वाइवाइ नेपाल स्टारको शनिबारबाट पुन: सुरु हुने
काठमाडाैं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको तेस्रो राउण्डको प्रसारण यही शनिबारबाट सुरु हुने भएको छ । दोस्रो राउण्ड षडजबाट छानिएका ४८ प्रतिस्पर्धीले यो तेस्रो राउण्ड ऋषभमा प्रवेश पाएका छन् । यही राउण्डबाटै प्रतिस्पर्धीहरुले लाइभ म्युजिकमा गाउँदै आफ्नो गायन क्षमता प्रदर्शन गर्नुपर्ने छ । जहाँबाट छानिंदै अगाडि बढ्नका लागि प्रतिस्पर्धीहरुलाई यहाँ पनि निर्णायकहरुको मार्ककै आवश्यकता पर्नेछ । तुलनात्मक रुपमा कम मार्क प्राप्त गर्ने प्रतिस्पर्धीहरुले भने यही राउण्डबाट बिदा लिएर घर फर्किनेछन् । यस अघि डिजिटल राउण्डका रुपमा प्रसारित षडज राउण्डमा देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जना सहभागी थिए । तिनै ११७ मध्येबाट छानिएका ४८ प्रतिस्पर्धीको बीच हुने गायन क्षमताको प्रतिस्पर्धा यो राउण्डमा हेर्न सकिनेछ । वाइवाइ नेपाल स्टारको प्रसारण सुरु भएसँगै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९ को विषम परिस्थितिमा सिङ्गो कार्यक्रम निर्माण टोली, निर्णायक तथा प्रतिस्पर्धीहरुलाई एकजुट गराएर कार्यक्रम छायाङ्कन गर्न सम्भव नरहेकाले यो कार्यकमलाई पटक पटक लामो समयसम्म छायाङ्कन रोक्दै अगाडि बढाउनुपरेको थियो । अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टीमको स्वास्थ्यको समेत ख्याल गर्दै सामाजिक दूरी र सबैको स्वास्थ्य सुरक्षाका सबै उपाय उच्चस्तरमा अपनाउँदै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको बताउँछन् वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ । कार्यक्रमका निर्णायक छन् रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री । नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै वेबसाइट, युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ । यो कार्यक्रमका विजेता हुने प्रथमले पैंतीस लाख, दोस्रो, तेस्रो र चौथोले पाँच पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । । उत्कृष्ट ४८ मा परेका प्रतिस्पर्धीहरुमध्ये को जानेछन् अगाडि र कसको यात्रा यहीं टुङ्गिनेछ त्यो थाहा पाउनका लागि भने हेर्नै पर्ने हुन्छ ( यही शनिबार राती ८स्५० मा प्रसारण हुने वाइवाइ नेपाल स्टारको नयाँ एपिसोड ।
नेपाली क्रिकेट खेलाडीले एक वर्षपछि पाए १२ महिनाकाे एकमुष्ट पारिश्रमिक
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो । क्यानले बुधबार सबैको खातमा रकम जम्मा गरेको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पारिश्रमिक नेपाल क्रिकेट सङ्घ (क्यान)को खातामा पठाएको थियो । उक्त रकम क्यानले खेलाडीको खातामा जम्मा गरेको क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए । राष्ट्रिय टोलीका खेलाडीहरुले सन् २०१९ पछि आफ्नो नियमित पाउनुपर्ने पारिश्रमिक पाउन सकेका थिएनन् । क्यानले नेपाली खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरेको थियो । उनीहरुमध्ये ए श्रेणीमा रहेका खेलाडीले मासिक रु ४५ हजार, बी श्रेणीमा रहेका खेलाडीले रु ३५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीले रु २५ हजार पारिश्रमिक पाएका हुन् । क्यानले यसअघि ए श्रेणीमा रहेकालाई मासिक रु ३५ हजार, बी श्रेणीमा रहेकालाई रु २५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीलाई रु १५ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले भदौ पहिलो साता २३ जनाको नाम पठाएको थियो । क्यानले पठाएको खेलाडीको सूची क्यान निलम्बन फुकुवा हुनुअघिकै हो । सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आईसीसीलाई पठाइएको थियो । यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा खेलाडीको पारिश्रमिक आईसीसीले नै उपलब्ध गराउँदै आएको थियो । आईसीसीले सन् २०१८ मा दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत पठाएको थियो । त्यसयता खेलाडीले आफ्नो पारिश्रमिक पाउन सकेका थिएनन् । क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन वर्गमा विभाजन गरेको थियो । त्यहीअनुसार नै २१ खेलाडीका लागि आईसीसीले पारिश्रमिक उपलब्ध गराएको हो । ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र विनोद भण्डारी छन् भने बी श्रेणीमा बसन्त रेग्मी, आरिफ शेख, अविनाश बोहरा, पवन सराफ, रोहितकुमार पौडेल, सन्दीप जोरा, ललितनारायण राजवंशी र सुशन भारी तथा सी श्रेणीमा रशिद खान, इशान पाण्डे, प्रदीप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल र राजु रिजाल रहेका छन् । ‘ए’ श्रेणीमा रहेका खेलाडीले एक वर्षको एकमुष्ट रु पाँच लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले रु चार लाख २० हजार तथा ‘सी’ श्रेणीका खेलाडीले रु तीन लाख पाएका छन् । यस्तै टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि ‘सी’ श्रेणीका खेलाडीको बराबर पारिश्रमिक प्राप्त गरेका छन् ।
विचारले जन्मियो अचार, अवसर बन्यो लकडाउन
काठमाडौं । चैतको महिना । देशभर लकडाउन थियो । सडकमा मानिसको आवत-जावतदेखि व्यापार व्यवसाय सबै ठप्प । त्यो बेला महिनौं घरभित्रै कैदी जस्तै बनेर बस्नु परेको अनुभव कसैमा थिएन । त्यही बाध्यता आइलाग्यो ललितपुरकी पूजा जोशीलाई पनि । लकडाउनको समय । न बाहिर हिड्न मिल्ने, न त कुनै व्यापार व्यवसाय गर्न नै पाइने भएपछि पूजालाई आलश्य मात्र होइन दिन प्रतिदिन चिन्ताले पनि स्थान लिन थाल्यो । पूजा होस्टेल व्यवसायी हुन् । उमेरले परिपक्व पूजा दिमागमा पनि परिपक्व छिन् । लकडाउनकै समयमा कसरी आत्मनिर्भर बन्ने ? कामलाई कसरी निरन्तरता दिने ? घर परिवार कसरी चलाउने ? लगायतका विषयहरुमा आफुले धेरै सोच्न बाध्य भएको उनी बताउँछिन् । व्यवसाय गरौं, होस्टेल बन्द छन् । अब कसरी गुजारा चलाउने ? होस्टेलमा लाखौं लगानी छ । लामो समयसम्म लकडाउन भयो भने त धेरै क्षति हुन्छ होला । आफुले यस्ता यस्तै नानाथरी कुराहरु मनमा सोचेर बसेको उनी बताउँछिन् । बिचमै उनले एउटा योजना बनाइन् । त्यो योजना थियो अचार बनाउने । ‘हुन त मैले अचार बनाउने सम्बन्धी तालिम सिकेको १६ वर्ष भयो, होस्टेल खुला हुँदाको समयमा होस्टेलमा बस्ने र आफ्नो परिवारको लागि मात्र अचार बनाउँथेँ ।’ उनी भन्छिन्, ‘लकडाउन भएपछि त्यसलाई व्यवसायिक रुपले अगाडि बढाउने बिचार आयो । यसैलाई अहिले निरन्तरता दिइरहेको छु ।’ पूजाको होस्टल ठप्प छ । व्यापार शून्य छ । होस्टलमा बस्नेहरु गाउँ फर्किसकेका छन् । तर, पनि पूजा अहिले खुसी छिन् । उनलाई लकडाउनले दुःखी नबनाएको उनी बताउँछिन् । ‘हुनत कोरोना भाइरसले सबैलाई डर र त्रास उत्पन्न अझै पनि गराइरहेको छ, तर डर त्रासमा रहेर केही पनि हुने रहेनछ, म आफ्नै काममा व्यस्त भएँ, आफु सुरक्षित रहेर कोरोनाको बारेमा धेरै कुरा सोच्न छोडेपछि त्यो त्रास हटेर जाने रहेछ,’ उनले आफ्नो अनुभव सुनाइन् । अहिले पूजा अचार बनाउनमै व्यस्त छिन् । उनलाई होस्टलमा काम गर्ने अन्य दुई जनाले पनि अचार बनाउन साथ दिइरहेका छन् । ती दुई जना पनि लकडाउनको कारण घर जान नपाएपछि यतै रोकिएका छन् । आजभोलि उनीहरुको दैनिकी पनि पूजासँगै अचार बनाउनमै बित्छ । ललितपूरको कुपण्डोल घर भएकी पूजा व्यवसाय गर्नकै लागि सानेपा पुगेकी छिन् । उनको आम्दानी होस्टलबाटै हुन्थ्यो । घरमा श्रीमान, दुइवटी छोरी र पूजा आफु । सानो खुसीको परिवार छ पूजाको । आजभोलि होस्टलका दुई जना स्टाफ पनि उनीसँग नै बस्छन् । लकडाउनमा पूजाको परिवार अचार बनाउमै व्यस्त छन् । १६ वर्ष अगाडि अचार बनाउन सिकेको, व्यवसायचाहिँ अहिले किन ? पूजा यसको सरल उत्तर दिन्छन् । पहिले होस्टल व्यवसाय थियो । लकडाउनले त्यसलाई ठप्प बनायो । होस्टलमा बस्ने बहिनीहरुले मैले बनाएको अचार खुबै मिठो भन्थे । सानैदेखि अचार बनाउन रहर लाग्ने मलाई त्यसपछि झन् जाँगर लाग्थ्यो । होस्टलको समयमा दुई व्यवसाय सँगै सञ्चालन गर्ने समय पनि भएन । अहिले होस्टेल बन्द भएपछि अचार बनाउन सुरु गरेकी हुँ ।’ पूजा जोशी होस्टेलमा बस्ने बहिनीहरुप्रति आभार प्रकट गर्छिन् । उनी भन्छिन्, ‘उनीहरुले अचार मिठो छ भनेर काम गर्न उत्प्रेरणा नदिएको भए मलाई अहिले अचार बनाउन जाँगर चल्थेन ।’ उनले अहिले ‘डटर्स होम अचार’को नाम दिएर व्यवसाय गरिरहेकी छिन् । सुरुवातमा आफुले पूर्ण रुपमा व्यावसायिक भन्दापनि जानेको कुरा सिक्दै जाने र वरपरकै मान्छेलाई दिने सोचले अचार बनाउन शुरु गरेकी उनी बताउँछिन् । तर, अहिले उनको सोच विपरित उनको व्यवसाय र आम्दानी भइरहेको छ । होस्टल व्यवसायीसँगको निकटता, अरुसँग चाँडै घुलमिल हुन सक्ने उनको बानीले व्यवसाय गर्न थप उर्जा र हौसला मिलेको उनी बताउँछिन् । पूजाले सुरूसुरूमा अचार बनाएर आफन्तलाई चखाइन् र बनाएका अचारका फोटो समाजिक सञ्जालमा राखिन् । त्यसपछि दिनप्रतिदिन अचारको अर्डर आउन थाल्यो । उनको होस्टल भित्रको अचारको बयान अब आफन्त हुँदै बजारसम्म पुग्यो । सामाजिक सञ्जालमा उनीसँग अचारको बयान गर्नेहरुको जमात हुन थाल्यो । जसले उनलाई थप काम गर्न प्रोत्साहन मिल्यो । भनिन्छ नि,‘ जहाँ इच्छा त्यहाँ उपाय ।’ हुनत उनीसंग पनि अरुले जस्तै बन्दले सबै चौपट पार्यो भनेर पिरोलिएर बस्ने अवस्था नभएको होइन । तर उनले यसलाई अवसरको रुपमा लिएर आफ्नो पुरानो सीप र कलालाई सम्झिइन् । सीप ज्ञान पुरानै भए पनि यो कदम भने उनको लागि नयाँ नै थियो । ‘त्यसपछि उनको यो घरेलु सुरुवातले थप बढी चर्चा बटुल्यो । बिस्तारै सामाजिक संजालमा समेत अर्डरहरु आउन थाले, अचार चाखिसकेपछि सबैले खुलेर तारिफ गरे, जसले उनको मनोबल थप बढाइदिएसँगै उनमा थप उर्जा थपियो । अहिले आफन्तबाट मात्र होइन विभिन्न माध्यमबाट नयाँनयाँ ठाउँबाट अचार माग भइरहेको उनी बताउँछिन् । ‘अहिले आफन्त मात्र होइन स्वदेश विदेशबाट समेत अचारको माग आइरहेको छ, लकडाउनकाे कारणले गर्दा माग अनुसारको आपुर्ति गर्न मैले सकेको छैन,’ उनले भनिन् । अब अवस्था सामान्य भइसकेपछि यसलाई विस्तार गरेर लैजाने सोच बनाएको उनी बताउँछिन् । पूजा अहिले भेज र नन भेज गरी करिब १६ प्रकारका अचार बनाउँछिन् । बिना मेसिन पूर्ण रुपमा हातैबाट बन्ने भएकाले पनि उनको अचारमा विशेष घरेलु स्वाद आउने गर्छ । त्यसैले त सबैको जिब्रोमा अचार मात्र होइन स्वादिलो ‘डटर्स होम अचार’ परिसकेको छ । ‘अहिले व्यवसायिक रुपमा शुरु गरेर धेरै नाफा त गरेको छैन, थोरै मात्रामा उत्पादन र थोरै नाफा राखेर काम गरिरहेकका छौं, ग्राहकको प्रतिक्रिया पनि राम्रै आइरहेको छ, विस्तारै यसलाई नै बढी प्राथमिकता दिएर काम गर्छौं’, उनले भनिन् । पूजाले सुरुमा अचार बनाउनमा करिब ५० हजार रुपैयाँ लगानी गरेको बताउँछिन् । अहिले उनको दैनिक कारोबार ५ सयदेखि २५ सय रुपैयाँसम्म हुने गरेको छ । ‘अहिले अचारको माग पनि राम्रै छ, अब हामी केहि विशेषज्ञ राखेर विशेष अचार बनाउने तर्फ केन्द्रित हुँदैछौं, उनी भन्छिन्, ‘अहिले हाम्रो मुख्य विशेषता भनेको ताजा, स्वच्छ अनि स्वादिष्ट अचार प्रधान गर्नु हो ।’ अहिले निषेधाज्ञाको समयमा पनि एकदम सुरक्षित तरिकाले काठमाडौं उपत्यका भित्र मात्र सेवा दिइरहेको उनले बताइन् । जनजीवन सामान्य अवस्थामा फर्किएपछि माग अनुसार देशभरी तथा बाहिर पनि पुर्याउने उनको सोच छ । होष्टल व्यवसायसँगसँगै अब विस्तारै अचार व्यवसाय विस्तारमा पनि समय दिने उनको योजना छ । उनी भन्छिन्,‘ हुनत धेरैले लकडाउन भन्दै घरभित्रै बसे तर घरभित्रै पनि इच्छा छ भने धेरै सीप सिक्न सकिन्छ, जसले आत्मर्निभर बनाउन मद्दत गर्छ ।’ अहिले नेपालमा मात्र होइन विश्वभर कोरोना भाइरसको त्रास छ । सर्वसाधारणदेखि उद्योगी व्यवसायीको दैनिकी फेरिएको छ भने व्यवसाय ठप्प छ । कोरोना हट्ला र आफ्नो काम गरौंला भन्ने मनसाय धेरैले बनाएका छन् । तर कोरोनाको असर कति र कहिलेसम्म रहन्छ कसैलाई थाहा छैन । त्यसैले यही अवस्थामा पनि आफुले आत्मनिर्भर हुन सक्ने योजना बनाएर काम गर्नु पर्ने पूजा सल्लाह दिन्छिन् ।