अर्बपति सन्यासी, पोल्ट्रीका फादर

काठमाडौं । पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीसँग भेटमा मैले भनेको थिएँ कि म जन्मँदै अर्बपति थिएँ, तर खरबपति बन्ने चाहना कहिल्यै राखिनँ, खरबपति बन्ने लक्ष्य राखेर काम गरेँ भने त्यो पूरा गर्न मलाई धेरै समय लाग्दैन,’ पोल्ट्री फादरको रुपमा चिनिने व्यवसायी गुणचन्द्र विष्टले भने, ‘जसरी पनि पैसा कमाउनुपर्छ भन्ने सोच भएको मान्छे म होइन, म त अहिले पनि सन्यासी हुँ ।’ सन्यास भनेको संसारिक बन्धनबाट मुक्त हुनु र निस्वार्थ भावले भगवानलाई निरन्तर याद गर्नु हो । सन्यासलाई शास्त्रमा जीवनको सर्वोच्च अवस्था भनिएको छ । ‘ब्रह्मचिन्तनमा लीन भई भौतिक आवश्यकताहरूप्रति उदासीन रहनेलाई सन्यासी भनिन्छ’ भनेर वृहत नेपाली शब्दकोषमा व्याख्या गरिएको छ । गुणचन्द्र विष्टले अहिले पनि आफूलाई सन्यासी भन्छन् । झ्याप्प दारी, लामो कपाल, झट्ट हेर्दा सन्यासी जस्तो देखिन्छन् पनि उनी । विद्धताको पनि कमी छैन उनमा । गुणचन्द्र विष्ट उनका बाबुआमाले दिएको नाम हो । सन्यासी भएपछि उनले आफ्नो नयाँ नाम राखे ‘स्वामी कृष्णानन्द भारती’ । जुन अहिले उनले आफ्नो परिचय दिँदा भन्ने गर्छन् । तर, उनी अरबपति हुन् । दर्जन उद्योगको मालिक पनि हुन् । भौतिक सुख सुविधा भोगेको हिसावले कोहीभन्दा कमजोर छैनन् उनी । मासु पनि खान्छन्, रक्सी पनि सेवन गर्छन् । अब उनलाई सन्यासी भनेर समाजले कसरी पत्याउने ? हामीले प्रश्न उठायौं । उनले भने, 'समाज बेवकुफ छ । नेताले राजनीतिबाट सन्यास लिए भन्छन् । खेलाडीले खेलबाट सन्यास लिए भन्छन् । झट्ट हेर्दा छोड्नेको नाम सन्यासी ।' वास्तवमा त्यो सत्य होइन । जगतगुरु आदी शंकराचार्यले शुरु गरेको दशनाम सन्यास, गोरखनाथ बाबाको सन्यास, भिक्षुहरुको सन्यास फरक फरक भएझैं आफूले गरेको सन्यास पनि फरक भएको उनको दावी छ । सन्यासीहरुको मान्यता ठाउँ अनुसार, संस्कार अनुसार फरक फरक हुन्छ । संग्रह गर्नुहुन्न भन्नेमा सबै सन्यासीको समान मत छ । ‘अहिलेको परिवेशमा भीख मागेर स्वामी बनिदैँन, कुनै बेला भीख श्रद्धापूर्वक दिइन्थ्यो, तर अहिले त्यस्तो छैन, स्वामी बन्न मालिक बन्नुपर्छ, अरुसँग मागेर मालिक बनिदैँन, आफूलाई चाहिने आफैले कमाउनुपर्छ भन्ने नवसन्यासीको मान्यता हो, म नवसन्यासी हुँ’ उनले प्रष्ट्याए । उनले सन्यासीको अर्थ ‘सङ्ग्रह नगर्ने’ प्रवृतिको अर्थ लगाए । र, आफूले धन कमाउन व्यवसाय नगरेको दावी गरे । ६० अर्बको हकदार कर्मचारी तपाईं अहिले कति सम्पत्तिको मालिक हुनुहुन्छ ? हामीले सोध्यौं । ‘त्यो त हिसाव गर्नुपर्छ’ उनले भने । बैङ्कमा कर्जा कति छ ? उनले खुलेर जवाफ दिए– ‘करिब १२०० करोड रुपैयाँ ।’ कर्जा थाहा हुने, सम्पत्ति थाहा नहुने पनि हुन्छ र ? प्रश्न झरिहाल्यो । ‘कर्जा त तिर्नुपर्ने भएकोले हिसाब राम्ररी राखिएको हुन्छ । पुस मसान्तमा कति व्याज तिर्नुपर्ने हो भनेर अहिले नै हिसाव किताव भैराखेको छ । तर सम्पत्तिको हिसाव यसरी गरिँदैन ।’ तैपनि मोटामोटी अङ्क भन्न जोड ग¥यौं । उनी बोले– ‘होला करिब ६/७ हजार करोड अर्थात कर्जाको ५÷६ गुणा ।’ अब मोटामोटी फिगर आयो । उनको सम्पत्ति ६० देखि ७० अर्ब रुपैयाँको हाराहारीमा छ । पुँजीबादी समाजमा पुँजीको हस्तान्तरणको कुरा गर्दा पहिलो हकदार परिवारको सदस्य मानिन्छ । गुणचन्द्र विष्ट अविवाहित छन् । श्रीमती, छोराछोरी नभएको मान्छेको त्यति धेरै सम्पत्ति कसले खाला ? धेरैको मनमा हुने चासो हो । तपाईंको सम्पत्तिमा कसले हकदावी गर्नेछ ? अथवा तपाईंको शेखपछि यो सम्पत्ति कसको नाममा जाने छ ? हामीले प्रश्न तेस्र्याइहाल्यौं । उनले यस प्रश्नलाई मूर्खले सोध्ने प्रश्न भने । त्यति मात्र होइन, ‘ तपाईंको सम्पत्ति कसले खान्छ ? उनले प्रतिप्रश्न गरे । र, थपे– ‘मरेपछिको योजना कसैले बनाउँछ भने त्यो जस्तो मूर्खता अरु केही हुँदैन ।’ हामीले उहाँको लिखित योजना मागेनौं । मनको कुरा भन्न भन्यौं । त्यसपछि उनले प्रष्ट जवाफ दिए । ‘१२०० कर्मचारी छन्, मेरो शेखपछि यो उनीहरुको सम्पत्ति हुनेछ, एकजना त मेरै अगाडि छन् ।’ उनले प्रतिनिधि पात्रलाई देखाए । त्यसपछि उनी अझ अगाडि बढेर बोल्न थाले । व्यवसायीको सम्पत्ति खान सजिलो नभएको उनले तर्क गरे । ‘मसँग नगद छैन, पत्रकारले धनी, समाजले धनी भनेर चिनेका मान्छेसँग झन् पैसा हुँदैन, ऊसँग व्यवसाय हुन्छ, ठूलो व्यवसायीसँग ठूलै ऋण हुन्छ, व्यवसाय चलाउन सकेन भने ऋणले सबै सम्पत्ति खान्छ, व्यवसाय गर्न नजान्नेको लागि जति धेरै सम्पत्ति त्यति ठूलो भारी हुन्छ ।’ आइपर्दा समाल्ने सफल व्यवसायीहरुले भन्ने एउटा साझा भनाई छ– ‘पहिला के गर्ने भन्ने उद्देश्यमा स्पष्ट हुनुपर्छ, त्यसपछि योजना, रणनीति तय गर्नुपर्छ, त्यसपछि उत्पादनका साधनहरु जुटाउनुपर्छ, अर्थशास्त्र वा व्यवस्थापन विषयका किताबमा लेखिएका र विद्यार्थीहरुलाई पठाइने सद्धान्तिक विषय पनि यिनै हुन् ।’ तर गुणचन्द्रको भोगाई त्यस्तो छैन । उनी योजनावद्ध विकासमा धेरै विश्वास गर्दैनन् । ‘कुनै पनि व्यवसाय गर्नुपूर्व व्यवसाय सम्भाव्यता अध्ययन गर्ने, रिर्पोट बनाउने चलन छ, मैले पनि बिजनेश सम्बन्धी किताबहरुमा पढी टोपलेको त्यही हो, तर मेरो जीवनमा त्यो लागू भएन’ उनले भने । ‘मैले जीवनमा योजना बनाएर काम गरेको छैन, गर्दै जाँदा राम्रो भएको हो, आइपरेको काम गर्दै जाने हो, जे काम गर्दा सन्तुष्टि मिलेको हुन्छ, त्यसलाई निरन्तरता दिने हो, जे काम गर्दा झ्याउ लाग्छ, त्यो पन्छाउने हो । गर्दिन भन्दा भन्दै गरेको कामको उदाहरणको रुपमा उनले नेपाल ग्यास कम्पनी किन्ने घट्नालाई चित्रण गरे । ‘मैले लिन्न भन्दाभन्दै समाल्नु परेको कम्पनी हो, अहिले देशको सबैभन्दा ठूलो ग्यास बोटलिङ उद्योग भएको छ’ उनले भने । नेपाल ग्यास उद्योग, नेपाल ग्यास उद्योग नारायणी, नारायणी ग्यास उद्योग, समृद्धि ग्यास उद्योग र सत्यनारायण ग्यास उद्योगका मुख्य लगानीकर्ता उनी नै हुन् । ‘मैले पोल्ट्रीमा पनि सबैभन्दा ठूलो व्यवसाय गर्छु भनेर काम गरेको होइन, ग्यासमा पनि होइन, काम थालिसकेपछि राम्रोसँग गर्नुपर्छ भन्ने हो, त्यसको लागि कम्पनीमा आधुनिक प्रविधिको प्रयोग पनि गर्नैपर्छ, उत्पादन क्षमता वृद्धि पनि गर्नैपर्छ, काम गर्दै गर्दा बजारले हाम्रो उत्पादन मन पराएको छ’ उनले भने । खाँचो नपरेको प्रमाणपत्र गुणचन्द्र विष्टको व्यावसायिक सफलताको आधार विश्वविद्यालयको शिक्षा पनि होइन रहेछ । उनले आफूसँग औपचारिक शिक्षाको कुनै पनि प्रमाणपत्र नभएको बताए । ‘मसँग स्कूलले दिने शैक्षिक प्रमाणपत्र पनि छैन, कलेजको शैक्षिक प्रमाणपत्र पनि छैन, मेरो जीवनमा तीनको खाँचो पनि परेन ।’ स्कूल कलेज पढ्दाको किताब तथा शैक्षिक सामग्रीहरु काठमाडौंको कालिमाटीस्थित डेरामा सहपाठीलाई छोडेको तर त्यसपछि कहिल्यै सोधी खोजी नगरेको उनी बताउँछन् । ‘जागिर खाने सोच पनि थिएन, राजनीति नियुक्ती खानुपर्छ भन्ने पनि थिएन, मलाई सर्टिफिकेट चाहिन्छ भन्ने पनि थिएन,’ कारण खुलाउँदै उनले भने । ‘मैले एसएलसी चितवन हाईस्कूलबाट पास गरेको हुँ, आइकम मिनभवन क्याम्पसमा पढेको हुँ, आइकम पास भएँ भन्ने सुनेको पनि हुँ, तर म सर्टिफिकेट लिन पनि गईँन, बिकम पढ्न भर्ना पनि भईँन ।’ मसँग फर्मल एजुकेशन पनि छैन, इनफर्मल एजुकेशन (तालिम, प्रशिक्षण) पनि छैन । ननफर्मल एजुकेशन (छलफल, स्वअध्ययन) नै मेरो ज्ञानको श्रोत हुन् । उनले भने, ‘समूहमा छलफल गर्ने हो, त्यसैको आधारमा काम गर्ने हो ।’ अब्बल व्यवस्थापक गुणचन्द्र विष्ट व्यवस्थापनमा अब्बल छन् । अभिनास ग्रुपको कार्यकारी अध्यक्ष उनी नै हुन् । पोल्र्टी फर्ममा कार्यकारी प्रमुखको जिम्मेवारी उनैले समाल्दै आएका छन् । २० हजार प्यारेन्टबाट उनले पोल्ट्री व्यवसाय शुरु गरेका थिए । अहिले उनको एक कम्पनी अभिनास ह्याचरी प्रालि लेयर ह्याचरी, बोइलर ह्याचरी, अण्डा उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो कम्पनी भएको छ । विष्ट जतिबेला पोल्ट्रीमा लागे त्यतिबेला नेपालमा यसले व्यावसायिक रुप लिएको थिएन । पोल्ट्री व्यवसायको तीन वर्षमा उनलाई ठूलो सफलता मिल्यो । चितवनमा उनको काम हुन आउनेको क्रम ह्वात्तै बढ्यो । चितवनमा मात्र होइन, देशभर नै उनको अनुसरण हुन थाल्यो । ‘मैले २०४७ सालमा ह्याचरी व्यवसाय शुरु गरेको हुँ, त्यतिबेलासम्म नेपालमा यस्तो व्यवसाय कसैले शुरु गरेका थिएनन्’ उनले भने– ‘यसअघि अण्डा र मासुका लागि उपभोक्ता आफैले कुखुरा पाल्ने प्रचलन थियो ।’ हाल कम्पनीले सातामा ३ लाख बोइलर कुखुरा उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार उसको क्षमता सातामा ६ लाख बोइलर कुखुरा उत्पादन गर्ने हो । कम्पनीले एक हप्तामा ८० हजार लेय¥स उत्पादन गर्छ, जुन कुल बजारको ८५ प्रतिशत हिस्सा हो । अभिनास फर्म नेपालको सबैभन्दा ठूलो कुखुरा फर्म हो, जहाँ दुई लाख चल्ला र ५० हजार ठूला कुखुरा पालिएका हुन्छन् । अभिनास भेट फर्मले देशभरका कुखुरा व्यवसायीहरुलाई पोल्ट्री केयर सेवा दिँदै आएको छ । पहिला के गर्ने भन्ने उद्देश्यमा स्पष्ट हुनुपर्छ । त्यसपछि योजना, रणनीति तय गर्नुपर्छ । त्यसपछि उत्पादनका साधनहरु जुटाउनुपर्छ । `अर्थशास्त्र वा व्यवस्थापन विषयका किताबमा लेखिएका र विद्यार्थीहरुलाई पढाइने सैद्धान्तिक विषय पनि यिनै हुन् । ‘अभिनास भेट फर्म पोल्ट्री व्यवसायीलाई सबै प्रकारको सेवा एकै ठाउँमा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको हो, जहाँ कुखुरालाई कुन रोग लागेको हो, जाँच गर्ने, रोग पत्ता लगाउने, औषधि उपचारको सिफारिस गर्ने, औषधि तथा खोप सेवा उपलब्ध गराउने, उपचारको क्रममा प्रयोग हुने सामाग्री उपलब्ध गराउने, कुखुराको दाना उत्पादन तथा वितरण गर्ने सबै काम गर्छ’ विष्टले भने । अहिले नेपालको ह्याचरी व्यवसायको कुल डेढ खर्ब लगानी भएको अनुमान छ । यो क्षेत्रमा ५ लाख मानिसको सक्रिय लगानी छन् । कुखुराको मासु र अण्डामा २२ वर्षदेखि देश आत्मनिर्भर भएको छ । हरेक वर्ष कुखुराको मासु र अण्डाको खपत २० प्रतिशतले बढ्दै गएको थियो । अण्डाको बजार पनि वार्षिक १० प्रतिशतले बढ्दै गएको थियो । कोभिड महामारी फैलिनुअघि प्रतिदिन १० लाख मेट्रिकटन मासु खपत हुन्थ्यो भने अहिले ६ हजार मेट्रिकटन मासु खपत हुन्छ । अण्डाको खपत पनि घटेको छ । ‘अहिले सबै क्षेत्रमा डामाडोल भएको छ, उपभोक्ताको क्रयशक्ति पनि घटेको छ ।’– उनले भने । कृषिमा आधारित उद्योगको प्रवद्र्धन गर्न सरकारले लिएको नीतिप्रति उनको तीव्र असन्तुष्टि छ । ‘किसानको खोर बन्द भएका छन्, २०७६ सालमा ३४८ ह्याचरी फर्म थिए, अहिले आधा बन्द भएका छन्, कति किसानको फर्ममा बैङ्कले ताला लगाएको छ, अवस्था यस्तो रहिरह्यो भने केही वर्षमा कुखुरा, अण्डा सबै विदेशबाट आयात गर्नुपर्ने हुन्छ’ उनले भने । अभिनास ग्रुपले अर्गानिक मल, एग्रोभेट, मेटल, ग्यास उद्योगमा पनि लगानी विस्तार गरको छ । अभिनास ह्याचरी, अभिनास फर्म, अभिनास भेट फर्मा, चितवन गुराँस इन्भेष्टमेन्ट, अभिनास इनर्जी, स्काईलार्क एग्रो लगायत कृषिमा आधारित उद्योगहरुमा विष्ट आफैले नेतृत्व लिएका छन् । नेपाल ग्यासमा प्रमुख कार्यकारी अधिकृतको भूमिका गोकुल भण्डारीले समालेका छन् । आइरनमा शैलेश श्रेष्ठले कार्यकारी प्रमुखको भूमिका खेलेका छन् । ‘व्यवस्थापनमा एमाले नेता केपी ओली जस्तो हुकुमी शैलीमा काम गर्दिन, सिनियर साथीहरुसँग छलफल गरेर नै काम हुन्छ ।’ नेत्र वान्तवा उनको लागि लागि विशेष साथी हुन् । जसले उनलाई व्यवसाय शुरु गर्ने बेलादेखि अप्ठ्यारो अवस्थामा सहयोग गरे । व्यवसाय शुरु गर्ने बेलामा दाई रुपचन्द्र विष्टले पुँजी दिएर सहयोग गरेको थिए । जीवनको रोजाइ उनको जीवनमा धेरै आरोह अवरोह छन् । ६ दाजुभाई, ३ दिदी बहिनीसहितको संयुक्त परिवारमा उनी जन्मे, हुर्के । १५ देखि २० वर्षको उमेरमा उनले बुबाले चलाएको खाद्यान्य पसल पनि चलाए । १२ वर्ष सन्यासी भएर आश्रममा पनि बसे । पछि आफ्नै बलबुताले चलाएको ठूलो उद्योगहरु पनि चलाए । कुन अवस्थाको, कुन परिवेशको जीवन उत्कृष्ट रह्यो ? ‘जे मा मजा लियो त्यही, म ४३ वर्षअघि जोगी भएको हुँ, अहिले पनि जोगी नै छु, त्यो बेलामा आश्रममा बसेको थिए, अहिले बिजनेश हाउसमा बसेको छु’ उनले भने– ‘मैले चाहेर यो व्यवसायमा हात हालेको हुँ, मलाई कसैले भारी बोकाइदिएको होइन, कम्युनमा बस्दाको झन्झट एक प्रकारका थिए भने अहिले अर्कोथरी झन्झट छ, यसमा कसैलाई दोष दिनु पनि परेन ।’ ‘कुनै बेला म चङ्गा थिएँ, कम्यूनमा आरामले बसेको थिएँ, अहिले सरकारी कर्मचारीको चाकडी गर्दै हिड्न परेको छ । १२ सय कर्मचारीको १२ सयथरी कुरा सुन्नुपर्छ, प्रत्यक्ष, अप्रत्यक्ष रुपमा’ उनले भने, ‘पूर्ण स्वतन्त्रता कहीँ पनि हुँदैन । कम्युनमा पनि नियमहरु हुन्छन्, त्यसको पालना गर्नुपर्छ, व्यवसायमा पनि नियम हुन्छन्, त्यसको पालना गर्नुपर्छ ।’ (देशविकास पत्रिकाको  वर्षअङ्क बाट)

तीन पटक सरकारी जागिर छोडेर लघुवित्तमा जमेका ‘प्रकाश सर’को कथा

काठमाडौं । हरेक व्यक्तिभित्र कथा हुन्छ । ती व्यक्तिले भोगेका अनुभव र सम्हालेका कहानीहरु पस्किने माध्यम भने जोकोहीले पाउँदैनन् । ती व्यक्तिको सफलताको पछाडि एउटा लामो र गर्व गर्न लायक संघर्षको कथा हुन्छ । जिन्दगीको एउटा अत्यास लाग्दो संघर्षशिल गोरेटोबाट एउटा सुन्दर जीवनशैली पाउने प्रेरणादायी र उदाहरणीय पात्र बन्ने शौभाग्य बिरलै पाइन्छ । एउटा भुइमान्छे बन्दाका पलहरु र सबैको प्रेरणाको स्रोत बन्ने दिनहरुभित्र ठूलो विरासत लुकेको हुन्छ । हो, आज हामी यस्तै एउटा गरिमामय गाथा सम्हालेको र संर्घषशील पृष्ठभूमि बोकेको व्यक्तिको संघर्ष, जीवनयात्रा र सफलताको कथा पस्कदैछौं । प्रकाशराज शर्मा । नेपाली लघुवित्त क्षेत्रमा एउटा पृथक पहिचान बोकेको नाम हो प्रकाशराज शर्मा । लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका शर्मा लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत हुन् । दाङको एउटा दुरदराज हेकुली गाविसमा जन्मेका शर्माभित्रको कथा साँच्चिकै हृदयस्पर्शी, उदाहरणीय र धेरैका लागि प्रेरणाको स्रोत बन्न योग्य छ । वि.स २०१४ साल भदौ महिनामा जन्मेका शर्मालाई ६६ वर्ष पुगिसक्दा पनि नेपाली लघुवित्त क्षेत्रमा केही नयाँ काम गरौं भन्ने हुटहुटी ताजै छ । केही पृथक, समाजलाई भलो हुने काम, जसले धेरैलाई सकारात्मक उर्जा दियोस्, शर्मा अझै पनि यस्तै–यस्तै काम गर्न चाहन्छन् । हामीले सुरुमै उनलाई प्रश्न गर्यौं, ‘६६ वर्षको भइसक्नु भयो, एउटा लघुवित्तको नेतृत्व गरिरहनु भएको छ, लघुवित्त बैंकर्स संघको पनि अध्यक्ष हुनुहुन्छ, अब आफुलाई बुढो भएँ भन्ने महसुस हुँदैन ? अब आराम गरौं भन्ने सोच आउँदैन ? उनले जवाफमा भने, ‘ज्यान बुढो भएपनि मन बुढो नहुँदो रहेछ, काम गरौं भन्ने मनोबल उच्च छ भने ज्यानको वास्ता नगरिँदो रहेछ, मलाई अझै केही गरौं भन्ने हुटहुटी छ, सकारात्मक सोच राखियो भने काम गर्ने उर्जा आफै आउँदो रहेछ, म नकारात्मक चिजमा पनि सकारात्मक कुरा देख्छु, त्यसले मलाई झन् उर्जा थप्छ ।’ प्रकाशराज शर्मा सानैदेखि राम्रो विद्यार्थी । सानोमा डाक्टर बन्ने सपना । १५ वर्षको उमेरमै एसएलसी (हालको एसईई) दिए । १५ वर्षको उमेरमा एसएलसी दिन नपाइने भएपछि उनले एक वर्ष उमेर बढाएर त्यतिखेर २०१३ सालमा जन्म भएको लेखेको सुनाउँछन् । उनले २०२९ सालमा एसएलसी दिए । ‘पढ्नको लागि दुइ घण्टाको पैदल यात्रा गर्नु पर्थ्यो, ९ र १० कक्षा डेरा लिएर महेन्द्र हाइस्कुल पढेँ, कहिलेकाँही घोडामा चढेर विद्यालय गइन्थ्यो, विद्यालय जीवन सकसपूर्ण भएपनि पढ्नु पर्छ भन्ने मानसिकता भने ममा सानैदेखि थियो,’ उनले विगत स्मरण गर्दै सुनाए । त्यतिखेर दाङको तुल्सीपुरटाडी गाँउदेखि बाँकेको खजुरासम्म जहाज पनि चल्थ्यो । जहाजको टिकट भने ४० रुपैयाँ । नेपालगञ्जमा कान्छा बाजेको घरमा बसेर नारायण हाइस्कुलबाट एसएलसी परिक्षा दिएको पनि उनी अहिलेसम्म स्मरण गर्छन् । उनको एसएलसीको नतिजा पनि आयो । उनको सानैदेखि डाक्टर बन्ने रुची थियो । नेपालगञ्जमा नै बसेर प्लस टुमा विज्ञान विभागमा भर्ना गरेर बायोलोजी विषय लिए । त्यतिखेर नयाँ शिक्षा प्रणाली लागू भयो । डाक्टर पढ्न ६० प्रतिशत अंक आउनु पर्थ्यो तर उनको ५९ प्रतिशत आयो । डाक्टर पढ्ने बुनेका उनको सपना चकनाचुर भयो । नेपालगञ्जबाट रक्सौल हुँदै रेल चढेर काठमाडौं डाक्टर पढ्ने सपना सपनामै सीमित भएपनि शर्माले हार खाएनन् । उनले काठमाडौं जाने योजना बनाए । त्यतिखेर अहिलेको जस्तो सवारी साधन थिएन । काठमाडौं आउनका लागि उनले रक्सौलबाट रेल चढे । उनी २०३२ सालमा सपनाको शहर काठमाडौं छिरे । अमृत साइन्स क्याम्पस अस्कलमा बिएस्सीमा भर्ना गरे । तर,अस्कल क्याम्पसबाट ६ महिनापछि उनी त्रिचन्द्र कलेजमा ट्रान्सफर भए । बीएस्सी पढ्दापढ्दै कोलोम्बो प्लानमा बिएस्सी डेरी टेक्नोलोजी छात्रवृत्तिमा आवेदन दिए । उनी बिएस्सी डेरी टेक्नोलोजी भारतको अहमदाबादमा पढ्नका लागि छनोट भए । तर, बिडम्वना, उनी समक्ष कन्फरमेसन आइपुगेन । ‘कन्फरमेसन आउनु अघि गाउँ गएँ, गाउँको एउटा सरकारी विद्याययमा विज्ञान विषय पढाएँ, तलब २२५ रुपैयाँ, ६ महिनापछि ३२५ रुपैयाँ पुग्यो, सोही समयमा उनले गाउँमा विवाह पनि गरे, ५/६ महिनासम्म कन्फरमेसन नआएपछि काठमाडौं फर्किएँ तर मेरो ठाउँमा वैकल्पिकमा परेको मान्छे गइसकेछन्, भारत जाने कुरा पनि सक्कियो,’ उनले बिएस्सी पढ्दै गर्दाका दिनहरु सम्झिँदै भने । एकपछि अर्को ठक्करले उनलाई निरास बनाउँदै गयो । एक दिन केही काम गर्न किर्तीपुर जाँदै थिए । उनले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा कृषि तथा पशु विज्ञानको डिन कार्यालयमा एउटा भीड देखे । सोधपुछ गर्दा पहिलो पटक बिएस्सी एजिको विज्ञापन खुलेको रहेछ । ‘मैले त्यहाँ आवेदन दिएँ, जुन मेरो अर्काे टर्निङ प्वाइन्ट थियो, प्रवेश परीक्षामा ठूलो प्रतिस्पर्धा भयो, म साइन्स पढेको थिएँ, अरु आइएस्सी एजि, ४० जनाको कोटाका लागि १२ नम्बरमा नाम निकालेँ,’ उनले भने । उनले २०३७ सालमा ८३.५ प्रतिशत अंक ल्याएर बिएस्सी एजि पास गरे । उनको प्रतिस्पर्धीले ८४ प्रतिशत ल्याए । उच्च अंक भएकाले गोल्ड मेडल पाउँथ्यो । तर, उनको ०.५ प्रतिशत कम अंक आएर गोल्ड मेडल पाउन सकेनन् । बिएस्सी एजि पास गरेपछि उनी कृषि वैज्ञानिक बने । थोत्रो मोटरसाइकलले तानेको ध्यान नेपालगञ्जमा आइएस्सी पढ्दा उनको मनमा एउटा कुराले कृषि विज्ञान पढन् आकर्षित गरेको थियो । नेपालगञ्जमा हजुरमुवाको घरबाट रुपडिया रोडमा महेन्द्र बहुमुखी क्याम्पस छ । त्यहाँबाट उनले आइएस्सी पास गरेका थिए । साइकल चलाएर क्याम्पस जानुपर्थ्यो । बाटोमा कृषि विकास कार्यालय थियो । कार्यालयको अगाडि उनले सधैं मोटरसाइकल देख्थे । साइकल चढ्ने मान्छे मोटरसाइलक चढ्न पाएपछि कस्तो हुन्थ्यो भन्ने उनले मनमा कुरा खेलाइ रहन्थे । सानो बुवाको छोरा दाइले यो कृषि कार्यालय हो । कृषि विषय पढ्यो भने मोटरसाईकल चढ्न पाइन्छ भनेपछि त्यो कुरा उनको मस्तिष्कमा रहिरह्यो । ‘मलाई त्यो मोटरसाइकलले कृषि पढ्न लोभ्यायो, आइएस्सी एजी पास गरेपछि शाखा अधिकृत भएर नियुक्ती लिएँ, नारायाणी अञ्चल सिँचाई विकास आयोजना विरगञ्जमा पठाइयो, त्यहाँबाट बाराको कृषि विकास कार्यालयमा सहायक कृषि विकास अधिकृतमा खटायो, त्यसपछि मेरो फर्मल जागिर सुरु भयो २०३७ सालमा, कृषि विकास कार्यालयमा काम गरेपछि मोटरसाइलक पाइन्छ भनेर ठ्याक्कै त्यहि कार्यालयमा जागिर पाएँ, मोटरसाइकल पनि पाएँ, लाग्यो म जति भाग्यमानी त कोही रहेनछ,’ उनले त्यो पल स्मरण गर्दै भने ।’ उनले कृषि विकास कार्यालयमा एक वर्ष जति काम गरे । पछि लोकसेवाले विज्ञापन नखोलेपछि उनले बैंकमा काम गर्ने योजना बनाए । १३ वर्ष बैंकमा काम वि.स.२०३८ सालमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले सघन बैंकिङ्ग कार्यक्रम (प्राथमिकता क्षेत्र कर्जा कार्यक्रम) का लागि कृषि अधिकृतका विज्ञापन निकाल्यो । कृषि विकास कार्यालयमा हुँदा रजिष्टर्ड तहको ७५० रुपैयाँ तलव र प्रोजेक्ट भत्ता ३० प्रतिशत थियो । जम्मा एक हजार रुपैयाँ बराबर तलव हुन्थ्यो । उनले दुईवटै बैंकमा आवेदन दिए । लिखित परिक्षाको दुवैमा पास भएपछि नेपाल बैंकमा पहिला अन्तवार्तामा दिए । पास पनि भए । उनी सातौं तह अर्थात् सहायक प्रबन्धकमा नियुक्त भए । एक महिनाको तालिम पुरा गरेपछि उनलाई नेपालगञ्जको क्षेत्रिय कार्यालयमा खटाइयो । उनले तत्कालिन मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल हेर्नुपर्थ्यो । उनले त्यहाँ हुँदा अछामको विनायक पञ्चदेवल, बझाङको बुंगल, बैतडीको पुर्चाैडी हाट, कञ्चनपुरको झलारी, कैलालीको चौमालालगायत थुप्रै ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याए । उनले राम्रो काम गरेपछि राष्ट्र बैंकको सघन बैंकिङ्ग राष्ट्रिय पुरस्कार समेत पाए । राष्ट्र बैंकले अगुवा बैंक (लिड बैंकिङ्ग प्रोग्राम) सार्वजनिक गर्याे । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको समन्वयमा सिराहको हाकिम भएर गए । ‘२०४६ सालको आन्दोलन हुँदा म दाङमा थिए, आन्दोलन सफल भएपछि अगुवा बैंकलाई सरकारले हटायो, मलाई नेपाल बैंकको क्षेत्रीय कार्यालय नेपालगञ्जमा पठाइयो, ८ औं तहको प्रमोशन भएपछि म हेड अफिस तानिएँ, हेड अफिसमा हुँदा केही समय मेरो पुरुषोत्तम पाण्डे हाकिम हुनुहुन्थ्यो, पुरुषोत्तम पाण्डे महाप्रबन्धक भएपछि मलाई डिपार्टमेन्टको जिम्मेवारी दिइयो,’ उनले भने । उनी १३ वर्ष नेपाल बैंकमा काम गरेपछि बाहिरिने सोच बनाए । निरन्तर छ लघुवित्तको यात्रा वि.स. २०४९ सालमा धनगढी र विराटनगरमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र केही निजी बैंकको लगानीमा ग्रामीण विकास बैंक स्थापना भयो । बझाङका शेर बहादुर थापा नेपाल बैंकको सिनियर हाकिम थिए । उनी पनि कृषि विषय पढेका थिए । नेपाल बैंकमा काज राखेर कार्यकारी निर्देशक भएर धनगढी र रमेश पौडेल विराटनगर गए । नेपाल राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर डा. हरिदेव पन्त लघुवित्तका विज्ञका रुपमा परिचित । उनी ग्रामीण विकास लघुवित्तका अध्यक्ष थिए । शर्माले नेपाल बैंकमा १३ वर्ष काम गरिसकेका थिए । उनले नेपाल बैंक छोडेर ग्रामीण विकास लघुवित्तको सहायक निर्देशक (सेकेण्ड) बनेर धनगढी जाने निर्णय गरे । वि.स. २०३८ देखि २०५१ साल बैशाखसम्म नेपाल बैंकमा काम गरेर राजीनामा दिए । त्यसपछि ग्रामीण विकास लघुवित्तबाट औपचारिक रुपमा उनको लघुवित्तको यात्रा सुरु भयो । उनका लागि ग्रामीण विकास लघुवित्त प्रथम पाठशाला बन्यो र लघुवित्त सिके । ग्रामीण विकास लघुवित्तमा ५/६ वर्ष काम गर्दा गर्दै २०५५ सालमा लघुवित्तको कार्यकारी प्रमुख अधिकृत (सीईओ) बने । उनी सीईओ भएका बेलामा भरतकृष्ण शर्मा नेपाल राष्ट्र बैंकबाट अध्यक्ष चुनिएका थिए । ग्रामीण विकास लघुवित्तमा काम गर्दा गर्दै उनको मनमा फेरि खुलदुली बढ्यो । त्यहि बेलामा निर्धन उत्थान लघुवित्त स्थापना भयो । ग्रामीणमा छोड्न चाहेको भन्ने थाहा पाएपछि नेपालमा लघुवित्तका गुरुका रुपमा परिचित डा. हरिदेव पन्तले फोन गरेर निर्धन उत्थान लघुवित्तमा आउन आग्रह गरे । सरकारी लगानी भएको ग्रामीण लघुवित्त छाड्ने निर्णय गरे । तत्कालीन गभर्नर गणेश बहादुर थापा र हिमालयन शमसेर राणा निर्धनको बोर्डमा भएकाले उनको अन्तवार्ता लिए । निजी क्षेत्रको लगानी रहेको निर्धन उत्थान लघुवित्तका सीईओ डा.हरिदेव पन्त निर्धनको प्रमुख कार्यकारी प्रमुख थिए । उनी निर्धनमा जाने भएपछि एउटा शर्त राखे डा.हरिदेव पन्त बाहेक अरुको सेकेण्ड म्यान बन्दैन । डा.पन्तको १० हजार रुपैयाँ तलब थियो । उनको ग्रामीणमा हुँदा साढे १२ हजार रुपैयाँ तलब थियो । सेकेण्ड म्यान भएपनि सीईओको तलब भन्दा धेरै थियो । सीईओ भन्दा तल्लो तहको कर्मचारीको तलब बढी हुँदा रोचक बन्यो । पछि उनले पाएको तलब भन्दा सीईओको तलब एक सय रुपैयाँ बढी बनाइयो । निर्धनल घुवित्तलाई यो उचाइमा पुर्याउनमा ठुलो योगदान भने शर्माको छ । लघुवित्तमा आधुनिकीकरण र इनोभेसनका काम उनै शर्माले गरे । उनले निर्धनलाई एउटा हाइटमा पुर्याए । त्यहि बेलामा उनले देशविदेश घुम्ने अवसर पाए । उनले हार्वड विजनेश स्कुलबाट ट्रेनिङ लिए, एशियन इन्स्च्युट अफ म्यानेजमेन्ट फिलिपिन्सबाट म्यानेजमेन्ट डेभलपमेन्ट कोर्स गरे, माइक्रोफाइनान्सका लागि संसारको प्रशिद्ध कोर्समा भाग लिए, अन्तर्राष्ट्रिय वक्ता भएर अमेरिका, कोलम्बिया लगायत २० भन्दा बढी देशमा अतिथि भएर आफ्नो अनुभव बाँडेका छन् । कुनै पनि संस्थामा ५ वर्ष पुरा नभई विदेश जान पाउँदैनथ्यो । तर, उनले नेपाल बैंकमा ४ वर्ष गर्दागर्दै विदेश (मनिला) जाने अवसर पाए । उनी फिलिपिन्समा मात्रै ५ पटक जति गएको अनुभव सुनाउँछन् । आजका दिनमा अधिकांश सीईओहरु उनका शिष्य भएकोमा उनी गर्व गर्छन् । निर्धन उत्थानमा उनले ११ वर्ष बढी काम गरे । निर्धनमा काम गर्दा पनि उनलाई आफू ओझेलमा परेको महसुस भयो । ‘मैले जति काम गरेपनि नाम अर्कैको आउँछ,डा. हरिदेव पन्त ठूलो रुख हो, म जहिले पनि ओझेलमा छु, ममा एउटा हुटहुटी थियो, नयाँ कुरा गर्न पाए हुन्थ्यो, स्वतन्त्र रुपमा काम गर्न पाए हुन्थ्यो भन्ने महत्वकांक्षी, सबै काम मैले गर्नुपर्ने नाम अर्काको आउने हुन्थ्यो, माओवादी जनयुद्धमा चारैतिरबाट बन्दुकको घेराबन्दीमा म पर्थें, मलाई आफै केही गर्ने हुटहुटी भयो, पछि त्यहाँ पनि छोडेँ,’ उनले भने । लक्ष्मी लघुवित्तमा कर्मचारी बिनाको सीईओ वि.स.२०६७ सालमा लक्ष्मी लघुवित्त दर्ता भयो । बैंकले मान्छे खोज्न सुरु गरेको थियो । शर्माले अब लक्ष्मी लघुवित्तमा काम गर्ने भए । ‘निर्धनमा छोड्दा धेरैले मलाई बौलायो भने, धेरैले रोक्ने प्रयास पनि गरे, तर मलाई मेरो चाहेको काम हुनु पर्छ, मैले निर्धन छोडेँ, कुनै संरचना र कर्मचारी पनि नभएको लक्ष्मी लघुवित्तमा आएँ,’ उनी भन्छन्, ‘म जहाँ काम गरेपनि केही आधारशिला निर्माण गर्न मन पराउँछु ।’ उनी लक्ष्मी लघुवित्तमा आउँदा कर्मचारी बिनाको सीईओ बने । लक्ष्मी लघुवित्तको कुनै पनि कार्यालय थिएन । ‘लक्ष्मी लघुवित्तमा आउँदा एउटा सिंगल मान्छे, कर्मचारी बिनाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएँ, अफिस कहाँ हो, घर छैन, कर्मचारी छैन, लक्ष्मी बैंकको सेकेण्ड फ्लोरमा एउटा कोठामा मलाई राखियो,’ शर्माले भने, ‘मेरो काम भनेको पोलिसी प्रक्रिया पुर्याएर लाइसेन्स लिने थियो, लक्ष्मी माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक दर्ता भयो, पछि लक्ष्मी लघुवित्त नामाकरण गरियो, लक्ष्मी बैंकबाट एक जना साथी सहयोगी दिइयो, अल्फाबिटा कम्प्लेक्समा रहेको लक्ष्मी बैंकको पछाडी ९ सय स्क्वायर फिटमा कार्यालय स्थापना गरियो, त्यसपछि के-के काम गर्ने भनेर योजना बनाइयो ।’ आगामी बैशाखमा लक्ष्मी लघुवित्तमा काम गरेको उनलाई १२ वर्ष पुग्दैछ । वि.स २०३७ सालदेखि उनी अनवरत रुपमा काम गरिरहेका छन् । ‘मैले जेजे काम गरेको छु सबैमा सन्तुष्ट छु, म कमर्सियल बैंकर भएको भए म त्यति सन्तुष्ट हुँदैनथे होला, समावेशी वित्तीय पहुँचमा ठूलो योगदान पुर्याएँ जस्तो लाग्छ, निम्न वर्गले सजिलै कर्जा पाएका छन्, साहु महाजनबाट मुक्त भएका छन्, एउटा सचेतना, इम्पावरमेन्टमा कुनै न कुनै रुपमा मेरो इट्टा परेको छ,’ उनी आफुले गरेका संघर्षका गाथाहरु सुनाउँदै भन्छन् । उनी अझै पनि जबसम्म शरिर र दिमागले साथ दिन्छ तबसम्म लघुवित्तमै सक्रिय रहने बताउँछन् । अब बैशाखदेखि रिटायर्ड हुन्छु, अहिलेको प्रावधानले पनि विदा हुनु पर्छ, अब कार्यकारी भूमिकाबाट बिदा लिन्छु, ‘टेन टू फोर’ काम गर्दिन तर यहि क्षेत्रमा रहिरहने छु, उनी भन्छन्, यो क्षेत्रले मलाई नाम, दाम, इज्जत, पोजिशन, एक्सपोजर दियो, रिटायर्डपछि पनि नीति नियम र लेखन तथा पठन पठनमा रहन्छु होला ।’ छोराको जन्मले दिएको खुसी हामीले शर्मालाई सोध्यौं, तपाईंको जीवनमा त्यस्तो अविस्मरणीय कुनै क्षण छ ?, उनले जवाफमा भने, ‘मेरो लागि सबै अविस्मरणीय क्षण छन्, तर एउटा जब मेरो छोराको जन्म भयो त्यो मेरो लागि निकै अविस्मरणीय रह्यो ।’ उनी थप्छन्, १९/२० वर्षको उमेरमा मेरो विवाह भयो तर १० वर्षपछि मात्रै छोरा जन्मियो, त्यो क्षण मेरो लागि निकै अविस्मरणीय र सुखद बन्यो ।’ शर्माका दुईटा आमा । ५ भाई र ६ दिदीबहिनी गरी ११ जना भाइबहिनी । उनी जेठो छोरा । उनकी आमा अहिले पनि ८१ वर्षको पुगिन् । अहिले उनी भैंसेपाटीमा बस्छन् । अहिले धेरै जसो समय नातीसँगै खेलेर बित्ने गरेको उनी सुनाउँछन् । उनी थप्छन्, जीवनमा जति गरेँ, यसमा मेरो श्रीमतिको ठूलो हात छ, श्रीमतिबाट यति साथ र सहयोग नमिलेको भए म यो अवस्थामा हुन्थेन की ।’

बैंकिङ्ग फ्रड : बैंकका सीईओ र सञ्चालकदेखि राष्ट्र बैंकको समेत कमजोरी, दोष कर्मचारीको टाउकोमा

काठमाडौं । केही समयअघि नेपाली बैंक तथा वित्तीय क्षेत्रमा तीन ठूला ‘बैंकिङ फ्रड’का घटनाहरू बाहिरिए । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप, कुमारी बैंकको नक्कली कागजातमा कर्जा लगानी र सिन्धु विकास बैंकको भल्टको रकम मिटर व्याजमा लगानी गरेको विषयले बैंकिङ क्षेत्रमा एक किसिमको तरंग नै ल्यायो । यी तीनै घटनाको पात्र, प्रवृति र प्रकृति फरक छन् । तत्कालीन सिभिल बैंकका अध्यक्ष समेत रहेका तामाङले सिभिल सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सीआईबीले तामाङलाई गत वर्ष असोज १८ गते पक्राउ गर्यो । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका तामाङको विषयमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेर विवरण सरकारी वकिल कार्यालयमा पठायो । तामाङले सहकारीको ५ अर्ब ६३ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । अहिले तामाङ थुनामा छन् । बैंकिङ क्षेत्रमै देखिएको अर्को डरलाग्दो बैंकिङ फ्रडकोे घटना हो नक्कली कागजातको आधारमा प्रवाह भएको कुमारी बैंकको १९ करोड रुपैयाँ कर्जा प्रकरण । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड रुपैयाँ कर्जा प्रवाह प्रकरणले कुमारी बैंकलाई मात्रै होइन अन्य बैंक तथा वित्तीय संस्थालाई पनि निकै झस्कायो । सो प्रकरणमा तत्कालीन कुमारी बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना पनि जोडिएको भन्दै सीआईबीले अनुसन्धान गर्यो । कुमारी बैंकले पछि सो कर्जा असुल गर्न सफल त बन्यो तर बैंकका तिमिल्सिना बैंक छोड्न बाध्य भए । सो बैंकको आन्तरिक विषय नबाहिरिए पनि अझै पनि कुमारी बैंकलाई हेर्ने नजर धेरैको पृथक नै बनेको छ । यस्तै, बैंकिङ क्षेत्रमै देखिएको अर्को डरलाग्दो घटना हो बैंकको भल्टको रकम निकालेर मिटर ब्याजमा लगानी गर्ने । सिन्धु विकास बैंकको काभ्रेको दोलालघाट शाखाका म्यानेजर सुमन खरेलले बैंकको भल्टमा रहेको रकमबाट निजी प्रयोजनका लागि मिटर ब्याजमा लगानी गरेको विषयले पनि बैंक र बैंकरको नियतमाथि ठूलो प्रश्न उठायो । प्रहरीले अनुसन्धान गर्दा खरेलसहित ५ जना मिलेर बैंकको भल्टमा राखिएको पैसा मिटर ब्याजमा लगाउने गरेको देखायो । यी तिनै घटनामा पात्र फरक छन् । घटनाको प्रवृति र प्रकृति पनि फरक छ । उदाहरणका लागि लिइएको यी तीन घटनामा बैंकको एक कर्मचारीदेखि सीईओ र अध्यक्षसम्म पनि संलग्न हुने रहेछन् भन्ने संकेत गर्छ । यी तीन घटना मात्रै होइनन्, केही महिना अगाडि महालक्ष्मी विकास बैंकले बैंकमा धितोको रूपमा राखेको ऋणीको सुनलाई नक्कली बनाएको विषयले पनि बैंकहरुको छविमाथि प्रश्न उठ्यो । एकपछि अर्को डरलाग्दो ‘बैंकिङ फ्रड’का रुपमा बाहिर आएका यी घटनाहरूले केही प्रश्नहरू भने अवश्य उब्जाएको छ । नेपाली बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीको मनोविज्ञान तथा नियत, बैंकिङ क्षेत्रको ‘इन्टरनल कन्ट्रोल सिस्टम’ र नियामकको नियमन, कार्यशैली, कौशलता र भूमिकाको विषयमा भने प्रश्न तेर्सिएको छ । डेभलपमेन्ट बैंक एसोशिएसनका पूर्व अध्यक्ष तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल बैंकको राम्रो र नराम्रो काम गर्नुमा महत्वपूर्ण भूमिका कर्मचारी र त्यसमाथि पनि सीईओको भूमिका धेरै हुने बताउँछन् । उनका अनुसार बैंकबाट हुने सम्पूर्ण काम सीईओबाट नै हुन्छ, त्यसैले पनि बैंकले गर्ने राम्रो र नराम्रो काममा सीइओको भूमिका प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रहन्छ । ‘बैंकले गर्ने राम्रा/नराम्रा कामहरु सीईओसमक्ष आउँछन्, राम्रो काम भयो भने त्यसको श्रय सीईओले नै पाउँछ, नराम्रो कामको जिम्मेवारी पनि सीईओले नै लिन सक्ने क्षमता राख्नु पर्छ, सञ्चालकहरुको गलत नियत नै भएपनि सीईओले फाइल रोक्न सक्नुपर्छ, हस्ताक्षर गरेर बोर्डमा पुर्याउनु हुँदैन, यदि फाइल अगाडि बढाइहालेमा त्यहाँ पदभन्दा पनि जागिर प्यारो भएको बुझ्नु पर्छ, त्यसैले पनि यस्ता गतिविधिमा कर्मचारीसँगै सीईओको भूमिका पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रहन्छ,’ उनले भने । लामो समय नेपाली बैंकिङ क्षेत्रमा बिताएका नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा सानिमा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल आफ्नो बैंकिङ करियरमा देखेको एउटा बैंकिङ फ्रडको अनुभव सुनाउँदै भन्छन्, ‘कतिपय फ्रडहरु अञ्जानमा हुन्छन् भने कयौं फ्रडहरू नियतवस हुने गरेका छन् तर त्यसमा प्रत्यक्ष बैंकका कर्मचारी वा उच्च व्यवस्थापन नै जोडिन्छ र अन्तिममा उनीहरू नै दोषी ठहरिन्छन् ।’ उनले नियतवस भएको एउटा पुरानो बैंकिङ फ्रडको घटना पनि सुनाए । ‘नेपाली बैंक तथा वित्तीय क्षेत्रमा बेला-बेला स-साना फ्रडहरू भइरहन्छन्, कतिपय बाहिर आउँछन् धेरै जसो त आउँदै आउँदैनन्, धेरै वर्ष पहिलेको कुरा हो, स्ट्याण्डर्ड चाटर्ड बैंकको एक जना आईटी हेड हुनुहुन्थ्यो, उहाँले ब्याजबाट आएको रूपैयाँको मात्रै हिसाब राखेर पैसा आफ्नो खातामा राख्नु हुँदो रहेछ, पछि सबैलाई थाहा भयो, त्यस विषयले पनि बैंकरलाई धेरै सजग र सतर्क बनायो,’ उनले भने, ‘धेरै जसो फ्रड ऋणीबाट र केही कर्मचारीबाट हुन्छ तर ऋणीको गल्ती भएपनि त्यसमा कर्मचारी जोडिएकै हुन्छन ।’ कुमारी बैंकको नक्कली कागजातमा भएको कर्जा प्रवाहको विषयलाई जोड्दै उनले कर्मचारी र भ्यालुएटरलाई विश्वास गर्दा यस्तो घटना निम्तिएको हुन सक्ने बताए । सबै ठाउँमा बैंकको उच्च तहको कर्मचारी अर्थात् सीइओ नै नपुग्ने र कर्मचारीले गरेको कामलाई शतप्रतिशत विश्वास गर्दा यस्ता खालको त्रुटीहरू हुने गरेको उनी सुनाउँछन् । ‘फिल्डमा धितो मुल्यांकन गर्न बैंकको कर्मचारी र भ्यालुएटर जान्छन्, त्यस्तो बेलामा ऋणीले यो जग्गा हो भनेर देखाउँछ, भ्यालुएटरले पनि विश्वास गर्छन्, कतिपय ठाउँमा जग्गा एउटा ठाउँमा धितो बन्धक अर्कै ठाउँको पनि हुन्छ, कहिलेकाहीँ ऋणीलाई विश्वास गरेर त कहिले कर्मचारी पनि ऋणीसँग मिलेका घटनाहरू पनि हुन्छन्, कर्मचारीहरुले ऋणीलाई विश्वास गरेको आधारमा पनि ठगिन्छन्,’ उनले आफ्नो अनुभव सुनाउँदै भने । उनका अनुसार कर्मचारीमा ज्ञानको कमिले पनि यस्ता घटनाहरु घट्ने गरेका छन् । यस्तै, हस्ताक्षर चोरेर पनि बैंकिङ फ्रडका घटनाहरू हुने गरेको उनी बताउँछन् । यस्तै, महालक्ष्मी विकास बैंकका पूर्व सीईओ कृष्णराज लामिछाने बैंकिङ फ्रडका घटनाहरू सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूको स्वनियमनको कमिका कारण नै हुने गरेको बताउँछन् । ‘यस्ता घटनाहरूमा कसैलाई दोष दिन मिल्दैन, बैंक तथा वित्तीय संस्थाहरूमा लाखौंको संख्यामा ग्राहक हुन्छन्, त्यसमा सीमित इस्यूहरु आउनु धेरै ठूलो विषय पनि होइन तर, सचेत हुन आवश्यक छ, एकले अर्कालाई विश्वास र भरोसा नगर्दासम्म काम पनि अगाडि बढ्दैन, एक जना कर्मचारीले बदमासी गर्यो भने दोष सबैले भोग्नु परेको छ,’ लामिछानेले भने । बैंकिङ फ्रडका घटनाहरू कर्मचारीको कारण नै घट्ने बैंकरहरुको धारणा छ । कर्जा दिनुअघिदेखि कर्जा दिइसकेपछि पनि कर्मचारी नै संलग्न हुने भएकोले कर्मचारी नै यसको कारक भएको धेरैको बुझाइ छ । बैंकविज्ञ तथा ग्लोबल आईएमई बैंकका पूर्व सीईओ पर्शुराम कुवँर क्षेत्री बैंकिङ फ्रडका घटनाहरु कतिपय कर्मचारीको कम दक्षता र केही गलत मनोविज्ञानका ऋणीहरुको कारण पनि हुने गरेको बताउँछन् । धेरे घटनामा कर्मचारीलाई पनि फसाउने काम भइरहेको भन्दै उनले केही घटना बाहेक धेरैमा ऋणीको नै गलत मनोविज्ञान हुने गरेको उनको धारणा छ । उनले राष्ट्र बैंकले पनि नियमनमा कडाइ गर्नु पर्ने आवश्यकता भएको बताए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री बैंकरको नाफा कमाउने होडबाजी र गलत अभ्यासले नै यस्ता घटनाहरु बढ्न थालेको बताउँछन् । ‘राम्रो-नराम्रो जुनसुकै उपाय अपनाएर पनि नाफा गर्नुपर्छ भन्ने मानसिकताले बैंकहरुलाई थिचेको छ, नाफा गर्ने क्रममा आश्चर्यजनक हर्कतहरु भएका हामीले देखेका छौं, यसमा सही सुपरभिजन गर्न आवश्यक छ, राष्ट्र बैंकले गर्न खोजे पनि प्रभावकारी हुन सकेन भन्ने त यस्ता घटनाले देखाएकै छ,’ पूर्व गभर्नर क्षेत्रीले भने । उनका अनुसार जब संख्यात्मक रूपले बैंक तथा वित्तीय संस्थाहरू बढ्छन्, त्यसपछि यस्ता अपराधिक घटनाहरू पनि बढ्छन् । हिजो पनि बैंक तथा वित्तीय संस्थाहरू धेरै भएको कारण तिनलाई खारेजीमै लैजानु पर्ने अवस्था आएको बताउँदै उनले राष्ट्र बैंकले अझै प्रभावकारी रुपमा नियमन गर्नुपर्ने धारणा राखे । ‘नियमन र सुपरीवेक्षण अनसाइट (स्थलगत) र अफसाइटबाट हुन्छ, अनसाइट भनेको फिल्डमै गएर अध्ययन अनुसन्धान गरेर गर्न सकिन्छ, अफसाइट भनेको कागजातहरु माग गरेर अध्ययन गर्न सकिन्छ, जब कागजातहरु मगाएर मात्रै नियमन गर्न खोजिन्छ, त्यहाँ अवश्य पनि ढाँट/छलहरु हुन्छन्, अहिले राष्ट्र बैंकमा पनि कर्मचारीको संख्या घट्दै गएको छ, पुराना गएर नयाँ कर्मचारीको प्रवेश भइरहेको छ, त्यसले पनि नियमनमा केही कमजोरी हुन सक्छ,’ क्षेत्रीले थपे । बैंक तथा वित्तीय संस्थाहरुले ल्याएको प्रडक्ट सुन्दा राम्रो भएपनि भित्री रुपमा केही तिता घटनाहरू हुने गरेको उनी अनुभव सुनाउँछन् । ‘बैंक तथा वित्तीय संस्थाहरूले पहिले उक्साएर कर्जा दिने, पछि एउटा किस्ता पनि बन्द भयो भने धितो लिलाम गर्ने प्रक्रिया अगाडि बढाइ हाल्छन्, राम्रो धितोलाई जानीबुझी हडप्ने घटनाहरु पनि हामीले देखेका छौं, पहिलेका बैंकका पदाधिकारीहरू अहिले खर्बपति भएका छन्, यस्तो प्रवृतिले नै उनीहरुका अहिले मुख्यमुख्य ठाउँमा ५/६ रोपनी जग्गा जोडेको देखिन्छ,’ क्षेत्रीले भने । ऋणीको दोष, अफसाइट सुपरभिजन पनि कारण हो : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता नारायण पोखरेल ‘बैंकिङ फ्रड’का घटनाहरूमा ऋणीहरूको दोष बढी हुने गरेको बताउँछन् । उनले पछिल्लो समय देखिएका केही घटनाहरूले पनि ऋणी अर्थात् बैंकका ग्राहक सर्तक हुनु पर्ने देखिएको धारणा राखे । उनका अनुसार पछिल्लो समय बैंकिङ फ्रडका घटनाहरू बढेको होकि भन्ने शंका मानिसहरूमा भएपनि बाहिर आउने घटना भने बढेको धारणा राखे । ‘घटनाहरू पहिले पनि हुन्थे तर गुपचुप नै हुन्थे, अहिले बाहिर आएकोले बढी घटना भएका हुन् कि भन्ने जस्तो भएको हो, यस्ता घटनाहरुमा कर्मचारीको मनोविज्ञान पनि गलत हुन सक्छ तर मुख्य दोष गलत नियत भएका ऋणीको नै भएको हामीले पाएका छौं,’ उनले भने । उनले ग्राहकको लापर्वाही र गलत नियतले नै पनि यस्ता घटनाहरू बढ्ने गरेको बताए । ‘कुनै ऋणीको नियत सही त कुनैको गलत पनि होला, यस्ता घटना संसारभर नै हुन्छन् तर ती घटनालाई समयमै उजागर गरेर समाधान गर्नुपर्छ, बैंक तथा वित्तीय संस्थाहरुले पनि धितो रोक्कादेखि कर्जा दिनेसम्मका प्रक्रियामा जुन स्तरको ‘डेडिकेशन’ हुनुपर्ने हो, त्यो पुगेको देखिँदैन,’ पोखरेलले भने । उनले राष्ट्र बैंकले नियमनमा भने कुनै कसरत बाँकी नराखेको धारणा राखे । राष्ट्र बैंकले नियमनको व्यवस्था अनुसार नै नियमन गरिरहेको बताउँदै उनले बैंकका कर्मचारीले पनि कर्जा दिँदा अवलम्बन गर्नु पर्ने उपाय र सजकतालाई बढी ध्यान दिनु पर्ने बताए । पोखरेलका अनुसार नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामा प्रत्येक वर्षको एक पटक अनसाइट अर्थात् कार्यालयमै पुगेर सुपरिभिजन गर्दै आएको छ भने अफसाइड सुपरभिजन नियमित र त्यसको अलवा कुनै उजुरी तथा गुनासोको आधारमा विशेष सुपरिभिजन पनि गर्दै आएको छ । नेपाल राष्ट्र बैंकमा स्रोतसाधन र जनशक्तिको अभावको कारण पनि अनसाइट सुपरिभिजन चाहे अनुसारको नभएको पोखरेलको धारणा छ । अनसाइट सुपरभिजनको कमिले पनि यस्ता घटना भएको हुन सक्नेमा पोखरेल सहमति जनाउँछन् । वर्षमा एक पटक मात्रै अनसाइट सुपरिभिजन हुने भएकोले यो विषयमा आशंका गर्नु स्वभाविक भएको उनको धारणा छ । अफसाइट निरीक्षणमाथि प्रश्न धेरैले नेपाल राष्ट्र बैंकले अनसाइट अर्थात् स्थलगत निरीक्षणमा प्राथमिकता नदिएको गुनासो गरेका छन् । राष्ट्र बैंकले निरीक्षणको नाममा बैंक तथा वित्तीय संस्थाहरुबाट तथ्यांकहरु मात्रै माग गरेर सोही तथ्यांकको आधारमा बैंकको यथार्थता बुझ्ने परिपाटीले यस्ता घटना बढेको धेरेको बुझाइ छ । राष्ट्र बैंकले स्रोत साधन, दक्ष जनशक्ति तथा अन्य विषयहरुको अभाव देखाउँदै अनसाइट निरीक्षणमा सक्रियता नदेखाउँदा यस्ता खालका घटनाले प्रशय पाउने जानकारहरुको धारणा छ ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मा जोखिममा आधारित सुपरिवेक्षण विधि अवलम्बन गरी कुल २० वटा वाणिज्य बैंकहरूको समष्टिगत स्थलगत निरीक्षण गरेको बताएको छ । आर्थिक वर्ष २०७८/७९ मा कुल २३ वटा वाणिज्य बैंकहरूको अफसाइट अर्थात् विभिन्न तथ्यांकहरु माग गरर निरीक्षण गरेको छ । साथै, उजुरी, गुनासो, औचित्यता र आवश्यकताको आधारमा कुल २५ वटा विशेष स्थलगत निरीक्षण गरेको बताइएको छ । आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका १६ विकास बैंकहरू र १५ फाइनान्स कम्पनीहरूको समष्टिगत स्थलगत निरीक्षण कार्य गरेको छ भने ६ वटा विकास बैंकहरूको विशेष निरीक्षण गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । सोही वर्ष ४६ वटा लघुवित्तहरुमा स्थलगत निरीक्षण भएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा जोखिममा आधारित सुपरिवेक्षण विधि अवलम्बन गरी चार वटा वाणिज्य बैंकहरूको समष्टिगत स्थलगत निरीक्षण, १६ वटा बैंकहरूको अफसाइट निरीक्षण र ७ विशेष स्थलगत निरीक्षण भएको छ । राष्ट्र बैंकले सोही वर्ष ८ वटा विकास बैंकमा स्थलगत निरीक्षण, एउटामा अफसाइट निरीक्षण र दुईटा संस्थामा विशेष स्थलगत निरिक्षण गरेको बताएको छ । सोही वर्ष ४ वटा वित्त कम्पनी र १४ वटा लघुवित्तमा स्थलगत निरीक्षण गरेको जनाएको छ । प्रतिवादी नै कसुरदार बैंकिङ फ्रडका ठूला घटनाहरु केन्द्रिय अनुसन्धान ब्यूरो (सीर्आइबी)ले अनुसन्धान गर्दै आएको छ । सीर्आइबीका अनुसार पछिल्लो समय बैंकिङ फ्रड तथा बैंकिङ कसुरका घटनाहरू बढ्दै गएका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता कमल थापाले पछिल्लो समय बैंकिङ फ्रडका घटनाहरू बढेको बताउँछन् । उनका अनुसार ती घटनामा कर्मचारीको संलग्नता नै बढी हुने गरेको छ । ‘बैंक कानुनी व्यक्ति हो, फ्रडमा व्यक्तिको सहभागिता त अवश्य नै हुन्छ, बैंकमा समस्या आउने बित्तिकै त्यसमा मान्छेको कमजोरी अवश्य हुन्छ, हामीले बैंकभन्दा पनि मान्छेलाई जोड्ने हो, त्यसको सञ्चालकमा को छ ? कसको नेतृत्व छ ? भन्ने विषय महत्वपूर्ण हो, हामीले गर्ने अनुसन्धानमा काम गर्ने कर्मचारी अर्थात् उच्च तहको कर्मचारीको संलग्नता देखिन्छ’ उनले भने । उनले घटनामा कर्मचारी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएर आउने गरेको र अन्तिममा फैसला आउँदा सोही व्यक्ति नै कसुरदार ठहरिने गरेको अनुभव सुनाए । ‘हामीले अहिलेसम्मका अधिकांश घटनामा बैंकका कर्मचारी संलग्न भएका पाएका छौं, अझ सहकारीमा यस्तो प्रवृति बढी छ, हामीले व्यक्तिको नियत के छ ? भन्ने भन्दा पनि कानुनी प्रक्रिया पुरा भएको छ वा छैन ? हेर्ने हो, हामीले कहीले काहीँ ऋणीको पनि दोष देख्छौं, ऋणीका गल्ती भए पनि त्यो गल्ती तथा कमजोरी कर्मचारीको पनि हो,’ उनी भन्छन्, ‘कर्मचारीले सजगता अपनाएर र सबै कुरा बुझेर काम गरे पछि समस्या नै आउँदैन ।’ यस्तै, उनले एक/दुई कर्मचारीको कमजोरी र गल्तीले संस्थामाथि नै प्रश्न उठ्ने गरेको बताए । ‘एउटा संस्थामा दुई/तीन हजार कर्मचारी हुन्छन्, गलत गर्ने एक/दुई जना हुन्छन्, एक/दुई जनाको कारणले सबैको गल्ती देखाउनु हुँदैन, यसमा हामीले बैंकभन्दा पनि व्यक्तिको नियत खराब देख्छौं, अहिलेसम्म हामीले गरेका अध्ययन अनुसार हामीले प्रतिवादी बनाएका व्यक्तिहरु नै अदालतले कसुरदार ठहर्याउँछ,’ उनले आफ्नो अनुभव सुनाउँदै भने । हालसम्म सीआईबीले बैंकिङ फ्रडसम्बन्धी कुल ६४ वटा घटनाको अध्ययन गरेर मुद्दा दर्ता गरेको छ । ती मुद्दामा सीआईबीले कुल २८ अर्ब २५ करोड रूपैयाँ बिगो माग दाबी गरेको छ । प्रवक्ता महत्तोका अनुसार ३० वटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १८ वटा वित्तीय संस्था, २ वटा लघुवित्त र २ वटा सहकारीको विषयमा अध्ययन गरेर मुद्दा दर्ता गरेको छ । यी घटनामा २६० जनालाई सिआईबीले पक्राउ गरेको छ । सीआईबीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ८ वटा बैंकिङ फ्रडका घटना अध्ययन गर्दा २९ जनालाई पक्राउ गरेर उनीहरूबाट ६७ करोडको बिगो माग दाबी गरेको छ । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा दुई वटा बैंकिङ फ्रडका घटनामार्फत् १३ जनालाई पक्राउ गरेर ३ करोड रूपैयाँ बिगो दाबी गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा दुई वटा मुद्दा अध्ययन गरी १० जना पक्राउ गरी उनीहरूबाट ८ करोड रूपैयाँ बिगो माग दाबी गरेको थियो । आर्थिक वर्ष २०७८/०७९ को हालसम्म ५ वटा बैंकिङ फ्रडका घटनामार्फत् २५ करोड रूपैयाँ बिगो माग दाबी गरेको थियो । सीआईबीले वित्तीय अपराध सम्बन्धी भने कुल साढे चार सय मुद्दा दर्ता गरेको जनाएको छ । त्यसमा ६५४ जना संलग्न भएको आरोपमा ४४ अर्ब ५ करोड रूपैयाँ करोड बिगो माग दाबी गरेको बताएको छ । सिआईबीले मुद्दाको अध्ययन गरेर सोही अनुसार सरकारी वकिल कार्यालय तथा अदालतमा पठाउने गरेको छ । समाधानको उपाय के ? बैंकर पर्शुराम कुवँर क्षेत्री बैंकिङ व्यवसाय जोखिम व्यवस्थापन गरेर गरिने भएकोले अभिमुखिकरणको अभ्यास बढाउन आवश्यक रहेको बताउँछन् । उनी बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीको क्षमता विकास र प्रविधिमैत्री बनाउनका लागि अभिमुखिकरण तालिमहरु दिन आवश्यक रहेको बताउँछन् । ‘अहिले प्रविधिको समय छ, मालपोत कार्यालयले सम्पूर्ण जग्गाहरु इन्टरनेटमै राख्यो, बैंकरले पनि मालपोतको वेवसाइटमै गएर त्यो जग्गाको कित्ता नम्बर, क्षेत्रफलदेखि जग्गा भएको ठाउँ पनि हेर्न सक्छ, भ्यालुएटरले पनि त्यसकै आधारमा मूल्यांकन गर्न सक्छ, त्यो बीचमा फसाउने वा फसिने सम्भावना कम हुन्छ, यसले पनि यस्ता खालका फ्रड कम गर्न सकिन्छ,’ बैंकर क्षेत्रीले भने । ‘हामीले धेरै विषयहरुमा सुधार गर्न आवश्यक छ तर सुधार नभएकै होइन, हामीले गर्ने हाम्रा क्रियाकलापमा के कस्ता जोखिम छन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आवश्यक छ, राष्ट्र बैंकले पनि नियमनमा केही सुधार गरेको छ तर अझै धेरै विषयमा ध्यान दिन आवश्यक छ,’ क्षेत्रीले थपे । यस्तै, बैंकर कृष्णराज लामिछाने बैंकिङ फ्रडका ठूला घटनाहरु हुन नदिनका लागि छुट्टै खालको संयन्त्र स्थापना गर्नु पर्ने बताउँछन् । विभिन्न कारणले यस्ता खालको घटनाहरु हुने र बैंक तथा वित्तीय संस्थाहरु नै बद्नामी हुनुपर्ने अवस्था सिर्जना हुने गरेकोले अब ठूलो रकमको कर्जा प्रवाह गर्नका लागि ‘क्रस चेकिङ युनिट’ खोल्नु पर्ने राय लामिछानेको छ । ‘यस्ता घटनाहरुमा कसैलाई दोष दिन मिल्दैन, बैंक तथा वित्तीय संस्थाहरूमा लाखौंको संख्यामा ग्राहक हुन्छन्, त्यसमा सीमित इस्यूहरू आउनु धेरै ठूलो विषय पनि होइन तर सचेत हुन आवश्यक छ, एकले अर्कालाई विश्वास र भरोसा नगर्दासम्म काम पनि अगाडि बढ्दैन, एक जना कर्मचारीले बद्मासी गर्यो भने दोष सबैले भोग्नु परेको छ,’ लामिछानेले भने । मालपोत तथा भ्यालुएटरले गलत गरे पनि दोष सीईओलाई आउने भएकोले आगामी दिनमा यस्ता घटना नदोहोरिनका लागि थप लगानी गरेर भएपनि केन्द्रियस्तरमै ‘क्रस चेकिङ युनिट’ स्थापना गरेर काम गर्नु पर्ने लामिछानेको सुझाव छ ।