शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’

  काठमाडौं । समग्र महिला अधिकारकर्मीहरुले महिला आरक्षण र संरक्षणको नाममा राजनीति गर्दै गर्दा शिक्षा, सीप र कर्ममा व्यस्त थिइन् संगीता पहाडी (अर्याल) । कर्मयोगी संगीतालाई महिला आरक्षण कोटा पनि चाहिएन, संरक्षण कोटा पनि चाहिएन । पढेर इन्जिनियर बनिन् । २०४९ सालमा नेपाल टेलिकममा काम थालिन् । ३२ वर्षसम्मको कर्मले उनलाई देशकै एक ठूलो कम्पनीको कार्यकारी प्रमुख पदमा पुर्यायो । १८ अर्ब रुपैयाँ सेयर पुँजी, ७८ अर्ब रुपैयाँ संचित मुनाफा, १६० अर्ब रुपैयाँ नेटवर्थ र २ करोडभन्दा बढी सक्रिय ग्राहक भएको शक्तिशाली कम्पनी हाँक्दैछिन् संगीता । एउटा संस्थामा काम गर्दै गर्दा त्यो संस्थाको नेतृत्वमा पुग्ने रहर सबैको हुन्छ । त्यो रूची, रहर र सपना संगिता पहाडी (अर्याल) को पनि थियो । सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकमलाई हाँक्ने सपनालाई सार्थक बनाउन उनले ठूलो कोसिस गरिन् । दुुई पटक कम्पनीको प्रबन्ध निर्देशक (एमडी)का लागि सिफारिस भए पनि अन्ततः नाम काटियो र अर्कै व्यक्ति छानिए । तर पछिल्लो समय उनले कार्यकारी प्रमुखको रुपमा संस्था हाकिरहेकी छिन् । दुई पटक नेतृत्वका लागि भिडेकी संगीताले तेस्रो पटक भने त्यति ठूलो संघर्ष गर्नु परेन । उनलाई त्यो पदले आफैं बोलाउँदै उनी समक्ष आइपुग्यो । नेपाल टेलिकम हाँक्ने संगीताको सपना अब सार्थक बन्यो । कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचारको मुद्दा लागेपछि उनी निलम्बनमा परे र संगितालाई सरकारले पूर्ण अधिकारसहित निमित्त प्रबन्ध निर्देशकका रूपमा नियुक्त गर्यो । ‘मैले तीन दशकदेखि टेलिकममै काम गरिरहेकी छु, यति लामो समय संस्थामा काम गरेपछि नेतृत्व गर्नुपर्छ भन्ने सोच सबैको हुन्छ र मेरो पनि थियो, सोही हिसाबले विभिन्न समयमा आवेदन पनि दिएँ, सर्टलिष्टमा सिफारिस पनि भएँ तर एमडीका लागि छनोट भइनँ । हरेष पनि खाएकी थिइनँ, मिहिनेत मेरो हातमा थियो, नतिजा मेरो हातमा थिएन,’ उनले खुसी हुँदै भनिन्, ‘अहिले सरकारले नियुक्त गर्यो, मैले पूर्ण जिम्मेवारीका साथ काम गर्दैछु ।’ काठमाडौंको नयाँ बानेश्वरमा जन्मिएकी संगिताको पारिवारिक माहोल पनि शिक्षित भएकोले उनले पढाइ र काममा पनि धेरै चुनौतीहरू खेप्नु परेन । उनले विद्यालयको पढाइ डिल्लीबजारस्थित पद्मकन्या माध्यामिक विद्यालयबाट पुरा गरिन् भने त्रिचन्द्र क्याम्पसबाट आइएस्सी पास गरिन् । त्यसपछि उनी भारतको मोतीलाल नेहरू रिजनल इन्जिनियरिङ कलेज इलाहबादबाट ब्याचलर इन इलेक्ट्रोनिक र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मास्टर इन टेलिकम्युनिकेसन गरिन् । भारतबाट स्नातक पुरा गरेपछि उनी वि.सं २०४९ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा प्रवेश गरेकी थिइन् । अहिले उनले टेलिकममा काम गरेको तीन दशक समय भइसकेको छ । योभन्दा पहिले उनले कम्पनीको नायब प्रबन्धक निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् भने गत असोज १७ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन् । उनले वि.सं २०५१ सालमा स्थायी नियुक्ति लिएकी थिइन् । २०७८ माघमा नायव प्रबन्ध निर्देशक भएर काम गरेकी थिइन् । यो बिचमा उनले धेरै डिपार्टमेन्टको जिम्मेवारी पनि कुशलताका साथ निर्वाह गरिसकेकी छन् । समग्र महिला अधिकारकर्मीहरुले महिला आरक्षण र संरक्षणको नाममा राजनीति गर्दै गर्दा शिक्षा, सीप र कर्ममा व्यस्त थिइन् संगीता पहाडी (अर्याल) । कर्मयोगी संगीतालाई महिला आरक्षण कोटा पनि चाहिएन, संरक्षण कोटा पनि चाहिएन । पढेर इन्जिनियर बनिन् । २०४९ सालमा नेपाल टेलिकममा काम थालिन् । ३२ वर्षसम्मको कर्मले उनलाई देशकै एक ठूलो कम्पनीको कार्यकारी प्रमुख पदमा पुर्यायो । गज्जवको पारिवारिक माहौल संगीताका बुबा सर्वोच्च अदालतका पूर्व न्यायाधिश लक्ष्मण प्रसाद अर्याल हुन् भने उनको श्रीमान् पनि इन्जिनियर नै हुन् । उनका श्रीमान विश्वबन्धु पहाडी अहिले नेपाली सेनामा इन्जिनियरका रूपमा काम गर्छन् । बुबा र श्रीमानको साथ, सहयोगले पनि आफू यहाँसम्म आइपुगेको उनी बताउँछिन् । उनका दुई जना भाईहरु पनि इन्जिनियर भएकोले पनि आफूलाई धेरै सहयोग पुगेको उनी बताउँछिन् । विभागीय प्रमुखहरुको नेतृत्व गर्दा सम्बन्धित नेतृत्व क्षमता सार्वजनिक रुपमा देखिँदैन । संस्थाका कार्यकारी प्रमुख भएपछि भने जो कोहीको नेतृत्व क्षमता सार्वजनिक रुपमा पनि हेरिन्छ । सहकर्मीहरुको बुझाईमा संगीताले प्राविधिक र व्यवसायिक दक्षता विगतको कार्यसम्पादनबाट नै पुष्टि गरिसकेकी छिन् । व्यवस्थापकीय कुशलता पनि उनको राम्रो हुनेमा टेलिकमका कर्मचारीहरु नै विश्वस्त देखिन्छन् । संगीताले टेलिकममा काम सुरु गरेदेखि हालसम्म आफ्नो तर्फबाट शतप्रतिशत दिएको बताउँछिन् । ‘मैले लामो समय मोबाइल नेटवर्क विस्तारमा काम गरें, नयाँ प्रडक्ट ल्याउनमा पनि मेरो भूमिका रह्यो, इन्टरनेटको जेनेरेसन विस्तारमा पनि धेरै काम गरें, अब फाइभजीको विस्तारको योजनामा छौं,’ उनले भने । पर्दा पछाडि बसेर परिश्रम एउटा संस्थामा टीमवर्क महत्वपूर्ण विषय हो । काम गर्दै गर्दा अनेकन समस्या तथा आरोह अवरोहहरू झेल्नु पर्ने हुन्छ । त्यो अल्झनको अनुभव संगीताले पनि राम्रोसँग गरेकी छन् । संस्थाले राम्रो काम गर्न सक्यो भने नेतृत्वले वाहीवाही पाउँछ भने खराब काम गरे पनि त्यो सम्पूर्ण अपजस नेतृत्वले नै पाउँछ । तर, सफलता पछाडिका सारथीहरू भने धेरै हुन्छन् । नेपाल टेलिकममा विभिन्न समयमा बनेका एमडीको ब्याक सपोर्ट तथा ब्याक स्ट्रेन्थको भूमिका भने संगीताले निर्वाह गरिन् । उनले धेरै समय मोबाइल नेटवर्कको विकास तथा विस्तारमा काम गरिन् । नेटवर्क विस्तारका दिनहरू स्मरण गर्दै उनी भन्छिन्, ‘सुरुमा २५ हजार लाइन, त्यसपछि ५० लाइन, दुई लाख, ६ लाख, ३५ लाख हुँदै १ करोडसम्म पुग्न हामी सफल भयौं, त्यसमा मैले आफ्नो भूमिकालाई सशक्त रूपमा राखेको जस्तो लाग्छ, त्यो कामको रिकगनाइजेसन टेलिकमले पनि गरेको छ ।’ नेपाल टेलिकममा विभिन्न प्याकेज तथा व्यावसायिक स्कीम ल्याउन पनि उनले ठूलो भूमिका खेलिन् । नेपाल टेलिकमले प्रदान गर्ने टुरिष्ट सिम पनि उनै संगीताको कन्सेप्ट हो । फाइवर टु दि होम (एफटीटीएच) दर १७ हजारबाट १२ हजारमा घटाउन पनि उनैले पहल गरिन् । जतिखेर उनी व्यापार प्रवर्द्धनका रूपमा कार्यरत थिइन् । भारतबाट ब्याण्डविथ खरिद गर्दा ६ डलर परमेगाविट रेटलाई २ डलरमा झार्नुमा पनि उनको हात छ । देशमा फोरजी विस्तारमा पनि आफूले ठूलो पहल गरेको उनी सुनाउँछिन् । तर, यसमा उनीसँगै उनको टीम र तत्कालीन नेतृत्वको पनि ठूलो पहल छ । ‘जब कुनै बेला डिपार्टमेन्ट हेड भइन्छ त्यहाँ म्यानेजेरियल कुरा आउँछ, एउटा ग्रुपको नेतृत्व गर्ने बेला पनि व्यवस्थापकको कुरा आउँछ, हामीलाई किताबमा सिकेरभन्दा पनि अनुभवले सिकाइरहेको हुन्छ, रिजल्ट ओरिन्टेड भएर काम गर्नु नै असल व्यवस्थापकको गुण हो, टीमलाई मोटिभेसन र सन्तुष्ट पार्न सक्नु नै व्यवस्थापकको खुबी हो, सोही ढंगले म अगाडि बढ्छु,’ उनले भनिन् । खस्किँदो बिजनेस, बढ्दो चुनौती कुनै बेला वार्षिक १५ अर्बको नाफा गर्ने नेपाल टेलिकम अहिले करिब ८ अर्बमा झरेको छ । ग्राहक संख्या बढ्दो भएपनि विभिन्न सामाजिक प्लेटफर्महरूले टेलिकमको बिजनेस खोसिरहेका छन् । वि.सं २०७४ सालमा टेलिकमको नाफा १५ अर्ब रुपैयाँ थियो । अहिले ७ अर्ब ८० करोड रुपैयाँमा झरेको छ । नाफा घट्नुको मुख्य कारण भ्वाइसको कमि भएको उनी बताउँछिन् । ‘अहिले भ्वाइस प्रयोग नगरेर डाटा प्रयोग बढ्दो छ, यो संसारभरको ट्रेण्ड नै हो, अन्तर्राष्ट्रिय कलबाट पनि हामीले पहिले १५/१६ अर्ब आम्दानी गर्थ्यौं, अहिले त्यो आम्दानी ५ अर्बमा झरेको छ, विभिन्न सामाजिक सञ्जालले गर्दा हाम्रो नाफा घटेको छ,’ उनी भन्छिन्, ‘यो हाम्रो लागि चुनौती हो ।’ हाल टेलिकमको पुँजी १८ अर्ब, रिजर्भ ७५ अर्ब र नेटवर्थ १६० अर्ब रुपैयाँ बराबरको छ । कम्पनी अब रणनीतिक हिसाबमा योजना बनाएर अगाडि बढ्ने तयारीमा रहेको उनको भनाइ छ । ‘७५ जिल्लासम्म फाइबर टु दि होम (एफटीटीएच) सेवा पुर्याइसकेका छौं, नेटवर्क कभरेज अझै बढाउने योजना छ, त्यसले आर्थिक अवस्था थप बढाउन सकिन्छ, पहिलेको झै नाफा १५ अर्ब रुपैयाँ गर्ने हैसियत पुर्याउने लक्ष्यमा छौं,’ उनले भनिन् । आफूसँग भएको प्राविधिक दक्षता, व्यवस्थापकीय दक्षता, व्यावसायिक चेतना र नेतृत्व क्षमता प्रदर्शन गर्दै संगीता पहाडी नेपालको देशकै ठूलो कम्पनी नेपाल टेलिकमको कार्यकारी प्रमुख भएकी छिन् । १८ अर्ब रुपैयाँ सेयर पुँजी, ७८ अर्ब रुपैयाँ संचित मुनाफा, १६० अर्ब रुपैयाँ नेटवर्थ र २ करोडभन्दा बढी सक्रिय ग्राहक भएको नेपाल टेलिकमको कार्यकारी प्रमुखको जिम्मेवारी आफैमा धेरै महत्वपूर्ण रहेको छ । उनले अब आफ्नो मुख्य फोकस ग्राहकको सेवामा हुने बताइन् । टेलिकम नेपाल सरकारको पूर्ण स्वामित्वको कम्पनी भएकोले पनि यो कम्पनीप्रति सर्वसाधारणको अपेक्षा धेरै छ । कम्पनीलाई गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने चुनौती पनि थपिएको छ । यो चुनौतीका बिच कम्पनीले आफूलाई बजारको बलियो प्रतिस्पर्धी पनि देखाउनु पर्नेछ । यो चुनौतीका बिचमा कसरी काम गर्नु हुन्छ भन्ने जिज्ञासामा उनले जवाफ दिइन्, ‘यो सबैलाई म्यानेज गर्नु पर्नेछ, कम्पनीको सेवा डेलिभरीका साथै ग्राहकको सन्तुष्टि पनि मेन्टेन गरेर अगाडि बढ्नु पर्नेछ, यो आफैंमा चुनौतीको विषय हो, छोटो समयमै ग्राहकको अपेक्षासँगै कर्मचारीको माग पनि पुरा गर्नु पर्नेछ ।’ उनले फाइभजीको कामलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउनु पर्ने धारणा राखिन् । ‘कतिपय ठाउँमा टावर आएन, कभरेज पुगेन भन्ने लगायतका समस्याहरू सुन्नुपर्छ, ती सबै समस्या तत्काल समाधान गर्नु पर्ने हुन्छ, हामी थप सशक्त भएर हिड्नुपर्छ, चुनौती लिएर अगाडि बढ्दै गर्दा केही अवसर पनि हुन्छ,’ उनले भनिन्, ‘हामीसँग भएको स्रोतसाधनको पूर्ण उपभोग गरेर काम गर्छौं ।’ नेपालमा प्रोफेसनलभन्दा पनि व्यवहारिक रूपमा काम गर्नु पर्ने बाध्यता रहेको उनको अनुभव छ । कम्पनीले गुणस्तरीय सेवा र नाफा वृद्धिमा मात्र ध्यान दिन पाएको छैन । जनप्रतिनिधि, उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वको सुझाव अनुसार व्यवहारिक हिसावले सार्वजनिक हितका पक्षमा पनि टेलिकमले काम गर्नुपर्ने अवस्थाबारे पनि उनले बोलिन् । ‘सरकारी कम्पनी हो । नाफा मात्र हेरेर भएन, सार्वजनिक हितमा पनि हामीले काम गर्नुपर्नेछ, व्यवहारिक पक्षहरु पनि समेट्नुपर्नेछ ।’ ‘अब हामी २४ घण्टा सेवा दिने योजनामा छौं, सहरभन्दा बाहिर पनि गुणस्तरीय नेटवर्क पुर्याउने योजना छ, त्यही अनुरूप हामीले सात प्रदेशको १९ जिल्लालाई नमुना दूरसञ्चार जिल्ला भनेर घोषणा गरेका छौं,’ उनले भनिन्, ‘ती जिल्लाहरूमा नेटवर्क मेन्टिनेन्स र कस्टुमर केयर सेन्टर पनि हुन्छन् ।’ टेलिकमसँग रहेका दक्ष जनशक्ति र पुँजीको परिचालन गरेर भविष्यमा समेत यही पोजिसनमा रहने विश्वास उनको छ । यसका लागि कठोर मिहिनेत र त्यसै अनुसारको कार्ययोजना बनाएर अगाडि बढ्ने उनको भनाइ छ । अब्बल व्यवस्थापक कसरी बन्ने ? एउटा संस्थालाई कुन गतिमा अगाडि बढाउने भन्ने महत्वपूर्ण भूमिका र जिम्मेवारी त्यो संस्थाको नेतृत्वको हुन्छ । नेतृत्वले जुन नियतले संस्थालाई अगाडि बढाउँछ, संस्थाले पनि सोही अनुसारको प्रगति हासिल गर्छ । निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी नेतृत्वले व्यक्तिगतभन्दा पनि संस्थागत रूपमा अगाडि बढ्नु पर्ने बताउँछिन् । ‘हरेक विषयलाई संस्थागत रूपमा लिनुपर्छ, कुनै निर्णय गर्दा संस्थाको रिफ्लेक्सन हो भन्ने बुझ्नुपर्छ, प्रोफेसनालिजम पनि मेन्टेन गर्नुपर्छ, नेतृत्व प्रोफेसनल हुनुपर्छ,’ उनी भन्छिन्, ‘संस्था बनाउनु भनेको एउटा रेलको लिक बनाउनु जस्तै हो ।’ प्राविधिक मान्छे भएकाले पनि होला, उनका तर्कमा प्राविधिक कुरा जोडिएर आईहाल्छ । एउटा नेतृत्वले आफूले गरिरहेको कामलाई पनि विशेष प्राथमिकताका साथ आत्ममूल्यांकन गर्नुपर्ने उनको भनाइ छ । ‘आफूले गरेको कामलाई जति ध्यान दिएर गर्छौं त्यति नै सफलता प्राप्त हुन्छ, जति सफलता प्राप्त गर्छौं, हामी अगाडि बढ्छौं, आउने आरोह तथा अवरोहलाई सामान्य रूपमा लिएर काम गर्ने हो, आफ्नो लक्ष्यमा इमानदारी भएर काम गर्ने हो, न्यायपूर्वक निर्णय गर्यो भने नेतृत्व सफल हुन सक्छ,’ उनले भनिन् । ग्राहकको सन्तुष्टिका लागि टेलिकमको सेवाको सहज र सुलभ उपलब्धताका साथै गुणस्तरमा सुधारका लागि आफूले विभिन्न स्रोत परिचालन गरिरहेको उनले बताइन् । कम्पनीको संस्थागत र प्रणालीगत विकासका लागि आफूले देशको अवस्था अनुसार प्रादेशिक निर्देशनालय स्थापना गर्नुका साथै कर्मचारीको व्यवस्थापनलाई प्रमुख प्राथमिकताका साथ काम गरिरहेको उनले सुनाइन् । टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको स्थापना गरेको छ । नमस्ते पे एपको प्रयोग गरी डिजिटल भुक्तानी गर्ने कार्यलाई व्यवहारिकता प्रदान गरिरहेको छ । कम्पनीले अपर तामाकोशी, त्रिशुली थ्री बी लगायत विभिन्न परियोजनामा लगानी गरेको छ । हाल यी सबै कम्पनीहरूको कार्य प्रारम्भिक अवस्थामै रहेकोले आम्दानी नभएको उनको भनाइ छ । ती कम्पनीको प्रभावकारीता वृद्धिमा पनि उनको ध्यान गएको छ । प्रतिस्पर्धीको छैन डर तीन दशक नेपाल टेलिकममा काम गरिसकेकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अब आउने जुनसुकै प्रतिस्पर्धी कम्पनीहरूसँग टेलिकम नडराउने धारणा राख्छिन् । ‘देशभर ठूलो पूर्वाधार तयार भइसकेको छ, हामी अब गुणस्तरीयता बढाउनमा लागिपरेका छौं, टेलिकम एउटा स्थापित संस्था हो, आगामी दिनमा आउने प्रतिस्पर्धी कम्पनीसँग कुनै डर छैन,’ उनले भनिन् । टेलिकमको आफ्नै इन्टरनल र एक्स्ट्रनल अडिट पनि भएकोले एक परिपक्व संस्थाका रूपमा अगाडि बढिरहेको बताइन् । ‘इन्टरनेटमा हामीसँग १५ लाख ग्राहकलाई सेवा दिन सकिने पूर्वाधार छ, अहिले ४ लाख मात्रै ग्राहक छन्, देशभर १५० वटाभन्दा बढी कार्यालय छन्, त्यहाँबाट पनि ग्राहकलाई सेवा दिइरहेका छौं,’ उनले भनिन्, ‘टेलिकम अब झन् गुणस्तरीय कम्पनी हुन्छ ।’ आफूले अहिले संस्थालाई बिहान सात बजेदेखि राती ९ बजेसम्म समय दिइरहेको उनी बताउँछिन् । उनी पैसा, पावर र प्रख्यातिभन्दा पनि सामान्य कर्मचारीका रूपमा आफूले काम गरिरहेको बताउँछिन् । उनी कम बोल्न रुचाउने व्यवस्थापकमा पर्दछिन् । उनी आफू फलभन्दा पनि कर्ममा विश्वास गर्ने बताउँछिन् । ‘पद र पैसालेभन्दा पनि जिम्मेवारीले उर्जा दिन्छ, पद र पैसाले मलाई कहिल्यै घमण्ड दिएन, म सामान्य जीवनशैलीमा विश्वास गर्छु,’ उनी भन्छिन्, ‘अहिले पनि घरपरिवार र संस्थालाई सँगसँगै अगाडि बढाइरहेकी छु ।’ (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल  कक्षा र कार्यकक्षमा कुशल कुलमान ​​​​​​​१५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’  

१५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’

काठमाडौं । नेपाली बीमा क्षेत्रमा सबैले सुनेको नाम हो पोषकराज पौडेल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका पौडेल जीवन बीमक संघका अध्यक्ष पनि हुन् । जीवन बीमा कम्पनीमध्ये पछिल्लो समय सञ्चालनमा आएर बजारमा आफ्नो पृथक किसिमको पोर्टफोलियो र प्रोफाइल बनाइरहेको सिटिजन लाइफ इन्स्योरेन्सले व्यवसायमा मात्रै होइन, बीमितलाई सेवा प्रवाहमा पनि उल्लेखनीय काम गर्दै आइरहेको छ । परिणामस्वरूप गत मंसिरमा इण्डियन चेम्बर अफ कमर्शबाट ‘इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड’ प्राप्त गर्न कम्पनी सफल भयो । कम्पनीको यो सफलतामा सिटिजन टीम लिडर पौडेलको ठूलो भूमिका छ । बीमा क्षेत्रमा दुई दशकको अनुभव भएका पौडेलसँग विद्यालय शिक्षक, गैरनाफामुलक संस्था, सीए फर्म लगायत क्षेत्रमा काम गरेका पृथक अनुभवहरु छन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर पास गरेका पौडेल आफूलाई कर्मयोगीको संज्ञा दिन्छन् । ‘म कर्मयोगी हो, म कामलाई पहिलो प्राथमिकतामा राख्छु, धेरै महत्वकांक्षा राख्दिनँ,’ उनी भन्छन्, ‘म मेरो काममा पूर्ण सन्तुष्ट छु ।’ पोषकराज पौडेल वि.सं २०२८ सालमा चितवनमा जन्मिए । विद्यालयदेखि कलेजसम्मको पढाइ चितवनमै पुरा गरे । उनी स्कुल र कलेजमा पनि अब्बल विद्यार्थी नै थिए । उनी जहिल्यै कक्षामा ‘टप फाइभ’ मा पर्ने गरेको अनुभव सुनाउँछन् । उनी गणित विषयको त किरो नै थिए । कक्षामा अन्य साथीहरूलाई पनि गणित विषय सिकाएको सम्झना उनलाई अहिले पनि आउँछ । ‘म गणितमा १०० मा १०० अंक ल्याउँथे, अन्य विषयमा औसत नै थिएँ, उनी विद्यार्थी जीवन स्मरण गर्दै भन्छन्, ‘स्कुलमा मलाई अब्बल विद्यार्थी भनेर नै चिन्थे ।’ ६ वर्षसम्म शिक्षक सीईओ पौडेल पूर्व शिक्षक पनि हुन् । उनलाई लेक्चर दिन खुब मन पर्छ । उनको बोलीमा बढो प्रष्टता छ । विषयवस्तुमा उनी आफूलाई सोही ढंगले तयार पनि पार्छन् । वि.सं २०४६ सालमा एसएलसी (हालको एसईई) दिएपछि उनी आफूले पढेको विद्यालयमा नै पढाउन थाले । ‘यसले पढाउन सक्छ भन्ने विश्वास सरहरूमा थियो, त्यसैले पनि एसएलसी लगत्तै पढाउन सुरु गरें, त्यसले पनि आफूलाई अपडेट राख्न सहयोग गर्यो,’ उनी भन्छन्, ‘मिहिनेत गर्नुपर्छ भन्ने सिकाइ त्यतिबेला पनि धेरै भयो ।’ उनले ६ वर्षसम्म सोही विद्यालयमा पढाएर त्यहाँबाट बिदा भए । अब उनको यात्रा बदलियो । तर, काम र भूमिका भने एउटै । उनले विद्यालयमा पढाउन छोडेर चाइल्ड वेलफेयर सोसाइटीमा काम सुरु गरे । उनले त्यहाँ प्रौढ शिक्षा पनि पढाए । ‘पे र पोजिसन’ले मान्छेलाई थोरै प्रेरित गर्छ, थोरै समय उर्जा दिन्छ । निरन्तर काम गर्ने उर्जाको लागि उपयुक्त वातावरण हुनुपर्छ । नेतृत्वले मोटिभेसन र मोबिलाइजेसन गर्न सक्नुपर्छ । नेतृत्व टिममा विश्वासिलो हुनुपर्छ । त्यहाँ केही समय काम गरेर उनको यात्रा काठमाडौंतर्फ मोडियो । काठमाडौं आएर पनि सोही एनजीओको सडक बालबालिका क्षेत्रमा काम गर्ने प्रोजेक्टमा काम गर्न थाले । त्यसमा पनि उनले केही वर्ष मात्रै काम गरे । ‘हुन त मलाई सामाजिक काम मन पर्छ । तर, एनजीओमा मलाई फिट लागेन, म माछामासु नखाने, धेरै हिड्नु पर्ने भएपछि काम नै छोडिदिएँ,’ विगत स्मरण गर्दै उनी भन्छन् । उनले काठमाडौं आएर त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर पास गरिसकेका थिए । उनले अब वित्तीय क्षेत्रमा काम गुर्नपर्छ भन्ने सोच बनाए । सोही योजनाअनुसार एउटा चार्टर्ड एकाउन्टेन्ट (सीए) फर्ममा काम गर्न थाले । उनले त्यहाँ ६ वर्ष काम गरे । त्यो ६ वर्ष उनका लागि वित्तीय क्षेत्र बुझ्ने ठूलो अवसर बन्यो । वित्तीय संस्थाका वित्तीय विवरण अडिटमा उनी पोख्त भइसकेका थिए । त्यसपछि बीमा क्षेत्रमा इन्ट्री ६ वर्ष सीए फर्ममा काम गरेका उनले अब बीमा क्षेत्रमा प्रवेश गरे । उनले मेटलाइफमा फाइनान्स अफिसरका रुपमा काम सुरु गरे । त्यो बिचमा धेरै जिम्मेवारीहरू फेरियो । विभिन्न डिपार्टमेन्टमा काम गर्ने अवसर पाए । उनी फाइनान्स चिफका रूपमा बढुवा भए । मेटलाइफ उनको सिकाइको एउटा विश्वविद्यालय नै बनेको धारणा राख्छन् । ‘इन्स्योरेन्सको फाउन्डेसन त्यही कम्पनीबाट सिकेको हुँ, मल्टिनेशनल कम्पनी भएकोले पनि धेरै सिकियो, देश तथा विदेशका विभिन्न तालिम तथा सेमिनारहरूमा भाग लिन पाइयो, उनी भन्छन्, ‘अहिले जेजति रूपमा काम गरिरहेको छु, त्यसको आधार मेटलाइफ नै हो ।’ उनी मल्टिनेशनल कम्पनीले बनाएका बेञ्चमार्कलाई संस्था र व्यक्तिले चाहेर पनि कार्यान्वयन नहुने धारणा राख्छन् । ‘इको सिस्टम बन्नु पर्यो, धेरै कुरा गर्न चाहेर पनि इको सिस्टम नबन्दा समस्या छ, स्रोतसाधन पनि चाहिन्छ,’ उनले भने । विदेशमा भएको स्ट्याण्डर्ड नेपालमा ल्याउन पनि यहाँको इको सिस्टम सुधार्नु पर्ने उनको भनाइ छ । उनी समयसँगै आफूलाई पनि अगाडि बढाउँदै लानुपर्ने धारणा राख्छन् । ‘काम गर्दै जाँदा धेरै पर हेरेर भन्दा पनि नजिकको पाइला राम्रोसँग हेरेर अगाडि बढ्नु पर्छ भन्ने लाग्छ, सोही ढंगले आफूले पनि काम गरिरहेको छु, त्यसमा सफलता पनि पाइरहेको छु,’ उनले भने । भाग्यमानी सीईओ बीमा क्षेत्रमा तीन दशक काम गरेर पनि सीईओको अवसर नपाउने धेरै व्यक्तिहरू छन् । कतिपय आफ्नै कार्यशैली र क्षमताले पछाडि परे होलान्, कतिपयले अवसर नै पाएनन् होला । तर, पोषकराज पौडेलले भने बीमा क्षेत्रमा १५ वर्ष काम गरेर बीमा कम्पनीको नेतृत्व हाँक्ने जिम्मेवारी पाए । उनले मेटलाइफमा १५ वर्ष काम गरेर वित्त प्रमुख भएर राजीनामा दिए । राजीनामा दिनुको एउटै कारण थियो, सिटिजन लाइफमा सीईओको अफर । १५ वर्षको अनुभवमै सीईओ बन्नका लागि अवसर पाउने पौडेल एक भाग्यमानी सीईओ हुन् । तर उनी आफूलाई कर्मयोगी भनेर चिनाउँछन् । यो तहसम्म आइपुग्नका लागि आफूले धेरै मिहिनेत गरेको उनको भनाइ छ । कम्पनीको माथिल्लो पदमा पुग्न पहुँच हुनुपर्छ, नेतृत्वलाई खुशी पार्नुपर्छ भन्ने भनाई धेरैको मुखबाट सुन्न पाइन्छ । पौडेलको अनुभवमा त्यस्तो कहिल्यै पनि भएन । क्षमता हुने र नतिजा दिने व्यक्तिको सबैतिर खोजी हुने भनाई छ । उनी वि.सं २०७४ सालमा सिटिजन लाइफ इन्स्योरेन्सको सीईओ बने । १५ वर्षको अनुभवमै सीईओको जिम्मेवारी पाउँदा कस्तो महसुस हुँदो रहेछ ? प्रश्नको जवाफमा सीईओ पौडेलले भने, ‘मेटलाइफमा हुँदा पनि उच्च व्यवस्थापनमा काम गर्थें, त्यो पोजिसनमा नबसे पनि त्यो पदले गर्नुपर्ने काम र भोग्नु पर्ने चुनौती सबै महसुस गरिसकेको थिएँ, त्यसैले पनि सिटिजनको सीईओ बनेपछि खासै फरक किसिमको महसुस गरिनँ,’ उनी थप्छन् तर यो पदको गरिमा भने बेग्लै छ ।’ कुनै पनि कम्पनीमा काम गरेपछि त्यसको नेतृत्व तहमा पुग्ने सपना सबैको हुन्छ । कतिपयको सपना सपनामा मात्र सीमित हुन्छ, विपनामा परिणत हुँदैन । त्यो सफलता हासिल गर्नका लागि आइपरेका चुनौतीहरूलाई सहर्ष समाधान गरेर अगाडि बढ्नु पर्ने पौडेलको राय छ । ‘नेपालमा सबैले सपना देखेको ठाउँमा आइपुग्दा पनि म खुसी छु, मेरो कम्पनीमा ३ सय बढी कर्मचारी छन्, सबैले मलाई सहयोगी नेतृत्व भनेर चिन्छन्, अहिलेसम्म कोहि कसैसँग रिसाएको छैन,’ उनी मुस्कुराउँदै भन्छन्, मलाई सीईओ पदसम्म पुगेर कुनै घमण्ड छैन, यो त मिहिनेतको प्रतिफल मात्रै हो, एउटा जिम्मेवारी हो ।’ सीईओ बनेपछि कम्पनीलाई बजारमा एक किसिमबाट चिनाउन उनले धेरै मिहिनेत गरेका छन् । ‘नयाँ कम्पनी भएकोले नयाँ ट्यालेन्ट ल्याउने सोच थियो, त्यतिबेला सातदिने आवासीय तालिम पनि दियौं, त्यो बेला तालिम लिएका अधिकांश साथीहरू अहिले पनि संस्थामा छन्,’ उनले भने । जनशक्ति छनौटमा धेरै मिहनेत गर्नुपर्छ । कतिपय मान्छेले काम नै थाहा नपाएर आवेदन दिएका हुन्छन्, त्यसमा नेतृत्वले प्रोसेसिङ तथा स्क्रिनिङ गर्न सक्नुपर्छ । धेरैले जागिर सुरु गरेपछि यो काम त मेरो लागि रहेनछ भन्दै राजीनामा दिन्छन् । त्यहाँ छनौट गर्नेको पनि कमजोरी भयो भनेर बुझ्नुपर्छ । सिटिजन लाइफ इन्स्योरेन्स नयाँ जेनेरेसनको लिडिङ कम्पनीको रुपमा उदाएको छ । कम्पनीका संस्थापक सीईओको पहिलो कार्यकाल सुखद र सफल रह्यो । कम्पनीले २०७८ मा पुनः दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्यो । संस्थामा नेतृत्वले रणनीतिकरूपमा रोडम्याप बनाएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । ‘सपनाको सिटिजन्स बनाउँछु’ सिटिजन लाइफ इन्स्योरेन्स पछिल्लो पुस्ताको राम्रो बीमा कम्पनी हो । अन्य कम्पनीहरू मर्जर गरेर अगाडि बढिरहेको बेला सिटिजन लाइफ इन्स्योरेन्स भने मर्जरबिनै अब्बल संस्था बनेर अगाडि बढ्ने रणनीतिमा छ । सीईओ पौडेल अबको दुई वर्षपछि मार्केटमा स्थापित कम्पनीका रूपमा सिटिजन देखिने बताउँछन् । ‘मार्केट सेयर, बिजनेस र ब्राण्डका हिसाबले राम्रो बनाएर कम्पनीलाई अगाडि बढाउने योजना छ, विभिन्न कम्पनीमा काम गर्नेहरूलाई पनि एक पटक सिटिजनमा काम गर्नुपर्छ है भन्ने किसिमको कम्पनी बनाउँछौं,’ उनी भन्छन्, ‘सबैको सपनाको संस्थाको रूपमा विकास गरिरहेका छौं ।’ कम्पनीहरू मर्जरअघिको पोजिसनको तुलनामा सिटिजन अहिले पनि टपमै रहेको उनको भनाइ छ । उनले मर्जर भइसकेका कम्पनीसँग पनि सिटिजन प्रतिस्पर्धामा रहेको बताए । कम्पनीले प्रतिस्पर्धी कम्पनीको लेबलमा लाभांश दिन सक्ने अवस्था रहेको उनले बताए । कुशल व्यवस्थापक कस्तो ? हरेकसँग सीप, अनुभव र ज्ञान हुन्छ । त्यो ज्ञान, अनुभव र सीप कार्यान्वयन गर्नका लागि पनि टीम र सहि वातावरण चाहिन्छ । टीम र सहि वातावरण भयो भने नेतृत्वले राम्रो गर्न सक्छ । भनिन्छ नि- ‘एउटा बिउलाई सही ठाउँमा रोप्यो भने ऊ फुल्न र फक्रन सक्छ ।’ हो एउटा व्यवस्थापकलाई पनि सहि सहि वातावरण आवश्यक हुन्छ । सीईओ पौडेल पनि ‘राइट म्यान इन दि राइट प्लेस’ हुनु पर्ने धारणा राख्छन् । कर्मचारी छनौटको क्रममा उनी धेरै मिहेनत गर्दछन् । ‘कतिपय मान्छेले काम नै थाहा नपाएर आवेदन दिएका हुन्छन्, त्यसमा हामीले प्रोसेसिङ तथा स्क्रिनिङ गर्न सक्नुपर्छ, धेरैले पहिला जागिर सुरु गरेर पछि यो त मेरो लागि रहेनछ भन्दै राजीनामा दिन्छन्, त्यहाँ छनौट गर्नेको पनि कमजोरी भयो भनेर बुझ्नुपर्छ’ उनले भने । जनशक्ति छनौटमा समय दिनु भएन भने नेतृत्व केका लागि ? उनी प्रश्न गर्दै भन्छन्, ‘जुन कामका लागि तपाईं मान्छे रोज्नुहुन्छ, त्यसमा राम्रो रोज्नुपर्छ, रिसोर्स डेभलप गर्ने बेलामा समय दिनुपर्छ, भोलि उनीहरू नै हो यो कम्पनीलाई अगाडि बढाउने, एउटा व्यवस्थापकले आफ्नो टीम फर्मेसनमा धेरै ध्यान दिनुपर्छ ।’ दोस्रो, सिनियरले जुनियरलाई सिकाउने र नेतृत्व विकास गर्ने मामिलामा उनको विशेष फोकस हुन्छ । ‘म थुप्रै साथीहरु भेट्छु, अरुले सिक्यो भने भोलि मलाई नै गाह्रो पर्छ भन्ने सोच्छन् । त्यसले वृद्धि विकास रोकेको देख्छु म । सामान्य कुरामा अलमलिनु हुँदैन, आफ्नो जिम्मेवारी अनुसारको काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘म कर्मचारीलाई पनि सँगसँगै ग्रो गरेर अगाडि बढाइरहेको छु ।’ ‘एउटा व्यक्तिको लागि ‘पे र पोजिसन’ मात्रै भएर केही हुँदैन, व्यक्तिलाई वातावरण दिनका लागि मोटिभेसन र मोबिलाइजेसन आवश्यक पर्छ, नेतृत्व सफल हुनु भनेको समग्र टीम नै सफल हुनु हो,’ उनी भन्छन्, ‘नेतृत्व विश्वासिलो हुनुपर्छ । नेतृत्वलाई अरुले विश्वास गर्न सक्ने हुनुपर्छ ।’ हामीले विद्यालयमा पढ्, पढ् मात्र भन्यौं । नपढे हली बन्छस् भन्यौं । कृषिमा राम्रो हुन्छ, यो सम्मानित पेसा हो भनेर विद्यालय र घरबाट पनि सिकाइएको भए आज देशका युवाहरू कृषिमा काम गरिरहेका हुन्थे, विदेश जाने लाइनमा बस्दैनथे । नेपालमा अधिकांश मान्छे मजबुरीका लागि जागिर गर्ने गरेको उदाहरण उनी दिन्छन् । उनी भन्छन्, ‘व्यक्तिले क्षमताका र आफ्नो सीप देखाउनका लागि भन्दा पनि मजबुरीका लागि काम गर्छ, चीन, जापान लगायत देशमा मसँग यो सीप छ यो काम गर्छु भनिन्छ, हामी सीप बिकाउन सक्दैनौं, जब जागिर मजबुरी बन्छ, त्यहाँ उत्पादकत्व ह्रास हुन्छ ।’ कर्मचारीलाई मोटिभेसन पनि धेरै आवश्यक पर्ने उनको भनाइ छ । ‘कम्पनीको अधिकांश कार्यक्रममा म आफैं पुग्छु, कर्मचारीहरूलाई केही सकारात्मक नोट दिएर फर्किन्छु, नेतृत्वले अरूबाट काम लिने हो,’ उनी भन्छन्, ‘अथोरिटी डेलिगेट गरेर उनीहरूलाई एक किसिमबाट ड्राइभ गरिरहेको छु ।’ उनी अब प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा बीमा क्षेत्रमै रहने बताउँछन् । ‘आफ्नो क्षमता भएअनुसार काम गर्छु, इन्स्योरेन्स क्षेत्रमै केही काम गर्छु, हामी ग्लोबलरूपमा धेरै पछाडि छौं, सिक्नु र सिकाउनु पर्ने धेरै छ, म त्यसमै इन्गेज हुन्छु,’ उनले भने । जीवन बीमाले बचत र जोखिम न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ । ‘जोखिममा पर्दा हामी छौं, अब तपाईंलाई साथ दिने व्यक्ति कम छन्, अब संस्थाले साथ दिन्छ भन्नका लागि जीवन बीमा आवश्यक छ, नेपालमा बुबाले आर्जन गरेको सम्पत्ति नै ब्याकअप हो भन्ने छ, त्यो सिस्टमले नै समस्या गरिरहेको छ,’ उनी भन्छन्, ‘ब्याकअपका लागि अब इन्स्योरेन्स चाहिन्छ ।’ हेड सरसँग लञ्च, सिनियरसँग दोस्ती पोषकराज पौडेल पृथक परिवेशमा हुर्किए । घुमघाममा रूची राख्ने उनी साथी भने आफूभन्दा सिनियरलाई बनाउँछन् । विद्यार्थी जीवनमा पनि उनले सँगै पढ्नेसँग दोस्ती बनाएनन्, आफूभन्दा एक कक्षा बढी पढ्नेसँग उनको दोस्ती जम्यो । अहिले पनि उनी तिनै विद्यार्थी जीवनका साथीहरूसँग केहिलकाहीँ भेट्ने अवसर पाउँछन् । उनी विद्यालय हुँदा पनि हेड सरसँग बसेर लञ्च खाएको अनुभव सुनाउँछन् । ‘म आफूभन्दा ठूलोसँग संगत गरियो भने केही सिकिन्छ सोच्थें, सोही कारण साथी पनि आफूभन्दा माथिल्लो कक्षाकालाई बनाए, स्कुलमा लञ्च गर्दा हेड सरसँग नै बसेर खान्थें,’ विगत स्मरण गर्दै उनी भन्छन्, ‘म घुलमिल भने सबैसँग हुन्थें ।’ आफ्नो तत्काल रियक्ट गर्ने बानी नरहेको उनी सुनाउँछन् । चितवनबाटै मागी विवाह गरेका पौडेलकी श्रीमती सहकारीमा काम गर्छिन् । उनको दुई छोरी छन् । एउटा अमेरिकामा सूचना प्रविधि (आईटी) पढिरहेकी छन् भने कान्छो छोरी एसईईको तयारीमा छिन् । उनी आफ्नो छोरी विदेशमा पढेर नेपालमै फर्किने विषयमा विश्वस्त छन् । सरकारले विदेशमा रहेका युवालाई नेपालमा स्वागत गर्ने वातावरण सिर्जना गर्नु पर्ने उनको छ । ‘युवा विदेश गइरहेका छन्, उनीहरूलाई रोक्न ओरिन्टेसन दिन सकेका छैनौं, हामीले विद्यालयमा पनि पढ् भने पढ् नत्र हली हुन्छस् भन्ने गलत भाष्यको निर्माण गर्यौं, कृषिको सम्भावना भएको देशमा कृषिलाई नै हेला गर्यौं, त्यसकारण पनि विद्यार्थीहरू कृषिमा आकर्षित हुन सकेन,’ उनी भन्छन्, ‘कृषि राम्रो हो, यो पेसा सम्मानित पेसा हो भनेर विद्यालय र घरबाट पनि सिकाइएको भए, आज देशको युवाहरू कृषिमा काम गरिरहेको हुन्थे ।’ तर, उनी विदेशमा गएका युवाहरू एकदिन नेपालमा फर्किनेमा विश्वस्त छन् । ‘विदेशमा पनि सजिलो छैन, गइसकेपछि फर्किन गाह्रो छ । तर, फर्केर आएकालाई पनि स्वागत गर्न सकेनौं, फर्केर आएकोमा गाली गरिरहेका हुन्छौं, हामीले विदेश जानका लागि झन् प्रोत्साहन गर्यौं, सबैले विदेश जानुपर्छ भन्ने न्यारेटिभ बस्यो । तर, एकदिन विदेशिएको जनशक्ति सीप, अनुभव र पैसा लिएर स्वदेशमै फर्किन्छ भन्ने विषयमा विश्वस्त बनौं, त्यसपछि नेपाल बन्छ ।’ (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल  कक्षा र कार्यकक्षमा कुशल कुलमान

कक्षा र कार्यकक्षमा कुशल कुलमान

काठमाडौं । साँझको साढे ७ बजे । मोबाइलमा घण्टी बज्यो । फोन उठाएँ, उताबाट आवाज आयो- ‘तपाईंलाई एमडी (म्यानेजिङ डाइरेक्टर) सरले समय दिनुहुन्छ, अहिले नेपाल विद्युत प्राधिकरण आउन सक्नुहुन्छ ? पंक्तिकार हस् आउँछु भन्दै प्राधिकरणतर्फ लागे । पंक्तिकारले कुराकानीका लागि प्राधिकरणका एमडी कुलमान घिसिङलाई समय मागेका थिए, घिसिङले साँझ साढे सात बजे प्राधिकरणमै बोलाए । विकासन्युजको कार्यालय पनि प्राधिकरणको मुख्यालय नजिकै रहेकोले हिड्दै प्राधिकरण पुग्न सजिलो भयो । फोटो पत्रकार रिसव चौधरी घर पुगिसकेका रहेछन् । पंक्तिकार माेटरसाइकल लिएर सोझै प्राधिकरण पुगे । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय सुनसान थियो । जाँदा र फर्कँदा गेटमा सुरक्षाकर्मी र सचिवालयमा एक जना कर्मचारी, ड्राइभरलाई हामीले देख्यौं, अरु कोही देखिएनन् । घिसिङ काममा व्यस्त । पंक्तिकारले सुरुमै जिज्ञासा राखे, ‘सर, अहिलेसम्म घर जानु भएको रहेनछ ? मुसुक्क मुस्कुराउँदै जवाफ दिए, ‘८/९ बजे घर फर्किनु आदत बनिसक्यो, दिनभर विभिन्न मिटिङ तथा अफिसका साथीहरूसँग छलफलमै समय बित्छ, मेरो काम गर्ने समय नै यतिबेला हो ।’ विद्युत महसुल नतिरेपछि बत्ती काटिएको विषयमा पत्रकार सम्मेलनमा बताउने भन्दै अन्य विषयमा मात्र कुरा गर्न उनी तयारी भए । विद्यार्थी जीवन, प्राधिकरणको यात्रा, कुशल व्यवस्थापनमा उनले गरेका अभ्यास, अध्यारो नेपाललाई उज्यालो बनाउन उनले गरेका प्रयासबारे हामीले साढे नौ बजेसम्म कुरा गर्यौं । उनी घर पुग्दा करिब १० बज्यो नै । कति घण्टा काम गर्नुहुन्छ ? जवाफमा उनले भने, ‘बिहान ९ बजे अफिस आइपुग्छु, साँझ ८/९ बजे घर पुग्छु, म मिहिनेत गर्न रूचाउँछु, जसरी पनि नतिजा दिनुपर्छ भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्छु ।’ उनले आफू सानैदेखि नै मिहिनेती स्वभावको रहेको बताउँदै आफ्नो बाल्यकालको काहानी सुनाए । वि.सं २०२७ सालमा रामेछापको बेथान गाउँपालिकामा जन्मेका कुलमान सानैदेखि मिहिनेती । देशलाई लोडसेडिङ मुक्त बनाएर ठूलो प्रशंसा र वाहीवाही पाएका उनी आफू भने टुकी बालेर रातभर पढेको दिनहरू अझैं स्मरण गर्छन् । ‘त्यतिबेला गाउँमा बत्ती, टेलिफोन, सडक केही पनि सुविधा थिएन, टुकी बालेर पढ्नु पर्थ्यो, बिहान भैंसीलाई घाँस काटेर त्यसपछि स्कुल जानु पर्थ्यो,’ उनी विगत सम्झिँदै भन्छन्, ‘म धेरै दुःख र मिहिनेत गर्ने मान्छे हो, मेरो मिहिनेत देखेर धेरैले मलाई माया गर्नुहुन्थ्यो ।’ आठ वर्षको हुँदा स्कुलमा भर्ना भएका उनको स्कुले पढाइको अनुभव भने गज्जबको छ । कुलमान एक र दुई कक्षामा प्रथम भए । तीन कक्षा नपढेर चारमा भर्ना भए । तर, चार कक्षामा पढ्नको लागि भने उनले एक घण्टाको उकालो हिडेर स्कुल जानु पर्थ्यो । बिहान भैंसीको लागि घाँस काटेर त्यसपछि एक घण्टाको उकालो हिडेर स्कुल जानु परेको संघर्षपूर्ण दिनहरु उनी अझै पनि स्मरण गर्छन् । उनी चार कक्षाबाट पाँच कक्षामा पनि पहिलो नै भए । पाँच कक्षाबाट नै विद्यालय टप गरे । त्यसपछि कुलमान काठमाडौंको बालसेवा माविमा सात कक्षामा भर्ना भए । उनका दाजुहरू काठमाडौंमा थान्का लेख्ने काम गर्थे । उनका दाजुहरूले उनलाई काठमाडौं ल्याए । उनी काठमाडौं आएर पनि धेरै मिहिनेत गरे । भन्छन्, ‘म पढ्नमा धेरै मिहिनेत गर्थें, कोठा वरिपरी बस्नेहरूले पनि यो केटा कति पढ्छ भनेर प्रश्न गर्थे,’ उनी स्कुले जीवन स्मरण गर्दै भन्छन्, ‘सात कक्षामा पनि पहिलो नै भएपछि स्कुलमा पनि धेरैले माया गर्न थाले ।’ बालसेवा माविका शिक्षकहरूले उनलाई राम्रो विद्यार्थी भएकोले बोर्डिङमा पढाउन उनका दाजुलाई सल्लाह दिए । सोही सल्लाह अनुसार अब उनी बानेश्वरमा रहेको अमरआदेश बोर्डिङ स्कुलमा पढ्ने भए । तर, सो स्कुलले उनलाई ८ कक्षामा भर्ना लिन मानेन । पछि फर्ष्ट ब्वाई भएको सर्टिफिकेट देखेपछि भर्ना दिएको कुलमान बताउँछन् । सुरुमा त उनलाई साँच्चिकै कठिन भयो । विस्तारै मिहिनेत गर्दै गए । सुरुको त्रैमासिक परीक्षामा एक/दुई विषयमा फेल भएका उनी वार्षिक परीक्षामा भने कक्षा फर्ष्ट नै भए । १६ वर्षको उमेरमा एसएलसी (हालको एसईई) दिएका उनी ५ नम्बरले बोर्ड टप हुनबाट पछि परे । ‘सबैले मलाई बोर्ड टप आउँछ भनेर आशा गरेका थिए, । तर, ५ नम्बरले पछि परें, साथी (महेश ढकाल) ले टप गरे,’ उनले भने । एसएलसीपछि उनी आइएस्सी पढ्न अस्कल क्याम्पसमा भर्ना भए । आइएस्सी पास भएपछि उनी छात्रवृत्तिमा भारतमा इन्जिनियर पढ्न गए । सन् १९९४ मा भारतको बिहार टाटानगरमा रहेको रिजनल इन्टिच्युट अफ इन्जिनियरिङमा चार वर्ष पढे र नेपाल फर्किए । एकै पटक तीन ठाउँमा नाम स्कुले जीवनमा पढाइमा कुशल कुलमानले भारतबाट इन्जिनियरिङ पास गरेपछि सरकारी जागिर गर्ने सोच बनाए । उनले भारतबाट फर्किएलगत्तै तीन ठाउँमा आवेदन दिए । २०५१ सालमा नेपाल विद्युत प्राधिकरण, लोकसेवा आयोग र हवाइ विभागमा एकै पटक मौखिक र लिखित परीक्षामा नाम निस्किएर पनि सिफारिस भए । उनले कामका लागि प्राधिकरण नै रोजे । ‘प्राधिकरणमा फिल्ड र प्राविधिक काम हेर्नु पर्ने भएकोले पनि मैले प्राधिकरण रोजेको हुँ, त्यतिखेर २३ वर्षको थिएँ, प्राधिकरणमा सातौं तहमा नाम निकालें,’ उनले विगत स्मरण गर्दै भने, ‘म अफिसमै बसेरभन्दा पनि फिल्डमा काम गर्न चाहन्थें ।’ सातौं तहमा नाम निकालेका उनले ८ वर्ष सोही तहमा रहेर काम गरे । पछि आठौं तहमा नाम निकाले । पढाइमा एक कक्षा अपग्रेड गरेका उनले काममा पनि नवौं तह काम नगरी १०औं तहमा नाम निकाले । त्यही बिचमा एक जना सहसचिवका लागि खुला प्रतिस्पर्धा भयो । उनले लिखितमा नाम निकाले । अन्तर्वार्तामा दिनेश घिमिरेको नाम निस्कियो । घिमिरे मन्त्रालयको सचिवको रुपमा प्राधिकरणको सञ्चालक भए, घिसिङ प्रबन्ध निर्देशक । घिमिरेले गत मंसिरमा सचिवबाट अवकाश पाए । ‘यदि त्यतिबेला म सहसचिव भएको भए अहिले सचिव भएर म पनि अवकाश भइसकेको हुन्थें,’ उनी हाँस्दै जवाफ दिन्छन् । चिलिमेले चम्कायो १०औं तहमा काम गरिरहेका कुलमानलाई सरकारले चिलिमे जलविद्युत आयोजनाको एमडी बनाएर पठायो । त्यतिखेर चिलिमे परियोजना अगाडि बढ्न नसक्ने अवस्थामा थियो । स्थानीयले परियोजनाविरूद्ध विभिन्न अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरूले सेयरको माग गरिरहेका थिए । उनले ती सबै समस्याको समाधान गर्ने प्रयास गरे । नभन्दै एउटा सफल परियोजनाको रूपमा अगाडि बढाए । ‘म गएपछि स्थानीयहरूसँग समन्वय गरेर मुद्दा फिर्ता गर्न लगाएँ, १० प्रतिशत स्थानीय र पब्लिकलाई १५ प्रतिशत सेयर जारी गर्यौं । १०० रुपैयाँको सेयर २८१० रुपैयाँ पुग्यो,’ उनी भन्छन्, ‘त्यसपछि चिलिमेमा सबैको ध्यान गयो ।’ उनले सरकारको अपेक्षाअनुसार काम मात्रै गरेनन् स्थानीयलाई सेयर दिएर धनी समेत बनाए । ‘त्यो सेयरको नाफाबाट धेरै स्थानीयले काठमाडौंमा घर बनाए, जग्गा किने, कतिले व्यवसाय सुरु गरे, पछि त्यो सेयरमा दलाली पनि लागे, पछि सेयर बिक्री गर्नु हुँदैन भनेर स्थानीयमा सचेतना पनि जगायौं, ७ करोडको सेयर फिर्ता नै गर्न लगायौं,’ उनी भन्छन्, ‘त्यो परियोजना सफल बनेपछि धेरैले मलाई चिन्न थाले ।’ चिलिमेमा सफल काम गरेका उनलाई सरकारले फिर्ता बोलायो । त्यतिखेर उर्जामन्त्री थिइन् राधा ज्ञवाली । उनको चिलिमेबाट जिम्मेवारी मात्रै खोसिएन प्राधिकरणमा पनि उनलाई कामबिहिन बनाइयो । उनी जगेडामा परे । ‘म त्यतिखेर २४ घण्टा खट्ने मान्छेलाई सरकारले डेढ वर्षसम्म जगेडामा राख्यो, प्राधिकरणमा बस्ने कुर्सी पनि पाइनँ, कुर्सी नपाएपछि लाइब्रेरीमा गएर पढ्थें,’ निराश हुँदै उनी भन्छन्, ‘बिहान हाजिर गरेर लाइब्रेरीमा जान्थें, दिनभर पढेर साँझ हाजिर गरेर घर जान्थें ।’ कुलमानले त्यतिबेला राजीनामा दिने मनसाय पनि बनाए । तर, उनका केही सहकर्मीले रोके । त्यसपछि उनी ११औं तहमा बढुवा भए । दुई वर्षपछि सरकारले उनलाई राहुल गाड जलविद्युत आयोजनाको प्रमुखको जिम्मेवारी दिएर पठायो । त्यो पनि जीर्ण अवस्थामा रहेको आयोजनालाई उनले सफलताका साथ अगाडि बढाए । चिलिमे र राहुल गाड जलविद्युत आयोजनालाई सफलताका साथ अगाडि बढाएका कुलमानको नाम अब बजारमा सुनिन थाल्यो । सञ्चार माध्यमको नजरमा पनि कुलमान पर्न थाले । उनले एउटा अनुभव सुनाए- ‘एकपटक तत्कालीन राजा वीरेन्द्रको सवारी थियो, फागुनको अन्तिममा काम सुरु गरेर करिब ६ किलोमिटर लाइन बनाएर १ महिनामा काम सक्यौं, धेरैले अचम्म पनि माने,’ उनी भन्छन्, ‘म परियोजना प्रबन्धक वा जुनसुकै लेबलमा भएपनि प्रभावकारी र जिम्मेवारीबोध हुने गरी काम गर्छु, मेरै काम हो भनेर ओनरसिप लिएर काम गर्छु ।’ लोडसेडिङको अन्त्य, शाख र सम्पत्ति जोगियो चिलिमे र राहुल गाड जलविद्युतको जिम्मेवारी लिएर एक किसिमको प्रशंसाको पात्र बनिसकेका कुलमान अब नेपाल प्राधिकरणका एमडी बने । वि.सं २०७३ भदौमा उनी प्राधिकरणको एमडी बने । ११ तहमा बढुवा भएको एक वर्षमै उनी एमडी बने । प्राधिकरणमा १२ औं तह पनि हुन्छ । १२ औं तहमा काम नगरी प्राधिकरणको कार्यकारी प्रमुख बने । तर, त्यतिखेर पनि उनको प्राधिकरणभित्रकै कर्मचारीले साथ समेत नदिने अवस्था सिर्जना भयो । कारण थियो जुनियरलाई एमडी बनाएको । तर, कुलमानले एमडी बन्नासाथ प्राधिकरणको स्थायी जागिरबाट राजीनामा दिए । ‘मैले ११औं तहबाट राजीनामा दिएर कार्यकारी निर्देशक बनें, मभन्दा सिनियर धेरै थिए, सिनियरहरूले जुनियर आएर कसरी चलाउँछ भन्ने प्रश्न पनि गर्थे, मलाई काम गर्ने यही समय हो भन्ने हुटहुटी थियो,’ उनी भन्छन् । उनी आफू कर्मचारी मात्रैभन्दा पनि एउटा ओनरसिप नै लिएर काम गर्ने बताउँछन् । ‘कर्मचारीलाई कसरी मोटिभेट गर्ने, ठेकेदारलाई कसरी मनाउने, आफूले कसरी काम गर्ने भन्ने विषयमा म धेरै होमवर्क गर्छु, सोही अनुसार काम गर्छु, सफल पनि हुन्छु,’ उनी भन्छन्, ‘सबैभन्दा ठूलो कुरा म धेरै मिहिनेत गर्छु ।’ उनी प्राधिकरणको एमडी हुँदा त्यतिधेरै ठूलो संस्थाको वित्तीय अवस्था नाजुक थियो । देश अँध्यारोमा थियो । उनी विगत स्मरण गर्दै भन्छन्, ‘सबैको मुखबाट यो अवस्था सुधार नै हुँदैन भन्ने कुरा सुनिन्थ्यो, जसले पनि प्राधिकरणको आलोचना गर्थे ।’ उनी प्राधिकरणको एमडी हुुँदा संस्थाको ३५ अर्ब रुपैयाँ सञ्चिति घाटा थियो । कर्मचारीलाई तलब खुबाउन बैंकबाट ऋण लिनु पर्ने अवस्था थियो, वर्षमा ९ अर्ब घाटा थियो । यो अवस्थाबाट गुज्रिरहेको संस्थालाई उनले जसरी पनि सुधार गर्ने र लोडसेडिङको अन्त्य गर्ने महत्वकांक्षा बोके । उनी एमडी बनेको अर्को वर्षदेखि प्राधिकरण नाफामा जान थाल्यो । पहिलो चरणमा काठमाडौंमा लोडसेडिङको अन्त्य भयो । ‘सर्वसाधारणलाई लोडसेडिङ अन्त्यको महसुस गराउनु पर्छ भन्ने सन्देश दिन शुरुमा काठमाडौंमा लोडसेडिङको अन्त्य भएको घोषणा गर्यौं, देशभर लोडसेडिङको अन्त्य गर्ने विषय सम्भव थिएन, मान्छेले लोडसेडिङको अन्त्य हुन्छ भन्ने विश्वास नै गरेका थिएनन्,’ उनी थप्छन्, ‘संस्था समस्यामा भएपनि ठूलो चुनौती लिन सकिन्छ भन्ने थियो, चुनौती पनि लिएँ ।’ एउटा नेतृत्वकर्ताका लागि नतिजा महत्वपूर्ण हो । एउटा व्यवस्थापकले २४ घण्टा नै खटेर काम गरे पनि उसले रिजल्ट दिन सकेन भने त्यसको कुनै महत्व हुँदैन । खेल खेल्दा जतिसुकै पसिना बगाए पनि गोल गर्न सकेन भने अर्थ नहुने उनी बताउँछन् । प्राधिकरणमा जागिर खाईसकेपछि घिसिङले पुल्चोकबाट पावर सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर पनि गरेका थिए । इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइट म्यानेज्मेन्ट विषयमा थेसिस गरेका थिए । एमडी भएपछि उनलाई त्यो विषयले धेरै सहयोग गरेको उनको भनाइ छ । उनले व्यवस्थापन पनि पढेका छन् । त्यसैले पनि उनी एक कुशल व्यवस्थापक बनेका छन् । देशमा लोडसेडिङ अन्त्य गर्नका लागि पनि उनले ठूलो संघर्ष गर्नुपर्यो । ‘हाम्रो टीमवर्कले नै लोडसेडिङमुक्त सम्भव भएको हो, एमडी बन्दा सहयोग नगरेका साथीहरू पनि पछि सँगै आए, लोडसेडिङको अन्त्य भएपछि पब्लिकको साथ मिल्यो, लोडसेडिङको अन्त्य हुन्छ भन्ने कुरा प्राधिकरणभित्रका साथीहरूले कल्पना पनि गरेका थिएनन् । तर, पछि पब्लिकको पनि साथ आएपछि उनीहरू काम गर्न र टीमवर्क गर्न उत्साहित भए,’ अनुभव सुनाउँदै उनी भन्छन्, ‘टीमले नेतृत्वको विश्वास गर्न सक्नुपर्छ, जब टीमले नेतृत्वलाई विश्वास गर्दैन अनि काम हुँदैन ।’ नेतृत्वप्रतिको विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति भएको उनको भनाइ छ । प्राधिकरणभित्र रहेका १२/१३ हजार कर्मचारी र चार वटा ट्रेड युनियनलाई सँगै लिएर जानु पर्ने चुनौतीसँगै संस्थाको व्यवस्थापन, पूर्वाधार निर्माण लगायत विषयमा ठूलो चुनौती खेप्नु परेको उनी बताउँछन् । ‘विगतमा प्राधिकरणको ड्रेस लगाउने बित्तिकै बाटोमा कुट्छन् कि भन्ने त्रास हुन्थ्यो । तर, अहिले प्राधिकरणको कर्मचारी भन्ने बित्तिकै फरक किसिमको छाप बसेको छ, म्यानेज्मेन्टमा मोटिभिसन र पैसा दिएर मात्रै होइन, इमोसन पनि महत्वपूर्ण हो,’ उनले भने । ‘राइट म्यान इन दि राइट प्लेस’ ले संस्थालाई ठूलो प्रभाव पार्ने उनको अनुभव छ । उनी भन्छन्, ‘संस्थामा १० प्रतिशत राम्रो र १० प्रतिशत खराब मान्छे हुन्छन्, ८० प्रतिशत मान्छे नेतृत्वमा भरपर्छ, त्यो १० प्रतिशत मान्छेलाई समातेर काम गर्न सक्यो भने १० प्रतिशत खराब मान्छे लाइनमा आउँछन् । तर, काम राम्रो गर्न सकेन भने सबै १० प्रतिशत खराबको बाटोमा जान्छन्, त्यो कहाँ लग्ने भन्नेमा नेतृत्वको हात हुन्छ ।’ ६६ अर्ब नाफा, पुनः नियुक्ति चार वर्षको कार्यकाल सकेर कुलमान घिसिङ वि.सं २०७७ मा प्राधिकरणबाट बाहिरिए । एक कार्यकाल सफलरूपमा जिम्मेवारी निर्वाह गरेका उनी बाहिरिएपछि सरकारको नै आलोचना हुन सुरु भयो । ‘राम्रो मान्छेको पुनः नियुक्ती नगरेको’ भन्दै सर्वसाधारणबाट सरकारको समेत आलोचना भयो । ‘मलाई एउटै व्यक्ति त्यही सिटमा बस्नुहुँदैन भन्ने नै थियो, सरकारले कार्यकाल थप्दैन भन्ने पनि थाहा थियो, नथपेकोमा पनि कुनै गुनासो थिएन । तर, सर्वसाधारण र सञ्चार माध्यमले कुलमान दोहोरिनुपर्छ भनेर आवाज उठाए,’ उनी त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘काम गरेपछि सबैको साथ मिल्दो रहेछ भन्ने त्यतिबेला पनि धेरै बुझ्ने मौका मिल्यो ।’ सबैले उनलाई दोहोरिनुपर्छ भन्ने आवाज उठाएपछि उनी पुनः प्राधिकरणको एमडी बने । उनी २०७८ साल साउनमा पुनः प्राधिकरणको एमडी बनेका हुन् । यो अवधिमा पनि धेरै काम भएको उनको भनाइ छ । कुलमान घिसिङ प्रबन्ध निर्देशकमा नियुक्ती हुँदा प्राधिकरणको संचित नोक्सानी ३५ अर्ब रुपैयाँ थियो । एक वर्षमा करिब ९ अर्ब घाटा थियो । कर्मचारीलाई तलब खुवाउन बैंकबाट ऋण लिनु पर्ने अवस्था थियो । घोषित रूपमा दैनिक १५/१६ घण्टा लोडसेडिङ थियो । सबैले भन्न थालेका थिए, अब प्राधिकरण कहिल्यै उठ्दैन । पहिले ३५ अर्ब नोक्सानमा रहेको प्राधिकरण अहिले ३१ अर्ब नाफामा छ । यो हिसाबले प्राधिकरणले कुलमान एमडी भएपछि करिब ६६ अर्ब नाफा गरेको छ । ‘नाफा मात्रै होइन हामीले ठूलो लगानी पनि गरेका छौं, हामीलाई टुकी बालेको पीडा छ, हरेकले बिजुलीमा बसेर पढ्न पाउनु पर्छ भन्ने मेरो मान्यता हो, यो ठूलो उपलब्धि हो,’ उनले भने । उनी भन्छन्, ‘म आउँदा विद्युत प्राधिकरणको रेभिन्यू वार्षिक ३२ अर्ब थियो, अहिले १ खर्ब २५ अर्ब पुगेको छ, भारतबाट विद्युत आयात गर्न पनि ठूलो सकस भोग्नु पर्थ्यो, पछि लाइन बनायौं, अहिले हामी त्यही लाइनबाट निर्यात गरिरहेका छौं, उनी भन्छन्, ‘ हिजो १५/२० अर्ब रुपैयाँ बराबरको आयात थियो, आज १५ अर्बको बिजुली निर्यात गरिरहेका छौं ।’ उनका अनुसार आगामी वर्ष एउटा सिजनमा ३० अर्ब रुपैयाँसम्मको बिजुली निर्यात गर्न सकिन्छ । सरकारी योजनाअनुसार १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुँदा ५ खर्बको बिजुली निर्यात हुने बताए । यसले देशको व्यापार घाटा कम गर्न धेरै सहयोग पुग्ने उनको भनाइ छ । ‘मैले जुन काम गरें त्यसमा सन्तुष्ट पनि बनें, यो एउटा ‘हर्ट सिट’ हो, निर्णय छिटो गर्नुपर्छ । तर, निर्णय गर्दा जोखिम पनि हुन सक्छ, आफूलाई कन्फिडेन्टमा राख्नुपर्छ, नेपालमा फसिन्छ कि भनेर तत्काल निर्णय नलिने अभ्यास छ, उनी प्रश्न गर्छन्, ‘निर्णय नगर्ने भए किन त्यो पोस्टमा बस्ने ?’ उनका अनुसार हाल २५ लाख ग्राहकले ३० रुपैयाँ बिजुली उपभोग गरिरहेका छन् भने कम रेटमा विद्युत उपभोग गर्नेको संख्या पनि ठूलो छ । आफू आएपछि बिजुलीको रेट घटाए पनि संस्था नाफामा जान सफल भएको उनको भनाइ छ । नेपालको विद्युत क्षेत्र आत्मनिर्भर भएर ६० प्रतिशतसम्म निर्यात गर्न सक्ने अवस्थामा चाँडै पुग्ने उनको भनाइ छ । आईपीओ जारी गरेर हाइड्रोमा लगानी प्राधिकरणले अब सर्वसाधारणका लागि आईपीओ पनि जारी गर्ने तयारी गरिरहेको छ । एमडी घिसिङका अनुसार अहिले प्राधिकरणको कुल भ्यालुएसन ७ खर्बको छ । त्यसलाई मोनिटाइज गर्नका लागि पनि आईपीओ जारी गर्नु परेको उनको भनाइ छ । उनले १० प्रतिशत सेयर जारी गर्ने तयारी भइरहेको बताए । ‘हामीले १० प्रतिशत सेयर जारी गरे पनि २५० रुपैयाँ प्रिमियम तोक्यौं भने डबल बनाउन सकिन्छ, अर्थमन्त्रालयबाट सहमति पनि मागिसकेका छौं, अब छिट्टै मन्त्रिपरिषद् जान्छ र पब्लिकलाई ६०/७० अर्बको सेयर जारी गर्छौं,’ उनले भने । त्यो रकम जलविद्युतमा नै लगानी हुने उनको भनाइ छ । त्यसले सर्वसाधारणलाई पनि फाइदा नै हुने उनले बताए । ‘तपाईंको घर छ र त्यसलाई बैंकमा राखेर व्यापार गर्नु भयो भने राम्रै हुन्छ । व्यापार पनि चल्छ, घर पनि रहन्छ । तर, घरलाई त्यतिकै राख्यो भने त्यो सम्पत्ति भएको महत्व नै हुँदैन, त्यसैले हामीले पब्लिकको लागि सेयर जारी गर्ने भनेका हौं, हामीसँग ठूला प्रोजेक्ट छन्, आएको पैसा रिइन्भेष्ट गर्ने हो,’ उनले भने । १० वर्षपछि देश सम्वृद्ध बन्छ कार्यकारी निर्देशक घिसिङ सबैको मुखबाट देश बिग्रियो, खत्तमै भयो भन्ने धारणाहरू सुनेर अचम्ममा पर्छन् । युवाहरू विदेश गएको ट्रेण्डलाई हेरेर धेरै नकारात्मक हुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् । ‘देश खत्तम भयो भनेर अधिकांशले बच्चाहरूको मेन्टल नै डिस्टर्ब गरिरहेका छन्, म पोजिटिभ कुरा गर्छु, विकास जति गाउँमा छ तर युवा जति विदेशमा छन्, चीनको मान्छे पनि विदेशमै छन्, युरोपबाट एसिया आउन चाहन्छन्, यो ग्लोबल ट्रेण्ड हो, यो विषयमा धेरै चिन्तित हुनु पर्ने म देख्दिनँ, एक पटक भारतबाट धेरै ठूलो जनसंख्या बाहिरिएको थियो । तर, अहिले स्वदेशमा फर्किने ट्रेण्ड सुरु भएको छ, नेपालमा पनि एकदिन त्यस्तै हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले चिन्तित हुनु पर्ने अवस्था छैन ।’ अहिले विदेशिएका युवा ५/१० वर्षपछि नेपालमा नै फर्किने उनको तर्क छ । ‘नेपालमा अवसर र सम्भावना पनि धेरै छ, अबको ५/१० वर्षमा सम्वृद्धिको बाटो लिन्छ, हावापानी राम्रो छ, दुई ठूलो देशको बिचमा छ, बाहिर गएकाहरू अनुभव र पैसा ल्याउँछन् र त्यो अनुभव र पैसा लिएर नेपालमा आएर काम गर्छन्, त्यसले देशलाई सम्वृद्ध नै बनाउँछ,’ उनी भन्छन् । (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल