्रसाद अधिकारीलाई पनि म नेपालको गभर्नर हुन्छु भन्ने कल्पना समेत थिएन । तर, अहिले तपाईं हामीले चलाउने पैसामा उनको हस्ताक्षर चल्छ । देशको आर्थिक नीति कस्तो हुनुपर्छ ? देशको आर्थिक विकासका लागि कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा उनको महत्वपूर्ण भूमिका हुन्छ । यसो भनिरहँदा लक्ष्य र उद्देश्य नबोकेर हिँडनुपर्छ भनेको हैन, मिहिनेत र कडा परिश्रमले समयसँगै जिम्मेवारीमा पुगिन्छ । ‘मनोरञ्जन पनि गर्छु’ हरेक काम र पदका पछाडि चुनौति आउनु स्वभाविक हो । यस्तो चुनौति आयो भन्दैमा तनाव लिएर बस्ने चलन छैन गभर्नर अधिकारीको । उनी भन्छन्, ‘सकेजति काम गर्नु पर्छ । तर, चुनौतीको सामना गर्न पनि डराउनु हुँदैन ।’ अधिकारीलाई लगातारका कामबाट थकित हुँदा गीत सुन्न, गेम हेर्न मन पर्छ । उनलाई भलिबल र व्याडमेन्टन खेल्न मन पर्छ भने फुटबल हेर्न पनि उनी रचाउँछन् । उनी बेलाबखत क्रिकेट हेर्ने गरेका छन् । घरमा भान्छाको काम गर्न पनि अधिकारलाई रमाइलो लाग्छ । ‘हामी घरमा आफै पकाएरै खाने हो । मलाई भान्छामा काम गर्न पनि उत्तिकै मनपर्छ, खानामा दालभात तरकारी लगायत सामान्य खानेकुराहरु मनपर्छ, गीत सुन्छु, कहिले आफै गुनगुनाउँछु पनि यती गरे तनावबाट मुक्त भइन्छ,’ अधिकारीले आफ्नो रुची सुनाउँदै भने । अधिकारीको परिवार अहिले ललितपुरमा बस्छ । वि.सं २०५९ सालमा ललितपुरमा घर बनेपछि सबैजना घरमै बस्न थालेका हुन् । अधिकारीका एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । छोरा अष्ट्रेलियामा व्याचलर पढ्दैछन् भने छोरी भने नेपालमै एमडी गर्दैछिन् । उनकी श्रीमती गृहणीको रुपमा घरमै काम गर्छिन् । ‘मलाई कुनै चिन्ता छैन, छोराछोरी आफै पढ्दै, कमाउँदै गरिरहेका छन्, श्रीमतीले घरव्यवहार धानिरहनु भएको छ, जीवन रमाइलो छ,’ गभर्नर अधिकारीले भने । विवाहपछि प्रेम गभर्नर अधिकारीको प्रेम अनुभव अनौठो छ । उनी भन्छन्, ‘गाउँमा घरको काम र विद्यालय जाँदै ठिक्क भयो, त्यसपछि सिधै बिहेको प्रस्ताव आइहाल्यो माया–प्रेमको अनुभव नै गर्न पाइनँ ।’ ‘बिहे अगाडि विद्यालय वा कलेज जाँदा यो मान्छे मलाई मन पर्यो भन्ने कुरा कहिल्यै भएन, बिहेपछि मात्र मायाप्रेमको अनुभव लिएँ,’ उनले मुस्कुराउँदै थपे । अधिकारी घुम्न पनि धेरै मन पराउँछन् । उनी नेपालका धेरैजसो जिल्ला घुमिसकेको सुनाउँछन् । पश्चिम दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म पुग्दा सबै ठाउँ उत्तिकै रमाइलो लागेको उनी सुनाउँछन् । उनले विश्वका धेरै विकसित, अविकसित देशहरु पनि उत्तिकै घुमेका छन् । विभिन्न देश पुग्दा नेपाल जस्तो सम्भावना भएको देश उनलाई कुनै लाग्दैन । सम्झिनै नचाहेको त्यो घटना मान्छेको जीवनमा धेरै घटनाहरु आइलाग्छन् । कतिपय जीवनभर अविस्मरणीय बनिदिन्छन् भने कतिपय चाहेर पनि बिर्सिन सकिँदैन । गभर्नर अधिकारीको जीवनमा पनि यस्तो घटना छ , जुन उनी सम्झिन पनि चाहन्नन् । त्यो विषय हो उनको निलक्बन । उनी २०७८ चैतमा सरकारको निलम्बनमा परे । निलम्बन गर्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा थिए भने अर्थमन्त्री थिऐ जनार्दश शर्मा । सोही बेला उनी निलम्बन परेका थिए । पनि गभर्नर अधिकारी अदालत गए । अदालतको आदेशमा गभर्नरको जिम्मेबारीमा उनी पुनः काममा फर्के । ‘काम गर्दै गर्दा कहिले कहीँ कानुनी झन्झटको सामाना गर्नु पर्ने हुँदो रहेछ, मैले यसलाई स्वभाविक रुपमा लिएको छु,’ उनले भने । निलम्बलमा परेको घट्नाबारे भने उनी धेरै बोल्न चाहेनन् । विकास मिडियाको प्रस्तुती विएन पोडकाष्टसँगको लामो अन्तरवार्तामा उनले भने, ‘यो घट्नालाई म बिसर्न चाहन्छु, धेरै नबोलौ ।’ स्वदेशमै बस्ने वातावरण बनाउनु पर्छ गभर्नर अधिकारी पछिल्लो समय विदेशिरहेका युवाहरुको संख्याप्रति चिन्तित छन् । युवाहरु दिनहुँ बिदेश पलायन भइरहेको बेला गभर्नर अधिकारी भने आफ्ना छोराछोरी स्वदेशमै काम गर्ने बताउँछन् । ‘नेपालमा पनि विस्तारै सेवा सुविधा राम्रो भइरहेको छ, छोरी नेपालमै छिन्, छोरा पनि बाहिर गएको भर्खरै हो, बाहिरबाट केही कुरा सिकेर नेपालमै आएर गर्छ,’ उनले भने । ‘नेपालमा सरकारी सेवा लिन झन्जटिलो हुने, रोजगार अभाव लगायतले युवाहरुमा निराशा छ, बिदेशीने क्रम बढ्दो छ, यो सुधार गर्न सकिने विषय हो,’ उनले थपे । नेपाल ठूलो सम्भावना र अवसर भएको देश भएको पनि उनी बताउँछन् । ‘नेपाल धेरै अवसर भएको देश हो । कतिपय देशमा समुन्द्र पुरेर घर बनेको हुन्छ, उनले भने, तर, हाम्रो देशमा योजनाबद्ध हिसावले देशमै भएका स्रोतसाधनको सदुपयोग गर्न सक्यो भने नेपालको अर्थतन्त्र छिट्टै विकसित देशको जत्तिकै मजबुत हुने थियो ।’ देश विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उनी बताउँछन् । योजना कार्यान्वयन, कार्यक्रमको कार्यान्वन गर्न केही न केही स्थायित्व चाहिन्छ । नेपालमा बारम्बार सरकार फेरिनु, मन्त्री फेरिने प्रवृतिबाट विकास नभएको अधिकारीको ठम्याइ छ ।
१५ बैंकमा १६ शक्तिशाली महिला सञ्चालक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्मचारीसँगै सञ्चालक समूहमा पनि महिलाको सहभागिता बढ्दो छ । बैंकमा कार्यरत महिलाहरु बैंकबाट विदा भएसँगै उनीहरु धमाधम सञ्चालकका रुपमा नियुक्त हुने अभ्यास बढिरहेका छन् । अहिले अधिकांश वाणिज्य बैंकले महिलालाई विशेष प्राथमिकतामा राखेर सञ्चालकको रुपमा नियुक्त गर्ने अभ्यास बढाउँदा त्यसले सञ्चालक समितिमा पनि एक किसिमको सुन्दरता देखिन्छ । कतिपय महिला सञ्चालकहरु सेयरधनी भएर सञ्चालक बनिरहेका छन् भने कतिपय महिलाहरु अनुभव र ज्ञानका आधारमा स्वतन्त्र सञ्चालक बन्ने अवसर पाइरहेका छन् । नेपालको संविधानले नै हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ । कम्पनी ऐनले पनि पब्लिक कम्पनीमा सेयरधनी महिला छ भने सञ्चालक समूहमा पनि महिलाको सहभागिता हुनु पर्ने व्यवस्था गरेको छ । तर, पनि कतिपय बैंकमा भने अहिले पनि महिला सञ्चालक छैनन् । कतिपय बैंकले दुई जना महिलासम्म महिला सञ्चालक राखेका छन् । बैंकको सञ्चालक समितिमा रहेका अधिकांश महिलाहरु ठूलो लगानी, लामो बैंकिङ अनुभव, सीप र योग्यताका आधारमा सञ्चालक समितिमा शक्तिशाली देखिन्छन् । सञ्चालक समितिमा रहेका अधिकांश महिलाहरु पूर्व बैंकर, प्राध्यापक, सरकारी निकायको उच्च तह तथा वित्तीय क्षेत्रमै लामो समय काम गरेकाहरु देखिन्छन् । आज हामीले कुन बैंकमा कसको सहभागिता छ भन्ने सामग्री तयार पारेका छौं । लक्ष्मी सनराइज बैंक : लक्ष्मी सनराइज बैंकमा ६ जना सञ्चालकमध्ये दुई जना महिला सञ्चालक छन् । स्वती रुङ्गटा र विद्या बस्न्यात सञ्चालकको रुपमा काम गरिरहेका छन् । लक्ष्मी बैंकमा सनराइज बैंक मर्ज हुनुअघि सनराइज बैंकमा शारदा शर्मा सञ्चालक थिइन् । तर, अहिले उनी सञ्चालकबाट विदा भइसकेकी छन् । लक्ष्मी सनराइज बैंकमा विद्या बस्न्यातले स्वतन्त्र सञ्चालकको रुपमा काम गरिरहेकी छन् भने रुङ्गाटा सन् २०१२ देखि सञ्चालकको रुपमा काम गरिरहेकी छन् । रुङ्गाटाले ग्लोबल इक्विटी फण्डमा म्यानेजिङ पाटर्नरको रुपमा पनि काम गरिरहेकी छन् भने उनीसँग वित्तीय क्षेत्रको राम्रो अनुभव छ । माछापुच्छ्रे बैंक : सात जनाको सञ्चालक समिति रहेको यस बैंकमा बन्दना कार्की सञ्चालक छिन् । उनी पब्लिक डाइरेक्टर हुन् । कार्कीले सिक्किम मणिपाल विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) मा स्नातकोत्तर गरेकी छन् । उनीसँग विभिन्न क्षेत्रका विभिन्न संस्थाहरूमा काम गरेको अनुभवका साथै उत्कृष्ट प्रशासनिक सीप पनि छ । उनले गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हिमश्री फुड्स प्रालिको प्रोक्योरमेन्ट म्यानेजरको रूपमा पनि पनि काम गरेकी छन् । नबिल बैंक : नबिल बैंकमा आशा राणा अधिकारीले महिला सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी स्वतन्त्र सञ्चालक हुन् । तीन दशक बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएकी उनीसँग यसअघि विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ । उनले तत्कालीन सनराइज बैंकको डेपुटी सीईओ भएर पनि काम गरिसकेकी छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए पास गरेकी उनीसँग साढे तीन दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एनआईसी एशिया : सात जना सञ्चालकमा एनआईसी एशिया बैंकका एक जना महिला सञ्चालक छन् । सो बैंकमा विजया स्वारले महिला सञ्चालकको रुपमा काम गरिरहेकी छन् । कृषि विकास बैंकको विभिन्न पदमा रहेर काम गरिसकेकी उनीसँग बैंकिङ क्षेत्रमा चार दशक बढीको अनुभव छ । उनले यसअघि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सञ्चालकको रुपमा तथा फण्ड म्यानेजमेन्ट कम्पनीको अध्यक्षको रुपमा कार्य गरेको अनुभव छ । उनले एशियन ईन्स्टिच्यूट अफ म्यानेजमेन्ट, मनिला, फिलिपिन्सबाट डेभलप्मेन्ट म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । हाल उनी एनआइसी एशिया बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि समितिको संयोजक र कर्मचारी सेवा सुविधा समितिको सदस्यका रुपमा काम गरिरहेकी छन् । एनएमबि बैंक : एनएमबी बैंकले बन्दना पाठकलाई बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको छ । तत्कालीन एनसीसी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिरहेकी उनी एनसीसी कुमारी बैंकसँग मर्ज भएपछि उनले बैंक छाडेकी थिइन् । उनले जागिर छोडेपछि एनएमबि बैंकले स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको थियो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग तीन दशकसम्म बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एभरेष्ट बैंक : एभरेष्ट बैंकमा उर्मिला श्रेष्ठले पब्लिक सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनको बैंकमा सेयर लगानी छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी उनले महिला सहयात्रा लघुवित्तको अध्यक्ष भएर पनि काम गरिसकेकी छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : यस बैंकको स्वतन्त्र सञ्चालकका रुपमा मञ्जु बस्नेत काम गरिरहेकी छन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुनु अघि मेगा बैंकमा सबिनादेवि काफ्लेले काम गरिरहेकी थिइन् । नेपाल एसबिआई बैक : नेपाल एसबिआई बैकको सञ्चालकका रुपमा अप्सरा उप्रेती काम गरिरहेकी छन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । बैंकिङ क्षेत्रमा करिब एक दशकको अनुभव भएको उनको भूमिका बैंकमा महत्वपूर्ण छ । उनले त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरेकी छन् । सानिमा बैंक : सानिमा बैंकको महिला सञ्चालको रुपमा गायत्री थापा काम गरिरहेकी छन् । उनी २०७६ जेठमा बैंकको सञ्चालकका रुपमा नियुक्त भएकी थिइन् । बैंकमा ६ जना सञ्चालकमध्ये उनी एउटा मात्रै महिला सञ्चालक हुन् । उनी बैंकमा महत्वपूर्ण सञ्चालकका रुपमा परिचित छन् । उनी कर्मचारी सेवा सुविधा समितिको संयोजक समेत हुन् । प्रभु बैंक : प्रोफेसर डा. गिता प्रधान प्रभु बैंकको सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी पनि एक महत्वपूर्ण सञ्चालक हुन् । यसअघि उनी सेञ्चुरी बैंकको सञ्चालक थिइन् । प्रभुमा सेञ्चुरी गाभिएपछि उनी प्रभु बैंकको सञ्चालक बनेकी हुन् । कृषि विकास बैंक : सरकारी स्वामित्वको कृषि विकास बैंकमा महिला सञ्चालकको रुपमा रिता सुवेदीले काम गरिरहेकी छन् । उनी स्वतन्त्र सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी लेक्चर पनि हुन् । सिद्धार्थ बैंक : मिना कुमारी सैंजुले सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनीसँग ३० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । यसअघि उनी पञ्चिमाञ्चल ग्रामीण विकास बैंक, नागरिक लघुवित्त संस्था लिमिटेड र जनता बैंक नेपाल लिमिटेडकी निर्देशक थिइन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनी नेपाल बैंकको उपमहाप्रबन्धक भएर पनि काम गरेकी थिइन् । नेपाल बैंक : सात जना सञ्चालक रहेको नेपाल बैंकमा डा. सावित्री रञ्जित श्रेष्ठ महिला सञ्चालकको रुपमा काम गरिरहेकी छन् । उनले नेपाल सरकारबाट प्रतिनिधित्व गरेकी हुन् । प्राइम कमर्सियल बैंक : प्राइम कमर्सियल बैंकको महिला सञ्चालकको रुपमा डा. तारादेवि चित्रकार काम गरिरहेकी छन् । उनी गत वर्षको पुसमा बैंकको सञ्चालकमा नियुक्त भएकी थिइन् । उनी प्राध्यापक पनि हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरी रहेकी थिइन् । उनी सामाजिक क्षेत्रमा समेत सक्रिय छिन् । राष्ट्रिय वाणिज्य बैंक : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकको रुपमा रोमिला ढकाल उप्रेतीले काम गरिरहेकी छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनले यसअघि एभरेष्ट बैंकमा २० वर्ष काम गरेको अनुभव छ । प्रभावकारी भूमिका तीन दशक बढी समय बैंकको कर्मचारी भएर काम गरेकी एनएमबि बैंकका स्वतन्त्र सञ्चालक बन्दना पाठक पछिल्लो समय बैंकहरुको बोर्डमा महिलाको सहभागितासँगै आवाज पनि निर्णायक हुन थालेको बताउँछिन् । उनले बैंकको सञ्चालक समितिमा बस्ने अधिकांश महिलाहरु ज्ञान, सीप र अनुभवले निखारिएका हुनाले पनि बैंक सञ्चालक समितिले महिलाको कुरालाई निर्णायकका रुपमा लिने गरेको सुनाउँछिन् । ‘म पनि एनसीसी बैंकबाट बाहिरिएको १५ दिनमै एनएमबि बैंकको सञ्चालक बनें, महिलाको सहभागिताकै लागि मात्रै भएको भए उहाँहरुले अरुलाई नै सञ्चालक बनाउन सक्थे तर क्षमता र अनुभव भएको मान्छे उहाँहरुले खोज्नु भयो, देखाउनका लागि मात्रै भन्दा पनि सीप, ज्ञान र अनुभव भएका महिलाहरुको सहभागिता सञ्चालक समितिमा देखिन्छ, यसले सिंगो बैंकको पफर्मेन्समा फाइदा भइरहेको छ,’ उनले विकासन्युजसँग भनिन् । उनका अनुसार बैंकको तल्लो तहमा कर्मचारीहरु बढी भएपनि माथिल्लो तहमा भने न्यून सहभागिता छ । माथिल्लो तहमा पुगेका महिलाहरु कुनै न कुनै बेला सञ्चालक बन्ने सम्भावना बढी हुन्छ । बैंकको सञ्चालकमा महिलाको प्रतिनिधित्व हुनै पर्ने व्यवस्थाले पनि महिलालाई सञ्चालकसम्म पुग्न केही सहज भएको हुन सक्ने उनको बुझाइ छ । ‘निर्णायक तहमा पुग्दा महिलाहरुको कुरा सुन्ने, उहाँहरुको सुझावलाई बैंकले कार्यान्वयन पनि गरिरहेको हुन्छ, अहिले जति बैंकको सञ्चालकमा महिलाहरु हुनु हुन्छ, उहाँहरु सबै कुनै न कुनै हिसाबले परिपक्व हुनुहुन्छ, त्यसैले पनि बैंक सञ्चालक समितिले महिलाको सुझावलाई कार्यान्वयनको तहमा पुर्याउँछ,’ उनले भनिन् । आधा दर्जन बैंकमा छैनन् महिला पाँच वटा वाणिज्य बैंकले महिला सञ्चालक नियुक्त गरेको छैन । स्ट्याण्डर्ड, हिमालयन, ग्लोबल आइएमई, कुमारी र सिटिजन्स बैंकले महिला सञ्चालक राखेको छैन । ग्लोबल आईएमई बैंकमा सात जनाको सञ्चालक टिम भएपनि महिलाको सहभागिता छैन । ग्लोबलमा गाभिनुअघि बैंकअफ काठमाण्डूमा २ जना सञ्चालकहरु अमृता उप्रेती र मोहना लोहनी सञ्चालकका रुपमा काम गरिरहेका थिए । ग्लोबल र बिओके मर्ज भएपछि उनीहरु सञ्चालकबाट बाहिरिएका थिए । यस्तै, यसअघि सिता कार्की केसीलाई स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको थियो । तर, अहिले बैंकले उनको विदाई गरिसकेको छ । ६ जना सञ्चालक रहेको कुमारी बैंकले पनि महिला सञ्चालक राखेको छैन । यसअघि कुमारी बैंकमा अनुराधा चौधरी सञ्चालक थिइन् । तर, कुमारी बैंक र एनसीसी बैंकबीच मर्ज भएपछि उनी सञ्चालकबाट विदा भएकी हुन् । यस्तै, तत्कालीन एनसीसी बैंकमा पनि सुमन जोशी महत्वपूर्ण महिला सञ्चालकका रुपमा थिइन् । तर, अहिले उनी पनि सञ्चालकको रुपमा छैनन् । कम्पनी ऐन, २०६३ ले पब्लिक कम्पनीहरुमा रहने सञ्चालक समितिको बारेमा स्पष्ट व्याख्या गरेको छ । जसअनुसार पब्लिक कम्पनीमा एक जना महिला सञ्चालक अनिवार्य राख्नु पर्ने व्यवस्था छ । पब्लिक कम्पनीहरुमा सेयरधनी महिला छन् भने ती कम्पनीले एक जना महिला सञ्चालक राख्नै पर्ने व्यवस्था रहेको कम्पनी रजिष्ट्रार महेश बराल बताउँछन् । उनका अनुसार पछिल्लो समय नयाँ दर्ता गर्न आउने पब्लिक कम्पनीलाई भने सञ्चालक समितिमा महिला भए÷नभएको विषय प्राथमिकताका साथ हेर्ने गरिएको छ । ‘कुनै पनि पब्लिक कम्पनीको सेयरधनी महिला छन् भने सञ्चालक समितिमा महिलाको सहभागिता अनिवार्य गरिएको छ, त्यो विषयलाई हामीले पनि सुक्ष्म ढंगले हेर्ने गरेका छौं,’ उनले विकासन्युजसँग भने । यस्तै, राष्ट्र बैंकका सह-प्रवक्ता डा. डिल्लीराम पोखरेल बैंक तथा वित्तीय संस्था ऐनले बैंकको सञ्चालक समितिमा महिलाको सहभागिताको विषयमा कुरा नगरेको भएपनि बैंकले भने महिलाहरुलाई प्राथमिकतामा राखेर सञ्चालकमा राख्नु पर्ने धारणा राख्छन् । उनका अनुसार बैंकको बोर्डमा महिला र पुरुषको समान सहभागिता देखिँदा पनि एक किसिमको समावेशिता देखिँदा राम्रो हुन्छ । सम्बन्धित सामग्री : बैंक हाँक्न तम्तयार १५ ‘लेडी बैंकर्स’
बैंकका सेयरधनी दुब्लाउँदै, कर्मचारी मोटाउँदै
काठमाडौं । निजी क्षेत्रमध्ये सधैं र सबैका लागि चर्चाको विषय बन्ने क्षेत्र हो बैंकिङ । बैंकिङ क्षेत्रले कहिले ब्याजदर, कहिले नाफा र लाभांश त कहिले कर्मचारीको सेवा सुविधाको विषयले चर्चा पाइरहन्छ । तथ्यांकमा पारदर्शी क्षेत्र भएकोले पनि बैंक तथा वित्तीय क्षेत्रको हरेक सूचकको सूचना सर्वसाधारणसँग हुन्छ । त्यसैले पनि बैंकिङ धेरैका लागि बहसको विषय बन्छ । कतिपयले अर्थतन्त्र समस्यामा परेको बेला पनि बैंकले धेरै कमाए भनेर आलोचना गर्छन्, ब्याज बढेको भन्दै गुनासो पोख्छन् त कतिपयले बैंकरले बुझ्ने तलबको तारिफ गर्छन् । केहीले भने त्यही तलबलाई ईस्यू बनाउँदै बैंकरलाई ‘टाई लगाएको गुण्डा’ समेत भन्न भ्याउँछन् । यो सबैको कारण हो, बैंकको सबै सूचक खुल्लमखुल्ला अर्थात् पारदर्शी हुनु । साढे ३ खर्ब रुपैयाँ पुँजी भएको वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी औसत ११ प्रतिशतभन्दा बढी देखिँदैन । तर, विभिन्न उद्योगी व्यवसायी तथा सर्वसाधारणहरुले बैंकले बढी कमाएको भन्दै आलोचना गर्छन् । ४० अर्ब रुपैयाँ पुँजी भएको एउटा बैंकको प्रतिफलदर ११ प्रतिशत हुनु असामान्य होइन । तर, धेरैको आँखा त्यही लाभांशमा मात्रै पर्छ । पछिल्लो ६ आर्थिक वर्षको तथ्यांक केलाउने हो भने बैंकको प्रतिफल दर अर्थात् सेयरधनीले पाउने लाभांश घट्दै गइरहेको छ भने बैंकले कर्मचारीमाथि गर्ने खर्च बढ्दै गएको देखिन्छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांकलाई केलाउने हो भने हरेक वर्ष कर्मचारीको तलब तथा अन्य सेवा सुविधा बढ्दै गएको छ । तर, बैंकका लगानीकर्ताले पाउने प्रतिफल भने संकुचित बन्दै गएको छ । पछिल्लो ६ आर्थिक वर्षमा बैंकहरुले औसत १६.९५ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेका छन् । गत आर्थिक वर्ष अर्थात् २०७८/७९ मा वाणिज्य बैंकहरुले औसत ११.४८ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको देखिएको छ भने कर्मचारीको तलब तथा सेवा सुविधामा भने औसत २८.६५ प्रतिशतको वृद्धि गरेका छन् । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकहरुले सेयरधनीलाई औसत १६.०६ प्रतिशत लाभांश वितरण गरेको देखिएको छ भने कर्मचारीको खर्च २५.७१ प्रतिशतले वृद्धि गरेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा १४.७५ लाभांश वितरण गरेका थिए भने कर्मचारी खर्च त्यसको अघिल्लो वर्षको तुलनामा १२.८१ प्रतिशतले वृद्धि गरेको देखिन्छ । सो वर्ष कारोनाको सकस बढेकोले बैंकले कर्मचारीको खर्च केही कम मात्रै गरेको देखिन्छ । तथापि, अघिल्लो वर्षको तुलनामा भने बढेको नै देखिन्छ । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा बैंकले औसत २१.१५३ प्रतिशत लाभांश वितरण गरेका थिए भने कर्मचारीको खर्च वृद्धि ७.४१ प्रतिशतले गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा औसत १५.२४ प्रतिशत लाभांश दिएको देखिन्छ भने अघिल्लो वर्षको तुलनामा कर्मचारीको खर्च २०.२१ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । ६ वर्षमा कर्मचारीको खर्च सवा २ खर्ब हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले कर्मचारीको लागि २ खर्ब २६ अर्ब ३१ करोड २२ लाख रुपैयाँ खर्च गरेका छन् । यो तथ्यांकमा यसअघि नै मर्जर प्रक्रियामा सामेल भएका सिभिल, मेगा, नेपाल बंगलादेश, सनराइज, एनसीसी र सेञ्चुरी बैंकको तथ्यांक समावेश गरिएको छैन । बैंकहरुले प्रत्येक वर्ष कर्मचारीको तलब तथा विभिन्न सेवा सुविधामा सो रकम खर्च गर्ने गरेका छन् । एक आर्थिक वर्षमा बैंकको कर्मचारी खर्च औसतमा २ अर्बको हाराहारीमा हुने गरेको देखिन्छ । ६ आर्थिक वर्षको तथ्यांकलाई केलाउँदा सबैभन्दा बढी कर्मचारीको लागि खर्च गर्ने बैंक एनआईसी एशिया बैंक देखिन्छ । ६ आर्थिक वर्षमा एनआईसी एशिया बैंकले कर्मचारीको लागि १८ अर्ब ५१ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ । कर्मचारीको लागि सबैभन्दा कम खर्च भने बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । यस बैंकले कर्मचारीका लागि ६ अर्ब ४० करोड ४१ लाख रुपैयाँ खर्च गरेको तथ्यांकले देखाउँछ । यो खर्च बैंकमा कार्यरत कर्मचारीको संख्याले पनि निर्धारण गर्छ । कम कर्मचारी भएको बैंकको कम खर्च हुन सक्छ भने बढी कर्मचारी भएको बैंकको खर्च पनि बढी हुन सक्छ । कर्मचारीको लागि बढी खर्च गर्ने बैंकको दोस्रो नम्बरका राष्ट्रिय वाणिज्य बैंक छ । यस बैंकले ६ वर्षको अवधिमा १८ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । कृषि विकास बैंकले १७ अर्ब ९१ करोड, ग्लोबल आइएमई बैंकले १५ अर्ब ५१ करोड, नबिलले १३ अर्ब ४१ करोड र नेपाल बैंकले १३ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको तथ्यांकले देखाउँछ । यस्तै, ६ आर्थिक वर्षको अवधिमा सिद्धार्थ बैंकले १२ अर्ब २२ करोड, प्रभुले १२ अर्ब १० करोड, एनएमबिले १० अर्ब ८० करोड, एभरेष्टले ९ अर्ब ९४ करोड, कुमारीले ९ अर्ब ६६ करोड, नेपाल एसबिआई बैंकले ९ अर्ब ६३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९ अर्ब ४० करोड, हिमालयन बैंकले ९ अर्ब ३४ करोड र माछापुच्छ्रे बैंकले ८ अर्ब ९८ करोड रुपैयाँ कर्मचारीका लागि खर्च गरेको देखिन्छ । यस्तै, लक्ष्मी बैंकले कर्मचारीका लागि ७ अर्ब ८१ करोड, सानिमाले ७ अर्ब ७४ करोड, प्राइम कमर्सियलले ७ अर्ब ५७ करोड, सिटिजन्सले ७ अर्ब २ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ अर्ब ४० करोड रुपैयाँ ६ वर्षको अवधिमा कर्मचारीमाथि खर्च गरेको छ । संकुचित प्रतिफल बैंक तथा वित्तीय संस्थाको सबैभन्दा बढी हेरिने विषय नाफा र प्रतिफल नै हो । अझ बैंकका लगानीकर्तालाई संस्थाले नाफा भन्दा पनि प्रतिफल कति दिन्छ भन्ने विषले तान्छ । धेरैले बैंकले उच्च नाफा गरेको आरोप पनि लगाउँछन् । ६ वर्षको अवधिमा बैंकका सेयरधनीले साढे औसत ६२ अर्ब .रुपैयाँ लाभांशवापत् बुझेका छन् । हाल वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी ३ खर्ब ६९ अर्ब ८५ करोड रुपैयाँ छ । वाणिज्य बैंकहरुले ६ वर्षको अवधिमा औसत १६.९५ प्रतिशत प्रतिफल दिएका छन् । साढे ३ खर्ब रुपैयाँ पुँजीको १६.९५ प्रतिशत भनेको ६२ अर्ब ६८ करोड हुन आउँछ । सेयरधनीहरुले आफ्नो लगानी र त्यसमार्फत् आएको प्रतिफलमा बढी ध्यान दिन्छन् । माथिको प्रतिफल भनेको १०० रुपैयाँमा १६.९५ रुपैयाँ प्रतिफल आउनु हो । अहिले त बैंकको प्रतिफलदर झन घट्दै गएको देखिन्छ । ६ आर्थिक वर्षको तथ्यांकलाई केलाउने हो भने सबैभन्दा बढी प्रतिफलदर नबिल बैंकको छ भने सबैभन्दा कम प्रभु बैंकको देखिन्छ । ६ वर्षको अवधिमा नबिलले सेयरधनीलाई औसत ३६.५४ प्रतिशत प्रतिफल दिएको छ भने दोस्रोमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले औसत ३१.११ प्रतिशत प्रतिफल दिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले औसत २४.०८ प्रतिशत प्रतिफल दिएको छ भने हिमालयन बैंकले २१.५३ प्रतिशत दिएको छ । यस्तै, कृषि विकास, एभरेष्ट र एनएमिबले २० प्रतिशतको हाराहारी, ग्लोबल आइएमई, प्राइम कमर्सियल, सिद्धार्थ र सानिमा बैंकले ६ वर्षको अवधिमा औसत १५ देखि १७ प्रतिशत प्रतिफल सेयरधनीलाई वितरण गरेका छन् । नेपाल एसबिआई, सिटिजन्स, एनआईसी एशिया, नेपाल बैंक, कुमारी, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले १० देखि १२ प्रतिशतको हारहारीमा सेयरधनीलाई प्रतिफल दिएका छन् । पछिल्लो ६ आर्थिक वर्षको अवधिमा लक्ष्मी र प्रभु बैंकले क्रमशः ९.५८ र ९.४० प्रतिशत लाभांश वितरण गरेको देखिन्छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७८/७९ मा औसत ११.४८ प्रतिशत, आव २०७/७७८ मा १६ प्रतिशत, आव २०७६/७७ मा १४.७५ प्रतिशत, आव २०७५/७६ मा २१ प्रतिशत, २०७४/७५ मा १५.२४ प्रतिशत र आव २०७३/७४ मा औसत २३.०३ प्रतिशत प्रतिफल वितरण गरेका छन् । बैंक तथा वित्तीय संस्थाको प्रतिफलदर वर्षेनी घट्दै गएपनि कर्मचारीमाथि हुने खर्च भने झन बढ्दै गएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुुर अधिकारी पछिल्लो समय बैंकको पुँजी अनुसारको बिजनेसको भोलुम नहुँदा र स्प्रेडमा हुने घटबढले बैंकको प्रतिफलमा प्रभाव पर्ने बताउँछन् । प्रतिफल बिजनेस नहुँदा घट्ने भएपनि बैंकको खर्च भने समय सापक्षे कारणले बढ्ने गरेको उनको भनाइ छ । यस्तै, बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवन गोल्यान बैंकको प्रतिफलको तुलनामा कर्मचारीको खर्च धेरै बढी भएको बताउँछन् । उनले बैंकको प्रतिफल घटिरहे पनि कर्मचारीको खर्च भने वर्षेनी बढिरहेको धारणा राखे । ‘बैंकहरुको खर्च घटाउनका लागि राष्ट्र बैंकले पनि सहयोग गर्नु पर्छ, राष्ट्र बैंकले कर्मचारीको खाइपाइआएको सेवा सुविधा घट्न नपाउने व्यवस्था गरेपछि समस्या भइरहेको छ, बैंकिङमा कर्मचारीलाई धेरै नै प्रोटेक्सन दिएको छ, त्यति धेरै आवश्यक होकि होइन भन्ने विषय पनि सोच्नु पर्छ । तर, बैंकिङमा क्षमतावान कर्मचारी नै चाहिन्छ, त्यति भनिरहँदा प्रत्येक वर्ष खर्च बढ्ने, सेवा सुविधा बढ्ने विषयमा पुर्नविचार गर्नु पर्छ,’ उनले भने । एनएमबि बैंकका अध्यक्ष समेत रहेका उनले यसका लागि अब एउटा टाक्सफोर्स नै बनाएर काम गर्नु पर्ने धारणा राखे । ‘अब खर्च बढाउन सम्भव छैन, बैंकको कमाइ नहुने खर्च मात्रै बढेर पनि भएन, बिजनेस नहुँदा प्रत्येक वर्ष बैंकको प्रतिफल दर पनि घटिरहेको छ,’ उनले भने ।