‘उतार्नुहुन्न श्रीमानसँग गाँसिएका सौभाग्य’
काठमाडौं । ‘पति बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु, मेरो पतिको चिनो हो, म किन खोल्ने ?’ यो भनाइ काठमाडौंको हाडीगाउँस्थित ८३ वर्षीया सरिता पौडेलको हो । सरिताको ९३ वर्षीय पति बलराम पौडेलको गत चैत १६ गते निधन भयो, तर उनी सिन्दुर, चुरा, पोते र रातो परिहनमा छिन् । पतिको दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने सदियौँदेखिको प्रचलन छ । तर, सरिताले यो परम्परा तोडेको सुन्दा पत्याउन गाह्रो हुन्छ । उनी भन्छिन्, ‘सिन्दूर-पोते र चुरा पतिको सुन्दर उपहार हो । यसलाई जतन गरी लगाउनुपर्छ । श्रीमानसँग ग गाँसिएको सौभाग्य उतार्नुहुन्न ।’ सरिताले आफूले मात्र रातो बस्त्र लगाएर बसेकी होइनन् । छोराहरूलाई पनि सेतो बस्त्र लगाउन दिइनन् । उनका छोराहरू विमल र अमललाई सेतो बस्त्र लगाउन रोकिन् । ‘मानिसलाई जीवित छँदा राम्रो हेरचाह, माया गर्नुपर्छ’, उनले भनिन्, ‘रुढीवादी परम्पराका पछाडि लागेर बाँचेकालाई दुःख दिनुहुँदैन ।’ त्यति मात्र होइन, सरिताले १३ दिनसम्म भोकै बस्दा आफ्ना सन्तान कमजोर हुन्छन् भनेर सात दिनमै काजकिरिया सक्न लगाइन् र तीन दिनबाट दुई छोरा र तीन छोरी सनम, निसम र कुसुमलाई खान भनिन् । ‘कति महिला सानै उमेरमा विधवा भएका छन्, म सन्देश दिन चाहन्छु’, उनले जोडिन्, ‘रुढीवादी परम्परा हो यो, पतिको चिनो फाल्नु पर्दैन, लगाउनुपर्छ ।’ स्व पौडल शिक्षासेवी थिए । उनले धेरै क्याम्पस प्रमुख भएर काम गरे । उनले आफ्नो निधन हुनुअघि नै आफूलाई शवदाहगृहमा अन्तिम संस्कार गर्न परिवारसँग आग्रह गरेका थिए । अनि आफ्ना छोराहरूलाई कोरामा नबस्न आग्रह गरेका थिए । ‘आफ्नो बाबुलाई जलाउँदा सन्तानलाई पीडा हुन्छ, मलाई शवदाहगृहमा जलाउनु’, पौडेलकी नातिनी प्रज्ञा पौडेल खड्काले सुनाइन्, ‘खाली ठाउँमा गएर कोरा बस्नु पर्दैन, घरमै बस्नु भन्नुभएको थियो ।’ जीवनका उत्तराद्र्धमा पनि उनीहरूले आफ्नो काम आफैँ गरेको अनुभव प्रज्ञाले सुनाउँदै भनिन्, ‘हजुरआमा ८३ वर्षको हुनुहुन्छ, तिमीहरू आफ्नो काममा लाग, कसैलाई दुःख दिन्न, मेरो हातखुट्टा चलिञ्जेल आफैँ गरेर खान्छु भन्नुहुन्छ ।’ समाजमा परम्पराअनुसार काजकिरिया गर्नुपर्छ । पति बितेका महिलालार्ई अहिले पनि रातो कपडा लगाउन हुँदैन । सिन्दुर पोले लगाउन हुँदैन भन्ने विश्वास यथावत छ । जीवनको उत्तराद्र्धमा पतिको निधनपछि गरेका क्रियाकलाप समाजका लागि सकरात्मक उदारहणका रूपमा लिन सकिन्छ । रासस
कोरोनाको मारमा परेका श्रमिकको व्यवस्थापन गर्न प्रचण्डको आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुका लागि उचित राहतसहित खाद्यान्नलगायत वैकल्पिक व्यवस्थापन गर्न माग गरेका छन् । १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सबै राजनीतिक कायकर्ता र समाजसेवीहरूमा पनि खुला हृदयले समस्यामा परेका रोजगारविहीन श्रमिकका लागि सहयोगी हात बढाउन अपिल गरेका छन् । महामारीको संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा अपिल गर्दै पूर्वप्रधानमन्त्री दाहालले सुस्वास्थ्य र दीर्घायूको कामनासमेत गरेका छन् । श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार रहेको तथा श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिए पनि श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको बताएका छन् । अध्यक्ष दाहालले पश्चगामी र परिवर्तन विरोधी तत्व श्रमजीवि जनताका अधिकार खोस्न उद्त देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकताबद्ध भएर प्रतिवाद गर्न श्रमिक वर्गमा अपिल गरेका छन् । रासस
सफ्टवेयर इन्जिनियरले शुरु गरे ‘ब्रामो’ मोबाइल गेम, यस्तो छ ट्रेलर (भिडियोसहित)
काठमाडाैं । नयाँ स्टार्टअपको रुपमा युवा सफ्टवेयर इन्जिनियरले शुरु गरेको कम्पनी नियो डिजिटल प्रा.लि.ले मोबाईल भर्सनमा नयाँ गेम लन्च गरेका छन् । ‘ब्रामो’ नामको यो गेम थ्रीडी आरपीजी मोडेलमा नेपालमै प्रथम पटक प्रारम्भ गरेको कम्पनीका संचालक तथा निर्माता रितेश भट्टराईको दावी छ । भर्खरै हाई स्कुल लेभल उत्तिर्ण यूवा प्रतिभा युमिस निरौलासंग मिलेर यो गेम बनाउन एक वर्षभन्दा बढी समय लागेको छ । कुनै गाउँमा राक्षसहरुले आक्रमण गर्न आउँदा ब्रामो नामको साहसी यूवाले कसरी गाउले र गाउँको रक्षा गर्छन् भन्ने कथामा यो गेम आधारित छ । नेपालमा मोबाईल गेम बनाउने थुप्रै फ्रिलान्सर र डेभलपर भए पनि रोल प्लेइङ्ग मोडलमा मोबाइल भर्सनमा यो नै पहिलो पटक लन्च भएको हो । ब्रामोको प्रारम्भसंगै नेपालमा मोबाइल गेम निर्माणमा ठुलो सघाउ पुर्याउने कम्पनीका संचालक रितेश भट्टराईको विश्वास छ । अन्तर्राष्ट्रिय स्तरमा पब्जी र फोर्टनाइट जस्ता गेमको प्रभाव रहेको बेला युवा युवतीले यो गेम मन पराउने विश्वास लिइएको छ । गएको महिना उपभोक्ता मूखी पेशा व्यवसायको लागि कस्टुमर रिलेशनसिप मेनेजमेन्ट (सिआरएम) सफ्टवेयर सार्वजनिक गरेको नियो डिजिटलले छिट्टै केटाकेटीको लागि भनेर आकर्षक शैक्षिक गेम ल्याउने योजना बनाएको छ । यो गेम प्ले स्टोरबाट निःशुल्क डाउनलोड गरी जोसुकैले खेल्न र आन्नद लिन सकिने जानकारी गराएकाे छ । यस्ताे छ ट्रेलर