कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचान भएन

काठमाडौं । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको कामपाले जनाएको छ । कामपाका प्रमुख साहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि एक सय ५० रोपनी जग्गाको पहिचान भएको छ । उक्त विषयमा स्थानीय सकारात्मक हुन नसकेका उनको भनाइ छ । उनीहरुलाई कुहिने फोहरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले बताए। स्थानीय सकारात्मक नभएकै कारण गत साउन अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहर व्यवस्थापन गर्ने भने पनि काम सुरु हुन नसकेको कामपाले जनाएको छ । तीन महिनापछि हानिकारक फोहर बञ्चरेडाँडामा नफाल्ने गरी कार्य अघि बढाइएको कामपाको दाबी छ । दुई महिनादेखि विसर्जन हुन नसकेको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साबिकबमोजिम फोहर व्यवस्थापन हुन थालेको छ । पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समयसमयमा अवरोध गर्दै गर्दा काठमाडौँमा फोहरको डङ्गुर थुप्रने गरेको छ । यसरी स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता पनि दीर्घकालीन नभएको भन्दै कामपाले अन्य स्थानमा पनि फोहर व्यवस्थापन गर्न स्थान पहिचानको काम जारी राखेको जनाएको छ । साबिकबमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा यसअघि थुप्रिएको सबै फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लग्ने कामपाको योजना छ । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।

करेन्ट लागेर बाबु र छोराको मृत्यु

बाँके । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।

कृषिमा यान्त्रीकरणले गोरु र राँगा पाल्नुपर्ने बाध्यता हट्दै

सुदूरपश्चिम । ट्र्याक्टर, थ्रेसर मेसिनसहितका कृषियन्त्रको प्रयोगले किसान गुलाब रानालाई खेती गर्न पहिलेको भन्दा निकै सहज भएको छ । विगतमा हलगोरु पालेर खेतीको काम गर्दै आउनुभएका उहाँले पछिल्ला वर्षमा ट्र्याक्टर, थ्रेसर, रोटाभेटरजस्ता कृषियन्त्रको प्रयोग गरेर खेती गरिरहनुभएको छ । कृषियन्त्रको प्रयोगपछि खेती गर्न पहिलेभन्दा सहज भएको र आम्दानी पनि भइरहेको अनुभव उनले सुनाए । ‘गोरुले खेत खनजोत गर्दा लागत खर्च र परिश्रम बढी लाग्थ्यो,’ उनले भने, ‘कृषियन्त्रले खेती गर्न निकै सहज भएको मात्र नभई छरछिमेकमा बेला बखत काम पाउँदा आम्दानी पनि भइरहेको छ ।’ धनगढी उपमहानगरपालिका–१३ निवासी कृषक राना गाउँका अन्य किसानसँग खेती गर्दा प्रयोगमा आएका आधुनिक कृषियन्त्रको फाइदाका बारेमा छलफल गर्दै थिए। ललितसिंह राना गोरु जोतेर खेती गर्दा आफूले बाल्यकालमा गर्नुपरेको कठिन परिश्रमका दिन स्मरण गराउँदै थिए। उनले भने, ‘उतिबेला राँगा वा गोरु जोतेर कडा मेहनत गरेर खेती गर्नुपर्दा दुःख झेलेका थियौँ, अहिले सबै चिजको सुविधा पुग्दा किसान भाग्यमानी छन् ।’ समय परिवर्तनसँगै पहिलेको भन्दा कृषिकर्म गर्न सहज भइरहे पनि मौसममा देखिने परिवर्तनले निम्त्याउने समस्याबाट भने विभिन्न बाली प्रभावित हुने गरेको उनीहरुको भनाइ छ । लालितसिंहले भने, ‘हालको जस्तो मौसमी समस्या भने उहिले थिएन, उतिबेलाको समयमा हिउँदे याममा अहिलेको जस्तो शीतलहर र गर्मीयाममा डुबान र खडेरी देखिने समस्या थिएन ।’ उनले घरमा रहेको राँगा र गोरु बेचेर खेत खनजोतमा प्रयोग हुने पावर टिलरसहितको कृषियन्त्र जोडेका छन् । कृषिमा यान्त्रीकरणको बढ्दो प्रयोगसँगै तराई क्षेत्रका किसानले खेती गर्दा गोरु र राँगा पाल्नुपर्ने बाध्यता विस्तारै हट्न थालेको छ । पहिले कृषियन्त्रको सहज उपलब्धता नहुँदा किसानले खेतीको काम गर्न घरमा गोरु र राँगा पाल्नुपर्ने बाध्यता थियो । आर्थिक अवस्था कमजोर भएका कतिपय साना किसानले भने अहिले पनि गोरु र राँगा पाल्ने गरेका छन् । कृषियन्त्रको प्रयोगले खेती गर्दा लाग्ने लागत खर्च घटेको, समयको बचत हुने गरेको र कृषितर्फ युवाको आकर्षण पनि बढाउन मद्दत पु¥याएको कृषि प्राविधिकले बताएका छन् । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रपसाद शर्मा कृषिमा यान्त्रीकरण दर बर्सेनि बढ्दै गएको बताउँछन् । पहाडका जिल्लाको तुलनामा तराईका जिल्लामा कृषियन्त्रको प्रयोग दर बढेको जनाइएको छ । उनले भने, ‘जिल्लामा वर्षभरिमा विभिन्न कृषिसम्बन्धी कार्यक्रमका नामबाट वार्षिक झण्डै एकहजार थान सानाठूला कृषियन्त्र अनुदानमा कृषक र कृषक समूहलाई उपलब्ध भइरहेको अनुमान छ ।’ कृषि कार्यक्रमअन्तर्गत सञ्चालित ‘कष्टम हाइरिङ सेन्टर’ मार्फत कृषकलाई सहुलियत भाडादरमा कृषियन्त्र उपलब्ध गराएर कृषिसम्बन्धी काम हुने गरेको पनि छ । सरकारका विभिन्न कृषि कार्यक्रमअन्तर्गत कृषकलाई सामान्यतया ५० प्रतिशत अनुदानमा कृषियन्त्र उपकरण उपलब्ध गराउने गरिएको छ । कृषियन्त्रको प्रयोग बढ्दा काम गर्न सहज भए पनि चाहिएको बेला रासायनिक मल नपाउने समस्याले भने हैरानी खेप्नुपरेको किसानको भनाइ छ । खेत खनजोत गर्नेदेखि लिएर बाली काट्ने भित्र्याउने काममा प्रयोग हुने ट्र्याक्टर, रोटाभेटर, मिनी टिलर, पावर टिलर, धान काट्ने रिपर, गहुँ दाउने थ्रेसर, काटेको बाली सुकाउने ड्रायरलगायतका कृषियन्त्रको प्रयोग पछिल्ला वर्षमा बढेको छ । ‘हलो जोत्ने हली, ट्र्याक्टर चलाउने ड्राइभर’ भन्ने भनाइ समाजमा छ । समाजमा हलो जोत्ने भन्दा चालकको बढी मानसम्मान गरिने हुँदा कृषियन्त्र चालाउनमा युवाको आकर्षण पनि बढेको जनाइएको छ । नेपालमा अधिकांश नागरिकले अपनाएको कृषि पेसाअन्तर्गत कृषिउपजको उत्पादन गरेर हुने आम्दानीबाट जीविका चलाउने गरेका छन् । कृषकले आफूलाई वर्षभरि आवश्यक पर्ने कृषिउपज घरमै भण्डारण गरी बढी भएको कृषिउपज व्यापारीलाई बिक्री गरेर घर खर्चको आवश्यकता पूरा गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कृषि र पशुपन्छी क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिँदै आएको छ ।