चन्द्रागिरिमा योगगुरु रामदेवको योग ध्यान तथा प्रशिक्षण

काठमाडाैं । योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाइ चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले स्वागत गरे। रामदेव बाबा र पतञ्जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराए । शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण हुने भएपछि चन्द्रागिरि हिल्स लिमिटेडले बिहान पाँच बजेदेखि नै केबलकार सञ्चालन गरेको थियो । शनिबार बिहान ५ देखि ७ बजेसम्म सो रिसोर्टको हलमा र त्यसपछि बिहान ९ बजेसम्म खुला हावामा सञ्चालन गरिएको योग तथा ध्यान प्रशिक्षण शिविरमा सहभागी हुन योगप्रेमीहरु त्यहाँ पुगेका थिए । त्यस प्रशिक्षणमा योगगुरु रामदेव बाबा र आचार्य बालकृष्ण सहभागी थिए । त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जिप लाइनमा पनि सयर गरेका थिए । रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गरेका थिए ।

केही स्थानमा हल्का हिमपातको सम्भावना

फाइल फाेटाे काठमाडौं । नेपालमा हाल अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राजधानी काठमाडौं उपत्यकाको आकाशमा बिहानैदेखि बादल लागेकाले आज बढी चिसो महसुस गरिएको छ । तापक्रम स्थिर रहे पनि घाम नलागेकाले केही चिसो बढेको छ । आज काठमाडौंको अधिकतम २२ र न्यूनतम तापक्रम नौ डिग्री सेल्सियस रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । रातिको समयमा पनि प्रदेश नं १, बागमती, लुम्बिनी, गण्डकी तथा कर्णाली प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागसहित बागमती प्रदेश तथा प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यही मङ्सिर ४ गते पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

समाजसेवी शान्तलाल मुल्मीको ‘मभित्रको म’ सार्वजनिक

काठमाडौं । वरिष्ठ समाजसेवी शान्तलाल मुल्मीको मभित्रको म पुस्तक सार्वजनिक भएको छ । नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठ, भाषासेवी मल्ल के सुन्दर, मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । ७८ वर्षे मुल्मीले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत अन्तराष्ट्रिय सम्बन्धी लगायतमा पुस्तकमा आत्मवृतान्त पस्केका छन् । कार्यक्रममा प्रमुख अतिथि एवम पूर्व प्रधान न्यायधिस कल्याण श्रेष्ठले नछोडी धर्म नतोडी ब्रम्ह, गरेर कर्म नै जीवनको मर्म हो भन्ने सन्देश आत्मवृतान्तले पस्केको बताए । आफू कसरी स्वराज हुने भन्ने ज्ञान पुस्तकले दिने पनि बताए । उनले राजनीतिबाट नेताहरु जितेको अनि जनता हारेको अनुभुति हुन थालेको टिप्पणी कार्यक्रममा गरेका थिए । यस्तै भाषासेवी एवम् मानवअधिकारकर्मी मल्ल के सुन्दरले मुल्मीको आत्मवृतान्त आफ्नै कथा जस्तो लाग्ने र आफनो जीवनसँग पनि मेल खाएको बताउँदै मभित्रको म पुस्तक पढ्दा आफ्नै कथा व्यथा पढेको जस्तै हुने बताए । साहित्यकार सुलोचना मानन्धरले आफूले आफैलाई ढाँट्न नसक्ने र मान्छेले जीवनमा गलत गरेतापनि सुधार्ने मौका प्राप्त हुने सन्देश इमान्दारितापूर्वक लेखकले लेखेको बताइन् । पुस्तक नियात्राजस्तै अनि आख्यानजस्तै रहेको पनि उनले टिप्पणी गरिन् । समालोचक केशव दाहालले मभित्रको म आत्मवृतान्तमा शव्दको माधुर्यता रहेको , शव्दको लय मिलेको र मेरो अस्तित्व खोज्न सिक्न सिकाउने खालको रहेको बताएका थिए । छत्रलक्ष्मी रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक विमाेचनसँगैं कार्यक्रममा गोरखाका समाजसेवी धिरज मास्केलाई रुद्रलाल समासेवी सम्मान पदक दिइएको थियो ।