‘१६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने’
काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने बताएका छन् । विभिन्न राजनीतिक दलबाट नृतृत्व गर्ने महिला सांसदहरुको भेलामा सहभागिहरुले संविधान संशोधन गरेर कानून बनाउने र अन्तर्राष्ट्रिय सन्धि समेत संशोधन गरी मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने बताएका हुन् । नेपाली कांग्रेस प्रतिनिधिसभा सचेतक सचेतक पुष्पा भुसालले १६ वर्षभन्दा मुनिकालाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गरी अगाडी बढ्नुपर्ने बताइन् । ‘‘हामीले संविधान संशोधन गर्नुपर्छ । अन्तर्राष्ट्रिय सन्धि सम्झाैता त परिमार्जन गर्न सकिन्छ । संसदमा भन्दा पनि भएन । मृत्यु दण्डका लागि संविधान कानुन संशोधनको र अन्तर्राष्ट्रिय सन्धिहरुको परिमार्जन गरेर त्यसमा पुनरावलोकन गर्ने आवश्यकता देखिएको छ । त्यसले दबाब सिर्जना गर्छ र मनोवैज्ञानिक असर पार्नका लागि सन्देश जान्छ ।’’, उनले भनिन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रतिनिधिसभा सचेतक शान्ता चौधरीले विश्वका विभिन्न देशमा त्यस्ता घटनाहरुमा मृत्यु दण्ड दिने गरेका समाचार अइरहेका बेला नेपालको सन्दर्भमा के गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताइन् । ‘‘आपराधिक मानसिकता बोकेकाहरुलाई झड्का लाग्नेगरी मृत्युदण्डको कानून हुन्छ वा लिंग छेदन गर्ने हुन्छ के गर्न सकिन्छ गरौ । मृत्युदण्ड कत्तिको सहज छ ? यो विषयमा हामीले भन्दा पनि कानुनको विषयमा तपाईं जानकार हुनुहुन्छ । अपराधिक मानसिकता बोकेकाहरूलाई एकखालको झट्का लाग्नेगरी मृत्युदण्डको कानुन हुन्छ कि लिंग छेदन गर्ने हुन्छ कि के गर्न सकिन्छ । उनीहरूले मान्छे मार्छन् भने उनीहरूका लागि राम्रो कानुन बनाइराख्नु पर्दैन । संसद भएको भए के के गर्ने हो त्यहीँ गरिन्थ्यो । तर नभएको बेलामा संसदीय समितिमा छलफल गरौं र हामीहरू छलफल गरौं ।’’, उनले भनिन् । जनता समाजवादी पार्टी (जसपा) सांसद प्रमिला यादवले यस्ता घटनाहरुको अन्त्य गर्न अन्तर्राष्ट्रिय सन्धिको अध्ययन गरेर कडा कारवाहीको व्यवस्था गर्नुपर्ने बताइन् । उनले १६ वर्षमुकिालाई बलात्कार गरिएको घटनामा मृत्युदण्डको सजाय दिने कानुन बनाउनुपर्ने बताइन् । ‘‘१६ वर्षमुनिकालाई बलात्कार गरिएको छ भने मृत्युदण्डको कानून बनाउनुपर्छ । आजिवन काराबासको व्यवस्था गर्नुपर्छ । हाम्रो पार्टीले यसमा सहयोग गर्छ ।’’, उनले भनिन् । महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले नाबालकलाई बलात्कार गरेर हत्या गर्नेलाई फाँसीको सजाय हुनुपर्ने विषयमा समितिले विगत एक वर्षबाट नै अनौपचारिक छलफल सुरु गरेको बताइन् । संसदको सबै महिला सांसदहरु एक ठाउँमा भएर समितिको तर्फबाट यसका लागि सरकारलाई निर्देशन दिँदा अझ दबाब बढ्ने भएकाले कम्तिमा पनि एसिड आक्रमण सम्बन्धि कानुन जस्तै कडा कानुन बनाउनुपर्ने बताइन् । सांसदहरु शान्तिमाया पाख्रिन, बिमला राइ पौड्याल, कोमल वली, उदया शर्मा पौडेल, लक्ष्मी चौधरी, आशा विक, लक्ष्मी विक, विमला विक, अमृता थापा लगायतले पनि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको बताए । बालिका तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका लागि अध्ययन तथा सुझाव दिनका लागि कार्यदल गठन गरिएको छ । नेकपा सांसद बिन्दा पण्डेको संयोजकत्वमा महिला सांसदहरूको ९ सदस्यीय समिति गठन भएको हो । समितिमा सांसदहरू शान्ता चौधरी, पुष्पा भुसाल, निरुदेवी पाल, अमृता थापा, पार्वती थापा रावल, प्रमिलाकुमारी यादव, अनिता देवकोटा र लक्ष्मी परियार रहेका छन् । समितिले बलात्कार गर्नेलाई मृत्युदण्ड दिनका लागि कानूनी व्यवस्था गर्न तथा संविधान संशोधनका लागि पहले गर्ने संयोजक पाण्डले बताइन् ।
ब्याडमिन्टन खेलाडी अभ्यासमा फर्किए, कभर्डहलको अवस्था भने दयनीय (फाेटाेफिचर सहित)
काठमाडौं । आइतबारबाट त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कर्भड हलमा ब्याडमिन्टनले अभ्यास थालेको छ । लामो समय देखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । तर पहिलो दिन खेलाडी कभर्डहलमा पस्दा हलको अवस्था भने दयनीय देखियो । एकातिर कभर्डहल मर्मत सम्भार काम भइरहेको थियो भने अर्कोतिर खेलाडी आफै सरसफाईमा जुट्दा अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप) भने यस बारेमा बेखबर थियो । कोरोना भाइरस (कोभिड-१९)को असरबाट ठप्प भएको नेपालको खेलकुद अझै चलायमान हुन सकेको छैन । गत साताबाट सरकारले निषेधाज्ञा हटाएपछि अन्य क्षेत्र जस्तै खेलकुद पनि फर्किने सोचमा छ । ब्याडमिन्टनका केही खेलाडी बिहानै कभर्डहलमा उपस्थित थिए । प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरिरहेका थिए । कोरोना भाइरसका कारण कोर्ट बाहिर रहेका खेलाडीहरुमा उमंग छुट्टै देखिन्थ्यो । तर कभर्डहल भित्र पस्दा वातावरण भने निकै फरक थियो । खेलाडीहरु बाल्टीनमा पानी, हातमा झारु र ब्रसले परेवाले विष्टाएको फोहोर सफा गर्न व्यस्त थिए । थला परेको खेलकुद फर्किनु अहिलेको आवश्यकता हो । खेलाडी अभ्यासमा फर्किन पाउनु पनि सकारात्मक विषय हो । नेपाल ब्याडमिन्टन संघ पनि अभ्यासमा फर्काउन पाउँदा खुसी छ । खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पालना गर्न सबै खेलाडी तयार छन् । आइतबारबाट अभ्यासमा फकिर्न संघले जानकारी गराएर अनुमति पाए पनि वातावारण भने खेलाडी मैत्रि नहुनु विडम्बना हो । दुई घन्टा लामो सरसफाई पछि कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन कोर्टमा खेलाडीलाई सामान्य अभ्यास गराए । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने बताए । प्रशिक्षणको पहिलो दिन १० खेलाडी उपस्थित थिए । नेपालमा खेलकुदका पूर्वाधार न्यून र सिमित छन् । एउटै स्थलमा धेरै प्रतियोगिता गर्न हामी विवस छौं । तर भएका सिमित पूर्वाधारलाई पनि सही तरिकाले संरक्षण गर्न नसक्नु आलोचनाको विषय हो । राष्ट्रका लागि खेल्ने खेलाडीलाई उचित वातावरणबाट खेलमा फर्काउन राज्यले सकारात्मक भूमिका खेल्न आवश्यक छ ।
आजदेखि मौसम सफा रहने
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा रहेकाले आज बेलुकादेखि मौसम सफा हुँदै जाने जनाएको छ । हाल देशको कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज राति प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा तथा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव ९ डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । रासस