‘बहुमतप्राप्त दल रहेको अवस्थामा एमालेले मुख्यमन्त्रीमा दाबी गरेकाे हाे’

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बहुमतप्राप्त दल रहेको अवस्थामै नेकपा एमालेले मुख्यमन्त्रीमा दाबी गरेको स्पष्ट पारेका छन् । आज सामाजिक सञ्जालमा आफ्ना विचार राख्दै उहाँले दलको बैठकले सर्वसम्मतरूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेपछि नियुक्ति पनि त्यसै आधारमा भएको बताउँदै नियुक्तिपछिको विवादको निरुपण प्रक्रियाअनुरूप नै हुने उल्लेख गरे । विमलाकुमारी खत्री फागुन २३ को फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आएको र उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेको जनाउँदै उनले अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानूनविपरीत भएको बताए । ‘यस प्रक्रियामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ’, उनले उल्लेख गरेका छन् । खत्रीले आइतबार मात्रै माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेकी थिएन् । चर्चामा ल्याइएका अन्य प्रदेशसभा सदस्यसमेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दाबी गर्ने निर्णयमा सहमति जनाएकाले सूर्य चिह्नबाट चुनाव लडेका सदस्यको समर्थन कानूनीरूपमा समेत अन्य दललाई हुन नसक्ने बताए । ‘यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो’, उनले भने । जनता समाजवादीका चार सदस्यलाई अल्पमत रहेका दलका सदस्यको सिफारिसका आधारमा कारवाहीको षडयन्त्रपूर्ण नाटक मञ्चनपछि नेकपा एमाले बहुमतप्राप्त दल बनेको उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले बहुमतप्राप्त दललाई सरकार सञ्चालनको संवैधानिक दायित्व रहने बताए । ‘जनता समाजवादीका चारजना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्वीकार गरिसक्नुभएको छ । पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको दाबी उहाँहरुको छ’, मुख्यमन्त्री पोख्रेलले भनेका छन् । संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जित्नेहरुलाई अर्को दल परिवर्तको अधिकार नदिएको बताउँदै मुख्यमन्त्री पोख्रेलले चुनाव चिन्ह सूर्य लिएकाहरुलाई आफ्नो पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्ने कुरा लज्जास्पद विषय भएको टिप्पणी गरे । ‘जनता समाजवादीका बहुमत सदस्यले कारवाहीका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नुभएको छ । सो रिटको पक्षमा फैसला हुनासाथ लुम्बिनी सरकार सुदृढ पोजिसनमा हुनेछ’, उनले भने, ‘नियुक्तिपछिको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको अनुचित धर्ना सोही मनस्थितिको उपज हो ।’ मुख्यमन्त्री पोख्रेलले सूर्य चिह्न लिएर उम्मेदवार भई सांसद भएकालाई अर्को दलले आफ्नो पक्षको भनेर दाबी गर्ने कुरा संविधान विरोधी र अराजनीतिक कुरा भएको बताए । यस प्रकरणमा के कस्ता हथकण्डा प्रयोग भए समयक्रममा खुल्दै जाने उनको भनाइ छ । ‘बहुमतप्राप्त दललाई सरकार गठन गर्ने अधिकार सदैव रहन्छ । संवैधानिकरूपमा उत्पन्न विवादको निरुपण भएर बहुमत गुमेको अवस्थामा सरकारमा रहिरहने कुरा सम्भव छैन तर अहिलेको अवस्था त्यो होइन’, उनले भने, ‘जुन साथीहरुले अराजनीतिक हर्ष ट्रेडिङको खेल खेलिरहनुभएको छ उहाँहरुले लुम्बिनी सरकारविरुद्ध प्रपोगण्डा सञ्चालन गर्नु स्वाभाविक हो ।’ मुख्यमन्त्री पोख्रेलले कामका हिसाबले सात प्रदेशमा लुम्बिनी प्रदेश अगाडि नै रहेको र आगामी दिनमा पनि रहने उल्लेख गरेका छन् । अविश्वासको प्रस्ताव आएपछि आइतबार बिहान राजीनामा दिएका मुख्यमन्त्री पोख्रेल दिउँसो पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

निषेधाज्ञामा सृजित हुने तनावको मुक्ति गर्न ‘कलम र कागज’ साथी

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना फैलिएका बेला यसबाट बच्न जारी निषेधाज्ञाबीच तनावबाट मुक्तिका लागि कलम र कागज साथी हुन सक्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेसनले आयोजना गरेको ‘महामारी र फाउन्टेन पेन’ अन्वेषण यात्रा विषयक अन्तरक्रिया कार्यक्रममा फाउन्टेन पेन सङ्कलनमा विशेष रुचि राख्ने भारतीय पत्रकार, शिक्षक र लेखक शुभव्रत गाङ्गुलीले महामारीमा निषेधाज्ञाले गरेको आर्थिक अस्थिरतामा आय हुँदैन, घरपरिवार कसरी पाल्ने भन्ने चिन्ताले मानिसमा हुने तनाव व्यवस्थापन गर्न फाउन्टेन पेन सहयोगी हुन सक्ने बताए । अलमलमा जाने फुर्सदको समयलाई उपयोग गर्न कलम र कागजले मद्दत गर्ने भएकाले यसमा मानिसको ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा फाउडेसनका सदस्य सचिव अतुल कोइरालाले निषेधाज्ञाबीच घरमै बस्न बाध्य मानिसका मनमा लागेका कुरा कलमका माध्यमबाट कथा, कविता, लघुकथालगायत साहित्यका विधामा ढालेर अभिव्यक्त गर्दा आत्मविश्वास बढ्नुका साथै शरीरमा रोग प्रतिरोधी क्षमतासमेत वृद्धि हुने बताए । हात हातमा मोबाइल, सामाजिक सञ्जालमा व्यस्त हुँदा अनुत्पादक क्षेत्रमा सक्रिय भई मानिसमा चिन्ता बढेकाले कलमको प्रयोग गर्न समाजलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएका उनले सुनाए । यस्ता विषयमा फाउडेसनले अध्ययन अनुसन्धानलाई पनि निरन्तरता दिएको जनाएको छ । सो अवसरमा सुलेख (क्यालिग्राफर) विज्ञ केसी जनार्दनले हस्ताक्षर, कलम र दिमागले शरीर एवं मनका लागि ध्यानको काम गर्ने, हस्ताक्षर फरेन्सिक जाँच गर्न पनि उपयोगी हुने भएकाले यसको उपयोगिता रहेकामा जोड दिए । यसले लेखन सुधार गर्न पनि सहयोग गर्ने भएकाले समाजका सबै क्षेत्रमा लागेका मानिसका लागि कलम र कागज उपयोगी हुने भनाइ उनले राखे । कार्यक्रममा माइक्रोसफ्टका लेखा कार्यकारी दीपेन्द्रराज बज्राचार्य, डा यादव पण्डित, रोजी कट्टेल, रामचन्द्र पोखरेल, पत्रकार जगत नेपाललगायतले महामारीबाट शिक्षा, स्वास्थ्य, अर्थ लगायतसमाजका सबै क्षेत्र प्रभावित पारेकाले कलम र कागजको उपयोग गरेर प्रतिभा विकासका काम गर्न सकिने आफूहरुको अनुभव रहेकामा जोड दिएका थिए । लेखन कार्यले मन र शरीरको समन्वय हुँदा चलायमान भई स्वास्थ्याई समेत राम्रो हुने कार्यक्रमका वक्ताको भनाइ थियो । कागज र कलम दुवै वातावरणमैत्री भएको पनि कुनै नोक्सानी नगर्ने, कम्प्युटर, ल्यापटप, ट्याब्लेटलगायत विद्युतीय सामग्रीमा काम गरिरहँदा समस्या धेरै हुन सक्ने भएको पनि कागज र कलम निषेधाज्ञाका बेला उपयोग गर्न उनीहरुले सुझाएका छन् । रासस

निषेधाज्ञामा पनि वाग्मती सफाइ महाभियान जारी

फाइल फाेटाे काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न जारी निषेधाज्ञाबीच तीन स्थानमा वाग्मती सफाइ महाअभियानको ४१६औं हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्रस्थित वाग्मती किनार, शङ्खमूल क्षेत्र र गोठाटार पुल क्षेत्रमा गरी तीन स्थानमा वाग्मती सफाइ गरिएको हो । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवम् अभियानकर्मी डा माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ । सफाइमा काठमाडौं महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी र अधिकार सम्पन्न वाग्मती समितिका सरस्वती निरौलाको सक्रियता थियो । सफाइका क्रममा पशुपति क्षेत्रमा फोहर देखिएको अभियानकर्मी खरेलले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषमा धेरै सफाइकर्मी कर्मचारी भए पनि पशुपति क्षेत्र भने सफाइ हुननसकेको अभियानकर्मीको टिप्पणी छ । खोलाभित्र प्रवेश गरेर तीन अभियानकर्मीले सफाइ गरेका थिए । यसैगरी अभियानकर्मी डा लक्ष्मी पोडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । करिब सात जनाको सहभागितामा भएको सफाइमा अभियानकर्मी प्रिया लामिछानेको जन्मदिनका अवसरमा नदी किनारमा वृक्षरोपणसमेत गरिएको थियो । यसैगरी गुह्येश्वरीमाथिको वाग्मती नदी क्षेत्रमा सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले गोठाटार पुलमुनिको साकुरा बगैँचा क्षेत्रमा सफाइ गरेको छ । सबै सफाइ अभियानका भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको महाअभियान चाड पर्व, वर्षा, जाडो, भूकम्पको त्रास, कोरोना महामारीका बेलासमेत निरन्तर जारी छ । यसैगरी तिलगङ्गालगायत अन्य क्षेत्रको सफाइ अभियान भने आज टोल, घर, आँगन सफाइ गरी सम्पन्न गरिएको छ । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी हुँदा नदी किनार नजिक निवास भएका अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिएका थिए । नदी किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले भने टोल, घर, आँगन सफाइ गरी अभियानलाई निरन्तरता दिनुभएको थियो । वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी सफाइ अभियान पनि शुरु गरिएको छ । सहायक नदीमा पनि आज किनार नजिक निवास भएका अभियानकर्मीले निरन्तरता दिएका जनाइएको छ । महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिर मुख्य शहर, प्रमुख नदी र सांस्कृतिक सम्पदास्थल क्षेत्रमा सफाइ अभियान जारी छ । रासस